मन बेचैन छ एकनासले। “फुच्चु चिया सेलाइसक्यो“ भन्ने आमाको मधुर स्वरले झसङ्ग हुन्छु। मोबाईलको अलार्म बज्नु अघि आँखा खुल्ला भैसकेका छन्। यी आँखाहरु पनि अचेल त सपना देख्नकालागि बन्द भएका छन्। चियासँगै सपना पनि सेलाएका छन्।

कोरोना माहामारीले विश्व आक्रान्त भइरहेको बेला नेपालमा बन्दाबन्दी जारी रहेको (सायद)६६औं दिनमा यो डायरी लेख्दैछु । “सायद” यस मानेमा कि अचेल दिन गन्न पनि छोडिसकेको छु ।

मलाई चिया असाध्यै मन पर्ने । त्यसमा पनि कागती चिया। बन्दाबन्दी भन्दा अगाडीका दिनहरुमा मर्निङवाकको बहानामा साथीहरुसँग सखारै ३,४ कप चिया रित्तिसक्थ्यो । चियाको चुस्कीमा मिठास भर्थे सपनाका वाफहरुले। खाना पछि नियमित काम सकि कोठा फर्किदासम्म त दैनिक ६,७ कप चियासँग कयौं सपना पनि साटिसकेको हुन्थे । थप एक कप खाना खानु अघि पुनः इभिनिङ वाकको बहानामा ।

नेपालमा बन्दाबन्दी हुनुभन्दा ३ दिन अगाडि मात्र पनि म सिंहदरबार भित्रको एक चमेना गृहको एक टेबुलमा नेताहरुका समृद्धिका सपना बडो ध्यान दिएर सुनिरहेको थिएँ। उनिहरुसँगै म पनि पुगेको थिएँ, उनीहरुले चिया गफमा बनाएको समृद्धिको गाउँमा।

एक चिया पसल देखि अर्को चिया पसल, एक कपबाट २,३ कप ।सायदै घोराहीमा कुनै चिया पसलको टेबुल बाँकी छन् जहाँ मैले चियाको रित्तो कप नछोडेको हुँदाे हाे। तर अचेल गाउँमा छु, चिया खान जाउँ भन्ने पनि कोही छैन यहाँ। सहर गाउँ जहाँ भएपनि बन्दाबन्दीको नियम त पालना गर्नै प‍र्यो।

बन्दाबन्दीका सुरुवाती दिनहरु गाउँघरमा रबिपात स्याहार्न मै व्यस्त रहे। सडक सुनसान रहेपनि खेत र खलिह्यान भने व्यस्त नै देखिन्थे। किसानहरुले खेतमा अन्नको बिउ मात्र छरेका हुँदैनन्, अन्नसँगै सपना पनि छरेका हुन्छन्। सपना कम्तीमा बिउको सावाँ मात्र भएपनि अन्न फलाेस्। तर किसानका सपना अपबाद बाहेक कहिल्यै हराभरा हुन्न रहेछन्। बर्खामा पानी नभएर सुक्ने अनि हिउँदमा असिना पानीले झारिदिने । काका भन्दै हुनुहुन्थ्यो “कोरोना त पहिले रबिपातमा पो लागेछ, छरेको बिउ बराबर पनि फलेन।” काकाको मुरी फल्ने सपनाहरु पनि खलियानमा त्यसै सोत्तर भएका थिए।छोराको एसईई पछि राम्रो कलेजमा पढाउँछु भन्ने सपना पनि रबिपातसँगै सोतर भएछन्।

यसपालि बैशाखमा त कान्छी नातिनीको बिहे पो छ, मामाघरको नानी(हजुरआमा)को आफ्नो कान्छी नातिनीको बिहे हेर्ने ठूलो सपना। दाङ मै घरजम र ६ बच्चाबच्ची हुर्काएर राप्तीपारी(राप्ती सोनारी) सम्म दाङ छारा गरेर हिड्नु भएको नानी लगभग ७५ वर्ष कट्नु भएको होला। उहाँको यकिन जन्म मिति नै थिएन। न त नागरिकताको प्रमाणपत्र नै। एउटा कागजको सानो टुक्रा भएपछि नानीले एकलनारी भत्ता र बृद्ध भत्ता पाउने सुविधा थियो। बन्दाबन्दी पछि नानीलाई नागरिकता बनाउने र कान्छी नातिनीको बिहे हेर्ने ठूलो सपना। बैशाख सकियाे, बन्दाबन्दी अझ लम्बियो । तर नानीको उमेर र सपना भने लम्बिएन। जेष्ठ महिनाको सुरुवातीमै नानीले सपना देख्न नै बन्द गर्नु भयो। कस्तो दुर्भाग्य? सरकारी कागजी ढड्डामा आफू पनि नेपाली नागरिक हुँ भनेर लेखाउन नपाउँदै नानीका सपना पनि अस्पतालको पर्चासँगै जलेर खरानी भए ।

मेरा सामान्य दिनहरु प्राय औपचारिक कार्यक्रम र पत्रिकामा व्यस्त रहन्थे। कहिले यो गाउँ, कहिले त्यो गाउँ। चाडपर्व बाहेक कहिल्यै घरमा नबसेको म पहिलोपल्ट यति लामो समयसम्म घरमा छु, गाउँमै। बन्दाबन्दीका दिनहरु बिताउन निकै सकसपूर्ण हुँदो रहेछ। मन त जम्मै घोराही बजार तिरै हाम फाल्छ। चिया पसलका टेबुलहरु चहार्दै। तर बन्दाबन्दीले केही थुप्रै अवसर पनि दिएको छ। म पनि फिल्म हेर्ने, पुस्तक पढ्ने र केही लेख्ने कार्यमा आफ्नो समय खर्चिरहेको छु। बिहान बेलुकाको समय भैंसी र बाख्रा चराउने गोठाला भएको छु। लाग्छ यी पशुहरुले पनि आजकल मलाई चिन्न थालेका छन् । फोटोग्राफीमा म बढी साैखिन, त्यसैले खेतबारी, फूलबारीतिर केही बुट्यानमा फूल, पुतली, चराचुरुङ्गी देख्यो कि फोटो खिचिहाल्छु। खेतका आँलीहरु चिन्न थालेको छु। विभिन्न बुटन, फलफूल र चराचुरुङ्गीहरुका नाम कन्ठष्त भैसकेका छन् ।

जेष्ठ नागरिक हाम्रा जिउँदा इतिहास। उहाँहरुसँग उहाँका अनुभव सुन्ने, पुराना कुराको ज्ञान लिने र लोकलयमा धनी थारू समुदाय उहाँहरुलाई सजना, माँगर गुनगुनाउन लगाउँछु र रेकर्ड गर्छु। प्रविधिले दिएको सुविधा युट्युबको सहायताले ग्राफिक्स सिक्दैछुँ। साथै जापानमा विद्यावारिधी गर्दै आउनु भएको कनैलाल चौधरीको एउटा किताबमा सहसम्पादकको जिम्मेवारी पनि पूरा गर्दैछुँ।

हरेक वर्ष चैत्रको तेस्रो सातातिर हुने थारू साहित्यिक महोत्सवको यसपाली पाँचौ शृङ्खला बन्दाबन्दीका कारण स्थगित भयो। यही मौकामा अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा म अध्यक्ष रहेको संस्था ख्याल बगालको आयोजनामा प्रविधिको भरपुर सदुपयोग गरि तिनदिने अनलाइन साहित्यिक उत्सव सम्पन्न गर्याै । उत्सवको एउटा सेसनमा श्रमिकका विषयमा कुरा सुनिरहँदा मलाई घर पुग्ने सपना सजाएर राजमार्गमा पैदल सवार र ट्रकमा लुकेर यात्रा गरिरहेका सामाजिक सञ्जालमा देखिएका श्रमिकका बिदारक तस्विरहरुले निःशब्द बनायो। आफ्नो परिवारको कयौ थान सपनाहरु पूरा गर्न गाउँघर परिवार देखि टाढा आफ्नो सपनालाई मारेर सहरमा श्रम गरेका पाइलाहरु राजमार्गमा सयौँ किलोमिटरको म्याराथनमा थिए। अहिले ती पाइलाहरु घरमा बन्द रहेपनि परिवारको इच्छा चाहना पूरा गर्ने सपनाको म्याराथन जारी नै होला ।

भौतिक दुरी कायम गरिरहेका हामी यो समयमा भावनात्मक दुरीमा कति नजिक भएका छौं। केही त्यस्ता मनहरु जो धेरै पहिले टाढा थिए आजकल हालखबर सोध्न थालेका छन्। नयाँ सम्बन्धहरु निर्माण भएका छन्। अझ भनौं मित्रता, परिवार, आफन्तलाई विल्कुलै नयाँ तरिकाले नजिकबाट सम्झिने स्विकार्ने मौका यो बन्दाबन्दीले जुराएको छ ।

गर्मी दिनदिनै बढिरहेको छ। ओहो! आज त झन् दाङमा अत्यधिक गर्मी भनेर समाचार पढिरहेको थिएँ। धन्न यो समयमा गाउँघरको चिसो हावा पानीमा रमाउन पाइएको छ। आफ्नै करेसाबारीमा उत्पादन गरेको हरियो सागसब्जी खान पाइएको छ । यी दिनहरुमा शहरका सडकछेउमा बैजनी ज्याकराण्डा र गुलमोहोर मुस्कुराइ रहेको तस्बिर सामाजिक सञ्जालमा टन्नै भेट्छु । यी केही समय अगाडी मात्र ती फूलका रुख पनि सुख्खा थिए, विना पातका । तर विश्वास र आशा जरुर थियो होला फेरि फुल्ने र त अहिले यसरी फुलेका छन्। त्यसरी नै हामी सबैलाई आशा छ कि हामी ढिलो चाँडो एक दिन कोरोनालाई जित्ने छौँ । एकदिन पुनः आफ्नै सामान्य जीवनमा फर्किने छौँ । एक दिन हामी पुनः विना डरको मुस्कुराउने छौँ । र एकदिन घरमा बन्द भएका पाइलाहरु पुनः पहिलेको जस्तै सडकमा टङ्ग्रिने छन् ।

उता घोराहीको कोठाको ताल्चा बन्द भएको र यता घरको ढोकामा ताल्चा नलगाएको महिनौं भइसक्यो । चाबी कता छ भन्ने पनि ठेगान छैन । यता म आफ्नै घरमा रहेकाले घरबेटीले Live without Pay भन्ने वातावरण नभएपनि बन्दाबन्दी पछि पुनः घोराहीको कोठामा फर्किदा Welcome without Pay भनुन् भन्ने सपना म जस्ता कोठा छाडेर गाउँघर फर्किएका लाखौहरुले देखिरहेका होलान् ।

दैनिक कयौ कप चिया पिउने म अचेल बिहानको एक कप चिया पनि पूरा पिउन नपाउँदै सेलाइसकेको हुन्छ। सोच्छु बन्दाबन्दी नभएको भए मसँगै हामी मिल्ने ४ जनाको एउटा समूह यतिबेला म जस्तै कपको चियासँग कयौँ सपनाहरु चियाको बाफसँगै उडाउने थप एक थलो(क्याफे)को संचालनमा हुन्थ्यौँ होला । यति लेखिरहँदा पनि नजिकै रहेको चिया सेलाइ सकेको छ। म सोच्दैछु लेखक, निर्देशक, इन्जिनियर र बैकंरको समिश्रण रहेको मिक्स चिया कुन फ्लेभरमा हुन्थ्यो होला ? खैर बन्दाबन्दीले यसलाई सपना मै सिमित गरिदिएको छ पूरा हुने नहुने बन्दाबन्दी पछिका दिनमा थाहा होला । या त यो सपना सेलाएर अर्को सपना पनि चियाको कपमा घोलिन आउँला। तर साँच्चै नै यी सपनाहरु पनि कति निष्ठुर हुँदा रहेछन् एउटा पूरा नहुँदै बदलिरहन्छन् । र पनि हजार सपनाहरुको माया लागेर आउँछ ।

हजार सपनाहरुको माया लागेर आउँछ…….

सवि थारू

दाङ

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply