उकुसमुकुस

सरकारले कोरोना नियन्त्रणका लागि लकडाउन घोषणा गरेसँगै झन्डै डेढ महिनादेखि ललितपुरको सातदोबाटोमा छु । रहरले भनौं या बाध्यताले उच्चशिक्षाको लागि काठमाडौ छिरेपछि परिवारबाट टाढा टाढै भइयो ।

लकडाउन सुरु भएसँगै मेरा दिनचर्या पनि बदलिएको छ। हरेक दिन विहान निन्द्रा खुल्न बित्तिकै खाटको छेउमै रहेको टेवुलबाट मोबाइल तान्छु अनि सामाजिक सञ्जाल फेसबुक ट्विटर तिर हेर्छु, कोरोनाको संक्रमित संख्या दिनानु दिन बढ्दै गएको सामाचार हेर्छु, मोबाईल स्क्रोल गर्दै जाँदा देशमा सुखी नेपाली समृद्ध नेपालको उधारो सपना बाँडेर सत्ताको बागडोर सम्हालेका मान्यजनहरु देश संकट हुँदा पनि कुर्सी र सत्ताको दाउपेच र अन्तर कलह हेर्दा मन विरक्तिन्छ। यसरी सुरु हुन्छ एकान्तबासको दैनिकी ।

देशमा दिनानु दिन कोरोनाको संक्रमण बढ्दै छ। तर सरकारले चालेका तदारुकताको निम्छरोपन देख्दा खुल्ला सडकमा गएर बेस्सरी चिच्याउन मन लाग्छ । तर फेरि आफ्नो मनलाई थमथमाउँदै उकुसमुकुस भएर कोठाभित्रै छिर्छु।

घरमा ममीबुबालाई फोन लगाउँछु, घरको हाल सबै सोध्छु। ममी र छोराको लामो गन्थन चल्छ। ममी असाध्यै पिर गर्नु हुन्छ, भन्नु हुन्छ। सबैका ममीहरु सायद यस्तै हुन्छन्। गन्थन पनि के भन्नु ‘बेलामा खानु, ताजा ताजा पकाएर खानु,बासी नखानु , पकाउन अल्छि नगर्नु।’ यस्तै त हाे ममीकाे पिरलाे।

अत्यास लाग्दो एकान्तबासका डेढ महिना त जसो तसो धकेलियो। अब यो अनिश्चित लकडाउन कहिलेसम्म हाे। यो उकुसमुकुस बन्दाबन्दिबाट कहिले मुक्त भएर पहिलेकै दैनिकिमा फर्किने हाे भन्ने प्रश्नले बारम्बार उत्तर खोजिरहेका छन्। यी प्रश्नप्रति म आफै अनभिज्ञ छु।

केही दिन देखि मौसममा नि बदली आइरहेको छ। क्षण भरमै पानी पर्छ, क्षणभरमै घाम लाग्छ ।काेराेनाले सिर्जना गरेकाे याे अवस्थामा पनि चाडैँ बदलाव आएर पुरानै दैनिकी फिर्नेछ भन्ने आशा छ।

निश्चल नेपाली

तुल्सीपुर,दाङ


हेलम्बुकाे हावा

सरकारले कोरोना नियन्त्रणका लागि लकडाउन घोषणा गरेसँगै झन्डै डेढ महिनादेखि म राजधानी काठमाडौँबाट सबैभन्दा नजिकको पदमार्ग सुन्दर पर्यटकीय गन्तव्य सिन्धुपाल्चोक जिल्लाको हेलम्बुमा छु। रहरले भनौ या बाध्यता, झन्डै दश बर्ष अघि एसएलसी दिएर उच्चशिक्षाको लागि काठमाडौँ हानिएपछि परिवारको सामीप्यताबाट सधैँ टाढै भइयो। घरको यादमा टोलाउनु नै दैनिकी बन्यो। बर्षमा दुई तीन पटक चाडपर्वहरुमा हुने केही दिनको भेटघाटमा खुम्चियो परिवारसँगको सामीप्यता । कोरोनाले नै एसएलसीपछि राजधानी छिरेदेखि पहिलोपटक यति लामो समय परिवारसँग रमाउने अवसर जुराइदिएको छ ।

काठमाडौँबाट घर आएसँगै दिनचर्या पनि पूरै बदलिएको छ। आजकल एकाबिहानै मोबाइलको अलार्मकाे सट्टा भालेको ‘कुखुरी काँ’ ले निद्रा खुल्छ। अनि आँखा उघार्ने बित्तिकै अग्ला अग्ला भवनहरुको सट्टा आँखै अगाडि दन्ते लहर खोलेर हाँसिरहेको लाङटाङमा नजर पर्छ। बिहानै कफिको सट्टा घरमै पालेको काली भैंसीको खाँटी दुध ओछ्यानमै आइपुग्छ। कोकाकोला र फेन्टाको सट्टा घरमै पारेको माेहीले आँत शितल बनाउँछ। क्याटबरी र डेरी मिल्कको सट्टा जंगलको ऎँसेलु र काफलले मुख मिठो बनाएको छ।

काठमाडौँ हुँदा ममीले सधैँ फोनमा भन्नुहुन्थ्यो ‘अल्छी नगरी बिहान बेलुका अलिकति तातो पकाएर खानु।’ आजभोलि बिहान बेलुकै जिब्रोले ममीको हातले बनाएको मिठो खानाको स्वाद पाएको छ। गाउँमा राम्रोसँग ईन्टरनेट चल्दैन। तर सधैँ मोबाइलको स्क्रिनमा घोत्लिरहने आँखाले प्रकृतिको अनुपम सुन्दरता नियाल्न पाइरहेको छ। सधैँ सवारीसाधन र कलकारखानाको कर्कस आवाज मात्रै पर्ने कानमा कोइलीको कुहुकुहु गुन्जिन थालेको छ ।

लकडाउनले सहर बजारमा कष्टकर भएपनि गाउँमा केही काम गर्न छेकेको छैन। धमाधम मकै गोड्ने र गहुँ कुट्ने काम चलिरहेकै छ। तर लगातारको पानीले गहुँ भित्र्याउन बाधा पुर्याएकाे छ।कोही अब कोरोनाले भोकमरी लाग्छ भन्दै गाउँमा बाँझो रहेका खेतबारी, खेतीपातीका लागि तयार पार्दैछन्। यहाँका किसानलाई कोरोनाको भन्दापनि आफ्नो उत्पादन बजारसम्म कसरी पुर्याउने भन्ने बढी चिन्ता छ अहिले।असार लाग्ने बेला हुन लाग्याे। अब मल नपाइने पो होकि भन्ने पिरले सताइरहेको छ यता! जे होस् दुख, ब्यथा र अभावका बिच पनि गाउँमा भावनात्मक एकता, मानवीयता सँगै छुट्टै पहिचान अनि अर्गानिक जीवन छ ।

समीर गिरि

हेलम्बु, सिन्धुपाल्चोक

 

देखेकाे सपना

पिडा हाम्रो सुन्दर शक्ति हुन सक्छ। सङ्घर्षबाट हामीलाई शक्ति आउने गर्दछ। चिजहरु परिवर्तन हुन्छन् जब हामी वास्तवमै तिनीहरुलाई परिवर्तन गर्न चाहन्छौ। आखिर देखेकै सपना साकार हुँदो रहेछ। नदेखेको सपनाको आकार पनि कहाँ हुँदो रहेछ र!

आज लकडाउन भएको पनि महिना नाघिसकेको छ। लकडाउन भन्दा पहिले धेरै सपनाहरु कोरेको थिएँ र त्यहाँ पुग्ने लक्ष्य लिएको थिएँ। तर बिहान ११-५ बजे सम्मको कलेज। त्यसमाथि महिनाको २० घण्टा लाइब्रेरी बस्नु पर्ने, घर आएपछि आफै खाना बनाउन पर्ने। कहिले प्रिजेन्टेसन तयार गर्नु पर्ने त कहिले टर्म पेपरको तयारी। सधैँ यस्तै यस्तैमा व्यस्त हुने म कहिलेकाहीँ त यी सब कुराहरुबाट छुटकारा पाएर हल्का हुन पाए पनि आफ्नो सपनाको दुनियाँमा जान पाउँथे भनेर कल्पिन्थे। मैले अहिले त्यो समय साँच्चिकै पाएकाे छु। याे मेराे लागि अवसर हाे। याे अवसर गुमाइयो भने भविष्यमा फेरि फेरि यस्ताे पल नअाउन सक्छ भन्ने कुरा मनमा लिएर यो लकडाउनको सदुपयोग गर्न थालेकाे छु।

मैले पुन म भित्रको ‘म’ लाई चिन्न अवसर पाएँ। ममा धेरै कुराहरु थिए, जुन समयको व्यस्तताका कारण मैले बाहिर ल्याउन सकिरहेको थिइन। मेरो बाबाको लागि पनि म पुन ‘उहाँको छोरा’ बन्न सफल भए जस्तो अहिले लाग्छ। किनकि मेरो बुवाले जहिले मलाई फलानाकाे  छोरोले यस्तो गर्यो, उस्तो गर्यो भनेर सुनाउनु हुन्थ्यो। म उहाँको लागि ‘मेरो छोराले पनि यस्तो गर्न सक्छ’ भनेर छाती फुलाउन सक्ने छोरा हुन सकेकाे थिइन। तर यो समय मैले मेरो बुवालाई आफ्नो प्रतिभा देखाएर पुन उहाँको छोरा भएको पनि महसुस गरेको छु। अहिले म उहासँग बसेर वंशावली बुझ्दै छु। इतिहासबारे जान्ने कोसिस गर्दैछु, बाबु छोराका अहिले मिठो गफ हुने गर्दछ। ममीलाई पनि खाना बनाउन सहयोग गर्ने गर्दछु। उहासँग पनि धेरै पौराणिक कुरा सिकिरहेको छु। भाइसँग पनि नयाँ नयाँ प्रतिभा छन्। हामी एक अर्कालाई चिन्ने मौका अहिले मिलिरहेको छ।

बच्चा वेला देखि नै साह्रै चन्चले र चकचके स्वाभावको म आकाशमा उडेको पिलेन हेरेर ममीसँग साेध्थे रे – ममी म ठूलो भएपछि त्यस्तै आकाशमा उड्नेछु भनेर। आखिर समयको चक्र न हो, बालापन जस्तो कहाँ अहिले हुँदो रहेछ र! समय बित्दै गयो, सपना नयाँ नयाँ कोरिदैँ गए।

एक जमानामा क्रिकेट साह्रै खेल्थे। जहिले घरमा क्रिकेट खेलेर आउँदा बाबाले मैले पछाडि भिरेको मेरै ब्याटले दिनदिनै पिट्नु हुन्थ्याे। सपनामा पनि मैले क्रिकेट क्रिकेट मात्र गर्थे रे ! ममीले सुनाउनुभएकाे। हुन पनि साह्रै खेलिन्थ्यो क्रिकेट। कहिले कसको घरको सिसा फुटाले, कहिले कसको , के के नोक्सान गर्दिने गर्दा बाबाले जहिले मलाई पिट्नु हुन्थ्यो। सबैले आएर उहाँलाई कुरा लगाइदिने हुनाले मैले क्रिकेट कै कारण धेरै पिटाइ खाएको छु। एक जमानामा कसैले के बन्छस् भनेर सोध्यो भने ‘क्रिकेटर’ भन्थे। अहिले पनि मलाई क्रिकेटमा साह्रै रुची लाग्छ। यो समयमा पुराना म्याच हेरेर बस्छु। उनीहरुले लेखेका किताबहरु पढ्छु। क्रिकेट सम्बन्धि बनेको फिल्महरु हेर्छु। सायद क्रिकेट पनि मेरो नसाको खुन जस्तै भएको थियो। जसले गर्दा मैले आफ्नो पढाइ पनि धैरै बिगारेँ।’आकाशमा उड्छु’ भन्ने सोच बनाउने वैज्ञानिक पनि पहिलो चोटी धुरीबाटै खसे हाेलान्! कति असफल भए हाेलान् , तर पनि मान्छेले हावामा उड्ने सपना माया मारेनन् , र नै त संसारमा हवाईजहाज बन्यो। जीवनमा ठक्कर खानेहरुले नै इतिहास लेख्छन्।

राजनितीमा बच्चा देखि साह्रै रुची राख्ने म अहिले म दिनहुँ राजनितीका किताबहरु पढ्छु। इतिहासदेखि अहिलेसम्म मैले जे जति पढेँ , मैले के बुझे भने ‘हामी कि काङ्ग्रेस, कि एमाले, त कि अरु कुनै पार्टी भित्र रह्यौ। चुनावको बेलामा हामी यी पार्टीहरुकाे मात्रै नभएर ‘नेपाली’ मात्रै भइ सही र गलत छुट्याउन नसकेकाले नै हामी धेरै पछाडि परेको रहेछौ।’

लकडाउन भन्दा पहिले मेरो डायरीले ‘हे सरोज मलाई भर, तिमी लेख’ भनेर आवाज दिए जस्तो महसुस हुन्थ्यो। तर अहिले डायरी भरिएका छन। किताब पढेर ज्ञान लिइरहेछु।किताबसँगै सुत्छु अचेल त। कहिले पढ्दा पढ्दै निदाउँछु। फुर्सतमा फिल्म पनि हेर्छु। कहिले बारीमा गएर फूलहरु सँग मस्त रमाउँछु त कहिले घरको छतमा गएर वरि परि नियाल्छु। साँच्चीकै यो लकडाउनले म भित्रको ‘म’ लाई जगाइदिएको छ। मेराे ‘म’ लाई नयाँ परिचय दिएको छ। धैरै कुरा सिक्ने र सिकाउने अवसर पनि भएको छ।

सपनाहरु पुरा गर्ने नाउँमा, कति सपनाहरु अधुरो नै रहे होलान्। आज केही नपुगे पनि समय चक्र हो। बिस्तारै राम्रो कुराको लागि पनि समय अवस्य आउनेछ भन्ने लाग्छ। यो बाहेक धेरै आफ्नो प्रतिभा बाहिर ल्याउने कोसिस गरिरहेको छु। सायद यो लकडाउन नभएको भए मैले पुन: आफूलाई चिन्ने मैका पाउदैनथे होला।

यो लकडाउन पछि फेरि टोलटोलमा हल्ला हुनेछ, साथीभाइ बिच सल्लाह हुनेछ, फेरि रमाइला दिन फिर्नेछन्।

सराेज भट्टराई

मेराे घरको कौसी

म सधैँ झैँ कौसीमा नै रमाउँछु आजकाल। लगभग ४१ दिन यतादेखि म जतिबेला कौसीमा जान्छु केही न केही नयाँ चिज देख्छु। कहिले पूर्वतिरका हात्तीवन, सेतीपाखा, लाकुरी भञ्याङ्गका दृश्य त कहिले पश्चिमपट्टि देखिने चन्द्रागिरिको चुचुरो र ससाना पहाडका टाकुराहरु। उत्तरदेखि पूर्व पश्चिमसम्मै देखिने दन्तै लहर मिलाइ हाँस्ने हिमश्रृंखलाहरु । सबै यही काैसीबाटै त देखिन्छन्। मलाई हिमाल देखि सधैँ इर्ष्या लाग्छ।तर हिमाल कहिले काहीँ मात्र यसरी मुस्काउँछ। यसाे सम्झन्छु, याे काठमाडाैँ सहरकाे धुवाधुलाे र अस्तव्यस्त बस्तीहरुमाझमा धन्न धन्न मुस्काउँछन् हिमालहरु। त्यसैले हाेला वर्षमा लगभग १०/१२ पटक मात्रै अनुमति दिन्छ र मस्त हाँसिदिन्छ – ल हेर भन्दै!

साँच्चै मेरो घरको कौसी आजकाल मलाई यति प्यारो लाग्छ कि मानौ सबै विश्व यहीँबाट निहाल्न सक्छु। त्यसपछि दिमागमा बसेका कृत्रिम दृश्यहरुले पूरा गर्छन् बाँकी कल्पनाहरुलाई। सानैबाट म धेरै हिंडडुल गर्न चाहने भएकोले स्वदेशी तथा विदेशी प्रचलित ठाउँहरु youtube /television बाट म बेला बेलामा घुमिरहन्छु। हो, त्यही हृदयस्पर्शी दृश्यहरुलाई सम्झन्छु अनि छतबाट यता उता हेर्दै मनमनै भन्छु, सायद अमेरिका यो दिशामा पर्छ। यता युराेप अनि एसियामा त मै छु। अनि आफै मख्ख पर्छु। कम्तिमा मैले पनि याे धर्तीमा पाइला राख्न त पाएँ। आफ्नै नेत्तृत्वमा यो मनलाई आफैले चाहेको ठाँउसम्म पुर्याउन सके।

म आज मेरो घरको कौसीबाटै काठमाण्डौँका प्राय ठाँउहरु जस्ताे कि नागर्जुन दरबार, पशुपतिनाथ, स्वयम्भू, पाइलट बाबा, पाटन दरवार, भक्तपुर दरवार, बुढानिलकन्ठ सबै कहाँनिर र कति दुरीमा छन् भनिदिन सक्छु। त्यस्तै याे सहरका सिमानाहरु थानकोट, चापागाँउ, गोदावरी, साँगा त मलाई यही घरका कौसीको सिमानामा ठम्याउन सक्ने पिल्लरहरु जस्तै लाग्न थालिसक्याे ।

यो घरको कौसीमा पनि कति विविधता के। कहिले सुर्योदय हेर्न पाइने कहिले घाम सिधा डाँडाबाट माथितिर गएको देख्न पाइने।फेरि माथि आकाशतिरबाट डाँडामुनि पुगेकाे घाम र सूर्यास्त पनि यहीबाट देखिने। कहिले घामको प्रचण्ड ताप त कहिले हावाको मधुर स्पर्ष पनि यहीबाट अनुभव गर्न सकिने। ठूला ठूला तृष्णा बेगले परेको पानीको थोपा र असिनाले यस्ताे लाग्छ मानाै घरको छतमा नै रारा ताल पाे बन्छ कि।

अझै आजकल लकडाउनको बेलामा त मानीसहरुको चहलपहल पनि छतमा नै देखिने। बिहानको समयमा योगा तथा एक्सरसाइज, सूर्यास्तकाे समयमा कोही सूचना प्रविधि मार्फत विभिन्न कामहरु गर्ने त काेही परिवारै जम्मा भएर गफगाफ गर्ने पनि त छतमै हाे। कोही कौसीमै हिडाइको पाइला नाप्न मोवाइल बोकेर हिडिरहेको देखिने। खै किन हाे, आजकाल सबैले लगभग १००० पाइलाचाहिँ पुर्याउँछु भन्छन् ।

अनि यस्सो सम्झन्छु। मेराे कौसीको जिम्मेवारी पनि कति धेरै हई। यसाे सोचेर भावुक हुन्छु , म लगायत मेरो परिवारलाई सधैँ घाम, पानी, हावाहुरी, बाहिरी वायु प्रदुषणबाट जोगाउने यहीँ काैसी त हाे। हुन त सबैले आस गर्ने पनि यहीँ नै हाे आफ्नो घरको छानोवाट। तर मलाई भने यसले स्वर्गकाे आभाष दिएकाे छ। सोच्छु, सायद घरको याे छत नहुँदो हो त मैले आफ्ना यी सर्लक्क परेका हातपाउ र चस्मा लगाएरै भएपनि टाढाटाढासम्म देख्नसक्ने आखाँले यस्तो व्याकुल परिस्थितिमा मलाई स्वर्गानुभूति गराउन सक्ने थिएनन्।

दिपा दाहाल

काठमाडाैँ

नामकाे कथा

लकडाउनले मेरो दैनिकी नै परिवर्तन गरिदिएको छ। अझ जीवनशैली नै परिवर्तन गरिदिएको छ भन्दा पनि फरक पर्दैन । दैनिक साढें चार वजे बिहान उठेर एक घण्टा मर्निङ वाकमा पशुपति क्षेत्र परिक्रमा गर्ने रुटिन बदलिएकाे छ। मर्निङ वाकको समय साँघुरिएर आधा घण्टामा सिमित भएको छ भने स्थान पनि परिवर्तन भएकाे छ। अहिले आफ्नै घरको छत मर्निङ वाक स्थल बनेकाे छ।कपालभाँती, अनुलोम विलोम, प्राणायाम जस्ता योगाभ्यास र ध्यानका लागि आधा घण्टा छुट्याएको छु। आधा घण्टा व्यायामका लागि खर्च गर्छु। मर्निङ वाक र व्यायामको बेला मोवाईलमा गीत गुन्जाएर संगीतमय बनाउने गरेको छु। त्यसपछि विहानको समय साहित्यिक लेख, रचनाका लागि उपर्युक्त हुने हुँदा खाना खानु भन्दा अगाडि कहिले गीत, कहिले कविता र कहिले समय सान्दर्भिक निबन्धात्मक लेख लेखेर बिताउँछु। 

बिहानको ११ बजे खाना खान्छु। अनि पुस्तकहरु पढ्छु। लकडाउन सुरु भए यता भारतीय लेखक डा.प्रतिभा रायकाे धार्मिक कथा महाभारतमा आधारीत ४३६ पृष्ठको उपन्यास ‘द्रौपदी’ काे नेपाली अनुवाद पढेर सकाएँ। धैर्यता, संयमित, सहनशीलताका साथै माया, दया, सेवा,करुणाका प्रतिमूर्ति एवम् इतिहासका विभिन्न कालखण्डमा घटित महत्वपूर्ण घटनाक्रमका सुत्रधार नारी पात्रहरुको वास्तविक कथा, व्यथा, वेदना र महानताको बेजोड प्रस्तुति वा दस्तावेज द्रौपदी पढिरहँदा संयोगवश आफ्नै नाम पनि दुर्योधन पर्न गएकाले आफैसँग पनि समय समयमा रिस उठ्याे। लाग्दथ्यो–किन मेरो नाम दुर्योधन राखिएको होला! हुन त बाबाको भनाइ अनुसार मेरो नाम दुर्योधन राख्नुको पछाडि नेपाली संस्कार र संस्कृतिले पनि काम गरेको छ । 

मेराे नामकाे छुट्टै कथा छ।

मेरो बाबा अध्यात्मिक चिन्तनका हिमायती हुनुहुन्थ्यो। उहाँले रामायण, महाभारत, कृष्ण चरित्र, देवी भागवत, गीता जस्ता थुप्रै धार्मिक पुस्तकहरु अध्ययन गर्नुभएको थियो। जसले गर्दा मैले पनि सानै उमेरमा ती धार्मिक पुस्तकहरु पढ्ने अवसर पाएँ। तर उमेरको अपरिपक्वताले गर्दा मैले ती पुस्तकहरु पढेपनि पूर्णरुपमा बुझ्न सकेको थिइन। भगवानले दिएको हात थाप्नुपर्छ भन्ने पुरातनवादी सोचका कारण मेरा बाबा आमाको ५ छोरा र ५ छोरी भएका थिए। गरिबी र अभावका कारण कुपोषण लगायत विभिन्न रोगले ग्रसित भएर १० जना छोरा छोरीमध्ये ७ जना बितिसके।उतिबेला सिमित स्वास्थ्य संस्था हुन्थे। त्यहाँसम्मकाे पहुँच पनि सजिलाे थिएन। बाटोघाटो र यातायातकाे अभाव उस्तै। उतिबेला एउटा प्रचलन थियाे- धेरै छाेराछाेरी गुमाए कुनैकाे मृत्यु पश्चात जन्मिएका छोराछोरीको नाम कि दलितको थरबाट राख्ने कि इतिहासका कुनै खराब चरित्र भएकाे पात्रको नामबाट राख्ने। यसाे गर्दा जन्मने बच्चा राम्राे हुने जनविश्वासकाे आधारमा मेराे नाम ‘दुर्याेधन’ जुर्याे। बाबाको बुझाइमा ‘दुर्याेधन’ महाभारतको खराव पात्र थिए।अब यो सन्दर्भलाई यतिमै सिमित राखौं हाेला। 

द्रौपदी पढ्दै गर्दा त्यसबाट प्राप्त धेरैवटा पाठहरुमध्ये दुईवटा प्रमुख पाठ सबैसँग बाँड्न चाहे। एउटा हो अहंकार, घमण्ड र आक्रोस (चाहे त्यो सम्पत्तिको होस, चाहे शक्तिको होस, चाहे पदको होस वा बुद्धिको) ले अन्ततः आफैलाई समाप्त गर्छ। जसरी महाभारतमा  कौरवहरुको समाप्ति भयो। अर्को भनेको युद्ध वा द्वन्द समस्याको समाधान होइन। शान्तिपूर्ण, आपसी सहमति र सम्झौता नै समाधानको उपाय हो। असत्यको अन्त्य गर्नका खातिर भएको महाभारतको लडाईंमा कौरव त समाप्त भए नै भने पाँच पाण्डव बाहेक उनीहरुका सबैजसो सन्तान पनि कोही बचेनन्। त्यति मात्र होइन गान्धारीको श्रापका कारण कृष्ण सहित ३३ कोटी यदुवंशको समेत समूल अन्त्य भयो।

द्रोपदी उपन्यासबाट ग्रहण गरिएको यो महत्वपूर्ण सन्देश पाठकहरुलाई सम्प्रेषण गर्दै मैले जसरी लकडाउन सहज रुपमा सदुपयोग गर्नुहुनका निमित्त सल्लाह दिन्छु।

दुर्योधन बस्नेत

काठमाडाैँ

ब्रेकिङ न्युज र फास्टफुड जिन्दगी

संसारका मानिसहरुसँग असिमित चाहनाहरु हुन्छन् जसलाई प्राप्त गर्न दैनिक भौतारिरहेका हुन्छन् । मानिस मात्र यस्तो प्राणी हो जो विगतभन्दा वर्तमान र वर्तमान भन्दा भविष्य राम्रो चाहन्छ । बिडम्बना परिस्थिति सदावहार एकनास हुँदैन कहिलेकाहीँ हिड्दा हिड्दै पाइलाहरु टक्क रोक्नुपर्छ । सधैँ एकनास अगाडि बढिरहनलाई जिन्दगी घडीको काटा होइन, न कोर्रा लगाउँदै दौडाउने कुनै घोडा नै हो। मानिसले जीवनमा आइपरेका तिता मिठा अनुभवहरु सँगालेको हुन्छ, रै त ज्युनुको मजा छ।     

टाकुराले भर्खरै आफ्नो शिरको हिउँ पुछेर घाम ताप्न लाग्दै थियो। समयको हुरिले पत्कर बनाएर उडाइ लगेको आफ्नो पात हेरिरहेका रुखहरुलाई वसन्तले किस्ता किस्तामा केही पातहरु थपिदिदैं थियो। चराचुरुङ्गीले मिठो सङ्गित रियाज गर्दै थिए। देउरालीमा आफ्नो पिडा सम्झि सम्झि न्याउली रुदै थियो। कोइलीले नयाँ मान्छे देख्यो कि को हो ? को हो ? प्रश्न  सोध्दै थियो। आरु वखडाले  नयाँ वर्षलाई स्वागत  गर्दै थियो। लालीगुराँस ढकमक्क फुलेर बनपाखा सजाउदै थिए। लाखौ विद्यार्थी (SEE) को तयारीमा जुटिरहेका थिए तिनीहरुको मुटु तीन गुना छिटो उफ्रदै थियो।     

सहर त आफ्नै रफ्तारमा थियो झन्! मानिसहरु कति हतार छन् भन्ने कुरा काठमाडौ मलबाट टुडिखेल वरिपरि गुडिरहेको  सवारी साधन हेरे पुग्छ। यति व्यस्त कि घरमा आमालाई फोन गर्ने फुर्सद थिएन। ब्रेकिङ न्युज र फास्टफुड चाहिन्थ्यो हामीलाई।

त्यही समय चीनको वुहान प्रान्तमा कोरोना भाइरसको महामारी फैलियो भन्ने खबरले सामाजिक संजाल भरियो । काेही कुरै नबुझे पनि तर्सिन थाले। काेही धेरै बुझेर पनि बेवास्ता गर्न थाले। विभिन्न तर्क वितर्क हुन थाले। हाम्रो देशलाई खासै जोखिम छैन भन्थे। सबैले सामान्य रुपमै लिएका थिए।

चैत्र ९ गते बाट नेपाल अधिराज्यभर (SEE) परिक्षा हुँदै थियो। म कार्यरत बालगृहमा पनि ७ जना भाइबहिनीहरु परीक्षाको तयारीमा जुटिरहेका थिए । एक्कासी चैत्र ८ गते बेलुका (SEE) परीक्षा स्थगित भन्ने मन्त्रीपरिषदको निर्णयले मान्छेहरुमा एक किसिमको त्रास सिर्जना गरिदियो। अब चाहिँ साँच्चिकै डराउन थाले। नेपालमा पनि भित्र भित्र संक्रमित ह्वात्तै बढेको रहेछ कि भनेर। त्यसभन्दा अगाडि त एकजनामा मात्र कोरोना सङ्क्रमण पुष्टि भएको खबर थियो।     

चैत्र १० गते बिहान  हामी पनि आकस्मिक कर्मचारी बैठक बस्यौ र लकडाउन अबधिभर सिमित कर्मचारी मात्र बालगृहमा बस्ने बाहिर ननिस्किने, बिहान दुध, तरकारी लिएर आउँदा सेनिटाइजर प्रयोग गरेर मात्रै छिर्ने निर्णय गर्‍यौ। हामीले ५० जना भाइबहिनीहरुलाई माक्स किनेर दियौ। ४० प्रतिशत त घर गैसकेका थिए। आवस्यक मात्रामा सेनिटाइजर किनेर राख्याैं। खानेकुरा चाहिँ करिब तीन हप्ता पुग्ने गरी ९ गते नै मैले ल्याइसकेको थिए।

म पनि घर मै बस्ने भए। तर म र एक जना दाइ चाहिँ स्ट्यान्डबाईमा, केही भयो भने आइहाल्नु पर्ने गरेर। सुरुमा त ‘हँ यस्तो पनि हुन्छ ??’ जस्तो लाग्थ्यो। घरभित्र बसिरहन निक्कै गाह्रो भयो। फेरि यसको विकल्प पनि त थिएन। सबै कुरा बिस्तारै बानी हुने रहेछ। कोठामा त्यही बेला इन्टरनेटमा समस्या आयो…कम्पनीमा कत्ति फोन गरे सम्पर्क भएन। टि. भि. हेर्‍यो, लकडाउन कोरोना बाहेक केही छैन। मसँग केही मुभी ल्यापटपमा सेभ थियो, त्यही हेरेर बसेँ। र्‍याकमा पढ्न बाँकी पुस्तकहरु टन्नै रहेछ। केही निकालेर पढे। कहिलेकाहीँ श्रीमतीसँग मिलेर खाना बनाउन थालेकाे छु। अझै पनि मिलेरै बनाउँछौ। साँच्चिकै मजा हुँदाे रहेछ। किचेनमा काम गर्दै गर्दा पनि निक्कै भावनाहरु पैदा हुँदो रहेछ। कम्तिमा त्यो महसुस गर्न सक्ने भएँ।           

जिन्दगीकाे भागदाैडमा आफैलाई बिर्सन थालेका रहेछौ। अहिले कम्तिमा आफूलाई हेर्ने समय पाएका छौ जस्तो लाग्दैछ। म बसेको पल्लो घरको छतमा कहिल्यै मान्छे देखिदैनथेँ। छतमा सामानहरु निक्कै छरपस्ट थिए। गमलाको माटो सुकेको र लडिरहेको गमलामा झ्याउ पलाइ सकेको थियो। लकडाउनपछि आन्टी छतमा उक्लेर सबै झार उखालेर गमला उठाएर माटो खोस्रेर पानीले भिजाएर केही रोप्नुभएकाे छ। अहिले हरियो भैसक्याे। आजकल उनीहरु परिवारै प्राय छतमा बस्छन्। त्यही खाना खान्छन्। यसै गरी यता उताका अरु घरको छतमा पनि निक्कै मानिसहरु देखिन्छन्।        

मैले लकडाउनमा यही गर्छु भनेर खासै केही सोचिन। उपलब्धीमुलक केही गरिन पनि। धेरै दिनपछि इन्टरनेटकाे अफिसमा सम्पर्क भयो। इन्टरनेट बनेपछि मैले निक्कै मुभीहरु हेरेँ। दुइटा जति छोटो कविता पनि लेखे। समय समयमा सबै आफन्तहरुलाई फोन गर्छु। कोठा देखि अफिस करिव एक सय पचास मिटरको दुरिमा छ। लकडाउनको दुई हप्ता पछि त अफिस पनि एक दिन बिराएर जाँदैछु। होम भित्र छुट्टै गजबको संसार छ भाइबहिनीहरुकाे। उनीहरुसँग खेल्छौं, रमाउँछौं। 
हाम्रो जीवनशैली प्राकृतिक भएको छ। हिजाेअस्ति हामी कृत्रिम जीवन अपनाउँदै रहेछौ। ज्यादा घर बाहिरै हुन्थ्यौं। घरमा हुन्थ्यौ त बेलुका मात्र। आजभोलि कोठामा बस्न पनि आनन्द हुन्छ।

हामी यसरी पनि बाँच्न सक्दा रहेछौं। आजभोलि रिङरोड शून्य छ। निक्कै सफा पनि। याे कल्पना बाहिरको संसार हो। सबै जना एकान्तबासमै छन्। अहिले हामीले परिवारलाई समय दिन सकेका छौं। होटल बन्द छन्। पिज्जा, बर्गर बिना पनि बाँच्न सक्दा रहेछौं। धेरै जसो मानिसहरु घरमै मिलेर परिकार बनाउने सँगै बसेर खाने गरेको देखिन्छ। यसले आफ्नोपनमा निक्कै ठूलो भूमिका खेल्नेछ। देश विदेशमा रहेका साथीभाइसँग कुरा हुन्छ। कत्तिले आफ्नो पुरानो तस्वीर पोस्ट गर्छन्। अतितका सम्झनाहरु पनि रमाइलाे हुने रहेछ।

कोरोना सङ्क्रमण बढ्दै जादा देशमा लगडाउन पनि थपिदैँछ। मानिसहरु रातारात हिडेर गाउँ जाँदैछन्। केही नगरपालिकाले आफ्नो  नागरिकहरुलाई उद्घार गरेर गाउँ लग्यो। मेरो गाउँपालिका थुलुङ दुधकोशी (सोलुखुम्बु) ले पनि गाउँ जान चाहने त्यहाँको नागरिकलाई गाउँसम्म जाने प्रबन्ध मिलाएको थियो। हामी जान पाएनौ, तैपनि यस्तो अवस्थामा स्थानीय तहले अभिभावकको दायित्व निर्वाह गर्दा निक्कै खुसी लाग्यो । 

देव समिप

साेलुखुम्बु

हाल: काठमाडाैँ

‘म रामेश्वर महतो हुजुर’

अरु दिनझैँ आज पनि भारतीय च्यानलमा प्रसारण भइरहेको रामायणको स-परिवार आनन्द लिदैं थियौ। यत्तिकैमा एउटा अज्ञात नम्बरबाट मोबाइलको रिङ्ग बज्छ। फोन गर्ने व्यक्ति भोजपुरी लवजमा नेपाली बोल्न सुरु गर्छन्।

व्यक्ति – ‘हेलो, म रामेश्वर महतो हुजुर। हुजुर घरमा पैसा डाल्नु छ। बड दिक्कत छ हुजुर घरमा। बाल बच्चा भोकै छन हुजुर।’

उहाँको भनाइमा निक्कै भारीपना थियो।परिवारको जिम्मेवारीको भारले होला, उनको दर्द उनका शब्दमा प्रष्टै झल्किन्थ्यो।

म – ‘रामेश्वर जी, नमस्कार। हजुर अहिले यो कोरोनाको लकडाउनमा सबै पसल बन्द छन्। प्रहरीको गस्ती पनि बढेको छ, अहिले पैसा पठाउन गाह्रो पो पर्ला!’

रामेश्वरजी- ‘हुजुर जैसे भी कर दिनुस्। पैसा – कौडीको दिक्कत छ घरमा।’

म एकछिन सोच्न बाध्य भए। भारतको नयाँ दिल्लीमा सि.ए. अध्ययनरत कान्छो भाइ चाहिँ लकडाउनको चपेटामा परेर आउन भ्याएन। यस्ताे गाह्रो र अभावको समयमा केही दिन अगाडि मात्रै भाइलाई अलिक पैसा पठाएको कुरा सम्झिए। बैंक र मनी ट्रान्सफर हाम्रो आफ्नै घरमा भएर पो पठाउन भ्याए। तर, नभएको भए सायद मेरो भाइ पनि भोकभोकै बस्नु पर्ने हुन सक्थ्याे भन्ने सम्झेर मन कटक्क खायो। रामेश्वरजीको समस्या पनि त्यस्तै हाे कि झैँ लागेर मैले भने – ‘ठिकै छ हजुर, १०:३० मा पसल अगाडि बस्नु होला, म हजुरको काम गर्दिन्छु।’

छर-छिमेकका साथीहरुसँग बजारको अवस्था बुझेँ र ठ्याक्कै १०:१५ तिर पसल हिडे। एउटा अधबैंसे उमेरका व्यक्ति पसल अगाडि उभिएको देखे। उहाँको परिचय सोधें। रामेश्वरजी हुनुहुँदो रहेछ।

‘तपाईं मनी ट्रान्सफरवाला हुनुहुन्छ?’ 

‘हजुर’

हातमा गाठाे बाँधेर राखेको पैसा थमाउँदै ‘हजुर यी लिनुस पैसा, भेजाइदिनुस हुजुर।’

म मुस्कुराएर पैसा लिदैं ‘चिन्ता न लिनुस दाइ, तपाईंको काम अब भइहाल्छ।’

केही समयका लागि पसल खोले। पाउने-पठाउने फारम भरे अनि विद्युतीय प्रणालीबाट पैसा पठाइदिएँ। उहाँलाई मनी ट्रान्सफरको नम्बर दिएपछि, उहाँको अनुहार चम्क्याे। अनुहार प्रसन्नता देखियाे। उहाँको याे थामी नसक्नु खुसीमा मेरो अति नै सानो भूमिका माथि मलाई अति धेरै गर्व भयो। 

मनमा एउटा हालसालै साेध्न मिल्ने खाले प्रश्न उब्जियो। सोधि पनि हाले, ‘तपाईले घरतिर राहत पाउनु भएन?’

मलिन मुद्रामा – ‘हजुर हामी मिडल क्लासलाई कल्ले राहत दिन्थ्यो? न त हामी धनी नै पर्यौ न त गरिब नै। हामीलाई कसैले हेर्दैन हुजुर! गएर मागी हाल्न नि सरम लाग्छ।’

एकछिन पछि केही सम्झे झैँ गरेर उनले भने, ‘हुजुर अब म बुढीलाई फोन गरेर नम्बर दिन्छु, गाउँको मनी ट्रान्सफर एक घन्टाको लागि मात्रै खुल्ला छ रे!’

म पसल बन्द गर्न तर्फ लाग्छु। उता उहाँ आफ्नोे श्रीमतीसँग मोबाइलमा गफ्फिदै हुनुहुन्थ्याे- ‘ए बुढी, पैसा पठाइ दिएको छु है! तुरुन्त गएर लिइ हाल!’ मलाई धन्यवाद दिदैं, उहाँ आफ्नो गन्तव्य तर्फ लाग्नु भयो। 

मैले पहिलो पटक कुनै मान्छे यति धेरै प्रसन्न, यति धेरै खुसी भएको देखे। मैले त सकेसम्म रामेश्वरजीलाई थाेरै सहयाेग गरेर उनकाे मुहारमा खुसी ल्याउने प्रयास गरें। तर अनेकौं अनेक रामेश्वर महतोहरुलाई कल्ले खुसी बनाइदिने? 

आकाश गुप्ता

परवानीपुर , बारा

आकाश पुस्तक भण्डारको प्रोपराईटर

उपहार

म एक महिला स्वस्थ्य कर्मचारी। कुष्ठ प्रभावित ब्यक्तिहरुको बिचमा आजभन्दा लगभग २, ३ दशक अगाडि देखि नै सेवारत छु। उतिबेला कुष्ठरोगीहरुलाई समाजमा, परिवारमा साथै सार्वजनिक स्थलहरुमा निकै भेदभाव गरिन्थ्यो। हाल म घाउ हेरचाह इकाइमा कार्यरत छु र कोरोना भाईरसको कारण संसारभरि त्रास भएको वेलामा म काम गर्दाकाे अनुभवहरु लेख्ने प्रयास गरिरहेकी छु ।


सरकारले कोरोना भाईरस संक्रमित नहोस् भनेर मध्यनजर राखि गरिएको लकडाउनको वेलामा मैले काम गर्ने युनिटमा दैनिक जसो ३ देखि ५ जना कुष्ठरोगी घाउ लिएर आउनुहुन्छ। अन्य जनरल घाउ भएकाहरु पनि बेला बेलामा आउनुहुन्छ।अहिले सधैँ गर्ने सेवा भन्दा अलिक फरक तरिकाले सामाजिक दुरी कायम राखि डब्लु एच ओ को मापदण्ड अनुसार सेवा दिने गरेका छाैं। यसरी सेवा दिँदा मलाई पुराना दिनहरुकाे झझल्काे आउँछ। आज भन्दा २, ३ दशक अगाडि कुष्ठराेगीहरुलाई गरिने भेदभावको सम्झना दिलाइ दिन्छ। तर के गर्नु, मानिसहरु समयको बदलाव अनुसार चल्नै पर्छ।

अर्को तितो अनुभव नियमित रुपमा घाउको हेरचाहको लागि आउनुहुने रोगीहरु आउन नसक्नु भएकोमा अलि अस्वभाविक पनि लाग्यो। तरै पनि याे सब हामीहरु सेवा लिने र दिनेको सुरक्षाको लागि नै हो । स्वास्थ्यकर्मी नै स्वस्थ रहेनौ भने रोगीलाई कसले सेवा दिने!त्यसैले यसकाे राम्रो पक्ष पनि छ ।


म त हिजाेआज यो बिपत्ति नलम्बियाेस् र अब चाँडै मानिसहरु सामान्य स्थितिमा एउटा नयाँ जोस, नयाँ जागर, नयाँ बिचार र नयाँ मानसिकता लिएर आ आफ्नो काममा र ठाउँहरुमा फर्कन सकोस् भनेर कामना गरिरहेकाे छु।

अन्तमा केही सल्लाह छ:
लकडाउनको बेलामा त्यसै नबस्नुहोस्। आफू भित्र लुकेको कलाहरुलाई जिवन्त बनाउनुहोस्। साथै आफू र आफ्नो परिवारलाई स्वस्थ र सुरक्षित राख्नुहोस् । घर भित्र बाहिर सफा राखौं र आफ्नो परिवार समाज र आफ्नो देशको असल नागरिक बनाैं।


मैले पनि बिरामीहरुको चाप कम भएको बेलामा स्यानीटाइजरको बोतल राख्ने सानो पकेट ब्याग र मास्क बनाएर सहकर्मी भाइहरु र बिरामीहरुलाई उपहार स्वरुप दिएर सानो खुसी बाँड्ने प्रयास गरिरहेकाे छु।

smart

धन्यवाद हजुरहरुको दिन असल बिताेस्।

ज्ञानाेक आले

लालगढ , धनुषा

जिन्दगी नामको किताब

शरीर चिडियाखानामा थुनिएको गोही जस्तै भएतापनि मन भने खुल्ला गगनमा उडेको चरी जस्तो हुँदोरहेछ। पत्तो नपाइ कुन बेला कता पुगिदिन्छ,पुगिदिन्छ। फरक त यति हो कि आकाशमा चरा चाराको लागि हराइदिन्छ। अनि यो मन साहाराको लागि। अनि त्यहीँ कहीँ कतै हराएको मनलाई काबुमा राख्दै दुइचार शब्द कोर्न मन लाग्यो।

अक्सर आफ्नाहरु अनि आफ्ना नजिक रहेका कुराहरु प्यारा त लाग्छ्न्। तैपनि यिनकाे सुन्दरता आकलन गर्न हामीले जरुरी ठानेका हुँदैनाै‌। आहा! फलानो मान्छे कति राम्रो, फलानो ठाउँ कति सुन्दर भन्दै गर्दा आफ्नै सामीपमा रहेका सुन्दर अनि बहुमूल्य चिजलाई मोल दिन चुकेका रहेछाैं‌‌। तर यो लकडाउनले मलाई प्रकृति र परिवार मात्रै त्यस्ता चिज हुन् जसलाई जति नियाले पनि धित मर्दैन, जतिनै हेरेपनि वाक्क लाग्दैन भन्ने कुराको आभाष दिलायो।

हो, म परिवर्तन भएकि छु। अक्सर सधैँ अलार्मको उराठ लाग्ने आवाजले उठ्ने गरेकी म, आजभोलि चराचुरुङ्गीका मिठा बातले उठ्ने गरेकी छु। काठमाडौँको व्यस्त भिडभाड अनि धुवाँधुलोमा रुमल्लिने म, आजभोलि प्रकृति र आमाको काखमा हराउने भएकी छु। फेरि मलाई थाहा छ, यी सब परिवर्तन क्षणिक हुन्। तैपनि याे समयलाई जिन्दगी नामको किताबमा एक अविस्मरणीय अध्यायको रुपमा समेटेर राखेकि छु ।

शायदै जिन्दगीको पहिलो अनि अन्तिम लामो फुर्सद अनि परिवारसँगको बसाइ हो जस्तो लाग्छ मलाई यो लकडाउन। परिवार देखि टाढा रहेर प्रायजसो एउटै कोठा भित्र बसेकी मलाई लकडाउन अनि घर भित्रै बस्नु पर्ने खबरले खासै असर गरेन। तर सधैँ काममा ब्यस्त भएर छाक टार्नु पर्ने मेरा बा आमालाई तनाव भयो होला भन्ने लागेकाे छ। त्यसैले हामी आफू अनि परिवारलाई सकारात्मक र खुसी राख्न कहिले गीत गाउने कहिले नाच्ने, नयाँ नयाँ खानेकुरा बनाएर खाने, बा आमाको सुखदुःखका कुरा सुन्ने, पुराना यादहरुको सङगालो याने कि फोटो album हेर्ने। यस्तै गर्दा गर्दै एक डेढ महिना बितेको पत्तो भएन। बा आमासँग घुलमिल हुँदै जाँदा त उहाँहरु नै मेरा बेस्ट फ्रेन्ड हुनुहुँदोरहेछ जस्तो लाग्नथालेको छ मलाई। मलाई जस्तै गीत गाउने, नाच्ने, फोटाे खिचाउने साेख त मेरा बा आमामा पनि एक जमानामा झैँ अहिले पनि जिवित रहेछ। बश छोराछोरीका चाहाना र आवश्यकता पुरा गर्न खोज्दा खाेज्दै आफ्नै इच्छाहरुकाे आहुति दिनु भएको रहेछ ।

यही लकडाउन मै भएपनि हाम्रो सानो प्रयासले बाआमाको मुहारमा क्षणिक नै सही फिस्स मुस्कान देख्न पाउँदा स्वर्गीय आनन्द आएकाे छ। बाआमाका खुसी एकातिर अनि बिहान उठ्दै गर्दा झ्यालबाट देखिने हिमाल र पहाडको सुन्दर दृश्य। त्यो सुन्दर दृश्यसँगैको चियाको चुस्की अनि स्वच्छ पवनको मन्द स्पर्शले जिन्दगीमा सकारात्मक आयामहरु थपिएकोको महसुस भएकाे छ।

सबिना बुढाथाेकी

जीवनका रङहरु

म ललितपुरको खुमलटारकाे एउटा सानो कोठामा बसिरहेको छु। केही दिनदेखि लगातार मौसममा बदली देखिरहेको छ । घरी पानी पर्छ, घरी घाम लाग्छ। अहिले घामपानी छ। यो घामपानी र लकडाउनलाई तुलना गर्छु उस्तै उस्तै लाग्छ।  सानो कोठा भित्र थुन्निरहँदा घर परिवार साथीसंगीको याद पनि निकै आउँदाे रहेछ।

मेरो घर प्रदेश नं ५ संघियताले जन्माएको कान्छो जिल्ला रुकुम (पूर्व )।एकाबिहानै घरबाट आमाको फोन आउँछ। आमा चामल दाल तरकारीकाे हाल साेध्नुहुन्छ। खर्च पानी पठाउन नमिलेर गाह्राे भएकाे छ कि भनेर चिन्ता गर्नुहुन्छ। उहाँका प्रश्न र चिन्ता प्राय एकै हुन्छन्। हाे, आमा साह्रै चिन्ता गर्नु हुन्छ।’ बाबु कोठादेखि बाहिर नजानु, सहरमा झन कोरोनाको धेरै त्रास हुन्छ रे। आफ्नो ख्याल गर्नु, समयमै खाना खानु।’ यस्तै गन्थनमा आमा छोराको कुरा सकिन्छ। एकान्तबास सुरु भए यताका दिन यसरी नै सुरु हुने गरेका छन्।  

सानो कोठाभित्रको एकान्तबासबाट आमा बाबाको न्यानोमाया, घरपरिवार, साथीभाइ अनि बसन्त ऋतुसंगै मस्कुराइ रहेका डाँडाकाँडा। यतिबेला जन्मभूमी विछट्टै सम्झिरहेको छु । यो साँघुरो कोठामा एकान्तवासका ४० दिन नि बर्षाै लाग्न थाल्यो । यो अत्यास लाग्दो उकुसमुकुस एकान्तबासबाट स्वतन्त्र हुने दिन कहिले आउँछ भनेर औँला भाच्दै दिन गन्दै गरेको नि ४० दिन नै पुगिसक्यो।

जीवनका रङ्गिन रङहरु नि खुइलिएर मधुरा मधुरा लाग्न थालिसके। दाह्री झुस्स आएको छ, कपाल पनि लामो, लामो भएर कान ढाकिसक्यो। झलक्क ऐना हेर्छु आफैलाई ठम्याउन एकछिन मुस्किल पर्छ। अनि झ्यालबाट बाहिर हेर्दै रिमझिम परिरहेको झरि र अनिश्चित एकान्तबासलाई तुलना गर्छु । फेरि पनि केही भिन्नता देख्दिन।  

तर सानो कोठाको चार पर्खाल भित्र उकुसमुकुस भएर बस्दा पनि यो मनलाई भने न त कुनै रोगले छेक्न सक्यो न त कुनै लकडाउनले। मन उडेर एकान्तबासमै रहेकी ‘उनी’ भएको ठाउँ जान्छ अनि पिरतीका बात मार्छ र फर्कन्छ। अब छिट्टै काेरोनाको समाप्ति हुनेछ सबै मन जस्तै स्वतन्त्र हुनेछौ । अनि खुइलिएका जीवनका रङहरुमा फेरि रङ भरौला ।

बिकाश खड्का

रुकुम पूर्व

ध्यानमा मन

चीनको वुहान प्रान्तमा कोरोना भाइरस भेटियो। दैनिक सयौं हजारौ संक्रमित, मृत्यु हुनेको संख्या बढ्दै थियो । मिडियाहरुमा समाचार छ्यापछ्याप्ति आउन थाले।विभिन्न देशमा सरकारले लकडाउन गरे। मानिसहरु घरबाहिर निस्कन पाएका छैनन् आदि आदि। कल्पना गर्दा पनि कति भयावह अवस्था। तर लाग्यो केही समयमा औषधि पत्ता लागिहाल्छ। सबै ठिक हुन्छ विज्ञानले कस्तो कस्तो चमत्कार गरि सक्यो यति सामान्य भाइरस न हो। कुरा सामान्य नै लाग्दै थियो विस्तारै युरोप, अमेरिका, अस्ट्रेलिया हुँदै विश्वका अधिकांश देशहरुमा फैलिसकेको समाचार आउन थाल्यो। दैनिक हजारौ संक्रमित र मृत्युको खबरले मन आत्तिन थालेको थियो ।

नेपालमा पनि लकडाउन हुन्छ हल्ला चलिसकेको थियो। त्यसैले केही समयको लागि अत्यावश्यक सामानको व्यवस्थापन गरियो। बेलुका थाहा भयो एक हप्ताको लागि लकडाउन। आधुनिक प्रविधि उपकरण,दक्ष स्वास्थ्यकर्मी सुविधा सम्पन्न अस्पताल भएको देशमा त त्यस्तो हालत छ। हाम्राेमा फैलियाे भने के हाेला ! डर, त्रास र शंका बढदै गयो। एक दुई दिन यस्तै कुराले छटपटी भयो कसरी समय विताउने?

यसरी तनाव लिएर मात्र हुँदैन। सोचे अब दिनचर्या बदलि गर्नु पर्छ ,पहिले देखिनै आध्यात्मिक चिन्तनमा रुचि छ। कम समय भए पनि नियमित योग ध्यान गर्ने बानि बसिसकेको छ। अब यो समयलाई बढाउनु पर्छ जस्ताे लाग्याे। अब बिहान तीन घण्टा र बेलुका दुई घण्टाको समय आफ्नो लागि छुट्याए । बिहान पाँच बजे देखि योग/प्राणायाम, ध्यान अनि बेलुका सात बजे देखि दुई घण्टा ध्यान गर्न सुरु गरे। बाँकी समय घरका सरसफाई, खाना बनाउने, स परिवारसँगै बसेर खाने, दिउँसो पुस्तक पढने, फिल्म हेर्ने, केही समय सामाजिक सञ्जालमा रमाउने, समाचार हेर्ने गर्दा गर्दै कति चाँडो समय बितेछ। शरीर फुर्तिलो भएको छ। मन शान्त प्रसन्न छ। भोलि के हुन्छ कसैलाई थाहा हुन्न।

आज हामी धेरै जना समय बिताउने वहानामा मोवाइल इन्टरनेटमा अत्यधिक समय बिताउने गर्छाैं। शारीरिक कसरत छैन खाने बस्ने मात्र गर्नाले धेरैलाई शारीरिक समस्या देखिएकाे छ । यस समयमा हामी मानसिक रुपमा कमजोर भएका हुन्छौ साथै असन्तुलित खानपान र शारीरिक श्रम नहुनाले अझ धेरै समस्याले घेर्न सक्छ। अहिले कोरोना संक्रमणबाट बच्न पनि हरेक व्यक्तिले इम्युनिटी पावर बढाउनु जरुरी छ। यसकाे लागि स्वस्थ, सात्विक भोजनका साथै शारीरिक व्यायाम र ध्यानले ठूलो सहयोग गर्छ।

सेविका सुवेदी

इलाम

हाल काठमाडौँ

फ्राईडे vs सनडे

म परदेशिएको ७ बर्ष भएछ। सन् २०१२ देखि २०१५ सम्म ३ बर्ष कतार स्थित मल अफ एसिया हाइपर मार्केटमा (डिपार्टमेन्ट स्टोर) सेल्सम्यानको रुपमा काम गरेँ। त्यसपश्चात् म स्वदेश फर्किएँ र पुन: २०१६ मा मध्यपूर्वकाे विकसित देश युएइको दुबई शहरमा आएँ र एक प्रतिष्ठित रिटेल मार्केटमा सेल्सम्यानको अहोदामा अहिलेसम्म कार्यरत छु। 

मेरो ७ बर्षे रिटेल मार्केटको इतिहासमा मैले धेरै आरोह अवरोह उक्लिएको छु, ओर्लिएको छु। मैले लाखौं ग्राहकहरुसँग साक्षात्कार गरेको छु। मैले धेरै कठिन मानेर बिताएका ८ घण्टा समयहरु छन् त कति समयहरु दिनभरि हात बाँधेर गीत सुनेर वा साथीभाइहरुसँग गफ गरेर बिताएको छु। समय अनुसार आफूलाई ढालेको छु।

म मार्केट लाइनमा काम गर्ने भएर होला, मलाई ठूलो जमातको भिडभाडहरु देखि खासै अनौठो लाग्दैन किनकि हरेक शुक्रबार हाम्रो लागि “फ्राई डे” हुने गर्दछ। “फ्राई डे” अर्थात हाम्रो मष्तिस्क फ्राई हुने दिन, फ्राई डे…..आज चाहिँ आइतबार। आज पनि म आफ्नै तालमा ड्युटी तिर लागेँ। बिहान १०-११ बजेसम्मकाे माहोल त ठिकै थियाे अरे। तर जब दिन ढल्दै गयो, तब मानिसहरुको चहलपहल साबिक भन्दा अनौठो र अप्रत्यासित ढंगले बढ्दै गयो।

एक्कासि ग्राहक सेवा कक्ष(customer care)बाट अफिसियल जानकारी आउँछ कि हामी त्यहाँ कार्यरत सबै कर्मचारीहरु नगद काउन्टर(cash counter) मा सहयोग गर्न जानु पर्यो भनेर। म लगायत धेरै साथीहरु गयौं र ग्राहकहरुले किनेर ल्याएका सामानहरुलाई क्यासियरले स्क्यान गर्दै हामीलाई दिने र हामीले उक्त सामानहरुलाई सकुशल प्लाष्टिकको झोलामा हालेर ग्राहकको ट्रलीमा राखिदिने। त्यसै गर्दै आफ्नो जिम्मेवारी बहन गर्दै गएँ। एकजना ग्राहकले मलाई सोधेँ ” आज किन यति धेरै भिड भएको?” म आफै अन्योलमा थिएँ र प्रतिपश्न गरेँ “म कसलाई सोधुँ भनेर सोचिरहेको थिएँ। सर, खासमा आज किन यस्तो भिड भएको? केही आतंकित समाचार आएको छ र सर?”मेराे प्रतिप्रश्नले बिचरा ती ग्राहक अलमलमा परे।

सँगै काम गर्ने एकजना नेपाली बहिनीले भनिन् “हामी नेपाली कति काम गर्न सक्छौं है दाजु! हेर्नु न ८ घण्टा भैसक्यो, अहिलेसम्म खाजा खान गएको छैन। मलाई कसैले खाजा खाने पालोसम्म दिएका छैनन्। कस्तो तिर्खा लागेर घाँटी सुक्यो।’ अनि त रिसैले सुपरभाईजरलाई बोलाएर, ‘के हो हामीलाई खाजा खान जान नदिने? भोकै काम गर्नु हामी? कति बेरदेखि तिर्खा लागिरहेको छ, पानी सोध्न पनि कोही आउँदैन, तिमीहरुलाई हामी के रोबोट हो जस्तो लाग्छ?’ भनेपछि बल्ल ५०० एम.एलको एक बोतल पानी ल्याएर दियो। हामी मुखसँगै हात पनि चलाइरहेका थियौं, बोल्दै काम गर्दै थियौ। ती बहिनीले गाह्राे सुनाइरहँदा पनि उनकाे ओठबाट मुस्कान भने बिल्कुलै हराएको थिएन। ग्राहकहरुलाई अभिवादन, सम्बोधन गर्न छाडेकी थिइनन्। मैले मन मनै भने हामी नेपाली कति इमान्दारी, संस्कारी र मेहनती छौ हगि!

साँच्चै भन्नु पर्दा मेरो ७ बर्षे अनुभवमा आज पहिलो पटक यसरी ग्राहक आएको देखेँ/भोगेँ। कसले के समाचार गलत वा सही सम्प्रेषण गर्यो थाहा छैन। तर सन्दर्भ उही “कोरोना भाइरस”कै थियो। त्यसमा दुईमत छैन। तर के समाचार? कहाँबाट? कसले? कसरी? कतिबेला? किन? गर्यो यो एउटा सोच्नै पर्ने र सोध्नै पर्ने बिषय बनेको थियो।

विशेषगरी बिहिबार, शुक्रबार र शनिबार यी तीन दिन व्यवसायिक हिसाबले अनुकूल दिन मानिन्छन्। तर अहिले बिपरित भैरहेको छ/थियो। आज त आइतबार। म लगायत हामी सबै कर्मचारी नै आश्चर्यचकित छौं। व्यापार भयो बहुत खुशीको कुरा हो, तर अप्रत्यासित रुपमा कसरी यस्तो हुन गयो? किन यसरी भिड बढेको छ बजारमा? किन खाद्यान्न बस्तुलाई पहिलो प्राथमिकता दिँदैछन् ग्राहकहरु? यो एउटा कौतुहलताको बिषय बनेको छ, हामी सबैकालागि।

ग्राहकहरुले सामान ३ ट्रली ४ ट्रली (१० ट्रली सम्म) खाद्य सामग्री खरिद गरिरहेका थिए। मानौं हामीले सामान सित्तैमा दिइरहेका छौ। वा मानौ ५० प्रतिशत छुट छ। सबै जसो सेल्फहरु(सामान सजाएर राखिएको सोकेश वा र्याक) रित्ता रित्ता भएका छन्। खानेकुराहरु सकियाे। गोदाम नै खालि भैसकेको थियो। यो सब देखेर मथिङ्गलमा हलचल मच्चियाे।

तपाईहरुलाई बिश्वास नलाग्न सक्छ। तर म लगायत धेरै साथीहरु र ग्राहकहरु याे कोलाहल माहोलको प्रत्यक्षदर्शी भयाै‌।
खाद्यान्न बस्तुसँगै साबुन, सरफ, डिटोल आइटम, प्लास्टिकका पन्जाहरु, डायपर आदि थुप्रै सामानहरु अरुबेला भन्दा ३ गुणा ४ गुणा धेरै खरिद गरेर लगेको पनि देखियो। सेनीटाईजर र मास्कको अभाव दिनभर‍ि जसो भयो। कारण करिब बिहान ११ बजे नै स्टकमा राखेको सेनीटाईजर र मास्क सकिएका थिए। केही ग्राहकहरुको इच्छा पूर्ति गर्न असमर्थ हुँदा मन खल्लो भएको महसुस पनि गरियो, तर हाम्रो हातको कुरो थिएन।

मैले यत्ति लेखिरहँदा धेरै कुराहरु प्रत्यक्ष हेरि हेरि लेखेँ। कति कुराहरु लेख्न वा यो लेखमा समावेश गर्न छुटाउँछु कि भन्ने डरले कतै केही छेलिने सामानहरुको साहारा लिएर लेखेँ। छेकिएर लेखेँ र साँच्चै नलजाइ भन्नु पर्दा करिब रातिको १०:३० बजे ड्युटीकै समयमा। दुई तीन लाइन त शौचालयमा गएर समेत लेखेँ।

एकजना ग्राहकले अत्तालिएर फलफूल र सागसब्जीमा बारकोड नै नलगाइ लिएर आएको खबर पाएपछि म र एक जना मेनेजर हतार हतार बारकोड लगाउन जाँदै थियौं। यत्तिकैमा मेनेजर टक्क रोकियो र मलाई हेर्न अनुरोध गर्यो। मैले पनि मेनेजरले ओठ चुच्चो पारेर इशारा गरे तिर हेरेँ (यहाँ हामी औँलाले हत्तपत्त इशारा गर्दैनौ। कारण इशारा गरेपट्टीको व्यक्तिलाई अवहेलना गरेको ठहरिन्छ।) म पनि छक्क परेँ, कारण खासै ठूलाे त थिएन तर जे थियो बडाे हास्यास्पद थियो। जुन ग्राहक, अरुबेला एक एक फलफूल केलाइ केलाइ, यसमा दाग छ, यो बिग्रन लागेको छ, यो यस्तो भयो, यो त्यस्तो भयो, भन्ने गर्थ्यो त्यही ग्राहक आज छोरोलाई झोला थाप्न लगाएर आफू आँखा बन्द गरेर निष्फिक्रीका साथ सामान सोहाेरेर प्लाष्टिकको झोलामा हाल्दै रहेछ। एकछिन मनमनै हाँस्यौ पनि। अलि पछि ग्राहकबाट ओझेल परेपछि दिल खोलेर हाँस्यौ र भन्यौं “हे दैव मर्नु भन्दा बौलाउनु बेस भनेको यहीँ रहेछ क्यार!”

म आज अरु दिन भन्दा ४ गुणा धेरै व्यस्त थिएँ। म मात्र हैन हामी सबै व्यस्त थियौं। ग्राहकहरु खरिद गर्न व्यस्त हामी उनीहरुलाई सहयोग गर्न व्यस्त। व्यस्त पनि यति थियौं कि लाग्छ भोलिबाट जगतमै कर्फ्यु लाग्दैछ। व्यस्तताको कुरा गर्दा झट्ट याद आयो ” यार दाजु, पिसाबले च्यापेर मर्ने बेला भैसक्यो, फुट्छ कि क्या हो यहीँ! कत्ति धेरै आएको क्या ग्राहक पनि। एक घण्टा भैसक्यो पिसाब रोकेर बसेको” भनेर एकजना क्यासियर भाइले भनेको सुन्दा यति माया लागेर आयो कि उसको साटो आफै गइदिउँ कि जस्तो। तर नमिल्ने के गर्नु!

यति लेखिरहँदा म सोच्दैछु, मान्छे मर्न कत्ति डराएको है? आखिर एकदिन त सबैले मर्नै पर्छ नि! अनि फेरि सोच्छु, अहो! मर्नु भनेको त जीवन सकिनु पो हो त। जीवन नै सकिए त सबै सक्किगो नि। के नै बाँकी रह्यो र!

म कुनै लेख लेख्ने लेखक हैन। तर अच्युत घिमिरे “बुलबुल” दाजुले दिनुभएको हौंसला र ऊर्जाले नै हो यतिसम्म लेख्न सकेको र जे. सागर दाजुको अप्रत्यक्ष सहयोग रहेको छ। दुबै दाजुहरुलाई मेरो नमन छ।

अन्त्यमा, आत्तिनु भन्दा सावधानी अपनाउनु हुन सबैमा अनुरोध छ।
~~~नमस्कार~~~

भवानी नेपाल

युएई

नेपाल ठेगाना: ईटहरी

भाका

महामारीले ठप्प पारेको राजधानी भित्रको ३५ औ दिन। दिनहुँ ज्याला मजदुरी गरेर परिवार चलाउनेको कथाले सधै मन पिरोलिरहेको त हुन्छ नै , तर खै के नमिले नमिले झैँ आभास हुन्छ । समयमा अफिस पुग्न पर्ने हतारो छैन हिजो-आज। त्यसैले मन परेको किताब पढ्ने, लेख्न मन लागे लेख्ने, व्यस्त शहरभित्र आफै पनि यति व्यस्त भइन्थ्याे कि नजिकका मान्छेहरुसँगकाे कुराकानी पनि पातलिएकाे थियाे। हिजोआज सबैसँग कुराकानी हुन्छ।आराम कुशल जान्न पाइन्छ। अनलाईन  गेम खेल्ने साथीभाइ भएकाले राति सुत्ने सेड्युल चाहिँ बिग्रेको छ।

आज पनि सदा झै अबेर उठे। शुसिल (माहिली बहिनी) ले भान्छामा गुन्द्रुक – माम अनि साँधेको बन्दाको अचार बनाएर तयार पारि सकेकि थिइन्। आमा पनि युट्यबमा प्रोग्राम हेर्दै हुनुहुन्थ्यो। हिजो आज यो महामारीको सन्त्रासले गर्दा आरामदायी दैनिकि चलिरहेको छ। तर मनमा चाहिँ कता कता दुखिरहेको, पोलिरहेको, घोचिरहेको जस्तो लागिरहन्छ। दिनानुदिन देश भित्र या देश बाहिर कोही न कोहीले आफ्ना आफन्त गुमाइरहेको खबरले मन स्तब्ध बनाउँछ। जताततै मृत्युको खबरले छटपटी बढाउँछ।

देशको हालत यस्तै त छ नि। तर मेरो दैनिकि चाहिँ सकुशल नै छ। म र मेरो सबै परिवार ठिकै छम्। तर पहाडमा हजुरमुवालाई सम्झेर चाहिँ चिन्ता लागिरहन्छ। गोरि ( साहिँली बहिनी) अनलाइनमा जुम प्रबिधिद्वारा छलफल गर्दै पढ्छिन्। समृद्दि (कान्छी बहिनी) सात कक्षाको जाँच सकाएर आजकल टिभी रिजर्भ गर्छिन्। कैलेकाहीँ दिदीबहिनी मिलेर हामी पनि बिभिन्न प्रकारको परिकार बनाएर रमाइलो गर्छौ। अनि लोक भाका सुन्ने अनि नाच्ने गर्छाै‌। सबै जना मिलेर टिभीमा समसामयिक समाचार हेर्छौ। पूर्वेली भाकामा आमा पनि रमाउनु हुने भएकाले मिठा मिठा पूर्वेली भाका पनि सुन्छौ । वाक्क  लाग्यो भन्छन् धेरैले। तर यसरी सधैँ घरमा बसेर आनन्दको दिन बिताउने दिन फेरि कहिल्यै जुर्ला कि नजुर्ला। अहिले प्रकृतिले नै भनुम् या जे भनुम् परिवारको साथ बस्ने रमाउने समय पाएका छाै‌। यस्तो दिनबेलाको सही सदुपयोग गर्नुस है तपाइहरु पनि।


हेर्ने कथाका सबै एपिसोडहरु हेर्दैछु। भुटानी नेपालीको कथा प्रसारण हुने आशामा आज यो मेरो दैनिकी लेखेर पठाउने इच्छा जागेर प्रयास गरेकी छु। पक्कै पनि हजुर सम्म आइपुग्नेछ।

अरुणा थुलुङ्

सोलुखुम्बु

शिक्षककाे दैनिकी


कोरोना भाइरस कोभिड १९ को कारण देश लकडाउन भएको समयमा पहिलाे पटक डायरी लेख्ने प्रयास गर्दैछु । देश लकडाउनमा जानु भन्दा पहिले राज्यले एसइइ स‍ंगसंगै शिक्षा क्षेत्रलाई बन्द गर्यो। कक्षा ११ र १२ को परीक्षा बैशाख ६ गते देखि संचालन हुने भएकाले विद्यालयमा कक्षा १२ को आन्तरिक र प्रयोगात्मक परीक्षा संचालनको तयारी थियो। यता बिएड तिरका कक्षाहरु निरन्तर थियो। नेपाल सरकारले शिक्षा क्षेत्र बन्द गर्दा सवैलाई एक किसिमकाे कौतुहलता छायो। परीक्षाको मुखमा आएर विद्यार्थीहरु पूर्ण तयारीका साथ बसेको बेलामा विद्यालय बन्द गर्ने अन्य क्षेत्र भने यथावत रुपमा संचालन गर्ने कुरा बुझ्न नसक्दा विद्यालयमा शिक्षक साथीहरुबिच तर्कवितर्क चल्याे।

विद्यालय बिदा भए पछि दुई चार दिन घुम्ने डुल्नेकाम भयो। बिहान देखि बेलुकासम्म विद्यालय, कलेजमा समय बिताउनु पर्ने बिदा हुँदा फुर्सदिलो भएको जस्तो लाग्यो। बाँकी रहेका प्रशाशनिक र व्यक्तिगत काम पूरा गर्ने अवसर मिल्यो।२०७६ साल चैत ११ गते देखि देशैभर लकडाउन भयो । त्यसपछि घरमै बस्न थालियाे।

दौडधुपको जीवनबाट एक्कासि शान्तसँग घरमा बस्न पाउँदा खुसी नै लाग्यो। तर कोरोनाको संत्रास भने कायमै थियो। घरमा बस्दा सुत्ने, उठ्ने, सेभिङ गर्ने, खाना खाने, नास्ता खाने, नुहाउने आदि काममा कुनै पनि निश्चित समय भएन। झनै अस्तब्यस्त भयो। पछि घरका सवै परिवार मिलेर तालिका बनायौ। जसले गर्दा दिनहरु सहज रुपमा बित्न थाल्यो। घरमा केही साहित्यिक पुस्तकहरु थियो। ति मध्यको मदन कृष्ण श्रेष्ठको जीवनी मदनको म दुई अध्याय मात्र पढेको थिए। त्यसैलाई पूरा गर्नतिर लागे। यो पूरै पढिसक्दा जीवनमा संघर्ष गर्नुको अर्थ, इमान्दारिता, लगनशिलता, राष्ट्रियता, पारिवारिक धर्म, धैर्यता आदि पक्षको राम्रो ज्ञान भयाे। जो कोहीले पनि त्यसलाई सहज बुझ्न सक्छ। मदनकृष्णले आफ्नो जीवन कथालाई यसमा पूरै उतारेका रहेछन् ।

साँझको समयमा घरछेउमा रहेको करेसा बारीमा काम गरे। घरमा विभिन्न किसिमका इनडोर खेल सामग्री भएकाले परिवारका सबै मिलेर खेल्ने गर्थ्याैं।घर बाहिरको सानो आँगनमा प्राय बेलुकाको समयमा ब्याटमिन्टन खेल्न थाल्यौ। दैनिक रुपमा विश्वमा कोरोनाको संत्रास बढेकाे देख्दा र नेपालमा पनि फैलिएको देख्दा कता कता डर लागेर आउँथ्यो। डरलाई लुकाएर कहिले पारिवारिक नाचगान त कहिले हिज्जे खेलेर समय बितायौं।

मेरो जीवनसाथी संचारक्षेत्रसँग जोडिएकाले दिनहुँ जसो लेख, समाचार, लकडाउन डायरी लेख्ने गर्छिन्। म र छोरोलाई पनि लेख्न प्रोत्साहन गर्ने भएकाले मैले याे प्रयास गरेको हुँ।

म एउटा शिक्षक भएकाले विद्यार्थीलाई केही समस्या परेमा फोन गर्नु भनेको थिए। कक्षा नौ सम्मको परीक्षा सकिएको र दश कक्षाको पनि कोर्ष सकिएको थियो। तर कक्षा ११, १२ र विएडका विद्यार्थीलाई कक्षा संचालन गर्न मन भए पनि सम्भावना देखिएन। सबै विद्यार्थीसँग फोन र इन्टरनेटको सुविधा छैन। दाङ, रोल्पा, रुकुम र सल्यानका विद्यार्थी भएकाले शिक्षण गर्न पनि गाह्राे हुन्छ।

शरद आचार्य

स्वार्थी ‘म’

तपाईंको बारेमा बताउनुहोस? यो प्रायले जिन्दगीमा सबैभन्दा बढी सामना गरेको प्रश्न मध्य एक हुनुपर्छ । यो प्रश्नको प्रतिउत्तरमा हामी आफ्नो सामान्य परिचय, हासिल गरेका शैक्षिक योग्यताहरु अनि आफ्ना कामका बारेमा बताउँछौं । तर के तपाईं ‘त्यही हो’ जो तपाईले दुनियाँलाई बताउनुभएको छ? मैले लकडाउनमा आफैंलाई नियाल्ने प्रयास गरेको छु ।


व्यवस्थापन बिषयको बिद्यार्थी भएर पनि हाेला जिन्दगीलाई हेर्ने नजरा अलि भिन्न थियो। फाइदाजनक कामहरुमा अग्रसर हुने बानी अलि बढी नै थियो। भनिन्छ मानिस स्वार्थी हुन्छ। अवश्य पनि स्वार्थ नभएको मानिस भेट्नु याे युगमा असम्भव नै छ। कसैलाई पदको स्वार्थ छ, कसैलाई पैसा अनि कसैलाई पावरको । जब हामी आफ्नो स्वार्थ पूरा गर्न चुक्छौ अरुलाई स्वार्थीको ट्याग लगाइदिन्छौं।

मेरै कुरा गरौँ भनेपनि दिनहुँ पचासौ आउने फोनको घण्टी आजकल आक्कल झुक्कल मात्र बज्छ। सर यसो गर्दिनुपर्यो, सर उसो गर्दिनुपर्यो भन्नेहरु आजकल कता छन? अहिलेको अवस्थामा सबैको एउटै स्वार्थ छ आफू अनि आफ्नो परिवार बचाउने। अनि म? म पनि त स्वार्थी नै रैछु । मैले आफूलाई आएका फोनकलहरुको कुरा गर्दै गर्दा मैले गर्ने कलहरु पनि अवश्य घटेका छन।

कहिले अफिसले दिएको टार्गेट पूरा गर्नको लागि गरिएका कलहरु, कहिले सम्बन्ध बचाइराख्न गरिएका कलहरु। आजकल सबै बन्द छन् किन? किनकी मेरो पनि स्वार्थ बदलिएको छ अहिले। मेरो स्वार्थ पनि आफू र आफ्नो परिवारलाई बचाउने छ। तर अझै पनि सम्बन्ध बचाउन गरिने कलहरु जारी छन किनकि फेरि मलाई त्यही दुनियाँमा फर्कनु पनि छ। अहिलेको मेरो बसाइ बुटवल। घर स्याङ्जा। दुरीका हिसावले धेरै टाढा पनि छैन। आफ्नै साधन भएको मानिसलाई २/३ घण्टा लाग्छ। तर म २/३  महिनामा मात्र एकचोटि घर पुग्थे। तर जब लकडाउनको कुरा आयो, मलाई १ हप्ता बुटवलमै कटाउने कल्पना समेत गाह्राे भयो। सबैकुरा मिलाएर रातारात घर आइपुगेँ। पढाइ, करियर, पैसाको न त चिन्ता नै भयो न भोलि के होला भन्ने नै सोचियो। मनमा एउटै कुरामात्रै थियो घर पुग्न पाए! अनि घर आइसकेपछिको खुसी, मनको शान्ति सायद कुनै शब्दले बयान गर्न नसकुँला ।

सरकारले हामी जुन ठाउँमा छौं त्यही बसौं, सुरक्षित बसौं भन्दै गर्दा आफ्नो स्वार्थ पूरा गर्नका लागि म आफ्नो घरतिर यसरी कुदेँ जसरी एउटा हराएको बच्चाले आफ्नो घरजाने बाटो फेला पारेको छ। हाे, मैले बुझेँ म स्वार्थी छु। स्वार्थ बिनाको मानिसले सायद बुद्धत्व प्राप्त गर्दो हो। लकडाउनले मलाई अझै राम्ररी बुझाएकाे छ कि म स्वार्थी छु । अब अरुलाई स्वार्थी भन्नु अगाडि मैले आफैलाई नियाल्ने छु। कतै उनीहरुले मेरो स्वार्थ पूरा नगरिदिएकाले मैले उनीहरुलाई स्वार्थी भनिरहेको त छैन? अबका दिनहरुमा कसैले मलाई तपाईको बारेमा बताउनुहोस भन्नु भो भने म भन्नेछु ‘म एक स्वार्थी मानिस हुँ।’

नवीन खनाल

स्याङ्जा

मन जस्तै हुन पाए…

आज लक्डाउनको ३७ औं  दिन, यी दिनहरु पनि कति छिटै बित्दा रहेछन् ! नेपालमा मात्र नभएर विश्वका थुप्रै देशका मानिसहरु  लकडाउनका कारणले काम ठ्यापै बन्द गरेर घरमै बसिरहेका छन्। तर सुर्य र चन्द्रमा भने निरन्तर आफ्नो काममा लागिरहेका छन्। त्यसैले त हाम्रो दिन र रातको प्रक्रिया चलिरहेको छ! अहिलेको यस्तो अवस्थामा हरपल हरक्षण परिवार, साथीभाइ, निन्द्रा, भोक नभनि खटिरहेका विश्वभरका डाक्टर ,नर्स तथा अन्य सुरक्षाकर्मीहरु पनि सुर्य र चन्द्रमा भन्दा के कम।

लक्डाउनको सुरुवाती हप्ता त डर त्रास मै बित्यो। हरेक घण्टा समाचार, लौन !! अमेरिकामा त कति मान्छे मरे रे नि , इटालीमा त यस्तो भयानक, ला ! नेपालमा नि भेटियो रे कोरोना!अब के होला! विचरा घर फर्कन नपाएको पिडामा विभिन्न नाकामा छट्पटाइरहेका नेपालीहरु।यस्तै यस्तै संवादमा बित्दै गए दिनहरु। आफू नै मरिने हो कि भन्ने चिन्ता। अझैबढी चिन्ता त आफ्ना नातागोता, साथीभाइलाई कोरोना लाग्यो रे भनेर सुन्नु पर्दा के होला भन्ने डर। त्यति बेला त पशुपतिनाथको भूमि हो, उनैले रक्षा गर्छन् भन्ने पनि लागेकाे हाे। तर बिस्तारै लकडाउन थपिदै गयो, भाइरसको बारेमा धेरै कुरा बुझ्दै गए,पढ्दै गए, डाक्टर र नर्सका संवादहरु सुन्दै गए र आत्मबल बढ्दैगयो।र यो लकडाउनलाई सकारात्मक रुपले हेर्न थाले। यो लकडाउन त सबै परिवार एक साथ घरमै बसेर अमूल्य समय बिताउने मौका हो भनेर सोच्न थाले। घरमा गफगाफ, घरी लुडो, घरी क्यारमबोर्ड खेल्ने, युट्युब छँदै थियो मनोरन्जनको लागि – विभिन्न फिल्म हेर्ने। अनि विभिन्न खानेकुराको रेसिपी हेरेर त्यस्तै बनाउन प्रयास गर्ने र परिवारसंगै रमाउन थालेँ। अझ सबै भन्दा रमाइलो कुरा त काठमाडौं – जसलाई धुलो धुवाको सहर भनिन्थ्यो, अहिले त्यही सहरमा भएको मेरो घरको छतमा ताजा र स्वच्छ हावाको साथमा हिमालको मनोरम दृश्य हेर्दै जगिङ गर्नुको मजा नै बेग्लै।

१५ औं दिन बितिसकेपछि र फेरि उराठ लाग्दो समाचार सुनिन थाल्यो। विहान काम गरेर बेलुकीकाे छाक टार्ने परिवारहरु  खान नपाएर भोक भोकै आफ्नो गाउँ तिर हिडे रे ! गाउँपनि नजिकै कहाँ होर! काठमाडौंमा रहेका उनीहरु हिडेर बर्दिया, दाङ, रोल्पा तिर जान लागेका रे ! विभिन्न अन्तरवार्ता हेरेँ। कोही रुदैं भन्छन् काठमाडौंमा कसैले पनि एक छाक खाना र पानीको लागि सोधेन। बरु मेरै गाउँ गएर सिस्नु खाएर पनि त बाँचिएला। कोही भन्छन् न पैसा न खाना कसरी बाँच्ने। हुन त राहत वितरण गर्नेहरुकाे लर्को लागेको पनि सुन्छु तर खै किन नपुगेको होला त उहाँहरुसम्म। यस्ता यस्ता समाचारले मन नै भक्कानिएर आउँछ। त्यसपछि आफ्नै भविष्यको चिन्ताले नि मलाई रुवाउन थाल्यो।

एक महिना भन्दा बढी घरको कोठाको चार पर्खाल भित्र बस्दा पनि मन त कहाँ कहाँ डुलिरहँदो रहेछ। मनलाई न त कुनै रोगले छेक्न सक्यो न त कुनै लकडाउनले। उसले सोचेको ठाउँमा पुग्न न कुनै साधन नै चाहियो। यो मन जस्तै आफू पनि निरन्तर डुलिरहन पाए पनि त हुन्थ्यो नि। घरी यो भविष्यमा पुग्छ घरी बितेका पलमा। मन जस्तो हुन पाए म पनि भविष्यमा पुगेर कोरोनाको समाप्ति कहिले हुने रहेछ हेरेर आउँथे नि !

सिल्भिया जोशी

काठमाडाैँ

एक झोला खुसी

“बिहान उठने बित्तिकै हिमाल देख्न पाइयोस् ” गीत हाम्रो घरको रेडियोमा बिहानै गुन्जिको अझै याद छ मलाई। तर गीतमा भनेजस्तो प्रत्यक्ष महसुस भने अझै गर्नपाएको छैन। तर हिमाल देख्न नपाए पनि बिहान उठ्नासाथ देखिने हराभरा वातावरण र कौसीमा ढकमक फुलेका फूलले मलाई थप उर्जा दिएको छ।

म अमतृ साइन्स क्यामपस,लैनचौर काठमाडौंबाट स्नातक सकेको बिद्यार्थी हो। ४ वर्षसम्म वातावरणलाई हराभरा कसरी पार्ने हावापानीलाई दुषित हुनबाट कसरी जोगाउने, हानिकारक ग्याँसहरुको उत्सर्जनमा कसरी रोक लगाउने भनेर किताबमा मात्र अध्ययन गरियो। तर अहिले एकाएक वातावरणमा यसरी सकरात्मक परिवर्तन आएको देख्दा अचम्म लागिरहेको छ। अहिले प्रकृति बलियो भएको छ। अनि सवारीसाधन र कलकारखानाबाट निस्कने हानिकारक ग्याँसहरुको उत्सर्जन न्यून भएको छ। वातावरणले यसरी मुहार फेरेको हेर्न पाउँदा कसकाे मन प्रफुल्ल नहोला र!

गाउँका मानिसहरु आफ्नो घरदेखि टोलसम्मको सरसफाइमा सक्रिय हुनुभएको देख्दा आन्नद आउँदो रहेछ। मैले पनि आफ्नै कौसीमा फूलहरु फुलाएको छु। पहिले र अहिलेमा फरक छ। पहिले आमाले रोप्नुहुन्थ्याे अहिले म आफै यो सब गरिरहेको छु। मैले पनि यो लकडाउनमा नयाँ कुरा सिक्न कुनै कसर छोडेकी छैन । बुझ्ने भएदेखि होस्टल र साथीहरु नै परिवार थिए। राति १२ बजेसम्म पनि हामी आ-आफ्नो पररिवारको कुरा गरेर थाक्दैनथ्यौं। कहिले घरको यादले रोएर होस्टलको वार्ड म्यामलाई अंगालो हाल्न जान्थौं त कहिले धेरै हल्ला गरेर म्यामको गाली पनि खान्थ्यौं। तर अहिले यति लामो समयसम्म घरका परिवारसँग समय बिताउन पाउँदा जिन्दगीमा एक झोला खुसी बटुलेको अनुभव भइरहेको छ। अहिले त बुवा आफ्नै साथी जस्तो हुनुभएको छ। सम्बन्धहरु प्रगाढ भएका छन्।


तर चहलपहल हुने टोलका सडकहरु भने सुनसान छ। टोलवासीहरु गाउँ पसेछन्। रमझम हुने मेरो टोल अहिले सुनसान छ। कोरोनाको कारणले नकरात्मक सोच नबढोस् भनेर गीत सुन्छु। नाच्छु गाउँछु। परिवारसँग समय बिताउँछु। नयाँ नयाँ परिकार बनाउँछु। भनिन्छ दुख धैरै टिक्दैन रे। म कामना गर्छु आज दुखको बादल बनेर बसेको यो कोरोना भोलि सुखको बर्षात बनेर अन्त्य हुनेछ ।

रोशनी थापा


मेरो पहिलाे डायरी!

डायरी, याे शब्द नै यस्ताे छ जसले हरेक कुराहरूलाई सम्झाइदिन्छ। तर अहिले १९ वर्ष पुग्दा पनि मनका कुरा मजाले लेखेर राख्न सक्या छैन। खाली अल्छिपनले त जित्या हाेला नि! लेख्न त धेरै खाेजियाे, कक्षा ४ तिर पढ्दा म्यामले डायरी लेख्नुपर्छ है भनेपछि बेलुका स्कुलबाट फर्केर लेख्न खाेज्थेँ तर जान्दै जानिन। डायरी लेख्ने मेराे पहिलाे प्रयास यत्तिकै गयाे। दाेस्राे पटक दिदीसँगै नयाँबर्षकाे दिन देखि डायरी लेख्ने भनेर थालियाे। तर अहँ। त्याे पनि त्यसै भयाे।मानाैं मलाई अब डायरी लेख्नकालागि हाेमवर्क नै दिनुपर्छ। त्यो पनि अरुले हैन पहिला हामीलाई अङ्ग्रेजी पढाउने शिक्षकले। उहाँको नाम सुन्दै थरर हुन्थ्याैं हामी। आज धेरैपछि डायरी लेख्न खाेज्दैछु, म खुसी छु। मेराे पहिलाे पूर्ण डायरी हेर्ने कथाकाे नाममा।

मेराे भाग्य त हाेला नि! लकडाउनकाे ठ्याक्कै अघिल्लाे दिन गृह जिल्ला इलाम फर्किन सकेँ। युद्ध जिते जस्तो भयो। आमा खुसीले गदगद। नहुनु पनि कसरी। दशैं भन्दा पछाडि छाेराकाे नाक मुख देख्नुभएको थिएन। भिडियाे कल गरौं भने पनि मेरी आमालाई माेबाइल चलाउनै आँउदैन। बुवाको पनि स्मार्ट फोन होइन। म घर पुग्दा भाइ पनि खुसी भयाे, अब क्रिकेट खेल्न पाइन्छ भनेर । प्राय घरमै भाइ र म क्रिकेट खेल्छाैं। न हामीलाई काेही फिल्डर चाहिन्छ न काेही विकेट किपर नै। हामी आफैँ फिल्डिर आफैँ विकेट किपर र आफैँ ब्याट्सम्यान पनि। दाइ विदेश भएकाले अब दाइलाई कस्ताे लाग्याे त्याे दाइ नै जानाेस्। दिदी भने खुसी हुनुहुन्थ्यो। दुई चार दिन भए नि भाइलाई काम लगाउँछु भनेर।


हुन त अहिले गाउँमा चहल पहल बढेकै छ, सबैजना घर फर्केका छन्। घर आएपछि यत्तिकै बस्ने भन्ने पनि कुराे आएन। २/४ दिन त घरका काेठा सफा पारियाे, चट्ट पारेर फुलबारीमा मलजल, गाेडमेल गरियाे। दिन गएकाे पत्तै भएन। दुख त त्यसपछि पो थपियाे। काम सक्किगाे, अब दिन कसरी काट्ने भनेर। अनि फेरि हेर्ने कथाका मन पर्ने कथाहरू हेर्न थालेँ। मलाई सबैभन्दा मन परेकाे एपिसाेडहरूलाई क्रमबद्ध राख्ने हाे भने पहिलाे नम्बरमा सपना श्रृङखलाकाे अन्तिम अंक- यात्रा हो। देवेन्द्र दाइकाे कथाले किन किन हाे मुटु नै चिसाे बनाउँछ। दुखमा पनि हाँस्ने दाजै बडा रमाइला लाग्छन्। अनि दाेस्राे नम्बरमा पाेखराकाे आकाशकाे कथा। दिपक दाइकाे चैँ स्वर नै मिठाे । यदि कुनै बेलामा पाेखरा घुम्न गइयाे भने दिपक दाइसँगै उड्ने हाे आकाशमा।

यी त हुन् मेरा दृष्टिकोणमा दुई राम्रा अंक। तर प्रत्येक अंकले ज्ञान दिइरहन्छन्, प्रेरणा दिइरहन्छन्। अब एकै दिनमा लगातार हेर्न थालियाे भने भाेलि हेर्नलाई केही हुँदैन। त्यही भएर एक एक अंक गर्दै हेर्छु। म खासै कुनै सिरिजहरू हेर्दिन। नत्र त दिन सजिलै कट्थ्याे हाेला। बरू पुस्तकहरू पढ्छु। ‘एक सर्काे माया’ र ‘गुलाबी उमेर’ हुन् मैले पछिल्लाे पटक पढेका दुई पुस्तकहरू। दुइटै भिन्न खालका र विभिन्न परिवेशमा लेखिएकाे छन्। एक सर्काे माया पढेपछि त मलाई एक सर्कै गाँजा तानेजस्ताे लाग्याे। लेखक जिएस पाैडेलले मलाई डाेनिमा राखेर माल्दिभ्सका हर टापु घुमाइदिए। गुलाबी उमेरले भने त्यस्तो पारेन। अहिले विश्वेश्वरप्रसाद काेइरालाकाे ‘सुम्निमा’ सुरू गर्या छु। यसरी हर्ने कथा, अलिअलि आमाकाे गाली, थाेरै भाइसँगकाे झगडा, हँसिमजाक अनि घरका छिटफुट कामले लकडाउन पनि रमाइलै हुँदैछ।

यसाे टिभी हेर्न खाेल्याे भने बिभिन्न ठाउँमा यस्ताे भयाे काेराना भाइरसका कारण भनेकाे नै देख्छु। मन विचलित हुन्छ। अस्ति एकै दिनमा १४ जना सङ्क्रमित थपिँदा हतास भए। तर के गर्नु मनलाई सम्हाल्नै पर्छ ।आफू र आफ्नाे परिवार सुरक्षित रहन बाहेक अरू उपाय छैन। आजकाल त हात पनि छक्क परिसक्याे हाेला धुदाँ धुदाँ। तपाईंहरू पनि हात धाेएकाे धाेइ गर्नुहाेस् है।

केशव रिजाल

इलाम

झ्याउ छ यार !

दिनहुँ मेरो झ्याल बाहिर कराउने चरा अनि मेरो मोबाइलमा लगाएको अलार्म, आजभोलि म देखेर झर्किंदो हो। रिसाउँदो हो, मनमनै गाली गर्दो हो, अनि भन्दो हो आफूलाई सुख भएपछि अरुको मतलब नगर्ने? हुनपनि अन्याय नै भएको छ। म सधैँ उनीहरुकै सहायतामा उठ्ने गरेको थिए। आजभोलि उनीहरुलाई वास्ता नगरी घण्टौसम्म सुतिदिन्छु। यसको मूल कारण लकडाउन नै हो।

दैनिक जीवनसंग अपरिचित भएर म लकडाउनसँग परिचित हुन थालिसकेँ। यही लकडाउनले गर्दा मैले आफ्ना रुचिहरू पनि गहिरिएर चिन्न थालेको छु।आज धेरै दिनपछि म र छिमेकीको छोरी आ-आफ्नो कौसीमा एकैपटक निस्कनु संयोग नै मान्नुपर्छ। एकअर्कालाई देखेर हामी मुसुक्क हाँस्यौ।मैले नै मुख खोलेँ, ‘कस्तो हुँदै छ त लकडाउन जिन्दगी? उसले मुख बिगार्दै भनि ‘झ्याउ छ यार! पिंजडाको चरा जस्तै हाल भाको छ।’

यतिकैमा आमाले बोलाउनु भयो भनेर ऊ भित्र गइ। तर उसकाे कुरा सुने पश्चात मेरो मनमा कुरा खेल्यो पिंजडाको चरा …..?

कसरी हामी अनि पिंजडाको चरा एउटै हुन सक्छौं ? यो त चराप्रति गरिएको अपमान हो। म सहन सक्दिन यो कुरा। उनीहरू कसरी आफूलाई पिंजडाको चरासँग दाँज्न सक्छन्? यो सरासर गलत हो।

के तिमीहरू जस्तै आफ्नै परिवारसँग हाँसखेल गर्दै बस्न पाएको छन् त ती चराहरुले? के तिमीहरू जस्तै आफूलाई मन पर्ने खाना खान पाइरहेका होलान् ती चराहरुले? के तिमीहरू जस्तै आफ्नै घरको छानो मुनि बस्न पाएका होलान् त? त्यो आफ्नो शरीर मात्र अट्ने फलामे बार भित्र कुञ्जिएको छैनन् होला त? के तिमीहरूले जस्तै आफ्ना मन पर्ने साथीभाइसँग भिडियाे च्याट गर्दै दिन काट्न पाएका होलान् तिनले?

 अलिकति विचार त गर, आफूलाई कोसँग दाँज्दै छु भनेर!

त्यो आफ्नो घर भत्किएको चरा। त्यो परिवार उजाडिएको चरा। त्यो गन्तव्यबिहिन चरा। त्यो पखेटा फिँजाउन बिर्सिसकेको चरा।

कति निरिह छ मान्छे आफ्नो समस्या सानै भए पनि ठूलो देखाउँछ। तर अझै पनि त्यो चरालाई हावासँगै उड्न दिने हिम्मत देखाउँदैन। यो त आफू अरु भन्दा शक्तिशाली छु भन्ने घमण्ड मात्र हो तर यो घमण्डको कुनै तुक छैन। आफू स्वतन्त्र भएर बाँच्नु पर्छ भन्ने सोच भएको व्यक्तिले अरुको स्वतन्त्रता पनि त हेर्नु पर्यो, बुझ्नु पर्यो, अनि महसुस गर्नु पर्यो।

यस्तो अवस्थामा ती अवाेध प्राणीहरुको मजाक नउडाउ। बरु पिंजडा भित्र भएका प्राणीलाई उडाउ। कतिपछि वातावरण स्वच्छ भएको छ उसलाई पनि स्वच्छ वातावारणको स्पर्श गर्न देउ।

हामी लकडाउनमा छौं, खुसी छौं। सबैको साथमा छौं। यो मौकाको भरपूर सदुपयोग गरौं। हामी घरभित्र हाम्रै लागि छौं । अरु कसैको लागि छैनौं। त्यसैले पिंजडामा होइन हामी त हाम्रो सानो परिवार रुपी संसारमा छौं।

सधैँ झ्याल बाहिर कराउने चरा र मोबाइलको त्यो अलार्मले जति गाली गरेपनि म त्यसैमा रमाएकी छु अनि थुप्रै ज्ञान पनि प्राप्त गर्दैछु।

हो! म १ महिना देखि लकडाउनमा छु र धेरै कुरा सिक्दै छु । किनकि मेरो घर मेरो पहिलो पाठशाला हो। 

सम्झना ज्ञवाली

       

फूर्ति

कोरोना आउनु, लकडाउन हुनु राम्रो कुरा त हुँदै होइन। तर यो नराम्रो भित्र पनि सकारात्मक भएर खोज्यौँ भने धेरै राम्रा कुराहरु पाउँछौँ हामीले। त्यो हो गाउँमा देखिएका फरकपना र केही नयाँ कुराहरु। त्यही कुराहरु हेर्ने कथा मार्फत तपाईंसामु पुर्याउनु मेरो प्रयास हो ।

केही रहरले र केही कहरले गाउँ छोडेर सहर पसेकाहरु लकडाउन अघि नै गाउँ फर्किए। कोही लकडाउनमै रातारात गाउँ फर्किए। गाउँ फर्किन कि त दशैँ तिहार नै आउनु पर्थ्यो, कि त कुनै विवाह,मेला र उत्सव नै हुनुपर्थ्यो। तर यो बेला न त दशैं तिहार नै छ, न त कुनै विवाह, मेला र उत्सव नै। तर अहिले कारणबस गाउँ आउन नपाएका बाहेक अधिकांश मान्छेहरु यो बेला गाउँमै छ्न्। आफ्नो जन्मथलोमा छन्। आफ्नो गाउँ सुगममा हुनेहरु त गाउँ फर्किए नै। ‘मेरो गाउँ दुर्गममा छ। मेरो ठाउँ दुर्गममा छ। त्यो गाउँमा त्यो ठाउँमा जान नपरोस्। मरे नि जान्न, भन्नेहरु पनि यो बेला गाउँमै भेटिएका छन्।’

अघिल्ला वर्षहरुमा नुन खाएको कुखुराे झैँ देखिने गाउँ, यो बेला दुलाहा भेट्न आतुर दुलहीझैँ देखिन्छ। छोराछोरी, बुहारी, नातिनातीना र आफन्तको आगमनले चाउरी परेका ती वृद्द अनुहारहरुमा खुसीका सयपत्री, गोदावरी र मखमली ढकमक्क फुलेको प्रष्ट देख्न सकिन्छ। वृद्द शरीरहरुले केही दिन, केही महिनालाई नै सही भातभान्सा,पानीपँधेरो र मेलापातबाट आराम पाएका छ्न्। आफ्नो छातीमा भारी बोक्न नपाएर टोलाइरहने चौतारी फुर्तिलो देखिन्छ, यो बेला। भर्खरै पुराना लुगा फालेर नयाँ लुगा हालेका वर, पिपल, साल, चिलाउने र अन्य थुप्रै बोटबिरुवाहरुको फूर्ति पनि कम छैन। तिनै वर, पिपल, साल, चिलाउने र अन्य थुप्रै वोटबिरुवाको डाली-डालीमा बसेर चिरबिर-चिरबिर चिर्बिराउने जुरेली, कोइली, सारौँ र अन्य थुप्रै चराचुरुङ्गीको फूर्ति त झनैँ बेग्लै छ। प्रेममा मग्न ढुकुर र परेवाको जोडी देख्नेलाई त आफ्नो प्रेमको रूमानी संसारमा पुर्याइदिन्छ। गाउँमा सबै कुरा यहाँ भनेर, लेखेर साध्य नै छैन। त्यो त देख्न,भोग्न र अनुभव गर्न आउनुपर्छ गाउँ।

कंक्रीटजस्तै मन भएका कंक्रीटे मान्छेहरु बस्ने ‘सहर मरेको बेला’ गाउँ जीवित देखिन्छ। गाउँका प्राय प्रत्येक घरहरु जीवित देखिन्छन्। केटाकेटीहरु उन्मुक्त छ्न्। बोक्नु परेको छैन,आफूभन्दा ठूलो किताबको भारी। घोक्नु परेको छैन, जिन्दगीको गणितमा खासै लागू नहुने बिजगणित र ज्यामितिका अप्ठ्यारा अप्ठ्यारा सुत्रहरु। न्युटनका सिद्धान्तहरु। केटाकेटीहरु स्वतन्त्र छ्न् यो बेला। माटोसँग खेलिरहेका छ्न्। ढुङ्गासँग कुरा गरिरहेका छ्न्। खेत र बारीका बाँझा गह्राका छातीमा निस्फिक्री उफ्रिरहेका छ्न्। युवाहरुमा थोरै भए पनि जिम्मेवारी बोध भएको छ। घरयासी कामहरु गरिरहेका भेटिन्छ्न्। भूकम्पपछि बनेका घरहरुका कुलेसा खार्दैछन् कोही। चिटिक्क पारेर रंगरोगन गर्दै छ्न् कोही। खेतबारीमा व्यस्त देखिन्छ्न् कोही । यो बेला मस्त छ गाउँ। यो बेला व्यस्त छ गाउँ।

कुनै पनि कुरा चीर स्थायी हुँदैन। कोरोना पनि चीर स्थायी छैन। यो केही दिन या केही महिनाको पाहुना हो। यो पाहुना एक दिन न एक दिन त जान्छ, जान्छ। तर कोरोना गएसँगै हामी गाउँबाट नजाऔँ। गाउँबाट नजाउँ नै भन्ने मेरो आसय पनि होइन। जानुपर्छ, पढाइका लागि। जानुपर्छ, नोकरीकालागि। जानुपर्छ, व्यापार-व्यवसायका लागि। म यति मात्र भन्छु कि- दु:खमा गाउँ सम्झिने हामी, सुखमा गाउँ नबिर्सौं। दु:खमा जन्मथलो सम्झिने हामी, सुखमा जन्मथलो नबिर्सौं। गाउँ आऔँ, गाउँ सम्झौँ। जन्मथलो आऔँ, जन्मथलो सम्झौँ। गाउँ हाम्रो, गाउँका हामी।

रविन्द्र बुढाथोकी

रामेछाप

सम्झना

ओइलाएका फूलहरु , बसन्तमा फुल्दारैछन्

पुराना ती यादहरु , मस्तिष्कमा झुल्दारैछन्

बिर्सिएका कुराहरु , बिउँझदामा खुल्दारैछन् ।

यो लकडाउनमा यति फुर्सदिले भइएछ कि पुराना कुराहरु सम्झन थालिसकिएछ।

जिन्दगीका अनगिन्ति पाइलाहरु चालिरहँदा केही कुरा यस्ता हुँदारहेछन् कि, मनको कुनै कुनामा जरा गाढेर बसेका हुँदाहेछन् अनि कहिलेकाहीँ झल्याँस्स बनाउँदारहेछन्। गहिरो निन्द्रामा परेको रहेछु झल्याँस्स बिउँझिए। मेरो आँखा अघि एउटा तस्बिर घुमिरहेको थियो। त्यो तस्बिर मलाई केही कुराको सऺकेत गरिरहेको थियो। म एकछिन अलमल परेँ।अनि सम्झना आयो। त्यो त मेरो बाल्यकालको तस्बिर हो। तर त्यो तस्बिरले मलाई अडियो भिडियो दुबै सम्झाएको थियो ।

सन्दर्भ मेरो जन्मथलो देखि पढाइ थलो आएको दिनको हो। मेरो जन्म मण्डन देउपुर। त्यो तस्बिरमा म घर भन्दा चार पाँच कान्ला मुनिको बारीमा पानीको मूल खोस्रदै थिएँ। गाउँभरि त्यो मुलको पानी खुवाउने बडो जोस थियो। त्यही तस्बिरले सम्झाएको अडियो भिडियोको बारेमा लेख्न मन लाग्यो ।

मेरा जोसिला काका मसँगै थिए। नाताले काका भएपनि हाम्रो उमेर जम्मा १४ महिनाले फरक थियो। हामी काका भतिजको सम्बन्ध भन्दा साथीको सम्बन्ध बढी रुचाउथौं। हाम्रो दोस्ती देखेर गाउँभरिका मान्छे रिस गर्थे। रिस पनि किन नगरुन् हामी दुई भएपछि टोलभरिका उखु ,काँक्रो र मटरकोसा बाँकि रहँदैनथ्यो। म तीन वर्षको थिएँ। काका चार। हामी धेरै त खान सक्दैन थियौं तर बोटै उखलेर फाल्दिन्थ्याैं। यसको मार सबै भन्दा धेरै मेरो साइँली हजुरआमालाई परेको थियो। उनको बारीभरि उखु थियो। उखु छन्जेल उखु खायौं। उखु सकेपछि कोदालोले खनेर जरै समेत खायौं।

यिनै कुराले मलाई गाँउबाट टाढा बनाइरहेको थियो । त्यो दिन हामी बारीमा पानीको मुल खोस्रदै थियौं। घरको आँगनबाट ममीले बोलाउनु भयो ‘बाबु घर आउ।’ हामीले मतलब गरेनौं। केही छिन पछि ममी आफै आउनुभयो अनि मलाई पिठ्युमा बोकेर घर लानुभयो। खाना खुवाउनुभो अनि मलाई नयाँ लुगा लगाइदिनुभयो। तब थाहा भयो कि अब मलाई बनेपा लाँदैछन्।  म रुन थाले कराउन थालेँ । ‘काका बिनोद बिनोद’ भन्दै रोएँ। त्यसको पनि मन रोइरहेको थियो। तर मलाई आँसु भने देखाएन। अनि म ९ बजेको क्युको गाडीमा बनेपा आएँ ।

आधिबाटो सम्म रुँदै थिए। त्यस बखत मेराे पीडा कसले बुझ्थ्यो र! अर्का एकजना काका सुरजपनिसँगै आउनु भएको थियो। मेरो आँसु नथामिएकाले मलाई र काकालाई ममीले शुभकामना हलमा लानुभो। त्यहाँ ‘हामी तीन भाइ’ भन्ने फिल्म हेर्यौं। बनेपामा बाबा र ठूलो बाबा व्यापार गर्नुहुन्थ्यो। केही दिन बसेर ममी घर फर्कनुभयो। घरबाट आउँदा म रुँदै आएको थिएँ। जाँदा ममी रुदै जानुभयो।

सायद म त्यति बेला सहर नआएको भए गाउँमा अझै बदमासी गर्दै हुन्थे होला या हुँदैनथे। तर मेरालागि सङ्घर्ष गर्ने ममीलाई नमन र यस्ता यादहरु संगालेर राखीदिने मन र दिमाग दुबैलाई धन्यबाद। अनि सानो बेलाकाे बिनोद तर अहिलेको बिशाललाई धेरै सम्झना ।

मनिष ढकाल

मकाउ अनुभव

कुरा सुरुवातबाटै गरौं होला। म मकाउको द भेनेसियन क्यासिनोको सेक्युरीटी डिपार्टमेन्टको मेडिकल टिममा काम गर्ने भएकाले कोरोना भाइरसको बारेमा हल्का अगाडि नै हामीलाई जानकारी थियो।

सुरुवातमा त लागेको थियो यो सामान्य रुघाँ नै होला भनेर। तर एक दुई हप्ता पछि थाहा भयो कि यो त ख़तरा महामारी नै पो रहेछ । हालसम्म यसकाे कुनै औषधी पनि छैन। अरुलाई जस्तै ममा पनि त्रास, डर त हुने नै भयो। तर काम गर्ने बाहेक मसँग अरु कुनै पनि उपाय थिएन ।

हुबेइ, वुहान लगायत चाइनाका विभिन्न ठाउँबाट लगभग ४ हजार नागरिक नयाँ साल मनाउन मकाउ आएका रहेछन्। मकाउ सरकारले ती नागरिकहरुलाई आफ्नै देश (चाइना ) फर्काउने निर्णय गर्याे। जस अनुसार यहाँका प्रहरीहरुले बिभिन्न होटलहरुमा छापा मार्दै त्यहाँका नागरिकलाई डिपोर्ट गर्न थाल्याे।

हाम्रो होटलमा पनि सयौको संख्यामा वुहान र हुबेइ प्रोभिन्सका नागरिक रहेछन्। म मेडिकल टिम भएको हुनाले मैले पनि प्रहरीसँग साझेदारी गर्दै ती नागरिकको तापक्रम जाच गर्दै ज्वरो भएकोलाई हस्पिटल र नभएकोलाई होटलबाट चेक आउट गराइ उनीहरुकै देश फर्काउन सहयाेग गरे।

अहिले मेरो धर्मपत्नी पनि म सँगै यही बैदेशिक रोजगारीमा छिन्। हाम्रो एउटा ७ बर्षको छोरा छ। अहिले उ हाम्रो आफन्त कहाँ बसेर कक्षा २ मा पढ्दैछ। बिस्वमा यो माहामारीले बिकराल रुप लिइरहँदा अनि नेपालमा पनि याे राेग देखिएकाले हाम्रो मनमा पनि एक प्रकारको त्रास छाएको छ। नाबालक छोरा उता नेपालमा लकडाउनमा छ, बाबा आमा यता बिदेशमा। लकडाउन या अरु जे भए पनि सबै परिवार साथमा भैदिए मन यति अशान्त हुँदैन थ्यो हाेला ? यही कुराले मन भक्कानिन्छ। मुटु गह्रुङ्गाे भएर आउँछ। ओम माने पेमे हुम्।

राजु गुरुङ

  हाल मकाउ 

ख्याम्पु

मुलुकभर कोभिड–१९ को कारण लकडाउन छ। व्यस्त दैनिकीहरु खुम्चिएर कोठाभित्र सीमित भएका छन्। सुरुवाती दिनहरुमा कोठा वा घरैमा दिन काट्नलाई आम्मै र बाबै गर्ने मनहरु पनि अब त अभ्यस्त भइसकेका छन्। सामाजिक संजालहरुमा त्यस्तो साह्रो हल्ला गर्न छाडेका छन्।

पढाइको सिलसिलामा म काठमाण्डौं उपत्यकामा छु र अहिले लकडाउनले कोठामा नै सिमित छ मेराे दैनिकीहरु। दिनहरु काट्न र बस्न त्यस्तो गाह्रो परेको छैन मलाई। केही रचनात्मक र आफ्नै कामहरु गर्दैछु। विशेषगरी किरात बायुङ राईहरुको तुम्लो(मुन्दुम) अध्ययनको काम ढुक्कले गर्न पाएको छु। साथमा आफ्नो मेलो त छँदै छ।

त्यसको अलावा सामाजिक संजालहरु पनि घुम्ने गर्छु। जहाँ धेरै साथीभाइहरुले लक डाउनको समयलाई यसरी सदुपयोग गरें, उसरी गरें भनेर पोस्ट्याउनु हुन्छ। उहाँहरुको रचनात्मक कुराहरु मन पर्छ। कसैले किताब पढेको, कसैले गीत, गजल र कविता लेखेको, वाचन गरेको, कसैले राम्रो चलचित्रहरु हेरेको, कसैले आफैँ हस्तकलाका सामानहरु बनाएको, कसैले नयाँनयाँ परिकारहरु बनाएको विविध कुराहरुले दिन अल्छी लाग्दो बनाएको छैन।

जन्मे हुर्केको गाउँठाउँको सबैलाई माया लाग्दो रैछ। सामाजिक संजालकै माध्यमबाट मेरो गाउँको अपडेटहरु हेर्छु। मेरो पहाडको गाउँ नेचासल्यान गाउँपालिका स्थित ख्याम्पु हो। घरमा मामा (आमा) सँग कुरा हुँदा सन्चै भएकोले र चिन्ता नलिनु भन्छु। यहाँको स्थिति ठीकै पनि छ। त्यस्तो साह्रो गाह्रो छैन।

लकडाउनको समय लम्बिएसँगै र लम्बिएला भन्ने आशंकाले सहर तथा गाउँभन्दा बाहिर बस्ने गाउँबासीहरुमा संकटपूर्ण वातावरण आउँला कि भनेर त्रास बढेको छ। सोलुखुम्बुका अन्य स्थानीय निकायहरुले जस्तै नेचासल्यान गाउँपालिकाले पनि आफ्नो गाउँवासीहरुले संकटको अवस्था झेल्न नपरोस् भनि नागारिक उद्धारको कार्यक्रम अघि बढाइरहेको छ। यो स्थानीय निकायको प्रशंसनीय कदम हो। यसमा गाउँपलिकालाई स्यावास भन्नै पर्छ। तर पनि स्थानीय निकायको स्वगतयोग्य कदमसँगै केही आलोचनाको आवाजहरु पनि आइरहेका छन्।पक्कै पनि स्थानीय निकायको आफ्नो नागरिकहरुलाई राम्रै गर्छु भन्ने ध्येय हो। र त्यो भन्दा पनि अझ राम्रो गर्नुपर्छ मलाई लाग्छ।

किशोर बायुङ राई

साेलुखुम्बु