Ekadeshka Dakaharu EP34

एकादेशमा धनुषा जिल्लाको झिँझा भन्ने गाउँमा डाँकाहरु बस्ने गर्थे । माधव पासवान र राजलाल पासवानहरु उ बेलाका कुख्यात डाँकु थिए । उनीहरु टाढा टाढासम्म डकैती गर्न जान्थे र परिवार पाल्थे । झिँझाका अधिकांशको पुर्ख्यौली पेशा नै डकैती थियो । बाबु बाजेले गरेको पेशा माधव र राजलालहरुले सिकेका थिए । 

३५ सालतिर धनुषाका डाँकुहरुलाई सर्लाहीको लालबन्दी नजिकै जंगल फाँडेर पुनर्वास गराइने भयो । सिमावर्ती विहारमा पनि यस्तै डाँकुहरुलाई त्यहाँको सरकारले सामान्य जीवनमा फर्काउन थालेको थियो । अनि पन्चायतकालमा सशस्त्र विद्रोह सुरु गरेका काँग्रेसलाई तह लाउन यी डाँकुहरुलाई प्रयोग गरिएको पनि सुनियो । त्यसैको बदला डाँकुहरुलाई सरकारले नै घरबास जोडेर नयाँ ठाउँमा राखिदिने भयो रे । 

हातहतियार बोकेर लुटपाट गर्दै हिँड्ने जमातलाई अचानक सामान्य जीवनमा फर्काउनु सामान्य कुरो थिएन । सबैभन्दा पहिले डाँकुहरुलाई हातहतियार र गोली गठ्ठा बुझाउन लगाइयो । पुराना डाँकुहरु उबेला सलेन्डर गरेको सम्झन्छन् । पुनर्वास कम्पनीले जंगल फाँड्यो । धनुषाको झिँझादेखि डाँकाहरु सपरिवार लावालस्कर लागेर आए । सरकारले १८ महिनासम्म रासन पानी र भत्ता दिए र क्याम्पमै राख्यो । स्कुल र स्वास्थ्य चौकीहरु खोलिए । 

३५ सालमै डाँकुहरुको उपचार गर्न खोलिएको स्वास्थ्य चौकीमा खटिएका थिए स्वास्थ्यकर्मी मोहन सिँह । 

डाँकाहरुलाई आफ्नो थलोमा ल्याएर राखेकोमा वरपरका गाउँले त्रसित भए । अनि सुरु भयो मित लगाउने चलन । डाँकाहरुसँग दोस्ती गर्न वरपरका गाउँले आएर भकाभक मित लगाउन थाले । 

डाँकुहरु बिस्तारै खेतीपातीमा रमाउन थाले । जिन्दगीमा थुप्रै डाँका डालेका अठ्तीसलाल पासवान आजकल घर वरपरको ताडको रुख चढ्छन् । ताडीका थोपा थोपा संचय गर्छन् र बेच्छन् । उनलाई मिहेनतको फल मिठो लाग्न थालेको बर्षौं भइसक्यो । 

श्रीमाधव पासवानलाई पनि पछाडि फर्केर हेर्न मन लाग्दैन । पछुतोले उनका आँखा भरिन्छन् । आजकल त उनी धर्मकर्म र अध्यात्ममा पनि रमाउन थालेका छन् । 

पुनर्वास गाउँका नयाँ पुस्तालाई त आफ्नै बाबु बाजेले गरेका कामहरु कथा जस्तै लाग्छ । बाबु बाजेले गरेका कामकै कारण विद्यालय र छरछिमेका उनीहरुले थुप्रै वचन र अपमान खाएका छन् । 

गाउँका युवाहरु कोही पढ्छन् कोही जागिर खान्छन् । धेरै चाहिँ विदेश जान्छन् । पहिले पहिले बाउ बाजेहरु समूह बाँधेर डकैती गर्न जान्थे । आजकल उनीहरु समूह बाँधेर विदेश जान्छन् । 

No responses yet

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply