EP164 Story of the Old Tiger

विष्णुबहादुर लामा र हर्कमान लामा चित्लाङ छेउको तोप्लाङ गाउँमा बस्थे । उनीहरु शिकारी परिवारका थिए । बाजे पनि, बुबा पनि – दरबारका शिकारी । बेलाबखत चरा शिकार गरेर दरबारमा बुझाउनुपर्थ्यो । विष्णु र हर्क बाउ-बाजेले बन्दुक चलाएको देखेर हुर्केका थिए । 

 

कालिम्पोङमा जन्मेका किर्तिमान तामाङ नाम गरेका मान्छे नेपालको वनविभागमा जागिरे थिए । पढेलेखेका । केही समय चितवनको टाइगर टप्समा काम गरेर किर्तिमान तामाङ पिएचडी गर्न अमेरिका गए । पिएचडीको अनुसन्धानको सिलसिलामा किर्तिमानले ‘टाइगर इकोलोजी प्रोजेक्ट’ ल्याए । चितवनका जङ्गलमा बाघमाथि अनुसन्धान हुने भयो । चितवन राष्ट्रिय निकुन्ज स्थापना हुनै लागेको थियो । किर्तिमानले  बाघका आहार विहारको अध्ययन थाल्ने भए ।  उनलाई जङ्गलमा बाघ समाउने सहयोगी चाहियो । विष्णुबहादुर र हर्कमानका काकासँग किर्तिमानको चिनजान रहेछ । किर्तिमानलाई सघाउन २९ सालमा दाजु हर्क आइपुगे । ३२ सालमा भाइ विष्णु । त्यसयता झन्डै ४५ वर्ष यी दाइभाइले  संरक्षणको बन्दुक चलाएर जङ्गलमै बिताए । 

 

सामान्य सहयोगीको रुपमा जङ्गल पसेका लामा दाजुभाइले भारी बोक्ने, बाघ लोभ्याउन पाडो बान्ने, खाना पकाउने, भाँडा धुने, हर काम गर्नुपर्थ्यो । बिस्तारै उनीहरुले बाघ समाउने काम सिक्न थाले । शिकारी परिवारका हर्क र विष्णु केही समयमै बाघ लठ्याउने बन्दुक चलाउन शिपालु भइसकेका थिए । 

 

सन् १९७४ मा किर्तिमान तामाङको टोलीले चितवनमा १ सय १ नम्बरको बाघ समात्यो । बाघको घाँटीमा रेडियो कलर जडान गरियो । यसरी बाघ समातेर रेडियो कलर लगाइएको एशियामै पहिलो पटक थियो । 

 

स्कुले पढाई नपाएका विष्णु र हर्कले सारा जीवन जङ्गल नै पढे । उमेरले ७० नाघिसकेका उनीहरु आजकल अरुलाई पढाउने भएका छन् । देशविदेशका विश्वविद्यालयहरुले ज्ञान बाँड्न बोलाइरहन्छन् । 

 

जंगल घुम्दा भेटेका मरेका जनावरहरु विष्णुले बोकेर ल्याउँथे । उनले संकलन गरेका जनावरहरु अहिले सौराहको प्रकृति संरक्षण कोषको कार्यालयमा वन्यजन्तु  संग्रहालय बनेको छ । 

 

प्रकृति संरक्षण कोषको कार्यालयको गेटैमा विष्णुको घर छ । उनलाई आजकल पनि फुर्सद छैन । अनुसन्धान गर्न आउने विद्यार्थीहरुलाई सिकाउँछन् पढाउँछन् । 

 

अमेरिका जाँदा उपहार पाएको झन्डै २० वर्ष पुरानो ल्यापटपमा आफ्ना पुराना सम्झनाहरु टिपोट गरिबस्छन् । 

 

यहाँबाट अलिक पर हर्कमानको घर छ । उनी चाहिँ अवकाशप्राप्त शान्त जीवन परिवारसँग बिताउँदैछन् । हर्कका छोरा तीर्थ लामाले बुबाको काम सम्हाल्न थालेका छन् । 

 

जसरी जरा माटोमा गाडिएको छ विष्णुबहादुर र हर्कमानका सम्झना त्यसैगरी गाडिएका छन् जंगलका कुनाकुनामा  । ज्ञान सम्झना र अनुभवका अलिखित दस्तावेजहरु जङ्गलमाझ हराइरहेका छन्

 

 

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply