सानैबाट चुलबुले स्वभावको म । साथीहरुसँग भेट्ने, घुम्ने, डुल्ने, ठूला साना सबैसँग रमाउने, गफ हान्ने, सायद म जन्मिएकै चञ‌चल पुतली झैँ उड्न होला जस्तो लग्थ्यो । 

एक्कासी आयो कोरोना भाइरस। कलेज स्कुल वरपर सबै बन्द भए। अनि सुरु भयो लकडाउनका दिन।  सबैको जस्तै न हो मेरो पनि आजहरु हिजोका भन्दा कुनै फरक छैनन्।  ठ्याक्कै फोटोकपि । ममीलाई भन्साको पिर, बजारमा सामान किन्न पाइएन भने भरे के खाने हाे भनेर। बुबा समाचार हेर्नु हुन्छ। देश बिदेशको पिर गरिरहनु हुन्छ । सुरुका दिनहरु साह्रै बिरक्त लाग्दा थिए। मलाई मन पर्ने दिनचर्याभन्दा बिल्कुलै फरक । धमाधम लागिरहेको कलेज बन्द भयो। साथीहरुसँगकाे भेटघाट टुट्यो। बाहिर  हिड्ने निस्कने त झन कुरै भएन।  आफूलाई बन्द पिजँडाको सुगा जस्तै अनुभव गरेँ । 

त्यो झ्यालबाट आएको घामको पहिलो रोशनीसँगै सुरु हुन्छ मेरो बिहानी।  मलाई अन्धकार मन पर्दैन। त्यसैले पनि होला म बिहानी खुब मनपराउँछु। लकडाउनले त झनैँ समय दिएको छ प्रकृतिलाई नियाल्न । खुब रमणीय लाग्छ बिहानका हरेक गतिविधि ! चरीको त्यो धुन, सुर्योदय, अँध्यारो पन्छाउदै आएको उज्यालो आहा …

यो समयले मलाई २१ बसन्त पार गर्दा सम्मकै म भन्दा एकदम फरक बनाइ दिए जस्तो लाग्छ। म भिड मन पराउने मान्छे। तर आज भोलि एक्लोपन नजिकको मित्र भएको छ । फरक बनेकी छु म । कसैसँग  भेट्नु हुँदैन भन्ने कोरोनाको नियमले नै हो सायद , म आफैँलाई खोज्न थालेकि छु । आफैँलाइ प्रेम गर्न थालेकि छु । आफ्नो साथी आफैँ  बनेको छु ।  

यो समयले छुट्टै जिन्दगी बुझाए जस्तै लाग्छ । कुनै दिन हामी यसरी नै एक्लो हुने छौ । साथीसंगी त्यो जमात .. सबै मिथ्या । यहाँ जति नै धनी,महाजन,गरिब,बिपन्न सबैको जिवनशैली उस्तै उस्तै भएको छ । खै कहाँ पुग्न हो! खुबै दाैडिरहन्थ्याे यो सहर,आज भोलि सुनसान देख्छु । सुनसान सहरमा सुनसान बस्न मलाई पनि बानी लगेको छ । कहिले बाँच्नकै लागि दौडाउँछ कहिले मरिएला कि भन्दै लुकाउँछ । खुबै सर्कल खेलाउने रैछ  जिन्दगीले।

सबै फुर्सदिला भएर होला सम्झी रहनेहरुले बिर्सिए अनि बिर्सिसकेकाहरुले सम्झिए । नजानेका  कुरा सिक्न पाइयो। तर जानेका कुरा बिर्सियो कि भन्ने पनि भयो । सकारात्मक नकारात्मक अनेक कुरा मनमा आए गए…। अब दिन कहिले सामान्य होला ? आज ! भोलि ! हप्त, दश दिन ! महिना वा बर्ष पछि ! सायद आज भोलि सबैको दिमागमा आइरहने एउटा प्रश्न। जसकाे उत्तर खै कोसँग पो होला र !! 

आज भोलि फोन पनि खासै चलाउन मन लाग्दैन । साथीहरुसँग हँस्याैली गर्नै पनि पो भुलि सकेकि जस्तो नि लाग्छ । घर अगाडिको एबोकाडोको बोट र फूलबारीलाई धित् मरुन्जेल हेर्ने फुर्सद मिलेको छ । ममी बुबालाई घरमा जानेसम्म मिठा मिठा परिकार बनाएर खुवाउने जाँगर दिएको छ ।  दुई गाँस मात्र बेसी खाइदिँदा कति खुशी मेरी ममी  … । अरु सबैसँग टाढा राखे पनि परिवारसँग चैं साँच्चै नजिक बनायो यो लकडाउनले। सामाजिक संजाल, अनि त्यो बहिरको  दुनियाँ भन्दा  मेरो घरको पर्खाल भित्रको दुनियाँ कति फरक …कति प्यारो …कति राम्रो …कति रमाइलो  !!

                                                         

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply