आमा

जय राई (लोहोरूङ)

कसैको जीवनप्रति न कुनै रिस, इर्ष्या, डाहा, लोप, संका, सन्देह, आग्रह, पुर्वाग्रह र बिना स्वार्थ एकहोरो माया अनवरत रूपमा कसैले गरिरहेको छ भने त्यो अरू कोही नभएर आफ्नै आमा हुन्। ‘आमा’ सामान्यतय नेपाली वर्णमाला भित्र पर्ने स्वर वर्णको ‘आ’ र ब्यञ्जन वर्णको ‘मा’ दुई वटा अक्षरहरू मिलेर बनेको एउटा एकदमै सरल शब्द हो। तर यसरी दुई वटा मात्र अक्षर मिलेर बनेको यस शब्दको अर्थ र महत्व भने अथाह छ। संसारका सामान्य देखि महान व्यक्ति व्यक्तित्व, साहित्यकार, इतिहासकार, दार्शनिक, वैज्ञानिक आदि सम्पुर्णले ‘आमा’ प्रति समर्पित गरेर बोलेका र लेखेका कुराहरू अनगिन्ती छन्, यद्यपी पुर्ण छैनन्। साँच्चै भन्नु पर्दा शब्दकोशका सबै शब्दहरू खर्च गर्दा पनि ‘आमा’ शब्दको न्यायिक अर्थ र परिभाषा दिन प्राय असम्भव नै हुन्छ। त्यसैले दुई-चार शब्दहरू जोडेर वा संयोजन गरेर ‘आमा’ शब्दको अर्थ खोज्ने र परिभाषा दिएर संकिर्णता बनाउने साहस म गर्दिन।
बच्चा, धर्तीमा जन्मिदाँ निकालेको पहिलो आवाजसँगै सिक्ने पहिलो शब्द अरू कुनै नभएर त्यहि ‘आमा’ हो। सिकेको त्यहि ‘आमा’ शब्द जसले यो सुन्दर संसार देखाइदिएको हुन्छ। जिन्दगीको पहिलो न्यानो स्पर्ष, मधुर आवाज, सुन्दर दृष्यको अनुभवसँगै पहिलो साथी, पहिलो प्रेम, पहिलो गुरू, पहिलो अविभावक र पहिलो पथप्रदर्शक सबै सबै उहि आमा हुन्। पेटमा बसेको त्यो सुक्ष्म भ्रुणसँगै झ्यागिदै गएको सन्तान प्रतिको माया, प्रेम र झुकाव आफ्नो अन्तिम घिट्को रहेसम्म निरन्तर दिइरहने व्यक्ति, न कुनै स्वार्थ न कुनै आश सदैव सन्तान प्रति समर्पित, आफु गुमनाम भएर पनि आफ्ना सन्तानहरूको सुनाम खोजिरहेकी जसको जिन्दगी आकाश भन्दा विशाल, धर्ती जस्तै सहनशिल र धैर्यवान, ममतामयी, मायाकी खानी तिनै हुन् महान आमा । आमा सृष्टिको पर्यवाची, जसको देनबाट अहिले सम्म संसार चलिरहेको छ। आमा छिन् र त हामी छौँ। प्रत्येक सन्तानको शरिरमा आमाको रगत बगेको हुन्छ्। यहिबाट प्रष्ट भइन्छ आमाको अर्थ र महत्व एक सन्ताकको लागि कति हुन्छ? यिनै महान आमाहरूको भिडमा यहाँ म आफ्नै ममतामयी आमाको कथा उठाउने प्रयास गरेको छु।

कदमा न त साह्रै होची न त सामान्य नेपाली महिलाहरूको औषत उचाइ नै। चिम्सा-चिम्सा काला आँखा, थेप्चो नाक अलि भ्यात्ता परेको हो की जस्तो, त्यसमाथि सानो तीन ढीक्के फुली। कलेटी परेको ओठ जसभित्र माथिल्लो अघिल्लो पट्टिको झरेको एउटा दाँत, फिस्स हाँस्दा धुम्रपानको आदतले रङ्गिएका रङ्गिन दन्त लहर। ढल्कदो उमेरले साथ छाड्दै गएको रूपको लाली र फस्रिदै गएको मुहारको कान्ति, हाँसोसँगै अनगिन्ती खुम्चिन पुगेका कोमल गालाहरू, मझौलो कानको लोतीमा सदैव झुन्डिरहने काँडेदार मुन्द्री अनि गलामा पोते। विस्तारै हिउ झैँ फुल्दै गएका तिल-चामले कपालमाथि सानो बोर्कीले गुथेको। सुतिको चोबन्दी चोली र फुलबुट्टे लुङ्गी, गहुँ गोरो वर्णकी, पहिले जुत्ता चप्पलको अनुभव सम्म गर्न नपाएको तर अहिले बेला बखत हाट बजार र भोज भतेर सम्म जाँदा विस्तारै जुत्ता चप्पल लगाउन बानी पर्दै गएका, हिलो माटोले खाएर खोपिल्टा र ध्वाजा फाटेका पाउहरू।

घाँस-दाउरा र हँसिया-कोदालो गर्दा गर्दै उठेका ठेउलाहरूले खस्रिदै गएका हत्केलाहरू। यसरी झट्ट हेर्दा नेपालको पहाडी कुनै दुर्गम ग्रामीण भेगकी उमेर ढल्किदै समय र परिस्थितिले भुक्तभोगी बनाएको अर्ध वृध्द आदिबासी महिलाको परिचय बोकेकी, जीवन गुजराका निम्ती साँझ बिहान घर परिवारको घर-धन्दा, वस्तु-भाउ, घाँस-दाउरा, मेला-पात गर्दा गाँऊ-बेसीका उकाली-ओराली र घुमाउरा बाटाहरू बिना थकान दैनिक नाप्दा नाप्दै समयको बइसठ्ठीऔँ वसन्तले नेटो काटेको पत्तै नपाएकी एक संघर्षशिल र हिम्मतवाली नारी, उनी अरू कोही नभएर उनै हुन् मलाई संसार देखाइ दिनुहुने ममतामयी महान आमा।

सानो छँदा, बेला बखत चाड-पर्वको अवसरमा आमा मामा-घर जानु हुदाँ आमाको पुच्छार बनेर मामा-घर जाने अवसर बडो मुस्किलले जुर्थ्यो। किनकी हामी पाँच जना सन्तानका एउटी साझा आमा, एक पटक मामा-घर जाँदा दुई जना सम्म लान सक्ने अवस्थामा, पालो पाउनै गाह्रो। सबै छोराछोरीहरूलाई एकै पटक लगौ न त भन्दा पनि लामो बाटो र हेरचाहको समस्याले असम्भव नै थियो आमालाई। त्यसैले मुस्किले पाएको मामा-घर जाने अवसर चुकाउने कुरै थिएन हाम्रो लागि। यसरी आक्कल झुक्कल मात्र आउने अवसर सदुपयोग गर्दै मामा-घर जाँदा मावली हजुरबा-आमा, मामा, माइजु र छरछिमेकहरू र बेला मौकामा आमा स्वयमले आफ्नो बाल्यकालको बारेमा कुरा गरेको सुन्दा उहाँ कुन समयमा जन्मनु भयो, त्यो त ठ्याक्कै भन्न सक्दिन र पनि उहाँको जन्म दोस्रो सन्तानको रूपमा एउटा ग्रामीण मध्यम किसान परिवारमा भएको थियो।

दोस्रो सन्तानको रूपमा उहाँको जन्म भएपनि पहिलो सन्तान सानैमा बितेको कारणले एक भाई र दुई बहिनीहरूको ठूली दिदि र आमा-बाबुका जेठी सन्तानको रूपमा परिचय विकसित हुने अवस्था आयो। बाँचेकाहरूमा जेठी सन्तान भएपनि जन्मने क्रममा दोस्रो सन्तान भएको हुनाले होला आमा-बाबुले नेपाली परम्परा अनुसार जेठी नभनी माईली भनेर बोलाउन थाल्नु भयो। तर दायित्व भने जेठी सन्तान कै रह्यो। उहाँको विध्यालय उमेर हुदाँ भर्खर भर्खर एकतन्त्रिय जहानिय राणा शासनको अवसान भएर प्रजातन्त्रको स्थापना तर अपरिपक्व राजनैतिक नेतृत्वको कारण भर्खर टुसाएको प्रजातन्त्रको कलिलो मुनालाई पुन पञ्चायत नामक किराले खाइरहेको अवस्थाबाट गुज्रिरहेको थियो। यस्तो अवस्थामा सुगम तथा उपल्ला वर्गका परिवारका छोरी चेलीले त औपचारिक शिक्षा लिन सहज थिएन भने दुर-दराजको एउटा सामान्य किसान परिवारमा जन्मिएकी एउटी छोरीले कहाँबाट त्यो अवसर र सुविधा पाउनु?

कखराबाट औपचारिक शिक्षा सुरू गरेर उच्च शिक्षा थालनी गर्ने उमेरमा, आमा-बाबुलाई काममा सघाउदै र भाई-बहिनीहरूलाई स्याहार्दै बित्यो। बाँचेकाहरूमा जेठी सन्तान हुनाले आमा-बाबु पछिको ठुलो जिम्मेवारी उहाँ मै थियो। घरमा घरधन्दा, वस्तु-भाउ देखि घाँस-दाउरा, मेला-पात सबै भ्याउनु पर्थ्यो। सानैबाट फुर्तिली, काम गर्नलाई जागरिली हरेक कामहरू आमा-बाबुले अर्याउनु भन्दा अगडि नै गरिसक्ने बानीले होला, घरमा मात्रै होइन त्यहाँको सानो टोल मै एक किसिमले उहाँको कामको तारिफ हुन्थ्यो रे। यसरी नै उहाँको बाल्यावस्था, किशोरावस्था र युवा अवस्था पनि आफ्नै ढंगले एक सामान्य किसान परिवारमा हुर्किएका बच्चाहरूको सरह बित्यो।
उहाँको विवाह युवा अवस्थाको घर्किदो समयमा एक सामान्य किसान परिवारको केटासँग भयो। दुखियालाई दुखले छाड्दैन भने जस्तै विवाह पछि पनि उहाँका दुखका पहाडहरू उस्तै आइरहे र आइरहेका छन्। नेपाली परम्परा अनुसार विवाह कार्यक्रमको अन्त्यमा बाजा बजाउनेहरूले नव दुलाह-दुलाहीलाई शुभलाभ, आशिर्वाद र शुभकामना स्वरूप दुलाहीलाई हरियो दुबो र चामालको अक्षता दिने चलन छ र त्यो हरियो दुबो र अक्षता दुलाहीले लगेर दुलाह घरको धान राखिएको ढुकुटीमा लगेर राख्नु पर्छ। यसरी दिइएको दुबो र अक्षता ढुकुटीमा राख्न जाने क्रममा ढुकुटी हेर्दा रित्तो अवस्थामा पाउदाँ र त्यहि रित्तो ढुकुटीमा ती दुबो र अक्षता राख्नु पर्दाको मनोदशा एक भर्खर नव दुलाही बनेर भित्रिएकी नारीले दाम्पत्य जीवन पछि देखेका अनेकौ सुन्दर सपना र सुखी रङ्गिन जिन्दगीको कल्पनाहरूको अवस्था के भयो होला? हो यहि अवस्थाबाट एक नयाँ वैवाहिक जीवनको लामो यात्रा सुरू भयो। अवस्था एकदमै नाजुक थियो।

हुन त कमल जही फाल्दिए पनि हुर्कन सक्छ अनि हिलो मै पनि फुलिदिन सक्छ, सबैले देखे कै कुरा हो। यसरी नै नाजुक र अभाविलो पारिवारिक अवस्थाको बीचबाट अनेकौ चुनौतीहरू चिर्दै धिम्धिमे गतिमा हातमा हात काँधमा काँध मिलाउदै नयाँ घरको जग बसाल्न सुरू भयो। कतिलाई विस्वास थिएन रे, कसरी घर संसार चलाउछन् भनेर। भनिन्छ नि हिम्मत, साहस, अठोट र जाँगर भयो भने मरूभूमिमा पनि फापर फलाउन सकिन्छ भनेर। हो त्यस्तै उहाँको हिम्मत, साहस र जाँगर त्यस्तै श्रीमानको साथ सहयोगले अविस्वासिला आँखाहरूलाई पनि विस्वासिला बनाउन बाध्य पार्नु भयो। तर यो अवस्था सम्म ल्याउन गर्नु परेका सङ्घर्षका कथाहरू कुनै रात देखिएका ऐठानिला सपनाहरू भन्दा कम छैनन्।

वर्ष दिनलाई खानै धौधौ र आर्थिक रूपमा पिल्सिएको परिवार सम्हाल्न आइपुगेकी नव दुलाही, दाम्पत्य जीवन सुरू भएको छोटो समयमै साना नानीहरूको एक्लै जिम्मेवारी लिइ सम्पूर्ण घर संसार चलाउनु पर्ने दिन पनि आउछ भन्ने कल्पना सम्म गरेकी थिइनन् होला। युगल दाम्पत्य जोडी हुदाँ त समस्याका जँगारहरू तर्नलाई हाम्मे हाम्मे भइरहेको अवस्थामा सम्पूर्ण जिम्मेवारी सुम्पिएर आफ्नो जीवनसाथी सदाका लागि विदा भएर जाँदा परिस्थिति कस्तो भयो होला? म एउटा श्रीमतीको तहमा गएर त्यो गहिराइ बुझ्न सक्दिन तर पनि आमाको शारिरीक, मानसिक तथा भावनात्मक अवस्था एकदमै साकस पूर्ण थियो भन्ने लाग्छ।

कहिले काही म सोच्ने गर्छु, मेरी आमा सायद अभावहरू झेल्नलाई मात्र यो धर्तीमा जन्म लिनु भएको होला। बाल्यकाल हुदाँ न राम्रो लगाउन पाउनुभयो, न समयमा खाना खान पाउनुभयो, न त स्कुल नै जान पाउनुभयो त्यतिकै बाल्यकाल बित्यो। युवा अवस्था हुदाँ घरधन्दाले छपक्कै ढाक्यो, न त युवा उमेरको रङ्गिन दुनियामा रमाउन पाउनु भयो, न त भनेका ठाँउहरूमा जान पाउनु भयो। कामै कामको चाङ्मा कहाँ थिचिनु भयो भयो। विवाह गर्नु भयो, विवाह पछि त दुख र कामको चाप कम होला भन्ने अपेक्षा थियो होला। तर सोचे जस्तो कहाँ हुन्छ र? दुख, अभाव र कामको बोझ झन थपिएर आयो। तर जे भए पनि जीवनसाथी त थियो, आट-भरोसा अनि सुख-दुखको साथी थियो। जसले सामुन्ने आएका अनेक चुनौतिहरू पार गर्नलाई साथ र सहयोग मिल्दथ्यो। साँझ-बिहानको घर-धन्दा र दिनभरीको कामको थकान र मनको बह पोख्ने ठाँउ हुन्थ्यो, अनि न्यानो माया र साथ पनि। यसैमा जीवनका अनकन्टर अक्करिला भीरका यात्राहरू भुल्नुहुन्थ्यो, अनि उमंगिलो नयाँ सञ्जिवनी मिल्दथ्यो। यतिमै पनि जीवन खुसी थियो उहाँको।

युगल जोडी हुदाँ सुखै सुख र सहजै सहज मात्र कहाँ आउछ र? क्षण क्षणमा समस्या र अभावका लप्काहरू बेरिएर आइरहन्छन् नि। मलाई अझै पनि त्यो दिनको सम्झना छ। हुन त त्यो बेला म केवल एउटा सानो बालक थिए। धेरै सोच्न सक्ने र परिस्थितिको सहि आङ्कलन र विष्लेषण गर्न सक्ने अवस्थाको थिइन र अहिले सम्म पनि छैन।

दशैँ पछिको ठुलो चाड तिहार थियो। गाँऊघरमा समुह समुह मिलेर देउसी-भैले खेल्ने चलन। एकदिन साँझ, अर्को नजिकै गाँऊको देउसी समुह हाम्रो घरमा देउसी खेल्न आइपुग्यो। बुढापाका युवाहरू मिलेर मादल, मुरली र झ्यालीको तालमा गीत गाउदै आँगनमा नाच्न थाल्नु भयो। आमाले पनि देउसी खेल्न आएका पाहुनाहरूलाई खाजा स्वरूप जाँड, रक्सी र अचार तयार पारेर दिनुभयो। तर जब देउसी खेल्नेहरूलाई दाना दिने समय आयो। त्यसपछि आमा र बुवा घरभित्र आउनु भयो र खुसुखुसु कुराकानी गर्नु भयो। खै के कुराकानी भयो त्यो त मैले सुन्न पाइन र सुनेको भएपनि बुझ्दिन थिए होला। एकछिन पछि जब आमाले आफ्नो पटुकीबाट थैली निकालेर बुवासँग हेर्नु भयो। थैलीमा जम्मा एक रूपैयाँको ढ्याक र दुई रूपियाँको पुरानो नोट भन्दा अरू थिएन।

आमा-बुवा मिलेर खेतीपाति धेरै नै गर्नु हुन्थ्यो। यसरी खेतीपाति धेरै गर्दा धान, मकै, अन्न-पात पनि उब्जनी हुन्थ्यो। तर त्यो समयमा पैसाको एकदमै अभाव। घर संसार चलाउनलाई अन्नपात मात्रै भएर नहुने। खर्च गर्नको लागि पैसै चाहिने। त्यसैले पैसा सापटी पाउनै मुस्किल। पाइहाले पनि चर्को ब्याज या त धाने ब्याज (धाने ब्याज भन्नाले पैसा चलाए बापत वर्षदिन पछि ब्याज स्वरूप धान बुझाउने चलन हो)। यसरी पाइने धाने ब्याज पनि व्यक्ति अनुसार फरक फरक। सामान्यतय एक हजार रूपैयाँको वर्षदिन पछि ब्याज स्वरूप दश पाती देखी एक मुरी सम्म धान बुझाउनु पर्थ्यो। विवाह गर्दा लागेको ऋण, त्यस्तै घर खर्च चलाउनलाई लिइएको ऋण तिर्न सक्ने अवस्था थिएन। त्यसैले आमा-बुवाले ती ऋणहरूको ब्याज स्वरूप हरेक वर्ष धाने ब्याज तिर्नु हुन्थ्यो। यसरी वर्ष दिन खाना पुग्ने गरी खेतीपाति गरेर नि के गर्नु? आखिर धाने ब्याज तिर्दा तिर्दै वर्षभरी उब्जाएको धान त्यसैमा सक्किजान्थ्यो। अनि फेरि खानाकै लागि समस्या। यस्तो अवस्था मेरो परिवारको मात्रै थिएन। मेरो गाँऊमा सामान्य खेती किसान गरेर जीवन निर्वाह गरिरहेका प्राय सबै किसानको अवस्था यस्तै थियो। मलाई लाग्छ त्यो बेला नेपालको समग्र ग्रामीण भेगमा खेती किसान गरेर जिविको पार्जन गरिरहेका किसानहरूको अवस्था पनि मेरै परिवारको जस्तो थियो होला।

आमा-बुवाहरूले उहाँहरूका दुख हामी छोराछोरीहरूलाई कहिल्यै देखाउन खोज्नु भएन। हरेक समस्याहरू बुद्दिमानी ढंगले हामीलाई चालै नदिइ समाधान गर्नु हुन्थ्यो। आमा-बुवाका अभाव र दुखहरू हामी देख्थ्यौ, महसुस गर्थ्यौ आफ्नो स्तर अनुसार। उहाँहरूका दुख देखेर बाल्यावस्था हुदै पनि सारै नमज्जा लागेर आउँथ्यो। तर हामी केहि गर्न सक्ने अवस्थाका भइसकेका थिएनौँ। हामीले उहाँहरू माझ कहिले केहिको गुनासो र नचाहिदो माग गरेनौँ। उहाँहरूले जे हामीलाई उपलब्ध गराइदिनु भएको थियो, त्यसैमा हामी चित्ता बुझाउथ्यौँ, रमाउथ्यौँ अनि खुसी हुन्थ्यौँ। उहाँहरू यहि हाम्रो खुसी देखेर आफ्ना सारा दुखहरू भुल्नु हुन्थ्यो।

धाने ब्याजको ऋण तिरेर बाँकी रहेको धानले हामीलाई वर्ष दिन खानालाई पुग्दैन थियो। आमाले कहिले काही सुनाउनु हुन्छ; हामी नजन्मिदै खेरी खेतीपाति गर्नलाई हली गोठालो राख्नु पर्थ्यो रे र उनीहरूलाई खाना पानी सबै हेर्नु पर्ने। यसरी हली गोठालो सहितको ठुलो परिवारको खाना बनाउदा कहिले काही अन्तिममा आमा-बुवालाई खानै उप्रन्न थियो रे। साँझ-विहानको घरधन्दा र दिनभरीको कामको थकान र भोग बीच अन्त्यमा थोरै जाँड र पानी पिएर सुत्नु पर्थ्यो रे। पछि भने हामी छोराछोरीहरू हुर्कदै गयौँ र हामी पनि आमा-बुवालाई सकेका कामहरू सघाउन थाल्यौँ। यसरी हामीले पनि थोर बहुत काममा सहयोग गर्नसक्ने भएपछि, विशेष गरी दाई र दिदि हुर्किनु भएपछि भने काम गर्ने हली गोठालो हटाउदै लानुभयो रे।

हुन त हामी हुर्कदै जादाँ उहाँहरूको दुखको पहाड त कहाँ सकिएको थियो र? बर्खा र दशैँ तिहारमा खाना खानको लागि धान बचाउनलाई हिउँदोबाटै खुब जोहो गर्दै लानु पर्थ्यो। हाम्रो बुवा मान्छे फकाउनलाई साह्रै सिपालु। बुवाले हामीलाई कति मिठो गरी फकाउनु हुन्थ्यो र भन्नुहुन्थ्यो “भात मात्रै खायो भने रोग लाग्छ, आज हामी नयाँ खाना खानु पर्छ, आज स्वादिलो खाना खानु पर्छ” आदि इत्यादि। हामी नि मख्खै पर्थ्यौँ। त्यसपछि आमालाई ती खानाहरू बनाउन अर्याउनु हुन्थ्यो, कहिले आफै खाना बनाउन अगाडी सर्नु हुन्थ्यो।

त्यसपछि आमाले कहिले मकैको च्याख्लाको खाना, कहिले कोदोको ढिडो, कहिले हरियो साग मिसाएर बनाएको जाउलि माड त कहिले गहुँको रोटी खुवाएर छाक टारेको म अझै सम्झन्छु। वास्तवमा यी खानेकुराहरू सानो छदाँ म लगायत मेरो दाई, दिदि, बहिनी र भाई कसैलाई मन पर्दैन थियो। तर पनि बुवाको त्यो मिठो बोलीसँगै हामी मिठो मानी मानी खान्थ्यौँ। त्यो बेला यसरी आमा-बुवाले हामीलाई फकाएर यस्ता खाना खुवाउनुमा स्वास्थ्य र खानाको बारेमा उहाँहरूमा राम्रो ज्ञान र जानकारी भएर होइन यो त खाना जोहो गर्ने एउटा बाध्यत्मक बाहाना मात्र थियो।

आमा सहनसिलताको पर्यवाची हुन कि भन्ने कहिले काही मलाई भान हुन्छ। सुरूवातको समयमा आफ्नो नि सन्तान जन्मिसकेपछि तीन पुस्ता एकै छानोमुनी जीवन गुजरा गर्नु पर्ने अवस्था थियो। यसरी भिन्न पुस्ता एकै ठाँउमा रहदाँ कहिले बुझाइमा गलत हुन जान्थ्यो त कहिले गराइमा फरक पर्न जान्थ्यो। यहि कुराले कहिले काही आमा र हजुरआमा बीचमा मनमुटाव पैदा हुन्थ्यो त कहिले ठाकठाक-ठुकठुक पर्थ्यो। हजुरआमा उमेरले पाको, त्यसैले प्राय घर रूघेरा बस्नु हुन्थ्यो भने कहिले काही गाँऊघर छरछिमेकमा जानु हुन्थ्यो।

यसरी घरमा बस्दिने मान्छे भएपछि आमा-बुवाहरू ढुक्कले खेतीपातिको काममा जानुहुन्थ्यो। तर कहिले काही हजुरआमा घरमा रहदाँ खाजाको रूपमा जाँडको तोम्बा पिउदा पिउदै लठ्ठिनुहुन्थ्यो र एक किसिमले होस गुमाउनु हुन्थ्यो (ग्रामीण राई परिवारमा प्रायजसो प्रत्येक घरमा जाँड र रक्सी पकाएर राखिएको हुन्छ र यहि जाँड रक्सीलाई खाजापानीको रूपमा प्रयोग गर्दछन्)। यसरी लठ्ठिएपछि अनावश्यक किचलो गर्न थाल्नु हुन्थ्यो। कहिले बुवासँग जाइलाग्नु हुन्थ्यो त कहिले आमासँग आइलाग्नु हुन्थ्यो। दिनभरि कामको थकानले सिथिल भएको अवस्थामा पनि चुपचाप सहेर परिवार, छोराछोरीहरूको भात-भान्सा चलाउनुहुन्थ्यो, त्यसपछि आफु नि खाएर कहिले नखाइ सुत्नु हुन्थ्यो।

बैगुनीलाई गुनले मार्नु पर्छ भने जस्तै भोलिपल्ट विहान झिसमिसैमा उठेर घरधन्दा सुरू गर्नु भन्दा पहिले नै छोराछोरीको लागि खाजा र हजुरआमालाई खाजा स्वरूप तातोपानीमा तोम्बाको ब्यवस्था गरिसक्नु हुन्थ्यो। हिजो राति मात्रै रिसाएर आमालाई कराउनु हुने हजुरआमा विहानै तातो तोम्बा पाउन साथ हाँस्न थालिहाल्नु हुन्थ्यो। यसरी नै मेरी आमाको दैनिकी सुरूवात हुन्थ्यो प्रत्येक दिन।

समयको गतिसँगै चलिरहने जीवनको यात्रामा कति आरोह, अवरोह, घुम्ती र मोडहरू आए गए गनिसाध्य छैन र अझै कति आउछन् कति जान्छन् थाहा छैन। जीवन रहे सम्म न त यात्रा सकिन्छ न त घुम्ती मोडहरू नै आउन छाड्छन्। यो त एउटा जीवनको सांसारिक रित नै हो नि। मेरी आमाको जीवनमा पनि यस्ता आरोह, अवरोह कति आए कति गए। तर पनि जुन सुरूवातका जीवन अभावका भोगाइहरूमा हाम्रो हुर्काइ र उहाँहरूको अथक श्रम र मेहनतले केहि सहज र सरल भएको थियो की भन्ने मलाई अहिले महसुस हुन्छ। किनकी खेतीपाति गर्नलाई हली गोठालो राख्नु नपर्ने, वर्ष दिन खाना कै लागि धौधौ पर्ने अवस्थाबाट अलि माथि उठेको थियो मेरो परिवार। अब मात्र घरखर्च र छोराछोरीहरूको पढाईको पीर थियो।

भनिन्छ नि समय सधैँ एकनाशको हुदैन र दशा बाजा बजाएर पनि आउदैन। हो हाम्रो परिवार या त भनौँ आमाको जीवनमा पनि त्यहि भइदियो। वैवाहिक जीवनको यात्रा आधा नपुग्दै अनेकौ दुख, कष्ट, अभाव र समस्याहरूको माझ बनाउदै गरेको सुन्दर संसारमा साना छोराछोरीहरूको नासो र सम्पुर्ण घरपरिवारको जिम्मेवारी सुम्पिएर सदाका लागि आफ्नो जीवनसाथी, सुख-दुख र मन-तनको साथी आमासँग बिदा भएर जानु भयो। त्यस बेला, हिड्दा हिड्दै अचानक आकाशमा विजुली चम्किएर सन्नाटता छाए जस्तो, आकाश चुम्नालाई अगडी बढिरहेको लहरोलाई एक्कासी थाक्रो झिकिदिए जस्तो भएको थियो मेरी आमाको जीवन।

आमाको जीवनसाथीको अन्तिम बिदाइ भनौँ या त मेरो बुवाको अन्तिम सास जादाँको त्यो क्षणहरू एक एक म सम्झन्छु। बुवाको स्वास्थ्य अवस्था अति जटिल बने पछि उहाँलाई उपचारको लागि आफन्तको सहयोगमा वीर हस्पिटल पुर्याएका थियौँ। घरबाट बुवाको उपचारको लागि काठमाण्डौँ आउदाँ म र बुवा मात्रै आएका थियौँ र काठमाण्डौँ आएर सुरूमा टिचिङ अस्पतालमा भर्ना गरिएको थियो बुवालाई। टिचिङमा २०-२५ दिनको उपचारले केही बिसेख हुन सकेको थिएन। उल्टै झन् झन् बुवाको स्वास्थ्य बिग्रदो अवस्थामा गइरहेको थियो। रोग, दुखाइ, औषधी र इन्जेक्सनको असरले होला बुवा पुरै गलिसक्नु भएको थियो। मान्छे पनि छुट्याउन छाडिसक्नु भएको थियो।

त्यसपछि हस्पिटलको उपचारले नहुने भयो भनेर र अर्धचेत अवस्थाका बुवाको ढिपीले हस्पिटलबाट डिस्चार्ज गरेर बुवाको कान्छी दिदि मेरो फुपूको अनामनगरमा रहेको घरमा दुईचार दिनको लागि ल्यायौँ। फुपूको घरमा ल्याइसकेपछि भने बुवाको विस्तारै होस खुल्न थाल्यो। खाना नि थोरै थोरै खान थाल्नु भयो। मलाई त लागेको थियो हस्पिटलबाट डिस्चार्ज गर्दा अब बुवा हामीसँग धेरै दिन रहनुहुन्न। मन एक किसिमले एकदमै हतास थियो, केही सोच्न सक्ने अवस्थामै थिइन। तर फुपूको घरमा ल्याएपछि बुवाको स्वास्थ्यमा आएको केहि सुधारले भने टुट्नै लागेको आशा विस्तारै पलाउन थालेको थियो।

त्यसपछि आफन्तहरूको सल्लाहमा घरबाट आमालाई पनि बोलाइयो। आमा काठमाण्डौँ आइपुगेर बुवालाई भेट्न फुपूको घरमा आइपुग्नु हुदाँको खुसी त्यो भन्दा पहिले मलाई कहिले लागेको थिएन। आमा, बुवा सुत्नुभएको बिस्तारा छेउमा आएर; “राजुको बाउ, अहिले तिमीलाई कस्तो छ?” भनेर सोध्नु हुदाँ; “ए! तिमी नि आइपुग्यौ? अह्, अहिले त मलाई एकदम ठिक छ। यस्तै राम्रो हुदै गयो भने त चाडै निको हुन्छु, सुर्ता नगर। अनि घरमा नानीहरूलाई कस्तो छ? घरको हालखबर कस्तो छ?” भनेर उल्टै ढडस दिदै आमालाई यी कुराहरू सोधिरहनु भएको थियो।

बुवा र आमाको यो छोटो संवाद कहिले काही सम्झन्छु, अनि गहिरिएर सोच्छु- यो अविभावकत्व भनेको के हो? यसको जिम्मेवारी र भुमिका के हो? अनि कति सम्म, कहिले सम्म र कस्तो खालको हुनु पर्छ? सायद बुवाले आफ्नो तवरले यसलाई राम्ररी बुझेको हुनुपर्छ र त्यसलाई व्यवहारता निभाउन चाहानु हुन्थ्यो। यो मेरो मात्र बुवाले होइन सायद सबैका अविभावकहरूले यस्तै गर्नु हुन्थ्यो होला, गर्नु हुन्छ होला र गरिरहनु पनि हुनेछ ।
आमा काठमाण्डौँ आउनुभएको २-४ दिन पछि एक साँझ पुन बुवाको स्वास्थ्य अवस्था अचानक बिग्रिन थाल्यो र आफन्तहरूको सहयोगमा हतार हतार वीर हस्पिटलमा भर्ना गर्न लग्यौँ। पहिले टिचिङ हस्पिटल हुदाँ म मात्र थिए घरको मान्छे। तर यो पटक भने साथमा आमा हुनुहुन्थ्यो। एक किसिमले मलाई केहि राहत महसुस भएको थियो। किनकी म त्यो बेला भर्खर किशोरावस्था पार गरेर १७औँ बसन्तमा हिडिरहेको एउटा कलिलो ठिटो, युवा अवस्थाको न थिए। त्यसैले कुनै अप्रिय घटनाहरू एक्लै बहन गर्न सक्ने अवस्थाको थिइन जस्तो लाग्छ, मन मनै एकदम डर लागेर आउथ्यो।

त्यो रात, बुवाको स्वास्थ्य अवस्था आधुनिक विज्ञान अनुसन्धानहरूले पत्ता लगाएका उपचार पद्दति र औषधीहरूले सम्हाल्न नसक्ने गरी बिग्रिएको थियो। अथक प्रयासका बीच पनि मध्य रात बुवामा लागेको रोगको नै जीत भयो। रोगसँग हार्दै जाँदा बुवाले लिनुभएको अन्तिम सास भन्दा केहि क्षण अगाडी उहाँमा आएको छट्पटहट अति नै दर्दनाक थिए। यही छटपटाहट बीचमा उहाँले केहि कुरा भन्न खोजिरहे जस्तो, कसैसँग बोल्न खोजिरहे जस्तो देखिरहनुभथ्यो।

आमा नजिकै आएर “राजुको बाउ! राजुको बाउ!” भनेर बुवालाई झकझकाइ रहनु भएको थियो। कान्छी फुपू आत्तिदै “कान्छा! कान्छा!” भन्दै हुनुहुन्थ्यो। बुवा, आमा तिर फर्किएर केहि भन्न खोजिरहनु भएको जस्तो देखिनुहुन्थ्यो। सायद बुवाले आमालाई सम्झाउन चाहिरहनु भएको थियो होला; “मान्छे जन्मिए पछि एकदिन जानै पर्छ, ढिलो चाडोको कुरा मात्रै हो। म अलि चाडै जाने भए। छोराछोरीहरूको राम्रो ख्याल राख्नु। घर व्यवहार राम्रोसँग चलाउनु। त्यस्तै इष्टमित्र, छरछिमेकहरूसँग रिझिएर बस्नु। हामीले सुरू गरेको यात्रामा तिमीलाई एक्लै छोडेर जादैछु। कोही कसैसँग नराम्रो नगर्नु, नडराउनु, नझुक्नु, निडर भएर अगाडी बढ्नु। अधुरो यात्रा अब तिमीले पुरा गर्नु। म तिमीलाई माथिबाट हेरिरहनेछु, एक्लो महसुस कहिले नगर्नु आदि इत्यादि।”

आमाले पनि बुवालाई कति मनका कुराहरू भन्न मन थियो होला। दुख सुखका कुराहरू सुनाउन मन थियो होला। फुपूलाई पनि सानोमा विताएका बालशखाका कुराहरू कति सुनाउन मन थियो होला। हरेक पटक माइतीघर जादाँ “दिदि” भनेर बोलाउने भाई किन यति चाँडै छोडेर जादैछौ सोध्न मन थियो होला। आउने तिहारमा सयपत्री फूल र मखमलीको मालाले कसलाई पुज्ने भनेर सोच्दै हुनुहुन्थ्यो होला। तर नियतिको सामु सबै निरही बनिरहेका थिए। अत्यासिला आवाज र बलिद्रा आसुका धाराहरू छरपस्ट छरिरहेका थिए, चारैतिर फैलिरहेका थिए। यतिका कोलाहलका बीच शुन्य आवाज पारेर बुवाले हामी सबैलाई सदाका लागि छाडेर गइसक्नु भएको थियो।

आमाले सुरूमा कसैको छोरीको उपमा पाउनु भएको थियो। विवाह पछि श्रीमतीको उपमा पाउनु भयो र जीवनसाथीको अवसानसँगै फेरि अर्को नयाँ उपमा थपियो विदुवाको। बुवाको देहसान पछि आमा एकदम शुन्य बन्नु भएको थियो। मनको बह पोख्ने ठाँउ काही थिएन। घरमा छोराछोरीहरू बाहेक अरू ठुलो मान्छे कोही थिएनन्। घरको भरथेक र जिम्मेवारीहरू एकाएक आमाको एक्लो काधँमा आइपुग्यो। कुनै नानीहरू सानै कलिला बालक नै छन् त अलि हुर्केकाहरूको पनि कसैको विहेदान गरेको छैन। अर्को तिर श्रीमानको उपचारमा लागेको त्यत्रो ऋण। आउने दिनका समस्याहरूका अजङ्ग पहाडहरू, यात्रा भरि बिच्छिएका तिखा काँडाहरू। तिनै पहाडबाट लडेर बिदा लिउ जस्तो, अनि तिनै बिच्छिएका तिखा काँडाहरूमा रोपिएर अन्तिम सास फेरू जस्तो हुन्थ्यो होला।

आमा सानैबाट निडर, साहसी हुनुहुन्थ्यो रे। त्यसैले होला त्यस्तो विपतको घडीमा पनि उहाँ कतिपनि नडक्मगाइ आफ्ना कलिला सन्तानहरूको उज्वल भविष्यको खातिर त्यस्तै श्रीमानले सुम्पिराखेको जिम्मेवारी पुरा गर्नका लागि मनमा अनेकौ पीर र व्यथाहरू बोकी साहसका साथ अगाडी बढिरहनु भयो, बढिरहनु भएको छ र बढिरहनु हुनेछ पनि। अहिले सम्म उहाँले हामीलाई बुवाको अभाव खड्किन दिनुभएको छैन। न त छोरीचेलीहरूलाई आफ्नो माइतीको अभाव नै महसुस गर्न दिनु भएको छ। इष्टमित्र, साथीभाई र छरछिमेक सबैलाई रिझाएर राख्नु भएकोछ। एक किसिमले भन्दा बुवा हुदाँको भन्दा राम्ररी घर संसार चलाएर हिडिरहनु भएको छ।

बुवाको देहसान पछिका केही वर्षहरू साँच्चिकै एकदमै कठिन थिए। वर्ष दिनमा आइरहने चाडपर्व, गाँऊसरे-भाइसरे र छोराछोरीहरूको पढाइ खर्च टार्नलाई धौधौ परिरहेको थियो आमालाई। तर हामी छोराछोरीहरूले पनि आमालाई कहिले एक्लो हुन दिएनौँ। एक्लो हुने अवस्था सृजना गरेनौँ। दाई, बुवा वित्नु हुदाँ नेपाली सेनामा भर्ना हुनुभएको भर्खर वर्ष दिन हुन लागेको थियो। तर पछि घरको आर्थिक अवस्था अत्यन्तै नाजुक देखेर बुवाको काम सकिए पछि पुन सेनाको नोकरीमा फर्कन चाहानु भएन र पछि बुवाको उपचार गर्दा लागेको ऋण तिर्न विदेशको यात्रा तयार गर्नु भयो। दिदिले आमालाई घर खर्च सघाउनका लागि बुवा कै पहलमा स्थापना भएको गाँऊकै सानो स्कुलमा शिक्षिकाको रूपमा काम गर्न थाल्नु भयो। अनि म र भाई बहिनीहरू आमालाई खेतबारीका कामहरूमा सघाउन थाल्यौँ। यसरी फेरि हाम्रो नयाँ जिन्दगीको यात्रा एकल विधुवा आमाको साथ सुरूवात भयो।

मेरी आमाले सानैबाट धुम्रपान गर्न सिक्नु भएको रे। त्यो समयमा स्कुल जाने चलन थिएन। स्कुल जाने उमेरमा घाँस-दाउरा, गोठालो-सोठालो, अर्म-पर्म गर्दै दिन बित्थ्यो। त्यहि घाँस-दाउरा, गोठालो-सोठालो, अर्म-पर्म गर्दा गर्दै साथीभाईहरूको संगतमा कुन बेला सुर्ती पिउन सिक्नु भयो पत्तै भएन। यसरी साथीभाईहरूसँग रमाईलोको लागि पिउदा पिउदै सुर्तीमा लत नराम्ररी बस्यो, छुटाउनै सक्नु भएन। विवाह पछि बुवाले नदेख्दा सुटुक्कै सुर्ती पिउनु हुन्थ्यो रे। यसरी सुटुक्कै पिउदा पनि बुवाले चाल पाउनु हुन्थ्यो रे, तर केहि भन्नु हुन्नथ्यो रे। पछिल्लो समय सुर्तीले उहाँको स्वास्थ्यमा साह्रै असर गर्न थाले पछि भने बुवाले आमालाई सुर्ती खान बन्द गर्नु भयो रे। सानैबाट लागेको लत कसैले खान रोक्दैमा कहाँ रोक्न सकिन्थ्यो र? त्यसपछि पनि आमाले लुकिछिपी सुर्ती पिउन छाड्नु भएन। बुवाले जति भने पनि आमाले छाड्न नसक्नु भएपछि हार मानेर बुवाले नखाउ भनेर भन्ने छाड्नु भयो।

मलाई पनि मेरी आमाले सुर्ती पिएको त्यति मन पर्दैन। तर सानो छदाँ भने आमाले सुर्ती सुकेको कटुसको पातमा बेरेर आगोमा सल्काएर ल्याउन अर्याउनु हुदाँ, त्यो मौकामा एक दुई सर्को तान्न भने खुब मज्जा आउथ्यो। यसरी आमाको सुर्ती पिउने आदतले होला हामीलाई पनि सुर्तीको गन्ध मिठो लाग्न थालिसकेको थियो। हामी धेरै छोराछोरी भएकोले होला र आमा बुवाको कामको व्यस्तताले, हाम्रो सरसफाइको बारेमा त्यति ध्यान दिन सक्नु हुन्थेन। त्यसैले कपालमा कहिले काही जुम्रा पर्थ्यो, लिखा पर्थ्यो। समय मिलेको बेला आमाले आफ्नो काखमा सुताएर हाम्रो कपालमा जुम्रा मारिदिनु हुन्थ्यो, लिखा टिपिदिनु हुन्थ्यो। अनि तेल लगाएर कपाल कोरिदिनु हुन्थ्यो। हामी चिलाएको कपालमा आमाले यसरी जुम्रा मारिदिनु हुदाँ, कपाल कोरिदिनु हुदाँ एकदमै आनन्द अनुभव हुन्थ्यो। त्यो भन्दा पनि ठुलो आनन्द थोरै सुर्तीको वासना, थोरै मैलोको वासनासँगै न्यानो आमाको काखमा सुत्नु पाउनुको थियो।

एकपटक म आफैले पनि आमालाई अब सुर्ती नपिउनुहोस, यसले तपाईको स्वास्थ्य बिग्रन्छ भनेर भनेको थिए। तर उहाँ कहाँ हामीले भनेको मान्ने हुनुहुन्छ र? तर एकपटक भने मलाई एकदमै रिस उठेर आमाको सुर्ती खोसेर फलिदिएको छु। त्यो बेला बुवा एकदमै सिकिस्त हुनुहुन्थ्यो। टिचिङ हस्पिटलबाट भर्खर फुपूको घरमा बुवालाई ल्याएका थियौँ। आमा पनि बुवालाई भेट्न घरबाट भर्खर काठमाण्डौँ आउनु भएको थियो। बुवाको स्वास्थ्य अवस्थाले म एकदमै चिन्तित थिए।

दिउँसोको समय थियो। बुवालाई अलि आराम भएर एकछिन छतमा हावा खान के निस्किएको थिए। आमा त अघि छतमा आउनुभएर पनि सुर्ती सरासर पिउदै हुनुहुदोरहेछ। मैले यो देखेर रिसले आँखै देखिन र सरासर आमा भएको ठाँउमा गएर आमाले पिउदै गर्नुभएको सुर्ती र चोलीको गोजी साँचेर राख्नु भएको बाँकी सुर्ती झिकेर फ्याकिदिए। यो देखेर आमा कराउदै हुनुहुन्थ्यो “बल्ल बल्ल साँचेर ल्याएको सुर्ती फाल्दिहाल्यो नि यो माईलाले।”
हुन त उहाँले त्यो सुर्ती आफ्नो दुख भुलाउनलाई खानु भएको थियो की या त सानैबाट लागेको लतको तलतल मेटाउनलाई पिउनु भएको थियो, त्यो त थाहा भएन। सुन्ने गर्छु मान्छेहरू आफुलाई दुख, पीर र मनमा चोट लागेको बेला ती दुख, पीर र चोटहरूलाई भुलाउन मद्यपान र धुम्रपानको साहारा लिने गर्दछन्। सायद मेरी आमाले पनि आफ्नो श्रीमानको त्यस्तो अवस्था देखेर मनमा लागेको दुख पीर हटाउनको लागि पो त्यो सुर्ती पिउनु भएको थियो की? तर त्यो बखत मैले यसरी सोचिन। मेरो दिमागमा एकहोरो के मात्र आएको थियो भने, बुवा पनि जाँड रक्सी नपिउनु भन्दा भन्दै पिउनु भएर अहिले मृत्यूसँग लडिरहनु भएको छ। फेरि आमा पनि धुम्रपान गरेर त्यहि अवस्थामा पुग्न चाहिरहनु भएको छ। यदि दुवै यस्तो अवस्थामा पुगे भने हामी छोराछोरीहरू कसको साहारामा बाँच्ने? हामीलाई कसले अविभावकत्व दिने? हामी एक्लैले कसरी त्यत्रो ठुलो घर संसार चलाउने? आदि इत्यादि।

यसरी मैले उहाँको सुर्ती फालिदिसके पछि भने उहाँको सुर्ती नै सकिएछ र बुवाको देहसान भएर घर फर्किदा सम्म सुर्ती पिउन पाउनु भएन। तर घर आएपछि फेरि सुरू गरिहाल्नु भयो पिउन र मैले पनि त्यसपछि केहि भनिन। किनकी त्यो बेला, आमालाई एकदमै धेरै पीर, चिन्ता थियो। मनको बह पोखाउने ठाँउ थिएन। उहाँले सुर्तीको धुँवासँगै आफ्नो जीवनसाथीसँग छुट्टिनु पर्दाका आफ्ना दुख पीरहरू उडाएर कम गर्न थाल्नु भएको थियो। तिनै धुँवासँगै आउने दिनहरूको योजनाहरू बुन्न थाल्नु भएको थियो, छोराछोरीहरूको भविष्य कोर्न थाल्नु भएको थियो, चुनौती र समस्याहरूसँग लड्ने आट र साहस विस्तारै बटुल्न थाल्नु भएको थियो। त्यही सानोमा साथीहरूको लहैलहैमा पिउन सिकेको सुर्ती अहिले आएर आट, भरोसा र साहस बटुल्ने आधार बनेर आएको थियो। त्यहाँबाट सुर्तीको बारेमा आमालाई अहिले सम्म केहि भनेको छुइन र भन्न सक्दिन पनि।

बुवा वित्नु भएको साल, हामीले कुनै पनि चाडपर्वहरू मनाउनु हुदैन थियो र मनाएनौँ पनि। अर्को साल, बुवा विनाको पहिलो चाड दशैँ मनाउन लागिरहेका थियौँ। हजुरआमा हुनुहुदाँ सम्म हजुरआमाको हातबाट दशैँमा टिका लगाउथ्यौँ। हजुरआमा वित्नु भए पश्चात बुवाले हामी सबै छोराछोरीहरूलाई टिका लगाईदिन थाल्नु भयो। हजुरआमा वित्नु हुदाँ हामी सानै भएकाले होला उहाँको अभाव त खासै महसुस गर्न सकेनौँ। किनकी साथमा आमा बुवा हुनुहुन्थ्यो। तर त्यो पटक बुवा नहुदाँको अभाव भने नमज्जाले महसुस भयो।

विजय दशमीको दिन, हामी सबै तयार भएर टिका लगाउनलाई ठिक्क परेका थियौँ। भुईमा विछ्याएको नयाँ गलैचाको चकटीमा दाई बाहेक हामी सबै छोराछोरीहरू लहरै बसेका थियौँ। उमेरमा म भन्दा ठुली दिदि हुनुहुन्थ्यो र आमाले दिदिलाई कलासको पानीले छर्किएर टिका लगाइदिनु भयो। त्यसपछि मेरो पालो आयो। मलाई एकदमै अनौठो अनुभव भइरहेको थियो। विगतका दशैँहरूमा सधैँ बुवाले मिठा मिठा आर्शिवाद दिनुहुदै हामीलाई टिका लगाइदिनु हुन्थ्यो। तर यो पटक आमाले चुपचाप टिका लगाइदिदै हुनुहुन्थ्यो।

आमा मेरो अगाडी आएर दिदिलाई जस्तै कलासको पानीले मलाई छर्किन थाल्नु भयो। खै मैले त के के सोच्न पुगे पुगे। बुवा वित्नु भएपछिका दिनहरूमा आमासँग धेरै नजिक भएर काम गर्न थालेको थिए। जे काम गर्दा पनि आमाले म र दिदिसँग सल्लाह गरेर गर्नु हुन्थ्यो। दाई बाहिर हुनु भएकोले दिदि पछिको ठुलो गर्जेन घरको मै थिए र बुवाले गर्दै आउनु भएका घरका सबै कामहरू मैले सम्हाल्नु परेको थियो। त्यसैले होला हरेक कुराहरूमा हामी आमा छोरा धेरै निकट हुन पुगेका थियौँ। पलेटि कसेर टिका लगाउनलाई ठिङ्ग बसिरहेको थिए। आमालाई देख्ने वित्तिकै मन के भएर आयो आयो। म सम्हालिनै सकिन, खै आमाले पनि के सोच्नु भयो। उहाँ पनि सम्हालिन सकिरहनु भएको थिएन। मलाई ज्ञान आएपछि आमाले झर्नु भएको यो दोस्रो आसु थियो।

छोरीहरूले औपचारिक शिक्षा सहज रूपमा लिन नपाउने समयमा हुर्किनु भएकी मेरी आमा आजीवन औँठाछाप नै रहनु भयो। गाँऊघरमा महिला विकास संस्थाले सञ्चालन गरेको प्रौढ शिक्षाको कक्षा लिएर बलैले आफ्नो नाम खुट्याउनु हुन्छ। त्यो बाहेक कालो अक्षर भैँसी बराबर उहाँको लागि। बेला बेलामा स्कुलको बारेमा कुरा उठ्दा, उहाँ आफ्ना बा-आमासँग खुब असन्तुष्टि पोख्नु हुन्छ। यसो कुरा बुझ्दा त्यो बेला यदि मावली हजुरआमा र हजुरबाले चाहानु भएको भए आमाले पनि स्कुल पढ्न पाउनु हुदोरहेछ। तर घरधन्दा र मेलापातमा पठाउदा पठाउदै छोरीको स्कुल जाने उमेरले डाँडै कटिसकेछ, उहाँहरूले पत्तै पाउनुभएन। आमा पछिका अरू भाई र बहिनीहरूलाई भने समयमै स्कुल भर्ना गरिदिनु भएछ। आमालाई यसैमा आफ्ना आमाबुवा प्रति अहिले सम्ममा ठुलो गुनासो छ।

उहाँ भन्नु हुन्छ; “यदि मैले त्यो बेलामा पढ्न पाएको भए के के भइसकेको हुनेथिए, के के गरिसक्थे।” त्यहि भएर होला आमाले स्कुल पढ्ने आफ्नो रहर र चाहना हुदाँ हुदै पनि अवसर नपाएकोले पुरा हुन नसकेका आफ्ना रहर र चाहनाहरू हामी मार्फत अहिले पुरा गर्दै हुनुहुन्छ। जस्तै अभाव र समस्यामा पनि हामीलाई एक दिन स्कुल नजा आज भन्नु भएन। स्कुलमा लगाउने ड्रेस, किताब, कापी, कलम र फिस तिर्नलाई पैसाको अभाव पार्नु भएन। हामी कति कक्षामा, कुन तह, कुन विषय पढिरहेका छौ उहाँलाई थाहा छैन र उहाँले कति कक्षा, कुन तह र कुन विषय भन्ने कुरा चिन्नु र बुझ्नु पनि हुन्न। ता पनि हाम्रो पास फेलको नतिजासँगै रमाउनु हुन्छ उहाँ।
म कहिले काही एक्लै सोच्ने गर्छु, “आमामा कति धेरै विद्यालय शिक्षा लिने चाहना रहेछ, शिक्षाको महत्वको बारेमा कसरी थाहा पाउनु भयो, पढ्नु पर्छ भन्ने ज्ञान कसरी प्राप्त गर्नु भयो, छोराछोरीहरूलाई पढाउनु पर्छ भन्ने ज्ञान यी यावात कुराहरू।” उमेरले म आफै तीसौँ बसन्त पार गरिसके। नोकरी गर्न थालेको छैन र दुई चार वर्ष अझ पढाइ पुरा गर्न मलाई समय चाहिन्छ। तर पनि आमाले अहिले सम्म लौन अब पनि कति पढ्छस्? उमेर गइसक्यो? सबै तेरो साथीहरूले कमाउन थालिसके, घरजम गरिसके, तैले कहिले कमाउछस्? कहिले घरजम गर्छस्? छिटो घर आइहाल अनि नोकरी खोजीहाल भन्नु भएको छैन। कहिले काही फोनमा आमासँग कुराकानी हुदाँ “तँ ठिकै छस् माईला? तेरो पढाई कस्तो हुदैछ? अब कति लाग्छ सकिन? ल ल घरको चिन्ता नलिकन पढ न। राम्रोसँग पढाई सक्काएर आइजा।” भन्नुहुन्छ। अनि आमाका यी कुराहरू सुनेर म आफै नोस्टल्जिक बनिदिन्छु।

खै उहाँको मनमा त मलाई भन्नलाई के के थियो र म प्रतिको आशा उहाँको के छ? त्यो त मलाई थाहा भएन। तर उहाँले फोनमा बोलेका यी कुराहरू सुन्छु कहिले काही अचम्म पनि पर्छु। यस्तो म एक जना छोरालाई मात्र भन्नु भएको छैन। दाई उमेर हुदाँ लाहुरे जाने लहरले गर्दा उहाँको पढाइ बीचैमा छुट्यो र त्यहीबाट उहाँले पढाइ छाड्नु भयो। दिदि अहिले सम्म पढ्दै हुनुहुन्छ, म आफु पनि आफ्नो पढाइलाई निरन्तरता दिरहेको छु। भाई र बहिनीले पनि आफ्नो पढाइलाई निरन्तरता दिइरहेका छन्। हुन त उनीहरूले अरू काम गर्दै आफ्नो पढाइलाई निरन्तरता दिइरहेका छन्। तर हामी कसैलाई पनि आमाले अहिले सम्म तिमीहरूले धेरै पढिसक्यौ अब नपढ भनेर भन्नु भएको छैन। बरू हाम्रो सबैको पढाइको रिजल्ट के भयो भनेर सोधिराख्नु हुन्छ। सायद हाम्रो पढाइको पास फेलसँगै आफ्नो जिन्दगीको सफलता असफलताको मिटर घुमाइराख्नु भएको छ होला। यसरी दुर दराजको ग्रामीण औठा छाप एउटा विधुवा एकल महिलाले आफ्ना छोराछोरीहरूको शिक्षा प्रति देखाएको लगाव त्यस्तै ऐठानिला चुनौतीहरूसँग एक्लै मुकविला गर्न सक्ने आदाम्य साहस भएकी, संघर्षसिल आमालाई हेर्दा सदैव सलाम चढाउन मन लाग्छ।

अहिले त उहाँ हजुरआमा पनि बनिसक्नु भएको छ। दाई र दिदिको विवाहदान गरिदिइ सकेर दाईको दुई नाति नातिनी र दिदिको एउटा नातिनीको धनी बनिसक्नु भएको छ। नाति नातिनीहरूको तोते बोलिसँगै आफ्ना दुखहरू अहिले भुलाई राख्नु भएको छ। कहिले काही अनिदोँ रातमा मन मनै बुवालाई भन्नु हुदो हो; “हेर राजुको बाउ, तिमीले दिएको जिम्मेवारी दिन दिनै पुरा गर्दैछु। तिम्रो छोराछोरीका यी कलकलाउदा नानीहरू हेर त कति राम्रा छन्? यो नाति अघि आँगनमा खेलाउन लगेको, मसँगै उ पनि हिड्ने रे। तिमी पनि भएको भए हाम्रा नाति नातिनीहरूलाई कति खेलाउथ्यौ होला है। बजारबाट फर्किदाँ कोटको गोजी भरी नानीहरूलाई गुडिया र चकलेट कति किनेर ल्याउथ्यौ होला।

हामीसँगै भएको भए जुनेली रातमा हाम्रो नाति केटालाई आँगनमा लगेर जुन देखाउथ्यौँ होला। औँसीको रातमा आकाशका झिलिमिलि ताराहरू गन्न सिकाउथ्यौँ होला, अनि तिमीले जुनकिरीको कथा सुनाएर नाति नातिनिहरूलाई सुताउथ्यौ होला। जे होस हाम्रो अधुरो यात्रा अब पुरा हुन लागेको छ। अब मात्र माईला, कान्छा र कान्छीको कर्म गरिदिनु बाँकी छ। त्यसपछि म पनि शान्तिको सास फेर्ने छु। तिमीले दिएको जिम्मेवारी पुरा गर्नेछु। तिमी ढुक्क भएर बस।

No responses yet

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply