यो शून्य समयमा, अलग्गै मीठो सम्झना र माया ! धेरै दिनहरू बितेछन्, तिमीसँग कुराकानी नगरी ।
तिमीलाई भेट्ने मनसाय बुन्दाबुन्दै, एक हप्ते लक डाउन घोषणा गर्यो सरकारले । अनि तिमी तिम्रै स्थानमा लक भयाै । म मेरै स्थानमा लक भएँ ।
डियर वैनी!
म यात्राबाट केही दिनअघि मात्र फर्किएकी थिएँ । यसर्थ म यात्राको धङ्धङीमै थिएँ । त्यसैले घरमै बस्ने मन थियो । मलाई एकान्त र शान्ति चाहिएको थियो । कोठाको ढोका थुनेर थकाई मेटाउन मन थियो । कति रात निद्रा कचल्टिएका आँखाहरूलाई विश्राम दिई निदाउन मन थियो । ठीक यतिबेलै घर बस्ने परिस्थिति वा भनौं अवसर मिल्यो । तर मैले सोचेजस्तो शान्त बस्ने र मस्त निदाउने वातावरण थिएन । ती कता गायब भएछन् ।
लकडाउनको सुरुवाती दिन तिर मेरा एक कवि मित्रले- “यो लकडाउनमा के- के गर्नु हुँदैछ ?” भनी मेसेन्जरमा सोध्नु भयो ! मैले जवाफमा भने- “सुनाउनै पर्ने त त्यस्तो क्यै गरिनँ ।” अनि उहाँले कथा लेख्न सुझाउनु भयो । तर मैले सुनाउनै र लेख्नै पर्ने त्यस्ता के घटनाहरू छन् र ! म सोचिबस्छु ।
डियर वैनी!
बितेका हप्तादिनको लकडाउन डायरी विशेष नभएपनि तिमीलाई भने सुनाउँछु । सुन ल |
“इनुमा जी नउठ्ने ? आठ बज्न लाग्यो त ।” यसरी कानैमा अलार्म गुन्जियो। अरू दिनभन्दा फरक आवाज र फरक शब्दमा ।
“ओ कान्छुरी उठ् । ओ साथी उठ् पाँच बज्यो ।” सधैं त आमाको आवाज गुञ्जिन्थ्यो- अलार्म बनेर । आज सुनिएन ।
उठेर हेरें नाना पो रैछिन् ।
लकडाउनको पहिलो दिन । बिदा भएर होला, आमाले मलाई नउठाई आफ्नो सुरमा कतै लाग्नु भएछ । मोबाइल तानेर हेरें । स्क्रिनमा आठ/पन्ध्रमा देखियो । सोचें- “कस्तो अल्छे ज्यान भएछ ।”
बाहिर निस्केर हेरें । टल्टलापुर घाम । आँखा तिरमिरायो ।
आँगनमा राखिदिएको चारो भङ्गेरा र परेवाले टिप्दै रैछ । तिनीहरूका लागि आमा र म पालैपालो आँगनमा चारो राखिदिन्छाैँ । हेर्दाहेर्दै आफ्नो बच्चाको लागि खुसी भएर आमा परेवाले चुच्चोमा चारो च्यापी पल्लो घर उडी । जहाँ तिनले आफ्ना बचेरा हुर्काउदै रैछिन् ।
घर अगाडि बाटोमा मर्निङ वाक गर्ने कोहि देखिएनन् । अघिल्लो दिनसम्म रत्नपार्क जाने माइक्रो बस चर्को हर्न बजाउदै गेटैमा आईपुग्थ्यो । त्यो पनि आएन । सडक पारी पसलहरू बन्द देखिए । छेउनिरको पार्लर पनि बन्द थियो । नजिकै घर बनाउने मजदुरहरू थिए । तिनीहरू पनि देखिएनन् । एकै दिनमा आश्चर्य गरि राजधानीको वातावरण फेरिएको थियो ।
वातावरण स्तब्ध छ | शान्त छ |
घरैबाट सुनिने मान्छेका आवाजहरू र गाडीका वितण्ड आवाजहरू सबैसबै ठप्प छन् । ती सुनिदैनन् । टोल थर्काउदै कुद्ने दाइको त्यो मोटरबाइक पनि गेटभित्रै लक छ । दाइ पनि कोठाभित्रै लकमा परेका छन् ।
यस्तो लाग्छ, बल्ल हाम्रो टोलले स्वास्थ श्वास फेर्न पायो ।आफ्नै श्वासको गति चाल पायो ।
बरू अन्य सुन्दर आवाजहरू सुनिन थालेको छ । जस्तो कि कागको आवाज । भङ्गेराको आवाज । परेवाको आवाज । रुप्पीको आवाज। जुरेलीको आवाज । यस्तै ।
घर छेउको रूख र घर मुनिको जङ्गलबाट आउने
यी आवाजहरूले घरि न घरि गाउँ पुर्याउछ । म एकछिनै भएपनि गाउँ पुग्छु । र नोस्टालजिक बन्छु ।
आहा !! कस्तो आनन्द । कति मीठो ।
लाग्छ- “यी आवाजहरूलाई कृत्रिमताले दबाएको रैछ । प्रविधिको दुरुपयोगले किचेको रैछ |
झ्यालबाट नियाल्छु- हावाको ससानो झोक्काले रुखका हाँगा र पात हल्लाउछ । यसो फूलबारी हेर्छु- फूलका कोपिलाहरू लस्करै फक्रदैछन् ।
रोपिएका प्याज, लसुन, साग र धनिया गोडमेल गरें ।
कुनै फूलका बिरुवालाई गमलामा र कुनैलाई जमिनमा सार्छु ।
डियर वैनी!
तिमीलाई मेरो दैनिकी नसुनाई रहन सकिन । त्यसैले अहिले सुनाउने मुडमा छु । आशा छ, तिमीले सुन्दैछाै ।
दोस्रो दिन ।
यो निर्मम समयमा समाहित त हुनै छ ।
पहिलैबाट आमाको लुङ्गी र साडी लगाउने रहर थियो । कत्ति अरूको फोटो खिच्ने हगि ? आफ्नै फोटो खिच्ने मुड चल्यो ।
म आमाको लुङ्गी लगाएर फोटो खिच्न तयार भएँ । नाना पनि लुङ्गी लगाएर बाहिर निस्किइन् । हामी दुवै आ-आफ्नो शैलीमा फोटो सुट गर्न थाल्यौं ।
“दुवैलाई लुङ्गीले सुहाउँदो रैछ ।” घरको टपमा बस्ने दाइले भन्नुभयो । र माथिबाटै हाम्रो फोटो खिच्नु भयो । दाइका छोराछोरी र श्रीमती लक डाउन अगाडी नै गाउँ गइसकेका थिए । दाइ जाने तरखर गर्दागर्दै लक डाउन भैगो । दाइ यतै लक भए ।
बीचतलामा बस्नेहरू पनि गाउँ गए । एकजना काका गाउँ जाने तरखर गर्दागर्दै लक डाउन भयो । उहाँ आफ्नो परिवारसंग बिछोडिनु भयो ।
अहिले मेरो परिवार र घरबेटीको परिवार मात्र एकसाथ छाैँ । भौतिक भेटघाट हुन्न । तल र माथि हेराहेर गर्छौँ । बोल्छाैँ । एकआपसमा हालखबर बुझ्छौँ । दुबै परिवारले बनाएको खानेकुराहरू होशियारपूर्वक बाडीचुडी गर्छौँ ।
यस बिचमा टिकटक, इन्स्टा, ट्वीटर र धेरै समय फेसबुकमा बित्यो ।
युट्युब र अनलाइन भने हेर्न मन लागेन ।
धेरैले फोटो सहित क्याप्सन लेखे । त्यसमाथि कमेन्टको थुप्रो । धेरैले मुभि रिकमेन्ड गरे । कसैले किताब रिकमेन्ड गरे । एक- दुईदिन फेसबुकमा हालिएका पुराना फोटोहरू माथी रमाइला कमेन्ट गर्नेको होडबाजी नै चल्यो । यसो गर्दा धेरैले आफ्ना बितेका ती दिनहरू सम्झिए होलान् |
मेरो पनि पूराना फोटो माथीको ताजा कमेन्टहरू पढेर मै हासें । बितेका दिनहरूले फेरि बल्झायो ।
यसरी सामाजिक सञ्जाल मार्फत यो शून्य समयमा भाैतिक दुरी कायम भएपनी साथीभाइसंग संगै हुने मेसो मिल्यो । यस बिचमा जसरी पनि खुसि बन्ने, अनि रमाउने तरिका खोजिरहेकी थिएँ, ती उपलब्ध भएजस्तो लाग्छ |
र आफूलाई सामाजिक सन्जालमा सामेल गराएर कठिन परिस्थिति भुलें जस्तो लाग्छ । तर साथीभाइ र आफ्ना आफन्तहरूलाई फोनकल गरी कुराकानी गर्ने कार्य चै गरिन । किनकि म आफैंसंग रम्न चाहान्थें ।
वातावरण नै निराशामय छ । मनमा निराशा उठिरहन्छ । तर मलाई निराश हुनु छैन । र अरूलाई पनि निराश बनाउन मन छैन ।
डियर वैनी!
तिमीलाई मेरो दैनिकी सुनाएर निराश बनाउन चाहेको हैन ! सिर्फ म मैले बाँचेको अहिलेको समय सुनाउन चाहान्छु ।
आफ्नो देशमा वा भनाै बिश्वभर कोरोना संक्रमित व्याक्ती कति पुगे ? मृत्यु हुनेको संख्या कति पुगे ? भनेर यसबारे म कुरा गर्न चाहान्न ।
म यो घटना नै असत्य होस् भन्ने चाहान्छु ।
लक डाउन हुनु अगाडि सबैले कोरोना भाइरसको चर्चा गरिरहदा केही साथीलाई मैले भनेकी थिएँ- “यो कोरोना नाम सुन्दा- सुन्दा मलाई त यो भाइरस नभएर एउटी सुन्दर युवतीको नाम हो जस्तो लाग्छ ।” मेरो कुराले प्रायः साथीहरू अट्टहास हाँसे । हा..हा..हा ।
मलाई अझै पनि लाग्छ, यो भाइसरले विश्वलाई आतंक नबनाओस् । संक्रमण नफैलियोस् । र वैज्ञानिकले पत्ता लगाएको केवल एक सुन्दर वस्तु होस् । अथवा सुन्दर युवतीको नामै होस् ।
“भोग्दै नभोगेको कुरा यदि अन्य देश जसरी हाम्रो देशले भोग्नु परे ! संक्रमित भएर मृत्युसंग लड्नु परे !” अहो ! यस्तो त म सोच्नै सक्दिन ।
यता लक डाउन पछि मजदुरहरूले भोग्नु परेको दर्दनाक पीडा छ । उता सीमामा आफ्नो घर आउन नपाएर अलपत्र परेका आफ्नै परदेशी दाजुभाइहरू छन् । सुन्न सकिन्न यस्ता यथार्थहरू ।
डियर वैनी!
अब म घर परिवारको बारे सुनाउछु ल !
लक डाउनमा परिवारजनको समय एकै भएको छ । जस्तो कि खाना एकसाथ खाने, संगै बसेर गफ गर्ने, अनि टिभीमा सबैले एकै कार्यक्रम हेर्ने ।
नत्र गएका दिनहरूमा हामी सबैको आआफ्नै खाना र खाजा खाने समय हुन्थ्यो । भनौं आफ्नो समय अनुकूल खाई आ-आफ्नो कामतिर लागिन्थ्यो ।
अहिले कोठाको बसाइ भएपनि कोठाजस्तो महसुस भएन । आमा-बाउ साथैमा भएपछि कोठा पनि घर जस्तो लाग्दो रहेछ । परदेशबाट परिवारका सदस्य घर आएका छन् । सबैजना एक ठाउँ हुन पाउनु गजबको संयोग हो ।
एक्लै खाना सबैलाई पुगेको छ । जस्तो कि भाइले टिफिन खाजामा बोक्ने एउटा स्याउलाई भाग लाएर पिस खान्छाैँ ।मैले झोलामा बोकेर हिड्ने गरेको त्यो कोकोनट र डाइजेस्टिक बिस्कुट अहिले घरमा सबैले चियामा चोबलिरहेको हुन्छाैँ ।
आमाले मेरो खाने र बस्ने बानी फेरि मजाले नियाल्नु भएछ । जस्तो कि आमालाई मैले खाना खाने र मेरो नङ टोक्ने बानी पट्टकै मन पर्दैन । म चुपचाप बसिरहेथें, आमाले प्याट्ट हातमा पिट्नु भएछ । म झसङ्ग झस्किएँ । “नङ नटोक भनेको हैन ।”- आमाले कराउनु भयो । अहो ! म फेरि नङ टोक्दै रहेछु ।
म पनि आमालाई “चुरोट नखानु” भन्छु । आमा मलाई “नङ नटोक” भन्नू हुन्छ । र पनि आमा चुरोट खाइरहनु हुन्छ । म पनि नङ टोकिबस्दो रैछु । बेलुका आमा खुब युट्युब हेर्नु हुन्छ । म “ढल्कँदो उमेरमा धेरै अनिदो बस्न हुदैन” भन्दै आमालाई समयमा सुत्न सुझाउछु । आमा चै मलाई पढ्न सुझाउनुहुन्छ । हामी एक अर्कालाई अटेर गर्छौं ।
आमा छिनभर चुपचाप बस्न नसक्ने । त्यसैले आमाले बनाएको किनिमा र धुले अचार बजारसम्म पुग्छ । अब बजार बन्द भएपछि पुग्ने कुरा पनि भएन । अचार र किनिमा बनाउने काम पनि बन्द । अनि त आमा धागोका अनेक रङलाई मिल्दोजुल्दो जोडी बनाएर कुरुसमा आफ्नो सीप खिप्न थाल्नु हुन्छ । नानाले धागोका लाछी डल्याउन सहयोग गर्नु हुन्छ । म पनि कुरुस चलाउन सिक्दै थिए, आमाले भन्नुभयो- “तँ पढ, तेरो यो काम हैन ।” तर अब मलाई कुरुस चलाउन आईसकेको छ। “आफूले जानेको सीप छोरीहरूलाई सिकाउनु छैन, उल्टै नगर रे !” अनि म कर्किएँ ।
“म नपढेर दु:ख पाए, म जस्तै दु:ख पाउलास्।” यति भन्दै आमाले कुरुस आफ्नो हात पारिसक्नु हुन्छ । आमाको अनुहार निराश देखिन्छ ।
अब आमाको दु:ख कोट्याउन तिर नजाम ।
यत्ति हो, छोराछोरी सकेसम्म पढोस् र त्यहि अनुसार काम गरोस् भन्ने आमाको चाहाना छ ।
डियर वैनी!
तिमी पनि त तिम्रो परिवारको साथमा यस्तै केही गर्दै होउला । यदि एक्लै छाै भने पनि पक्कै परिवार सम्झिरहेछाै होला । आमा सम्झिरहेछाै होला ।
पाचाैँ दिन ।
जिरे (भाइ) पल्लो कोठामा टिकटक बनाइरहन्छ । म वल्लो कोठामा फोटो खिच्न अनेक पोज गरिरहन्छु ।
जिरे- “मेरो टिकटकमा किन लाइक नगरेको ?” भन्दै म छेउ आइपुग्छ । जवाफमा म भन्छु- “मेरो फोटोमा किन लाइक गरिनस् त ?”
जिरे भन्छ- “लाै लाै हाम्रो कान्छीको नक्कल ।”
म भन्छु- “झन तेरो चटक नि !” हामी मुखामुख कमेन्ट गर्छाैँ ।
साँझ, कोठामा आएर नाना भन्छिन्- “लु तिमीहरू नाच त ।” अनि हाम्रो नाच सुरु हुन्छ । “लाै कान्छुरी- कान्छुरेको रमित हेरेर ठिक्क भोइने रैछ ।”- आमा हाँस्दै हामी छेउ आउनु हुन्छ । नाना हाँसोले मुर्छा पर्दै भिडियो बनाउदै हुन्छिन् । बाउले ढोकाबाट चिहाएर मुस्कुराएको देख्छु ।
बाउ सुगर र उच्च रक्तचापको बिरामी । धेरै वर्षदेखि औषधि सेवन गरिरहनु भएको छ । बाउलाई धेरै बोल्न मन लाग्दैन । प्रायः जसो शान्त बस्नुहुन्छ ।
अँ त म नाचको कुरा गर्दै थिएँ । मोबाइलमा हाम्रो नाच देखेर हामी आफै हाँस्यौं । भो, भिडियो चै देखाउदिन ल ।
डियर वैनी!
तिमीलाई मेरो लक डायन डायरी सुनिरहँदा दिक्क लाग्यो होला है ?
तर मेरै लागि भए पनि तिमी दिक्दार बन्नेछैनौ । मलाई पढ्नेछाै । बिश्वास छ ।
साताैँ दिन ।
सरकारले एक हप्ता तोकेको लक डाउन सकियो । र पून: अर्को एक हप्ता लक डाउन सुरु भयो। फेरि घरमै बसिने परियो । हतारोमा निस्किहाल्नै पर्ने पनि त छैन ।
हप्तादिनभर तालिका बनिसकेको थियो । पालै-पालो खाना बनाउने । पालै-पालो खाजा बनाउने । पालै-पालो घर सरसफाई गर्ने । अनि संगसंगै खाने । संगै बस्ने र राम्रोसंग हात धुने मूख्य कार्य बन्यो । म घरि-घरि आमा-बाउलाई राम्रोसंग हात धुन सम्झाईरहन्छु । बाहिर नजान होसियारी गर्छु ।
यसो सोच्ने हो भने, हात धुनु पनि काम रहेछ । सरसफाई गर्नु काम रहेछ । पकाउनु पनि काम रहेछ । खुवाउनु पनि काम रहेछ । खानु पनि काम रहेछ । दिनु पनि काम रहेछ । सँगै बस्नु पनि काम रहेछ । पढ्नु पनि काम रहेछ । टिभी हेर्नू पनि काम रहेछ । नाच्नु पनि काम रहेछ । हसाउन पनि काम रहेछ । खुसि बनाउन पनि काम रहेछ । यतिबेला मलाई घर र परिवारलाई हेरेर यस्तै धेरै काम गरिएछ भन्ने लागिरहेको छ ।
आज, राखिदिएको चारो खान परेवा आएन । पल्लो घरमा झोक्राएर बसिरहेको छ । “कागले, बच्चा लगिदिएछ ।” आमाले भन्नू भयो । अहो, यो परिस्थितिमा कस्तो बिडम्बना ।
परेवा त बच्चा गुमाएको शोकमा पो रहेछ । जस्तो पृथ्वी पनि आफ्नो प्राणी गुमाएको शोकमा छ । अझ अरु गुमाइएला भन्ने त्रासमा छ । कस्तो दुखद संयोग ।
माइला मामाको फोन आयो । निजी गाडी र मोटरबाइकलाई लामो यात्राको लागि सरकारले पासआउट दिने भएछ । मामा माइजूसँगै जिरे पनि गाउँ जान तयार भयो । मलाई पनि गाउँ भन्ने बित्तिकै जान मन लाग्यो । तर आमा र बाउलाई छोड्नु मन भएन । परिवारै जान पाए पो रमाइलो, हगि ! यस्तै बिचार आयो ।
फेसबुकमा किताब पढ्ने र मुभि हेर्नेको हल्लाले मैले पनि हप्तादिन भरमा पढ्दै गरेको किताब युग पाठककाे ‘माङ्गेना'(नेपाल मन्थन) पढिसकें ।
आमोद दाइको रिकमेन्डमा ‘पारासाइड’ मुभि र ‘चिल्ड्रेन अफ हेवन’ हेरें । पढिएको किताब र हेरिएको मुभि कस्तो थियो भनेर टिप्पणी नगरौं । यसबारे कुरा गर्न उपयुक्त समय पक्कै छ ।
हेर्नेकथाले बनाएको कोरोना भाइरस सम्बन्धी सचेतनामूलक सन्देश भिडियोमा केहि काम गरें ।
चोकतिर के कसो छ भनेर निस्कन मन लाग्छ । चोकको चटपटे र पानीपुरी बेच्ने नाना सम्झिन्छु । पानीपुरीको धङधङी लाग्छ । तर यतिबेला चोक शान्त छ । चटपटे र पानीपुरीवाली नाना पनि आफ्नै कोठामा लक छिन् ।
डियर वैनी!
हप्तादिनमा जम्मा दुई पटक छतमा पसेर नजर डुलाएँ । जताततै बाक्लो घर देखिन्छ । पारि चन्द्रागिरी डाँडा उभिएको छ । त्यसको ठीक उल्टो उति नखुलेका हिमालहरू देखिन्छन् ।
दु:खको अनेक रङ बोकेर कुनै जहाज परदेश गएको देखिएन । खुसिको सफेद रङ बोकेर कुनै जहाज स्वदेश आएको थिएन ।
आकाश सिर्फ चरा र बादलमय भएको छ ।
यतिबेला धर्तीमा आँखाले हेर्नु पर्ने कुनै रमाइला दृश्य छैन । धर्ती मास्कमय भएको छ । धर्ती शून्य भएको छ । घरहरू मात्रै ठिङ्ग उभिएका छन् ।
आज साँझ मात्रै आँखाले खुला आकाश हेर्यो । एउटा चन्द्रमा र सात/आठ वटा ताराहरू चम्किरहेको देखें । यतिबेला आकाश सिर्फ चन्द्रमा र ताराको भएको छ ।
अझ्झ निकैबेर पर्खिएको भए थुप्रै ताराहरू देखिने थिए ।
हिमाल छर्लङ्गै देख्नुछ । स्वदेश फर्किएका परदेशीको हसिलो मुहार हेर्नु छ । त्यो भन्दा अघि हामीले यो परिस्थितिसंग लड्नु छ । हामीले जित्नु नै छ । र जित्ने नै छौं।
साना आँखा र मस्तिष्कले युद्ध देखेर जितेको हामी ।
हाम्रा पुर्खाबाट नब्बे सालको भुकम्पको कहानी सुन्दै हुर्किएको हामी ।
नभन्दै अरसठ्ठी र बहत्तर सालको महा-भूकम्प र थुप्रै पराकम्पन भोगेर बाचेको हामी ।
डियर वैनी!
अहिले हामी कोविड-१९ सँग लड्दैछाैँ ।
यो लडाई जितेर बाच्यौं भने कुनै साल संवतमा आउदो पुस्तालाई आजको भोगाइ र भोलिको कहानी सुनाइरहेका हुनेछाैँ ।
इनुमा
बुइपा, खाेटाङ
यतिबेला: नखिपाेट ललितपुर
मिति: 2076 चैत 17 सोमबार 30 मार्च 2020
इनुमा राई
इनुमा पूर्व हेर्ने कथाकर्मी पनि हुन् ।