अघिल्लो अंकमा हामीले दार्चुला सदरमुकामदेखि छाङ्ग्रुसम्म यात्रा गरेका थियौं । कालापानी छेउको छाङ्ग्रुका मान्छेहरुले देश चलाउनेहरुसँग गोरेटो बाटो मागेका थिए । आज हामी ३ हजार २ सय मिटरको छाङ्ग्रुबाट अझै टाढाको गाउँ टिङ्करतिर उक्लिँदैछौं ।अनि ३ हजार ८ सय मिटरको उचाइमा रहेको टिङ्कर गाउँदेखि झन्डै ५ हजार ३ सय मिटरको उचाइमा रहेको नेपाल चीनको सिमाना टिङ्कर भन्ज्याङसम्म पुग्नेछौं । 

छाङ्ग्रुदेखि टिङ्कर भन्ज्याङसम्म

छाङ्ग्रुमा एका विहानै पानी परेको थियो । ओसिलो विहानीमा गागाका जितबहादुर दाइले हामी परदेशीका हातहातमा लौरो थमाइदिए । अनि झोलाभरि आफ्नै बारीमा फलेका स्याउका दाना राखिदिए । 

टिङ्करतिरको हाम्रो यात्रा सुरु भयो । 

आज पनि बाटोमा भेडा गोठालाहरु भेटिए । लेकतिर जाडो बढ्न थालेपछि उनीहरु दार्चुला झर्दै गरेका । इश्वरसिँह नगालको टोली  अघिल्लो रात यहिँ पाल हालेर सुतेका रहेछन् ।

भेडावालहरुसँग विदा भएर हामी टिङ्कर खोलाको किनारै किनार उकालो लाग्यौं । 

आधादिन भन्दा धेरै हिँडेपछि परैबाट टिङ्कर गाउँ देखियो । 

यतिबेला सारा टिङ्करबासीहरु घाँस थन्क्याउन व्यस्त रहेछन् । हिउँदका ६ महिना दार्चुला बजारमा बिताएर चैत-बैशाखमा गाउँ फर्किँदा डाँडा पाखा सुख्खा हुन्छन् । अहिले नै घाँसको जोहो गरिएन भने त्यतिबेला गाइ वस्तु भोकै हुन्छन् । 

टिङ्करीहरुको पुरानो पेशा चीनसँगको ब्यापार । ताक्लाकोट भनिने  तिब्बतको बुराङ शहरमा टिङ्करीहरुका पसल छन् । भारतबाट गुँड सखर अनि कपडा किनेर तिब्बत लगेर बेच्ने । गाउँमै फलेका फापर र मुला समेत तिब्बती बजार पुग्थे । 

 यहाँबाट ताक्लाकोट एकै दिनमा पुगिन्छ । 

हिमालपारिका उराठ तिब्बती पठारहरुमा उब्जनी हुन्थेन । नेपालका टिङ्कर र छाङ्ग्रुमा फलेका नप्पल, फापर, मुला ताक्लाकोटमा बिक्री हुन्थे । बिस्तारै चीनले मुहार फेर्न थाल्यो । हुँदा हुँदा नेपालका खेतबारी बाँझो हुन थाले । अनि यी गाउँहरुले उल्टै तिब्बतबाट रासन खान थाले । 

कोरोनायता चीनसँगको नाका बन्द छ । ताक्लाकोटमा नेपालीहरुका पसलमा ताल्चा लागेका छन् । ताक्लाकोट ब्यापार बन्द हुँदा आजभोलि टिङ्कर गाउँको रौनक हराएको छ । 

गाउँभरि एउटा मात्र भिस्याट फोन छ । साँझ परेपछि मेहमान सिँह टिङ्करीको सानो पसलमा फोन गर्नेहरुको घुइँचो लाग्छ । फोन गरेको मिनेटको ५ रुपैंया, फोन उठाएको ३ रुपैंया । 

हामीले नेपाल र चीनको सिमाना टिङ्कर भन्ज्याङसम्म जाने रहर गर्यौं । यहाँभन्दा माथि गाउँ, होटल वस्ति केही पनि छैनन् । हिँडेर एकैदिनमा पुगेर फर्किन नसकिने । गाउँलेहरुले हामीलाई घोडा चढेर जान सल्लाह दिए । 

भोलिपल्ट घोडावालहरु घोडा खोज्न पाटनतिर लागे । जंगलमा यसै छाडिदएका घोडा समातेर ल्याउनु पनि दिनभरिको काम रहेछ । 

पर्सिपल्ट विहानै हाम्रा घोडा तयार भइसकेका थिए । चीनको नाका बन्द भएयता गाउँलेहरु पनि उतिसारो टिङ्कर भन्ज्याङ पुगेका थिएनन् । 

भन्ज्याङका देउतालाई चढाउन एक जनाले नातीको काटेको कपाल थमाए । 

हामी बिस्तारै घोडावालहरुसँग उकालो लाग्यौं । 

ठाउँठाउँमा चौंरी र घोडाका बथानहरु भेटिए । प्रकृतिको यो अनुपम दृश्य निहार्दै हामी बिस्तारै उकालियौं । 

झन्डै ४८ सय मिटरको उचाईमा पुगेपछि घोडावालहरुले खाजाको पोका फुकाए । फापरका रोटी खाइसकेपछि एउटा हिउँविनाको हिमनदीलाई दाहिने पारेर हाम्रा घोडाहरुले ठाडो उकालो चढे  । त्यसपछि हामी पुग्यौं टिङ्कर भन्ज्याङ । 

भन्ज्याङमा कुहिरोले डम्म ढाकेर नजिकैका मान्छे समेत देखिन मुस्किल थियो । जोड जोडले चिसो बतास चलेको थियो । घोडावालहरुले देउतालाई धुप सल्काए अनि पाती चढाए । 

सिमानाको १ नम्बर पिल्लरबाट हामी छिटो छिटो फर्कियौं । 

फर्किँदा ओरालोमा घोडाहरुलाई गाह्रो हुन्छ भनेर हामी पैदल नै झर्यौं । 

गलेका शरिर लिएर टिङ्कर गाउँ पुग्दा रात छिप्पिसकेको थियो । गाउँलेहरु हाम्रो बाटो हेरेर बसेका थिए ।

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply