बर्फिलो बिहानी । यो सुदूर गाउँ शान्त छ । मोटरगाडीका आवाज सुनिँदैनन् । नदी बगेको, हावा चलेको र चराचुरुङ्गी चिरबिर गरेको मात्र सुनिन्छन् ।
सल्लाका सुरिला बोटहरु जाडोले कठ्याङ्ग्रिएका छन् । ठाडा खोलामा पानी हैन बरफ नै बगेको भान हुन्छ ।
पारिलो घामले चियाउँछ । ध्वजा पताकाहरु नाच्न थाल्छन् ।
हिमालतिर जाने तयारी सुरु भइसक्यो । कोही बिहानै बाटो लागिसके, कोही घोडामा रासन लाद्दै छन् । ङिमा दिदीको घरमा ढिँडो पाक्दैछ ।
चोत्र गाउँमा अन्न फल्ने ठाउँ कम छन् । हिउँ र तुषारोसँग संघर्ष गर्दै वर्षमा एउटा मात्र बाली हुन्छ । धेरै जनाले चौंरी र भेडा पाल्छन् । हिमालले बेला बेला जडिबुटी दिन्छ । अनि गाउँ पालिन्छ ।
गाउँको लागि आजको दिन ३ वर्षपछि आएको सुखद क्षण हो । सेतो चिनी खन्न वर्षेनी जान पाइँदैन । बीउ मासिन्छ भनेर गाउँलेहरु आफैंले बनाएको नियम ।
आज हिमालको तीन वर्षे बाली भित्राउन जाने दिन हो ।
हात खुट्टा चल्न सक्ने सबै हिमालतिर जान्छन् । साना नानीबाबुलाई कसैले अर्को गाउँमा आफन्तकोमा लगेर छाडेका छन् । कसैले आफैं लिएर हिँडेका छन् ।
बिस्तारै गाउँलेहरु घोडा धपाउँदै उकालो लागे । लगभग दिनभरि हिँड्नुछ । कोही अघि लागेका छन् कोही पछि लागेका छन् ।
मूलबाटो छाडेर हामी हिमालबाट बग्दै आएको खोलालाई पछ्याउँदै उकालो लाग्यौं । जति माथि जान्थ्यौं हावा पातलिँदै जान्थ्यो । केही पाइला अघि सारेर हामी थकाइ मार्न बस्थ्यौं ।
धेरै जसो गाउँलेहरु हामीभन्दा अघि लागिसकेका थिए । बाटोमा अङ्गद रोकाया भेटिए । ३१ वर्षे अङ्गद गाउँको वन समितिका अध्यक्ष हुन् ।
यो भेगमा सेतो चिनी खन्न गाउँ बाहेका अन्यत्रका मान्छे आउन नपाउने नियम बनेको रहेछ । गाउँलेहरु आलोपालो गरेर वनको गस्ति गर्न समेत आउने रहेछन् ।
घुम्छे अर्थात् ठूलो पाटन । जंगलको बाटो सकिएपछि पाटन सुरु भयो । ङिमा दिदी र अङ्गदसँगै हामीले एकैछिन थकाइ मार्यौं ।
मैले बोकिरहेको क्यामेरको झोला ङिमा दिदीले बोक्ने भइिन् । हामीले भारि साट्यौं । दिदी अघिअघि लागिन् हामी पछि लाग्यौं ।
केही चौंरीहरुले स्वागत गरे ।
बिस्तारै पालहरु भेटिन थाले । कोही बल्ल सुरसार गर्दै थिए । कोही थकाइ मार्दै थिए । कोही दाउरा खोज्न हिँडेका थिए ।
बर्खा याममा चौंरी कुर्न बनाइएका ढुङ्गे गोठहरुमा धेरैले आश्रय लिएका थिए ।
ङिमा दिदीको पालमा पुग्दा त अबेर भइसकेको थियौं । पालभित्र आगो वरिपरि हामीले थकाइ मार्यौं ।
उनीचाहिँ अङ्गराज थापा हुन् । उनको घर जुम्ला बजार । हिमालतिर मजदूरी गर्दै डुल्दा रहेछन् । सेफोक्सुन्डोतिर केही महिना बिताएर हिजो मात्र उनी ङिमा दिदीको घर आइपुगेका हुन् ।
तर अङ्गराजले अरु काम मात्र सघाउन पाउँछन् । सेतो चिनी चाहिँ खन्न पाउँदैनन् । परिवारबाहेका मान्छेले सेतो चिनी खन्न नपाउने नियम छ ।
खुल्ला आकाशमुनि गाउँलेका कुराहरु सुन्यौं । बाटोघाटो , विद्यालय र अस्पताल नहुनुका पीडादायी सुस्केराहरु सँधै झैं हिमालको चिसो हावामा मिसिएर खै कता पो बिलाए ।
दुःखमा पनि हाँसिरहने गाउँलेसँग हामीले पनि केही मुस्कानहरु माग्यौं । राति अबेरसम्म गीत गुन्जिरह्यो, खोला सुसाइरह्यो हिमाल हाँसिरह्यो ।
भोलिपल्ट हिमालको चिसो विहानी पर्खिरहेको थियो । लुगलुग काम्ने जाडोमा जाँगरिला गाउँलेहरु एकाविहानै उठिसकेका थिए ।
सेतो चिनी खन्न जाने तयारी सुरु भयो ।
पाखाभारि छरिएर उनीहरुले माटो खोस्रिन थाले । हेर्दा अदुवा जस्तै देखिने हिमालको फसल भेटिन थाल्यो । गाउँलेका आँखा सन्तुष्ट भए ।
स्थानीय भाषामा हिड्डे र खिराङ्लो भनिने सेतो चिनीको कथा यहिँ सकिँदैन । यसरि खनेका सेतो चिनीलाई धोइ पखाली गरेर आगोमा पकाउनु पर्छ । त्यसलाई सुकाउनु पर्छ अनि ब्यापारीले किनेर लान्छन् ।
हिमालका पाखा भित्ता खोस्रिरहेका गाउँलेहरुसँग टाढाबाटै बिदा माग्दै हामीले फर्कने बाटो समात्यौं ।
३ घन्टा ओरालो झरेर मूलबाटोमा आइपुग्दा हामीले सबै दुःख बिर्सिएका थियौं । दुःखमा पनि हाँसिरहने गाउँलेहरु हाम्रा आँखाभरि थिए ।
No responses yet