कोरोना भाईरसको कारण लकडाउन भएको डेढ महिना पुगिसक्यो।मलाई घरभित्र बस्न अतेस लागिसक्यो। बुवा पनि त्यसै भन्नुहुन्छ।भाइ पनि छट्पटिएर झ्याल बाहिर हेरेकाे हेरेकै गर्छ। मेरी आमा भने खुसी खुसी देख्छु।

लकडाउन हुनु अघि जीवन सामान्य लाग्दथ्यो मलाई मेरी आमालाई चाहिँ लकडाउन पछि बल्ल जीवन सामान्य लागेको छ अरे !

बुवा,म र भाइ सबै जागिरे। बिहान उठ्नासाथ हामी तीनै जनालाई काममा जान हतार हुन्थ्याे सबैभन्दा पहिला भाइ उठ्थ्यो, अनि केही बेरपछि म उठ्थे।बुवा चाहिँ हामी काममा गएको एक दुई घण्टापछि मात्र उठ्नुहुन्थ्यो। मेरी आमाचाहिँ भाइ उठ्नु भन्दा एक दुई घण्टा अगाडि नै उठ्नुहुन्थ्यो। सबैको उठ्ने समय फरक-फरक।

खाने समय पनि फरक फरक। अनि आमाले बनाउने बिहानको खाजा पनि फरक-फरक।

बुवालाई मधुमेह लागेकाले चिनी नभएको खाजा , म शाकाहारी भएकोले मासुअण्डा नभएको खाजा र भाइचाहिँ आलु नभइ नहुने भएकाले आलु भएको बिहानको खाजा। आमाले यसैगरी दिउँसोको खाजा र रातीको खाना बनाउनुहुन्थ्याे, हाम्राे खानपान अनुसार।

बिहान घरबाट निस्किएर काममा गएपछि घर फर्किने समय सबैको छुट्टा छुट्टै। बुवा घर फर्किदा म र भाइले एक निद्रा सकाइसकेक हुन्थ्यौ। भाइ साँझ ढल्नासाथ घर आइ पुगिसक्थ्यो। म रात झमक्क परेपछि घर पुग्थे। बुवा त जहिले पनि आधा रातपछि। आमा भने बुवा घर नआउन्जेल सुत्नु नै हुँदैनथ्यो।

लकडाउन भएपछि सबैको दिन चर्या डामाडोल भएको छ। सबैजना एकै समयमा बिहान उठ्न थालेका छन्। बिहानको खाजा पनि संगै बसेर खान थालेका छन्। लकडाउन पूर्व आमा एक्लै खाजा खानु हुन्थ्याे। खाना पनि एक्लै। राति बुवा घर आइपुगेपछि बुवाले खाना खाएर मात्र खानु हुन्थ्यो।

लकडाउन पश्चात हामी सबै मिलेर खाजा बनाउँछौ, खाना बनाउँछौ। घर सफा गर्ने, लुगा धुने र अरु सबै घरको कामहरु मिलेर गर्छौ। लकडाउन पूर्व घरको सबै काम आमा एक्लै गर्नुहुन्थ्यो। कुनै पनि दिन अल्छि मान्नु भएन। अहिले चार जनाले गर्नुपर्ने काम आमाले एक्लै गर्नुभएको महसुस हुँदा मन साह्रै गह्रुङ्गाे र खिन्न भएको छ।

बल्ल बुझे ! लकडाउन भएपछि आमा किन खुसी भएको हुनु भएकाे रहेछ भनेर। बुवा, म र भाइले आमाको हात सघायो भनेर चाहिँ पक्कै होइन। बिहान खाजा खाँदा पनि सबै जना संगै र राति खाना खाँदा पनि संगै भएकाले हो। आफ्नै आँखा अगाडि सबैजनालाई बिहान देखि रातिसम्म देख्दा आमाको मन ढुक्क र दिमाग नै शान्त हुँदोरहेछ।

बुवा,भाइ र मेरो लागि डेढ महिनाको लकडाउन बर्षौ जस्तो सास्ती लागेको छ। मेरी आमा त घरभित्रको लकडाउनमा बसेको तीस बर्ष बितिसकेको रहेछ।

शक्ति राज प्रधान

अमेरिका , न्यूयाेर्क

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply