मास्क

एकाबिहानै हजुरआमाको नियमित खाने औषधि सकिएका कारण औषधि पसल जाने आदेश आयो । सरकारको लकडाउनको पालना गर्नु पर्ने पनि छ । सरकारले सर्वसाधरणका लागि भनेर बिहान ७ बजे देखि ९ बजे सम्म पसल खोल्ने निर्णय गरेको कुरा छिमेकबाट आए पछि करिब ७:४० तिर औषधि किन्न बजार लागे । करिब ४० मिनेटको हिडेर  बजार पुगे । बजारमा मास्क लगाएर हातमा एउटा लट्ठी लिएका प्रहरी र दुई चार जना मान्छे बाहेक अरु कोही देखिदैन्थ्यो । 

“कता हिडेको भाइ” एक जना प्रहरीले सोधे । 

“औषधि चाहिएको थियो, त्यही लिन” मैले जवाफ दिए । 

ल ल सावधानी अपनाउनुस् है भन्दै प्रहरी अगाडि बढे । 

“हुन्छ सर” भन्दै म पनि पसल तिर लागेँ । 

औषधी पसलका साहुजी पनि मास्क लगाएरै बसेका थिए । म औषधी किन्दै थिए । छेउकै तरकारी पसलमा एक जना व्यक्ति आए । साहुलाई केही तरकारी जोख्न लगाउँदै थिए । उनले मास्क लगाएका थिएनन् । “किन मास्क नलगाएको ?” प्रहरीको प्रश्न उनी माथि तेर्सियो । “मास्क छ भने घरबाट बाहिर निस्कने नत्र घरमै बस्ने’ भने पछि बल्ल उनले “माक्स गोजामा छ ” भन्दै निकालेर लगाए । 

“मास्क गोजामा राख्नलाई हो” भन्दै प्रहरी रिसाउँदै थिए । 

म औषधि किनेर हाँस्दै फर्किए । 

अलि पर आए पछि फेरि अर्को घटना देखियो । दुई जना मजाले गफ लगाउँदै थिए । दुबै जना मास्क नलगाएर गफ गरिरहेको प्रहरीले देखि हाले ।

“के बिना मास्क लगाएर मुख जोडेको” प्रहरीले के भनेका थिए । 

“के भनिस् रे बोल्ने तमिज छैन” भन्दै जङ्गीए । 

बेला बेलामा  उनी आफूलाई पार्टीको ठूलै मान्छे भनेर चिनाएको मैले कयौ पटक देखेको छु । पार्टीको भातृसंगठनको राम्रो पोष्टमा पनि छन् ।  

“चिनेको छस् मलाई म को हुँ ? बोल्ने बेलामा अलि मुख सम्हालेर बोल्नु” उनले उल्टै प्रहरीलाई उपदेश दिए । 

प्रहरी केही बोल्न सकेनन् । उनीहरु फेरि गफमै ब्यस्त भए । प्रहरी अगाडि बढे । मेरो मनमा अनेक कुराहरु खेल्न थाल्यो । आखिरमा ती प्रहरीको केही गल्ती त थिएन । यस्तो आपतकालिन अवस्थामा तिनलाई पनि त घर जान मन लाग्छ होला । उनका पनि त परिवार होलान् ! आखिर तिनीहरु हाम्रै लागि त त्यसरी खटिएका छन् नि ! प्रहरीले ती बरिष्ठलाई जे भनेका थिए उनीहरुकै सुरक्षाका लागि त थियो ! फेरि पनि हामी किन त्यस्तो खराब ब्यवहार देखाउँछौ !!

– हेमराज शर्मा, दाङ

हेमराज शर्मा

दाङ

एउटा स्वास्थ्यकर्मीको डायरी

आजभोली त बिरामी आएको देख्दा नि टाढैबाट “के भएर आउनु भयो ” भनेर सोध्नु पर्ने भएको छ ।  ज्वरो र खोकीका बिरामीहरू आए भने त झन मुटु नै ढुक- ढुक गर्छ। तर के गर्नु, स्वास्थ्यकर्मी भएर जिम्मेवारी लिएपछि सक्दो गर्नैपर्छ । त्यसमाथि यस्ताे बेलामा त हाम्रो जिम्मेवारी अझै धेरै छ । यसरी अरूलाई मर्का परेको बेलामा सहयोग गर्न पाइने मेरो पेशाप्रति मलाई गर्व छ । 

COVID-19 को संक्रमण फैलिने डरले केही हप्ता यता लाखौ मान्छेले काठमाडौं छोडे । उनीहरू सबै अहिले गाउँ छिरेका छन् । त्यसैले अब शहरका स्वास्थ्य संस्था संगसंगै ग्रामिण स्वास्थ्य संस्था पनि जोखिममा छन् जस्तो मलाई लाग्छ । गाउँ फर्की आएका लाखौ मान्छे मध्ये १ जनालाई मात्रै पनि संक्रमण भएको रैछ भने के गर्ने !यस्तो बेला हामी गाउँमा बसेर सेवा दिने स्वास्थ्यकर्मीले विना सुरक्षा काम गर्नु कति जोखिम होला, सबैले सजिलै अनुमान लगाउन सक्नुहुन्छ । तर यसो भन्दैमा हामी हाम्रो जिम्मेवारीबाट पन्छिदैनाै । आफ्नो वर्कतले भ्याएसम्म हामी सेवा गरिरहनेछाै ।

तर हाम्रो सरकारले अहिलेसम्म पर्याप्त मात्रामा सुरक्षा उपकरण र  उपचार गर्दा लगाउनुपर्ने PPE गाउँसम्म पठाउन सकेको छैन । हामी एउटा मास्क र पन्जाको भरमा बिरामी हेर्दैछौ । त्यै पनि पुग्दो छैन । प्रयोग गरिसकेकाे मास्क र पन्जा नै धोइ पखाली गरेर फेरि प्रयोग गर्दैछाै । के गर्नु, मर्नु भन्दा यस्तै उपाय अपनाउनु ठिक लाग्दैछ । 

यस्तो बेला बिरामीलाई उचित परामर्श दिनु हाम्रो कर्तव्य हो । आफ्नो घर परिवारलाई चित्त बुझाउन पनि एकदमै गाह्रो हुने रहेछ । यता पनि सम्झाउँदै, उता पनि सम्झाउँदै काम गरिरहेका छौ हामी सबै स्वास्थ्यकर्मीहरु । घरमा बा-आमालाई पो केही हुने हो कि भन्ने चिन्ता पनि लाग्छ । यस्तो सोच्दा रातमा निन्द्रा लाग्दैन । भेट्न जान पनि घर टाढा छ । लक डाउनले आउन जान पनि मिल्दैन । फोनमै कुरा गर्छाैं ।  यतिबेला हामी सबै साथीहरूको आँखा पिल्पिलाउँछ । 

सरकारले  ग्रामीण स्वास्थ संस्थाहरुलाई पनि ध्यान दिएर चाहिने जति PPE मास्क र पन्जाको व्यवस्था गरे हामी कत्ति खुशी खुशी काम गर्ने थियाै । अनि लक डाउनको मारमा परेका बेसाहरा, बिपन्न वर्ग र मजदुरहरुलाई एक छाक मात्रै भए पनि भोक मेट्ने व्यवस्था मिलादिए मेरो मनमा सन्तोक हुनेथियो । 

इभान मगर

म्याग्दी , दग्नाम स्वास्थ्य चौकि

हराएका सम्झनाहरुको सम्झनामा

साह्रै उकुस मुकुस हुने । बल्ल बल्ल दिन बिताउनु पर्दाको पिडा आज थाहा पाए । बिगत सात बर्ष देखि जापानको कोलाहल र दैनिक बाह्रघण्टा कामको चापमा नै दिन बिताएर होला मेरो विगत र सुन्दर जन्मभूमी अछामको बाटुलासेन कल्पनामा पनि पुग्ने फुर्सद मिलेको थिएन । 

लगातार सात बर्षको जापान बसाइलाई बिट मार्दै केही महिना पहिले नेपाल आए । तर पनि मेराे सुन्दर ठाउँकाे सम्झना गर्न भ्याएको थिएन । एक हप्ता देखि पुरै नेपाल भरी सरकारले लकडाउन लगाएसंगै म पनि सानोठिमीको आफ्नै निवासमा लकडाउनमा परे । बल्ल स्मृतीका पाना पल्टाउने अबसर जुर्यो ।

हो म त्यही मेरो घर नजिकैको पधेँरो सम्झिरहेको छु, जुन पधेँरोले मेरा १०औं पुस्तालाई अमृत सरह जलपान गरायो । आज पनि कल्कलाउदै होला । मेरो घरको आँगन जसले मलाई धेरै चोटी लडाएको थियो र संगै उठेर हिड्न पनि सिकाएको थियो। मैले पहिलो पाइला चाल्दा उसले पनि मेरा पैतालामा बर्कत दिदै भन्दै थियो होला – ‘कहाँ लड्खडाउछस्, हिड् आफ्नो लक्ष्यमा’ भनेर । म सम्झदै छु मेरो घरको छेउमै रहेको मेरो बिद्यालय जसले क ख रा सिकाएर मलाई भनेको थियो – ‘दुनियाँ पढ्नु छ किन अल्छि गर्छस् !’  कुनै ठाउँमा चोट लागेर रगत बग्दा, म रगत रोकियोस भनेर माटोले टाल्थे । त्यो भूमिको माटो मेरा लागि रगत रोक्ने मल्हम बनेकाे थियो ।

गाउँबाट एक घण्टाको उकालो लागेपछि आउने हाम्रो लेकमा गोठालो जाँदा खेल्ने बालापनका मेरा साथीहरूलाई पनि सम्झिदै छु अहिले । ती बनपाखालाई पनि ! घरबाट चाेरेर लगेकाे चामल साथीहरुसंग मिलेर खा‍ँदाको मज्ज़ा, आहा !!! 

अझ यसरी सम्झिउँ : जापान टोकियो शहरको १५ तले भवनको माथ्लो तल्लामा बसेर खाएको चाइनिज परिकार भन्दा उतिबेला बिहान पकाएर राखेको चिसो मकैको रोटी र सिलाैटामा पिँसेको दानावाला नुन र खुर्सानीमै धेरै मज्जा थियो । त्यो शायद भोक होला । थकाइ अथवा उमेर जे होस त्यो सम्झना मिठ्ठो । अहिले नै मुखबाट सरर… पानी आउने । 

 म यो मान्दिन कि, त्यहाँ गरिबी मात्र थियो, भोकमरी थियो, पिडा थियो, अशिक्षा थियो, बेरोज़गारी थियो । यी सबका बाबजुद , त्यही ठाउँमा मेरो दशौ पुस्ता बचाउँने र हुर्काउने मेरो जन्म भूमी थियो त्यो ! तल जिउँलो थियो, माथी लेक । अझ त्यो भन्दा पनि कुनै धनले, कुनै कुबेरले किन्न नसक्ने मेरा आमा बुवा थिए ।  मेरा दाइ, दिदी थिए । अनि थियो, म जन्मिएको मेरो घर । 

समयले धेरै टाढा पुर्याइ सकेको रहेछ थाहै भएन । मेरो विगत न कसैसंग दाँज्न सकिन्छ न कसैसंग तुलना गर्न नै । दश बर्षको काठमाण्डौको बसाइ अनि बर्षौको जापान बसाइले भुलाएको मेरो सम्झना आज ताजा भएको छ । यो सब सकिएपछि, म मेरो दशौ पुस्तालाई पाल्ने जल पिउन, क ख रा सिकाउने स्कुल हेर्न, तलको फाँट,माथिको लेक, घना जंगल , मेरो जन्म आँगन टेक्न र मेरो घरको भित्तो सुम्सुम्याउन पुग्नेछु । 

( म हेर्ने कथाको नियमित दर्शक हुँ। हेर्ने कथामा डायरी पढेपछि मैले पनि प्रयास गरेको हुँ)

ईमान सिं बटाला 

सानोठिमी, भक्तपुर

रित्ताे रित्ताे मन

म फेब्रुवरी महिनाको २८ तारिख बेलुकी १० बजे हिमालय एयरलाइन्स मार्फत कतारको हमाद इन्टरनेसनल एयरपोर्टमा अवतरण गरेको आज ठ्याक्कै एक महिना भयो । 

बैदेशिक रोजगारीका विषयमा तपाईको हेर्ने कथाका कुनै अंक कथा बनेनन् । हुन त म पनि नेपालमै थिए उसबेला । जतिबेला मेरा प्यारा प्यारा नेपाली दिदी वहिनी तथा दाजुभाइ यही मरुभूमीमा कयौँ फुस्रो हाँसो हाँस्दै रात दिन बिताइरहनुभएको थियो । म पनि उहाँहरुलाई साथ दिन र आफ्नो परिवार चलाउन अहिले यहाँ सामेल भएको छु । 

जसको पनि आफ्नै कथा हुन्छ ब्यथा हुन्छ । तर परदेशमा त धेरैको छुट्टा छुट्टै कथा छ । अझ हजुरहरुलाई सुनाउँ भने त दिदि बहिनीको कथा झन भयानक छ । लेख्न त सबैलाई नआउन सक्छ । लेख्न आउनेले पनि लेख्न मनै गर्दैनन् आफ्नै जिन्दगीको कथा ।

म चैं हिम्मत गरेर लेख्ने प्रयास गर्दैछु । थाहा छैन, मेरो कथाले कसैलाई हौसला दिन्छ कि दुरुत्साहन गर्छ । नेपालमा हुँदा बखतै सुनिएको  कोरोनाले उता हुन्जेल मनस्थितिमा खासै फरक परेन । तर बिदेश आएको दिनदेखि मेरो दिमागमा जति बेला पनि कोरोनाकै कुरा मात्रै खेल्ने गर्छ ।  ड्युटी जाँदा आउँदा मात्रै सिमित रहेन । ड्युटी समयमा समेत स्क्रिनमा देखिएका समाचारले असाध्यै बिचलित बनाउँछ ।

अब त झन फुर्सद भयो । मन कति उड्छ, कुरै नगरम् । ३/३ घन्टाको फरकमा योग गर्ने गरेको छु र पनि सामाजिक सञ्जालमा देखिने अनेकौं समाचार र स्टाटसले मन झनै भक्कानिएर आउँछ । यो बेलामा म कसैलाई सहयोग गर्न पनि सक्दिन । अरुले पनि मलाई सहयोग गर्न सक्दैनन् । विश्वमै यही अवस्था छ । कसले कसलाई सहयोग गर्ने ! हामी नेपाल फर्केर आउन सक्ने सहज अवस्था पनि छैन । परिवारबाट टाढा, धेरै टाढा, यतिबेला दिमाग नै रित्ताे रित्ताे पारेर बसेको छु । बाहिर निस्कन पाइ‍ँदैन । खाना र बस्न कम्पनीले दिए पनि रात दिन यस्सै बिताउन गाह्राे हुँदो रहेछ ।

आखिर आफ्नो देश भनेको आफ्नै  हो ।नेपालको बिग्रिएको राजनैतिक यात्राले गर्दा हामीहरूले यो अरबको यात्रा गर्नु पर्याे।अब हामीजस्ताे कति पुस्ताले यो खाडीमा जिन्दगी बिताउन पर्ने हो, सँम्झिदा पनि उदेक लागेर आउँछ ! 

वास्तवमै हाम्रो देशमा रोजगारी सिर्जना गर्ने द्विगो उपाय खोज्नु अत्यन्त जरुरी छ।  कथाहरु धेरै भए । कसैको जिन्दगीमा परिवर्तन पनि भए होलान् । तर हाम्रो चैं जति कथा लेखे पनि जति नै गुनासो गरे पनि केही परिवर्तन भएन ।  रात को १२.३४ बजेको छ । निन्द्रा त छैन । तर पनि सुत्ने चेष्टा गर्दैछु ।

शुभ रात्री, 

ज्ञानप्रसाद बराल

कतार

एउटा झ्यालबाट देखिने संसार

सधैं झैं उमंग र उर्जा छैन बिहानीमा, दिन उस्तै, समय उही । बदलिँदो मौसम जस्तै बदलिँदा भोगाई सँगैका भावनाहरु । 

एउटा सानो संसार भन्नु नै आफू बस्दै आएको कोठा, क्षितिजलाई नियाल्ने झ्याल र साँघुरो घेरामा अटाएका दृश्यहरु ।कोठाको आकार उस्तै, भित्ता उस्तै,सँगै जोडिएको झ्यालको उचाई र चौडाइ उस्तै, कोठामा आ–आफनो स्थानको स्वामित्व जमाएर बसेका सामान उस्तै भिन्न त केबल worldometer मा दिइएका कोभिड–१९ का देशैपिच्छेका तथ्याङ्क र त्योसँगै जोडिएर मनमा आउने सोचाइ र त्रासको उचाई ! 

कोभिड–१९ का कारण कैयौं मानिसहरु दिनहुँ संसार छोडिरहेका छन् । कयौं आफन्तजन, परिवार,आफ्ना प्रिय मान्छे गुमाउँदाको पीडा सहेर बसेका छन् । बिडम्बना त, आफ्ना प्रिय मान्छे गुमाउँदा पनि छेउमै बसेर अन्तिम संस्कार गर्न नपाउनु ? अङ्गालेर रुन नपाउनु?

हाल म जर्मनीस्थित सानो सहर Greifswald मा बस्दै आएकी छु । करिब ८ महिनाको बसाई सँधै रोचक, नयाँ अनि पृथक नै लाग्दथ्यो । मलगायत यस सहरमा बस्दै आएका  नेपाली मुलका साथीहरु पनि आ–आफ्नै दैनिकी बिताइरहेका छन् । बिदेशमा रहँदा घर परिवार,आफन्त, साथीभाई, चाडबाड र आफुले अङ्गगालेको सँस्कृती औधी मिस गरिन्छ । विपतको समयमा यो मन कयौं समुन्द्र पार गरि उही आफ्नै थलोमा पुगिदिन्छ । लाग्छ यो समयमा  मन र मस्तिष्क आ–आफ्नै गतिमा कुदिरहेका छन् ।

हरेक दिन झटट् हेरिने दृश्यहरु अहिले घन्टौंसम्म नियाल्न पाएकी छु । कहिले त झ्याल नखोली, बिहानदेखि साँझसम्म कोठामा नपुगी दिन बित्थ्यो । अहिले ति भित्तामा कोरिएका रङ्ग, कोठामा रहेका हरेक बस्तुको स्थान र आकारको हेक्का पाउने भएको छु । आफ्नै पैतालाले दिनभरि कति पाइला चाले कहाँ कहाँ पुगे पत्तो नपाउने, अहिले किचन र बेडरुमसम्मको दुरी पाइलामा नाप्ने भएकी छु । सुन्दा अचम्म लाग्ने तर यी आँखाले आफू सुत्ने गरेको ओछ्ययानको तन्नामा रहेका बुट्टामा भरिएका रङ्ग र तिनको बनावटमा अडिएर बिम्व कोर्ने भएकी छु । 

झ्यालमा रहेको पर्दा र त्यसबाट देखिने दृश्य संग जोडिएका घर। घरमा कोरिएका चित्र, डिजाइन । घरसँगै जोडिएको मोटर कुद्ने बाटो, वसन्त ऋृतुको आगमन सँगै मुस्कुराएका चेरीका रुखहरु र केही दुरीमा रहेका निर्जिव जस्ता देखिने अन्य रुखहरु, ती रुखमा आफनो घर बसाई चिरविर गर्दै वरपर उड्ने चराहरु यी सबै अति प्रिय र आत्मिय लाग्न थालेका छन् । बाटोमा बिरलै हिँडेका मान्छेहरु र मनमा उब्जने प्रश्नहरु, ती मान्छेहरु  के बाध्यताले हिँडेका होलान? यस्तै यस्तै जिज्ञाशु मन अनि मस्तिष्क !

विशेषत यो लकडाउनकमा मेरो हरपलको साथी बनेको छ सामाजिक सञ्जाल र त्यसमा प्रेसित समाचार, फिल्म, डकुमेन्ट्री, अन्य भिडियोहरु र ट्रोल । केहीले प्रेरणा, केहीले खुसी, केहीले हाँसो, केहीले ज्ञान त केहीले दुःखी बनाउँछन् । 

… लाग्छ यही नै मेरो अहिलेको दैनिकी हो !  मेरो त आज २१ औं दिन, अनि हजुरहरुको नि ?

भावना रिजाल

जर्मनी

गृहिणीलाई बोझ !

भोगाइका थुप्रै दुख सुखका थुङगाहरु छन् तर शब्दमा उनेर पेज भर्न गाह्रो भयो । पहिलो पटक यो डायरी लेख्ने प्रयास गरेको छु । स्कूल पढ्दा दैनिकी लेखेको बाहेक कहिल्यै लेखेको थिएन ।

लकडाउनको बेला पनि हामी महिलालाई भने अरुकै चिन्ता ।

कोरोना भाइसरको सङक्रमण बढेका कारण लकडाउन भएको पनि एकहप्ता बितिसक्यो । हामी सबैले लकडाउनको पहिलो अनुभव गरिरहेका छाैं । तर महिला आमा, दिदी, बहिनी र जो मजस्तो गृहिणी छौ, हामीलाई यो लकडाउनले झनै कामको बोझ थपिदिएको छ । 

हामीलाई हिजो पनि आफ्नो भोक, तिर्खा र चिन्ता भन्दा अरुको भोक, तिर्खा र प्यासको चिन्ता हुन्थ्यो, हुन्थ्यो । यो लकडाउनको बेला पनि आफ्नो भन्दा अरुकै चिन्ता छ । आफू बाँच्नेमा होइन अरुलाई कसरी बचाउने, स्वस्थ राख्ने त्यसकै चिन्ता बढी । 

म अहिले पनि बिहान ५.३० बजे उठ्छु र घरको सबै काम गर्छु । घरको सरसफाई, कुचो कसिङगर र परिवारका सबैलाई चिया, तातोपानी र खाजाको व्यवस्थामा तल्लिन हुन्छु । अनि कोरोना भाइरसको सङक्रमणले बुढाबुढी केटाकेटीलाई छिटो भेट्छ भन्ने दिमागमा आउँछ र बुढाबुढी बाबा आमालाई सम्झिन्छु । टाढा हुनुहुन्छ गाउँमा एक्लै पनि हुनुहुन्छ । दैनिक एकपटक बाबा ममीलाई फोन गर्छु, हात धोइरहन सम्झाउँछु । यता छोराछोरीले, बा नउमालेको चिसो पानी पो खान्छन कि भनेर पानी उमाल्छु । चिसो खानेलाई चिसो, तातो खानेलाई तातोको व्यवस्था गर्छु ।  दाल र गेडागुडीको सुपहरु फकाइ फकाइ खुवाउँछु । समय समयमा सावुन पानीले हात धुन लगाउँछु । चिसो पानीले नुहाउन दिन्न । तातो पानी ठिक्क पारिदिन्छु ।

 कुनै बेला त आफैलाई लाग्छ म कति मूर्ख छु । मैले आफ्नो ख्याल चैं कहिले राख्ने ? परिवार, छोराछोरीलाई स्वस्थ्य राख्न त म आफू पनि त स्वस्थ हुन पर्छ नि ! तर त्यो कुरा एकैछिनमा बिर्सिहाल्छु । फेरि अरुकै चिन्ता । आज अचार के बनाउने ! उसलाई गोलभेडा मन पर्दैन । उसलाई मूला मन पर्दैन । उसलाई अमिलि  मन पदैन । मन नपरे खादैनन् फेरि । रिसाउँछन उल्टै । फेरि अरूकै चिन्ता । आफूलाइ मन पर्ने के हो ? इच्छा के हो ? रमाइलो के हो आफैलाई थाहा हुन छोडिसक्यो । सधैं अरुलाई कसरी खुशी बनाउने त्यसमै तल्लिन । 

छोराछोरी बाहिर निस्केलान भनेर घरमा वाइफाइ जोडिदिएकोे छ । टि.भी जती हेरेपनि छुट ।  तैपनी मन मान्दैन । घर नजिकै २५ वेडको क्वारिन्टाइन स्थल छ । झुक्केर, आँखा छलेर त्यता गैजालान कि भनेर बेलाबेलामा उनीहरुको कोठा चिहाइरहन्छु । बेलुकी ओछ्यानमा उनीहरुलाई थन्क्याए मात्रै बल्ल जुठोभाँडाको धन्दा सक्छु । लकडाउनले अरु भन्छन् – केही गर्दा समय वितेन । कसरी बिताउने ? आफूलाइ भने घर परिवार, भात भान्सा, करेसाबारी, गमला आदि आदि भन्दा भन्दै समय नै पुग्दैन । बढी हुने त नो चान्स ।

आजलाई यत्ति नै ।

रिता श्रेष्ठ

ओखलढुंगा

त्रासभित्रको आश

आज त २ हप्ता नै भएछ घर भित्र एउटै कोठामा बसेको पनि । एक हप्ता ज्वरो र रुघा लागेर ।अर्को हप्ता कोरोनाको त्रासले।                                                  

बाधा अबरोध अनि आरोह अवरोहका बीच माैसम झै बदली बदली आगाडि बढ्ने जिन्दगीका यात्राहरूमा दुःखकष्ट नसही सरल तरिकाले जीवन जीउन गाह्राे हुँदाेरहेछ । सोचे जस्तो कहाँ हुँदाे रहेछ र जीवन । उकाली ओराली डाँडा काँडा भञ्ज्याङ् अनि चौतारीहरु पार गर्दै  हिड्नु पर्दोरहेछ । यात्रामा कहिले हिड्दा हिडदै थकाइ लाग्छ । बस्नलाई चौतारीहरुको साथ सधैं कहाँ पाइन्छ र …………. जीवन यस्तै चल्दैछ ।

जीवनको एउटा पाटो नियती पनि हो।  जुन कुरा हामीले स्वीकार्नु बाहेक अरु विकल्प हुदैन। विरामी हुँदा कोही नजिकै साथै होस् जस्तो जो कोहीलाई लाग्छ । त्यो मानवीय स्वभाब पनि हो । तर त्यो समयमा कोही आफ्नोले पनि कस्तो छ भनेर नसोधी दिँदा पीडा सहन गाह्रो हुँदोरहेछ । समाचार हेर्र्दा कोरोनाले मानिसहरु मरेको त्यो रुवाइ अनि चित्कार काहालिलाग्दो त्यो दृश्य ……………..    देख्दै गाह्राे हुने ।              

मैले आफूलाई त्यही दृष्य र विरामीसंग तुलना गर्ने पुगे । हस्पिटलको त्यो बेडमा  जीवन र मरणको मुखमा आफन्त र आफ्ना नजीकका मान्छेलाई देख्न पनि नपाइ, बिदाइको हात हल्लाउन पनि नपाइ बिदा हुनु परेको सम्झनाले एकाएक मेरा आखाँहरु रसाए ।कल्पनाका ती कारुणिक तस्वीरहरुले झन् असह्य बनायाे………. 

शायद भुकम्पको भन्दा पनि धेरै डर थियो मनमा । त्यो समयमा आफन्त गुमाउनुको पीडा महसुस गरे । पीडा सहन गाह्रो छ । ईटालीको दृश्य हेरे । भयावह छ । यस्तो देख्दा कसकाे मन नरोला र ! यस्ताे समयमा विकल्प थाेरै हुँदो रहेछ । हिजो सम्म आफ्नो शक्ति देखाउने  राष्ट्र पनि आज शब्दहिन भएको छ………           

थाहा छैन भोलि के हुन्छ तर आशा अझै मरेको छैन । कोरोनासँग हाम्रो जीत अबस्य हुनेछ।                      

अमिता राई लिम्बु

ललितपुर

‘लकडाउन’ मा मनडाउन नहोस् !

सधैँ झै बिहानी भयो । बर्खामा झरीले, शरदमा चाडबाडले, हिउँदमा चिसोले ब्युँझाउने प्रातकालीन निन्द्रा वसन्ती पवनका बेला चराहरुको चिरविरले ब्युझाईदिन्छ । बिबिध ऋतुहरुमध्ये मलाई असाध्यै मनपर्ने ऋतु हो, वसन्त ऋतु । यो बेला डाँडापाखा र बनजंगल घुम्न खुबै रमाईलो हुन्छ । तर वर्तमान भनेजस्तो छैन, यो विहानीमा सबै रहरहरु बन्द कोठामा सिमित भएका छन् ।

कुनैबेला मनले यसै सोचिदिन्थ्योे, साँच्चै जेल पर्नुपरे मेरो हाल कस्तोे होला ! अनि त्यही मनले भन्थ्यो, के होला र मुद्धा चल्दै गर्ला जेलमा बसेका बेला संसार बुझौला, किताब पढौंला । तर मनको कुरा अर्कै हो, परेपछि हुने अर्कै हो । संसारभरी महामारीको रुप लिएको कोरोना भाइरस संक्रमणको सम्भावित क्षती कम गर्न सरकारले लगाएको लकडाउनको सातौैं दिनको यो विहानीसम्म आईपुग्दा भने साँच्चै जेल नै परेको जस्तो भैरहेको छ । जेल भन्दा धेरै सुविधा छ, आफ्नै कोठामा मनमौजी छ । तैपनि यो मन कहाँ–कहाँ पुगिरहेछ । भौतिक रुपमा घुम्दा मनले सोच्ने फुर्सद पाउँदैन थियो अहिले भने मन फनफनी घुमिरहेछ, शरिर जहाँको त्यही । 

मनमा अनेक कुरा खेलिरहेछन् । घरी नोष्टाल्जिक, घरी फन्नी, घरी रित्तो अन्ततः एउटै प्रश्नमा आएर मन अडिन्छ, साँच्चै कोरोनाको कहर कहिले सकिएला ? यसअघि वसन्त सरको एक आलेखमा, भनिएजस्तै कोरोनापछिको हाम्रौ दैनिकी कस्तो होला ? मन नै संसार घुम्ने भएपछि कोठाभित्रका सुख–सुविधा उपभोग गर्न नसकिँदो रहेछ ।

माथिका तीन हरफ लेखेपछि म आफ्नो नित्यकर्म सकेर आए । छत र कौशीतिरबाट बाहिरफेर चिहाएर आए । बजारतिर हेरे सडक,गल्ली र अघिपछि भिडभाड हुने स्थल सुनसान छन् । दक्षिणको मुसीकोट डाँडा तलको जंगलमा न्याउलीको न्याहो–न्याहोले बोलाएको जस्तो लाग्यो । ति सडक र गल्लीहरुले तल झर् न ! भनेजस्तो लाग्यो अनि चिया दोकानहरुले पनि किन आउदैनस् आजकाल ! भनेजस्तो लाग्यो । छतबाट फर्किनै लाग्दा पार्किङमा थन्किएको मोटरसाईकलतिर आँखा गयो, अलिकति समय खाली हुनेबित्तिकै कुदिहाल्ने त्यो दुई पाङ्ग्रे सवारीले पनि मलाई माया मारेको ! भने झै लाग्यो, यी मनगढन्ते प्रश्नहरुको पुञ्ज बोकेर म पुन: आफ्नै कोठामा आएको छु ।

लकडाउनका बेला मनडाउन नहोस् भनेर अनेकानेक प्रयासहरु गरिदैछ । अघिपछि टिकटकमा सक्रिय हुने साथीहरु यो बेला त्यता खासै सक्रिय देखिएनन् । बरु यतिबेला धेरैले फेसबुकका पुराना फोटोहरूमा फन्नी फन्नी कमेन्ट गर्दैछन । कमेन्ट बडो हसाँउने खालका छन् ।

मेरो १० बर्षअघिको एउटा फोटोमा वहिनीले लेखिदिई ‘यो फोटोमा कमेन्ट गर्न म सगरमाथाबाट फर्किए…’, अर्कोले अर्कै पुरानो फोटोमा लेखिदियो, ‘म जहाज रोकेर कमेन्ट गर्न आए…’ अनि अर्का मित्र मनिषले लेखिदिए, ‘के तपाई आफ्नो फोटोमा लाईक, कमेन्ट आएन भनेर चिन्तामा हुनुहुन्छ ? अब पिर नगर्नुहोस्, हामी घरघरै आउदैछौ…’ आदी–ईत्यादी । फन्नी कमेन्ट हेरेर हाँसेपछि पनि फेरी, आफ्ना र अरुका पुराना तस्विर हेरेर झनै हाँसो लाग्छ । ‘कता हो चिया खान भेटम न !’ भन्ने अवस्था छैन । एक्लै, जे गर्दा रमाईलो लाग्छ, त्यही गरिदैछ । तर पुराना तस्विरले फन संगै नोस्टाल्जिक पनि बनाउँदा रहेछन् । तस्विर संगै मन पनि बुलेट ट्रेनको गतिमा विगततिरै कुद्छ ।

हर प्राणीले जे पर्छ त्यो बोहोर्नैपर्छ, भोग्नैपर्छ अनि अघि बढ्नैपर्छ । कोरोना भाइरस संक्रमणबाट जोगिन धैर्यता नै हाम्रा अघि रहेको तत्कालको एकमात्र विकल्प हो । ढिलोचाडो यसको एन्टी भ्याक्सिन बन्ला, पहिला स्वास्थ्यकर्मीलाई लगाएर उनीहरुलाई प्रतिरोधका निम्ति तयार पारी बिरामीलाई लगाउन सुरु पनि गरिएला । संसारभरीका बिरामीलाई निको हुन सुरु होला । अनि सारा विश्वसंगै हामी कोरोना भाईरस निर्मुलको उत्सव सँगै मिलेर मनाउँला । त्यो दिन जरुर आउनेछ । त्यो सुन्दर विहानी बसन्त ऋतुभन्दा पनि कयाैं गुणा सुन्दर हुनेछ । 

कोरोनापछि हाम्रो जीवनशैलीमा केही फरक अवश्य आउनेछ अनि विस्तारै त्यही बानी पर्दै जानेछ । सम्पूर्ण प्रियजनहरुसंग चाडै भेट हुनेछ । श–शरिर संगै भएर सुख–दुःख साट्ने दिन अवश्य आउनेछ । लकडाउन लामो हुनसक्छ, बस् लकडाउनका बेला मनडाउन हुन दिनुभएन । 

शुभ होस् ! मंगल होस् ! जय–जय होस् !

महेश केसी

पत्रकार, रुकुम पश्चिम

मलेसियाबाट देशको चिन्ता

म यति बेला मलेसियामा छु।मलेसिया सरकारले मार्च १८ तारिखदेखि मार्च ३१ तारिखसम्म लकडाउन घोषणा गरेको थियो। कोरोना सङक्रमितको सङख्या बढ्दै गएपछि फेरि दुई हप्ता थपेको छ। दुई हप्ता भनेको मार्च १८ देखि ३१ हुँदै अब अप्रिल १४ सम्म लम्बिएको छ।

हामी होस्टेलमा क्वारेनटाईनमा छो‌। बहुत गाह्रो छ समय बिताउन तर पनि यहाँको जनताले सरकारको आदेश, नीतिनियमलाई अवज्ञा गर्दैनन् । असल जनता छन्।

आफ्नो भन्दा पनि स्वदेशमा रहेका परिवारको चिन्ता लाग्छ। फेरि हाम्रा नेपालीहरु उस्तै छन् । बन्द कस्तो भयो भनेर मजाक गर्दै बाहिर हिँडिरहेका पनि देखियो। जे होस मलेसियाको लकडाउन नेपालको जस्तो फितलो छैन। खैर अब विदेशमा भए पनि देशको कुरा गरोै।

नेपाली जनतालाई त कोरोनाले छाडेन सरकारलाई नलागोस् कामना गर्छु। अन्य देशका सरकारका प्रतिनिधी, राष्ट्रपति, मन्त्रीमा पनि सङक्रमण देखियो ।  तर नेपालमा सरकारका प्रतिनिधिहरु अझै सुरक्षित छन् । आदेश दिएको भरमा प्रभावकारी काम गर्न सक्छन्। कोरोना सङ्क्रमण भए झैं मौन बस्न भएन नि । 

मानिसलाई कोरोनाको भन्दा भोकको डर ज्यादा छ । यो देशमा लाखौं श्रमिकको पीडा – बिहान काम नगरे बेलुका माम नपाईने। जति लुकाउन छिपाउन खोजे पनि वास्तविकता यही हो। 

श्रमिकको हकहितका निमित्त भनेर नारा बोकेर हिँडेका नेताहरु अर्बपति भए, चिल्ला गाडी चढ्ने हैसियत बनाए। पेट फुट्ला जस्तो गरि मोटाए, टलक्क अनुहार चम्काए। तर श्रमिकको अवस्था उहि छ। यो गुनासो पछि गर्दै गरौंला। 

अहिलेलाई कोरोना आतंक छ । जसरी पनि कोरोनासँग लडौंला । भोकसँग लड्ने व्यवस्था सरकारले गर्दिनु पर्यो।

हिजोआज हाम्रो काम घर भित्र बसेर मानिसको मृत्य गन्नु भएको छ । संसारभरि कहाँ कति मरे । हामीले लापरबाही गर्यौं भने हामी पनि ‘अंक’ हुन धेरै बेर लाग्दैन । 

त्यसैले घमण्ड चाहिँ एकरति नगरौं! “म बलियो छु, मलाई केहि हुँदैन” भन्ने भ्रमबाट माथि उठौं । जति सक्दो सुरक्षित रहने प्रयास गरौं।अझै पनि समय छ। यो समस्यासँग भागेर जित्न सकिन्न कसैलाई कोरोनाको लक्षण देखिए खुलेर भनौं । कुनै अपराध गरे जस्तो लुक्ने हैन। 

धैर्यताको बाँध बलियो बनाएर सुरक्षित हुनुको विकल्प पनि छैन।

बिहान उठेदेखि बेलुका नसुत्दा सम्म उही कोरोना कोरोना!  मानिसहरु आजित छन्।

सारा विश्व यति बेला कोरोनासँग प्रतिकार गरिरहेको छ। शक्तिशाली देशहरु, प्रविधिमा नेपाल भन्दा कयौं गुणा फड्को मारेका देशहरु, यतिबेला पीडाको आँशुमा डुबेका छन् । त्यसैले हामी नेपालीसँग सक्दो सुरक्षित हुनुबाहेक अन्य बच्ने उपाए केही छैन। 

नेपालमा चार पाँच जनामा कोरोना देखियो। बल्ल सबको होश खुले झैं भयो । अहिले डरत्रासमा छन्। यो डर दश दिनअगाडि मात्र मानिसमा देखिएको भए पनि धेरै राहत हुने थियो। 

हालसम्म सङ्क्रमण भएका ब्यक्ति विदेशबाट आएका भनिएको छ । 

सुरुवातदेखि नै बाहिरबाट आउनेलाई क्वारेनटाईनमा राख्ने ब्यवस्था भएको भए यो त्रास हुने थिएन कि। जो सङ्क्रमित भनेर अहिले भनिरहेका छन् तिनिहरु कहाँ कहाँ गए? क- कसलाई भेटे? समयमा सावधानी नअपनाउनुको कारण थप चुनोैति ब्यहोर्नु परेको छ।

समयमा सचेत हुन हामीलाई मात्र हैन विश्वलाई नै ईटालीले सन्देश दिईरहेको थियो। “हामी त यो माहामारीमा फस्यौं तपाईहरु सावधानी अपनाउनुस्” उसले चिच्याईरहेको थियो। कसैले सुन्ने चेष्टा गरेनन्। सुरुवातमा हामीले हाम्रो देशमा आउँदैन भन्ने सोचेका थियौ। आईसक्दा पनि यसले हामीलाई छुँदैन भन्ने किसिमको दम्भ थियो। 

अलिकति छनक पाउने वितिक्कै लकडाउन लगायतका सावधानी अपनाउने देशहरुको मृत्युदर निकै कम छ।

( म हेर्ने कथाको नियमित दर्शक हुँ। हेर्ने कथामा डायरी पढेपछि मैले पनि प्रयास गरेको हुँ।)

प्यारो डायरी

Day – zero
एउटा शून्य दिन

प्यारो डायरी ,

धेरै भयो तिमीसँग नभेटेको ।दिनको के कुरा,वर्षाै वर्ष भयो । न्यास्रो नलागेको हैन । तर खै , के ले रोक्यो, रोक्यो ! 

केही त पक्कै थिए भन्ने कुरा तिमीलाई । केही त पक्कै थिए सुनाउने कुरा तिमीलाई ।

कहाँबाट सुरु गराैं ? 

सम्झना पनि हराउँदो रहेछ हेर न । तिमीसँग छुटे यता धेरै कुरा छुटेका छन् । 

गाउँ छुट्यो । आँगन छुट्यो । पैयुँका फूलहरु छुटे । घर छुट्यो । साथीभाई छुटे । आफन्त छुटे । ठूल्धारोको शनिबारको भीड छुट्यो । अरु त अरु, शनिबार सवा दुई बजेको फिल्म पनि छुट्यो । 

हाम्रो आँगनबाट पर महान्टारसम्म देखिने त्यो फराकिलो ‘महान टार’ छुट्यो । धानका बाला छुटे । गहुँका गर्हा छुटे । मलका डोका छुटे । परालका बिटा छुटे । अनि छुटे आमाका दु:खहरु ।

छुटेका कुरा भनि साध्य छैन । समग्रमा धेरै यादहरु छुटे । जुत्ता छुटे । खुट्टा छुटे । 

छुटेका खुट्टाहरु कहाँ कहाँ पुगे । म पनि त कहीँ पुगे । 

………………

आज धेरै वर्षपछि छुटेका केही कुराहरु भेटिएका छन् ।

उतिबेला मेरो आँगनबाट देखिने क्षितिज कति साँघुरो रहेछ। पर एयरपोर्टमा राति बलेको बत्ति देख्दा मलाई मेरो क्षितिज कति उज्यालो लाग्थ्यो । आजकाल त्यहाँ केही थान बिजुलीहरु थपिएका छन् । केही थान जहाजहरु थपिएका छन् । 

साँझको सुन्तले आकाशमा सेतो हवाईजहाज कस्तो खुल्थ्याे । मेरो सम्झनाको ग्यालरीमा भएको सबैभन्दा प्रिय तस्वीर । 

अहिलेको मेरो क्षितिजमा एयरपोर्ट छैन । आकाश त उही छ । उही छ, कि  फेरियो ? जवान छ कि बुढो भयो ? 

 खै  !

सबै जटिल प्रश्नहरूकाे कति सजिलो उत्तर – खै !

उबेला यो आकाशमा कत्तिबेला हवाईजहाज उड्ला भनि हेरी बस्थ्याै । हेर्दा हेर्दै जहाज छुटिजान्थ्यो । हामी जिल्ल पर्थ्याै र कल्पन्थ्याै । जहाजमा के उड्ला ? सपना कि सम्झना ! को उड्ला ? मिलन कि विछोड ! हाम्रा चिनजानका कसैले जहाज चढेको थाहा थिएन ।

त्यतिखेर छुटेको आकाशको त्यो दृष्य अहिले यतिबेला फेला पारेको छु ।आज दिनभरिमा जम्मा दुईवटा ठूला जहाज उडे । एउटा आैषधी र उपचार सामग्री लिन चीन गएको हवाईजहाज र नेपालमा बसेका विदेशीहरु लिन आएको कतार एयरवेज । आखाँबाट आेझेल नपरुन्जेल जहाज पछ्याए । थाहा छैन पर क्षितिजमा बादलभित्र हराउँदै गरेको त्यो जहाज  यो मेरो सम्झनाको प्रिय तस्वीर बन्छ बन्दैन ! 

……………

धेरै धेरै वर्षपछि हिजै साँझ घरको छतमा उभिएर धेरैबेर आकाश हेरे । साँझको काखमा दिन, उसैगरी आरामसँग निदायो । साँझ, रातको न्यानोमा मस्त भयो । जिन्दगीको भागदाैडमा मैले मेराे आकाशै बिर्सेको रहेछु । ताराहरू उस्तै थिए ।  सानआख्ले तारा, तीनआँख्ले तारा । प्रश्नको तारा । सबै उस्तै थिए । चम्किला, धमिला, उज्याला, अध्यारा सबै सबै आकाशमै भेटिए । जून पनि उस्तै थियो । 

नभेटीएको त म पो रहेछु । फेरिएको त मेरो आँगन पो रहेछ ।  

………………….

दिउँसोको आकाश पनि उबेला झै देखे  । निलो । निख्खर । घाम उसैगरी लागेको थियो । उत्तरतिर टल्केका हिमाल उस्तै थिए । चन्द्रागिरी र फुल्चोकी पनि कत्ति नजिकै । फुत्तै पुगिएला जस्तो ।

अब यति नै बेला पूर्वतिर हेर्दा चाँगुनारायणको डाँडो अघिल्तिर हेलिकप्टरबाट हरियो छाता (प्यारासुट)समातेर आर्मीहरु  झरेको देखिए ठ्याक्कै हाम्रो पुरानै आकाशमा फर्कने थियाै । 

तर एक , दुई , तीन  भन्दै सिपाहीहरु झरेका गन्ने नानीहरु भेटीएलान् त अब । 

हरिया लुगा लगाएर , हरियै झोला , हरियै तुम्लिनको भाँडो बोकेर हाम्रो घर छेउको बाटो हुँदै आउने ती सिपाहीहरु किन त्यसरी हेलिकप्टरबाट झर्थे कुन्नी ! तिनीहरु उबेला झै हाम्रै आँगनको बाटो हुँदै आए भने ! तिनीहरु फर्कदा घर भित्र लुकेर खोपा खोपाबाट चिहाउने स-साना आखाँहरु के गाउँमा होलान् त अब!

टेलि ईट्टा छापेको आँगनको बाटो अब कहाँ बाँकी छ र गाउँमा ! गाउँका हरेक आँगन अहिले गेटभित्र सरेको छ । पर्खाल लागेको छ शारदा आमाको आँगनमा र चिसै छ आगोको भु‌ङ‌ग्रो लिन जाने फलामे डाडुहरू । पर्खाल लागेको छ सबिताको आँगनमा र रित्तै छन् तरकारी माग्न जाने कचाैराहरु । पर्खाल लागेको छ  सरिता भाउजूको भान्छाबाट आउने बास्नामा अनि पर्खाल लागेको छ चाडबाडमा सुनिने दिदिबहिनीका उन्मुक्त हाँसोमा । र हराएछन् आँगनमा आँखाछोपी खेल्ने सानीहरू ।

आजकाल गाउँमा पर्खाल लागेको छ । रंगीन पर्खाल सेता, नीला, पहेला, हरिया, राता पर्खाल । पहिले कति सजिव र रंगीन लाग्थ्याे मलाई मेराे गाउँ । यी रंगीन पर्खालहरुले मेरो गाउँको रङ नै उडाएछ र हराएछन् गहुँका बालाहरुसँग आफ्ना उचाई  नाप्ने नानीहरु । विस्तारै आँगन हराएछ । पिढीं हराएछ । भँगेराहरु हराएछन् , परेवाहरु, पुतलीहरु, खेतहरु, धानहरु, गहुँहरु, मकैहरु । एक एक गर्दै सबै हराएछन् । 

गाउँ कहिल्यै नभेटिने गरी हराइसकेछ । 

गाउँ हरायो । म पनि त हराए कतै । 

…………….

र आजकाल भेटिन्छु हेर्ने कथामा । यस्तैगरी विस्तारै हराउँदै गएका गाउँघर डुलिहिड्छु । खुशी हुँदै हिड्छु । डराउँदै हिड्छु । मेरो गाउँ हराए जस्तै यी गाउँघर पनि हराउने हुन् कि कतै  ! म हराए जस्तै यी गाउँका अन्तरी जन्तरीहरू पनि हराउने हुन् कि कुनै दिन !!

…………….

प्रिय डायरी्, 

यत्तिका वर्षपछि कुनै अवसर पारेर लेखेको हैन । मनमा कुनै भाव छैन । न खुशी न दु:खी । मान्छे भावशून्य पनि हुँदोरहेछ । यस्तो भावलाई के भन्छन् कुन्नि !! लेख्न सुझाउँदा साथी कमलकुमारले भनेका थिए ‘मैले लेखेको कसैले पढ्दैन भन्ने सोचेर लेख्नु है ।’ शायद यस्तै सोचेर लेखे । 

घरभित्र छु । पर्खाल भित्रै । रहरले हैन । वाध्यताले । लकडाउन डायरीमा कोरोना भाइरसको कतिवटा केस कहाँ फेला पर्यो । कुन देशमा कति संक्रमित भेटिए । दिनमा कतिपल्ट हात धोए । मिचिमिचि धोए कि आफैलाई ढाँटेर धोएजस्तो मात्रै गरे ।  आमासँग भेट नभएको कति दिन भयो ।आमालाई फोन गर्दा क्वारेन्टाईनमा बसाै, कोरोना भाइरसका लकणहरू भन्ने मेसेज पुरै सुने कि आधा मात्रै । लकडाउन थपिन्छ कि सकिन्छ । अझै कति दिन यसरी बस्नुपर्ने हो ! काम नगरी खान नपुग्ने मजदुरले के गरी खालान् । अब संसार के हुने हो । चीनमा भाइरस कसरी रोकथाम भयो होला । अमेरिकामा पनि मास्क पुगेन । हाम्रा डाक्टरले उपचारगर्दा लगाउनैपर्ने लुगा पाएनन्। कोरोना भाइरस देखिएकालाई हेरचाह भएन । सरकार पनि अस्पतालबाट डिस्चार्ज भयो रे । यस्तै केही लेख्नुपर्ने थियो होला । मैले त के पो लेखे गन्थनमन्थन मात्रै।

आज के बार पो हो साँच्ची ! सोमबारै पनि शनिबार जस्तो बुधबारै पनि शनिबारै जस्तो भएपछि आजपनि शनिबारै भनिदिउँ ! सधैं दिनभरि घरै बस्ने मेरी आमा यस्तै भन्नुहुन्थ्याे । मैले पनि भनिदिए  – दिन बारको हिसाब पनि के गर्नु । 

शहरभरि मान्छे भएर पनि रित्तिएको यो शहरको के कुरा गर्नु ! घरभरि मान्छे भएर पनि शून्य यो आँगनको के कुरा गर्नु ! बाँच्नैका लागि गरिरहेको यो संघर्षका बेला मृत्युको के कुरा गर्नु ! 

बरू अलिकति सम्झनाको कुरा गरे । अलिकति बिर्सनाको कुरा गरे । अलिकति मनको कुरा गरे । 

काम त थुप्रै छन् । तर कामको पनि के कुरा गर्नु । 

केही दिन अघिसम्म कति भागदाैडको जिन्दगी थियो । भ्याईनभ्याई । खान पनि फुर्सद थिएन कहिले त । दिन यस्सै पनि वित्दो रहेछ । केही नगरी पनि । 

हतारै गरेर पनि ।हातै बाँधेर पनि । 

सम्झेर पनि बिर्सेर पनि । 

सोचिल्याउँदा जसरी पनि चल्दो रहेछ जीवन ।

भर्खरै एउटा निर्णय गरेका छाैं : अबकाे केही समय हेर्ने कथामा नयाँ कथा नदेखाउने ।

बाँकी अर्को भेटमा । 

उही  तिम्रो , 

म ।

विद्या चापागाईं

प्रस्तोता

Bidhya is one of the co-founders of Herne Katha. She is also the Presenter of the show.


अरु डायरी:

समयको प्रश्न

बाबालाई विश्व अर्थतन्त्र, इतिहास र समसामयिक कुराहरुमा रुची भएर होला यी बिषयमा हाम्रो घरमा पहिला देखि नै बेलाबेलामा छलफल हुने गर्थ्यो। हाम्रो घरमा हाँसो,ठट्टा, रमाइलो भन्दा बढि छलफल, कुराकानी बढी हुनेगर्छ। चिनबाट सुरु भएर एक दुई देशमा संक्रमित देखिन पाएको छैन, बाबा चाहिं हाम्रै घरको परिवार मध्ये कोही  संक्रमित भएजत्तिकै गम्भीरताका साथ कुरा गर्नु हुन्थ्यो।

बाबाले भएजति समाचारका स्रोतहरू अध्ययन गर्नुहुन्थ्यो, आफुले जानेको विश्लेषण गर्नुहुन्थ्यो र बिहान एक घण्टा हामीलाई विवरण दिनु हुन्थ्यो। भाइ र मलाई तिमीहरु अब जिम नजानु,घरमै बसेर व्ययाम गर्नु भनेर भन्नु भएको पनि एक महिना अगाडि हो। हामीहरुले भने एकदमै सामान्य रुपमा लिएका थियौ। चिनमा हो, यहाँ केही छैन,केही भयो भने थाहा हुन्थ्यो भन्थ्यौं। म अफिस जान्थें, कलेज जान्थें त्यहां झन सामान्य थियो। विश्वभरि डर, त्रास फैलदा पनि हामीहरु भने त्यस बिषयमा कुरा पनि गरिरहेका थिएनौ। 

त्यसपछि हाम्रो थाइल्याण्डमा हुने भनेको एउटा कार्यक्रम स्थगित भयो। मैले अझै पनि गम्भिर रुपमा लिएको थिइनँ। अहिले सम्म प्लेन नै नचढेकी मलाई, प्लेन चढ्ने रहर अझै पुरा भएन भनेर दुःख मात्र लागेको थियो। जब मार्च बाट युरोप र अमेरिकामा पनि ब्यापक रूपमा कोरोना संक्रमण देखियो तब पहिलो पटक मेरो मनमा चिसो पस्यो। त्यसपछी मैले समाचार पढ्ने, बाबा सँग कुरा गर्ने गर्न थाले। बाबा भन्नुहुन्थ्यो, डा. क्याम्प्बेलले यस्तो भनेको छ, WHO ले यस्तो भनेको छ, सरकारले लकडाउन गर्नु पर्छ। सुरुमा मेडिकल सामाग्रीहरुको व्यवस्था गर्नु पर्छ। हाम्रो देशमा अहिले सम्म नदेखिनु अचम्मको कुरा हो, सुरु हुनु भन्दा अगाडि नै समझदारी पुर्‍याउनु पर्छ, नत्र हाम्रो देशको क्षमताले पुग्दै पुद्गैन..आदी इत्यादी। नभन्दै  लकडाउन भयो पनि। 

हामी घरमा पाँच परिवार छौं, बाबा, मामु, हजुरआमा, भाई अनि म। बाबालाई सबै भन्दा प्यारो किताब। दिउँसो अफिस जाने बाहेक उहाँको अरु समय किताब या लेख पढेर नै बित्थ्यो। मामु बिहानको भात भान्छा पछि आफ्नो अचार ब्यवसायमा लाग्नु हुन्थ्यो। शनिबार बिदा आउना साथ मामु कि त नयाँ ठाउँ घुम्न कि त आफन्त- साथीभाई भेटघाट गर्न उत्सहित भाइहाल्नु हुन्थ्यो। हजुरआमालाई घरको नित्य पूजापाठ, त्यसपछि घर नजिकैको मन्दिरमा हुने जेष्ठ नागरिक सत्सँग। बरु एक छाक खाना नखादा केही हुँदैन थियो आमालाई तर एक दिन मन्दिर जान पाउनु भएन भने निस्रिक्क पर्नु हुन्थ्यो। भाई आफ्नो काम काम भन्थ्यो, शनिबार पनि काम छ भनेर अफिस नै कुद्द्थ्यो। मलाई पनि आफ्नो पढाई र काम भन्दा बाहेक अरु केही कुरा ठुलो होला जस्तो लागेको थिएन। यस्तो थियो माहामरी अगाडिको हाम्रो दैनिकी। 

यो दैनिक भाग-दौड बाहेक अरु सबै कुरा हाम्रो जिन्दगीमा ओझेलमा थिए। पाँच भिन्न तरिकाका हामी पाँचजानाको दैनिकी अहिले लगभग  एउटै भएको छ। बिहान उठ्ने, रातभरिको समाचारको विवरण सुन्ने, सबैजाना मिलेर घरको कामहरु गर्ने, दिउसो पनि समाचार सुन्ने, गफ गर्ने अनि साँझ एकछिन आफ्नै बारी पाखातिर हिड्ने अनि भाइ र म चाँही मिल्ने जति अफिसको काम गर्ने। कहिले फिल्म हेर्ने, कहिले किताब पढ्ने, कहिले छतमा बसेर आकाशतिर हेर्‍दै टोलाउने, कहिले कोठाभित्र बसेर सिलिङ हेर्‍दै टोलाउने। अहिले हजुरआमा पनि बिहान उठ्ने बित्तिकै सुरुमा, सुना त.. रातिभरीमा कुन कुन देशमा के के भयो सबै सुना भन्न थाल्नु भएको छ। कति समय सम्म बोलचाल गर्न नभ्याएका साथीहरु सँग पनि कुरा गर्ने समय र बहाना दुबै मिलेको छ। सामाजिक सन्जालमा पनि  सही, गलत समाचार संगसंगै हाँसो ठट्टाको पनि कमी छैन। 

काठमाण्डौ उपत्यका भित्र नै परे पनि अलि गाउँ जस्तो ठाउँमा पर्छ हाम्रो घर- गोदावरी नगरपालिकाको वार्ड नम्बर ४, बडिखेल। खासै धेरै गाडी, मान्छे, बजारको चाहलपहल अरु बेला पनि हुँदैन यहाँ। फेरि हामी धेरै जस्तो आफ्नै खेतबारीमा उब्जेका खानेकुरा खान्छौ। त्यसैले पनि होला लकडाउनको पहिलो दिन मलाई अरु दिन भन्दा खासै फरक केही लगेन। लकडाउनको समाचार हाम्रो लागि अपेक्षित नै थियो, अनि अफिसको काम पनि दुई दिन अगाडि बाट नै घरबाट नै गर्न थालेका थियौ। म प्राय घरमा नै बस्न रुचाउँछु, त्यसैले मलाई चाहिँ घरभित्र थुनिनु भन्दा पनि अन्लाईन (virtually) काम गर्न भने असजिलो भयो। 

***

आज लकडाउनको पाँचौं दिन, अझै पनि आधारभूत रुपमा मेरो जीवन सामान्य नै छ। म सोच्छु, आफ्नै लागि मात्र सोच्ने हो भने म त यसैगरी ५-६ महिना पनि मजाले कटाउन सक्छु। तर कुरा मेरो मात्र छैन, अझ भनौं हामी घर बसेर खान बस्न क्षमता भएको मान्छेको हैन, दैनिक कमाई गरेर खाने मान्छेहरुको हो। अनि देशको अर्थतन्त्रको हो। मानसिक रुपमा भने मलाई यो लकडाउन, अझ भनुम यो भाईरस संक्रमणको माहामारीले, धेरै असर पारेको छ, धेरै कुराहरु सोच्न बाध्य बनाएको छ। 

पहिलो त हाम्रो जीवनशैलीमा, अनि हाम्रो प्राथमिकताहरुमा। कसरी हामी जिउँछौ, कति कुरामा हामी स्वनिर्भर छौं, कति कुरामा अरुको भर पर्छौं, हामी के के कुरामा पैसा खर्च गर्छौ, कति बचाउँछौ? हाम्रो प्रमुख प्राथमिकता के हो, खुशी छौं त हामी हाम्रो life choices बाट?..आदी इत्यादी।

अर्को कुरा, सँधै धेरै अन्तर देख्थें म, साना-ठूला, धनी-गरिब, राम्रो-नराम्रो, सहि-गलत, बिकास-बिनास यी अपर्यायवाची शब्दहरुमा । अहिले यी शब्दहरुका भिन्नता पनि मलाई धमिलो लाग्दै छ। मेरो ब्यक्तित्व यस्तो, मेरो स्तर यस्तो, मलाई यो खान मन्न लाग्दैन, म यो गर्न सक्दिन भन्ने कुरा नै कति हलुका लाग्दै छ। 

आखिर मानिस जुन देश, जुन धर्म, जुन स्तर, जुन सोचाईको भएपनि हामीबिच भिन्नता भन्दा बढि समानता  रहेछन्। त्यतिमात्र पनि हैन, हामी मानिस नै कुनै प्राणी भन्दा विशेष वा सर्वश्रेष्ठ लाग्दै लागेन मलाई। एकतिर सबै मानव जाती नै घर भित्र थुनिएको बेला अर्को तर्फ सारा प्रकृति मुस्कुराउँदै गरेको देख्दा, सुन्दा अर्कै आनन्द पनि लागेको छ।

विश्व अर्थतन्त्रलाई यसले पर्ने प्रभाव त छदै छ, तर अर्थतन्त्र भन्दा ठूलो प्रश्न सिर्जना गरेको छ यो समयले मेरा लागि।

प्रतिष्ठा आचार्य

बिजनेस डेभलपमेन्ट अफिसर

Pratistha looks after all business and administrative sides of Herne Katha

टोल नथर्काइ हुन्न !

टिडिङ….. टिडिङ….. आजभोलि मेरो अलार्मको धुन फेरिएको छ । 

“हेलो ! उठ्याै ? ६ बज्न लागिसक्यो।” आमाले ठ्याक्कै यतिबेला फोन गरेर यही प्रश्न सोध्न थालेको आज साता दिन भइसकेछ । परिवारका सबै गाउँ जानुभएको छ । दश गतेबाट लामो दुरीको सवारीसाधन नचल्ने भनेपछि कोठा भाडामा बस्ने अंकल र उहाँको परिवार पनि गाउँ हिँडिसके । घर जाने अघिल्लो दिन मैले अंकललाई सोधेको थिएँ, “घर नगए नि हुन्न र?  यस्तो भीडभाडमा साना केटाकेटी लिएर झन् भाइरस सर्ने सम्भावना होला !”

“उता आफ्ना मान्छे छन् । खानबस्न समस्या हुन्न”  अंकलले भनेको दोस्रो होइन पहिलो वाक्यले मेरो मन अमीलो भयो । 

म एक्लै परेँ । शंखमुल बस्ने साथीलाई घरै बस्न बोलाएँ । साथी र म हाम्रो घरबाटै अफिस र कलेज आउजाउ गर्न थाल्यौँ । हरेक दिन मातातिर्थबाट कलङकी पुगेपछि थाहा हुन्थ्यो साँच्चै मानिसहरुलाई  गाउँ नगइ भएको छैन । गाडीमा कोचाकोच गरेरै भएपनि गाउँ नै पुग्नुछ उनीहरुलाई । । मलाई अचम्म लाग्छ सरकारले लामो दुरीका सवारीसाधन नचल्ने पो भनेको सबैलाई दसैँमा जसरी घर जाऊ भनेको त होइन । अनि फेरि अंकलले भनेको सम्झन्छु । “गाउँमा खानबस्न समस्या हुन्न।”  र, चित्त बुझाउँछु । 

त्यसको केही दिन पछि सरकारले लकडाउन घोषणा गर्यो । अरु देशमा जस्तै मानिसहरु बाहिर निस्कन मिल्दैन । जर्मनी, फ्रान्स र अरु केही देशले त दुई जना मात्र हिँड्न पाउने नियम गरेका छन् । अझ हाम्रोमा त अत्यवश्यक काम बाहेक अरु कामले त्यसै हिँडडुल गर्न पाइँदैन । अहो ! कस्तो राम्रो काम । 

त्यो दिन म छतमा बसेर सहर हेर्दै चिया खाँदै फुरुङ्ग थिए । मेरो फुरफुर क्षणभरमै हरायो जब तल्लो घर नजिकै चौरमा तासको खाल देखेँ । ‘ अंकल…. घरबाट बाहिर ननिस्कन भनेको छ त सरकारले सुन्नुभाछैन ? माईक लगाउँदै हिडेको छ त । अझ पाँच–सात जना जम्मा भएर काँ यस्तो खाल जमाउन पाइन्छ  ? तीन तलाबाटै म चिच्याएँ …..। उनीहरु हातको इसाराले चुप चुप भन्दै थिए ।

टिडिङ….. टिडिङ….. फोन बुवाको थियो । 

“त्यहाँ गाउँमा मान्छे जम्मा भएर तास खेलेर बस्ने होइन भन्द्याछु । ”  किन फोन गर्नुभएको थियो सोधिन, बरु उल्टै बुवालाई थर्काएँ । कस्तो अचम्म हामी नेपालीलाई भनेको नलाग्ने कि नटेर्ने ! ईटलीमा कोरोना भाइरसको संक्रमण संख्या बढ्नुको एउटा कारणमा साथीभाइसँग जमभेटलाइ पनि लिएको कुरा समाचारमा सुनिरहेकै छौँ । बिषयको गाम्भिर्य बुझ्न किन यति गाह्रो भएको ।

अर्को दिन मैले तासको खाल त्यहाँ देखिनँ । तर हिजो फाट्ट फुट्ट मान्छे देखेको थिएँ । भन्दै थिए चार–पाँच बुक तास निकाल त गोजीमा हालेर जङ्गलतिर जाम् ।” यो कुरा सुनेर हिजो चढेको मेरो पारो अझै झरेको छैन । एकपटक छतमा गएर हेरेर आउँछु ल ! यही बेला हात धुने वहाना पनि हुन्छ ।

अहो! आज आकाश खुलेको रहेछ । हिमाल पनि टलक्कै टल्किएको । कहिलेकाही मातातिर्थले चन्द्रागीरीलाई च्यालेन्ज गर्छ कि झैं लाग्छ । यहाँबाट पनि त काठमाण्डौ शहर परसम्म देखिन्छ । आज पनि अंकलहरु त्यही थिए । तर केही दुरी कायम गरेर गफ गर्दै थिए ।

ठ्याक्कै अंकलहरु बसेको माथिबाट एक हुल चराहरु भुरुरु उडे । मैले पनि आकाश र बादल हेर्दै लेखक दुर्गा कार्कीको किताब ‘कुमारी प्रश्नहरु’ आधा जति पढेर भ्याएँ । हरेक पटक बादलसँग कुरा गर्दा उस्तै प्रश्न हुन्छन् मेरा । बादल किन म जता हिड्छु उतै हिड्छ । किन कहिले साथी र म जस्तै आकृती बनेजस्तो लाग्छ । कहिले आमाले बच्चालाई दुध खुवाइरहेजस्तो । कहिले आफै टोलाएर बसिरहे जस्तो । 

खैर, बादलसँग हामी सबैको कुराकानी यस्तै त होला नि! आज मेरो दिन लगभग छतमै बित्यो । यो बिचमा कम्तीमा पाँच पटक त हात धोएँ होला मैले । अनि धेरै पछि हजुरआमालाइ सम्झिँए । हजुरआमा साबुन पानीले पटक पटक हात धोइराख्नुनुहुन्थ्यो । धोएर राखेको प्लेट खाना पस्कनु अघि राम्ररी पखालेर राख्नहुन्थ्यो । भन्नुहुन्थ्यो “ठूलो नातीले भनेको किटाणु बसेका हुन्छन् रे धोएर मात्रै खानुपर्छ”। असी काटिसकेकी हजुरआमाका हातका छाला कक्रक्क परेर फुटेका थिए । “धेरै पानी चलाएर हो हात फुटेको” भनेर कराउँथ्यौ हामी । तर आज मलाई हजुरआमासँगै हात धुन मन छ । राम्ररी कसरी धुने सिक्न मन छ । र उहाँ नफर्कने बाटो हिँडेको दुई बर्ष भयो भनेर बिर्सन मन छ ।

शहरतिर झिलिकमिलिक बत्ती बल्न थाले । कलङकी हुँदै गाडी खचाखच बाहिरिए पनि शहर कहाँ रित्तिएको छ र । दिउँसो निस्सासिएको शहरमा साँझको बत्तीले छिमेकी भएको आभास दिन्छ ।

ममीले फेरि फोन गर्नुभयो – “दिउँसो बुवालाई थर्काइस अरे त । आज त यता पनि भिडभाड गरेर नबस्नु भन्दै माइक लगाएका थिए । तँलाई पनि भिडभाडमा नजा भन्नलाई बुवाले फोन गर्नुभाथ्यो । “

मैले भनेँ “माईक त यता पनि लगाएका छन् नि । माइक लगाएर मात्र हुन्न आफ्ना टोलकालाई आफै थर्काउनु पर्छ ।”

आशा थापा

प्रोड्युसर

‘Asha’ means hope. I love singing. So, I sing stories of hope and courage at Hernekatha. 

हलुङ्गो, हलुङ्गो

लकडाउनका दिनहरु हलुङ्गा छन् । यो समयले हलुङ्गो हुन सिकाएको छ । 

महामारिको त्रासदीले यतिखेर सारा मानवजातिलाई समयको बन्दी बनाइरहँदा म पनि बन्द भएको छु पर्खालभित्र । अस्तिसम्म खै कहाँ पो पुग्न हो दिनरात दौडिरहने म, बसेको बस्यै छु । 

वल्लो झ्यालबाट हेर्दा हरिया गहुँबारी देखिन्छ । पल्लो झ्यालमा हिमाल मुस्काइरहेको । आजकल मौसम पनि कत्ति सफा !

यत्ति लामो समय घरमै बसेको पछिल्लो सम्झना फेला पार्नै सकिनँ । भागदौडको दुनियाँबाट अचानक अर्कै ग्रहमा आइपुगेको जस्तो लाग्छ बेला बेला । हुन त पृथ्वी आफैंले पनि चिताएको थिएन होला मान्छेले यसरि सास फेर्ने फूर्सद दिन्छन् भनेर । मान्छे, मोटर, कारखाना, हवाइजहाज, महत्वकांक्षा – यी सब सुस्ताउँदा पृथ्वी कस्तो हलुङ्गो । 

फूर्सद भयो भने के के न गरुँला भनेर अरु बेला बहाना बनाइराख्ने म । यति लामो फूर्सदले कुनै जाँगर दिएको छैन । मस्तिष्क पनि हलुङ्गो भएको छ । शरिर मात्र भारि छ । खायो । मोबाइल चलायो, तलमाथि गर्यो । दिन कटायो । रहर, जाँगर, अपेक्षा, डर, सपना सबै उ त्यो पर्खालबाहिरै छन् यतिखेर । पर्खालभित्र म मात्र छु । मेरो सानो,  हलुङ्गो मन छ । जसले पृथ्वीले जस्तै भारि बिसाएको छ यतिखेर । 

संसार आफ्नै नियमित भारि बोकेर दौडिरहेको भए, शेयर बजारमा लगानीहरुको तैरान र डुबानमा मान्छेहरु पसिना पुछिरहेको भए, जेट प्लेनहरु सपना बोकेर अरब उडिरहेका भए, पारिको हरियो डाँडा ताछिरहेको डोजरले उसैगरि धुँवा फालिरहेको भए, अखण्ड हरिकिर्तन जस्तो सडकमा गाडि र मान्छेहरु खै कहाँ पुग्न हो दौडिरहेका भए; ती मान्छेहरुको भिडमा म पनि हुन्थेँ कतै । गन्तव्यहीन यात्राहरु गर्थेँ । हरेक दिन आकांक्षाका रेस दौडिन्थेँ, इर्ष्याका लडाईं गर्थेँ । खै किन हो लकडाउनमा म त हलुङ्गो पो भएछु । 

अन्तरमनले भन्छ: मान्छेले यो महामारिलाई जित्नेछ र फेरि उही वेलयको लयमा फर्किनेछ । 

तर उही लयमा फर्किएपछि म फेरि गर्हुँगो हुन्छु होला कि अहिलेजस्तै हलुका? पृथ्वी फेरि गर्हुँगो हुन्छ कि हलुका?

आजलाई लकडाउन डायरी यत्ति नै । कविशिरोमणिका चार हरफ छोडेर जाँदैछु । शुभरात्री । 

मार्च २९, ७:३४ बेलुका

ठैब, गोदावरी

मत्ता हात्ती हलुङ्गो, वितत जलधिका ह्वेल-माछो हलुङ्गो,
जङ्गी बेडा हलुङ्गो, विकट कटकटे रेलगाडी हलुङ्गो ।
शैलश्रेणी हलुङ्गो, पृथुतम पृथिवी गोल सारा हलुङ्गो,
यो ब्रह्माण्डै हलुङ्गो, जब सब मनको तिर्सना लाग्छ टुङ्गो ।।

कमल कुमार

निर्देशक

KK is one of the co-founders of Herne Katha. He directs, edits and writes script for Herne Katha.

डर

२०७६/१२/११

मंगलबार

आजको बिहानी हरेक दिन जस्तो थिएन अलि भिन्न थियो । आजको बिहानीमा डर थियो त्रास थियो । मेरो आमाको मुहारमा चिन्ता थियो, बुबाको मुहारमा आश ।

हिजो मात्र हामीले आफिसमा अब घर बाट काम गर्ने कि भनेर सल्लाह गरेका थियौँ । भोलिपल्ट सरकारले ‘७’ दिनका लागि लकडाउनको आदेश सुनायो । एकछिन त म आतिएँ पनि ‘ला अब के हुने होला’? कोरोना भाइरसको महामारीको समाचारले सामाजिक संजाल भरिएका थिए । फलानो देशमा यति मरे, फलानो देशमा यति संक्रमित भए इत्यादि । राम्रो भन्दा नराम्रो समाचारहरु द्रुत गतिमा सामाजिक संजालमा फैलिएका थिए । एकजना साथिले मलाई मेसेन्जरमा लिंक पठाएकी थिइन् । जसमा इटालीमा भइरहेको कोरोना आतंकबारे समाचार थियो । त्यो समाचारले एकछिन मेरो मन सिरिङ्ग बनाइदियो ।

आज लकडाउनको पहिलो दिन। बिहानीको ९ बजेको थियो । आमा भान्छामा, बुबा बारीमा र दिदी चाहिँ साथीसँग कुरा गर्दै थिइन् “आज अब कसरि आउने, गाडी पनि छैन रे,………. मेरो १ बजेको शिफ्ट छ ….. अनि तिमि हिँडेर जान्छौं ?……..” । बुबा बारीको काम सकेर माथि उक्लिन नपाई दिदीले माथिबाटै चिच्याउँदै भनिन् “ मेरो त आज साँझको ९ बज्जे सम्म ड्युटी छ म राति अब कसरि आउने?” सबैको मुहारमा आ–आफ्नै चिन्ता थिए। आमाको मुहारमा खाद्यान्न सामग्री नपाइएला कि भन्ने चिन्ता, बुबाकोमा कार्यालयको काम रोकिने चिन्ता र दिदीलाई राती घर फर्किने चिन्ता । कोरोना भाइरस भन्दा बढि लकडाउनले निम्त्याएको प्रभावको चिन्ता बढि थियो ।

देश ठप्प थियो, मेरो घर वरिपरिका पसल पनि ठप्पै थिए । जहिले ओहोरो दोहोरो गरि राख्ने मेरा छिमेकी अंकलले आज घरको छतमा घाम तापेको देख्दा अनौठो लाग्यो । एकछिन हाँसो पनि उठ्यो । कहिले एकछिन थिर गरेर नबस्ने मान्छे आज यसरि घन्टौं एकै ठाउँमा बस्दा अनौठो लाग्नु स्वाभाविक नै थियो । त्यो सँधै हिँड्ने बाटो आज दिउँसै खाली देख्दा अच्चम लाग्यो । म पनि घाम ताप्दै अरुको घरको छतमा आँखा डुलाएर बसिरहेको थिएँ। कोहि घाममा सुतिरहेका थिए, कोहि चामल केलाइरहेका र कोहि येतिकै टोलाएर बसेका थिए। 

दिउँसोको दुई बजेको थियो । सामाजिक संजालमा साथीहरुको आजको दिनको स्टोरी हेरिरहेको थिएँ। त्यतिखेर नै सामाजिक संजालमा फ्रान्सबाट आएकी नेपाली महिलामा कोरोना भाइरस पोजेटिभ देखिएको समाचार फैलिन थाल्यो । म आतिएर बुबाआमालाई सुनाउन पुगेँ । नेपालमा पनि कोरोना भाइरस देखा पर्यो अब हाम्रो देशमा पनि इटली जस्तो त हुँदैन,भनी झनै आतिएँ ।

साँझको ८ बज्यो दिदिले हस्पिटल बाट फोन गरी र बुबालाई लिन बोलाई । राति जब ड्युटी सकेर घर आई, उसको मुहार बिहानीको भन्दा फरक देखिए । उनि बढि चिन्तीत देखिएकी थिई । उसको मुहारमा फेरि अर्को डर थियो । यो डर भोलिको थियो । अलि आतिँदै उसले भनि – ‘आज हस्पिटलमा एक जना कोरोना भाइरस संदिग्ध व्यक्ति हामीकहाँ आयो र त्यो केस म र मेरो एकजना साथिले हेरेका थियौं । संयोगको कुरा के भने दिउँसो मात्र फ्रान्सबाट आएकी युवती कतार ट्रान्जिट हुदै नेपाल आएकी थिइन् र ती व्यक्ति पनि कतार बाट आएका रहेछन्’ । 

हामी सबै स्तब्ध भयौँ । मनमा अनेकौं कुरा खेलिरहे । रिपोर्ट पोजेटिभ आयो भने के हुन्छ? हामी पनि एक अर्कासँग अलग त बस्नुपर्दैन? हामी झनै आतियौं । 

डर अब सबैको मुहारमा देखिएका थिए । भित्रबाट प्रार्थना गर्दै थिए, ‘हे भगवान्! टेस्टको रिपोर्ट नेगेटिभ आओस् । हामी सबैजना भोलिको रिपोर्टको पर्खाईमा बस्यौं । 

बिहानीझैँ राति पनि डर थियो त्रास थियो तर बिहानीको डर भन्दा फरक थियो ।

 त्यो रात हामि सबैजना भोलि के होला भन्ने डरमै सुत्यौँ ।

आश्मा अधिकारी

एडिटिङ/क्यामेरा एसोसिएट

Ashma is Kathmandu University Graduate in Media Studies. She started as an intern in Herne Katha. Now she is a great Editor and Cinematographer.