के हिउँद,के बर्खा ? कहिले शहर, कहिले खर्क, समय दौडिरहेछ, तिमी नपर्ख !
उकाली-ओराली गर्न सिकाउने भूगोल र साहस दिइरहने हिमाली हावाले यस्तै भनिरहेछ । जुम्ला, पातारासीकी सविता र राममायाले समयको दौडाई पछ्याउने कोशिस गरिरहेका छन् ।
सविता र राममाया साथी हुन् । उनीहरु दाैडनका लागि मैदान जान तरखर गर्दैछन् । घरबाहिर हिउँ जमेको छ । आमाले पकाएकाे काेदाेकाे जाउलाे खाएर उनीहरू घरबाट निस्किए ।
उनीहरूका गुरु हरि रोकाया र साथीहरू मैदानमा आईसकेका छन् ।
मैदानबाट टोलि बाँडियो । कोही उर्थु पुग्ने गरि दौडिए । कसैले राजासिम मैदानमा फन्को लगाए । टाेलिमै मिसिएर दाैडिरहेका गुरु हरि राेकाया एकैछिन् राेकिए -‘जाडाे गर्मी दुवै माैसममा ट्रेनिङ दियाे भने उनीहरु जस्ताे समयमा पनि दाैडिन सक्छन् । त्यै भएर यहाँ हिउँ परेकाे ठाउँमा दाैडाएकाे ।’
आफैं दौडन आएका प्रकाश कठायतले साथीहरुलाई कसरत पनि सिकाउँछन्। दौडिनकै लागि उनी घर छोडेर सदरमुकाम बस्छन् ।
राममायाकी दिदी सुनमाया बुढा अन्तर्राष्ट्रिय धावककाे रुपमा चिनिन्छिन् । दिदी दौडिएर देश विदेश पुगेको देख्दा उनलाई पनि दौडिने साहस जाग्यो । त्यही साहसले उनी देशभरि विभिन्न प्रतियाेगितामा सहभागी भईन् । उनको पोल्टामा सुदुर पश्चिमदेखि सुदुर पूर्वसम्मका जीतहरुको तक्मा छ ।
छाेरीहरु राममाया र सुनमायाले विजयको प्रमाण पत्र बाेकेर घर फर्किँदा आमा खुसी नहुने कुरै भएन।
‘याे दगुड्न्या काम राम्माे हाे कि नराम्माे हाे माेकन था नाई । त्यइपुनि छाेरीहरुले गाउँकाे, आमा-बुबाकाे, गाविसकाे संसारैभर नाउँ राखिन् भनेर खुसी भयाँ हुँ ।’-आमा मुनकली बुढा उज्यालाे अनुहारमा खुसी पाेख्छिन् ।
रुकुम आसबिसकोटकी कल्पनाको सानैदेखि धेरै पढ्ने सपना थियो । तर ८ कक्षा पढ्दै गरेकी कल्पनाकाे स्कूल छुट्याे । स्कूल छुटेपनि कल्पनाकाे पढ्ने रहर भने छुटेन ।
१५ वर्ष अघि भारत गएका उनका बुबा न त घर फर्किए न त सम्पर्कमा नै छन् । ५ छोराछोरीलाई कल्पनाकी आमा एक्लैले हुर्काएकी हुन् ।
आफैंले कमाएर पढ्ने किशोर सपना बोकेर कल्पना भारततिर लागिन् । भारतमा धेरै नेपालीहरु भेटिन् तर बुबा भेटिनन् । पैसा कमाएर पढ्ने सपना बुनेकी कल्पनाले बिहेपछि श्रीमानले पढाउछ भन्ने आश्वासन पाएपछि भारतमा काम गर्दै गरेका राेल्पाका एक युवासँग बिहे गरिन् । तर सानै उमेरमा बिहे गरेकी कल्पनाले उमेरभन्दा धेरै दु:ख भाेग्नु पर्याे ।
समय बित्दै गयाे । आँटी कल्पनाले हरेस खाइनन् बरू बिबाह घर त्यागेर आफ्नाे सपनाकाे बाटाे पछ्याउदै जन्मघर फर्किईन् । उनलाई आमा र दाजुकाे साथ मिल्याे अनि फेरि पढाईलाई निरन्तरता दिईन् ।
‘गाउँकाले बिहे घर छाेडेर आएकी छाेरी भनेर कत्ति कुरा काटे । तर मैले उनीहरुकाे कुरा वास्ता गरिनँ । छाेरीकाे इच्छा अनुसार पढाेस् । पढेर केही गर्न सक्छ। म जस्तै दु:खी नहाेस् भनेर उनीहरुकाे सपनामा मैले साथ दिईरहेकी छु ।’ कल्पनाकी आमा छाेराछाेरीकाे साहस बनेकी छिन् ।
अहिले १२ कक्षामा पढ्दै गरेकी कल्पना प्रहरी बन्ने सपना बोकेर बिहानै शारीरिक व्यायाम गर्छिन् । शारीरिक व्यायाम गर्न उनका दाजु र साथीहरुले सहयाेग गर्छन् । आज सबेरै प्रहरीको लिखित परीक्षा दिन नेपालगञ्ज जान लागेकी छोरीलाई आमाले बिदा गरिन् कल्पना प्रहरी बन्ने सपना बोकेर बाटो लागिन् ।
“यो पालि त लास्ट गर्मी खाने भइयो है ?” चार जना यात्रीको मुखबाट कम्तिमा एकपटक त यो वाक्य निस्किएकै थियो । हाम्रो जिप जता–जता जान्छ उतै–उतै बगेको छ त्रिशूली । त्यहि नदी हेर्दै कविता फुराउने साथीहरु आज चाहिँ ‘उफ्’ शिर्षकमा कविता भनिरहेझै भान हुन्थ्यो । सधैँ पहिरोले हैरान पार्ने मुग्लिनको बाटो अहिले त खत्रा बनाएछ । पिच पनि क्या सलल छ । एकैछिन झ्याल खोलेर हावा खाउँ त भन्यो, हावा हो र भने जस्तो लाग्ने । तातो ! मुग्लिन काटेर चितवन आईपुग्दा हावाको कुरा बन्द भइसकेको थियो । तातो हावासँग हामी अभ्यस्त भइसकेका थियौं । केहि समय चितवन चाहारेर हामी हेटौंडा हान्नियौँ ।
झमक्क साँझमा पुगियो कमाने । हेटौँडाको कर्रा खोलापारिको एउटा गाउँ । बजार बन्दै गरेको गाउँ । हामी चार जना साथी कथा खोज्न लाखापाखा लाग्यौँ । म बाटो छेउ टुसुक्क बसेँ । बिहानदेखि लखतरान जिउले थोरै आड पायो । तातै भएपनि हावा खाउँ भनेको उल्टै लामखुट्टेहरुले मेरो रगत खाए । तिनिहरुलाई प्याट्ट पार्नु सिवाय अरु उपाय देखिनँ । मेरो दाहिने हातले लामखुट्टे मारिरह्यो । कति सजिलो छ है, लामखुट्टे मार्न ? धेरै मेहनत गर्नै नपर्ने । साँच्चै एक साँझमा कति लामखुट्टे मर्छन् होला ? अनि के तिनका परिवार र प्रियजनले आफन्त मरेको थाहा पाउलान् ? हेर्ने कथाको लागि कथा सुन्न गाउँ पसेको म, लामखुट्टे प्याट्ट पारिरहेँ । ‘एकजना दिदीले मेरो कुममा थ्याप्प हात राखिन् र भनिन्, कति लामखुट्टे प्याट्ट पारिरहनुहुन्छ, हिँड्नुस हाम्रो घर।’ म उनको पछि लागेँ ।
एक हजार रुपैंयाबाट सुरु गरेको मसला कुट्ने मिल अहिले कमानेकै नामी मिल कसरी बन्न पुग्योे दिदीले आफ्नो कथा सुनाईन् ।
भोलिपल्ट बिहान हेटौंडाको जामे मस्जिद वरिपरि घुमिरहेँ । मेरो काम मस्जिद र मान्छेका अनेकथरि फोटो खिच्नु र कुराकानी गर्नु थियो । तर काम गर्न मलाई हम्मे–हम्मे पर्यो । क्यामेरा समाउनु पर्ने हात खाने कुराले भरिए । कसैले आइसक्रीम, कसैले चिसो पानी, कसैले के । हुँदा–हुँदा मस्जिदका मौलानाले खाना खान आफ्नो घर जान कर गरे । ‘नाइँ’ भन्नै सकिनँ । अचम्म लाग्यो – यो कस्तो आत्मीयता ? यो कस्तो सौेहार्दता ? नचिनेको मान्छेलाई घरनै लगेर सत्कार गर्ने । त्यो दिन मुसलमानहरुको चाड रमजानको अन्तिम दिन थियो । मस्जिदमा एकजनाले भनेका थिए आजको दिन, ‘दिनु, बिर्सिनु र उत्सब मनाउनु हो ।’ मौलानाले के दिए, के बिर्सिए र कसरि उत्सब मनाए म व्यक्त गर्न नसकुँला । मैले चाहिँ साथ दिएँ, गर्मी बिर्सिएँ र सद्भावको उत्सव मनाएँ ।
काठमाडौंबाट तराई हिँड्ने अघिल्लोे दिन सहकर्मी विद्या चापागाईलाई मैले सोधेकी थिएँ, ‘खासमा देहात भनेको के हो दिदी ?’ उनले भनिन् “ शहरदेखि टाढाका गाउँ ठाउँलाई देहात भनेको सुनेकी छु ” यो सुनेको कुरालाई मैले देख्नु थियो ।
चुरेका ससाना थुम्का । दायाँ बायाँ जंगल । अमलेखगन्ज हुँदै पथलैयासम्म पुग्दा ‘वाउ’ शब्दले ‘उफ् गर्मीलाई’ फ्लप खुवायो । तर यो धेरैबेर टिकेन । जब हामी पथलैया काटेर सिमरा हुँदै बिरगंजतिर सोझियौं ।
फराकिलो बनाउन जता–ततै बाटो खनेको, धुलो र धुँवा उस्तै, हर्न बजाएर हैरान । उफ्, गर्मीको त के कुरा ! उनन्चालिस डिग्री । वीरगंज शहरसँग मेरो पहिलो अनुभूति कस्तो कस्तो भयो । भोलिपल्ट देहात हेर्ने खुसीले वीरगंजलाई बिर्सिदिएँ मैले ।
भुँईतले होचा घर ।भित्ताभरि बुट्टा भरेका । ढोकामा रङगीचङगी पर्दा, आँगनछेउ गाईबस्तु कुँडो खाईरहेका ।हिजो धुलोले दिक्क भएर वीरगंज शहरको होटलमा सुतेकी म बिउँझिदा छपकैया छेउको गाउँमा थिएँ । मलाई थाहा छ, बिहान होटलबाट आधा घण्टा गाडी चढेर यो ठाउँ आईपुगेको हो म । तर किन किन यही गाउँमा बिउँझिएको भन्न मन लाग्यो ।
बुट्टा भरेका मध्ये एउटा घरमा अंग्रेजीमा लेखिएको थियो ‘निरज’ । त्यतै दगुरिरहेका केटाकेटीलाई मैले सोधेँ ‘यो कस्ले लेखेको ?’ सबै केटाकेटी ‘उस्ले, उस्ले’ भन्दै कराए । त्यही घरको भित्तामा अडेस लाएर सानी केटी बिस्तारै बोलिन्, ‘मैले’ । अनि तिम्रो नाम ? ‘निर्जना’ अनि यहाँ त निरज लेखेको छ त, ? ‘हैन मेरो भाईको नाम लेखेको, दिपावलीमा ।’
‘वाउ ! कस्तो मीठो !’ मेरो बोली प्वाक्क फुट्यो । निर्जनासँग मीठो कुरा भयो । “म चारमा पढ्छु सरकारी स्कुलमा, भाइ एकमा पढ्छ, र्बोडिङमा” छुट्टिने बेला निर्जनाले सुर्नाई । मैले ‘ए’ को मुन्टो हल्लाएँ ।
त्यहीदिन हामी लङ्गडी भन्ने ठाउँ जान हिड्यौँ । पोखरिया हुँदै लङ्गडी जाँदा छपकैया जस्ता थुप्रै गाउँ देखेँ। पहाडतिरको मेरो गाउँभन्दा यहाँ देहातमा अचम्म लागेको एउटा कुरा चाहिँ गाईबस्तुलाई कुँडो खुवाउने ताउलो । हाम्रोतिर तामा, ‘सिलवट’ यस्तै–यस्तै चिजले बनेको ताउलोमा कुँडो पकाउँछन् र त्यस्तै भाडामा खुवाउँछन् । यहाँ चाहीँ आँगनमै ड्याम्म पारेर सिमेन्टको ताउलो बनाउने रहेछन । अनि त्यसमा कुँडो दिने ।
देहातका यस्तै नौला कुरा नियाल्दै दुई घण्टा गाडी चढेर लङ्गडी चोक पुगियो र भेट भयो चुरा बेच्दै गाउँ डुल्ने सरिफा मियासँग । पहिले गाउँका हरेक घरका कम्तिमा एकजना महिला चुरा बेच्न हिँड्थे रे । अहिले कमिला खातुन र उनकी बुहारी मात्र यो काम गर्छन् । घरगाउँमै पसल खुल्न थालेपछि चुरा धागो पनि पसलमै पाइन थाल्यो । तर, पैंसठ्ठी बर्षकी कमिलालाई भने गाउँ डुल्नै रमाइलो लाग्छ ।
म पनि कमिलासँगै हिँडे । आफ्नो काममा चितवन, नारायणघाटसम्म पुगेकी कमिलाले भोजपुरी भाषा नेपालीमा उल्था गर्दै मलाई गाउँ घुमाईन् । उनी गाउँ छिरेपछि सबै झुम्मिने रहेछन् । घर–घरमा चुरा लगाई दिँदै, कतै पानी कतै खाजा खाँदै कमिला हिँडिरहिन् । म पछ्याईरहें । सबै हाँसी खुसी । कस्तो रमाईलो । अझ पाहुनालाई त केहि न केहि नखुवाई फर्कनै नदिने । कस्तो आत्मीयाता । देहातसँग मेरो दिल बस्न थालेछ ।
कमिला खातुन गाउँबिच एउटा पसल छेउमा बसेर त्यहाँ आउनेलाई चुरा लगाइदिन थालिन् । एकजना आमा यो चुरा भएन, यो साइज मिलेन भन्दै चुरा हातमा लिएर पटक पटक ओहोर–दोहोर गरिन् । मैले सोधेँ, ‘तपाईंले कस्का लागी चुरा छान्नु भएको ? ‘ ‘नयाँ बुहारी हो, बच्चा भएको छैन । घरबाट बाहिर निस्कन मिल्दैन’ उनले भनिन् ‘किन नि ? मैले फेरि सोधे । ‘हाम्रो चलन यस्तै छ’ मैले ‘ए’ को टाउँको हल्लाएँ
अर्काे घरमा कमिला आमाले पानी मागिन् । पर्दाको छेल पारेर ढोका भित्रैबाट कसैले पानी दियो । म ‘नछुने हुँदा’ आमाले अलग्ग पानी दिएजस्तो । अब त मैले पनि चाल पाएँ – उनी पनि नयाँ बुहारी होलिन् ।
अर्को दिन म, झौवागुठी गाउँतिर हिँडे । ७ कक्षामा पढ्ने भवानी कुमारी राम, धागोको फुल बुन्दै थिईन् । वाउ कस्तो राम्रो । भवानीकी आमाले बस्नलाई कुर्सी दिइन् । म भवानीसँगै भुइँमा थचक्क बसें । ओहो, यस्तो राम्रो बुन्न कसरी सिकेको ? कस्ले सिकायो ? ऊ उत्तर दिँदै गई ‘आफैं सिकेको, यतिकै’
बेनाले(पंखा )आफु र मलाई हुने गरि हावा हम्किरहेकी भवानीकी आमा मुसुक्क हाँस्दै भनिन् “हाम्रोतिर यस्तै चलन छ । छोरीहरुले, घर सजाउने फूल, बेना आदि बुन्छन् अनि बिहे गरेर जाँदा आफ्नो घरमा यी सामान पनि सँगै लैजान्छन् । माईतीको सम्झना’ यो गर्मीमा हावा हम्कने बेना पनि तिम्ले नै बुनेको हो ? उसले हो, को टाउको हल्लाई । ‘तपाईले बिहे गरेर आउँदा ल्याएको बेना छ त ? आमालाई सोधें मैले । ‘छैन मलाई त केहि बनाउन आउँदैन” हामी सबै हाँस्यौं ।
छुट्टिने बेला भवानीले एउटा बेना मेरो हातमा थमाई ।
हामी फर्कँदा काठमाण्डौँमा पनि तापक्रम ३२ पुगेछ । कार्यलयमा, विद्या दिदीले सोधिन्, देहात भनेको के रहेछ त आशा ?
भवानीले दिएको बेनाले हावा हम्किँदै, मैले भनें, “गाउँ टाढा, माया गाढा”
हेर्ने कथा खोज्न हामी पश्चिम नेपालको यात्रा मा निस्किएका छौं । यात्राका अनुभव भ्याएसम्म लेखेर तपाईंलाई सुनाउनेछौं । हामीले खोजेका कथाहरु हेर्ने कथामा बिस्तारै देखाउँदै जानेछौं
हेर्ने कथामा अहिलेसम्मका अंकहरुमा एक्लो कथा ले केही रेकर्डहरु तोड्यो । पहिलो सबैभन्दा छिटो १ लाख पटक हेरिने कथा । दोस्रो अहिलेसम्म सबैभन्दा धेरै कमेन्ट गरिएको कथा ।
यो लेखिरहँदा एक्लो कथामा युट्युबमा मात्र १७ सय ५० कमेन्ट छन् । फेसबुक र ट्वीटरमा पनि सयौं भावनाहरु शब्दमा पोखिएका छन् ।
कथा खोज्दै हिँडेका हामी केही दिन यता धनकुटामा छौं । धनकुटा सुन्दर छ ।
असाध्यै गर्मी हुने – समुद्री सतहबाट २५० मिटरको उचाईका बगर र चैते धान फल्ने – ताता फाँटहरुलाई तमोर नदीका छालहरु जिस्काउँदै ओरालो लाग्छन् । कहिल्यै गर्मी नहुने लगभग २२ सय मिटरका टाकुराहरु बङ्गालका खाडीबाट आएका बादललाई बाटो देखाउँछन् ।
कक्षा ६ मा पढ्ने बेला को कुरा हो, अर्को गाउँको कुकुर हाम्रो गाउँ घुम्न आयो । त्यति बेला हाम्रो कुकुरमोहले त्यो कुकुर छोप्न म र धुर्ब २ जना पछि लाग्यौं । दुगुर्दा दुगुर्दा त्यो कुकुरकै गाउँ पुग्यौं । त्यहाँ पुग्दा त्यो कुकुर सँग भेट हुन आईपुग्यो रवि । २ वटा कुकुर भेट भएसी हाम्लाई समाउन सजिलो भयो । रबि लगभग १ बर्ष जतिको थियो । हामीले पछ्याएको ठूलो कुकुरलाई बाबियोको डोरीले बाँधेर डोर्याउँदै आउँदा पछिपछि आएको थियो रवि ।
हरेक मान्छे एउटा कथा – विद्या चापागाई – एक साँझ अनायसै भेटिएका आँखा देख्न नसक्ने एकजना भाईले आफ्नी प्रेमिकाको रुपरंगको व्याख्या गरे । त्यो प्रेम कति मिठ्ठो । ह्लीलचियरमा अन्नपूर्ण पदयात्रा गरेका पत्रकार गजेन्द्र बुढाथोकीको यात्राको बखान: त्यो यात्रा कत्ति मिठ्ठो । वर्षदिन अघि भोजपुरमा भेटिएका सेन्मिखा भाईले आफ्नो नामको बखान गरे । त्यो नाम कति मिठ्ठो । अघिल्लो महिना दाङमा भेटिएका चन्द्रवीर बाले खुसीको बखान गरे । त्यो खुसी कत्ति मिठ्ठो । बाग्लुङको ढोरपाटनमा भेटिएकी सुर्विता आमाले साउदीमा मरेको छोराको बखान गरिन् । त्यो ममता कत्ति मिठ्ठो । सिन्धुपाल्चोक सेलाङका गुरुङबा मरेर गए । गाउँमा विजुली बालेरै छोड्छु भन्थे । आजकाल गाउँ झलमल्ल छ । गुरुङबाको त्यो सपना कत्ति मिठ्ठो । सिराहामा भेटिएकी थिइन् सानी नानी । साउदी पुगेका बाबाले रंगीन टिभी ल्याउँछन् भन्थिन् । त्यो आश कत्ति मिठ्ठो । कथा त कत्ति कत्ति ।
विद्या चापागाई सहित हामी हेर्ने कथा टोली चन्द्रवीरको घर भर्खरै पुगेका थियौं । खुलेर कुराकानी भइसकेको थिएन । हाम्रो टोली उनको आँगन वरपर थियो । चन्द्रबीर र साइँला छोरा लोकराज आँगन छेउको फलेकमा बसेका थिए । चन्द्रबीरका अरु सन्तानजस्तै लोकराज पनि आँखा देख्दैनन् ।
चन्द्रबीरको घरमा टिभी छैन । रेडियो चाहिँ उनीहरुको हरवखतको साथी रहेछ । सबैजना रेडियो सुनिरहन्छन् । रेडियो बजिरहन्छ । चन्द्रवीरले कथामा पनि भनेका थिए राति १० बजे रेडियो बन्द हुन्छ अनि सुत्छु भनेर
लोकराजले हेर्ने कथा सहकर्मी विद्या चापागाईंको आवाज चिने चिने जस्तो गरे । त्यसपछि भएको थियो यो रमाइलो संवाद । हामीले मोबाइलमै भए पनि यो पर्दापछाडिको यो संवादलाई कैद गरेका थियौं ।
जिन्दगीका बाटाहरु – विद्या चापागाई – बुवा दुध बेच्न जानुहुनथ्यो । घरका वस्तुभाउका दूधले मात्र पुग्दनथ्यो । गाउँबाट दूध किन्नुहुन्थ्यो । हल्का पानी मिसाउनु हुन्थ्यो । अनि दूधको स्वाद नपाएका शहरियाहरुलाई बेच्न जानु हुन्थ्यो क्यानमा बोकेर । आमा साग बेच्नुहुन्थ्यो । कठै, सागमा त के मिसाउनु । साग, सागै हुन्थ्यो । हरिया कलिला साग । गोबरको रस पाएर हुर्केका साग । बुवाले दूध बेचेर र आमाले साग बेचेर हाम्रो घरको गुजारा चल्थ्यो ।
जग्गा जमीन प्रशस्तै थियो । शहर नजिकै थियो । तर खै किन हो हाम्रो काँठ असाध्यै पछि परेको थियो । मेरो जिन्दगीका आदिम बाटाहरु बुवा दूधको क्यान बोकेर तर्ने वागमतीका घाटहरु थिए । अनि थिए आमाले साग बेच्ने बौद्धका गल्लीहरु । हामी जन्मी हुर्केको एयरपोर्टसँगैको गोठाटार त काठमाण्डूको आर्थिक, सामाजिक, राजनीतिक कुनै पनि नक्सामा थिएन ।
‘चौकिनीको कथा’को कथा – विद्या चापागाई – अघिल्लो साता हामी काठमाडौंमै थियौं । शहरमा नारी दिवसको रमझम थियो । मान्छेहरु महिलाका अधिकारबारे आफ्ना बेजोड धारणाले सामाजिक सन्जालका भित्ताहरु रङ्गीन बनाइरहेका थिए । ‘भजाइना मोनोलोग’ जस्ता नवीन विषयहरुले नारी दिवसका एजेन्डाहरुलाई थप रोमान्चित बनाएको थियो । हामी भने ढोरपाटनमा भेटिएका चौकिनीहरुको कथाका पानाहरु पल्टाउँदै सम्पादनको चरणमा थियौं ।
बोवाङ
ढोरपाटन जाँदा हामी बोवाङमा बास बस्यौं । बाक्लो बस्ति थियो । अँध्यारो हुनै लाग्दा पुगेका थियौं हामी । होटलहरु बिरलै रहेछन् ।
‘यहाँ होटलको समस्या छ । एउटा घरमा खाने बस्ने व्यवस्था मिलाएका छौं’ वडा अध्यक्ष दीपक थापाले सहयोग गरे । एउटा घरमा पुर्याएर हामीलाई छोडिदए ।
अँगेना वरिपरि एक आमा र दुई छोरी बसेका थिए । आफूहरुको लागि बेलुकाको खाना पकाइसकेका उनीहरुलाई हामीले बोझ थपिदियौंको भनेर अफ्ठ्यारो लाग्यो । उनीहरुले अफ्ठ्यारोलाई छिनभरमै दूर गरिदिए ।
११ पढ्ने जेठी छोरी प्रमिला । १० मा पढ्ने शर्मिला र ८ मा पढ्ने कान्छो छोरो । कान्छो भर्खर किताब कापी च्यापेर ट्युशनबाट फर्केको थियो । भान्छाको गुन्द्री ओछ्याइएको खाटमा किताब थन्क्याएर उ आमा र दिदीहरुलाई सघाउन भिड्यो ।
प्रमिला चाहिँ शिकार आरक्षभित्र काम पनि गर्दिरहिछन् । उनी कार्यलयमै बस्छिन् । छुट्टि पारेर आमा भेट्न आएकी । भोलि उनको फर्कने दिन रहेछ । भोलि विहानै ढोरपाटन तिर उकालो लाग्दा उनी हाम्री सहयात्री हुने भइन् । हामी दङ्ग पर्यौं ।
आमा चाहिँ ढोरपाटनको गाउँमा एक्लै बस्छिन् । अहिले जाडो छल्न बोवाङ आएकी सारा गाउँसँगै ओरालो लागेर । फागुन अन्तिम साता उनी पनि ढोरपाटन जान्छिन् । बोवाङको घरमा चाहिँ १० मा पढ्ने माइली छोरी र ८ मा पढ्ने कान्छो छोरो बस्छन् प्राय । किनभने ढोरपाटनमा हाइस्कूल छैन । उनीहरु पढ्नको लागि बोवाङ बस्नुपर्छ ।
हामी जस्ता पाहुनाहरु बेला बेला आइरहँदा रहेछन् । प्राय अचानक यस्तै साँझमा आइपुग्ने पाउनाहरुलाई बस्ने खाने सप्पै व्यवस्था यी ८ कक्षामा र १० कक्षामा पढ्ने दिदी भाइले गर्दा रहेछन् । भाइ भित्र बाहिर गरिरहन्थ्यो । कहिले गाग्रीभरि पानी बोकेर ल्याउँथ्यो । कहिले जुठा भाँडा उठाएर बाहिर लगिहाल्थ्यो । आमा छोराछोरीलाई यसो गर उसो गर भनिरहन्थिन् । मैले शहरतिर देखिने भेटिने उही उमेरका केटाकेटीहरुलाई मनमनै सम्झिएँ र उही उमेरका आमाहरुलाई पनि सम्झिएँ ।
यी केटकेटी सानै हुँदा बुबाले हेला गरेर अर्को बिहे गरेर पाखा लागेछन् । बुबाको माया विरानो भयो । आमाले दुःख जिलो गरेर तीन जना केटकेटी हुर्काइन् । यसै पनि बिरानो भइसकेका बुबा एकदिन बितेछन् । उनीहरुले खबर मात्र पाए । तर खम्बा झैं आमाको स्कूलिङ पाएका उनीहरु विचलित भएनन् ।
भोलिपल्ट विहानै आमा छोराले मकै भुटेर फिक्का चिया पकाइसकेछन् । हामीले त्यो खायौं र हिँड्ने सुरसार गर्यौं ।
बोवाङमा बिस्तारै न्याना दिनहरु आउने बेला भएको थियो । अब बोइलर हुर्किन्छन् । माइली छोरी विहानै बोइलरको चल्ला लिन बुर्तिबाङ जाने सल्लाह अघिल्लो साँझ नै भएको थियो ।
आमाका सल्लाह सुनेर माइली ३ घन्टा टाढाको बुर्तिबाङतिर पैदलै ओरालो लागिन् । हामी मोटर चढेर ढोरपाटनतिर उकालो लाग्यौं ।
ढोरपाटन
थुप्रै डाँडा काँडा काटियो । कहिले खोला कहिले जंगल । कुहिरो लागेको धमिलो मौसम थियो बाटोभरि । अचानक देउरालीबाट ढोरपाटन देखियो । ओहो कति सफा आकाश । कति राम्रा जंगल । हामीलाई के गरौं कसो गरौं भयो । न धुँवा धुलो । न हल्लाखल्ला । जाडोले खाएका ढोरपाटनका फाँटहरु पराल जस्तो देखिएका थिए । पाटनको बिचबाट सानो खोला बगेका थियो । ठाउँठाउँमा घरहरु थिए । पर पर घोडाहरु चरिरहेका थिए ।
हामी केही दिन अघि परेका हिउँ कुल्चँदं पाटन झरेर ढोरका गाउँ छिर्यौं । गाउँमा त कोही पनि छैन । प्राय घर ताल्चा लागेका । हामीले थाहा पाइसकेका थियौं । ढोरपाटन जाडोभरि बोवाङ झर्छ र न्यानो लागेपछि फेरि यतै फर्किन्छ भनेर ।
‘गाउँ रेखदेख चाहिँ कसले गर्छ?’
फाट्फुट्ट भेटिएका गाउँलेले सुनाए ‘चौकिनीले’
अनि हाम्रो कथाको विषय तिनै चौकिनी बने ।
उनीहरुको जीवनकालमै ढोरपाटन ७० पटक औलमा झरिसक्यो । उनीहरु यहिँका सुख्खा माटोमै रमाएर बसेका रहेछन् ।
कलिमा बिक र उनकी सौता अहिले चौकिनी रहेछन् । विहान बेलुकी सारा गाउँ डुलेर रेखदेख गर्ने उनीहरु नै ।
दाँतहरु झरेर एक दुइटा मात्र बाँकि थिए कलिमाका तर उनको जति हक्की आवाज मैले बिरलै सुनेकी थिएँ । गालाहरु चाउरी परेर ढोरपाटनका फाँटहरु जस्तै भइसकेका थिए । तर उनको जस्तो मीठो मुस्कान बिरलै देखेकी थिएँ मैले ।
ओहो यी बुढी आमैहरु सारा बलियाहरुलाई बेँसी पठाएर गाउँ कुरेर बसेका रहेछन् । चोर आयो भने समातेर लठ्ठीले हान्छु भन्छन् ।
ओहो यी बुढी आमैहरु कति एक्ला छन् । साथमा परिवार पनि छैन गाउँले पनि छैनन् । तर यहाँका खोला नाला र वन जंगलसँग कस्तो प्रेम उनीहरुको । जिन्दगी प्रति कुनै गुनासो नि छैन । अधिकार र मागका कुरा पनि छैनन् । राज्यले यो दिएन र त्यो दिएन भन्न सिकाउन पनि कोही आएको छैन ।उनीहरु सुखी हुन् कि दुःखी ? शायद यो प्रश्न उनीहरुको मनमा कहिले नि आउँदैन।
चौकिनीहरुलाई भेट्दा त एउटा ध्यान शिविरमा गएर आएजस्तै भयो । साँच्चै आनन्द लाग्यो मनभित्र ।
फेरि बोवाङ
साँझ अबेर आएर शर्मिलाकै घरमा बास बस्यौं । भोलिपल्ट विहान उठेर हिँड्ने बेला कलिलो घाम लागिसकेको थियो । शर्मिला हिजो बुर्तिबाङबाट ल्याएका चल्लालाई घाम तपाउँदै थिइन् ।
कपिलवस्तुका पत्रकार गोपाल भण्डारीले फोनमा सुनाएका थिए “केटीहरु मात्रै पढ्ने यहाँका धेरै मदरसामा पुरुषहरुले पढाउँछन् तर पर्दाभित्रैबाट । शिक्षक र विद्यार्थीले एक अर्कालाई देख्दैनन् ।”
सुन्दै अनौठो लाग्यो । “के हामीलाई त्यहाँ जान अनुमति मिल्छ ?” मैले सोधेकी थिएँ ।
“प्रयास गरौं” – उनले भने ।
यो कुराकानीको झन्डै एक सातापछि हामी पुगेका थियौं कपिलवस्तुको भैंसकुण्डा ।