बाँदर धपाउने ठ्यापठ्यापे

ल है ल है लाेखर्के
हाम्राे मकै नखाइदे
गैरी गाउँकाे धान खाइदे
ल है ल हैss ल है ल हैss
एका बिहानै याे आवाज मेराे कानमा गुञ्जियाे ।

धेरै पछि म यसपाली खोटाङको आफ्नाे गाउँ पुगेकाे थिएँ । बाँदर धपाउन ठ्पाठ्यापे बजाउने केटाकेटीहरुले मलाई उडाएर बाल्यकालमै पुर्याइदिए ।

हामी पनि सानाे छँदा ठ्यापठ्यापे बजाउथ्या़ैँ । दिउँसो स्कुल जाने अनि बिहान बेलुका चाहिँ कुखुरा चोर्न आउने स्याल तर्साउन ठ्यापठ्यापे बजाउने ।

ठ्याठ्यापेको चलन अझै हराएको रहेनछ । ठ्याप ठ्याप आवाज आउने ठ्यापठ्यापे चाहिँ बाँसलाई काटेर बनाइन्छ ।

अहिले स्कूल बन्द भएकोले पढ्न जाने नानीहरु मकैबारीतिर ठ्यापठ्यापे बजाइरहेका भेटिन्छन्

बाँदर र स्यालसँगको लडाइँमा कुकुरहरु पनि तैनाथ छन्क्लै । भेट्यो भने त बाँदरले कुट्छ रे । हिजो मात्र एउटाले बाँदरको कुटाइ खाएको सुनाउँदै थिए ।

बाँदर धपाउने दिदीभाइलाई मकैबारीमै खाजा आइपुग्छ । खाजा आउने बेला भयो कि भनेर सानो मोबाइलमा घडी हेरिरहन्छन् ।

केही बेरपछि हजुरबुबाले नातीनातिनीलाई चाम्रे खाजा लिएर आए ।

https://fb.watch/9hWuM4Kzts/

खच्चडसँगै हुम्ला जुम्ला

हुम्लाको चखेली लेकबाट सयौँ खच्चर भारी बोकेर आइरहेका थिए ।  कुनै खच्चडले  ग्यास, कुनैले पानी, कुनैले अन्नपात तथा दालचामल बोकेका थिए।  खच्चडको बथानसँगै  अघिपछि दाैडिरहेका थिए सिहं रावल ।

जुम्लाका सिहं रावलले आफ्नो खच्चड हुम्लातिर ल्याएका छन् । अप्ठ्यारा बाटा अनि भिरपाखा छिचोल्दै उनी हुम्ला जुम्ला गरिरहन्छन् । 

 २२ बर्षे रावललाई न बिदेश जाने बाध्यता पर्यो, न त पढ्ने रहर नै भो । बरू खच्चडले नै लोभ्यायो । यसरी रातदिन खच्चडकै पछि लागेको ३ बर्ष भयो । सिहं रावल हुम्ला जुम्लाका गाउँ-गाउँ ७ /८ दिन हिडेरै पुग्छन् । 

अग्ला पहाड र कहाली लाग्दा भिरहरू उनी र उनका खच्चडले कति पार गरे कति । 

यात्रामा कहिले खच्चड थाक्छन् कहिले सिहं रावल। रै पनि पाइला अघि बढिरहन्छन् । सिहं रावल एक महिनामा ७०/ ८० हजार सम्म कमाउँछन् रे।  

अहिले त गाउँ-गाउँमा सडक पुग्न थालेका छन् । माल सामान पनि गाडी चढेर आउन थालिसके ।  सिंह रावललाई अब खच्चडहरू बेरोजगार हाेलान् कि भन्ने चिन्ता सुरू भइसक्यो ।

भैलो

हिउँदको महिना । माथि पहाडलाई हिउँले ढाकेको छ । भरखरै घामको न्यानो ताप्दै गरेको गाउँमा जुम्लीका भाकाहरू गुन्जिन्छन् ।

जुम्ला चन्दननाथ गाउँमा आज भैलो खेल्दैछन् । गाउँलेहरू जम्मा भएर प्रत्येक घरमा ५ दिनसम्म भैलो खेल्ने गर्दछन् । मौलिक शैलीमा भैलेराभैलेरी(भैलाे खेल्ने पुरुष महिला)हरूले हरेक घरमा सुख शान्ति र समृद्धिको कामना गर्छन् । अनि भैलो खेलिएका घरका मान्छेले चाहिँ अन्न, फलफूल तथा टिका लगाइदिएर दक्षिणा दिने गर्छन् ।

उमेरले बुढ्यौली लागेका दुर्गा बहादुर खत्री पुर्खाको कला र संस्कृति जोगाउनुपर्छ है भन्दै गाउँलेका घर-घरमा पुगी मीठो भैलो सुनाउछन् ।
काँ र जन्म्यो भैलो ? मान सरोवर कविलास- भैलो
ऐंर देखि भैलो ताक्लाखार आयो -भैलो ।
……………………………………………
पहिले-पहिले त मानसरोवर हुँदै जुम्ला, दैलेख, सुर्खेत, दाङ हुँदै उपत्यका काठमाडौंसम्म भैलो खेल्न पुग्थे रे ।पैल्हाको भैलो काँबाट उब्ज्याे ? -भैलो ।
पैल्हाको भैलो मानसरोवर उब्ज्यो -भैलो ।

भैलो खेलिसकेपछि सबैजनाले गाउँ नजिकै पाटे भात खाएर रमाइलो गर्छन् ।

https://fb.watch/9lSBmYz5Et/

हज्जुकाे अटो एम्बुलेन्स

सुर्खेतका हज्जु अलि एकदिन प्रदेश अस्पताल पुगेका थिए । त्यहाँ उनले एम्बुलेन्स नपाएर बिरामी र उनका आफन्तहरु अलपत्र परेको देखे । एकातिर एम्बुलेन्स नपाएको दुख, त्यसमाथि अस्पताल वरपरका अटोहरुले धेरै भाडा लिएको देखेपछि हज्जुले आफ्नो घरमा थन्काएर राखेको अटो निकाले र कोभिडका बिरामी बोक्न थाले ।

अटाेबाटै आम्दानी हुने हज्जुको अटोमा काेराेना संक्रमण यता कुनै भाडा तोकिएको छैन । पैसा हुनेलाई जति मन लाग्छ दिनु भन्छन्, नहुनेलाई सित्तैमा चढाउँछन् ।
एम्बुलेन्स बनेर उनको अटो सुर्खेतको सडकमा हुँइकिन थालेको महिना दिन कटिसक्याे । हज्जु काेराेना संक्रमितहरुलाई लिन पुर्याउन कहिलेकाहीँ त कोहलपुरसम्म पनि पुग्छन् ।https://fb.watch/9JEJ3VWow-/

चिडिमार

बाँके हवल्दारपुरको भित्री गाउँ । गाउँमा चिडिमार समुदाय बस्छन् ।
चरा शिकार गर्ने उनीहरुलाई चिडिमार जाती भनेरै चिन्दछन् । चरा शिकार गर्नु उनीहरुकाे पुर्खाैली पेशा हो ।

त्यही समुदायमा मनवा चिडिमार बस्छन् । मनवा चिडिमारले १२ बर्षको उमेरदेखि जङ्गलमा शिकार गर्थे ।
टाढा-टाढा जङ्गलमा गएर चरा शिकार गर्ने अनि नेपालगञ्ज लगेर बेचेकाे सम्झना ताजै छ ।
पहिले त चरा शिकार गर्दै मनवा बर्दियासम्म पुग्थे रे । उनी पुराना दिन सम्झिन्छन् ।

अहिले पनि उनी चरा शिकार गर्छन् । तर पहिले जस्ताे चरा शिकार गर्ने साथीभाइ साथमा छेनन् ।
‘पहिले पहिले त साथीभाइसँग शिकार गर्न जान्थ्याैँ । अहिले त्यति धेरै शिकार गर्दैनन् । हाम्राे पुर्खाले गरि आएकाे काम हाे, मलाई यै काम गर्न आउछ ।’
अहिले धेरैले शिकार गर्न छोडिसके । मनवालाई आफ्नो पुर्ख्यौली पेशा चटक्क छोड्न मन छैन ।
उनी जाल बोकेर बेला-बेलामा चरा शिकार गर्न जङ्गलतिर निस्किन्छन् ।

साइकलको भर

झिसमिसे बिहानमा काठमाडाैँबाट गाडी तरहरा चाेक आइपुग्छ ।
चाेकमा फ्याट्टफुट्ट मान्छेहरुकाे आवत जावत हुन थाल्छ । मनाेज पाैदार पनि साइकल चढेर त्यहीँ पुग्छन्, गाडीले ल्याएकाे पत्रिका लिन । सधैँ यसरी नै उनकाे दैनिकी सुरु हुन्छ ।

सानाे छँदा मनाेज फुटबल खेल्थे । उनले सानैमा फुटबल खेलाडी बन्ने सपना बाेकेका थिए । तर एकदिन अचानक मनाेजकाे खुट्टामा समस्या देखा पर्याे । त्यसपछि उनले १२ वर्षकाे उमेरमा एउटा खुट्टा गुमाउनु पर्याे । अहिले एउटै खुट्टाको भरमा साइकल चढेर उनी सबेरै तरहराका घर-घर पुग्छन् र पत्र-पत्रिका बाड्छन् । अनि दिउँसो चाहीँ बिग्रेकाे साइकल बनाउँछन् ।

तरहराको पुरानो प्रहरी चौकी नजिकै मनोज पौदारको साइकल पसल छ । धेरै जसाे मान्छेहरु साइकल बनाउन मनाेजकै पसलमा आउँछन् ।
‘एउटा साइकल बनाउने ठाउँमा काम गर्न जादा काम गर्न सक्दैन भनेर काम दिएनन् । त्यसपछि मैले आफैंले साइकल रिपेरिङ सेन्टर खाेलें । अहिले मैले गरेकाे काम सबैले मन पराउछन् । धेरैले मेरैमा साइकल बनाउन ल्याउछन् ।’ मनाेज आफ्नाे कामप्रति गर्व महसुस गर्छन् ।

केही वर्ष अगाडी मनोजको जीवन साथी बन्न पुनमदेवी पौदार जोडिईन् ।अहिले स्कूल जाने एक छोरी छिन् । दुवैजनाले आफ्नाे पढ्ने सपना छाेरीकाे आँखामा देख्न थालेका छन् । डेराकाे साँघुरो कोठासँगै जाेडिएकाे साइकल पसललाई अझै ठूलो बनाउन मन छ मनोजलाई ।

 पुनमकाे कर्म

दाङको घोराही बजार । बजार नजिकै पुनम नेपाली जुत्ता चप्पल सिलाउँछिन् । यहीँ बाटो भएर ओहोर-दोहोर गर्नेहरू उनैलाई फर्कि फर्कि हेर्छन् । किनकी घोराही चोकमा जुत्ता चप्पल सिलाउने उनी एक मात्र महिला हुन् ।

सुरु सुरुमा त पुनमलाई यो काम गर्न आउदैन थियो । पहिले घर धन्दामा मात्र व्यस्त हुने पुनमले जुत्ता चप्पल सिलाउन थालेको ६ वर्ष भयो । अनि त्यति नै भयो उनको श्रीमान बितेको पनि ।

यहीँ चोकमा, श्रीमानले जुत्ता चप्पल सिलाउँदा साथी आएको सम्झना ताजै छ । श्रीमान नभए पनि अहिले श्रीमानको  कामलाई पुनमले निरन्तरता दिएकी छिन् । अनि यसैबाट भएको आम्दानीले घर चलेको छ ।

पुनमलाई धेरै पढ्ने यच्छा हुँदा हुँदै ८ कक्षामा पढ्दै गर्दा आमा बुबाले बिहे पराइघर पठाईदिए । पढाई जन्मघरमै छुट्याे । अहिले पुनम जुत्ता चप्पलसँगै फाटेको मन पनि सिलाउने प्रयास गर्दैछिन् । 

साहारा एक छोरा छ । बिहेपछि अधुरो भएकाे पुनमकाे पढ्ने सपना अब छोराकाे आँखामा देख्न थालेकी छिन् । 

नवाज मिर्जा

नवाज मिर्जा र्‌याप हान्न मात्र होइन, क्रिकेटको कमेन्ट्री गर्न पनि पोख्त छन् । कपिलवस्तको बहादुरगंजमा क्रिकेटको मेहफिल जमेको थियाे । मानिसहरु क्रिकेट हेर्न मात्र होइन उनको कमेन्ट्री सुन्न पनि आएका थिए ।

गाउँठाउँका स्थानीय क्लबका म्याचहरुमा समेत दर्शकहरुको भिड देखेर हामी छक्क पर्यौं । तर यो भिडमा महिलाहरु भने देखिएनन् । पुरुषकाे मात्र उपस्थिती थियाे । हामीलाई देखेर उनीहरुकाे नजर हामीतिर माेडियाे । हामी नयाँ थियाैँ र महिला मात्र थियाैँ ।

केहीबेरपछि क्रिकेट म्याच सुरु भयाे । ४० हजार इनाम राखिएको क्रिकेट हेर्न कोही चौरमा बसेका थिए, कोही मोटरसाइकलमा । नवाजकाे कमेन्ट्रीले अरु(दर्शक) मान्छेहरुलाई जसरी हामीलाई पनि लाेभ्यायाे ।

क्रिकेट म्याच एकछिन ब्रेक भयाे । हामीले नवाजकाे र्‌याप सुन्याैँ । नवाजकाे र्‌याप नसुन्ने सायदै थिएन । तालीकाे वर्षात भयाे ।

अर्को म्याच सुरु हुनै लागेको थियो । जोडदार तुफान आयो । नवाजले ठट्टा गरे “आज तपाईंहरु आएर तुफान आए जस्तो छ!” https://fb.watch/9KLK9j-gLN/

शितल छहारी पीपल चाैतारी

सिरहाको हुलाकी मार्ग हुँदै‍ सन्हैठा ‍‍‍‍चोक पुगिन्छ ।
चोकदेखि दाँयातिर लाग्दा एउटा ठूलो पीपल चौतारी भेटिन्छ । हामी अटाे चढेर सन्हैठा चाेकमा ओर्लियाैँ । चाैतारीमा मान्छेहरुकाे भीड देखेपछि हाम्राे पाइला त्यतैतिर लम्कियाे।
गर्मी महिना । गाउँका मान्छेहरु आराम गर्न, खाना खान, नानीहरु खेल्न, सुत्न पीपल चाैतारीमा आउदा रहेछन् ।
मान्छेलाई मात्र हैन गाइँवस्तुको लागि पनि शितल छहारी बनेको छ पीपल चौतारी ।
‘हामीलाई जसरी यिनीहरुलाई पनि घामले पाेल्छ। गर्मी हुन्छ ।’ एउटी महिला छेवैमा भैँसीलाई पानी दिदैँ थिइन् ।


चुरा बेच्दै हिड्ने फतिमा खातुन पनि चाैतारीमै आइपुगिन् । उनलाई चुरा बेच्न घर-घर डुल्न पर्दैन । चुरा लाउनेहरु चाैतारीमै भेला हुन्छन् । साउनकाे महिना भएकाेले चुरा लाउनेकाे पनि लर्काे लाग्याे । हामीलाई पनि चुरा लाउन मन लाग्याे त्यसपछि फतिमाले हामीलाई हरियाे र पहेँलाे चुरा लगाईदिइन् ।

आफ्नै देशमा केहि गर्ने सोच भएका एक जवानको अटो पनि यहीँ चौतारीमा आएर रोकियाे ।अटाेबाट किनमेल गर्न गएका गाउँलेहरु ओर्लिए । उनकाे अटाेमा गाउँका बिरामी, व्यापारी, विद्यार्थीहरु, अस्पताल बजार विद्यालय ओहाेर-दाेहाेर गर्छन् ।
गर्मीको बेला पीपल चौतारी गाउँको साझा घर जस्तै बनेकाे छ ।

कुम्फुका साना गुरु

पश्चिम रुकुम बाँफिकाेटका डाँडाकाँडा बिहानैदेखि कुहिराेले ढाकेकाे छ ।
कुहिराे छिचाेल्दै १४ वर्षका जनक साथीहरूसँग मैदानतिर लाग्छन् ।
उमेरले सानै भए पनि उनी आफ्ना साथीहरूका गुरु भएका छन् ।

मजदुरी गर्न हिडेका आमाबुबासँगै जनक पनि काठमान्डाैँ पुगेका थिए ।
डेरा नजिकै अरुले कुम्फाे सिकेकाे देखेर जनकलाई पनि सिक्ने रहर पलायाे ।

बुबा कमाएकाे पैसा रक्सिमै सक्थे । आमा भने घर चलाउन र जनकलाई कुम्फाे सिक्न समेत खर्च जुटाउथिन् ।
पछि बुबालाई काठमान्डाैँतिरै छाेडेर आमाछाेरा मामाघर फर्किए ।


‘छाेराले रहर गरेर सिक्याे अहिले त आफ्नै साथीहरुलाई सिकाउने गुरु बने । कहिलेकाही छाेराले सिकाउने ठाउँमा गएर हेर्छु । रमाइलाे लाग्छ । खुसी पनि लाग्छ ।’ जनककी आमा खुसी पाेख्छिन् ।
जनक अहिले आफ्नै उमेरका १५ /२० जना साथीभाईलाई कुम्फाे सिकाउने भएका छन् ।
एकजना बराबर महिनामा २०० रुपैयाँ पाउछन् । उनकाे पढाई खर्च यसैबाट टर्छ ।

धनसिंह माईला

‘उनी त धनसिंह माइला पाे हुन् ।’ काँधमा रेडियाे बाेकेर गीत गाउदै हिडिरहेकाे व्यक्तिलाई औंलाउदै कसैले भन्याे । गाउँलेका लागि उनी नाैलाे थिएन । तर त्यस गाउँमा पुग्ने नाैलाे मान्छेका लागि उनी नाैलाे थिए तर नजरमा परिहाल्ने । जाे कसैले उनी बारे चासाे नलिने र साेधीखाेजी नगर्ने त कुरै भएन ।

काेराेना संक्रमन जुम्ला जिल्लाकाे गाउँभरि फैलिएकाे थियाे । तर पनि उनी हिड्न डुल्न छाेडेकाे थिएन । बरु बिरामीका घरघरै पुगेर सन्चो बिसन्चो सोधे ।  बिरामी परेकालाई हाँसो ख्यालठट्टा गरेर खुसी बनाउने प्रयास गरे । गाउँलेहरूको आँट बढाए । संक्रमित र गाउँलेलाई आफूले जानेका कुरा सिकाए ।

लकडाउनका बेला घरमै बाँधिएका बुढापाका र बिरामी उनलाई भेटेर खूब रमाए । 

अरू बेला पनि गाउँलेका आपसी झैगडा र विवाद मिलाउन धनसिंह माइलालाई नै डाकिन्छ। यसरी गाउँघर डुल्दा माइलाको काँधमा रेडियो झुन्डिएकै हुन्छ ।  अनि हातमा धागो र सुइरो । उनले बुनेका टोपी गलबन्दी धेरै गाउँलेका शीर र गलामा भेटिन्छन् । 

भीमबहादुरका भेडा

बागलुङ सोलेडाँडा नजिकैको तमान गाउँ वरपर आजकल भीमबहादुरका भेडा भेटिन्छन् । भीमबहादुर दुई तीन सय भेडाको बथान लिएर जाडो छल्न गाउँ झरेका हुन् । तर ती भेडा अब बिस्तारै उकालो लाग्नेछन् ।गर्मी बढ्न थालिसक्यो । भीमबहादुर भेडाहरु लिएर हिमालतिरको लामो यात्रामा निस्कने तयारीमा छन् ।
भेडाको पछि लागेर यसरी उकाली ओराली गरेको चार दशक नाघिसक्यो ।

पाँच छोराछोरी अ-आफ्नो बाटो लागिसके । भीमबहादुरलाई श्रीमतीले साथ दिन्छिन् ।
चिसो हिमालमा बसेर भीमबहादुरले बुनेका न्याना उनका लुगाहरु टाढा-टाढासम्म पुग्छन् । भीमबहादुरले भेडाबाट वर्षको ७-८ लाख कमाउँछन् रे । ‘मैले भेडा पालेकाे ४२ वर्ष बित्याे । पहिले-पहिले माथि बुकीतिर थुप्रो गोठालाहरु भेटिन्थे । तर नयाँ पुस्ताले मन नलगाउँदा भेडा पाल्नेहरु घट्दै गयाे ।’ भीमबहादुर तमान गाउँमा एक्लै भेडा हेरिरहेका थिए ।

https://fb.watch/9lPNMphdI5/

रुमाकाे गुजुल्टा

गाउँमा आज मत्थै दिनपछि डमडम डमडम डमरु बजाउँदै डमरुवाला आया छुन् । बाेहरागाउँका नानाे भाउ चन्दन, डमडम गरि डमरु घुन्कियाकाे सुन्यापछि आफ्नो घरतिर दाैडिया । चन्दनकी आमाले कपाल कोर्नया बेला झरेका रुमाका गुजुल्टा बान्नाका चेपमा काेचेई छिइन् । चन्दनले ति रुमाको गुजुल्टा देखाइकन डमरु बजाउन्यासँग माेलमोलाई गरे। एक्कैचाेटिमै कुणाे मिलेन । चन्दनले रबणा नान्नानाे बल पाया, डमरू बजाउन्याले चन्दनै आमाको रुमाकाे गुजुल्टो । अब २, ४ दिन चन्दन यही बलसात खेल्न्या छुन् ।

जुम्लाका गाउँघरतिर कपाल कोर्न्या बेला झणेका रुमा पुनि जतन गरेर राख्न्या गद्दाछुन् । यैथाे गरिकन खेडखाड भएको रुमाका गुजुल्टासात नाना ट्वाटिकिले खेलल्या बल, बेलुन मिठाइँमा टपि, जुस, अनि टाेकिनिहरुले रुमा चेप्न्या चेपा, रिवन, रबण र कानमा लाउन्या झुम्का पुनि फेर्दिछुन भुन्या ठुलि महिलाहरुले चुरा, टिका, काईयाे, र रबणका भाडाकुडि फेराफेर गर्दिछुन् । काेईकाेईले हातमै रुपिया दिईकन प्लाष्टिकका भाडा पनि किन्या गद्दिछुन ।

गाउँकै छिता सुनारले पनि आफ्ना रुमाकाे गुजुल्टाे लुकाइकन राखेई छिन् । छिताकन डमरु बजाउन्याले रुमाका सट्टा एक पाेकाे टिकि फिर्ता दिया । यैथाेगरि डमरू बजाउदै गाउँ गाउँ डुल्न्याहरू तराईबाट आएका हुन् । नेपालगुन्जबाट डमरु बजाई बजाई जुम्लासम्म पुग्याका करन सिंहले येथाेगरि खेडखाड गर्याका रुमा ईन्डिया निकासि गर्न्या रैछुन । इ रुमाबाट नक्कलि कपाल बुनाउन्या रईछुन ।

सिउरुङका खेलाडी

लमजुङको सिउरुङ गाउँमा आमा पुस्ताका समूह छन् । उनीहरू चुलाचौका, घास दाउरा, मेलापातबाट निस्किएर मैदानमा भेला हुन्छन् । फुटबल खेल्नलाई ।

गाउँ नजिकैको स्कूलमा फुटबल खेल्ने मैदान छ । त्यहीँ मैदानमा लुङ्गी लगाएका आमाहरू दिनहुँ फुटबल खेल्छन् ।
जितेर पाउनु केही छैन । पुग्नु पर्ने कतै छैन । उनीहरूलाई बल तोट्नु छ ।
कसैलाई रहर मेटाउनु छ । कसैलाई सम्झना ताजा गराउनु छ । तर उनीहरु कुनै खेलाडीभन्दा कम देखिदैनन् ।

सन्त कुमारीलाई अरुले फुटबल खेलेको हेर्न मात्रै पनि रमाइलो लाग्छ ।
कतै गाउँमा फुटबल प्रतियोगिता भयो भने हेर्न कहिल्यै छुटाउदिनन् ।
‘मलाईं त अरुले फुटबल खेलेकाे हेर्दाहेर्दै आफैं मैदानमा गएर गोल हान्ने जोस आउँछ ।’ सन्तकुमारीलाई यही रहरले मैदानसम्म पुर्यायाे ।

गाउँलेहरू पनि मैदानमा आएर उनीहरूको खेलमा ताली थप्छन् । उमेरले छेक्न नसकेकाे रहरलाई आफन्त परिवारले छेक्न सकेन । बरु उनीहरुकाे रहरमा हाैसला थपिदिए । नाती पुस्तासम्मले हुटिङ लगाउछन् – गाेssल गाेssल । पर-परसम्म आवाज गुञ्जिन्छन् ।

गाँसकाे लागि घाँस

नेपालगञ्जको त्रिभुवन चौकदेखि उत्तर तर्फ जादा घसियारन टोल भेटिन्छ । 

घसियारन टोलमा हरेक साँझ घाँसकाे बजार  लाग्छ ।

घसियारन टाेलका महिला केटाकेटीहरू दिनभरि टाढा-टाढाका जङ्गलसम्म पुग्छन् । अनि घाँस काटी ल्याउँछन् ।  साँझ त्यही घाँस बेचेर उनीहरकाे गुजारा चलाउछन् । याे उनीहरूकाे पुर्खौली पेशा हो । 

मिना केवट पनि छोरीसँगै घाँस बेच्न आएकी थिइन् ।

‘घाँस काटेर बेचे त गाँस हुन्छ नभए त हामी भाेकै हुन्छ ।’ उनले घाँस बेचेकाे २० रुपैयाँ पाेल्टामा हालिन् ।

घाँस बेच्ने चाहिँ धेरैजसाे महिलाहरू हुन्छन् । पुरुषहरू भने ज्याला मजदुरी गर्छन् ।  

यहाँ बाख्रा, घाेडा, गाइवस्तुकाे लागि मान्छेहरु घाँस किन्न आउँछन् ।

एउटी महिला एउटा बाख्रालाई भनेर ३० रुपैयाँकाे घाँस किन्न आइन् । एउटा सानाे बाबु पनि साइकल चढेर १० रुपैयाँकाे घाँस किन्न आए । उनकाे घरमा पनि एउटा बाख्रा रहेछ । एउटा घाँसकाे मुठालाई १० देखि ३० रुपैयाँसम्म पर्छ । 

त्रिभुवन चाेक अगाडी जहा मीठाई र दूध किनमेलकाे बजार लाग्छ । चाेक पछाडी जहाँ घाँस माेलताैलकाे बजार लाग्छ ।

 झमक्क साँझ परिसकेको थियो । तर घाँस बेच्ने र किन्नेको भीड सकिएको थिएन । भोलि फेरि घाँस काट्नु, बेच्नु  र किन्नु  त छदैछ ।

घर-घरमै उपचार

बागलुङकी नितु खड्का पेशाले स्टाफ नर्स हुन् । काेराेना संक्रमण भए यता नितुलाई फुर्सद छैन । नितु आफ्नो घरबाट सबेरै निस्किन्छिन् र पुग्छिन् काेराेना संक्रमितहरुका घर । अनि संक्रमितको निःशुल्क उपचार गर्छिन् ।कोराेना संक्रमण भएर घरमै आइसाेलेसनमा बसेकाहरुको गाह्रो साह्रो साेध्नु,अक्सिजन, ब्लडप्रेसर नाप्नु, कसैलाई ओखती दिनु उनकाे दैनिकी बनेकाे छ । कसैका लागि त उनको बाेली नै ओखती । नितु संक्रमितहरुको आत्मबल बढाउन सघाउँछिन् ।

उनले बागलुङ बजार वरपरका बिरामीका घर आँगन नपुगेकाे ठाउँ छैन ।
दिनदिनै संक्रमितको संख्या बढिरहेकाे छ । अस्पताल भरिभराउ छ । यस्तो बेलामा संक्रमितका घर-घरै पुगेर उपचार गर्न उनलाई कसैले अह्राएकाे हैन । नितु आफ्नै मनले अह्राएकाे गर्छिन्।

https://fb.watch/9JDajrJUid/

बगान

पूर्वी झापा, मेचिनगर नजिकैको चिया बगान । बगानभित्र कथा बाेकेर आइपुगेका थुप्रै अनुहारहरु भेटिन्छन् ।

उनीहरु कहाँबाट आएका हाेलान् ? पूर्व कि पश्चिम, पहाड कि तराई ? बगानमा उनीहरु कोसँग आए ? किन आए ? एक्लै आए कि परिवारसँग ? यस्ता थुप्रै प्रश्नहरु मनमा बाेकेर हामी चिया बगान पुगेका थियाैँ ।

पारीलो घाम लागेको थियो । बगानका मजदूरहरु बिहानै आईसकेका थिए । कोही चियाका पत्ता टिप्दै  थिए ।  कोही चियाका भारी ओसार्दै थिए । 

जिन्दगीका अनेकौं सपना बोकेर हिंडेकाहरु कुनै दिन बगानमा आइपुगेका थिए । 

कोही एक्लै आए । कोही साथै आए । कोही परिवारसँग आए । कोही परिवार छाडेर आए । 

अहिले सबै एक अर्काका साहारा बनेका छन्  । आफन्त बनेका छन् । उनीहरु बगानका भएका छन् । बगान उनीहरुको भएको छ । 

करिब तीन दशक अघि बगान भित्र साना-साना झुपडी मात्र थिए । बगान अहिले गाउँ भैसक्यो । बगानभित्रको बस्तीमा करिब एक सय घर छन् । यही बस्तीमा बालखैमा आएकाहरु जवान भए । जवानहरु बृद्ध भए । माया प्रेम विवाह बगानभित्रै ।  बालबच्चा बगानभित्रै । अहिले  बगान सबैको साझा घर भइसक्यो । 

यही माटोसँग जिन्दगीको घाम छाया र दु:ख-सुख साटियो ।  जुस्विना परिवारको साथमा आइन् । अमृता भारतबाट छोराछोरी र  श्रीमानसँगै आइन् । छलिमाया काखे छोरा च्यापेर आइन् । यसरी काेही आफ्नाहरु लिएर, काेही आफ्नाहरु छाेडेर आएकाहरुका कथा बगानबाटै सुरु हुन्छ र बगानमै सकिन्छ ।

नन्दलालकी माेति

भैरहवाका नन्दलाल बढई कुनै बेला मूर्ति बनाउने काम गर्थे । अहिले उनकी श्रीमती नै मूर्ति जस्तै अचल भएकी छिन् । ८६ वर्षका नन्दलाल बिरामी श्रीमतीको शरीरमा प्राण भरिरहन्छन् ।


अढाई वर्षदेखि नन्दलाल दम्पती अस्पताल धाएको धायै छन् ।

‘धेरै चेकजाँच गराए तर के रोग हो पत्तै लागेको छैन ।’ नन्दलाल ‌‌ओछ्यानमा लडिरहेकी श्रीमतीलाई हेर्छ । ‘अब त उपचार गराउन पनि पैसा सकियाे । के गर्ने, कसलाई सहयाेग माग्ने ? मेराे बुद्धीले काम गरेकाे छैन । आशा छ कि राम्राे हाेस् ।’ नन्दलालकाे निराश अनुहारमा झिनाे आशा थपिन्छ ।

नन्दलालको सहाराविना मोति हलचल गर्न पनि सक्दिनन् । नन्दलालकाे बुढ्यौली हातले खेलौनाजस्तै रिक्सा बनाएका छन् । आफैंले बनाएको रिक्सामा मोतिलाई राखेर कहिले अस्पताल पुर्याउँछन्, कहिले वरपर घुमाउँछन् ।
नन्दलाल दम्पतीका सन्तान भएनन् । उनीहरु एकअर्काका साथी भइरहे । साँघुरो कोठाका खटिया र भाँडाकुँडा मात्रै सम्पत्ति छन् ।
सबैभन्दा ठूलो सम्पत्ति चाहिँ नन्दलालको लागि मोति र मोतिको लागि नन्दलाल ।

तराइको घर

OLYMPUS DIGITAL CAMERA

जङ्गलको बीचमा यो एक्लो घर छ । अरू घरहरू यहाँबाट निकै टाढा छन् ।
नरनाथ घिमिरेले कुनैबेला ठूलठूला चट्टान र जङ्गल फाँडेर यहाँ घर बसाएका थिए ।
उनलाई कसैले भस्मेली भन्थे त कसैले तराइ ।
त्यस ताका तराइले घर वरिपरिका पाखामा सुन्तला, आँप,कटहर फलाएका थिए । खेतका गह्राहरूमा धान फलाउथे । तराइका छोराछोरीहरु हुर्के बढे । कोही विदेशिए, त कोही तराई झरे ।

तराइ र उनको जहानलाई घर छोड्न मन थिएन । तर रोगले थलिदै गएकी श्रीमती र गल्दै गएको उनको शरीरले हार खाए त्यसपछि चरा जस्तै गुँड छाेडेर छोराछोरी पछ्याउँदै उनीहरू पनि तराई झरे ।
बिहे गरेकी कान्छी छाेरी उर्मिला अचेल गाउँदेखि टाढा बस्छिन् । उनी सपनामा मात्र माइत पुग्छिन् ।
“खालि सपनामा माइत पुगेकाे देख्थें । फाेटाे हेरर छक्क परें । अब त आफू हुर्केकाे खेलेकाे घर बाघ भालु बस्ने ठाउँ भएछ ।” उर्मिलाले माइत घरकाे फाेटाे सुम्सुम्याउदै तप्प आँशु खसालिन् ।

कहिल्यै मामाघर नपुगेका छोराछोरीलाई उर्मिलाले फाेटाेबाटै मामाघर चिनाइन् ।

‘तराइ’ले गाउँका आफन्तलाई “घर कस्तो छ ?” भनेर सोधिरहन्थे रे । अनि आफन्तले खिचि पठाएको फोटो हेरेर भक्कानिन्थे रे । घर छोडेकाे दशकपछि तराइ तराईमै बिते ।

हवल्दार्नी आमा

पूर्वपश्चिम राजमार्ग । राैतहट चन्द्रनिगाहपुरको मुख्य चाेकमा एउटा चिया पसल छ ।

त्यसाे त याे चिया पसलकाे कुनै नाम छैन, न कुनै साइनबाेर्ड नै छ ।

तर सबैले यसलाई नाम दिएका छन्- ‘आमाकाे चिया पसल’

यहाँ चिया खुवाउने आमा हुन् नरकुमारी गुरुङ । बिहान ४ बजे उठेर उनलाई  अगेनाेमा चियाको कित्ली बसाल्न हतार हुन्छ । छोराछोरीले आमालाई सघाउछन् ।

धेरैले उनलाई ‘हवल्दार्नी आमा’ पनि भन्दछन् । उनका श्रीमान् हवल्दार थिए रे । जमजुङबाट तनहुँहुँदै हवल्दार श्रीमानकाे कर्मले डाेर्याएर राैतहटसम्म ल्याएकाे थियाे । 

सबेरैदेखि हवल्दार्नी आमाकाेमा चिया पारखीहरुकाे भिड लाग्छ । यहाँ सबैखाले मान्छे आउँछन् । नेतादेखि विद्यार्थीसम्म, साहुदेखि मजदुरसम्म । आमाकाे चियाकाे स्वादले कसैलाई भेदभाव गर्दैन।

‘चिया खान काे-काे आउछन् काे-काे, यादै हुँदैन । सबैतिरका मान्छेहरु यहीँ भेला हुन्छन् । उनीहरुलाई अझ धेरै वर्ष चिया खुवाउन सक्छु ।’- उनी दिल खाेलेर हास्छिन् । 

३६ बर्ष भयाे नरकुमारीले  चिया पकाउन थालेकाे । उमेरले गल्दै गए पनि उनकाे जाेस र जागर भने अझ गलेकाे छैन ।

चिमारा पाटनका गाेठालाहरु

पहाडकाे अग्लाे डाँडाहरुमा गुन्जिन्छन् बैराग भरिएका भाकाहरु ।
अनि त्यही डाँडामा भेटिन्छन् गाई बाख्रा चराउने गाेठालाहरु ।

जुम्लाकाे याे बुकि फुल्ने चिमारा पाटनमा गाेठालाहरु आएकाे केही महिना भयाे । उनीहरु धेरै जसाे महिलाहरु छन् । यतै बस्ने खाने उनीहरुले बस्ने आँटी(अस्थाई घर) बनाएका छन् । आँफूलाई चाहिने सर-सामान, खाना बनाउने भाडाकुडा पनि साथै ल्याएका छन् ।
हरेक बिहान ४ बजे गाईबाख्राका बथान लिएर गाेठालाहरु हरिया फाँटहरुमा निस्कन्छन् । वस्तुभाउ फाँटतिर छाेडेर दिउँसाे १२ बजे चाहिँ आँटी(बस्ने ठाउँ) फर्किन्छन् । अनि बिहानकाे खाना खान्छन् ।

३०० मिटरकाे उचाईमा रहेकाे पाटनबाट डाँडाकाँडा, खाेला-नाला, बस्ती अनि खेतबारीकाे लाेभलाग्दा दृश्य देखिन्छन् । त्यहिँ ठाउँमा गाेठाला आएका जुम्ली महिलाहरु साउन भदाैदेखि ४ /५ महिना पाटनमै बस्ने गर्छन् । उनीहरुको लागि खाना खाने सामल आफन्तले टाढाको घरबाट ल्याइदिन्छन् ।

दिउँसो खाना खाएपछि दाउरा, स्याउला, अनि पाटनकाे सागपात टिप्छन् । टिपेका साग, बनाएकाे महि र घिउ चाहिँ सामल ल्याइदिने आफन्तलाई घर पठाइदिन्छन् ।
साँझ काेही दुध दुहुन्छन्, काेही खाना बनाउनतिर लाग्छन् ।

साँझकाे खाना पश्चात जब आँटीमा आगाे दन्किन थाल्छ । तब हाँसाेठट्टा र सुखदुख भरिएका भाकाहरु पर-परसम्म गुन्जिन थाल्छ ।

कुम्फुका साना गुरु

पश्चिम रुकुम बाँफिकाेटका डाँडाकाँडा बिहानैदेखि कुहिराेले ढाकेकाे छ ।
कुहिराे छिचाेल्दै १४ वर्षका जनक साथीहरूसँग मैदानतिर लाग्छन् ।
उमेरले सानै भए पनि उनी आफ्ना साथीहरूका गुरु भएका छन् ।

मजदुरी गर्न हिडेका आमाबुबासँगै जनक पनि काठमान्डाैँ पुगेका थिए ।
डेरा नजिकै अरले कुम्फाे सिकेकाे देखेर जनकलाई पनि सिक्ने रहर पलायाे ।

बुबा कमाएकाे पैसा रक्सिमै सक्थे । आमा भने घर चलाउन र जनकलाई कुम्फाे सिक्न समेत खर्च जुटाउथिन् ।
पछि बुबालाई काठमान्डाैँतिरै छाेडेर आमाछाेरा मामाघर फर्किए ।
बाइट जनककाे
जनक अहिले आफ्नै उमेरका १५ २० जना साथीभाईलाई कुम्फाे सिकाउने भएका छन् ।
जनककाे आमाकाे बाइट
एकजना बराबर महिनामा २०० रुपैयाँ पाउछन् । उनकाे पढाई खर्च यसैबाट टर्छ ।

बिदेशबाट सिप ल्याएं गाउँमा पैसा कमाएं

हरिश महरा

कोही बिदेशबाट पैसा कमाएर फर्कन्छन् त कोही सिप र जाँगर । बैतडीका हरिश महरा भने सिप लिएर फर्किए । बैतडी पाटन नगरपालिकाका हरिश महरा ३ वर्ष कतार बसे । उता हुँदा ग्राफिक्स डिजाइनको काम गर्थे । बिदेशकाे ठाउँमा बसेर काम गरिरहदा देशमा नै केही गर्न सकिन्छ भन्ने उनकाे साेँच आयाे । साेँचलाई व्यवहारमा बदल्नु थियाे । त्यसैले केही साल अघि हरिश देश फर्कि आए । र आफ्नै गाउँमा सुरु गरे चप्पल कारखाना ।

कोरोना संक्रमणले धेरैको काम बिथोलिएकाे बेला हरिशको चप्पल कारखाना भने चलिरहेकै थियाे । हरिशको चप्पल कारखानामा गाउँकै तीन जना युवाले काम गर्छन् । उनीहरु आफ्नै गाउँमा स्वराेजगार बनेका छन् ।
‘आफ्नै गाउँमा सिप मूलक काम गरेर अरुलाई पनि स्वराेजगार बनाउने मेराे उद्देश्य हाे । मेहनत गरेपछि त आम्दानी त्यसै राम्राे हुन्छ । बिदेशबाट सिप ल्याएं गाउँमा पैसा कमाएं ।’ थोरै लगानीमा, गाउँघरमै केही गराैं भन्नेहरूका लागि हरिश गतिलो

उदाहरण बनेका छन् ।

महाकालीकाे तुइन

दार्चुलाको उत्तरी भेग, दुहुँ ब्याँस गाउँ । गाउँकाे फेदबाट महाकाली नदी बगेको छ ।
यहीँ महाकाली नदीले नेपाल र भारतलाई जोडेको छ ।
अनि मान्छे जोड्नलाई चाहिँ तुइन बनेको छ ।

यहाँका स्थानीयहरु नुन तेल गर्न तुइनबाटै भारत जान्छन् । मजदुरी गर्न पारि जानेहरुको बाटो पनि यहीँ नै हो ।
तुइनलाई स्थानीय भाषामा ‘घाट’ भन्दछन् ।

महिलाहरु घिर्नी जाेडेकाे टिनकाे बाकसबाट पारी तर्छन् ।
पुरुषहरु चाहीँ कम्मरमा डाेरी बाधेर तर्ने गर्छन् ।

यसरी एउटा डोरीको भरमा नदी वारपार गर्दा थुप्रैको ज्यान गइसक्यो ।
दुहुँ गाउँमा तुइनबाट आफन्त गुमाएका एक्ला अनुहारहरु धेरै भेटिन्छन् ।