बिहान भाले नबास्तै देखि सुरुवात हुने मेरो व्यस्तताले विश्राम पाएको छ अहिले। कुनैबेला एक कप चिया पिउन समय थिएन तर आज मसँग चिया, कप  र समय सबैथोक छ। पन्ध्र वर्ष लामो विद्यार्थी जीवनको इतिहासमा नभएको बिदा मेरै अघिल्तिर ठिङ्ग उभिदिएको छ । शरिरको तौलले नयाँ आकार लिएको छ । ४३ बाट ५२ केजी भएकी छु। बिहान उठेर कलेज जानुपर्दैन बरू सुगर र प्रेसरले ग्रस्त ६३ बर्षिय हजुरआमासँग मर्निङवाक जाने गरेकी छु ।

मलाई  यो लकडाउनमा चराचुरुङ्गीसँग प्रेम भएको छ । त्यसैले  त प्रजनन प्रक्रिया देखि  उड्नेबेलासम्म उनीहरूको जीवनचक्र नियाल्ने गरेकी छु । बिहानीको स्पर्शसँगै उनीहरूको संवाद सुन्छु ।प्रत्येक दिन  सूर्यको किरणसँगै महामारी अन्त्यको अभिलाषा राख्छु । कलेजको अनलाइन कक्षा मनलाग्दा लिने गरेकी छु । लकडाउनका सुरूवाती दिनहरूभन्दा कोर्षको अध्ययन पातलिदैछ र साहित्यिक पुस्तकहरूको अध्ययन बाक्लिदै ।

भौतिक दुरीले टाढा भए पनि भावानात्मक रूपमा प्रविधिले गर्दा दिनमा दुई पटकसम्म ड्याडी (मेरो छहारी ) सँग कुरा हुन्छ। कोरोनाको कहरमा सँगै हुन नसक्दा बेला -बेला असह्यै पीडा पनि । सायद यो पीडा प्रत्येक नेपाली छोरीको हुन सक्छ जस्का बुबा नेपालको भूगोलभन्दा टाढा रहेर म जस्ता हजारौ छोरीहरूको सपना पूरा गर्न अहोरात्र तल्लीन छन् । साथीहरूसँग पनि इन्टरनेटले गर्दा नजिक भएको आभास हुन्छ । 

अहिले सबैभन्दा नजिककाे साथी मेरी बहिनी छे । ऊ एस. इ. इ. परीक्षार्थी थिई। भाइको रिजल्ट आएर पनि ऊ दैनिक अनलाइन कक्षा लिन्छ । ऊ बेफिक्री छ, सायद उमेरको फरक यही हो की ? 

अचेल अलि बढी अध्यात्मिक भएकाे छु । लाइब्रेरीको न्यास्रो मेटाउन जुम मिटिङमा भाग लिन्छु।  सम्भावित कार्यक्रमको खाका बनाउँछु । लकडाउनले मलाई सबैभन्दा शक्तिशाली समय दियो। सँगसँगै पिडा पनि। मैले घडी चिन्न सकेँ। तर त्यसले देखाउने समय चिन्न सकिन भने जीवनमा ठूलो पश्चाताप हुनेछ ।

स्कुले जीवनमा बिर्सिन नसक्ने केही साथीहरूको यादरूपी गुच्छास्वरूप यो लकडान डायरीलाई उपयोग गर्दैछु ।  फुर्सदमा मेरो विगतलाई खोतल्ने साहस गरेकी छु ।  सबैभन्दा बढी त अचेल मलाई यादहरूले कैदी बनाएका छन। त्यसैले त मैले मगजलाई पनि यादहरूको गुलाम बन्न स्वतन्त्र छाडिदिएकी छु । तँ भन्नेहरूको यादमा : तँहरु……!!!! भइसके हाेलान् कसैका प्रेमी, भइसके हाेलान् कसैका प्रेमिका, बा भए कि अामा भए कि! अझै चुल्बुले भए हाेलान् कि झनै शान्त भए! भइसके कि कुनै संस्थाका पदाधिकारी, न भइसके नेता, कि भए कार्यकर्ता, ज्ञानी पाे भए कि, कि भए ध्यानी!!

सुरेन्द्र सुब्बा गायक भइस् कि ? म भन्दा निकै राम्रो गीत गाउँथिस! तेरो र मेरो गायकीका फ्यानहरू बरू गायक भइसके होलान्! तर  मैले  आफ्नो गायकीलाई निरन्तरता दिनै सकिन सुरेन्द्र।  तैले सँधै गाउने “यहाँ पिरमा छ मान्छे, मान्छेहरूकै भिडमा” बोलको गीत तेरै आवाजमा सुन्न मन छ,  कुनै दिनको सुनौलो भेटमा नबिर्सी सुनाएस् है ।     

मिसिराम राई चित्रकार भइसकिस् कि!  तँलाई जित्न त नसकुँला, तर त्यति बेलाको भन्दा राम्रो चित्र कोर्न थालेकी छु । तँलाई कुनै दिन भेटिहाले भने त्यस बेला देखि अहिले सम्मका सबै चित्र देखाउने छु । अनि तैले मेरा एकएक गल्तीहरू पत्ता लगाइदिनु , साँच्चै तैले कपाल काट्न थालिसकीस् कि पहिले झै लामो कपाल छोडेरै चित्र कोर्छस्? 

सागर सिलवाल! तैले चिमुसि चि खेल्दा चिमोटेको घाउको दाग अझै मेरो हातमा छ। तँ विदेशबाट फर्किएपछि मलाई एकपटक जसरी नि भेटेस्। तँसँग हिसाब बराबर गर्नु छ।

शर्मिला दास! झन तेरो ग्याङलाई त म कसरी बिर्सु !  म मनिटर भएको बेला बाहिर जान नदिएकै निहुँमा बाटो छेकेर पिटेको अहिले पनि मेरो बिच निधारमा त्यो खत छ । तर अहिले आएर त्यो सबै सम्झदा कस्तो कस्तो रमाइलाे लाग्छ।

सुनिता लावती! याद छ तेरो घरमा पहिलो पटक जाँदा जाँड बनाउन सिकाएकी थिस् नि? मलाई अहिलेसम्म पनि जाँड बनाउन आउँछ । तँलाई जिन्दगीको कुनै मोडमा भेटीहाले भने आफ्नै हातले जाँड बनाएर पिलाउने  ठूलो चाहना छ। त्यति चाहना पूरा गर्दे है !

ममता खड्का! याद छ मैले  एक दिन  टिफिन नल्याउदा तैँले   घरमा पुजा छ भनेर छिमेकीको घरमा लगेर श्राद्ध खुवाएको। अनि श्राद्धमा दिएको सब्जी खाएर बचेको सेल रोटीको चुरा लगाएर स्कुल छिर्दा ५०|५० पटक उठबस गरेको 

समिर बस्नेत! तेरो घरको आँप, बयर चोरेर ल्याउने अरू कोही नभएर इन्द्रे , सागर, म, सबिना, अनुपा, मानिषा, प्रस्ना, सनिम,  इन्दिरा, सुवास, मनोज, जीवन,  सुम्निमा, सुमन,  नवीन, कमल, चन्द्रा,  सुनिता,  किशोर, युवराज कै ग्याङ थियो । थाहा छ  समिर तँलाई!   यसकाृ चट्ट पारेर साँध्ने नुन,खोर्सानी, मसलाको प्रबन्ध अम्बिकाले गर्थी। जुन तँ पनि स्वाद मानी मानी खान्तिस्। हामी तेरै घरको फलफूल चोरेर तँलाई नै खुवाउथ्यौ । 

अंगिता! तैले मेरा प्रत्येक वर्षको पुरस्कारका कापी थाहा नपाइ लग्थिस् । अनि ममी आएर अफिसमा सिकायत गरे पश्चात रूदै थपक्क मेरो स्कुले झोलामा राख्दिन्थ्स्। तर अंगिता तैले कहिले पनि भनिनस्,  कहिले पनि सुनाइनस् !!  किन सुनाइनस् अंगिता किन??किन किन? ???  कि चोर्नु तेरो रहर थिएन। बाध्यता थियो। तेरी आमाको मृत्यु पछि तैले नयाँ आमाबाट भाेग्नु परेकाे खटनपटन तँ चुपचाप निर्दोष अपराधी बनेर भोगिरहिस् !!! अंगिता त कहाँ छेस् ? तँलाई भेटेर  मेरो कारणले तैले  खाएका पिटाइको लिस्ट बनाएर डेविट र क्रेडिट बराबरी गर्नु छ अनि ब्याज सहित माफी माग्नु छ । अंगिता दिन्छेस नी हैन  मलाई माफी ???? साथी मलाई माफ गर्दे है। मैले तेरो भावाना बुझ्न सकिँन । न त कुनै एक दिन बुझ्ने कोसिस नै गरेँ । तेरो यथार्थ थाहा पाएपछि म युद्ध हारेँकी सिपाही जस्ती भएकी छु, एकदमै रित्तो!!!!

शोभा पोखरेल! जब म पहिलो पटक तेरो घर गएकी थिएँ। त्यस बेला म हाम्रो नेपाली ठेट शब्दमा भन्ने हो भने ‘नछुने’ भएकी थिएँ । तेरा बुबालाई चिना हेराउन भनेर कुर्ने मानिसहरूको लर्को नै थियो । तर मैले तँलाई पनि भनेकी थिइनँ कि म नछुने भएकी छु भनेर। कारण थियो तेरो घर टेक्न पाउँदिन कि भन्ने डर । तैले चिया बनाइस्, मलाई बाहिर लगेर बाबालाई चिया दिन भनिस्। मैले पनि तैले भने बमोजिम एक आज्ञाकारी छात्राले झै लागेर दिएँ। हेर त शोभा तेरा बाबाले थाहै पाउनु भएन । मैले विश्वास परिधि नाघेकी हैन तर पनि शोभा जान्न मन छ, तेरो घरमा अझै पनि नछुने हुँदा बाबालाई, भाइलाई अनि  घरको धुरी हेर्न हुन्न भन्ने अन्धविश्वास छ कि हट्यो ??? यत्ति त भन्छु, तेरो जस्तो पिडा तेराे भदैनीले भोग्न नपरोस्।  घरै छाडेर छिमेकी कान्छि भाउजूको घरसम्म पुग्न नपरोस् !!!

विद्या!  अहिले तँ छोराकी आमा भएकी छेस् भन्ने सुनेकी छु। सत्य त थाहा छैन। अब त चकचक गर्न छोडिसकिस् कि नाई?????  तँ त घरबारे भइस् बिर्सिस् कि याद छ ?? तर मैले भने बिर्सिन सकेकी छैन तेराे चुलबुले पनलाई। मलाई मन पर्ने गाईको  बिगौती जीवनभरिका लागि अमन बनाएर गइस् हैन? गाईको बिगौती भनेर बाख्राको दुधको बिगौती बनाएर खुवाउने!खुवाउन त खुवाइस् फेरि बाख्राको बिगौती चाहिँ भन्नु पर्ने कारण के थियो नि चुलबुली  ?? मैले गरेको वान्ता तैले नै सोर्नु पर्यो हैन! त्यति मात्रै नभएर मलाई दिन रात नभनि केयर गरिस्, साथीको साथ भरपुर निर्वाह गरिस्। मिठो पाठ सिकाइस् ! भन्छन् नि पृथ्वी गोलाकार छ , यदि हिड्दै जाँदा एउटै बाटोमा यात्रा गर्ने सौभाग्य मिलेमा तेरै  हातले बनाएको बिगौती, तेरै हातले खाएर  मेरो अमन भएको गाईको बिगौतीको स्वाद फिर्ता लिन मन छ! त्यती  त तेरी मुसीको ईच्छा पूरा गरिदे है चुलबुली !

चुलबुली तेरो र तँहरुकाे हर एक चकचक मलाई मन्जुर हुनेछन्, स्वीकार हुनेछन् , सर्वमान्य हुनेछन्, यदि ती दिनहरू फेरि फर्किएमा! तँहरुकाे साथ पाएमा।

एक खुल्ला आकाश सम्झना साथी !!!

रूबिना बिस्ट 

 झापा


                                                                                                               

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply