जिन्दगीको कथा – समयका फरक फरक छालहरुमा तैरिँदै केही जिन्दगीहरु धनकुटाको मुलघाटस्थित तमोर नदी छेउ सुसाइरहेका छन् ।
मन्दिरमा बेला बेला बजिरहने घन्टका आवाज, आँपका डालीमा आएर कराइरहने कागहरु, एक तमासले सुसाइरहने तमोर, साँझ विहानको हरिकिर्तन । यस्तै छ यहाँको चित्र ।
प्राय सबै शान्त छन् । बिस्तारै हिँड्छन् । सुस्तरि बोल्छन् । कोही बोल्दै बोल्दैनन् । कोही दिनभरि एकनाश बत्ति कातिरहन्छन् ।
विश्रान्ति आश्रममा शान्त छ अहिले जिन्दगी । जिन्दगीले भोग्ने जति भोगिसक्यो, देख्ने जति देखिसक्यो र सहने जति सहिसक्यो ।
कोही गुमाएर आए । कोही हुँदा हुँदैको छाडेरै आए । सब जना थाकेरै आए । अहिले जिन्दगी एक्लो छ । शुन्य छ । अपेक्षाहरुको लेनदेन छैन । हिसाब किताब छैन । पाउनु गुमाउनु छैन । जिन्दगी खोला जस्तै बगिरहेछ । तमोर जस्तै ।
No responses yet