कोरोना आउनु, लकडाउन हुनु राम्रो कुरा त हुँदै होइन। तर यो नराम्रो भित्र पनि सकारात्मक भएर खोज्यौँ भने धेरै राम्रा कुराहरु पाउँछौँ हामीले। त्यो हो गाउँमा देखिएका फरकपना र केही नयाँ कुराहरु। त्यही कुराहरु हेर्ने कथा मार्फत तपाईंसामु पुर्याउनु मेरो प्रयास हो ।

केही रहरले र केही कहरले गाउँ छोडेर सहर पसेकाहरु लकडाउन अघि नै गाउँ फर्किए। कोही लकडाउनमै रातारात गाउँ फर्किए। गाउँ फर्किन कि त दशैँ तिहार नै आउनु पर्थ्यो, कि त कुनै विवाह,मेला र उत्सव नै हुनुपर्थ्यो। तर यो बेला न त दशैं तिहार नै छ, न त कुनै विवाह, मेला र उत्सव नै। तर अहिले कारणबस गाउँ आउन नपाएका बाहेक अधिकांश मान्छेहरु यो बेला गाउँमै छ्न्। आफ्नो जन्मथलोमा छन्। आफ्नो गाउँ सुगममा हुनेहरु त गाउँ फर्किए नै। ‘मेरो गाउँ दुर्गममा छ। मेरो ठाउँ दुर्गममा छ। त्यो गाउँमा त्यो ठाउँमा जान नपरोस्। मरे नि जान्न, भन्नेहरु पनि यो बेला गाउँमै भेटिएका छन्।’

अघिल्ला वर्षहरुमा नुन खाएको कुखुराे झैँ देखिने गाउँ, यो बेला दुलाहा भेट्न आतुर दुलहीझैँ देखिन्छ। छोराछोरी, बुहारी, नातिनातीना र आफन्तको आगमनले चाउरी परेका ती वृद्द अनुहारहरुमा खुसीका सयपत्री, गोदावरी र मखमली ढकमक्क फुलेको प्रष्ट देख्न सकिन्छ। वृद्द शरीरहरुले केही दिन, केही महिनालाई नै सही भातभान्सा,पानीपँधेरो र मेलापातबाट आराम पाएका छ्न्। आफ्नो छातीमा भारी बोक्न नपाएर टोलाइरहने चौतारी फुर्तिलो देखिन्छ, यो बेला। भर्खरै पुराना लुगा फालेर नयाँ लुगा हालेका वर, पिपल, साल, चिलाउने र अन्य थुप्रै बोटबिरुवाहरुको फूर्ति पनि कम छैन। तिनै वर, पिपल, साल, चिलाउने र अन्य थुप्रै वोटबिरुवाको डाली-डालीमा बसेर चिरबिर-चिरबिर चिर्बिराउने जुरेली, कोइली, सारौँ र अन्य थुप्रै चराचुरुङ्गीको फूर्ति त झनैँ बेग्लै छ। प्रेममा मग्न ढुकुर र परेवाको जोडी देख्नेलाई त आफ्नो प्रेमको रूमानी संसारमा पुर्याइदिन्छ। गाउँमा सबै कुरा यहाँ भनेर, लेखेर साध्य नै छैन। त्यो त देख्न,भोग्न र अनुभव गर्न आउनुपर्छ गाउँ।

कंक्रीटजस्तै मन भएका कंक्रीटे मान्छेहरु बस्ने ‘सहर मरेको बेला’ गाउँ जीवित देखिन्छ। गाउँका प्राय प्रत्येक घरहरु जीवित देखिन्छन्। केटाकेटीहरु उन्मुक्त छ्न्। बोक्नु परेको छैन,आफूभन्दा ठूलो किताबको भारी। घोक्नु परेको छैन, जिन्दगीको गणितमा खासै लागू नहुने बिजगणित र ज्यामितिका अप्ठ्यारा अप्ठ्यारा सुत्रहरु। न्युटनका सिद्धान्तहरु। केटाकेटीहरु स्वतन्त्र छ्न् यो बेला। माटोसँग खेलिरहेका छ्न्। ढुङ्गासँग कुरा गरिरहेका छ्न्। खेत र बारीका बाँझा गह्राका छातीमा निस्फिक्री उफ्रिरहेका छ्न्। युवाहरुमा थोरै भए पनि जिम्मेवारी बोध भएको छ। घरयासी कामहरु गरिरहेका भेटिन्छ्न्। भूकम्पपछि बनेका घरहरुका कुलेसा खार्दैछन् कोही। चिटिक्क पारेर रंगरोगन गर्दै छ्न् कोही। खेतबारीमा व्यस्त देखिन्छ्न् कोही । यो बेला मस्त छ गाउँ। यो बेला व्यस्त छ गाउँ।

कुनै पनि कुरा चीर स्थायी हुँदैन। कोरोना पनि चीर स्थायी छैन। यो केही दिन या केही महिनाको पाहुना हो। यो पाहुना एक दिन न एक दिन त जान्छ, जान्छ। तर कोरोना गएसँगै हामी गाउँबाट नजाऔँ। गाउँबाट नजाउँ नै भन्ने मेरो आसय पनि होइन। जानुपर्छ, पढाइका लागि। जानुपर्छ, नोकरीकालागि। जानुपर्छ, व्यापार-व्यवसायका लागि। म यति मात्र भन्छु कि- दु:खमा गाउँ सम्झिने हामी, सुखमा गाउँ नबिर्सौं। दु:खमा जन्मथलो सम्झिने हामी, सुखमा जन्मथलो नबिर्सौं। गाउँ आऔँ, गाउँ सम्झौँ। जन्मथलो आऔँ, जन्मथलो सम्झौँ। गाउँ हाम्रो, गाउँका हामी।

रविन्द्र बुढाथोकी

रामेछाप

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply