“ यस्तो रुढि (रोग) त हाम्रो पालामा कति थिए, कति थिए नानी।  यसरी समाचार सुन्ने हेर्ने टि.भि. रेडियो फोन हुँदैन थियो । आफ्नो नजिक भए थाहा पाइन्थ्यो । नत्र कहाँ के हुन्छ केही थाहा हुँदैन थियो। यस्ता रोगले कति गाउँ नै सखाप भाकाे देख्या छु मैले। अहिले नाम अर्कै दिए- कोरोना कि के जाति। पहिला रुढि भन्थे। हैजा झाडापखाला ज्वरो त्यस्तै। एकचोटि त्यस्तै रुढि चलेर  हाम्रो घर पारि ताङ्ख्वामा चिहाने ढुङ्गा थियो, त्यहाँ दिनै लास ल्याउँथे। अझ कतै त लास बोक्ने मान्छे नभएर डोकोमा बोकेका रे।” लामो सुस्केरा हाल्दै अहिलेको यो कोरोना जस्तै आफ्नो पालाको महामारीको अनुभव सुनाउनु हुन्छ मेरी आमा । ( हजुरआमा तर सबैले आमा भन्छौँ )

“आफ्नो काम नगरेर पनि हुँदैन थियो । फलानो ठाउँमा रुढि आयो रे भने पछि त्यहाँ आउजाउ बन्द गरो, आफ्नो काम गरि राखो । कति मर्थे, कति बिरामी हुन्थे, थाहा नै हुँदैन थियो। अहिले नि फाेन टि.भि. रेडियो नभएको भए कहाँ थाहा पाइन्थ्यो र यस्तो खबर! तर हिड्नै नहुने, बाहिर निस्कनै नहुने चाहिँ थाहा थिएन आजसम्म।” आफ्नो यस्तै पुरानाे अनुभव अनि अहिलेको प्रविधिले फेरिएकाे समयका बारेमा आमा कुरा गरिराख्नु हुन्छ।

हजुरबुवा पहिल्यै बित्नुभयो र पनि छोराछोरीलाई शिक्षादिक्षा दिएर एक्लै संघर्ष गरेर जीवनसँग हार नमानि सबैलाई सक्षम बनाउनु भयो । हाम्रो ५ जना हजुरबुवाहरु र ५ जना हजुरबुवाहरुबाट बिस्तार भएको ठुलो परिवार। तर आमाले सबैलाई एउटै परिवार जस्तो बनाएर राख्नुभएको छ। दर्जनौ छोराछोरी, नातिनातिना र पनाति पनातिनाका धनी मेरी आमा ८३ वर्षको उमेरमा पनि अझै उस्तै जोश जाँगर र जीवनप्रति सकरात्मक हुनुहुन्छ । फर्केर हेर्दा जति पीडा र दुख भए पनि आज आमाको संघर्ष र मेहनतको परिणाम लोभलाग्दो छ ।

‘मान्छे कोही ठूलो र सानो हुँदैन । आज दुख पायो भनेर नहेप्नु एकदिन सबैको पालो आउँछ । जो दुख पाको छ उसलाई छि छि दुर दुर नगर्नु । माग्नेलाइ सकेको दिएर पठाउनु । आफूभन्दा ठूला जो सुकै भए पनि आदरमा शिर निहुर्याउनु । कहिल्यै घमण्ड नगर्नु । अवसरलाई सदुपयोग गरेर अगाडि बढ्नु । तर आफू अगाडि बढ्दा अरुलाई दुख पर्ने र पछाडि पार्ने काम कहिल्यै नगर्नु ।’ मेरी आमाले हामी सबैलाई दिने उपदेश र आशिर्वाद यही नै हो ।

आमाको बाल्यकालको मिठो याद, पढ्ने रहर हुँदाहुँदै छोरी भएर पढ्न नपाउँदाकाे गुनासो, सानो उमेरमै बिहे गरेर नयाँ घर आउँदाको बेदना, खेतीपातीको कुरा गोठभरि गाईबस्तुका बथान, घण्टौ हिडेर फाप्रे खोलामा काकी हजुरआमाहरुसँग घाँस काट्न जाँदाको रमाइलो, ३० ३५ जनाको परिवारमा बस्दाको आनन्द, आधारातमा उठेर जाँतो ढिकि कुट्दाको कुरा, नुन किन्न २ दिन हिडेर धरानसम्म जानुको थकान, रेल हेर्न धनकुटा देखि जोगबनीसम्म हिड्दै गएको देखि रङ्गिन कपडा किन्न नपाएर सेतो कपडालाई पकाएर सिम्रीकले रङ्गाएको अनुभव, गाँउमा कसैको बिहे हुँदा गाँउ भरिका महिलाहरु मिलेर पात टिपेर संगीनी खेल्दै पात गाँस्दाको रमाइलो पल, यो लकडाउन नभएको भए मैले यी सबै कुरा सायदै थाहा पाउथेँ ।

हाम्री आमासँग हामी धेरै नै नजिक छाैं । पहिल्यै देखि आमाको कुरा सुन्ने, आमाले भनेको मान्ने, आमालाई माया गर्ने, आमालाई जिस्क्याउने, आमालाई राम्री बनाएर फोटो खिच्ने, आमालाई सुहाउने कपाल बनाइदिने गर्थ्याै। तर मोवाइल, टि.भि. कम्प्युटर र किताबबाट बिरलै फुर्सद हुने मलाई पनि आमाको कथा सुन्न र अनुभव सुन्न पहिलेको भन्दा यतिबेला प्रशस्त समय मिलेको छ । आमासँगै बारीमा गयो, साग रोप्यो, अलि अलि बारी खन्यो, बिरुवा रोप्यो, घास काट्यो, आमालाई मनपर्ने खाजा बनायो, आमाको दुख सुखको कहानी सुन्यो। ओहो! कति रमाइलो पललाई बेवास्ता गरिरहेको रहेछु मैले आजसम्म । लकडाउन भएको केही दिन एकदम आलस्य र फुर्सदिलो महशुस गरेको थिएँ। आजकल भने रमाइलो लाग्न थालेको छ।

गाँउमै जन्मिएपनि खेतबारीकाे काम खासै गरेकाे थिइनँ। यो लकडाउनमा भने घर वरपरको बारीमा आमासँगै बाँझाे बारी खन्ने, मकै छर्ने देखि गोड्नेसम्म सबै गरेँ। आझ आफ्नै बारीमा छरेको बिषादि रहित तोरीको साग,आफ्नै हातले टिपेर खानुकाे खुसी अर्कै छ । तर पनि गँधे, सिमे साग, रायोको साग, मुला, धनियाँ, बोडी, अलैँची, पुदिना, टमाटर, मेथीको साग सबै छन् हाम्राे सानाे बारीमा। यसपालि मैले पनि बारीमा भएका फलफूलको पालुवा देखि, फूल खेलेर चिचिला लाग्दासम्म नियाल्न पाएँ । यो सबै आफूले नजिकबाट नियाल्न पाउँदा मन कति आनन्दित हुँदो रहेछ । आजसम्म प्रविधि, किताब र साथीभाइसँगकाे घुमघाम जिन्दगी र लकडाउनमा बितेको ३ महिनामा आकाश पातालको फरक पाएँ मैले ।

अहिले हामीलाई जुन लकडाउन असहज लागेको छ हामी धेरै फुर्सदिला भएका छौँ। तर त्यही लकडाउननै मेरी आमाको सदाकाे जीवन हो । त्यसमै आमाको आजसम्मको जीवन बितिरहेको छ। बिहान उठ्ने पूजाआजा गरेर खाजा खाएर घरको यसो उसो काम गरो, खाना खायो अनि बारीमा फूल रोप्यो, साग सब्जि रोप्यो, दिउँसो खाजा खायो अनि वल्लो घर पल्लोघर गफ गर्न हिड्यो। साँझमा पूजा गरेर खाना खायो अनि समाचार सुनेर औषधि खाएर सुत्यो । मेरी आमाको सधैँकाे दिनचर्या यही हो, जुन अहिले अधिकांशको दिनचर्या बनेको छ । मेरी आमाले यही दिनचर्यामा जीवनको ८३ बर्ष बिताउनु भएको छ। तर हामीलाई हाम्रो जीवनको ३ महिना यसरी बिताउन कैदी जस्तो लागिरहेको छ । तर रत्तिभर यो लकडाउन जीवनप्रति गुनासो छैन मेरी आमालाई ।
यो लकडाउन जति नै लामो भए पनि अब म रमाउन थालिसकेँ। जे भए नि एक सिकाइ प्रकृया न हो जिवन । मैले लकडाउनमा नै रमाउन सिकिसकेँ। परिवारसँगै रमाउन सिकिसकेँ । मलाई अब लकडाउन खुल्छ र फेरि त्यही एकोहोरो जीवनशैलीमा फर्कनु पर्ने चिन्ता लाग्न थालेको छ । यो ३ महिनामा मैले मेरी आमाको लकडाउनमा बितेको ८३ वर्षलाई नजिकैबाट हेर्ने मौका पाएँ ।

दिक्षा दाहाल

धनकुटा


Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply