EP165 Chharka School and Sonam

शायद असल मान्छेहरु अफ्ठ्यारा ठाउँका लागि बनेका हुन्छन् । जसरि अफ्ठ्यारो पाखामा गुराँस फुल्छ, चिसा पाटनमा बुकी फुल्छन् । जसरी फुल्छन् छिरिङ साम्डुप र सोनामहरु – हिमाली गाउँमा । 

 

छार्का स्कुल र सोनामको कथा

 

अफ्ठ्यारो उपल्लो डोल्पाको – छार्का भोटमा जन्मेका थिए छिरिङ साम्डुप गुरुङ । उबेला काठमाडौं गएर गुम्बामा पढ्न पाउनु नै ठूलो अवसर थियो । छिरिङ बौद्धको गुम्बा बसे । 

 

छिरिङलाई चित्रकलामा रुचि थियो । गुम्बाको बसाइ सकिएपछि चित्रकला पढ्न मन लाग्यो । खर्च थिएन । तिन्जे गाउँमा संस्थाले चलाएको स्कुलमा शिक्षक चाहिएको थियो । छिरिङ डोल्पा फर्के । बर्खामा स्कुल पढाउँथे, हिउँदमा काठमाडौं गएर चित्रकला पढ्थे । 

 

पल्लो गाउँको स्कुल पढाइरहँदा छिरिङलाई आफ्नै गाउँको लथालिङ्ग स्कुलको दृश्यले घोचिरहन्थ्यो । 

 

छिरिङले मन मिल्ने साथीहरुसँग संस्था दर्ता गरे । पैसा खोज्न थाले अनि आफ्नो गाउँको स्कुलको मुहार फेर्ने काम थाले । 

 

चित्रकला प्रदर्शनमा देशविदेश जाँदा छिरिङले स्कुलकै प्रचार गर्थे र पैसा जुटाउँथे । 

 

मनको एउटा कुनामा चित्रकार बन्ने सपना भर्भराउँदो छ । तर क्यानभास रित्तो छ । छिरिङलाई स्कुल कसैको जिम्मा लगाएर फेरि रङहरुसँग खेल्न मन छ । तर सकेका छैनन् । 

 

उपल्लो डोल्पाका निला आकाश र तरेली पहाडहरु घुम्न जानेहरुलाई दुई चार दिन रमाइलो लाग्छन् । वर्षभरिको यहाँको जिन्दगी बाँच्न सजिलो छैन । त्यसैले यहाँ स्कुल पढाउने शिक्षकहरु पाउनै गाह्रो छ । काठमाडौंमा जन्मे हुर्केका सन्दिप भने अपवाद भएका छन् । कुनै दिन फोक्सुन्डो ताल घुम्न आएका सन्दिपलाई डोल्पाली मायाले यतै बाँधेर राखेको छ । 

 

—- 

 

छार्का स्कुलमा भेटिइन् सोनाम भुटी । नर्सरीलाई पढाउँदै गरेकी । यही गाउँकी सोनाम बुबा बितेपछि मित बुबाको सहयोगमा दुनै र काठमाडौं पढिन् । ११-१२ पढ्ने खर्च थिएन । छिरिङले सोनामलाई शर्त राखे – तिमीलाई स्कुलले पढाइदिन्छ, पढाइ सकेर यही स्कुलमा पढाउन आउनुपर्छ । 

 

सोनामलाई भ्याइनभ्याइ हुन्छ । आमा अर्को गाउँमा यार्सा टिप्न गएकी छिन् । स्कुल सक्ने बित्तिकै सोनामलाई दुई घन्टा टाढाको गोठमा बाख्रा हेर्न जानुपर्छ । अनि भोलि विहान हतार हतार स्कुल पढाउन आइपुग्नुपर्छ । आजकल सोनामको दैनिकी यस्तै छ । स्कुल सकिएपछि हामी पनि सोनामकै पछि लाग्यौं ।

 

 

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply