पैले पैले मान्छेहरु बास बस्दै बस्दै कैयौं दिन लगाएर मुक्तिनाथ पुग्ने कथाहरु धेरै पुराना भइसकेका छैनन् । अहिले मोटर गाडी चल्न थालेपछि हिँड्ने मान्छे हराए । सँगसँगै हराए घोडा खच्चड र पुराना बाटाहरु । बाटोसँगै ससाना होटल हराए, भरिया हराए, बास बस्ने ठाउँका रमझम हराए ।
Herne Katha Episodes
Tapuko Katha EP83
सुनसरी र उदयपुरको सिमानामा बग्ने कोशी नदीका भँगालाले साना ठूला टापुहरु बनाएका छन् । यी टापुले मान्छेलाई जीवन दिएका छन् । तर टापुको जिन्दगी सजिलो चाहिँ छैन ।
सुनसरी, प्रकाशपुर नजिकैको ठाकुरबारीबाट हाम्रो टापु यात्रा सुरु भयो । हामीलाई धर्मेन्द्र यादवले बाटो देखाउने भए ।
घुँडा घुँडा आउने पनेलो तरेपछि कोसीका बालुवा पैतालाले छाम्दै अघि लाग्यौं ।
धर्मेन्द्र यादव गाई भैंसी हेर्न धेरै जसो टापुमा बस्दा रहेछन् । बेला-बेलामा चाहिँ घर आउने ।
उमेरमा धर्मेन्द्रलाई गायक बन्ने रहर थियो रे । रहर शायद कोशीको पानीसँगै बगी गयो ।
टापुका वन-वगरमा बाह्रै महिना गाई भैंसीको पछि नलागे परिवार कसरी पाल्नु !
पर नानीहरु देखिए । उनीहरु नदीले बगाई ल्याएका दाउरा बटुल्न आएका रहेछन् ।
करिब २ किलो मिटर हिँडेपछि डुंगा चढ्ने ठाउँ आइपुग्यो । डुङ्गा नचढी टापुमा पुग्न सम्भव छैन । धर्मेन्द्रको सानो डुँगामा हामी अडियौं ।
पारि नदी तर्ने मान्छेहरु भेटिए । कोही सामान पुर्याउन हिँडेका । कोही सामल लिन हिँडेका ।
रत्नी सदा चाहिँ खर्चपानी लिन घर हिँडेकी रे ।
चित्र बहादुर कार्की पनि त्यहीँ भेटिए । टापुमै बसेर खेतीपाती गर्ने चित्र रुखका मुडाहरु ओसार्दै थिए ।
कोशी छेउमा हुर्केका चित्रले नदीको विचित्र स्वभाव नजिकबाट देखेका र भोगेका छन् ।
नदीको बाटो पटक पटक फेरियो । मान्छेका दुःख फेरिएन ।
Dolpa Jane Batoko Katha EP82
तरेली परेका पहाडहरु – परेलीमा त सुन्दर देखिन्छन् । पहाडिया जिन्दगी बाँच्न भने उत्ति सजिलो छैन ।
नुन तेल किन्न र बिरामी हुँदा उपचार गर्न कठीन यात्रा गर्नु पहाडका सूदूर गाउँहरुका नमिठा नियती हुन् ।
भिमकाय पहाडका फेदीमा बग्ने नदीसँग कहिले भेटिँदै कहिले छुट्टिँदै कर्णाली राजमार्ग जसोतसो जुम्ला पुगेको छ ।
पहाड चिथोरेर कर्णाली मात्र बग्दैन, बाटो पनि बग्छ । पहाडका दुःख छल्न मुग्लान झर्ने मान्छेहरु बाटोसँगै बग्छन् । बाटोले पहाडका मान्छे बगाएको छ ।
कालीकोटका डरलाग्दा भीरहरु छिचोलिसकेपछि जुम्लाका फाँटहरु चम्किन थाल्छन् । पहराहरुमा हाम्फाल्दै हिँड्ने तिला नदी मैदानमा फाँट जस्तै बनिदिन्छिन् ।
जुम्ला पुगेपछि हाम्रो कथा बल्ल सुरु हुन्छ । यो जुम्लाबाट डोल्पा जाने बाटोको कथा हो ।
Sainoko Katha EP81
रामेछापका पहाडी दुःखबाट भाग्दा भाग्दा भाग्दा माला तामाङका बुबा लक्ष्मण तामाङ भारतका चियाबगानमा बरालिए । अनि उदयपुरको रामपुर बजार छेउको कालीखोलामा थातथलो बनाइ बसे ।
खोटाङका पहाडबाट उस्तै उस्तै कथाहरुले दुर्गा पौडेलको परिवारलाई पनि मधेस बोलायो ।
यी दुई संयोगहरुले कालीखोलामा दुई किशोरीहरु दुर्गा पौडेल र माला तामाङलाई एउटै टोलमा भेट गरायो । आजभन्दा ३३ वर्ष पहिले । दुर्गा र मालाबिच एउटा अनौठो साइनो जन्मियो । यो त्यही साइनोको लामो कथा हो ।
Giddha Ko Katha EP80
कति मान्छेका मात्रै कथा देखाउनु । कहिलेकाहिँ पशुपंक्षीका कथा पनि हेरौं न । आज हामी गिद्धको कथा देखाउँदैछौं । गिद्धको कथा खोज्दै कहिले पोखराको सेती नदीका बगरतिर डुल्नेछौं । कहिले चाहिँ घाचोकमा रहेको गिद्ध रेष्टुरेन्टमा गिद्धको पर्खाइमा बस्नेछौं ।
चलचित्र लुटमा काठमाडौंलाई गिद्धै गिद्धको शहर भनिए पनि वास्तवमा काठमाडौंमा गिद्ध देखिन चाहिँ मुस्किल छ ।
त्यसैले हामी गिद्धको कथा खोज्न पोखरातिर जाँदैछौं । दुरबीन बोकेर गिद्धका गुँड खोजी हिँड्ने पोखराकै चरा-गुरु हेमन्त ढकालसँग कहिले सेती नदीका बगरतिर डुल्नेछौं । कहिले चाहिँ घाचोकमा रहेको गिद्ध रेष्टुरेन्टमा गिद्धको पर्खाइमा बस्नेछौं ।
Kulalbada Ko Katha EP79
यो जुम्ला बजार नजिकैको कुलालबाडा गाउँ हो । कुलाल जातका मान्छेहरु बस्ने भएकाले कुलालबाडा ।
खेतीकिसानी र मजदुरी गरेर गुजारा चलाउने यहाँका गाउँलेहरु अरुको हली र गोठालो बने । खान लाउनकै सेरोफेरोमा थुप्रो पुस्ता बित्यो ।
हवाइजहाजले उडाइ ल्याएका भारीहरुमा कुलालहरुले नै नाम्लो लगाउँथे । जुम्लामा थपिँदै गरेका पक्की घरहरु बनाउन कठ्याङ्ग्रिने चिसोमा तिला नदीका ढुङ्गा बालुवा बोक्ने पनि कुलालहरु नै थिए ।
अभाव र दुःखका कथाहरु कुलालबाडामा आज पनि उस्तै छन् । तर कथाको लय अलिअलि फेरिएको छ । सदियौं विभेद र अशिक्षा बाँचेको कुलालबाडालाई त्यो अलिअलि पनि धेरै पो हो त ।
Doctor Gaun ko Katha EP78
मोरङ जिल्लाको टंकी सिनुवारी भन्ने ठाउँमा रहेको यादब टोल । झन्डै ८० घर रहेको यो बस्तिले थुप्रै डाक्टरहरु जन्माएको थाहा पायौं ।
राजमार्गका होहल्ला र सिमेन्टीका पक्की घरहरु डेढ किलोमिटर जति छिचोल्दा यो सुन्दर गाउँ पुगिन्छ ।
राजबिहारी यादव आँगनमा बाँधिएका गाई भैंसीको सेवा गर्दै थिए । हामीले उनीसँग जिज्ञासा राख्यौं । उनले उत्साही हुँदै सुनाए – हो यही हो डाक्टर गाउँ ।
Bauwako Katha EP77 
वीरगंजको माइस्थान मन्दिर छेवैको एउटा पुरानो गल्लीमा एउटा पुरानो कपडा सिलाउने पसल छ । बौवा टेलर्स । सोध्यो भने जसले नि बताइदिन्छ !
रहरै रहरमा दर्जी पेशा सुरु गरेका बौवालाई अहिले वीरगंजमा यही कामले चिनाएको छ । बौवा टेलरका बौवा दाइ ।
बौवा टेलर्समा बौवाका जिगरी दोस्त मनोज परियार पनि भेटिन्छन् । बौवा जस्तै आफ्नो कर्ममा गर्व गर्ने शिल्पी ।
मनोजलाई चाहिँ केटीको आवाज निकालेर गीत गाउन पर्छ । टेलर्समा उनी गुनगुनाइरहन्छन् ।
बौवा र मनोजको दोस्ती चाहिँ यो कपडा सिलाउने पसलभन्दा पनि पुरानो हो ।
बौवा बाहुन, मनोज चाहिँ दमाई । तर उनीहरुको प्रेमलाई जातले कहिल्यै रोक्न सकेन ।
दुबै जनाले मोबाइलमा अआफ्ना श्रीमतीका फोटो खोज्न थाले ।
बौवा र मनोजलाई आफ्नो मित्रता र कर्मप्रति असाध्यै गर्व छ ।
यो त भयो टेलरको कथा । फिल्म अब सुरु हुन्छ ।
Chefako Katha EP76
यो उदयपुरको उत्तरी भेगमा पर्ने बगुवा गाउँ हो । माझी बस्ती । गाउँ तल कोसी बगेको छ । कोसीपारि भोजपुर जिल्ला ।
नदी छेउका भिराला पाखाहरु सुरिला बाँसघारीले ढाकेका छन् । फविन्द्र माझी र दुई भाइ धमाधम बाँस काटेर पाखाबाट कोसी छेउमा सुल्क्याउँदै थिए ।
भोलि हामी बाँसको चेफामा उनीहरुसँगै नदीमा बग्ने सोचमा थियौं । गाउँलेहरुसँग नदीमा हेलिँदाका डरलाग्दा अनुभवहरु थिए ।
माझी गाउँमा हामीले भोलिको पर्खाइमा रात बितायौं ।
बिहानै हामी कोसी बगर पुग्यौं । खोलाबाट उठेका कुहिरोहरु बिस्तारै डाँडामाथि उक्लँदै थिए । नदी शान्त थियो ।
यो पन्चकोसी हो । सप्तकोशीका पाँच नदीहरु यहिँ मिसिएका छन् । अरुण र तमोर भरे बाटोमा भेटिन्छन् ।
सन्तोष माझी आज बगाइ लाने चेफालाई चोयाले कसकास पारेर अन्तिम रुप दिँदै थिए ।
माथि गाउँमा चाहिँ चेफा ठेल्नेहरु घरबाट निस्कने तयारी गर्दै थिए । दिनेशकी आमाले बाटोमा खाने जाँड छानिदिइन् ।
हामी गाउँलेसँगै नदीतिर झर्यौं ।
Lahureko Sapanako Katha EP75 
कर्णबहादुर राई मलायाका लाउरे थिए ।
गाउँघरमै आइपुग्ने गल्लाहरुले पहाडका बलिया पाखुराहरुलाई सात समुद्रपारि उडाएर लैजान्थ्यो ।
मैलो माटोमा हातगोडा जोतिरहेका पहाडका ठिटाहरु लाहुरे बन्ने सुकिला सपनाका पछि लागेर धरान झर्ने गर्थे ।
कल्कलाउँदो उमेरमा देउकुमारले पनि बुबाकै बाटो पछ्याए । लाहुरे बन्ने लहरमा उनको पनि रहर मिसियो । उनी हङकङका लाहुरे भए ।
पहाडमा हलो र कोदालो समाउने हातहरु बन्दुक समाउँदै संसार डुले । लाहुरेको नोकरीले दुःख बिर्साउने गरी पैसा पनि दियो । तर पैसाले गाउँघर बिर्साउन सकेन ।
बादलुको घुम्टोले सँधै झैं इलामबजार छोपिँदा टुँडिखेल नजिकैको एउटा चिया पसलमा देउकुमार राई र उनका परिवार भेटिन्छन् ।
अवकाशपछिको जीवन बेलायतमै बिताउन सक्ने सुविधालाई चटक्कै छाडेर देउकुमार जन्मथलो फर्किएका हुन् ।
यो चियापसलमा देउकुमार इलामेलीहरुलाई चियाका थरिथरिका स्वाद चखाउँदैछन् ।
उसो त देउकुमार सँधै इलाम बजारमा भेटिँदैनन् । इलामको सन्दकुपुर गाउँपालिकामा माइपोखरी नजिकैको माइपताल गाउँमा उनका दुई वटा कृषी फारम छन् । धेरैजसो फारमतिरै भेटिन्छन् ।
१० वर्षअघि श्रिमती बितिन् । देउकुमार एक्लैले छोराछोरी हुर्काए । बिरामी आमाको स्याहार गरे ।
फारममा लगाएका किवीका बोटहरुलाई पनि उनले छोराछोरी जस्तै स्याहारेका छन् ।
उनी चाहिँ तेजबहादुर राई । किवी फारमका हेरालू ।
देवकुमारले चिटिक्कको फारमलाई पर्यटक लोभ्याउने थलो पनि बनाएका छन् । विदेशीको काम छोडेर नेपाल फर्केका देउकुमार अहले आफ्नै फारममा बेला बेला विदेशीलाई नि काम लगाउँछन् ।
मान्छेहरु पहाड छाडेर मधेसतिर बसाईं झरिरहँदा देवकुमार चाहिँ मधेसमा जोडेका जग्गाहरु बेच्दै पहाडमा लगानी गर्दै थिए ।
पल्टनको जागिरेले देउकुमारलाई लड्न सिकाएका थियो । अहिले पनि उनी एक्ला लडाकू जस्तै छन् । श्रीमतीको मृत्युले उनलाई दुःख सिकाएको थियो । अहिले सानातिना दुःखले उनलाई छुन सक्दैनन् ।
आमाबुबाको आँखा छली छली किनेको चुत्रोघारीहरुमा अहिले लटरम्म किवि फल्न थालेका छन् ।
उनको फारम धेरैको लागि सिक्ने थलो पनि भएको छ । कृषी पढिरहेका विद्यार्थीहरु फारममा आएर महिनौं बिताउँछन् ।
कलिलो उमेरमै लाहुरे बन्ने सपना पछ्याएर हिँडेका देउकुमारले देख्ने सपना फेरिएका छन् आजकल । शायद उनले अरुलाई पनि सपना देख्न सिकाइरहेका छन् ।
Seto Chini ko Katha EP74
बर्फिलो बिहानी । यो सुदूर गाउँ शान्त छ । मोटरगाडीका आवाज सुनिँदैनन् । नदी बगेको, हावा चलेको र चराचुरुङ्गी चिरबिर गरेको मात्र सुनिन्छन् ।
सल्लाका सुरिला बोटहरु जाडोले कठ्याङ्ग्रिएका छन् । ठाडा खोलामा पानी हैन बरफ नै बगेको भान हुन्छ ।
पारिलो घामले चियाउँछ । ध्वजा पताकाहरु नाच्न थाल्छन् ।
हिमालतिर जाने तयारी सुरु भइसक्यो । कोही बिहानै बाटो लागिसके, कोही घोडामा रासन लाद्दै छन् । ङिमा दिदीको घरमा ढिँडो पाक्दैछ ।
चोत्र गाउँमा अन्न फल्ने ठाउँ कम छन् । हिउँ र तुषारोसँग संघर्ष गर्दै वर्षमा एउटा मात्र बाली हुन्छ । धेरै जनाले चौंरी र भेडा पाल्छन् । हिमालले बेला बेला जडिबुटी दिन्छ । अनि गाउँ पालिन्छ ।
गाउँको लागि आजको दिन ३ वर्षपछि आएको सुखद क्षण हो । सेतो चिनी खन्न वर्षेनी जान पाइँदैन । बीउ मासिन्छ भनेर गाउँलेहरु आफैंले बनाएको नियम ।
आज हिमालको तीन वर्षे बाली भित्राउन जाने दिन हो ।
हात खुट्टा चल्न सक्ने सबै हिमालतिर जान्छन् । साना नानीबाबुलाई कसैले अर्को गाउँमा आफन्तकोमा लगेर छाडेका छन् । कसैले आफैं लिएर हिँडेका छन् ।
बिस्तारै गाउँलेहरु घोडा धपाउँदै उकालो लागे । लगभग दिनभरि हिँड्नुछ । कोही अघि लागेका छन् कोही पछि लागेका छन् ।
मूलबाटो छाडेर हामी हिमालबाट बग्दै आएको खोलालाई पछ्याउँदै उकालो लाग्यौं । जति माथि जान्थ्यौं हावा पातलिँदै जान्थ्यो । केही पाइला अघि सारेर हामी थकाइ मार्न बस्थ्यौं ।
धेरै जसो गाउँलेहरु हामीभन्दा अघि लागिसकेका थिए । बाटोमा अङ्गद रोकाया भेटिए । ३१ वर्षे अङ्गद गाउँको वन समितिका अध्यक्ष हुन् ।
यो भेगमा सेतो चिनी खन्न गाउँ बाहेका अन्यत्रका मान्छे आउन नपाउने नियम बनेको रहेछ । गाउँलेहरु आलोपालो गरेर वनको गस्ति गर्न समेत आउने रहेछन् ।
घुम्छे अर्थात् ठूलो पाटन । जंगलको बाटो सकिएपछि पाटन सुरु भयो । ङिमा दिदी र अङ्गदसँगै हामीले एकैछिन थकाइ मार्यौं ।
मैले बोकिरहेको क्यामेरको झोला ङिमा दिदीले बोक्ने भइिन् । हामीले भारि साट्यौं । दिदी अघिअघि लागिन् हामी पछि लाग्यौं ।
केही चौंरीहरुले स्वागत गरे ।
बिस्तारै पालहरु भेटिन थाले । कोही बल्ल सुरसार गर्दै थिए । कोही थकाइ मार्दै थिए । कोही दाउरा खोज्न हिँडेका थिए ।
बर्खा याममा चौंरी कुर्न बनाइएका ढुङ्गे गोठहरुमा धेरैले आश्रय लिएका थिए ।
ङिमा दिदीको पालमा पुग्दा त अबेर भइसकेको थियौं । पालभित्र आगो वरिपरि हामीले थकाइ मार्यौं ।
उनीचाहिँ अङ्गराज थापा हुन् । उनको घर जुम्ला बजार । हिमालतिर मजदूरी गर्दै डुल्दा रहेछन् । सेफोक्सुन्डोतिर केही महिना बिताएर हिजो मात्र उनी ङिमा दिदीको घर आइपुगेका हुन् ।
तर अङ्गराजले अरु काम मात्र सघाउन पाउँछन् । सेतो चिनी चाहिँ खन्न पाउँदैनन् । परिवारबाहेका मान्छेले सेतो चिनी खन्न नपाउने नियम छ ।
खुल्ला आकाशमुनि गाउँलेका कुराहरु सुन्यौं । बाटोघाटो , विद्यालय र अस्पताल नहुनुका पीडादायी सुस्केराहरु सँधै झैं हिमालको चिसो हावामा मिसिएर खै कता पो बिलाए ।
दुःखमा पनि हाँसिरहने गाउँलेसँग हामीले पनि केही मुस्कानहरु माग्यौं । राति अबेरसम्म गीत गुन्जिरह्यो, खोला सुसाइरह्यो हिमाल हाँसिरह्यो ।
भोलिपल्ट हिमालको चिसो विहानी पर्खिरहेको थियो । लुगलुग काम्ने जाडोमा जाँगरिला गाउँलेहरु एकाविहानै उठिसकेका थिए ।
सेतो चिनी खन्न जाने तयारी सुरु भयो ।
पाखाभारि छरिएर उनीहरुले माटो खोस्रिन थाले । हेर्दा अदुवा जस्तै देखिने हिमालको फसल भेटिन थाल्यो । गाउँलेका आँखा सन्तुष्ट भए ।
स्थानीय भाषामा हिड्डे र खिराङ्लो भनिने सेतो चिनीको कथा यहिँ सकिँदैन । यसरि खनेका सेतो चिनीलाई धोइ पखाली गरेर आगोमा पकाउनु पर्छ । त्यसलाई सुकाउनु पर्छ अनि ब्यापारीले किनेर लान्छन् ।
हिमालका पाखा भित्ता खोस्रिरहेका गाउँलेहरुसँग टाढाबाटै बिदा माग्दै हामीले फर्कने बाटो समात्यौं ।
३ घन्टा ओरालो झरेर मूलबाटोमा आइपुग्दा हामीले सबै दुःख बिर्सिएका थियौं । दुःखमा पनि हाँसिरहने गाउँलेहरु हाम्रा आँखाभरि थिए ।
Gaun Farkaneko Katha EP73
गाईको छेउमा मुरली बजाइरहेका उनी कृष्ण होइनन् कुसुम हुन् । कुसुम भण्डारी । लोक गीतका पारखीहरुले कहिँ कतै सुनेको नाम हुनुपर्छ ।
मुरली गाइ फार्ममा उनले हामीलाई मुरली चिया खुवाए । विश्वकर्मा पुजाको दिन हामी पुग्दा रातो टिका लगाइदिइसकेका थिए ।
स्याङ्जा वालिङ नजिकैको गेझा गाउँमा रहेको मुरली गाइ फारममा कुसुमका अरू ३ बालसखाहरु जोडिएका छन् । विष्णु, तारा र प्रेम ।
घाँस काट्न जाने बेला भएको छ । जाँगर चलाउन उनीहरुले हार्मोनियमको तालमा एकछिन गीत रन्काए ।
हार्मोनियमका धुनहरुले शरिरमा उर्जा भरेर टोली अब घाँस काट्न हिँड्यो ।
सफा सेतो सर्ट लगाएका डि आर भण्डारी बाँसुरी बोकेर पछिपछि लागे । उनी पेशाले शिक्षक हुन् । गाई फारममा साथीभाइसँग सांगितिक माहोल बनाउन बेला बेला आइरहन्छन् ।
बारीमा लगाएका दुधिला घाँसहरु काटुन्जेल बाँसुरी बजिरह्यो । घाँस काट्ने खुर्केर आयो जोवन हुर्केर ।
उसो त जोवन हुर्किएकाहरु आजकल गाउँघरमा कहाँ भेटिन्छन् र? शहर र परदेशले बोलाइहाल्छ ।
कुसुम र साथीहरुले सपना देखेका छन् । गाउँ छोडेर पलायन नहुने सपना । यी सपनाका सेरोफेरो नै उनीहरुले बाँच्न खोजिरहेको कथा हो ।
उसो त कुसुमका जिन्दगीका केही कथाहरु बितिसकेका छन् ।
कुसुमलाई सानैदेखि लोक गीत संगीतमा असाध्यै रुचि थियो ।
मुखियाका छोरा पढ्न भनी बुटवल झरेका थिए । लुकी लुकी संगीत सिक्न जान्थे ।
बुटवल पछि उनी साङ्गितिक सपना देखेर काठमाडौं छिरे । संगीतलाई कर्म बनाए । एरेन्जर बनेर काम गर्न थाले । एकाध गीत हिट पनि भए ।
काठमाडौं बस्दा उनलाई सँधै गाउँघर र पाखा पखेराको सम्झना आइरहन्थ्यो ।
एकदिन उनले गाउँ फर्किने निधो गरे ।
सारा मान्छेले सपना देख्ने शहरबाट भर्खर उँभो लाग्न लागेको साँगितिक कर्मलाई चटक्कै छाडेर उनी गाउँ फर्किए ।
घरका आमा बुबा मात्र होइन साथी भाइ पनि छक्क परे ।
मन मिल्ने साथीहरुसँग मिलेर कृषी कर्म सुरु गरे । यो गाइ फारम त्यसैको निरन्तरता हो ।
लोक गीत संगीतमा डुबिसकेका थिए कुसुम । गाउँमा व्यवसायसँगै उनले रहरको काम पनि सुरु गरे । साथीहरुसँग मिलेर भजन टोली बनेको छ ।
गाउँका उत्सवहरुमा गाउने बजाउने । नयाँ पुस्तालाई पनि सिकाउने ।
दूधका क्यान बोकेर टोली गाउँतिर उकालो लाग्यो । आज कुसुमको घरमा साङ्गितिक साँझ हुने भएको थियो । बाटोमा भेटिनेहरुले निम्तो पाए ।
साँझ आधाउधी गाउँ मुखियाको आँगनमा भेला भयो । आँगनमा तयारी हुँदै थियो । कुसुम ९२ वर्षका बुबालाई सुताउन गए ।
भजन किर्तनबाट सुरु भएको माहोल रोइला र चुट्कासम्म पुग्यो ।
Biheko Katha EP72 
मंसिर महिनाले बिहेका लगनहरु लिएर आउँछ । यसपालिको मंसिरमा हामी कर्णाली प्रदेशको एउटा बिहेमा सहभागी भयौं । जुम्ला जिल्ला पातारासी गाउँपालिकाको तिर्खु गाउँको बिहे घरमा हामीले ३ दिन बितायौं ।
भोलि जन्ती आउनेछ । आज अबेरसम्म आँगनमा टाटे पाक्दैछ ।
जुम्लाको जाडो माइनसमा ओर्लेको छ । आगो वरिपरि आफन्त महिलाहरु गहुँको पिठोको टाटे पकाउँदैछन् । पुरी जस्तै टाटे पाक्न थालेपछि बिहे घरमा रौनक सुरु हुन्छ ।
कराईमा टाटे झ्वाइँय गर्छ । महिलाहरु लय हालेर चाँची भन्दैछन् ।
फूल एक पटक फूलेपछि अर्को ऋृतुमा फेरि फुल्छ । मान्छेको जोवन एक पटक फुलेपछि फेरि फेरि फुल्दैन रे ।
Sugandhi Katha EP71
वीरगन्ज शहरको एउटा होटलमा प्रायजस्तो साँगितिक साँझ हुने गर्छ । एउटा साँझ प्रिती आफ्ना सुमधुर आवाज गुन्जाउँदै थिइन् ।
उनी सुगन्धीकी कान्छी छोरी हुन् । नाच्ने र गीत गाउने कर्म रोजेकी ।
वीरगन्जबाट १० किलोमिटर जति टाढा जितपुर नजिकैको गाउँमा पासवान परिवारको चिटिक्क परेको घर छ । घरमा बस्छन् सुगन्धी पासवान, राजवंशी पासवान, २ छोरी, १ छोरा र एउटी नातिनी ।
एकाविहानै घर नजिकैको बँगुर फारमको नित्यकर्मबाट सुगन्धी र राजवंशीको दैनिकी सुरु हुन्छ ।
राजवंशी पासवान सानैदेखि एक्लो थिए ।
राजवंशीलाई नाच्न गाउन खुब मन पर्ने । केटीका पोशाक लगाएर ।
राजवंशीले आफ्नो रहरलाई पेशा बनाए । उनी महिलाको भेषमा बिहे पार्टीहरुमा नाच्न हिँड्थे । त्यसैबाट गुजारा गर्थे ।
बिहेमा नाच्न एकदिन राजवंशी चितवन पुगे । त्यहाँ सुगन्धीसँग भेट भयो । माया बस्यो । राजवंशीले सुगन्धीलाई २ धुर जग्गाको छाप्रोमा भित्र्याए ।
हक्की र आँटी स्वभावकी सुगन्धी परिश्रममा विश्वास गर्थिन् । यी जोडीले जानेका र सकेका सबै काम गर्न थाले । देहातमा कुर्ता सुरुवाल लगाएर आएकी सुगन्धीको कुरा काट्नेहरु कम थिएनन् । राजवंशी र सुगन्धीलाई यस्ता कुराको बालै भएन ।
कर्मले यो जोडीलाई डोर्याइरह्यो ।
राजवंशी घर सम्हाल्छन् । सुगन्धी बाहिरफेरको काम ।
सुगन्धी त पहिले कुरा काट्ने र विभेद गर्ने गाउँलेका नेता नै भइसकिन् । समस्या र मुद्दामामिलामा परेका दिदी बहिनीहरु सुगन्धीलाई नै सम्झिन्छन् । उनी सहयोगी मन बोकेर टाढा टाढा पुग्छिन् ।
जेठी छोरी वीरगन्जका संघसंस्थामा काम गर्छिन् । भारतीय श्रीमानसँग सम्बन्ध बिग्रेपछि उनी बीरगंजमा डेरा गरेर बस्छिन् । सानी छोरीलाई आमासँग माइतीमै छोडेकी छिन् ।
बुबा राजवंशीको नाच्ने गुण कान्छी छोरीमा सरेको छ । कहिलेकाहिँ त बाउ छोरी नै नाचेर बस्छन् ।
अब त खान लाउन दुःख छैन । सुगन्धीलाई कहिलेकाहिँ लाग्छ राजवंशीले नाच्ने काम छाडे पनि हुने । राजवंशी हुन्छ हुन्छ भनेर टाउको त हल्लाउँछन् । तर जब बिहेको सिजन आउँछ राजवंशी आफूलाई सम्हाल्नै सक्दैनन् । लुगाफाटा र मेकअपका सामान बोकेर नाच्न हिँडिहाल्छन् ।
आज पनि पल्लो गाउँको बिहेमा राजवंशीलाई निम्तो आएको छ । हामी पनि राजवंशीको पछि लाग्यौं ।
यो गुलाबी घर, यो आँगन, आँगनमा राखिएको ट्याक्टर, मोटरसाइकल, घर छेउका सुँगुर फारम, केही जग्गा जमिन अनि साँझ विहान भान्छामा पाक्ने मिठा र पोषिला खान्कीहरु सुगन्धी र राजवंशीलाई भाग्यले होइन कर्मले दिएको हो ।
सम्झिँदै सपना जस्ता लाग्ने अभाव र आँशुका दिनहरुलाई यो परिवारको खुल्ला हृदय र अपार मिहेनतले जितेको हो । यी हाँसो, खुशि र स्वतन्त्रता उनीहरु आफैंले आर्जेका सम्पत्ति हुन् । भुइँबाट उठेर ।
Gyan Sirko Katha EP70 
स्याङ्जा मिर्मीका ज्ञानप्रसाद पाण्डे परिवारका कान्छा छोरा थिए । एसएलसी सकेर पढ्न पोखरा झरे । पिएन क्याम्पसमा पढ्दा खर्च जुटाउन एउटा निजि विद्यालयको होस्टेलमा काम गर्न थाले । जोशिलो उमेरका ज्ञानको ज्ञान र लगन देखेर उनलाई पढाउने काम दिइयो ।
त्यसपछि ज्ञानप्रसाद ज्ञान सर भए ।
ज्ञान सरको कथा
जिन्दगीका लामा बाटाहरु ज्ञान सरले पढाएरै बिताए । पोखरा र काठमाडौंका नाम चलेका निजि स्कुलहरुमा पढाए । आफ्नो पढाई खर्च पनि चलाए ।
वर्षौं बितिसकेको थियो । पढाएर मात्र परिवार पाल्न धौ भयो । ज्ञान सर राम्रो तलब आउने जागिर खान कतार गए ।
विद्यार्थीहरुको कल्याङमल्याङमाझ थुप्रो वसन्त बिताएका ज्ञान सरलाई परदेश विरानो लाग्यो । ६ महिनामै नेपाल फर्किए र काठमाडौंमा फेरि पढाउने काम खोजे ।
बैंसमै शिक्षक बनेका ज्ञान सरको पढाउँदा पढाउँदै कपाल फुलिसकेको थियो । काठमाडौंका भव्य निजि विद्यालयमा पढाइरहँदा ज्ञान सरलाई एकदिन अर्कै ज्ञान फुर्यो । आफ्ना शिप र दक्षता बोकेर मुस्ताङको कुनै सानो सरकारी स्कुलमा गएर सेवा गर्ने ।
ज्ञान सर राजिनामा दिएर मुस्ताङ जाने योजना बोकेर दशैं मान्न घर आए ।
ज्ञान सरको घरको आँगन छेउमै एउटा प्रावि थियो । गैरा स्कुल नामले चिनिने यो विद्यालयमा मुस्किलले ५० जना भर्ना भएका थिए ।
गाउँका केटाकेटी सप्पैलाई बोर्डिङ स्कुलले तानेका थिए । मिर्मि स्कुल अरु स्कुलसँग मर्ज हुने छेकोमा थियो ।
स्कुलका हेडमास्टर थिए गाउँकै रामप्रसाद भट्टराई । हेडसर र केही अभिभावकहरुले योजना बनाए विद्यार्थी बोलाउन अँग्रेजी माध्यमबाट पढाइ सुरु गर्ने ।
पोखरा र काठमाडौंका नामी विद्यालयहरुमा खारिएर आएका अनुभवी ज्ञान सरमा गाउँलेको आँखा पर्यो । मुस्ताङ जाने योजना बोकेका ज्ञान सरलाई आँगनकै स्कुलले बोलायो ।
ज्ञान सरले स्कुलको रुप फेर्ने कमान सम्हाले । १ वर्ष बस्ने शर्तमा । पहिलो वर्ष नै १ सय ५० जना विद्यार्थी थपिए ।
१ वर्ष बस्ने सर्तमा स्कुल छिरेका ज्ञान सरको १२ वर्ष यहीँ स्कुलमा बितिसक्यो । वरपरका बोर्डिङ स्कुलहरु बन्द भए । अपवाद बाहेक गाउँका सप्पैले नानीबाबु यहीँ पठाउँछन् ।
सिकाइ, संगीत,भवन, खेलकुद हरेक विषयमा मिर्मि आधारभुत विद्यालय अब्बल भइसकेको छ ।
विहान जुरुक्क उठेर चियाको गिलास समाउँदै स्कुल छिर्ने ज्ञान सर अँध्यारो हुँदा सम्म स्कुलमै हुन्छन् ।
स्कुलका आफ्नै लोभलाग्दा शैलीहरु छन् ।
शिशु कक्षा पढ्ने नानीहरुसँग अभिभावकहरु पनि दिनभरि स्कुलमै बस्नु पर्छ । नानीहरुलाई बानी लगाउन ।
सरकारले ५ कक्षासम्मका नानीहरुलाई दिने खाजा खर्च स्कुलले अभिभावकहरुलाई नै दिन्छ । त्यसबापत खाजा समयमा अभिभावकहरुले घरमै खाजा बनाएर ल्याउनु पर्छ । स्कुलमा बिस्कुट चाउचाउ जस्ता पत्रू खानेकुरा प्रतिबन्ध छ ।
ज्ञान सर अहिले पनि निजि स्रोतमै तलब खान्छन् । हेडसर र उनको जोडी एउटै जुवाका हल गोरु जस्तै छ । ठूलो हात र फराकिलो मन भएका अभिभावकहरु छन् ।
मुस्किलले ५० जना विद्यार्थी भएको स्कुलमा अहिले झन्डै ३ सय जना पढ्छन् । सरकारी स्कुल नि यस्तो हुन्छ र भनेर हेर्न टाढा टाढाबाट मान्छेहरु आउँछन् ।
हुन त ज्ञान सरलाई अहिले पनि थुप्रै निजि स्कुलहरुले राम्रो तलबको लोभ देखाएर बोलाउने गरेका छन् । तर ज्ञान सरको मन मान्दैन ।
बरु गाउँका अरु सामुदायिक विद्यालयहरुको पनि यसैगरी मुहार फेर्ने धोको छ ।
Kabitako Katha EP69 
आजकल कविता गौतमको जिन्दगीको लय फेरिएको छ ।
मैदानमा बलका पछाडि हावा जस्तै दौडिने अनि ब्याट समाएका विपक्षीलाई गोली जस्तै बलिङ गर्ने कविता ६ महिनादेखि घरको आँगनमै सिमित भएकी छिन् । विहान उठेदेखि राति नसुतुन्जेलसम्म वैशाखी मात्र उनको सहारा भएको छ ।
हावा चलेको सुन्नु, डुब्न लागेको घाम हेर्नु, कहिले भित्र कहिले बाहिर गरिरहनु । चरा जस्तै डुल्दै ठाउँ ठाउँमा पुगेर क्रिकेट खेल्ने कविताको मनमा आजकल नानाथरि कुरा मात्र खेल्छन् ।
महिनौंपछि कवितालाई खै किन हो आज अभ्यास गर्ने मैदान पुग्न मन लाग्यो । रिक्सामा जतनले खुट्टा तेर्स्याएर उनी पशुपति स्कुलको मैदान जान्छिन् ।
बर्खा सकिएको छैन । साँझको घाम पनि चर्कै छ । चउरमा ठाउँ ठाउँ पानी जमेका छन् अनि घाँसहरु लामा भएका छन् ।
मैदानमा अनिल शर्मा उही लयमा भेटिए । क्रिकेट सिकाइरहेका । यी उनै अनिल हुन् जसले १०-१२ वर्षअगाडि कवितालाई हात समातेर क्रिकेट सिकाएका थिए ।
उतिबेला लहानमा केटाहरुमाझ क्रिकेट खुब चल्थ्यो । अनिल पनि क्षेत्रिय खेलहरु खेल्ने गर्थे ।
केटीहरु क्रिकेट खेल्दैनथिए । अनिल र साथीहरुले क्रिकेट सिकाउन केटीहरु खोज्न थाले । २५ जना भेला पारेर क्रिकेट सिकाउन थाले । कविता ती मध्ये एक थिइन् ।
१० वर्ष भयो अनिल मैदानमा दाैडिरहेकै छन् ।
कविता गौतमको बाको तलब पो थोरै थियो त । माया त कति हो कति । ६ दिदी वहिनीको भागमा बराबरी माया र स्वतन्त्रता थियो । कान्छी कविता टोलका केटाहरुसँग खेल्ने कुद्ने गर्थिन् ।
सानैमा कविताको क्रिकेटमा रस बस्न थाल्यो ।
कविताको जिन्दगीका अधिकांश कथाहरु विद्युत प्राधिकरणकै क्वाटर वरपर हुर्किए । कविताको कविता जस्तै जिन्दगीमा एकातिर आमाबुबाका गरिबी र अभाव थियो, अर्कोतिर खेलाडी बन्ने सपना ।
लाहानमा केटीहरुको टिम तयार भयो । प्रतियोगिताहरु खेल्न यो टिम कहिले पूर्व कहिले पश्चिम पुग्न थाल्यो । खेल र अनुभव दुबै खारिँदै गए ।
सन् २०१२ को एसीसी अन्डर १९ क्रिकेटको लागि नेपाली टोली तयार हुँदै थियो । टोलीमा ५ जना त लहानका केटीहरु मात्र छानिए । खुसीले सीमा नाघेको थियो ।
कविता र साथीहरु कुवेत गए । खेलेर मात्र होइन जितेर आए । घोंगी टिप्दै, घाँस काट्दै क्रिकेट खेल्न सिकेकाहरुले कुवेतमा गएर ट्रफि उचाले ।
जितसँगै पैसा पनि घर आयो । कविताको घर उज्यालो भयो । बुबाको विद्युत प्राधिकरणको अस्थायी जागिर गुमिसकेको थियो । घर बनाउँदा धितोमा राखेको जग्गा कविताको क्रिकेटको कमाइले छुट्यो । वृद्ध आमाबुबाको आँखामा खुसिका मोतीहरु चम्किए ।
त्यसयता कविताले क्रिकेट खेलेरै आफ्ना रहर र परिवारको आवश्यकता पुरा गर्न थालिन् । लाहानकै एक जना क्रिकेटरसँग बिहे गरिन् ।
२ वर्ष अगाडि नेपालमा पहिलो पटक वुमेन्स च्याम्पियन्स लिग हुने भयो । संयोगले खाली भएको ठाउँमा कविताले खेल्न पाइन् ।
कविता क्रिकेटमै भविष्य बनाउने सपनाहरु देख्दै थिइन् । अघिल्लो वर्ष मात्र भएको मेयर कप प्रतियोगितामा बलिङ गर्दा गर्दै अचानक कविताको खुट्टा लरबरायो । उनी थचक्क बसिन् । घुँडाको शल्यक्रिया भयो । त्यसयता उनी बैशाखीको सहारामा छिन् ।
जिन्दगीमा नसोचेका उतारचढाव आए । खुट्टा ठीक भएपछि फेरि मैदानमै फर्किने रहर छ । रहर पुरा होला नहोला थाहा छैन ।
महिनौपछि अभ्यास गर्ने मैदानमा पुगेकी कविता घन्टौं त्यहीँ बसिन् । आफूसँगै क्रिकेट सुरु गरेका सरस्वती र अनुराधाहरुलाई हेरिन् । सिक्दै गरेका नयाँ भाइ बहिनीहरुलाई हेरिन् । पुराना साथीभाइसँग गफिइन् ।
कवितालाई नै थाहा छैन अब उनी कहिले यो मैदानमा फर्केर आउनेछिन् ।
Asoj 5 ko Katha EP68
शरद ऋृतु लाग्यो । चाडबाड पनि आउन लाग्यो । गाउँघरमा मकै पाक्न थाले । लेकका पाटनहरुमा थरिथरिका फूलले रङ पोखेका छन् । हिमालका सुगन्ध बोकेका चिसो बतासले चुम्न थालिसकेको छ । बर्खाभरि पाटनमा गुँड लगाएर बसेका गोठहरु आज गाउँ फर्किने दिन हो । आज असोज ५ गते हो ।
पश्चिम बाग्लुङको रुकुम रोल्पासँग सिमाना जोडिएका गाउँका गोठहरु जेठदेखि असोजसम्म लेकतिरै हुन्छन् ।
आज गाउँ फर्किने खुसियाली छ । चाडबाड आए जत्तिकै भएको छ । मान्छे मात्र हैन बस्तुभाउ पनि गाउँसँग न्यास्रिएका छन् । सबैलाई गाउँ पुग्ने हतारो छ ।
कमारी घर्तिमगर २ वटा पाडाहरु डोर्याउँदै ओरालो झर्दैछिन् । लेकको गोठमै जन्मेका यी शिशु पाडाहरु पहिलो पटक यति लामो यात्रा गर्दैछन् ।
यी कठीन पहाडहरुमा भर्खरै कालोपत्रे गरिएको मध्यपहाडी लोकमार्गमा अलकत्राका बास्ना अझै ताजै छ । गोठहरु गाउँ झर्दा आजकल सडकै सडक हिँड्छन् । बेला बेला जिप र ट्याक्टरहरु देख्दा डिङ्गाहरु तर्सिन्छन् ।
बुकी फूलका बासहरु पाटन तिरै छोडि आएका छन् गाउँलेहरु । कमारीकी नातिनीले डोकामा केही थुङ्गा लेकाली फूलका सम्झनाहरु सँगालेर ल्याएकी छिन् ।
गाउँ झर्नेहरुको लस्कर विहानदेखि बेलुकासम्म देखिन्छ । गोठमा बस्नेहरुलाई लिन अघिल्लो दिन नै घरबाट कोही न कोही पुगेका हुन्छन् ।
गोठहरु सप्पै झरेपछि पाटनहरुमा यतिखेर हावा चलेको बाहेक अरु आवाज सुनिँदैन । पर गोठ देखियो, कुकुर कराएको सुनियो ।
हिँड्दा हिँड्दै हामी बाग्लुङबाट रोल्पा पुगिसकेछौं । भेडा गोठमा रोल्पाली युवाहरु भेटिए ।
फर्किरहँदा अर्का गोठालेसँग भेट भयो । चामल किन्न हिँडेका रहेछन् । सडकले दुःख घटाइदिएको छ । बाटो छेउमा जिपले चामल झारिदिन्छ ।
उता गाउँमा रमाइलो चहल पहल थियो । कोही पुगिसकेका थिए । कोही अझै बाटोमै थिए । ठूलो मेला लागे झैं थियो ।
गाउँ नियमले चलेको छ । गाउँ छेउको फराकिलो बाँझो बारीहरुमा सप्पैका गोठ आइपुगे । अबको केही हप्ता यहिँ बस्नुपर्छ । फेरि अर्को गाउँ फुक्छ, अनि मात्रै अघि बढ्न पाइन्छ ।
पल्लो गाउँका सम्मले यहिँ गोठ बिसाए । कोहि खानपिन गरी आराम गर्दै थिए । कोही चाहिँ बल्ल किलो ठोक्दै थिए ।
सुनसान गाउँमा सँधै असोज ५ गते यसैगरि गुल्जार आउँछ । महिनौं भेट नभएका प्रिय मान्छेहरु भेटिन्छन् । थकाइका तिर्सनाहरु मेट्छन् ।
अर्को साल फेरि मकै छरेर उही बाटो उकाली चढ्नु त छँदै छ ।
Machhagaunko Katha EP67 
चारकोसे झाडी छेउको यो गाउँ मधेसका अरु गाउँ जस्तै थियो । पहाडबाट बसाइं सरेर आउनेहरु थिए । धान फलाउन माटोसँग मरिमेट्नेहरु थिए । उब्जनीभन्दा धेरै पसिना बग्थ्यो । निर्वाहमा मात्र साटिएको परिश्रम थियो ।
हुन त सखुवाका मोटा खाँबोमा अडिएका, काठैकाठका पुराना घरहरुले अझै पनि दशकौं अगाडिको उही गाउँको तस्बिर जोगाएर राखेका छन् । तर मान्छेका अनुहारका चमकहरु फेरिएका छन् । थकित र निराश अनुहारहरु आजकल उज्याला भएका छन् ।
माछागाउँको कथामा विष्णुबहादुर थापाको कथा जोडिँदो रहेछ । आफ्नो भागको डेढ बिगाहा बेत घारी फाँडेर विष्णुबहादुरले ३८ सालतिर माछा खेती सुरु गरेका रहेछन् । गाउँलेले बिस्तारै विष्णुबहादुरलाई पछ्याएछन् । विष्णुबहादुर परलोक भइसके ।
रुखका छाहारीमा बसेर गाउँका दिदीबहिनीहरु सरसल्लाह गर्दै थिए । यहाँ पनि माछाकै कुराकानी रहेछ । श्रीपतीदेवी रामलाई फर्किँदा भेट्ने भनेर हामी विष्णुबहादुरको घरतिर अघि लाग्यौं ।
विष्णुबहादुरकी धर्मपत्नी ताराकुमारी माछालाई घाँस हालिरहेकी थिइन् । हामी पनि उनकै छेउमा टुसुक्क बस्यौं ।
ताराकुमारीलाई विगत सम्झिँदा सपना जस्तो लाग्छ । श्रीमानसँगै परिश्रम गरेकी तारा बुढ्यौलीमा पनि चुप लागेर बस्न मन गर्दिनन् । मिठो मुस्कान र मिहेनत उनका ७८ वर्षे उज्याला अनुहारका गहना बनेका छन् ।
एकछिन सुस्ताएको बेला वीरबहादुरले अष्ट्रेलिया सम्झिए । माइला नातीले बोलाएर अष्ट्रेलिया घुम्न गएका रहेछन् ।
उर्मिला थापाको पोखरीमा जलवाहरु आज माछा मार्दैछन् । माछा मार्ने जलवा व्यापारीले नै ल्याउँछन् । जोख्ने बोक्ने सबै काम अरुले नै गर्छन् । त्यसबापत माछामै पैसा काटिन्छ ।
उर्मिला थापाको काम चाहिँ शितलमा बसेर माछा मारेको हेर्ने अनि अन्तिममा पैसा गन्ने ।
श्रीपती देवी राम पोखरीको डिलमा भाँडा ठटाएर चरा भगाउँदै थिइन् । पोखरीमा चरा र सर्पको भाग पनि माछा हाल्नुपर्छ रे ।
मधेसको समाजमा दाइजोले उठ्नै नसक्ने गरी अझै पनि थिच्छ । श्रीपतीले ६ ओटी छोरीलाई दाइजो दिएर अन्माइन् । अरुकै जमिनमा कमाएको १० कट्ठे पोखरीले उनलाई बचाइराख्यो ।
यशोदा भण्डारीले पनि पोखरीकै भरमा एक्लै छोरीहरु हुर्काइन् ।
उनी चाहिँ वीरबहादुरका नाति अनिल भण्डारी । माछा खेतीमा रमाइरहेको पछिल्लो पुस्ता ।
जलवाहरु वीरबहादुरकै पोखरीबाट माछा निकाल्दै छन् । माछा मार्ने बेला सानोतिनो मेला नै लाग्छ ।
वीरबहादुर पछिपछि उभिएर चनाखो भएर हेर्छन् । बेलाबेलामा सिकाउँछन् ।
Sol Kharkako Katha EP66
कास्की जिल्लाको अर्मलाकोटमाथिको सोल खर्कमा बादल लागेको थियो । त्यही बादलभित्र छोपिएको गोठतिरको हाम्रो यात्रा अबेर सुरु भयो । एक छेउ बाटो पनि नकट्दै हामी असिन पसिन भइसकेका थियौं ।
गोठमा आफ्ना आमा बाबुलाई भेट्न हिँडेका निरुना समिर र सचिन हाम्रा साथी थिए । सँगै साथ लागे अर्मला बसेर पढाउने गुल्मीका शिक्षक रविन ढकाल ।
समिर र सचिन खेल्दै अघि लाग्थे । हामी स्याँ स्याँ गर्दै पछि लाग्थ्यौं । एक छेउ बाटो पनि नकट्दै हामी असिन पसिन भइसकेका थियौं ।
पानीको जरुवा भेटियो । समिरले वनदेवीलाई चढाएपछि चिसो पानी पिए । उनको जुत्तामा सलबलाइरहेको जुकाको उनलाई परवाह थिएन ।
अल्लो घारिहरु छिचोल्दै उकालो लाग्दा मौसम ओसिलो हुँदै गयो । बेला बेला वस्तुहरुले बाटो छेक्थे ।
बिस्तारै जुका आतंक सुरु भयो । मान्छेका गन्ध चाल पाएर बोटविरुवाका पात पातमा जुकाहरु देखिन थाले । तनक्क तन्किएर हाम्रा शरिर छुन खोजिरहेका ।
भुइँमा जुका पातमा जुका रुखमा जुका जताततै जुकै जुका । फटाफट पाइला चाले पनि जुकाहरुले हामीलाई पत्तै नदी झम्टिसकेका थिए । कसैका हातमा कसैका घाँटिमा कसैका खुट्टामा जुकाहरु टाँस्सिसकेका थिए ।
जुकाहरुले थकाइ मार्न पनि दिएनन् । हामी अडियौं कि उनीहरु जिउमा उक्लिहाल्ने ।
बाटोभरि जुकाले सताइरह्यो ।
आधा बाटो पनि भएको थिएन । हामी पुग्ने सोल खर्क अझै बादलभित्र शान्त थियो । घाम लुकिसकेको थियो । गोधुलीमा हामीले जंगलभित्र पाइला चालिरह्यौं ।
समिर र सचिन बेला बेला झाडी भित्र छिर्थे र जंगली फलको स्वाद हामीलाई पनि चखाउँथे ।
हेर्दा हेर्दै झमक्क रात पर्यो । मोबाइलका उज्याला बालेर हामी उकालो लागिरह्यौं ।
ठाउँठाउँमा पहिरोले बाटाहरु भत्काएका । चिप्ला र डरलाग्दा भिरमा हामीलाई साना नानीहरुले बाटो देखाए ।
गोठ पुग्ने बेलासम्म जुकाहरुसँग हामीले आत्मसमर्पण गरिसकेका थियौं । हामीमाथि उनीहरुले विजय प्राप्त गरेका थिए ।
गोठ पुग्ने बेलामा कुकुर भुकेको सुनियो । टाढा झिलिमिलि पोखरा शहर देखियो । आकाशमा जुन चम्कियो र झिलिमिलि तारा देखिए ।
समिर हामीभन्दा छिटै दौडेर गोठ पुगे अनि अगुल्टो लिएर तगारो छेउ हाम्रो स्वागत गर्न उभिए ।
गोठमा पौडेल दम्पत्ती थिए । उमा पौडेल भैंसीका दुध दुँदै थिइन् । चेतबहादुर पौडेल पुजा आजा गर्दै थिए ।
हामीले खरानीका थुप्रोमा जुकाहरु टिप्दै फाल्दै गर्यौं ।
अगेना वरपर सबैजना बसेर थकाइ मार्यौं ।
चेत बहादुर उमेरमा गाउँ ठाउँमा भजन गाउन हिँड्ने रहेछन् । गोठमा उनले सुनाएका भजनमा हामी रमायौं ।
निउरोको तरकारी र भात पाक्यो । दुहुन छुटेका भैंसीहरु मध्यरातसम्म पनि गोठ खोज्दै जंगलबाट आइरहेका थिए ।
रातको १ बजिसकेको थियो । कोही अँगेनाको छेउमा, कोही पाडापाडीको छेउमा गुँडुल्किएर सुत्यौं । मिठो निद्रा लाग्यो ।
एका विहानै चेतबहादुर राति गोठमा नआएका भैंसीहरु खोज्न जंगल छिरे । उमा दुध दुहुन थालिन् ।
निरुनाले छुर्पी बनाउन सघाइन् ।
घाम पारिलो भएपछि आमाछोरी भैंसीहरु धपाउँदै जंगल छिरे । भैंसीहरुलाई जंगलको बाटो लगाइदिएर उनीहरु निउरो टिप्दै गोठ फर्के ।
चेत हराएका भैंसीहरुसँग रिसाउँदै गोठ फर्किए ।
मोही पार्ने बेलासम्म चेतको रिस मरिसकेको थियो । रमाइला भाका सुनाउँदै उनी मोही पार्न थाले ।
उमा चाहिँ खीर पकाउन थालिन् ।
सचिन टुसा खोज्न जंगलतिर छिरे ।
खीर र टुसाको भोजन भयो ।
गोठमा बस्ने आमाबाबुलाई भेट्न हप्तामा एक चोटि यी दिदीभाइहरू गोठमा आउँछन् । फर्कनुअघि उनीहरुले गृहकार्य सके ।
छोराछोरीलाई पठाइदिन पौडेल दम्पत्तीले निउरो टुसा र घिउको कोसेली तयार पारे ।
हामीलाई बाटो देखाइदिन चेतबहादुर र उमा पनि अलिवरसम्म सँगै आउने भए । हामी ओरालो लाग्यौं ।
विदावारी हुने बेला भयो । हामीलाई विदा गरेर चेत घाँस काट्न रुख चढे ।
सचिन समिर र निरुनाका गफ सुन्दै हामी ओरालो झरिरह्यौं ।
फर्किने बेलामा जुकासँग उत्ति सारो डर पनि लागेन ।
५ घन्टा ओरालो झरेर अर्मला पुग्दा साँझ पर्न लागेको थियो । हामी पुगेर आएको सोल खर्क अझै बादलभित्रै छोपिएको थियो ।
Chehimko Katha EP65 
घर छेउको बारीमा चिटिक्कको सानो घर छ । बुद्विमान इङनामका लागि यो घर होइन मन्दिर हो । जुनिभरि दुःख सुख काटेकी श्रीमतीलाई उनले अस्ति भर्खर यही मन्दिरमा लगेर सेलाएका थिए ।
बुढ्यौलीले गलिसकेका हात गोडा एकठाउँ स्थिर बस्न मान्दैनन् । माटोसँग खेलिरहन मन लाग्छ । माटोको सुगन्ध प्रिय लाग्छ ।
श्रीमती सरस्वतीले छाडेपछि उनी अलि बढी एक्लिएका छन् । कपुरथानमा बेला बेला पुगिरहन्छन् । सिमेन्टीको प्लास्टर समेत ओभाएको छैन । निर्जिव मन्दिरलाई सुम्सुम्याउँछन् ।
कपुरथानको एउटा कोठाको ढोका अब कहिल्यै खुल्दैन जहाँ उनकी श्रीमती छिन् । सँगैको अर्को कोठा उनलाई पर्खिरहेछ । श्रीमतीसँगै सन्तुष्टिको चीर निन्द्रामा जान उनी तयार छन् ।
धनकुटाको बुढीमोरङ, साँघुरीगढीमा दिन ढल्दै गएकाहरु अनन्त यात्राको लागि पहिले नै तयार हुन्छन् । गच्छे अनुसारका चिटिक्क परेका चिहानहरु तयार पारेर राख्छन् । शरिर निष्प्राण भएपछि रहरले बनाएको घरमा प्रवेश गर्छन् ।
८५ वर्ष काटिसकेकी फूलमाया नयोङ लिम्बुले आफ्नो लागि कपुरथान बनाएको १५ वर्ष भइसक्यो । श्रीमान् र छोराहरु बितेपछि आफ्नै घरमा छोरी ज्वाइँसँग बसिरहेकी फूलमायालाई जिन्दगी लामो लागिसक्यो ।
फूलमाया नयोङ सकिनसकी कपुरथान जान्छिन् । झारपातहरु उखेल्छिन् । फूलका बुटाहरु गोडमेल गर्छिन् । यहाँ आएपछि उनलाई घर फर्केर जान मन लाग्दैन । कहिलेकाहिँ त मातेको बेला आफ्नो चिहामभित्र गएर मस्त निदाइ दिन्छिन् रे ।
फूलमायाकी सम्धिनी बुधुरानी थेगिमले पनि इष्टमित्रलाई दुःख नहोस् भनेर कपुरथान बनाएकी रे ।
बुधुरानीका कान्छा छोरा भर्खरै विदेशबाट फर्किएका छन् । जिउँदै आमाको चेहाम छेउ पुग्दा उनलाई कस्तो कस्तो लाग्छ ।
मरेपछि आत्मा कहाँ जान्छ थाहा छैन, तर बुढी मोरङका मृत शरिरहरु पहिले पहिले तमोरमा जान्थे । मलामीका लस्करहरु हुन्थे ।
आजकल गाउँघरमा मलामी भेटिन नि मुस्किल छ । गाउँ सर्लक्कै विदेसिएको छ । डाँडामाथिका जुनहरु अस्ताउन तयार छन् ।
गाउँमा आज एउटा जुन अस्तायो । एक वृद्धले संसार छाडेर गए । उनले चाहिँ आफ्नो लागि चेहाम बनाएका थिएनन् । कसैले चिहान खन्न थालेे । एक जनाले बन्दुक पड्काएर वरपरको गाउँलाई जानकारी दिए । लिम्बुहरुको मरौ परौमा यसरी बन्दुक पड्काउने चलन रहेछ ।
मान्छेको अनौठो रहर: कसैलाई मरेपछि जंगलमा बस्नुछ, कसैलाई घरै छेउमा । कोही कोही अझै पनि तल तमोर नै जान खोज्छन् ।
मरेपछि गाउँघरमै बस्न खोज्नेहरुले आजकल कपुरथान भनिने चेहामहरु बनाउन थालेका छन् । घर जस्तै गच्छे अनुसार कुनै भव्य कुनै सामान्य ।
मनप्रसाद इङ्नामले पनि आफ्नै शरिरको नाप दिएर चेहाम बनाइसकेका छन् । तर किन किन उनलाई आफ्नै चेहामछेउ जान अफ्ठ्यारो लाग्छ । उनी परै उभिएर गफिए ।
आफ्नै लागि चिहान बनाउने यस गाउँका मान्छेहरु गहिरा कुरा गर्छन् । मृत्युको सत्य अझै धेरै महशुस हुन्छ । अनि लाग्छ जीवनको यो अन्तिम सत्य दुःख मात्र होइन, उत्सव पनि हो ।
प्रश्न पनि हो सायद!
बारिको छेउमा कपुरथानमा परमपद भएका प्रिय मान्छेहरु त्यहिँ वरपर भेटिन्छन् ?
सम्झनामा भेटिन्छन् ?
वा जान्छन् कतै टाढा बताससँगै ?
Narainapurko Katha EP64
यो बाँके राप्तीपारिको नरैनापुर हो । भारतको सिमा नजिकैको बाक्लो मुस्लिम बस्ती । गाउँ गाउँ जस्तो बजार बजार जस्तो । कस्तो कस्तो । यो रङ्गीन गाउँलाई हामीले एउटा पुरानो सम्झनाले तरङ्गित बनाइदियौं – लाठी खेल ।
नेपालगन्जको धम्बोजी चोकबाट जम्माजम्मी ४० किलोमिटर । अहिले पो भर्खरै बाटो बनेको छ । अस्ति भर्खरसम्म नेपालगंज पुग्न पनि भारतको बाटो घुमेर जानु पर्ने ।
नरैनापुर गाउँ जन्मेदेखि यो ठाउँको सम्बन्ध नेपालसँग भन्दा भारतसँग गाँसियो । नरैनापुरको लागि नेपालगंज दुर्गम थियो । बरु सिमापारिको नानपारा नजिक थियो । जहाँ भेटिन्थ्यो बम्बै जाने रेल ।
आज पनि नरैनापुरका किशोरहरु जुँगाको रेखी बस्न नपाई सिमा पार गर्छन् र चढ्छन् बम्बै जाने रेल । कमाउन जाने पनि भारत र कमाएको खर्च गर्न जाने पनि भारत ।
सिमापारि हाटबजार लाग्छ ।
नुन तेल र लत्ता कपडा साइकल चढेर आउँछन् ।
नरैनापुरको मुख्य चोकमा एउटा पुलिस चौकी र सानो बैंक छ । भर्खरै कालोपत्रे भएको सडकमा भारतीय नम्बरका मोटरसाइकल फाट्टफुट्ट भेटिन्छन् । पान पसल, चिकेन पसल, चिया पसल प्राय भिडभाड हुन्छ ।
सेता लामा दाह्री पालेका गाउँका पाकाहरु चियापसलतिरै भेटिन्छन् ।
हामीले मिस्त्री खानलाई त्यहिँ भेटेका थियौं । गाउँघरमा नागरिकताको नाम एउटा, अनि सबैले चिन्ने बोलाउने नाम चाहिँ अर्को । मिस्त्री खान खास मिस्त्री होइनन् । उनी नजिकैको इँटा भट्टामा इँट्टा गन्ने काम गर्छन् । सानोमा उनको आँगनमा बयल गाडा बनाउने मिस्त्रीहरु बसेर काम गर्थे रे । अनि उनी पनि मिस्त्री नामले चिनिन थाले ।
गाउँलेहरु अवधी र हिन्दी बोल्छन् । नेपाली बोल्न बुझ्न अफ्ठ्यारो । प्रहरी चौकीका असई फत्ते हमालले एक जना दोभाषे खोजिदिए । डाक्टर सबिर खान । उनी पनि डाक्टर होइनन् । सहकारीमा काम गर्छन् ।
उनी चाहिँ फौजदार । उनको भाइको नाम जोडदार ।
यी हाँसिरहने रमाइला पात्र चाहिँ चेंगी चोर । उनी पनि चोर होइनन् । पहिले खान लाउन दुःख हुँदा छिमेकीको खेतबाट एक दुई अँगालो धानको बाला नसोधी काटेपछि उनको उपनाम चोर भयो ।
यो रङ्गीन गाउँलाई हामीले एउटा पुरानो सम्झनाले तरङ्गित बनाइदियौं । लाठी खेल ।
पहिले पहिले लाठी खेल खुब चल्थ्यो । सुरक्षा र रमाइलो दुबैको लागि । सिक्ने र सिकाउनेहरु हुन्थे । मेला जात्राको मूख्य आकर्षण लाठी खेल हुन्थ्यो । बिस्तारै पुराना मान्छेहरुसँगै लाठी खेल हराउन थाल्यो ।
लाठी खेल्ने को को छन् भनेर हामीले सोधखोज गर्यौं । आफ्नो भाषा पनि नबुझ्ने जिप चढेर आएका नौला मान्छेहरुले अचानक लाठी खेलबारे सोध्दा सुरुमा गाउँलेहरु सशंकित भए ।
शंकालाई बिस्तारै विश्वासले जित्यो । आधादिन ढलिसक्दा नरैनापुरका चिया पसलेदेखि पान पसले सम्म हाम्रो दोस्ती भइसकेको थियो ।
लाठी खेल्न जान्नेहरु खोज्दै हामी मिस्त्रीसँग गाउँ छिर्यौं ।
फौजदार पनि जमानाका खेलाडी रहेछन् । फौजदारलाई लिएर हामी युनुसको घर गयौं । २० वर्ष कतार बसेर फर्केका युनुस ।
लाठी समात्ने बित्तिकै युनुसले कला देखाउन थाले । युनुसको आँगनमा फौजदार र युनुसले खेल देखाए ।
गाउँको खुल्ला चौरमा लाठी खेल देखाउने सल्लाह भयो । तर दुई जना पात्रको खोजी भयो । अठै र कन्नु । उनीहरुका बुबा लाठीका उस्ताद थिए रे । छोराहरुलाई पनि सिकाएका । सबैले अठै र कन्नुको नाम लिए ।
अठै र कन्नुलाई खोज्न हामी उनीहरुको घर गयौं । उनीहरु भेटिएनन् । मजदुरी गर्न कोहलपुर तिर गएका रहेछन् । फोन पनि नबोक्ने ।
अठै र कन्नुलाई खोजेर ल्याउन गाउँलेले सुझाए ।
भोलिपल्ट बिहान हामी बाबु खान र उनका साथीलाई गाडीमा राखेर अठै र कन्नुको खोजीमा हिँड्यौं । न फोन नम्बर न ठेगाना । बाबु खानले अड्कल गरेका गाउँ ठाउँमा सोध्दै खोज्दै हामी कोहलपुर भित्रका गाउँ गाउँ चहार्यौं ।
काठ चिर्ने काम गरिरहेका भन्ने सम्म थाहा थियो । कहाँ छन् थाहा थिएन । यता उता भौंतारिँदै ती दाजुभाइको खोजीमा आधा दिन बित्यो ।
हार खाइसकेका थियौं । तर ती दाजुभाइ भेट्टाएरै छाड्याैँ । एउटा गाउँमा मसलाका रुखहरु चिरिरहेका । उनीहरु पनि हामीलाई देखेर छक्क परे ।
अठै र कन्नुसँग त्यहिँ बसेर गफियौं । रुखका हाँगाबिँगा काटेर एकुन्टा लौरो बनाए र हामीलाई त्यहिँ खेल देखाए ।
मजदुरी गरिरहेका मानिसलाई टाढा गाउँ लैजान मन मानेन । उनीहरुको लागि पनि शोख भन्दा भोक ठूलो । भारि मन साटेर हामी फर्कियौं ।
भोलिपल्ट अठै र कन्नु बिना नै हामी नरैनापुर गयौं । गाउँलेहरुले खेल देखाउने भए । आँप गाछीको बँगैचामा गाउँ उर्लेर आयो । फौजदार, युनुस र मिस्त्रीले खेल देखाए ।
हामी पनि रमायौैं नरैनापुर पनि रमायो ।
कथा सक्कियो ।
Ishwarko Katha EP63
इश्वरलाई नाचौं नाचौं लाग्थ्यो ।
डान्स पार्टीका मालिक गुप्ता जीको पछि लागेर इश्वरले नाचेर छाडे ।
आमालाई छोराले पढोस् भन्ने थियो । इश्वर पढ्न छाडेर भागी भागी नाच्न जान्थे । घरबाट आमाका साडीहरु चोरेर लान्थे । सिँगार पटार गर्थे र नाच्थे ।
आमाले छोरालाई कुटिन्, फकाइन् गाली गरिन् । इश्वर नाच्न छाडेनन् ।
नाच्ने कलामा इश्वरको नाम सिमापारिसम्म फैलिएको छ । भारतका बिहे पार्टीहरुमा निम्तो आउँछ । इश्वरको नाच पार्टि राप्ती तर्छ । रातभरि नाच्छ र घर आउँछ ।
खान लाउन समेत धौ धौ पर्ने परिवारमा १५ वर्षे इश्वरले कमाएको भारु भित्रिन्छ । अनि चुलोमा आगो बल्छ । भाइ बहिनीको हातमा ससाना खेलौना पुग्छन् ।
इश्वरकी आमा मिना परियार पहिलो बिहे टुटेपछि लल्लन कोरीसँग दोस्रो बिहे गरेर आएकी हुन् ।
आउँदा इश्वर र उसकी बहिनी साथै ल्याएकी । बहिनी बोल्न सक्दिनन् ।
उनी इश्वरको नाच्ने रहरसँग हार खाइसकेकी छिन् ।
गाउँको मन्दिरमा आज पुजा छ । ईश्वरका मालिक गुप्ता जीले साँझ डिजे पार्टीको तयारी गरेका छन् ।
एकातिर पुजाको भण्डार चलिरहेको छ । अर्कोतिर डिजेका कलाकारहरुको मेकअप सुरु भइसकेको छ । सबैका आकर्षण इश्वर सानो झोलाबाट लाली पाउडरहरु निकाल्दैछन् ।
हेर्दा हेर्दै इश्वरको अवतार अर्कै भयो । उनी महिलाको भेषमा प्रकट भए । दिनभरि खेत खन्नेहरु शिवजी भए, गाइ चराउनेहरु कृष्ण भए, भारी बोक्नेहरु हनुमान भए । सबै रंगमन्चका थरिथरिका पात्र भए ।
घरधन्दा सकेर गाउँलेहरु ओढ्ने ओछ्याउनेसमेत बोकेर नाच पार्टिमा आए । सँगैकाले चिच्याएर बोल्दा पनि नसुनिने गरी चर्को लाउडस्पीकर घन्किन थाल्यो । मन्दिरको आँगनमा सबै गुजुल्टिएर तीखा आँखाले मन्चतिर हेर्न थाले ।
शिवको आरतीबाट सुरु भएको नाच पार्टी बिस्तारै तात्दै गयो । माटो थुपारेर बनाइएको मन्चमा इश्वरले धुलो उड्ने गरी नाचे । नाच पार्टीमा नाटक र प्रहसन थपियो । मानिसहरु लाजले मुख छोपेर हाँसे ।
रातभरि नाच पार्टीको आवाज परपरको गाउँसम्म सुनियो ।
Antareko Katha EP62
कालीबहादुर विष्टका अन्तरे छोरा भेडाको पछि लागेको १५ वर्ष भइसक्यो । काबेली फेदी देखि कन्चनजंघा शीरसम्म उनले थुप्रै बाटो पैतालाले नापेका छन् ।
जाडो छल्न झरेका भेडाहरु गाउँछेउकै लालीखर्कमा आइपुगेका छन् । असोजदेखि बढेका भेडाका लामा रौंहरु मुण्डन हुँदैछ । गाउँलेहरु सघाउन आएका छन् । सबैलाई भ्याइ नभ्याइ छ । अन्तरेका बुबा कालीबहादुर एकछिन सुस्ताएका छन् ।
पहिले गाउँका विष्टहरु सप्पैको भेडा थियो रे । अहिले एकाध परिवारसँग मात्र भेडा छन् ।
अन्तरेको गोठमा मिसारी भएर विक्रम लिम्बु आएका छन् । उनका गोटा बीस एक भेडा अन्तरेकै बगालमा मिसिएका छन् ।
सानो छँदा अन्तरे गोठालो भएर काकाका भेडाहरुको पछि लागे । भेडाचोक कहिले फाकखोला झर्थ्यो, कहिले फक्ताङलुङ हिमालछेउका नागीहरुमा आफ्ना डोब छोडेर आउँथ्यो । भेडीगोठ चर्ने रनबनमा अन्तरेको मन बस्यो । अहिले भेडाचोक नै अन्तरेको सानो संसार भएको छ ।
अन्तरेको सानो संसारमा अस्मिता अटाएको धेरै भएको छैन । अलैंची गोड्दै अन्तरेसँग फोनबाट माया गाँसेकी अस्मिता लिम्बु एकदिन बाटैबाटो ओरालो झरिन् । बरको बोटछेउ अन्तरे पर्खिरहेका थिए । अनि उनीहरु बर-बधु भए ।
अन्तरेका भाइ कमल प्रायजसो ताप्लेजुङ बजारतिरै बस्छन् । रेडियोमा बोल्नेदेखि साइनबोर्ड लेख्नेसम्म काम जानेका कमललाई आजकल भेडाचोकले लोभ्याइरहन्छ ।
एकछिन थकाइ मार्न पालभित्र छिरेका धनबहादुर विष्ट भेडाको दुधसँग सप्र्याक सप्रयाक भात खाँदै थिए । गोठको खाजा दही दूध ।
हेर्दा हेर्दै असिना पानी दर्कियो । भेडाहरु जंगलतिर ओत लाग्न छिरे । भेडा मुड्न सघाउन आएकाहरु पालभित्र गुजुल्टिए ।
असिना पानीले पाल ठटाइरह्यो । आगो दनदनी बल्यो । ठेट्ना मकै चपाउँदै हामीले सुदूरपूर्वका पहाडी आवाजहरु सुनिरह्यौं ।
पानी थामिएपछि सघाउन आएकाहरु अआफ्नो बाटो लागे । झ्याउँकिरी कराउन थाले । क्षितिजतिर फर्केर कुकुरहरुले जंगल छिरेका भेडालाई बोलाए । अन्तरे भेडा खोज्दै जंगलका अन्तरकुन्तर छिरे ।
ताप्लेजुङ बजार टाढा थियो । अन्तरेका बाउ छोराले नजिकै गाउँमा आफ्नै घर गएर बास बसौं भने । प्रेमिल प्रस्तावलाई हामीले नाइँ भन्नै सकेनौं ।
मझेरीमा आगो वरपर बस्यौं । अन्तरेकी आमाले बिहे गरेर आउँदा ल्याएको टिनको ट्याङ्कामा मकैका खोया दनदनी बले ।
नदी र पहाड, सपना र सुस्केरा, भेटेका र छुटेका सप्पै गीत बनेर गुन्जिए । अन्तरेका बाआमाका भाका सुनेर हामी टोलाइरह्यैं । अबेरसम्म आगो नाचिरह्यो । मिठो भान्सा भयो ।
कहिलेकाहिँ ठाउँ र पात्रसँग यति नजिक भइन्छ कि हामी कथा खोज्न हिँडेकै बिर्सिन्छौं । विहान छुट्टिने बेलामा हामीले कथा बिर्सियौं । बेहुली अन्माएजस्तै अलिअलि माया र अलिअलि विछोड बोकेर हामी बिस्तारै उकालो लाग्यौं।अन्तरेको घरको झझल्कोले हामीलाई परसम्म पछ्याइरह्यो ।
Bhanteko Katha EP60
२० वर्षको उमेरमै सन्यासी भएका ३३ वर्षे भिक्षुको जिन्दगीले छोटो समयमा लामो यात्रा गरिसक्यो । भन्तेको कथामा ३ वटा कुरा अघिपछि जेलिँदै आउँछन् । उनको बाल्यकाल र प्रकृतिसँगको प्रेम, उनले बनाएका विद्यालयहरु र घर परिवार त्यागेर भिक्षु भएको कथा ।
अवधेश त्रिपाठी लुम्बिनी छेउको हुनेखाने बाहुन परिवारमा जन्मेका थिए । घरपरिवार र समाजसँग नजिकिने बुबालाई गाउँमा इज्जत गर्थे । एक जना फिरन्ते काका जोगी भएर हिँडेका थिए । जोगी काका बर्षमा एक फेर घर आउँथे । बालख अवधेश डुली हिँड्ने काकाका रुमानी कथाहरु सुनेर रमाउँथे । अवधेशलाई गाउँसमाजमा बुवाले पाएको मानसम्मान र मायाभन्दा जताजता पाइलाले डोर्याउँछ उतै जाने काकाका रुमानी कुराले उडाएर टाढा टाढा लैजान्थ्यो ।
त्यो मधेशी केटो पढ्ने स्कुलमा आँपका रुखका पर्खाल थिए, हाँगाबिँगाका छाना र माटोको बिछ्यौना ।
५ कक्षापछि अवधेशकाे जिन्दगीले नयाँ मोड लियो । स्कुलमा साइकल चढेर आएकी एक भिक्षुणी र बालबालिकालाई रुखविरुवा माया गर्न सिकाउने तालिम दिन आएको एउटा संस्था ।
प्रकृति क्लबका सदस्यहरु खोलै खोला डुल्थे । बोटविरुवा हेरेर रमाउँथे । चराचुरुङ्गी गन्थे । गुँड र अन्डा गन्थे । खोलाखोली डुली हिँड्ने अवधेशको खोला जस्तै लामो बाटो त्यति बेलै तय भयो ।
किताब किन्न नसकेर पढाइ छाड्नुपर्ने विद्यार्थीहरुलाई पुराना किताब खोजिदिन थाले । वरपरको समाज बदल्न कापी किताब नै चाहिन्छ भन्ने पाठ अवधेशको जिन्दगीको किताबमा उतिबेलै लेखियो ।
एसएलसीपछि अवधेश साइन्स पढ्न काठमाडौं गए मन चाहिँ गाउँमै छाडेर । मन र तन सँगै हुन नपाएपछि छटपटी भयो । हिउँदे विदामा गाउँ आएका बेला अवधेश र साथीहरुले गाउँका नानीबाबुहरुलाई आँपका बगैंचामा ट्युसन पढाउन थाले । कहिल्यै विद्यालय नदेखेकाहरुको जमघट बगैचामा हुन थाल्यो ।
अवधेश र साथीहरुलाई पढाउने काममा लत बसिसकेको थियो ।
अवधेश पढाई सढाई छाडिदिएर गाउँमै फर्के । र आँपको रूखमुनि जन्मियो एउटा सानो विद्यालय ।
घरपरिवारका विशाल अपेक्षाहरुलाई चटक्कै छाडिदिएर एउटा स्कुलको पछि लाग्नु अवधेशको लागि सजिलो निर्णय थिएन ।
अवधेशले क्याम्पसको पढाइ मात्र होइन परिवार पनि छाडिदिए । उनी आजकल गेरु वस्त्रमा घर परिवारबाट टाढा भेटिन्छन् । साथीभाइहरु अवधेश दाइ भनेर बोलाउँदैनन् । उनी भिक्षु मेत्तेय भइसके ।
भिक्षु, जोगी भन्ने बित्तिकै हाम्रो कल्पनामा मन्दिरभित्र जपध्यान गरेर बस्ने अर्ति उपदेश र प्रवचन दिने वयोवृद्ध बोरिङ मान्छेको कल्पना थियो । तर यी भिक्षु फुर्सद हुने बित्तिकै दुरबीन भिरेर चरा हेर्न वन जंगल हिँड्दा रहेछन् ।
हुन त उनी सांसारिक झमेला र माया मोह त्यागेर भिक्षू भएका । तर सानै उमेरदेखि उनको माया स्कुल जान नपाएका नानीबाबुमा बस्यो । मोह चाहिँ बोटविरुवा र चराचुरुङगीमा । घर परिवार त्यागेपछि भिक्षु मेत्तेयको जिन्दगीको परिधि झन् फराकिलो पो भयो ।
बुद्ध जन्मेको ठाउँ लुम्बिनीका मन्दिर दर्शन गर्न टाढा टाढाबाट तिर्थालू आउँथे । अवधेशका लागि लुम्बिनीका बँगैचा दिनहुँ हिँड्ने डुल्ने ठाउँ थियो । यहाँका रुख विरुवा मन्दिर थिए पशु पंक्षी भगवान ।
लुम्बिनीका हरियोपरियो मासेर ढुङ्गा गिट्टीका महल बनाउने कुराको कट्टर विरोध गर्थे युवा जोशका अवधेश र साथीहरु ।
ध्यान मार्गमा हिँडेका अवधेश आफूले सुरु गरेका स्कुलहरुलाई दीर्घायू दिएर घुमन्ते जीवन बाँच्न क्यानडा पुगिसकेका थिए । तर लुम्बिनी विकास कोषको उपाध्यक्ष बन्न उनैलाई बोलाइयो । भन्ते यसलाई कर्मले बोलाएको भन्छन् ।
हिउँदे विदा सदुपयोग गर्न आँपका रुखमुनि सुरु गरिएका ट्युसन कक्षाहरु अहिले ३ वटा राम्रा विद्यालय भइसकेका छन् । करुणा स्कुलमा केटीहरु मात्र पढ्छन् ।
भिक्षु मित्तेयसँग हामीले लुम्बिनी वरपर २ दिन बितायौं । यो छोटो समयमा लामो बितेको कथा थियो । भिक्षू मेत्तेयको जीवन जस्तै । यो शान्त देखिने मान्छेको हलचलको कथा थियो, नदी जस्तै ।