जिन्दगीको गतिमा कतै छुटेको साथ हौ तिमी

हराएर पनि मन भित्र दबेको याद हौ तिमी

आज शुक्रबार हामी गाउँ जाने दिन। हप्ता भरिको मेरो प्रिय दिन। मेरो गाउँ चौधरिया अहिले हामी बस्ने हवल्दारपुर भन्दा ठिक ४ कि .मि टाढा। बाबाले हाम्रो पढाइ सजिलो होस् भनेर यहाँ ल्याउनुभएको पनि धेरै भयो। तर मलाई मेरो आधा परिवार बस्ने गाउँ असाध्यै मन पर्छ। मेराे गाउँकाे नाम “चौधरिया” किनभने वरिपरि बाक्लो चौधरी बस्ती छ। अनि बिचमा थोरै पहाडी बस्ती। फरक फरक जीवनशैलीमा मिलेर बसेको गाउँ। त्यो गाउँमा परिवार र साथी बाहेक मेरो अरु केही प्रिय थियो भने त्यो हो घर अगाडि बरन्डामा राखिएको चारपाई ।

निकै जादु थियो त्यो चारपाईमा। म राति सुत्दा जे सोच्थे त्यो पूरा हुन्थ्यो। चाहे त्यो गोठाला जाँदा चाउचाउ लैजाने होस्, मासु खाने होस्, तिहारमा भैलो खेल्ने होस् या अरु एक दिन हवल्दारपुर नजाने होस्। आजको लो बेडमा त्यस्तो जादु छैन । यहाँ निदाउँदा देखेका सपना बिपना हुदैनन् ।

याे लकडाउनका बेला मैले मेराे चारपाई झनै धेरै मिस गरिरहेछु।

आज पनि दिनहुँ झैँ गाउँ जाने बितिकै म र बहिनी चारपाईमा लम्पसार परेर भनिम् ” फुपु, हजुरआमा, हजुरबा हामी आइम्” सबै फुरुङ्ग। अब त्यो चारपाईको एका पट्टि सल बाँधेर पिङ खेल्न थाले म। त्यो छोटाे पिङमा जिन्दगीको लामो सपना बुन्दै थे सायद। बहिनी कता गइ खोइ! सायद साथी भेट्न गइ। एकछिन पछि मेरा एक हुल साथीलाई चारपाईमा बस्न लगाउँदै म भन्छु “भोलि गोठालो जाँदा मलाई पनि बोलाउ है।” भोलि गोठालोमा कस्ले के लग्ने भन्ने योजना बन्छ।

आज त मासु पाकेको छ। नपाकोस् पनि किन! हामी जो आएका छौं । तर त्यो मासु भन्दा प्रिय थियो त्याे साँझ । चारपाईमा पल्टिदै फराकिलो आकाश हेर्ने साँझ। त्यो जस्तै अरु ३ वटा चारपाई थिए , जो हाम्रो घरको आँगनमा सजिएर मेरो परिवारको भार उठाउँथे। साँझ चारपाईमा पल्टिदै फुपुको हाते पंखाको हावासँगै खुला आकाश हेरेर टोलाउदै भोलिको रमाइलो कल्पना गर्दै निदाउँथे। यसो त आज याे लकडाउनकाे बेलामा पनि म छतमा पल्टिएर त्यही आकश हेर्छु । तर त्यो पहिला जस्तो फराकिलो लाग्दैन। सायद म त्यो चारपाईलाई धेरै मिस गर्छु या भनौं त्यो समयलाई मिस गर्छु जहाँ सबै फराकिला लाग्थे, कुनै बन्धन थिएन। अझै भनौ भने त त्यो चारपाई माथि पल्टिएको ” म ” एकदम मिस गर्छु ।

बहिनी सानी भएकाले घरमै बसि।गोठालोमा मेरो चाउचाउ साथीहरुको पकोडि, आँप, तरकारी,रोटी, बिस्कुट के के हो के के! सबैले आफ्नो आफ्नो पोको खोलेसी मुखै रसाउने। थारु काकाको खुट्टे धाराको मिठो पानी खाएसँगै तिनकै आँप बगैंचाको झरेको आँप टिप्न नि भ्याइन्थ्यो। दिनभरि बुडि कबड्डि , आँट काँट कुन काट , बित्ता खेलेर थाकेको शरीर घर आउन साथ पुङ्लुङ चारपाईमा पल्टायाे। एक छिन पछि चोरेको आँप साथीहरु सित चारपाईमा बसेर बाढ्दै गर्दा तिहारमा भैलो गाउँबाटै खेल्ने योजना बन्यो। अनि त्यसकाे साक्षी बन्यो त्यही प्याराे चारपाई। यसो त मेरो मन भित्रका तमाम सपना, योजना, कल्पना सुनेको छ त्यसले। अब आँखाभरि आँसु लिदै हामी दुई बहिनी हवल्दारपुर फर्किने समय आउँछ। अर्को शुक्रबारको कल्पनामा हामी त्यहाँबाट हिड्छौ।

आज लगभग  १० बर्ष  भयो,सबै परिवार हवलदारपुर आएको। लगभग ४ बर्ष पहिले म गाउँ घुम्न जाँदा घर हेर्न गएको थिए। घर किन्ने आन्टीले बस नानी भनिन्। म भने आँगनमा चारपाईको डोरी फेरेको हेर्दै थिए। हेर्दा लाग्थ्यो हावापानी हुरीले चारपाईको चमक छिनेर लगेछ , ठिक त्यसरी जसरी विवशताकाे हुरीले जिन्दगीको चमक छिनेर लान्छ। आज त्यो पुरानो बाबियाेकाे डोरी रहेनछ। रंगीन प्लास्टिकको डोरीले त्यसलाई कसिदै थियो। कमजाेर र खोक्रो शरीर माथि कसैले रंगिन कपडा सजाए जस्तो । हुन त काठका खुट्टा र डारि त्यही पुरानै रहेछन् । तर मलाई याे चारपाई मेराे त्यो पुरानो चारपाई जस्ताे लागेन। त्यो त सायद कतै हराइ सक्यो।

म उसलाई हेरेर प्रश्न गर्न खोज्दै थिए ” तिमी त प्रत्येक चोटि फेरिएको डोरीले हो या समयको गतिले हो, हराएछौ । अब बाँचेको के तिम्रो बिम्ब मात्रै हो??” 

यत्तिकैमा उसले पनि प्रतिप्रश्न गरे जस्तो लाग्यो “कतै तिमी पनि प्रत्येक चोटि फेरिएको समयसँगै हराएकि त छैनौं ?”

Join the Conversation

1 Comment

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply