गत वर्षको फागुनमा हामी देउखुरीको यो गाउँ पुगेका थियौं । महादेवा गाउँको नाम फेरिएर गढवा नगरपालिका भएको थियो । अनि गाउँकी गीतगाउनेआइमाइ भनेर चिनिने निर्मला चौधरीको नयाँ चिनारी बनेको थियो ।
जिन्दगीका धेरै फागुन र साउनहरु खेतबारी र चुलो चौकोमै बिताएकी निर्मलालाई खोज्दै अघिल्लो फागुन मान्छेहरु उनको घरमै आइपुगे ।
स्टोर रुम भित्रको ओछ्यानछेउमा विहानै मोबाइलको अलार्म बज्छ । उनी आँखा मिच्दै उठ्छन् र हतार हतार गृहकार्य सक्छन् । राति सँधै अबेर भइसकेको हुन्छ । थाकेको ज्यानले ओछ्यान रोज्छ ।
मूल ढोकाका साँचो लिएका मानिस मस्त निद्रामा हुन्छन् । उनलाई उठाउन मन लाग्दैन । झ्यालबाट निस्किन्छन् र क्याम्पस जान्छन् ।
१० बजे क्याम्पस छुट्टी हुन्छ । सिधै होटल जान्छन् । भान्छा छेउमा झोला थन्क्याउँछन् र पाहुनाहरुलाई खाना खुवाउँछन् ।
पढाईमा तीक्ष्ण छन् । पैसामा कमजोर । क्याम्पसको खर्च जुटाउन होटलमा काम थालेकाे ३ महिना भयाे।
खानापछि उनको अर्को दैनिक सुरु हुन्छ । होटलका कोठाहरु बढारकुडार गर्ने, ओछ्यान मिलाउने र ट्वाइलेट बाथरुम सफा गर्ने ।
काम बाट एकछिन फुर्सद निकालेर उनले आफ्नी आमासँग हामीलाई भेटाउने भए । बजार छेउको दलितबस्तिको एक कोठे घरमा आमा एक्लै बस्छिन् ।
बिनोदको संघर्षमय वाल्यकाल यही सेरोफेरोमा हुर्कियो । बिनोद सानै हुँदा बाबु मलेसिया हिँडे ।
आमालाई घरधन्दा सघाउँदै हुर्केका विनोदले आफ्नो पहिचानसँग जोडिएका केही नमिठा अनुभव पनि साटे ।
बेलुका होटलमा विनोदको उही भ्याइ नभ्याइको दैनिकी ।
चितवनबाट डाक्टरी पढ्ने विद्यार्थीहरु दुई महिनाको लागि उनी काम गर्ने होटलको पाहुना बनेका छन् । उनको मिलनसार स्वभावले धेरै आफ्ना भइसकेका छन् । आज बेली उनीहरुलाई बेली डान्स देखाउँदै छन् ।
अछाम सदरमुकाम मंगलसेनबाट साँफेबगर झर्दै गर्दा हामीले बन्दै गरेको मध्यपहाडी लोकमार्ग रोज्यौं । चुडेली गाउँ पुगेपछि मस्जिदबाट आइरहेको प्रार्थनाको आवाजले हामी रोकियौं ।
यो बस्तिलाई मियाँ टोल भन्दा रहेछन् । पहिले पहिले चुरा बनाउने र बेच्ने पेशा भएकाले गाउँको नाउँ चाहिँ चुडेली ।
राउटेहरु आएर बसेको थाहा पाएपछि हामी सुर्खेतको लेकबेसी नगरपालिकाको एउटा गाउँछेउ पुग्यौं ।
८-१० वटा पाल टाँगिएका थिए । दैलेखछेउको डाँडाबाट उनीहरुको समूह केही दिन पहिले आइपुगेको रहेछ । अर्को ठूलो समूह चाहिँ माथि डाँडामै भएको थाहा पायौं ।
भोलिपल्ट बिहानै फेरि हामी यसै थलोमा पुग्यौं । डाँडामा बसेका राउटेको ठूलो समूह आज बसाइँ सर्ने तयारी गरेको थाहा पायौं । हामी डाँडा उक्लिने भयौं ।
२-३ घन्टाको उकालो काटेर डाँडामाथि पुग्दा राउटेहरु बाटो लागिसकेका थिए । कोहीकोही अझै पोका पन्तुरा कस्दै थिए ।
जंगल र भीर छिचोल्दै राउटेको समूह अगाडि बढ्यो । लगभग ३ घन्टाको ओरालो हिँडेपछि उनीहरु एउटा गाउँछेउको बगरमा पुगे । नयाँ थलो यहिँ बनाउने निर्णय भयो । भारि बिसाए ।
लगभग १ घन्टा जंगल छिचोलेपछि डुङ्गाघाट पुग्यौं । नारायणी नदीको एउटा भंगालो । रुख खोपेर बनाएका साँघुरा डुङ्गा हामीले बलियो गरी समात्यौं । माझीहरुले नदीको उल्टो दिशातिर डुङ्गा खियाए ।
नारायणी नदीको किनारमा जंगलको छेउमा शेरगंज गाउँ छ । गाउँमा माझी र मुसहर बस्छन् । नदीमा माछा मार्ने उनीहरुको मूख्य पेशा ।
गाउँलेहरु आज पनि हुल बाँधेर जंगल छिर्दैछन् । हामीले वीरबहादुर मुसहरलाई साथी बनायौं र उनीसँगै गाउँलेको पछि लागेर जंगल छिर्यौं ।
बालखैमा आमा बासँग विछोड हुन्छ । गजेन्द्र राना मगर अनाथाश्रममा हुर्किन्छन् । एक से एक राम्रा स्कुल पढ्ने मौका पाउँछन् । विकास अध्ययनमा डिग्री गर्छन् । सँगैका साथी युरोप अमेरिका लाग्छन् । काेही एनजिओमा जागिर खान्छन् । गजेन्द्र चाहिँ गाउँ फर्किन्छन् र एउटा सानो स्कुलको मुहार फेर्छन् :
सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित जहरे भन्ने ठाउँबाट भेरी नदीको झोलुङ्गे पुल तरेपछि गुमी पुगिन्छ ।
गुमीको ढोेडेनीमा जनसंयुक्त प्रावि छ । विद्यार्थी नअाएर अर्को स्कुलसँग गाभिने सँघारमा रहेको जनसंयुक्तमा एक दिन गजेन्द्र सर आइपुगे ।
यही गाउँछेउमा जन्मेका गजेन्द्र सानोमै आमा बुबासँग विछोडिए । गजेन्द्रलाई गाउँलेले एउटी बहिनीसँगै अनाथश्राम पुर्याइदिए ।
आफ्ना आमा बुबाको अनुहार समेत सम्झनामा छैन गजेन्द्र सरलाई । आफू जन्मेको गाउँ पनि सोध्दै खोज्दै आएका थिए कुनै दिन ।
गाउँको स्कुल देखेर गजेन्द्रको मन पग्लियो । जिन्दगीका आगामि यात्रा तय गर्नुअघि उनले ३ महिना स्कुलमा स्वयंसेवा गर्ने विचार गरे ।
३ महिनामा विद्यालयसँग गहिरो माया बस्यो । गजेन्द्रले स्कूल छोड्न सकेनन् । अभिभावक र विद्यार्थीले गजेन्द्र सर । ४ वर्ष नाघ्यो । गजेन्द्र सर स्कुलमै समर्पित छन् । जागिरे होइनन् । अझै स्वयंसेवा ।
हेर्ने कथाको अंक १७ मा आज बेलुकी ९ बजे गजेन्द्र सरको कथा प्रसारण हुँदैछ । यसपटकदेखि तपाईंले युट्युबमा हेर्ने कथा हेर्दा केही नौलोपन महशुस गर्न सक्नुहुन्छ ।
रहरको कथा – साँझ विहान उनका दौंतरीहरु आँगन छेउमा आएर उफ्री उफ्री खेलिरहन्छन् । उनी मुसुमुसु हाँस्दै हेरिरहन्छन् । दिनभरि बा आमा काममा जान्छन्, एउटा भाइ स्कूल जान्छ । उनी बार्दलीमै बसिरहन्छन् । वरपरका किताब कापीमा घोत्लिरहन्छन् । हातखुट्टा र जिब्रो कमजोर भए पनि दिमाग बलियो भएका अछामका टेकबहादुर साउदको पढ्ने लेख्ने रहरको कथा
Bau Chhoriko Katha – युट्युबमा ६ वर्ष अगाडि कसैले राखेको एउटा भिडियोले हाम्रो आँखा र मन दुबै तानेको थियो । नेपालबाट गएका गन्धर्व बाउ छोरीले भारतको दार्जिलिङ पहाड कर्स्याङ भन्ने ठाउँमा एउटा घरको आँगनमा बसेर गीत गाइरहेका थिए ।६ वर्षपछि हामी तिनै बाउछोरीलाई खोज्दै झापाको एउटा गाउँ पुग्यौं ।
झापाको सबैभन्दा दक्षिणी भेग केचना कवल । यहाँ भोजपुरका पहाडबाट बसाइँ झरेर आएका गन्धर्वहरुको गाउँ छ । गाउँको नाम चाहिँ सङ्गीत चोक । ४० घर गन्धर्व छन् ।
सङ्गीत चोक सङ्गीतमय छ । खेतीपातीको चटारोबिच पनि साथीभाइ भेटेर सारङ्गी रेट्न थालिहाल्छन् ।
सङ्गीत चोकका गन्धर्वहरुको मूख्य पेशा नै गाउने बजाउने हो । उनीहरु धरान, बिर्तामोड गइरहन्छन् । खेतिपाती भ्याएर छिमेकी देश भारतका सिक्कीम दार्जिलिङ जानेहरुको लर्को पनि उत्तिकै हुन्छ । भारतमा कमाइ धेरै हुन्छ ।
गाउँका युवाहरुलाई हामीले खोज्दै आएको बाउछोरीकोबारेमा सुनायौं । असाध्यै सुखद संयोग भयो । त्यस भिडियोमा छोरीसँग गीत गाउने शिव गन्धर्व त्यहिँ थिए । ६ वर्षअघिको उनको अनुहार अलिअलि फेरिएछ ।
शिवले हामीलाई आफ्नो घर लिएर गए । हामी उनकी छोरीलाई भेट्न आतुर थियौं ।
ट्रेलर – बाउ छोरीको कथा – हेर्ने कथामा नयाँ अंक आउने बेला हुनै लाग्यो । आगामि अंकमा हामी देखाउने छौं “बाउ छोरीको कथा” । अहिले चाहिँ ट्रेलर हेर्नुहोस् ।
बाउ छोरीको कथा पुरा कार्यक्रम आउने सोमबार अर्थात् अक्टोबर १ तारिख (असोज १५ गते) राति ९ बजे हेर्ने कथाको आधिकारिक युट्युब च्यानलमा प्रसारण गर्नेछौं । हाम्रो युट्युब च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने अहिले नै गर्नुहोस् ।
आगामि अंकमा प्रसारण हुने बाउ छोरीको कथा हेर्ने कथाको पन्ध्रौं अंक हो । यसअघि हेर्ने कथा अंक १४ मा हामीले जिन्दगीको कथा देखाएका थियौं ।
हामीलाई धेरै दर्शकहरुले हेर्ने कथा किन ढिलो अपलोड गरेको? नयाँ कथा आउने बेला भएन? भनेर सोध्नुहुन्छ । हामीलाई थाहा छ यो दर्शकले हामीलाई गरेको माया हो । तपाईंहरुको सम्झनाको लागि हेर्ने कथा महिनामा दुई पटक मात्र प्रसारण हुन्छ । हरेक अँग्रेजी महिनाको १ तारिख र १५ तारिख । यसै अनुरुप हामीले आजसम्म हेर्ने कथाका अंकहरु समयमै प्रसारण गर्दै आएका छौं ।
हेर्ने कथालाई साप्ताहिक बनाउने हाम्रो पनि ठूलो रहर छ । तर हाल सानो टोली र सानै स्रोत साधनका कारण हामी हरेक १५ दिनमा नयाँ कथा देखाउँदैछौं । यसबारे हेर्ने कथा सहकर्मी विद्या चापागाईले तपाईंलाई लेखेको पत्र पढ्नु भएको छैन भने यहाँ पढ्न सकिन्छ ।
बाउ छोरीको कथाको ट्रेलर हेर्दं गर्नुहोस् । पुरा कथा सोमबार देखाउनेछौं ।
तपाईंलाई हेर्ने कथा मन पर्छ भने आफ्ना साथी र आफन्तलाई थाहा दिनुहोस् र हाम्रो युट्युब च्यानल सब्स्क्राइब गर्न लगाउनुहोस् ।
कहाँ बज्यो मादलु माने भन्ज्याङ गाउँ, यो गाउँलाई छोडेर भन कहाँ जाउँ । पूर्व झापाका गन्धर्वहरुले गाएको यो मार्मिक लोकभाका प्रस्तुत गर्दैछौं मजा लिनुहोस् ।
हामीले यो गीतको केही अंश हेर्ने कथाको अंक ११ मा प्रसारण भएको सिमानाको कथामा पनि प्रयोग गरेका थियौं । हेर्ने कथाको आउँदो अंक “बाउ छोरीको कथा” बनाउने सिलसिलामा हामी झापाका दक्षिणी भेग केचना कवलमा रहेको गन्धर्व गाउँ पुगेका थियौं ।
संगीत चोक नामले चिनिने यो गाउँमा ४० भन्दा धेरै गन्धर्व परिवार बस्छन् । गाउँका गन्धर्व दाजुभाइहरु कहिलेकाहिँ सँगै बसेर सारङ्गी बजाएर आफ्ना पीर व्यथा भुल्ने गर्छन् ।
पूर्वका शहरहरुमा भेटिने गन्धर्वहरुले यो गीत गाएको हामीले बेलाबेलामा सुन्ने गरेका थियौं । तर गाउँमै पुगेर यति मिठो मौलिक भाका नजिकैबाट सारङ्गी र मादलूको तालमा सुन्नुको मजा भने बेग्लै थियो ।
कहाँ बज्यो मादलु माने भन्ज्याङ गाउँ
यो गाउँलाई छोडेर भन कहाँ जाउँ
म त हजुर नुन बोकेर तराई पहाड डुल्ने
यो दुःखीको मनको फूल कहिले होला फुल्ने
ढाकर बोकेर अफ्ट्यारा बाटाहरु छिचोल्दै धरान धनकुटा गर्ने भरियाहरुको दुःख बोलेको छ यो गीतले । शायद धेरै पहिलेदेखि गन्धर्वहरुले यो गीत गाउँदै आएको हुनुपर्छ । हामीले यो गीत रेकर्ड पनि भएको छ कि भनेर खोज्ने प्रयास गर्यौं । तर फेला परेन ।
सारङ्गीको र्याइँ र्याइँ र मादलूको तालमा गहिरो अर्थ बोकेको यो गीत गन्धर्वहरुको मिठो गलाबाट निस्केको आफैं सुन्नुहोस् ।
जिन्दगीको कथा – समयका फरक फरक छालहरुमा तैरिँदै केही जिन्दगीहरु धनकुटाको मुलघाटस्थित तमोर नदी छेउ सुसाइरहेका छन् ।
मन्दिरमा बेला बेला बजिरहने घन्टका आवाज, आँपका डालीमा आएर कराइरहने कागहरु, एक तमासले सुसाइरहने तमोर, साँझ विहानको हरिकिर्तन । यस्तै छ यहाँको चित्र ।
प्राय सबै शान्त छन् । बिस्तारै हिँड्छन् । सुस्तरि बोल्छन् । कोही बोल्दै बोल्दैनन् । कोही दिनभरि एकनाश बत्ति कातिरहन्छन् ।
विश्रान्ति आश्रममा शान्त छ अहिले जिन्दगी । जिन्दगीले भोग्ने जति भोगिसक्यो, देख्ने जति देखिसक्यो र सहने जति सहिसक्यो ।
कोही गुमाएर आए । कोही हुँदा हुँदैको छाडेरै आए । सब जना थाकेरै आए । अहिले जिन्दगी एक्लो छ । शुन्य छ । अपेक्षाहरुको लेनदेन छैन । हिसाब किताब छैन । पाउनु गुमाउनु छैन । जिन्दगी खोला जस्तै बगिरहेछ । तमोर जस्तै ।
Trailer – Zindagiko Katha – हेर्ने कथाको अर्को अंकमा प्रस्तुत गर्दैछौं – जिन्दगीको कथा । हेर्ने कथाको अंक १४ मा रहेको जिन्दगीको कथा पुरा कार्यक्रम आउँदो शनिबार, सेप्टेम्बर १५ तारिख (भदौ ३० गते) राति ९ बजे प्रसारण हुनेछ । कृपया च्यानल सब्स्क्राइब गर्नुहोला ।
We are presenting ‘Zindagiko Katha’ (Story of Life) in the next episode of Herne Katha. This is Episode 14 of Herne Katha. Full Episode will be published on Saturday, September 15 on the official YouTube Channel of Herne Katha. Please subscribe now.
बबनपुरका गोठालाहरु – बर्दियाको बाँसगढी नगरपालिकाको बबनपुर । यादब गाउँ । पुरै गाउँ शाकाहारी ।माछामासु खाने त परको कुरा गाउँमा हाँस कुखुरा र बाख्रा समेत कसैले पाल्दैनन् । सबैका गोठमा गाई भैंसी मात्र छन् । गाई भैंसी पाल्नु नै यो गाउँको पुर्ख्यौली पेशा हो ।
सानैदेखि बाउबाजेसँगै गाई भैंसीको पछि लागे । गाई भैंसीसँगै हुर्किए । उ बेला गाई भैसीको खान्की पुर्याउन गोठालाहरु जंगल जंगल चाहर्थे । सुन्दरले पनि बाउ बाजेको विँडो थामे । गाईवस्तुको गोठालो गर्दै जंगलमा सालका रुखमुन्तिर उनले थुप्रै रात काटेका छन् ।
नुहाई धुवाई र पुजापाठ सकेर खाना खाए पछि सुन्दर यादव गोठमा जान्छन् र दाम्लो फुकाल्छन् । अनि जंगल छिचोल्दै भैंसीहरु चराउन लैजान्छन् । सुन्दर यादबको वाल्यकालदेखि आजसम्मको दैनिकी यहि हो ।
यी हुन् अँग्रेजी सबटाइटल गरिएका हेर्ने कथाहरु – तपाईहरुको सल्लाह र सुझाव र माग अनुसार हामीले हेर्ने कथा का अंकहरुमा अंग्रेजी सबटाइटल राख्न थालेका छौ ।
अहिलेसम्म हेर्ने कथामा १२ वटा अंकहरु प्रसारण भइसकेका छन् । ती मध्ये ८ वटा अंकहरुमा अंग्रेजी सबटाइटल गरिसकिएको छ । अब बाँकी भएका ४ वटा अंकहरुमा पनि छिट्टै सबटाइटल राख्नेछौ ।
हेर्ने कथामा अहिलेसम्मका अंकहरुमा एक्लो कथा ले केही रेकर्डहरु तोड्यो । पहिलो सबैभन्दा छिटो १ लाख पटक हेरिने कथा । दोस्रो अहिलेसम्म सबैभन्दा धेरै कमेन्ट गरिएको कथा ।
यो लेखिरहँदा एक्लो कथामा युट्युबमा मात्र १७ सय ५० कमेन्ट छन् । फेसबुक र ट्वीटरमा पनि सयौं भावनाहरु शब्दमा पोखिएका छन् ।
बुवा बिते । आमा विदेशमा छिन् । दुइ दाजुहरु पनि विदेशमै छन् । एउटी दिदी सँगै थिइन् । उनी पनि विहे गरी पराई घर गइन् ।अनि १२ वर्षका साजन बिक घरमा एक्लै भए । साजन नजिकैको स्कूलमा ५ कक्षामा पढ्छन् । यो घरमा एक्लै बस्छन् । एक्लोपन नै उनको साथी ।
घर शुन्य छ । बोल्ने मान्छे कोही छैनन् । सुँगुरको पाठो र केही कुखुरा छन् उनीबाहेकका प्राणी ।
साजनलाई सबैभन्दा धेरै बुबाको माया लाग्थ्यो । बुबा कहिले नफर्किने बाटो लागे । बुबाको माया अब तस्बिर बनिसक्यो ।
आमा र दुइ दाजु विदेश गएपछि घरमा दिदीसँगै वस्थे । १४ वर्षकी दिदी पनि एकदिन उनलाई छोडेर हिँडिन् । त्यसपछि उनले आमाले विदेशबाट फर्किदा ल्याएको टिभिलाई साथी बनाएका थिए । त्यो पनि बिग्रिएपछि यो घरमा उनी झनै एक्लिए ।
सिमानाको कथा – झापाको मेचीपारिको नेपालको कथा व्यथा । दुईतिर मेची नदीका भँगाला अनि सिमानामा भारतको ‘थिचोमिचो’ । हेर्ने कथा अंक ११ – सिमानाको कथा
डुङ्गा चढी आउन सकेन बाटो र विरानो भयो आफ्नै देश आफ्नै खेत गयो परदेश कहिले नदीले बाटो फेर्यो कहिले सिमानालेबाटोफेर्यो। तर उनीहरुको माटो फेरिएन। सिमानामा वर्षौंदेखि सिमाना बनेर उभिएको एउटा गाउँको व्यथा सिमानाकोकथा
निमलाल राजवंशी चर्को घाममा यात्रु पर्खेर बसेका छन् । मेची पारिको गाउँ आउन जान नगरपालिकाले डुङ्गा राख्दिएको छ ।
मेची नदीका दुई भँगालोबिचको महेशपुर गाउँ भद्रपुर नगरपालिकामै पर्छ । हिउँदमा बगर नै बाटो बन्छ । वर्खामा डुङ्गा समात्नुपर्छ । पानी अझै बढ्दा यही डुङ्गा पनि चल्दैन । अनिमेचीपारिको गाउँ आफ्नै देशभित्र बन्दी जस्तै बन्छ ।
नदी तरेर हामी बलौटे माटोमा उम्रिएका हरिया घाँसहरु टेक्दै मेचीपारिको गाउँ छिर्यौं । बाटोको नामनिशान थिए । कहिले खेतका आलिहरु कहिले गोठाला र वस्तु हिँडेका डोबपछ्याउँदै हामी हिँडिरह्यौ।
हामी श्रीप्रसाद महतोको पछि पछि केहीबेर सीमानामा हिँड्यौं ।
भारत र नेपालको नक्सा छुट्याउने यहाँ कुनै पर्खाल थिएन न त थिए काँडेतारहरु । खेतका आलि र काँशका झ्याङहरुमा केही ताजा सिमेन्टीका किला भने ठोकिएका थिए । एकै बगालका वस्तुहरु कोही भारततिर चर्दैथिए । कोही नेपालतिर । एउटै खेतका आलीहरु केही भारततिर थिए केही नेपालतिर ।
हेर्ने कथाको अंक १० मा यसअघि ‘वडा नम्बर २२ को कथा’ प्रसारण भएको थियो ।