३३ सालतिरका श्यामस्वेत तस्बिरहरुमा हेटौंडा भर्खरभर्खर बामे सर्दै गरेको बजार थियो । काठका झुपडीहरु । दुईचार पक्की घरहरु । काठमाडौं र नारनघाट चल्ने बस र ट्रकहरु ।
कर्रा पारिको विशाल खाली मैदानमा औद्योगिक क्षेत्र खुलिसकेको थियो । यहिँ भित्र चिनियाँ सहयोगमा खुल्ने भयो एउटा भव्य उद्योग – हेटौंडा कपडा उद्योग ।
राजमार्ग र औद्योगिक क्षेत्रको जङ्क्सन बनिसकेको हेटौंडामा कपडा उद्योगले गुल्जार थप्ने भयो । पहाडका मान्छेहरु बसाइँ आउन थाले । जागिर र तलबले सपनाहरु रङ्गीन बनाउन थाले ।
कुनै समय १२ सय जनालाई रोजगारी दिएको हेटौंडा कपडा उद्योग अन्तत: २०६४ सालमा बन्द भयो । एउटा वैभवको अवसान भयो ।
चिनिया टोलीसँगै ३३ सालमा उद्योगको जग खन्ने सयौं हातमध्ये एक जोडी हात प्रकाश पौडेलका पनि थिए । त्यसपछिका २३ वर्ष यसै उद्योगमा मजदूर भएर बिताएका पौडैलसँग आज हामी उही हेटौंडा कपडा उद्योग घुम्नेछौं – अहिले श्यामस्वेत तस्बिर झैं भएको कपडा उद्योगका भत्केका भित्ता र खिया लागेका मेसिन सुम्सुम्याउनेछौं र पुर्याउनेछौं तपाईंलाई ती दिनहरुमा जहाँ ढकमक्क गुलमोहर फुलेका हुन्थे र माहुरी जस्ता मजदुरहरु सपना जस्ता कपडा बुनी बस्थे ।

