१६ वर्षे उमेरको जिन्दगीका भोगाइ कति होलान् ? भर्खर वालवयबाट उँभो लागिरहेको यो उमेरले तय गरेको यात्रा सरल होला् कि बाङ्गाटिङ्गा ? दुःखको कथा होला कि सुखको कथा होला ? 

सबिनासँग दुई वटा विकल्प थिए: आफ्नो जिन्दगीको कथा अरुलाई लेख्न दिने कि आफै लेख्ने । आँटिली सबिनाले दोस्रो बाटो रोजिन् । हेर्ने कथामा  बलियो कथा सुरु भयो है । 

१६ वर्षे उमेरको जिन्दगीका भोगाइ कति होलान् ? भर्खर वालवयबाट उँभो लागिरहेको यो उमेरले तय गरेको यात्रा सरल होला्न कि बाङ्गाटिङ्गा होलान्? दुःखको कथा होला कि सुखको कथा होला ?  आउनोस् १६ वर्षकी सबिना खातनुको कथा ४ वर्षअघिबाट सुरु गरौं जति खेर उनी १२ वर्षकी थिइन् । 

बा गाउँबाट धान किनेर ल्याई बेच्थे । बाको ब्यापारमा आमाले सघाउँथिन् । 

सबिनाको जिन्दगी, उमेर जस्तै हलुका थियो । किताब च्यापेर दाजु भाइसँगै स्कुल जानु । उखुबारी र आँप गाछीका बँगैचामा पुतली जस्तै पुतलीका पछि दगुर्नु । आमाले पकाइदिएको खानु । पढ्नु, लेख्नु रमाउनु ! आहा कस्तो रमाइलो । 

सबिनाका बा अचानक बिते । आमालाई व्यवहारले थिच्यो । छरछिमेक र समाजको धारणासँग कुस्ती खेल्ने बल आमासँग थिएन । जसरी सबिनाका सखीहरुको बिहे सानै उमेरमा हुन्थ्यो, त्यसरि नै सबिनाको पनि बिहे गरिदिने निधो भयो । 

पढाई छुट्यो । आमा छुटिन् । सपना छुटे । आँपगाछीका पुतलीहरु छुटे । बिहे गरेको भोलिपल्टैदेखि सबिनाको संसार अर्कै भयो । नरमाइलो संसार । चन्चल मन र जिज्ञासु वालापन घुम्टोभित्र बन्धक भयो । त्यसरि नै थुनिए सबिनाका पढ्ने चाहना र थुप्रै सपना । 

बिहे गरेर गएको घरमा बिस्तारै सुरु भयो अत्याचारको श्रृंखला । सक्ने जति सहिन् सबिनाले । 

६ कक्षासम्म पढ्न पाएको सबिनाको चेत त्यति कमजोर कहाँ थियो र? उनका मस्तिष्कमा बिस्तारै विद्रोह सल्बलाउन थाले । सबिनासँग दुई वटा विकल्प थिए: आफ्नो जिन्दगीको कथा अरुलाई लेख्न दिने कि आफै लेख्ने । आँटिली सबिनाले दोस्रो बाटो रोजिन् । 

कानुनले सबिनालाई न्याय दियो । सानैमा छोरीको बिहे गरिदिएर गल्ती भयो कि भन्ने आमालाई पहिल्यै लागिसकेको थियो । आमाले छोरीलाई सक्दो बल दिइन् । 

यो बिचमा आमा पनि गाउँकी नेता भइसकेकी थिइन् । मुस्लिम समाजमा बाहिर निस्केर परिवार र व्यवहार धान्ने महिला पाउन गाह्रो थियो । पार्टीहरु उनलाई खोज्दै आँगनमै आइपुगे । 

सबिनाले ७ कक्षामा पढाइ सुरु गरिसकिन् । जोश र जाँगर बोकेर स्कुल जान्छिन् । डाक्टर बन्ने सपना बोकेकी छिन् । पुरै जिन्दगी अगाडि छ । 

पछाडि बितेका जिन्दगी फर्केर हेर्न मन छैन । सबिनाले अरुले लेखिदिएको एउटा दुःखद कथा च्यातेर फालिसकिन् र आफैं लेख्न सुरु गरेकी छिन् आफ्नो कथा । विद्रोहबाट जन्मिएको बलियो कथा ।

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply