लकडाउनले साहित्यकार बनाउला जस्तो छ

विश्व स्वास्थ्य संगठनले खतराको सज्ञां दिएपछि नेपाल सरकारले ५ गते वेलुका अलि धेरै चासो लिएर फटाभट निर्णय गर्न थाल्यो । त्यतिबेला सम्म त नेपालमा आएको छैन के भो र भने जस्तो लाग्थ्यो । तर जव सरकारले एसइइको परिक्षा नै रोक्यो तब संकटै परेको हो कि भन्ने लाग्यो ।  ५ गते साँझदेखि नै अफिसबाट घर जाने गाडी मुस्किलले पाइन थाल्यो। चैत्र ६ देखि धेरै मानिसहरु काठमाडौबाट बाहिरिरहेका थिए। केही दिन हिडेर अफिसबाट घर , घरबाट अफिस गर्दै आइयो। त्यसपछि सुरू भयो मेरो घर वसाइ । गाउँ तिर जाने हो की भनेर सल्लाह पनि भयो । तर गाडीको संभावना कम देख्न थालियो । दशैं भन्दा वढी भिड लागेको छ भन्ने पो सुनियो !

कुनै बेला सोचिन्थ्यो दिनभर सुतेर सिनेमा हेरेर वस्न पाए क्या आनन्द आउँथ्यो। त्यो मज्जाका दिन यस पाला भोगियो । पहिलो दिन त रमाइलै लाग्यो । दिन भर घरमा बसेर समाचार पढ्दै सुतेरै बिताएँ। । राति युट्युबमा नेपाली सिनेमा हेरें । मेरा लागि सुत्न पाउनु खुसीको कुरा हुन्थ्यो तर त्यसदिन निन्द्रै लागेन। यस्तो वसाइ कति दिन चल्छ कुनै टुङ्गो छैन । पहिला कुनै वेला यस्तो संकट भोगेको पनि छैन । त्यसैले हामी अनुभवी हुने कुरै भएन ।

चैत्र ११ गते लकडाउनको दोस्राे दिन । बिहानै उठेर पास मिल्छ कि भनेर अफिसमा सम्पर्क गरेँ। पास नभएपछि घरमै बस्ने निर्णयमा पुगेँ। दिनभर समाचार पढेर दिन बित्यो। यस पछिका दिनहरुमा घरमा वस्नुको विकल्प थिएन । गाउँ जाने संभावना पनि सकिएको छ ।

घरमा बसीरहँदा के गर्ने मैले योजना वनाउन लागे ।  अनलाईन हेर्ने र खवर अपडेट भैरहने । परिवारका सदस्यहरुसँग दिनको कम्तीमा दिनको २ पटक मेसेन्जरवाट भिडियो गफ गर्ने । आवश्यकता अनुसार फोनवाट हुने रिपोर्टिङ गर्ने । अनि दिनको एउटा नेपाली सिनेमा हेर्ने । सँगै रहेका २ दाजुहरुसँगै खाना खाने । बेलाबेलामा सावुन पानीले हात धाेइरहने ।  यी कामलाई दैनिकीमै ढाल्ने कोशिस गरें ।

साहित्यको ‘स’ पनि थाहा नभएको मलाई यो लकडाउनले साहित्यकार बनाउँला जस्तो पो भइसक्यो ।  यो अवधिमा दुई वटा उपन्यास पढेर सिध्याएँ। विजय कुमारको ‘खुसी’ र पावलो कोहेलाेको ‘द अल्केमिस्ट’को नेपाली अनुवाद ‘किमियागर’। यी उपन्यास पढेपछि आफ्नो सपना,इच्छा र लक्ष्य पुरा गर्न ‘मनको कुरा सुनेर’ अघि बढ्नु पर्ने रहेछ भन्ने प्रेरणा पनि मिल्याे ।

छिमेकमै बस्ने ७० बर्षीय बुवासँग कुरा गरेर पनि केही समय बिताएँ। उहाँको परिवारले पनि पछि संकटमा परिन्छ कि भनेरे  केही खाद्यन्न र ग्याँस सञ्चय गरेर राखेका रहेछन। यस्तो अवस्था पहिले पनि आएको थियो रे ! बुवाका अनुसार बिसं २०२२, २५ सालतिर नेपालको जनसङ्या ८०  लाख जति थियो। आफ्नै देशको खाद्यान्नले पुग्थ्यो, चाहिने एउटा मट्टितेल मात्र थियो। बिसं २०४०, ४५ सालसम्म नेपालले धान निर्यात गर्थ्याे । आत्मनिर्भर थियो। अहिले काठमाडौेको  जनसङ्ख्या किरासरी छ। हरेक सामानमा भारतमा निर्भर हुनु परेको छ। खेती गर्न पनि छाडे । गाउँका पनि प्राय सबै सहर पस्ने होडमा हुन्छन।बुबाले यस्तै सुनाउनुभयो ।

अन्यौलता छ । तैपनि सकेसम्म रमाइलो गरी घर भित्रै वस्नुको विकल्प छैन ।  २५ गते सम्मलाई त पुग्ने गरी खानपिनको जोहो भएको छ । त्यस पछि के होला झै लाग्छ !  ६ ठाउँमा छरिएर बसेका हाम्रो परिवार दैनिक २ चोटी म्यसेन्जरबाट जोडिन्छौँ। यस्तो बिपतको बेला सबैभन्दा पहिला सम्झने आफ्नो परिवार नै हो। 

हरेक समस्यामा अवसर लुकेको हुन्छ । लकडाउनको अर्को फाइदा खाना पकाउन नजान्ने मलाई खाना पकाउन सिकाएको छ। पाठ्यक्रमको पढाइलाई पनि राम्ररी निरन्तरता दिन पाएको छु । मेरा लागि यो समय रिफ्रेस हुने अवसर भएको छ। 

धनकुमार कार्की

आमा छोराको गन्थन

म​ खुब चिया प्रेमी । त्य​स​मा प​नि दुध​ चिया । अझ​ यो ल​कडाउन​ले ग​र्दा झ​नै बिहान आँखा खुलेदेखि आँखा न​अस्ताउँदास​म्म​ दैनिक ५ -७ कप चिया पिउँछु ! यो  डाय​री भ​र्दै गर्दा पनि छेउको चियाको कप बेला बेला उठाउँदैछु । 

चिया धेर भ​एर हो कि निन्द्रा पनि ढिला लाग्छ  ! हुन​ त यो ल​कडाउन​ प​छि न​ सुत्ने ठेगान न​ उठ्नेको । स​ब रुटिन बिग्रिएको छ​ ! 

घ​र​मा आमा र मात्र​ थियौ । ल​कडाउन​ प​छि  दिदि र भान्जी थ​पिएका छ​न् । एउटा भाइ छ​ । पेशाले घ​र बाहिरै बस्छ​ । म​ बाहिर (बिदेश ) छँ​दै बा बित्नु भ​यो । आमा  एक्लै पर्नुभयो । पेशाले ईञिनिय​र​ भ​ए प​नि यो ल​कडाउन श​ब्द खासै सुनेको थिएन । बरु स​ट​डाउन, ब्रेकडाउन खुब सुनेको हो ! 

यो ल​कडाउन​को बेला आमासंग​ खुब स​म​य​ बिताउँदै छु । 

सोध्छु  – त​पाईं कस​री सधैं यसरी ब​स्न स​क्नुहुन्छ ? म​लाई त बोर लागिस​क्यो ।

आमा – तैले त्य​ही बेदेशबाट ल्याए​को टिभी हेर्छु , टिभीमा जे ग​र्छ म​ पनि त्यही ग​र्छु । 

म – म​त​ल​ब 

आमा – टिभीका मान्छेह​रु रोए रुन्छु । हाँसे हाँस्छु । तैले भ​नेको मानिन​स् केरे । एउटा बुहारी भ​ए त हुन्थ्यो नि ।  अब​ यो साल ज​स​री विहे ग​र ।

म​ ३२ ओटा दाँत देखाउदै  भन्छु – हुन्छ, हुन्छ !

आमा – यसाे भ​नेको ५ ब​र्ष भाे ! 

बिद्या दिदिको ‘हेर्ने कथा ‘ म​ निय​मित हेर्छु । अझ​ यो ल​कडाउन ड​यरी त स​बैको न​छुट्याइ पढेको छु । कहिले कोरोनाको समाचार प​ढ्छु । सविना कार्कीको कार्यक्रम पनि मलाई खुब मनपर्छ ।

अनि फेरि आमासंग गफिन्छु​ –  कोरोनाले देश डुबाउने भो आमा । अझै लकडाउन थ​प्ने रे ।

आमा – यो कोरोना सोरोना केही होइन । म​लाई त माओवादीले ब​न्द ग​र्या ज​स्तो लाछ । कुन चैं माओवादीले खान पाएन । त्यै भ​एर ब​न्द​ ग​र्या हो ! 

म​ हाँ​स्दै भ​न्छु –  त्य​सो होइन । 

हुन​ त आमालाई प​छिल्लो स​म​य​मा टेलिभिज​नमा आउने ‘आन​न्दी’ शो खुब म​न  प​र्छ​ । म​ पनि आमासंगै बसेर कहिलेकाहीँ त्यो कार्य​क्र​म हेर्छु । म हेर्न बसेपछि आमा स​बै भाग​को बिब​र​ण सुनाउनुहुन्छ । स​ब थाहा छ उहाँलाई !  आमालाई दोहोरी पनि खुब मन पर्दो रहेछ । रूची मानि मानि हेर्नुहुन्छ । स​माचार त प​ट​क्कै हेर्नु हुन्न । त्यो भएर होला य​तिखेर ब​न्द भाको मात्र​ थाछ ! कारण थाहा छैन । 

आजकाल घर बसेर आमाको बानी थाहा पाउँदैछु। सुखदुख बुझ्दैछु । मनपर्ने, मननपर्ने कुरा जान्दैछु । आमाको मनको कुरा सुन्दैछु । 

आमा छोराको गफ त कहिल्यै सकिन्न । तर अब डायरी लेखेर चैं सकियो । 

मेरो चिया पनि सकियाे ।

अनि तपाईंले चिया खानु भयो त !!

ल​व कुमार अधिकारी 

आफैँलाई दिएको एक हप्ता

सरकारको पहिलो निर्णय आयो । सेवा दिनु नपर्ने, तर कर्मचारीले नियमित कार्यालय आएर कामकाज गर्नुपर्ने छ। त्यसै गरियो । लकडाउन नै भए पछि भने स्वत: बिदा पाएँ । वरिपरिका साथीहरु सबै गाउँ गए । मलाई गाउँ जान उचित लागेन । काठमान्डौमै बस्ने निधो गरेँ । लकडाउन पालना गर्ने र एक हप्ताको समय आफैलाई दिने निर्णय गरे ।

एकजना मोटिभेसनल स्पिकर भन्नु हुन्थ्यो  ‘हामी आफ्नो दिमागले काम त गर्छौं । तर आफ्नो दिमागमा काम गर्दैनौ । आफूमा काम गर्दैनौ । मतलब आफैलाई समय दिदैनौ । दिइ हेर्नुस् ।’ समय दिइ हेरे आफैलाई  । 

म अहिले ब्याचलर पढाइ र जागिर दुवै संगसंगै गर्दैछु । त्यसैले पनि कता कता समयको सन्तुलन मिलाउनै सक्दिन । फुर्सद भन्ने त कहाँ हो कहाँ भैसकेको थियो । तर यो लकडाउनले मिलेको फुर्सदलाई पुरानो दिनचर्यामा परिणत गर्न खोज्दैछु ।

कोठाभद्रगोल थियाे । सामान सबै यत्रतत्र । कोठा मिलाएँ । ड्रयर मिलाएँ । दराज मिलाएँ । दराजमा थन्किएका किताव पल्टाए । पढ्न बाँकी मध्यकाे एउटा किताब बिजय कुमारको  ‘खुसी’ निकाले । र खुसी हुँदै पढ्दै छु । अहिले पनि सिरानीमै छ । खुसी पढी सकेर समिक्षा लेख्ने प्लानमा छु । 

त्यस अलावा युट्युबमा हेर्न छुटेका थुप्रै डकुमेन्ट्रीहरु हेर्दैछु । हेर्ने कथाका छुटेका नयाँ अंकहरू पनि हेर्दैछु । एकदुईवटा पुराना पनि हेरेँ  । मलाई “गजेन्द्र सरको कथा” धेरै राम्रो लाग्छ । हेर्ने कथाले मलाई नेपालका कुना कन्दरामा रहेका विभिन्न र विविध कथासंग जोडेको छ ।

म घर भित्रै बसेर, कथा,कविता,गजल र खुसी पढेर, युटुबमा डकुमेन्ट्रीहरु हेरेर, आफन्तहरुसंग फोनमा गफ गरेर, आफैले आफैलाई मीठो मीठो पकाएर खुवाउँदै, लकडाउन बिताइरहेको छु । मलाई त यो समयको भरपुर उपयोग गर्दैछु जस्तो लागि रहेछ ।

घरमै बसौं । फिजिकल दुरी कायम गरौं । कोरोनाबाट बचौं र बचाउँ । ज्यान रहे जगत रहन्छ ।

गोबिन्द ओखेडा

किर्तिपुर,काठमान्डौ 

कोरोनाले सिर्जनशील बनायो

अहिले मेरो दिनचर्या विल्कुल फेरिएको छ । बिहान ६ बजे उठ्ने मान्छे, ५ बजे नै उठि सक्छु ।  बिहानभर कफी सपमा गफ लडाउँदै बस्ने मान्छे ६ बजे नै रेडियोको कार्यालयमा हाजिर । म रेडियोकर्मी ।

अरूले सामाजिक सञ्जालमा दिन कटाउन गाह्रो भयो भन्ने स्टाटस, फोटो हालेको हेर्दा अचम्म लाग्छ । साँच्चिकै भनेको हो कि, ख्याल ख्याल जस्तो लाग्छ । पहिला पहिला मलाई पनि समय बढी हुन्थ्यो । के गरुँ, कहाँ जाऊ जाऊँ जस्तो । तर आजभोलि म असाध्यै व्यस्त हुन थालेको छु । भोलिको योजना आजै नबनाए सोचेको काम नै भ्याउँदिन । सुरूमा समय मिलाउन अलिकति गाह्रो भयो । तर अब त उठ्ने, खानेदेखि बैठक गर्ने कार्यक्रम चलाउनेसम्मका सबै कामकाे लागि टाइमटेबल टक्क मिलेकाे छ । दुई चार मिनेट तलमाथि पर्ला नत्र सब ठ्याकठ्याकी मिल्छ ।

दिउँसो विभिन्न कार्यक्रम, गोष्ठी, तालिममा बिताउने समय अहिले रेडियोका साथीहरूसँग काम गरेर बित्छ । कहिले समाचारका साथीहरुसँग बसेर योजना बनाउँछु । कहिले कार्यक्रमका साथीहरूको कुरा सुन्छु । 

यस्ताे बेलामा रिपोर्टिङ गर्न बाहिरफेर हिड्न मिलेन । त्यसैले रेडियाेभित्रै बसेर कसरी लोकप्रिय र सन्देशमूलक कार्यक्रमहरु बनाउने भनेर योजना बनाउनमा व्यस्त हुन्छु । साथीहरुसँग राष्ट्रिय, अन्तराष्ट्रिय विषयमा छलफल, बहस गर्ने समय पनि निस्किएकै छ । कोरोना भाइरसले सामाजिक, आर्थिक र विकासमा पारेको प्रभावको बारेमा अध्ययन गर्ने अवसर पनि मिलेकै छ ।  लकडाउनको अवधिमा हिजो नदेखेका अथवा याद नगरेका धेरै कुराहरूमा अहिले सम्भावनाहरु मात्रै देख्दैछु ।

अहिले बुझ्दैछु सबैभन्दा महत्वपूर्ण कुरा चैं समय व्यवस्थापन रहेछ ।

आफ्नैलागि पनि अलिकति समय निकाल्ने गरेको छु । पहिला पहिला किनेर पढ्न नभ्याएका पुस्तकहरु पढ्ने समय मिलेको छ । उतिबेला पढ्न फुर्सद चाहिन्थ्यो ।  तर, अहिले पढ्नैको लागि भनेर दिनमा २ घण्टा समय छुट्याएको छु । सुनेका, तर नहेरिएका पुराना फिल्महरु हेर्न पनि समय निकाल्छु । उब्रेको समयमा २ वटा कविता पनि लेखे । लेखिएका कविता सञ्चारमाध्यममा प्रकाशित पनि भइसके ।  अब विस्तारै पुस्तक लेख्ने योजना पनि बुन्दैछु । हेराैं के हुन्छ ! 

घरमा माइला दाइको २ वटी छोरीहरू छन् । उनीहरूसंग समय बिताउन पनि भ्याएकै छु । समाज र बाह्य ज्ञानको कुरा गर्छु । उनीहरूलाई कोर्षबाहेकका किताबहरु पढ्न पनि सिकाउँदैछु । लकडाउन नहुँदा, बिहान दिउँसो साथीहरु भेला पारेर, अनावश्यक गफ लडाएर, कफि खाएर, पैसा खर्च गरेर, समय बिताउनुभन्दा अहिले यी साना साना नानीहरुसंग समाज र संस्कारका कुराहरु गरेर समय बिताउन मज्जा हुँदो रहेछ । अनि अग्रजहरूबाट इतिहासका कुरा सुन्दा बेग्लै आनन्द मिल्दो रहेछ । यस्तै गर्ने कोसिसमा मेरो समय बित्दैछ । 

अहिले धेरैले ‘वर्षमा एक हप्ता लकडाउन हुनुपर्ने रहेछ’ भनेको पनि सुन्छु । अनि कतिपय चै कोरोनालाई दोष दिएर आफ्नो समय बर्बाद भयो भन्नेहरू पनि भेट्छु । मलाई त यो सब बहाना मात्रै हो जस्तो लाग्न थालेको छ । चुनौती र समस्याले नयाँ अवसर सिर्जना गर्छ भनेर सुनेको थिए । अहिले आफ्नै जीवनमा लागू गर्दैछु । विकल्पको खोजी गरे भेटिदो रहेछ । उर्जावान बन्न सकिदो रहेछ । म हिजोआज यस्तै कुराहरू सिक्दैछु । र कसरी हुन्छ आफ्नो दिनलाई फलदायी बनाउने भन्नेमै ध्यानमग्न छु ।   तपाईको समय चैं कसरी बित्दैछ नि !!

जीवन लामा

स्टेशन म्यानेजर, कालिञ्चोक एफएम – चरिकोट, दोलखा

गितार सिक्न थालें

लेखनमा रुची भएको मान्छे त होइन तर सबै जनाको लक डाउन डायरी पढेर केही शब्द कोर्न मन लाग्यो । 

व्यस्त शहर जापानमा पनि कोरोनाको प्रभाव देखिन थालेको छ । सँधै कोच्चिएर चढ्नु पर्ने ट्रेन अहिले खुकुलो भएको छ । पर्यटक स्थल ,रेस्टुँरा, सुपर मार्केट सबैमा मान्छेको चाप कम देखिन्छ । 

मैले काम गर्ने पुरानो सभ्यताको जापानीज होटेलमा पनि ग्राहकहरु घटेका छन् । अलि फुर्सदिलो भएको छु ।धेरै खानपानले तौल पनि ४ किलो बढेछ। धेरै समय हुँदा पनि उकुस मुकुस हुने रहेछ । त्यसमाथि एक्लो बसाइ । घरमा बहिनीसंग नि कति बेला बोल्ने भन्ने हुने। उसको नि आफ्नै कामले फुर्सदै हुन्न । अझ बच्चाको आमा भएपछि झनै समय नमिल्ने रहेछ । फेरि सबैसंग सबै कुरा गर्न पनि नसकिने …….सियो बनेर पस्ने अनि स्वार्थ पुरा भए पछि हात्ति बनेर निस्कनेको कमी छैन यहॉ पनि ।

त्यसैले, अनावश्यक गफिनु भन्दा बरू यो समयको सदुपयोग गर्न, सिक्दा सिक्दै बिच्चमै छोडेको गितार सिक्न थालेको छु । हाँस्य कार्यक्रम हेर्ने, मन मिल्ने साथीसंगीसंग मीठो मीठो गफ गर्ने । अनि केही कुरामा चित्त नबुझेर मनमा कुरा खेल्न थाल्यो भने हेर्ने कथाको प्रेरणादायी अंकहरु हेर्ने र नयॉ जाँगर निकाल्ने । यस्तैमा बित्दैछ मेरा दिनहरु । 

अहिले त झन् सानो उफर पनि किनेको छु। मन परेको गीतहरु युट्युवमा खोजी खोजी ठूलो आवाजमा बजाएर आनन्द लिन्छु ।मन परेको गीतसंगीत सुन्दा दिक्क र पट्यार लाग्दा क्षण कटेको थाहा नहुँदो रहेछ ।

अन्तिममा, अब अझै कोरोना पिडित संसारमा नबढुन र संक्रमितहरु छिट्टै स्वस्थ बनुन् भन्ने कामना गर्दछु । 

कमला पुन

एउटा अदृश्य युद्ध

केही दिन देखिकाे घर बसाईले दिनचर्या अलि बिग्रेकाे छ । खाने समय फेरिएको छ । सुत्ने, उठ्ने समय पनि बिग्रिएको छ । अहिले घरमा कसैलाई हतार छैन । कतै जानु छैन । बित्दो केही गर्नु छैन । स्वच्छन्द हिँड्ने हामी सबै घरमै बन्द छाै । 

केही दिनदेखि  कहिल्यै नसुत्ने शहर पनि मस्त निदाएकाे छ । सवारीसाधनकाे चापले, धुवाँधुलाेले बिरक्तिएकाे प्रकृति पनि मज्जाले हाँसेकाे छ। प्रकृति जति शान्त र सुन्दर केही हुन्न रैछ । हरेकलाई आफू जस्तै बनाउने कला प्रकृतिसँग भएको अनुभव गर्दैछु । शहर रित्तिएकाे छ । घर आँगन शुन्य छन् । अनि हरेक पल बाँच्न संघर्ष गरेका हामीहरू कडा अनुशासन पालना गर्दैछाैं । आफन्त,साथीभाइसंगकाे भेटघाट हराएकाे छ। फाेन साथी बनेको छ । 

अझै कति दिन यसरी बस्नु पर्ने हो थाहा छैन । त्यसैले म त आजकाल जिन्दगीभर गर्छु गर्छु भन्दै नगरेकाे काम गर्न थालेको छु । केही राम्राे कामको थालनी पनि गरेको छु ।  हिजो समय अभावमा ख्याल् नगरेका कुरा अहिले हेर्दैछु । दराजमा थन्किएका पुराना किताबका पानाहरू पल्टाउँदै छु । म भित्रका राम्रा नराम्रा बानीहरू केलाउँदै छु। 

परिवारकाे खुशीमा स्वर्ग भेटेकाे छु।घन्टैपिच्छे  ‘के खायौं, के गर्दैछाै, बाहिर नजानु, अाफ्नाे ख्याल् राख्नु है’ भनेर पलपल माया गर्ने मनहरूसंग कुराकानी गरिराखेको छु। लेख्छु, पढ्छु, गीत सुन्छु, फिल्म हेर्छु ,परिवारलाई ताताे मिठो पकाएर खुवाउँछु । देशकाे बारेमा जानकारी राखिरहन्छु । केटाकेटीसंग रमाउँछु । उनीहरूसंग समय बिताउँदा आफ्नै बाल्यकाल सम्झन्छु अनि खुशी हुन्छु । 

चलायमान समय अनि दैनिकी स्थिर छ अचेल । याे समयलाई साैभाग्यकाे रूपमा लिउँ कि दुर्भाग्य त्यो चै साेच्न सकेकाे छैन । कोराेनाको कारण यति मरे उति संक्रमित भए भनेर गणना गरेकाे सुन्दा मन भक्कानिएर आउँछ । तर फेरि यति निकाे भए पनि भन्छ समाचारले । अनि केही आशा पलाउँछ । स्पेन र ईटालीले हजारौंकाे मानवीय क्षति भाेग्नुपरेको देखेकै छाै । त्यसैले हामी हरेकपल सचेत हुनै पर्छ ।

जसरी पनि याे अदृश्य युद्ध जित्नु छ र अर्को एउटा जितकाे कथा लेख्नु छ ।

हाे जित्नु छ, काेराेनालाई । हामीले जित्नु छ ।।

सम्झना उपाध्याय

ट्राभलिङ टु किचन, किचन टु बेड

आज लकडाउनको नवौ दिन। म आफ्नो जन्मघर भन्दा टाढा, काठमाडौंको डेरामा आफूलाइ कैद गर्न बाध्य छु। दैनिकी पट्यार लाग्दो छ । ट्राभलिङ टु किचन, किचन टु बेड बाहेक अन्त जाने नयाँ ठाउँ छैन। गेटमा हरबखत ताला झुन्डिरहन्छ। गेट बाहिर सानो बजार छ। एकाध पसलहरु बिहान एकझमट खुल्छ्न् । त्यसपछि बन्द। मान्छेको आवातजावत छैन। कुनै होहल्ला छैन। एकदम सुनसान।

म विज्ञानको बिद्यार्थी हुँ । अघिपछि मेरो दैनिकी पढ्ने कलेज अनि पढाउनको लागि ट्युसन सेन्टरहरु धाएर दौडधुप गर्दैमा बित्थ्यो। आजभोलि यो दौडधुपमा पूर्णविराम लागेको छ । विज्ञान पढ्यो , अनियमित बस्तुको आयातन नाप्यो, बेलुन उडायो, स्याउ खसाल्यो, सिद्धान्तहरु रटेर मध्यरातमा लाल्टिन निभायो। गणित पढ्यो, Sin, Cos, Tan ले भित्ता रंगायो, l×b×h गुलेली झै तन्काउदै हिड्यो, मुनाफा र नाफाले कापीको पाना सिध्यायो। हिजो यस्तै चल्दै थियाे । तर आज सब फरक छ।

यसैपनी प्राय: बन्द कोठाभित्र बसेर पढ्ने लेख्ने मान्छेलाई लकडाउन खासै ठूलो कुरा त होइन। तर पनि खै किन हो, हरबखत कोठाभित्रै बस्नुपर्दा असहज महसुस गरिरहेछु । अहिले म जाँचको तयारीमा पनि लागिरहेको छु। बेलाबेलामा कोर्सका किताब बाहेक अरु किताब पनि पढ्दैछु ।  अहिले सुविन भट्टराईको ‘प्रिय सुफी’ सिरानमै छ । 

युट्युब ,फेसबुक,  टुइटरमा पनि मेरो धेरै समय बित्छ । एउटा रमाइलो कुरा के भने नि लकडाउनले म टिकटक पनि चलाउने भएको छु। एकदिन एकजना साथीले ‘के छ खबर’ भनेर सोधिन् । मैले भने ‘के हुनु ,बोर फिल भइरहेको छ।’ उनले ‘टिकटक हेर  त, समय गएको थाहै हुन्न ।’ भनिन् । त्यसपछि खोलेको मज्जा लाग्यो । थरिथरि मान्छेका थरिथरि अभिनय …..! जेहोस् टिकटक रमाइलै टाइमपास रहेछ ।

लकडाउनमा मेरो दिनचर्यामा खासै फरक छैन। युटुवबाट पहिले नै डाउनलोड गरि राखिएका सांगीतिक कार्यक्रमहरु छ्न । सधै बिहान उठ्ने बित्तिकै त्यही चालु गरिदिन्छु। यो मेरो नाैलो बानी हैन । कालो चिया पिउँछु । गाउँबाट ममीले हरेक बिहान सम्झिनुहुन्छ – ‘सन्चै त छ्स् नि ? पकाएर खाएको त छस् नि ? यस्तै यस्तै…..’ यसरी ममीले माया ममता देखारहँदा मलाई झनै जिम्मेवारी बढेको महसुस हुन्छ अनि अझ राम्रो मान्छे बन्ने कोसिसमा लाग्छु । 

अब यसैगरी लकडाउनका नवौं, दसौं दिनहरु गन्दै १४ दिन पनि बित्नेछन् । जुन दिन लकडाउन खुल्छ। त्यो दिन संसार अँध्यारो होइन, उज्यालो हुनेछ। आशा छ त्यसदिन विज्ञानले कोरोना भाइरसलाई हराइसकेको हुनेछ।

रमेश तिवारी

अमृत क्याम्पस ,लैनचौर

यस्तै छ मेरो लकडाउन

डर, त्रास , आक्रोश र विरक्ति मिश्रित छ  मेरो दैनिकी आजकाल । घन्टै पिच्छे समाचारमा कोरोनाबाट संक्रमितको संख्या बढ्दो अनि मृत्युदर उकालिएको सुन्दा यो मनमा नजानिदाें भयले डेरा जमाएको छ । साँच्चै भनुँ भने शब्दहरु नै छैनन् मेरो मनको उकुस मुकुसलाई व्यक्त गर्ने ।अब केही नयाँ थालनी गर्नुपर्यो भनेर केही सोच्न थाल्छु, शुन्यताले गाँज्न थाल्छ । लौ भएन बरु एउटा राम्रो फिल्म हेराै भन्दा पहिलेकाे जस्तो मज्जा कहाँ हुँदो रहेछ र…….

लकडाउनको नवौ दिनसम्म आइपुग्दा पनि कही, केही कुरामा पनि खुसी र शान्ति फेला पार्न सकेको छैन । फेरि कोभिड १९ को उपचारको क्रममा आवश्यक पर्ने सामान किन्दा कमिशनको खेल भयाे रे , भ्रष्टचार भएको आशंका रे …….,प्राइभेट अस्पतालले बिरामी लिन नमानेर बिरामीको ज्यान गयो रे……..। यस्तो दुखद घडीमा पनि हाम्रो देशका अगुवाहरुको यस्ता चाल देख्दा, यहाँ मरेको लाससँग पनि कमिशन माग्न नछाड्नेहरु मात्र छन् कि क्या हो जस्तो लाग्ने ? भ्रष्टचारका कुरा सुन्दा मनमा ज्वारभाटा फुट्छ । निभाउनै नसकिने आक्रोशको आगो बल्छ । 

कहिले त यस्तो देशको नागरिक भएकोमा धिक्कार पनि लाग्छ, के गर्नु ! मन साह्रै विरक्तिएको छ । कही टाढा गएर उतै केही गरि यो जिन्दगी आरामले बिताउजस्तो । तर जाने कहाँ फेरि । यो देशको माया र यही केही गर्नुपर्छ भन्ने चाहनाले बिरक्तिएको मन र आक्रोश , केही सकरात्मक काम गर्ने उर्जामा बदलिदिन्छ । मनमा आशाको किरण जाग्छ । तर धेरै डर, त्रास, आक्रोश, भय, तिक्तता अनि थारै मात्र सपना र सकरात्मक सोच । यस्तै छ मेरो लकडाउन। 

मेरो डायरी लेख्ने बानी छैन । तर हेर्ने कथामा अरूको डायरी पढेर लेख्ने उर्जा आयो। लेख्न त बसे फेरि हाम्रो देशको परिस्थितीले मेरो लेखलाई अर्कै मोड दियो । जति प्रयास गरेपनि मैले यी मेरा मनका उथुल पुथललाई लय दिन सकिन । मेरो गह्रौ र विरक्तिएको मनले यति भन्दा धेरै सोच्न सकेन ।

मेरो यो सानो प्रयास यत्ति नै ।

रुमी राई

विरानो शहरमा कोरोना कहर

जिन्दगीको यात्रा बगिरहने खोला जस्तै रहेछ । खोलाको बग्ने मक्सद त सागर भेट्ने हुन्छ । तर जिन्दगीले सागर भेट्छ कि भेट्दैन निश्चित नहुँदोरहेछ । बीचमा हजारौं बाधा, व्यबधान र बाध्याताहरूलाई पार लगाउनु पर्ने रहेछ । 

कोरोना भाइरस (covid 19) को आतंकले आफ्ना परिवारलाई समेत विच्छेद गराएर एकै ठाउँ गुम्सिएर बस्न बाध्य पारेको छ । यो परिवेशमा रोजी रोटीको लागि विदेसिने हामी जस्ताको पीडा झनै भयावह छ । हामी परदेशी मजदुरहरू एउटै साँघुरो कोठामा कोचिन बाध्य छौं । मानाै हामी एउटा अघोषित जेलमा छाैं । सरकारले लकडाउनमा बाहिर ननिस्कन उर्दी जारी गरेको छ । उल्लङ्घन गरेमा सजाय पाइन्छ ।  

अहिले यहाँ सुन्यप्राय: छ शहरहरू, गाउँहरू । सुनसान छन् छिचिमीरा झैं सवारी साधनहरू गुड्ने मैदान जस्ता चाक्ला सडकहरू । सँधै भीडभाड हुने पार्कहरू, सपिङ मलहरू, चोक-गल्लीहरू, होटल रेस्टुरेन्टहरू, सरकारी कार्यालयहरू, सबै जातजातिका धर्म सम्प्रदायका गिर्जाघरहरू पनि सुनसान छन् । विरक्तलाग्दा दृश्यहरू देखिन्छन् । रंगीचंगी ड्रेस लगाएर हिंड्ने स्कूले नानीहरू पनि देखिंदैनन् । सबै-सबै घरभित्रै नजरबन्दमा छन । मान्छेदेखि मान्छे डराएका छन् ! 

 दु:ख पीडा त आ-आफ्नै हुन्छन् । हाम्रो भने स्थिति अलि फरक छ । कम्पनीले कहिले ड्युटी जा भन्छ । कहिले नजा भन्छ । कम्पनीको यो प्रवृति देख्दा रिस पनि उठेर आउँछ । तर पनि घुँडा टेकेरै भए पनि आदेशको पालना गर्नै पर्‍यो । सेक्युरिटीमा काम गर्नेहरूको अवस्था झनै नाजुक छ । हप्तामा चार दिन अनिवार्य ड्युटी गर्नु पर्छ । कम्पनीले आवश्यक सुरक्षा सामग्रीहरू पनि दिएको छैन । मास्क बजारमा पाईंदैन । 

बजारहरू आंशिक मात्र खुलेका छन् । त्याे पनि सीमित मात्रामा खाद्यान्न पाइने पसलहरू मात्रै । महंगीको कुरा गरिसाध्यै छैन ।  खाद्यान्न किन्न जान पनि साह्रै गाह्रो छ । हरेक ठाउँमा शरिरको तापक्रम नापिन्छ । जताततै प्रहरीको गस्ती छ । कतै निस्किए पुलिसले समातिहाल्छ । शरिरको रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि रसिलो पोसिलो खाना खाने भन्छन्। तर यहाँ हामी दाल र भातमा सीमित छौं । त्यही पनि पाएका छाैं भन्नुपर्याे ।

कम्पनीले केही बेइमानी गरेको भेटिए विदाको समयमा Basic तलब पनि नदिने भनेर हस्ताक्षर गराएको छ । कहिले Non Paid Leave राख्छ । तावाबाट उफ्रेको माछा भुंग्रोमा परे जस्तै अवस्था छ अहिले हामी परदेशीको लागि । यस्सो हेर्दा लाग्छ जीवन केही छैन ।

हाम्रो हालत यस्तै छ । कोठामा कोचिएर बस्यो । कोही तास खेल्ने, कोही लुँडो खेल्ने , कोही फिल्म हेर्ने । कोही गीत गजल लेख्ने । कोही कविता लेख्ने । कोही युट्युबमा लोक दोहोरी हेर्ने । कोही नाफाको जिन्दगी हो भनेर रक्सी खाने । कसले सक्छ र हामी नेपालीलाई !!

तर पनि पीडा त आफ्नो ठाउँमा छँदैछ । महिनामा पुराका पुरा काम नपाएपछि तलब पुरै आउने कुरै भएन । यसरी घरको समस्या कसरी टार्ने ? बैंकको किस्ता कसरी तिर्ने ? नानीबाबुको स्कूलको फि कसरी तिर्ने ? बुढाबुढी भइसक्नुभएको बुबा-आमालाई के खर्च पठाउने ? 

आफनै देशको आर्थिक अवस्था चौपट हुँदा झनै मन दुखेर आउँछ । यहाँ विदेशीलाई हेर्ने दृष्टिकोण नै फरक छ । अर्काको छोराछोरी ‘मरून् कि बाँचुन्’ जस्तो केही मतलब छैन । यो सम्झँदा लाग्छ कोही पनि दाजुभाइ दिदीबहिनीले परदेशिन नपरोस् ।

 डम्बर थामी ‘अनुपम’ 

बहराइन

मेरो लकडाउन उल्लङ्घन

सरकारले तोकेको लकडाउनको पहिलो सात दिनको आज सातौं दिन । भोलिदेखी फेरि अरु आठ दिनको क्वारेन्टाइनमा बस्नु पर्नेछ । तर यो आफ्नै लागि हो । आफ्नाे स्वास्थ्य र सुरक्षाको ख्याल त गर्नै पर्यो । 

यतिबेला कोही कता, काेही कता छाैं । परिवार एकै ठाउँमा भएको भए मनमा ढुक्क हुन्थ्यो । तर समय र परिस्थिति त्यस्तै पर्याे । अचानक भएको लकडाउनका कारण परिवार छरपस्ट छ  । जहानसँगै नभएकाले म पनि आमा बुवासँग क्वारेन्टाइनमा छु, भैसेपाटी चुनिखेल तिर । मेरो खास बसाईं इमाडोल हो । टाढा भएपछि सम्झना पनि आफ्नैको हुने ! डेरा होस् या मान्छे । यस्तो बेला टाढा पुगेकी श्रीमतीको सम्झना त छदैंछ, त्यसमाथि घरै मानेर बसेको डेराको पनि उस्तै चिन्ता हुँदाेरैछ ।अनि फेरि डेरामा चोरी भयो कि, बरन्डाका दुईचार वटा फूलका गमलामा पानी पो सुक्यो कि ! चिन्ताले कहिल्यै नछोड्ने रहेछ हामी मान्छेलाई ! यही चिन्ताले लखेटैर आज भैसेपाटी देखि इमाडोलसम्म हिडेरै जाने विचार सहित निस्किएको थिए।

यो भन्दा अगाडि पनि एकपल्ट हामी दाजुभाइले लकडाउनको उल्लंघन गरिसकेका थियौ । तर आज चैं म एक्लै थिए लकडाउनको उल्लंघनकर्ता । खेत, कुलो, गल्ली हुँदै भित्री बाटोबाट इमाडोल पुग्न १ घन्टा ४५ मिनेट लाग्यो । 

अघिल्लो पटकको तुलनामा लकडाउनको उल्लंघन गर्ने आज कमै देखिए । मुस्किलले ७ किलोमिटरको यात्रामा १२/१५ जना मान्छे मात्रै देखे मैले । म आफू सचेत नागरिक भएर पनि यसकाे पालना नगरेकाले मनमा अलिकता  हिनताबोध भएकै हो । 

बाटो यतिसम्म चकमन्न थियो कि, हिड्दा खेतमा भ्यागुता ट्वार ट्वार गरेको प्रस्टै सुनिन्थ्यो । बाटोमा हिडिरहेका मान्छेका एक आपसमा कुरापनि प्रस्टै सुनिने – खोरमा भएका दुइटा बंगुर सकिसक्यो रे, अब ८ दिनमा त खोरै रित्तिने भयो ! मनमनै सोचे – हुनेले त दुईचार ओटा के दसओटा नै सकाउलान्, नहुनेले के खालान ?

बाटोमा तरकारी किन्दै गर्दा छेउका दुईजनाको गफ चैं यस्तो थियाे – बुझिस्, यो कोरोना त हरियो खोर्सानी र केरा खायो भने लाग्दैन रे । मैले मनमनै सोचे, धन्न यिनीहरुले राम्रै कुरा खान सल्लाह दिएछन् । इरानमा जस्तै बिषालु रक्सी र मेथानल खाने सल्लाह त दिएका छैनन् । 

पौने दुईघन्टामा म इमाडोल, डेरामा पुगें । त्यत्रो चहलपहल हुने घर पुरै खाली । दुई परिवार मात्रै रहेछन् । सिधै ढोका खोलेर पहिले गमलामा आँखा पुर्याएँ । सुकेर खङ्ग्रङ्ग भए होलान् भन्या त ठिकै रैछन । तैपनि मन मानेन । तिर्खाए होला भनी पानी दिए । हामी त लकडाउन भए पनि टन्नै खाएर बसेका छौ । यिनलाई पनि त खाना चाहियो । 

अनि यसो छतबाट बाहिर हेरे । छेउको घरको झ्यालमा आँखा पुगे । त्यहाँ तीनजना बुढाबुढी बस्थे । उनीहरुको दिन कसरी बित्दै होला जस्तो लाग्यो । अलिकति करेसाबारी हुने मेरा बाआमालाई त गेट बाहिर जान नपाएर छट्पटी भएको छ, झन् यी बाआमालाई कति गार्हो भएको होला ! आज यहाँका बाआमाहरू झ्याल बन्द गरेर भित्रै बस्नुभए जस्तो लाग्यो । कालगतिले मर्नु र अकाल मै मर्नुको पीडा थाहा भएरै त होला, मेराे डेरा वरिपरिका पसल पनि एक दुईटा मात्रै खुलेका रहेछन् । ती पसलमा पनि डोरी टाँगेर एक अर्कासँग नछाेइने गरि परैबाट सामान किन्नु पर्ने गरि सिमाना तोकिएको छ । कसैले कसैलाई नछाेउन् भनेर रेखी कोरेरै उभिने दायरा पनि तोकिएको रहेछ । 

यस्तो लाग्याे, मान्छेको मनमा त्रास डरले नराम्ररी बास गरेको छ । जसले जसलाई पनि शंकाको नजरले हेर्न थालेको जस्तो । बाटोमा तर्किदै टाढिदै परपर भएजस्तो, चिनेकाे पनि नचिने झै गरेजस्तो । यस्तै अनुभूति भयो आज मलाई । तर यति हुँदाहुँदै पनि भोलिको सुखद बिहानीको आशाले आजको यो कठोर नियम पालनामा मान्छे रमाएकै छ ।

गाेविन्द गुरागाईं

ईमाडोल ललितपुर

१६ दिनदेखि काम गर्ने ठाउँमै

नमस्ते, म दुर्गा वाम्बुले राई । हाल दोहा कतारबाट । म यहाँ सेक्युरिटी गार्डको काम गर्छु ।  

म अहिले काम गर्ने ठाँउभित्रै बसिरहेको छु  । यहाँ म अरु नेपाली, बङ्गलादेशी ,भारतीय,पाकिस्तानी र युगान्डाका साथीहरुसँगै बसेकाे छु । हामी यसरी कार्यालयमै बसेको आज १६ दिन भयो । आजबाट फेरि १४ दिन लकडाउनको समय बढाइएको छ भन्छन् ।

पहिलो पल्ट लकडाउन हुने दिनमा हामी करिब ६ बजेतिर काम गर्ने ठाँउमा पुगेका थियाै ।त्यहाँ जताततै प्रहरीकै गाडीहरू देखिएका थिए । होइन के भएछ भनेर एकछिन त अचम्ममा परे । तर कुरा बुझ्दै जाँदा त कोभिड १९ को कारण बन्द गरिएको रैछ ।

त्यसपछि हामीले प्रहरीलाई  सोध्याै – ‘हाम्रा साथीहरुले रातभरि काम गरेका छन् । हामी उनीहरुलाई पालो दिन आएका हाै हजुर । भित्र जान मिल्छ?’ 

‘जान मिल्दैन’ प्रहरीले भन्नु भयो । 

हामी क्याम्प फर्कियाैं ।  केही समयपछि क्याम्पबोस आउनु भयो र फेरि काममा जानुपर्छ भन्नुभयो । हामी फेरि गयौं । यतिबेला भने प्रहरी जवानले हामीलाई भित्र जान दिनुभयो । राति काम गरेका साथीहरू क्याम्प फर्किन पाउनु भयो । अब छिर्न त छिरियो भरे जान दिने हो कि हैन भन्ने चिन्ता थियाे । 

नभन्दै बेलुका प्रहरीहरूले हामीलाई क्याम्प फर्किन दिनु भएन । र अहिलेसम्म पनि हामी यही भित्रै छौ । अहिले काम छैन । खानपानको व्यवस्था कम्पनीले नै गरिदिएको छ । सुरु सुरुमा त कस्तो कस्तो लागिरहेको थियोे । तर अहिले बाहिरको अवस्था सोच्दा हामी अरु भन्दा सुरक्षित ठाँउमा बसिरहेका छौं भन्ने अनुभव भएको छ । 

के गर्नु , यस्तै रहेछ जिन्दगी ! कहिले उकाली कहिले ओराली । देश परदेश जहाँ भए पनि हामी सबै आ-आफ्नो स्वास्थ्यको ख्याल राखाैं है । भिड भाडमा नजानुस् ल ।  

दुर्गा वाम्बुले राई

मलेसियाबाट लकडाउन डायरी

17 मार्च 2020 

सदाझैं विहान सात बजे ड्युटी गईयो। कोरोनाको गपिस पुरानै भैसकेको थियो। नयाँ नयाँ कुराहरू थपिदै थिए। मैले सुने मलेसिया भोलिबाट लकडाउन गर्ने घोषणा भयो रे ! सरकारले त गर्यो अब कम्पनीले के गर्ने हो भन्ने द्विविधा थियो। बन्द होला भन्ने अलिकती पनि लागेको थिएन । यस कम्पनीमा काम गरेको ९ बर्ष भयो । तर यहाँको चाडपर्बमा एक दुईदिन भन्दा बढी बन्द भएको थाहा थिएन । चौध दिन कसरी बन्द गर्ला भन्ने थियाे । तर सरकारको निर्णय कम्पनीले नमान्ने कुरै भएन । बेलुकी ६ बजे मेनेजमेण्टबाट खबर आयो ‘भोलि १८ मार्च देखी ३१ मार्चसम्म कम्पनी बन्द । सबैजना सुरक्षित होस्टेलमै आराम गरेर बस्नुहोला ।’

लकडाउन भनेपछि सबैका कान ठाडा भए । सबैको मस्तिष्कले एउटै कुरा सोच्यो यो बन्द भरि खानाको जुगाड कसरी गर्ने !  भोलिबाट के होला ! पाउला कि नपाउला ! सबैका पाइला रासन दोकान तिर लम्किए र पसलमा भएका करिब १०० बोरा चामल १० मिनेट भित्रै रित्तिए । मैले पनि २ बोरा उठाए । यतिभए एक महिना बन्द भए नि भोको नमरिने अडकल काटेर । अब तरकारीको जुगाडमा लागियो ।

फेमिलि स्टोरमा यति भिड थियो कि त्यहाँ सामान भन्दा धेरै मान्छे थिए । सब्जि राखेका र्‌याकहरु एक्कैछिनमा यसरी रित्तिरहेका थिए , मानौ कुनै अदृष्य शक्तिले त्यहाँबाट सबै चीज अलप गराउँदैछ । केही सब्जिहरू उठाएँ । केही उठाउँछु भन्दाभन्दै पालै नआइ सकियाे । दाल जम्मा एक प्याकेट भेटियो । त्यो पनि प्याकेट फुटेर रहेको रहेछ । धन्न ! यही पनि भेटियो । अब पालो थियो बिल तिर्ने ।  बाफरे बाफ ! आज यहिँ बाह्र बज्छ जस्तो लाग्याे । तरकारीको ठेला लाईनमा लगाएर बसेँ । कछुवा गतिमा लाईन सर्छ । एउटैले १७ दिनको समान उठाएको थियो सुस्त त हुने नै भयो । करिब ३ घण्टा लाईन लागेपछि बल्ल पालो आयो । पालाे आयो, यसैमा खुशी हुनु थियो।

लकडाउनको पहिलो दिन सबैतिर सुनसान थियो । मान्छेको चालचुल थिएन । हामीलाई पनि बाहिर जाने अनुमति थिएन। निस्कन पाइन्थ्यो त केवल खाद्यान्न सामग्री ल्याउन । त्यो पनि गेटपास लिएर । एउटा रूमबाट एकजना मात्र । होस्टेलको बरण्डाबाट यसो नियाल्छु बादल आफ्नै चालमा हिँडिरहेको छ । त्यो भन्दा तल चराहरू स्वतन्त्र निस्फिक्री उडिरहेका छन्  । उनीहरूलाई कसैको डर छैन । किनकि आज मान्छे भित्र छ।

यो पृथ्वी मान्छेको अधिनमा छ तर त्यही मान्छे आज लाचार छ । एउटा यस्तो सुक्ष्म जीव, जुन आखाँले देख्न सम्म सकिँदैन त्यसैले मान्छेलाई उसकाे हैसियत देखाइदिएको छ । र  चिच्याई चिच्याई भनिरहेछ ‘हे मान्छेहरू हो ! तिमीहरूले कहिले पनि आफूलाई सर्वशक्तिमान नठान । तिमीहरूभन्दा पनि माथि कोही छ ।’ 

हाम्रो दैनिकी फेरियाे । बिहान उठ्ने, खाना बनाउने खाने अनि फेरी बेडमा पल्टिने । रातभरको सुताई अनि दिनभरको पनि सुताईले शरिर कामले थकित भए भन्दा बढी गल्दो रहेछ । सामजिक सञ्जाल फेसबुक, ट्विटर, युट्युब, टिकटक कति हेर्नु ।  फेरि फेसबुक पनि धेर गुलियाे भो र तितो हुन थाल्यो ।

लकडाउनको आठौं दिन सरकारबाट अर्को घोषणा भयो,कोरोना भाइरस संक्रमिकम नभएकाले लकडाउनको समय १४ दिन थप्ने। समाचार सुनेर खुईया… लामो सास तान्न बाहेक हामीले गर्न सक्ने केही छैन । बाँकी भगवान भरोसा ।

रमेश पाण्डे

मान्छे हुन सकौं

यतिबेला मलाई एउटै कुराले खुशी बनाइरहेको छ, त्यो हो प्रकृति । वर्षौं, या भनौं पुस्तौंदेखि हामीले निचरिरहेको प्रकृति आज फक्रदै गरेको महसुस हुन्छ । हिमाल आज हामीलाई हेरेर हाँसिरहेको झैं लाग्छ । चराहरु बिहान बेलुकी चिर्बिर चिर्बिर गरेर जिस्काइ रहेझैं लाग्छ । आज बल्ल हावाले पनि सास फेरे झै लाग्दैछ । रातमा आकाशको जून र ताराहरु चम्केको हेर्दा समय बितेको थाहै हुँदैन । लाग्छ, बल्ल वसन्त आएको छ वातावरणमा । 

यही बेला मन खिन्न पनि छ । पैसा नभएर पशुपतिमा दाहसंस्कार हुन नसकेको खबर पढेर मन विक्षिप्त भएको छ । दिनभर ज्याला मजदुरी गरेर आफ्नाे र परिवारको पेट पाल्ने मजदुर र उनको परिवार भोकै हुनु परेको सुनेर मन खिन्न छ । यस्तो कथाको लिस्ट बनाउने हो भने एउटा सिंगो किताव तयार हुन्छन् । अनि मनमा प्रश्न उठ्छ, के का लागि राज्य ? के का लागि सत्ता ? के का लागि ठूला ठूला महल ? के का लागि चौडा चौडा बाटा ? के का लागि हजारौं फिटको उडान ? 

आज कोरोनाले धेरै प्रश्न उब्जाएको छ । जीवनमा सबै भन्दा ठूलो के रहेछ ? अमेरिका, चीन, इटाली, जस्ता संसारका बलिया देशको तागत के रै’छ त ? बेलायतका राजकुमार र प्रधनामन्त्रीको शक्ति के रै’छ त ? त्यो फुटपाथमा सुत्ने रंकको कमजोरी के रै’छ त ? को बलियो रहेछ ! अनि को धनी रहेछ त ! 

आज हामी सबै कंक्रिटको खोरमा थुनिनु परेको छ । अनि चराहरु खुला आकाशको राजा भएका छन् । अनि हामी ? हामी चैं सबै हुन सक्यौं, मानव बाहेक । 

मलाई अरु केही अपेक्षा छैन । कोरोनाको त्रास सकिएपछि हामी मान्छे हुन सकौं । आफ्नो, आफ्ना अनि मान्छेका लागि बाँच्न सकौं । बस् यत्ति भए पुग्छ । 

आजलाई मेरो मनको कथा यत्ति नै ।

सुवोध अधिकारी 

जय संगीत

“के छ ? अचेल कता गायब भईस्?”

“म आजकल ‘सेल्फ – क्वारेन्टाईन’मा छु यार! अलिदिन निस्कन्न होला!”

प्रायजसो यस्तै बहाना हुन्थ्यो मेरो, बाहिर निस्कनको अल्छिले। 

‘बिनाकारण कता/किन निस्कने?’ भन्ने हुन्थ्यो।  हुन त एकदमै नियमित फोन गर्ने र सम्झिहाल्ने साथीहरु त्यति नभएपनि कहिलेकाँही झुक्किएर ट्रंकल आउँदा मेरो जवाफ यही हुन्थ्यो । आजभन्दा महिना दिन पहिले लकडाउन नहुँदै पनि। उति बाहिर फेर डुल्ने बानी नभएकाले, प्राय घरमै हुन्थे म। ‘लकडाउन’ भयो। त्यस पछि त घर बाहेक अन्तको कल्पनै भएन, चाहेर पनि। त्यसपछि त सबैलाई भन्न थाले – ‘घरमै बसौं, स्वस्थ्य रहौं!’ 

बिहानीपख कहिलेकाँही मुड बन्छ, एक्सरसाईज गरुँ, योगा गरुँ । तर मन थीर रहे पो गर्नु। गीत/संगीतमा ध्यान तान्न खोज्छु । केही न केही गर्न खोज्छु । म संगीतकाे विद्यार्थी त्यसैले उबेला सिकेका संगीतका ताल, बन्दिससँगै रागहरु र नारायण गोपालका सुमधुर गीतहरु सम्झेर पुन: प्रयासका लागि तयार हुन्छु। संगीतले मुड फ्रेस बनाउँछ भन्ने मलाई लाग्छ । संगीत पनि एकप्रकारको ध्यान नै हो। त्यसैले  ग्रुपच्याटमा पनि प्राय यसरी नै भुलिरहेकाे हुन्छु ।

 ‘वनको बाघले भन्दा पहिला यहाँ मनको बाघले नै खान्छ कि!’ भन्ने खालको वातावरण अहिले बनिरहेको देख्छु । त्यसैले चिन्ता लिने, डर त्रासमा रहनेभन्दा स्वयंलाई घरभित्रै भुलाउनेतिर लाग्नु नै उत्तम हुने रहेछ । यो बेला घरमै बसिहँदा म पनि विगतका भन्दा फरक तरिकाले दिन बिताउने कोशिस गरिरहेको छु। नयाँ पुराना पत्रपत्रिका, पुस्तक, उपन्यासहरु अनि राम्रा चलचित्रहरु हेर्दैछु । 

अलि अस्तितिर स्व. मदनमणि दीक्षित सरको ‘माधवी’ उपन्यास हेरेर नकिनि फर्केकोमा अहिले पछुतो लागिरहेको छ। ‘लकडाउन’ खुलेपछि किन्ने सोचमा छु। 

टिभीबाट साह्रा विश्वलाई नियालि रहँदा हाम्रोतिर हाम्रा शासकहरुको अज्ञानी हर्कतले चिढ्याउँछ। गिरिरहेको अर्थतन्त्र, व्यापार व्यवसायसँगैं मजदुरी गरी खाने आम मानिसहरुको दैनिकी पनि बिग्रदो छ। काम र दामको अभावमा त्यो २ छाक पनि घट्दो छ। अलि अस्तितिर म स्वयंको पनि चामल चुल्होको गुजारो टार्न हम्मे हम्मे परेको यथार्थ कसैलाई थाहा छैन। मध्य शहरमै यस्तो अवस्था छ । खिन्न हुन्छु । आँफैंलाई सोध्छु, आखिर कहिलेसम्म यस्तो?

जित्न त हामी यो समयलाई अवश्य जित्नेछाै नै। तर त्यतिबेलासम्म यो ‘लकडाउन’लाई कस्तो बनाउने आँफैंमा भर पर्ने कुरा हो। जस्तो बनायो त्यस्तै बन्ने त हो !

जय संगीत

बिमल लामा

पोखरा-२६, कास्की

भाँडो जिन्दगी

जिन्दगी व्यस्त व्यस्त चल्दै थियाे। कहिले त लाग्थ्यो कुनै लामो विदा मिलोस् अनि बाँकी रहेका सबै काम सकाैं । 

यस्तै लामो विदा मिलेको छ अहिले । बिहान बिहानै पाँचै बजे कुद्नु पर्ने बाध्यता अहिले मसंग छैन । ‘बिहान ५ बजे गएकी छोरी बेलुका ९ बजे घर आउँछे’ भन्ने सुन्नु परेको छैन । तर दिन भर बाहिर डुल्ने अनि आफ्ना कुरा अरुलाई सुनाउने बानी परेको मास्टरी पेशा गर्ने मलाई घर बस्न के नै मजा लाग्थ्यो र !  तैपनि मेरा यी दिनहरू, थाँती रहेका अपुरा कामहरु पुरा गर्दै बितिरहेको छ । 

हेर्ने कथाको ‘दैनिकी’ लेख्नेवाला सुरुवात राम्रो लाग्यो । अनि म पनि बसेँ केही लेखौँ न त भनि भाँडो –(ल्यापटप) अगाडि । दिमाग यसै पनि कता कता डुलिनै रहेको थियो । 

बिहान ८ बजे कफीको सुरुप्पसंगै भाँडो (ल्यापटप) अगाडि बसेर दिन सुरू हुन्छ । अनि यहीं भाँडोसंगै दिन बित्छ । बाबा कोठामा आएर भन्नु हुन्छ “थाकेन भनेको । कति बसेको थच्चक, मलाई कस्तो उकुस मुकुस भयो । कसरी सकेको के बस्न ?” म मुस्कुराउँछु मात्र ।

यति धेरै काम थाँती रहेका थिए कि यो लकडाउन मलाई बरदान झै भएको छ । तर अल्छि त लागि हाल्दो रैछ। गीत सुन्यो । फेरि भाँडोतिरै आँखा दाैडायो । योबेला मैले नेपाली फिल्मका गीतहरु धेरै सुनेँ । युट्युवमा आएका नयाँ नयाँ नेपाली फिल्महरु पनि हेर्न भ्याएँ । थियटर मलले प्रत्येक दिन साँझ ५ बजे पहिला मञ्चन भएका नाटकहरु फेसबुकमा लाइभ दिने रहेछ, त्यो पनि हेर्छु । आज ‘शकुन्तालाको औंठी’ आउँदैछ । म जस्तै नाटकका पारखीहरू कोही हुनुहुन्छ भने यो लाइभ मञ्चनबाट लाभ लिनसक्नुहुन्छ है ।

हाम्री आमाले सधैं हात धो ! हात धाे ! हात धोएरमात्रै भान्छा छिर् भनेर कराउनु हुन्थ्याे । अहिले सम्झन्छु, कति महत्वपूर्ण रहेछन् आमाका कुराहरु । हामी पढेलेखेका भनेकाहरुको दिमाग भन्दा त नपढेकी मेरी आमा निकै ज्ञानी पो रहिछन् । 

दिमागमा परिक्षाको त्रास पनि छ । बैशाख ३ गतेदेखि परिक्षा पनि छ । पढ्न खोज्छु दिमाग कता पुग्छ पुग्छ । यसो Carl Roger र Sigmud Freud को सिद्वान्त हेर्न खोज्यो दिमागमा अर्कै कुरा आउँछ । जाँचको बेलामा सबै बिद्यार्थीहरुलाई त्यस्तै हुँदो हो ।  तर फेरि पढ्नु त पर्छ नै । फेरि भाँडो तिर आँखा डुलायो, टुङ्ग नोटिफिकेसन आउँछ । अनि साथीसंग गफिन थाल्यो । कति पढिस् बाट सुरु हुन्छ वार्तालाप । अनि कता मोडिन्छ कता । यो सामाजिक सञ्जालले पनि दिन कटाउन कति सजिलो बनाएको । साथीहरुसंग अनि आफन्तसंग मज्जाले गफियो । यस्सै समय जाने । आफ्ना स-साना इच्छा पुरा गर्ने, फरक र नयाँ नयाँ खानेकुरा पकाउने, खाने यस्तै छ दिन । बिल्कुलै फरक प्रकारले दिन बित्दैछ । 

अहिलेको यो समयमा मैले मेरो एउटा पुरानाे बानीलाई निरन्तरता दिन थालेको छु । नयाँ बानी त नभनौँ, पुरानै हो ! तर शैली नयाँ ! हा.. हा… कत्ति न के के गरे जस्तो के !!  कुरा के भने नि: आज भोलि “रामलाल जोशी”को “सखी” पढ्दैछु, त्यसकै अडियो बनाउँछु अनि साथीभाइलाई पठाउँछु । दिनको ३० मिनेट यसैलाई छुट्याउँछु । पढ्ने रेकर्ड गर्ने पठाउने । कति मज्जा !!

सबै भन्दा मज्जाको समय त बेलुका ९:३० बाट सुरु हुन्छ । यो भिडियो कन्फेरेन्सको समय हो । हामी ८ जना साथीहरू सधैं यही समयको प्रतिक्षामा हुन्छाैं ।  के के कुरा । अनि कति कति हाँसो । हाँसेरै रातको १२ बजाउँछौँ । दिन दिनै भेटेर कुरा गर्ने आफ्ना प्रिय मानिसहरुसंग यसरी कुरै मात्र गर्न पनि आनन्द आउँदो रहेछ । 

यस्तै नै छ, भाँडो जिन्दगी । बिहान उठे देखि बेलुकी, अझ नसुतुन्जेलसम्मको साथी भएको छ यही भाँडो । 

लक्ष्मी बखाद्यो

असिस्टेन्ट प्रोफेसर, काठमाडौं स्कुल अफ ल

जापानबाट एउटा कलमी जँड्याहाको डायरी

आफूले टेकेको धर्ती भासिएजस्तै लाग्छ हिजोआज।आफै रमाएको आकाश टाढिए जस्तै लाग्छ किन किन । पारि क्षितीजमा आगलागी भई चराहरु आत्तिएर चिर्बिराए जस्तै हुन्छ यो मन।अनि ईन्द्रेणीका सातै रङ्ग लुटिए जस्तै लाग्छ धर्तीबाट। यो खुला आकाश,यी थुम्के पहाड,यी निला समुन्द्र ,यहाँका सारा मानव बस्तीहरु आक्रान्त छन् अचेल दिनदहाडै।

आफ्ना आँखै अगाडी काल मडारिरहेको छ।मृत्युले नङ्ग्रा फिजारिरहेको छ । घरदेश अनि परदेशहरुमा धेरै जिन्दगीहरु रित्तिसके। कति रित्तिने लाईनमा उभिरहेछन्। यो क्रम निरन्तर जारी छ पुरै ब्रह्माण्डमा। कसैका भगवान पनि महशुस भएनन्, प्रकट पनि त भएनन् यो सन्नाटामा । हिजो पुरै हिन्दुहरु मन्दिर धाँउथे, क्रिश्चियनहरु चर्च, मुस्लिमहरु मस्जिद अनि बुद्धिष्ट गुम्बाहरुमा पाठ पूजा गरिरहन्थे। आज तिनै साराका सारा भगवानहरु पनि लकडाउनमा छन् । मृत्युपछिको सन्नाटा जस्तै देखिन्छ यो मानव भवसागर।

कता कता काममा नगई पनि नहुने रैछ यो परदेशमा। जाँउ त कालले कुनबेला चड्कन हान्छ थाहा छैन मलाई।यस्तै छ परदेश । यहाँ मेरो रहर र खुशि चल्दैन । हप्तामा पाँच दिन, त्राहिमाम् हुँदै अफिस जा ! कोरोना कहरमा काम गर ! डरलाग्दै घर फर्कि। हैट् यतिबेला सम्झन्छु यमराजकै पन्जामा पो छु कि म कतै। बाँकी दुई दिन मेरो लागि छुट्याईदिएको छ सरकारले ।

सामाजिक सन्जालको अधिकतम् प्रयोग गर्ने मानिसहरु मध्ये म पनि एक पर्ने गर्छु। पलपलको सामाजिक घटनाक्रमहरुलाई नियाल्दै मस्तिष्कको आयतनलाई बिस्तार गर्दै कम्प्युटरका किबोर्डहरुमा यी मेरा औंलाहरु बजार्नै पर्छ हरेक पल। नत्र मिठो निन्द्रा पनि त आउँदैन कुनै दिन। कामको बोझ, बेफुर्सदिलो यो जीवनभित्र केही न केही त लेख्नै पर्ने दैनिकी बनिसकेको छ मेरो । जसरी जँड्याहरुलाई हरेक दिन जाँड नपिई निन्द्रा लाग्दैन त्यसरी नै म कलमी जँड्याहा बनिसकेको छु। लामो समय देखि लेखिरहेको छु ।

जापानको बसाई जिन्दगीमा पलपल डर त्रास छ कोरोनाको।जीवनको के टुङ्गो ! कहिले अस्ताउने हो । यस्तै त्रासलाई आशमा बदल्दै आज यो ब्यस्तताको बाबजुद पनि डायरी कोरिरहे।

मोहनप्रसाद खतिवडा

टोकियो, जापान

प्रहरीको ड्युटी

म प्रहरीसेवाको मान्छे । तालिमको बेलामा हामी सबै प्रशिक्षार्थीलाई अनिवार्य डायरी लेख्न लगाइन्छ । समय-समयमा चेक पनि गरिन्छ । डायरी नियमित नलेख्नेलाई सजायँको भागिदार समेत बनाइन्छ । तालिमको समयमा चाँही सजायँको डरले केही न केही लेखिन्थ्यो । तालिम सकिएपछि चाँहि त्यस्तै हो । कस्ले लेख्छ ? फुर्सद भए पनि लेख्न अल्छि लाग्ने  । यसपालि केही न केही लेख्न मन लाग्यो ।

चैतको दोश्राे साता अफिसबाट चार दिनको बिदा स्वीकृत भयो । म आफ्नै मोटरसाईकलमा पोखरातिर हुइँकिए । लामो दुरीको यात्रा । त्यो पनि बाईकमा । बेला बेलामा थकाइ लाग्थ्यो । म चियाको पारखी । बाटाका चिया पसलहरुमा बाईक रोक्थे । र चिया पिउथे । थकान मेटिएपछि फेरि बाईक कुदाउँथे । करिब सात घण्टाको बाईक यात्रापछि पोखरा पुगे । चार दिनको बिदामा एक दिन श्रीमतीसंग र बाँकी दिन गाँउमा बुवा-आमा दिदी र छोरीसंग बिताएर फर्किने योजना थियाे । तर गाँउ जाने सक्ने अवस्था भएन । साँझ कोरोना भाइरसको महामारीका कारण चैत ११ गते बिहान ६ बजे देखि लागू हुने गरेर नेपाल सरकारले लकडाउनको निर्णय गर्यो । चार दिनको बिदा पोखरामै बित्ने भयो । 

श्रीमती ड्युटी जान्थिन् । म कोठामा एक्लै । दिन बिताउन गाह्रो । याे बेला हेर्न छुटेका हेर्ने कथाका सबै भागहरु हेरेँ । सबै भागहरु हेरिरहँदा हामीजस्ता प्रहरीका कथा-व्यथाहरु पनि हेर्ने कथामा समेटिए हुन्थ्यो भन्ने लाग्यो । दु:खको कुरो । कोठामा वाईफाईको सुविधा छैन । डाटा प्याक लिँदै, हेर्दै । मोबाईलमा ईन्टरनेट साह्रै मंहगो । पैसा त एकै छिनमा चैट । चार दिनको बिदामा मोबाईलले पन्ध्र सय सकेछ । श्रीमतीसंग यही कुरामा अलिअलि ठाकठुक समेत पर्‍यो । 

चारदिनको बिदा सकियो । शाखा अधिकारीलाई फोन गरे  – “सवारी साधन चलाउनलाई रोक छ, सर । कार्यालयमा हाजिर हुन समस्या हुने भयो ।” उहाँले सहज जवाफ दिनुभयो – “प्रहरीलाई कुनै रोकावट छैन । आई.डि.कार्ड साथमा लिएर आउनु । अरु सबै कर्मचारीहरु बाहिर डिउटीमा खटिनु भएको छ । अफिसमा थौरै मात्र छौ । तपाईं पनि बाहिर खटिनुपर्ने अवस्था आउन सक्छ ।”

श्रीमतीलाई शाखा अधिकारीको कुरा सुनाए । उनी त्यही फिल्डको भएकोले कुरा बुझाउन गाह्रो भएन । घरमा आमा र बुवालाई फोन गरे । बुवा पूर्व भारतीय सेना भएकोले सुरक्षा निकायको कुरा बुझ्नुहुन्छ । तर आमाले मलिन स्वरमा भन्नुभयो – “सबै गाँउ आएका छन् । तँ र बुहारी मात्रै हो नआएको । कस्तो जागिर खायौ नि ?”  आमालाई सम्झाउन गाह्रो भयो । एक त, घरसम्म पुग्न नपाएको गुनासो । अर्को,महामारीको बेला अफिसमा हाजिर हुनुपर्ने । छिट्टै बिदामा आउने बाचा सहित बडो मुस्किलले आमालाई सम्झाएर फोन राखे । श्रीमती ड्युटीमा थिइन् । खाना बनाए । भोली चाँडै हिड्नुपर्ने भएकाले खाना खाएर सुते । श्रीमती कुन बेला फर्किइन् । पत्तै पाइन । 

भोलिपल्ट सबैरे उठे । श्रीमती ड्युटीबाट अबेर  आएकाले उठाउन मन लागेन । नुहाई धुवाई गरे र चिया बनाए र  श्रीमतीलाई उठाए । दुबै जनाले सङ्गै चिया पियौं । करिब ६ बजेतिर म काठमाण्डौतिर हुइँकिए । 

बाटाहरु सुनसान थिए । चोक-चोकमा प्रहरीहरु ड्युटीमा खटिएका थिए । सरकारको निर्देशनको अवज्ञा गरेर बाहिर निस्केका मानिसहरुलाई सम्झाउँदै थिए । सवारी साधनहरुलाई रोकेर सोधपुछ गर्थे । र नियम बिपरितका सवारी साधन र मानिसहरुलाई नियन्त्रणमा लिन्थे । चेकिङमा म पनि रोकिन्थे । आफ्नो आई.डि. कार्ड देखाउँथे । अफिसले दिएको पत्र देखाउँथे । र उनीहरुले मलाई पठाइदिन्थे । 

बाटाका चिया पसल र होटलहरु सबै बन्द थिए । थकाइ लाग्थ्यो । बाईक रोक्थे । पाउनी पिउँथे । केही छिन मोबाईलमा भिडियो हेर्थे र फेरि बाईक कुदाउँथे । भोक लाग्थ्यो । चियाको तलतल लाग्थ्यो । पसल कतै खुलेका थिएनन् । भोको पेटमै प्रहरीका अनगिन्ती चेकिङहरु पार गर्दै म काठमाण्डौ छिरे । सिधै कार्यालयमा हाजिर भए । युनिफर्म लगाए । र ड्युटीमा खटिएँ । 

लकडाउन होस् । लाईफ डाउन नहोस् । 

जय देश ।

बलबहादुर थापा मगर

बागलुङ न.पा. – १०, भकुण्डे अर्भक

गाउँको चहलपहल

कलेज बिदा भएर महिना दिनपछि घर फर्केको छु। पल्लाघरका दाजु भाउजु पनि काठमाडौं देखि घर फर्कनु भएको छ।‌ गाउँको शुन्य झुपडीहरुमा कोरोनाले चहलपहल बढाएको छ अचेल।

लकडाउनमा सबै आ-आफ्ना घरमै ब्यस्त देखिन्छन्। काेही आमाबुवालाई लामो समयपछि आफ्ना छोराछोरीसँगै बसेर मिठामिठा परिकार बनाउने फुर्सद मिलेको छ।कोही १०/११ बर्ष अघि”म यस्तो थिएँ” भन्दै फेसबुकमा फोटो अपलोड गर्दै छन् । कोही हाँस्य troll(ट्राेल) बनाउँदै कमेन्ट गरेर बितेका पललाई सम्झदै छन्। कोही लुडो, चेस खेलेर दिन बिताउँदै छन्।

यस्तो लाग्छ, लकडाउनले सहरलाई जति गाउँलाई छाेएकाे छैन । भाइबहिनीहरु बाटोमा जम्मा हुँदै खेलिरहेकै छन्। दाजु, काकाहरु जम्मा भएर कुराकानी गरेकै देख्छु । खुशीको कुरा नियमित साबुन पानीले हात धुने बानी भने सबैमा जागरुक भएको छ।


Dear Herne Katha,

म पनि याे बेला हेर्न छुटेका “हेर्ने कथा” का पुराना भागहरू हेरिरहेकाे छु ।  युट्युवमा अडियो नोबेल बुक सुनिरहेको छु । कहिले साथीहरुसँग भिडियो कल गर्दै, घरमा दिदिबहिनिहरुसँग हाँस्दै रमाइलो गर्दै दिन बिताउँदै छु। साथै कुनै समय फूल रोपेर र कुनै समय बारीमा तरकारी गोडेर आफूलाई ब्यस्त राख्दैछु। एकछिन टिभी हेर्छु, एकछिन मोबाइल चलाउँछु। बिहानको सूर्य उदाएसँगै हरेक दिन केही नयाँ गरूँ कि भन्ने सोचमा दिनभर उट्पट्याङ  काम गर्दैछु ।

आज मैले ४/५ बर्ष अघि खेलेको खेल गट्टाकाटी पनि खेँले । २ बर्ष अघिदेखि नदेखेको साथी ‘बर्षा’लाई भेँटे । खुशी छु -लकडाउनले स्कुलको रमाइलो झणको याद दिलाएको छ।

घरि-घरि मनले उट्पट्याङ कुरा पनि सोच्न भ्याउँछ ।आफूलाई कोरोना लाग्ला कि नलाग्ला ! नेपालको अवस्था के होला !सबैलाई कोरोना लाग्याे भने ! अनि झसङ्ग हुन्छु र भन्छु – सर्तक भए अवश्य कोरोनालाई हराउन सकिन्छ। अझ छिमेकीहरुले ‘काल आए यसै नि मरिन्छ’ भन्ने गरेको सुन्छु । हाँसो पनि लाग्छ। आखिर आत्मविश्वास नै ठुलो कुरा हो । छिट्टै बाँकी लकडाउनका दिनहरु बिताएर आफ्नो दैनिकीमा फर्किन पाइयाेस्

सजना पाण्डे 

राप्ती, चितवन

पुराना याद बटुल्दै

लकडाउन भएको पनि हप्ता दिन भन्दा बढी भैसकेछ । सुरु सुरुमा त दिन काट्न असाध्यै गाह्रो । दिन पनि हप्ता जस्तो लाग्ने । केही न केही निहुँ पारेर बाहिर हिडिरहन मन लाग्ने । तर भनिन्छ नि, मानिसले आफू अनुरुपको वातावरण आफै सृजना गर्छ भनेर । त्यस्तै आज भोलि मेराे दिन पनि सजिलाे हुँदै गएको छ ।

सँधै सहरको गाईंगुईं, मानिसहरुको दौडधुप, तँछाडमछाडमा हराउने बानी परेकाले केही दिन एक्लिए जस्तो महसुस भएकाे थियाे । तर मन आफैं रमाउन सिक्दो रहेछ । शान्त वातावरणमा चरा चुरुङ्गीको आवाज सुनेर बसिरहँदा कता कता निकै मीठो अनुभव मिल्दो रहेछ ।

लेख्न छोडिसकेको बानी पनि लकडाउनले जगाइ दिएको छ। फाट्टफुट्ट कविताहरु लेख्न थालेको छु । हराइसकेको पुस्तक पढ्ने बानीले फेरि निरन्तरता पाउँदैछ । धेरैजसो समय घर बाहिर बिताउने अनि घर पस्दा मोबाईलमा हराउने बानीले गर्दा आफ्नै परिवारसंग टाढा भए झै लाग्थ्यो । तर लकडाउनको यो बेला धेरै भन्दा धेरै समय परिवारसंग कुरा गर्दै, मिलिजुली काम गर्दै बितिरहेको छ ।

पुराना साथीभाइसंग पनि सामाजिक संजालमा कुराकानी बाक्लिएको छ । पुराना मिठा यादहरु बटुल्ने माध्यम बन्न पुगेको छ लकडाउन । घरमै ब्यायाम र योग गर्न थालेको छु । त्यसैले यो लकडाउन प्रकृतिलाई आराम मात्र नभएर, मेरा आफ्ना टुटे फुटेका नाता, खराब आनीबानी सुधार्ने सुनौलो मौका पनि बनेको छ।

सुमन भट्टराई

गल्याङ, स्याङ्जा

तिमी वारि म पारि बिचैमा पापी कोरोना

आज पनि बिहान पाँच बजे नै अलार्म बज्यो, निन्द्रा खुल्यो। यता उति हेरें सबै साथीहरु मस्त निन्द्रामै थिए। कम्पनिले काम बन्द गरेको हप्ता दिन भो। बेतलबी छुट्टिमा सबै बसेका छौँ। बाहिर गएर चिया खाने मन भयो गेट सम्म गएँ। बाफ्रे ! आज भोलि त lockdown पो छ त? 

गेटको ढोका खोलेर हेरें मान्छे र सवारी साधनले सधैं भरिभराउ सडक आज भोलि सुनसान छ। फार्मेसी र खाध्यान्नको पसल बाहेक सबै बन्द छन। सुपर मार्केट सम्म जाने बहाना बनाएर आफ्नो ID लिएँ । अनि मास्क लगाएर निस्के। फाट्ट फुट्ट मोटरहरु र एक दुई मान्छे हिँडिरहेछन्। अति आवश्यक काममा बाहिर हिँड्न पाइन्छ तर मास्क लगाएर हिड्नु पर्छ । मास्क लगाइएन भने यहाँको एक हजार दिर्हाम जरिवाना तिर्नु पर्छ। 

प्रहरीहरु तैनाथ थिए । सबै बाहिर हिँड्ने मान्छेहरुलाई बोलाउदै tempreture नाप्दै ‘आजभोली यस्तो समस्या छ जतिसक्दो घर भित्रै बस्नु है’ भनी सम्झाउदै पठाउदै थिए। म पनि लाइनमा उभिएँ । सबै चेकजाँच गराएँ । ‘कहाँ हिडेको’ भनी सोधे मलाई। मैले ‘सब्जी किन्न सुपरमार्केट हिडेको’ भनें। ‘ओके जाउ, तर तीन चार दिनलाई एकैचोटी सब्जी किनेर लगे राम्रो, बाहिर ननिस्किनु है’ भनी सम्झाए मलाई । ‘हुन्छ सर’ भन्दै म सुपरमार्केट तिर हिडेँ। मन मनै सम्झिए मेरो देश र यहाँ यहि त फरक रहेछ।यहाँ मुखले सम्झाए पछि सबैले मान्छन् । मेरो देशमा भाटा र डण्डा बर्साउँदा नि बाहिर हिँड्नै खोज्छन्।

सुपर मार्केटको गेटमा पुगें सेक्युरिटी गार्डले फेरि tempreture नाप्यो अनि हातमा sanitizer छर्की दियो ।  म हात मुसार्दै भित्र छिरें। सधै ब्यस्त हुने मार्केट सुनसान छ । साग सब्जिको मूल्य दोब्बर छ। दुई तीन वटा ब्रेडको प्याकेट उठाएँ अनि प्याज टमाटर दुईचार दिन पुग्ने हिसाबले लिएँ । काउन्टरमा गएँ । सबै क्यासिएरहरुले हातमा ग्लोब्स मास्क अनि चश्मा लागाएका थिए। क्यासिएरले मलाई भन्यो – ‘सर क्याश भन्दा कार्ड प्रयोग गर्नु होला यो समय हामी सबैले सावधानी अपनाउनु जरुरी छ।’

बेलुका ठिक आठ बजे सबैको मोबाइलमा नोटिफिकेसन पठाउँछ “बाहिर ननिस्कनु, अब रोडमा औषधि छर्किने समय भो।” अनि बाहिर प्रहरीहरु माइकिङ गर्दै हिँड्छन् । घरको छत र बाल्कोनीहरुबाट गिटार, ड्रमसेट बजाउँदै रोडमा हिँडिरहेका प्रहरीलाई सबैले हाई-हाई गर्छन् ।

अहिले मेरो फोनमा रिचार्ज छैन । म बिदेशमा तलब बिना बसेको पनि एक हप्ता भो। श्रीमतीलाई मनमनै सम्झिन्छु । अब एक दुई दिन टाढै बसुम् प्यारी । ज्यान बच्यो भने पुरै जुनी त सङ्गै कटाउनु छँदैछ नि।

यस्तै छ !

तिमी वारि म पारि
बिचैमा पापी कोरोना !!!

बालकुमार राई

हतुवागढी, भोजपुर, हाल- दुबई


शान्त शहर, अशान्त मन

सुरूमा त लाग्याे, हर दिन व्यस्त रहने यो शहर र यहाँका मान्छेहरू कसरी शान्त होलान र घर भित्रै बस्न सक्लान ! तर यथार्थ फरक हुँदो रहेछ । यदि यो संसारमा कसैले कसैलाई प्रेम गर्दछ भने त्यो आफूलाई नै हो । मान्छे आफूलाई जति प्रेम कसैलाई गर्दैन । सबैलाई बाँच्ने रहर हुन्छ नै ।

शहर सुनसान छ । बाटोमा अत्यवश्यक सवारी साधन बाहेक ठप्प छ । लाग्छ शहर सुतेको छ । हरदिन तनाव र हतारमा हुनेहरु के गर्दे होलान ! कसरी दिन कटाउँछन् होला ! सोच्दा सोच्दै यो शहरसंग जोडिएको मेरो विगततिर फर्किन थाले ।

करिव डेढ दशकको राजधानी बसाइमा मैले कहिले सोचेको थिइन की, यो हरदिन व्यस्त रहने शहर बजार र बाटो कुनै दिन सुनसान होला भनेर । त्यो पनि यति धेरै समयसम्म ।  कुनैवेला म हराएको त्यो चावहिल चोक आज पूर्ण सुनसान छ । त्योवेला अहिलेको जस्तै बाटो सुनसान हुन्थ्यो त ‘यो ठाउँ कहाँ हो’ भनि म कसलाई सोध्थे होला ! कुनै बेला थियाे, चावहिल चोकमा बसेर म चावहिल चोक नै खोजिरहेको थिए । यतिखेर त्यो क्षणको साह्रै याद आयो । 

कहिले त लाग्थ्यो, यो शहर कहिले निदाउँदैन । तर उसको आवश्यकता अनुसार शहर निदाउँदो पनि रहेछ । हर मान्छेहरूलाई सपनाहरु बुन्न सिकाउने यो शहर, जसो तसो सबैलाई व्यस्त बनाउने यो शहर, अहिले न कसैलाई सपना बुन्न सिकाउँछ न कसैलाई व्यस्त रहन । शहर आफै मस्त निदाएको छ ।

हरदिन सपनाकै बाटो पछ्याउँदा पछ्याउँदै धेरै बसन्तहरु घर्केछन । वितेका दिनहरुको सम्झानामा मनले मन पढ्न थाल्यो । हर समचारको केन्द« त्यसमा पनि देशको राजधानी शहर, आज सुनसान छ । यहाँ न कोही सजिलै आउन सक्छन न जान नै । केवल चार पर्खाल भित्र सिमित छ सहर । 

यो डायरी लेख्दै गर्दा आज चैत्र १७ गते भइसक्याे । यत्ति नै बेला कृष्णहरी बरालको गीत याद आयो “मर्ने कसैलाई रहर हुँदैन तर मान्छे नमर्ने शहर हुँदैन ।’’ ठ्याक्कै यस्तै भएको छ । हरेक शहरमा मान्छे मरिरहेका समचार यत्रतत्र छ । अझ संसारकै बढे बढे पहलमान र विकसित मुलुकका शहरमा मर्नेको संख्या अधिक छ । हामीले बेलैमा अपनाएको सावधानीका कारण हो वा भगवानको आशिर्वादले हो आजको मितिसम्म त्यस्तो भयावह अवस्था त छैन । यो हाम्राे सवल पक्ष हो । 

वर्तमानले वेस्सरी झकझकाउँछ । हर दिन विहान कार्यालय जान ९ बजे तयार हुनु पर्ने र कार्यालय समयपछि घर फर्कने दैनिकी छैन आज भोलि । कुन गते हो कुन बार हो यकीन छैन । हरेक सेड्युलहरु भत्किएका छन । हरेक दिन कार्यलय जानु अघि १० देखि १५ मिनेट लगाएर खोज्नु पर्ने मेराे मोटरसाइकलको चावी कता छ यकिन छैन । सदा झै बिहान सवेरै उठ्नु पर्ने बाध्यता छैन। बिहान जति वेला सम्म ओछ्यानमा पल्टिरहे पनि भो । हिड्ने बाटो गल्ली सुनसान छ । हरेकको मन मनमा त्रास छ । सामाजिक सञ्जाल तिर देख्न थालेको छु सुतेर खानु भन्दा त काम गरेरै खान आनन्द रहेछ ।

याे शहरका हरेक गल्ली, बाटो र चौबाटो हुँदै आफ्नो दिनचर्या सुरु गर्ने हरकोही आज चार पर्खालको घेरामा बस्न बाध्य छन । झन् दैनिक ज्याला मजदुरी गर्नेको व्यथा कस्तो होला । उनीहरुको लागि त दिन कसरी कटाउने भन्दा पनि अब कसरी चुलो बाल्ने भन्ने चिन्ता नै ठूलो  छ । 

यो देशका धनाड्यहरू के गर्छन,कसरी दिन विताउँछन उनै जानुन् । हर दिनको नाफा नोक्सानको हिसाव किताव सम्भवत: घरैबाट गर्लान् । तर मध्यमवर्गीय एक हुल शहरिया जो इन्टरनेटको पहुँचमा छन् उनीहरुले दिन कटाउन एउटा गज्जवको माध्यम पाएका छन् सामाजिक सञ्जाल । मानव विज्ञानले बेलैमा यो सुविधा र अवसरको सिर्जना नगर्दो  हो त, कठै यो परिस्थितीको सामाना गर्न कति मुश्किल हुँदो हो !

गरिखान कै लागि परदेशिएकाहरु यो विपतको बेला घर फर्कन चाहन्छन । आफ्नै देशको भूमि टेक्न चाहन्छन् । तर सहज छैन तिनलाइ आफ्नो घर फर्कन । सिमा नाकाहरु बन्द छन् । तर सिमा बन्द भए पछि घर आउन ज्यानको बाजि थाप्दै महाकाली नदीमा पौडिएर नेपाली आफ्नो देश भित्रिएको समाचारले मन चिसो भइरहन्छ । बाँच्ने जिजिविसाले मान्छे जस्तोसुकै दुखको हद पनि पार गर्न सक्दो रहेछ, महाकालीको त के कुरा !

आफ्नो देश, आफ्नो घर आउन पाउने अधिकार आजको यो महामारीले लुटेको देखेर मन खिन्न छ । हामी बाँचिरहेको ‘याे समय’ नै मानव सभ्यताको कालो क्षण बनिरहेको आभाष हुन्छ । यसरी आफ्नै घरको ढोकामा आएर घरभित्र छिर्न नपाउँदा निर्दाेष मनहरु आफैले आफैलाई कति सराप्दा हुन् ।

छिटै यो महामारीको अन्त्य होस र हामी  आफ्ना नियमित दैनिकीमा फर्कन सकौं ।

पाण्डव घलान “विवस”

बालुवाटार, काठमाण्डौं 

हिजो,आज,म र भोलि

२०२० जनवरीको पहिलो साता देखी नै मैले फाट्ट-फुट्ट सुन्न थलेको थिए कोरोनाको बारेमा । जब पहिलो चोटी सुनेको थिए खासै त्रसित थिईंन । तर आज भने USA र Italy जस्ता देशहरुले पनि यो दुखद घडीमा घुडाँ टेक्नु परेको देख्दा, अलिकति मन खल्बलिएको छ । 

लकडाउनको एक दिन अगाडिसम्म पनि म कलेज जाँदै थिए, पब्लिक बसको मेरो यात्रा,वरिपरी देखिएका अनुहारभित्रका लुकेका कथा अनि मेरो मोबाइलमा चलिरहेको “हेर्ने कथा”। त्यो नै धेरै दिन देखि मेरो कलेज यात्राको साथी थियो । आज लकडाउनमा पनि खासै फरक त छैन । कथै कथा बिच हेर्ने “हेर्ने कथा” र मेरो आफ्नै कथासँग हेर्ने “हेर्ने कथा” नै त हो फरक । म यसै नि Solitude मनपराउने मान्छे त्यसैले लकडाउनले खासै फरक त परेको छैन मलाई । बस स्कुल पढ्दा हुने लामो बिदाको भान गराइ रखेको छ । सानो हुँदा बाहिर खेल्न निस्किन्थे , अहिले आफ्नै मस्तिष्कको कल्पनामा खेल्दछु ।

७ कक्षा पढ्दा खेरी मैले जिद्दी गरेर बाबाले किनिदिनु भएको गितार आज Bachelor Final Semester पढ्दा  सिक्ने मौका जुराइदिएको छ यस लकडाउनले । महिनौ देखि पढ्न खोजेको किताब “A New Earth” र केही साता देखि हेर्न खोजेको Indian Series “Asur”  हेर्ने मौका पनि अहिले नै जुरेको छ । त्यो किताब र series बाट केहि सिकिरहेको छु । आफु को हुँ ? र आफ्नो औचित्य के हो ? मैले प्रश्न गर्न थालेको छु – म हिजो ‘जे’ मा थिए त्यो लकडाउन थियो या अहिले म जे मा छु त्यो लकडाउन हो ?

खुल्ला आकाश , शान्त वातावरण, धुवा धुलो रहित हावा, म, मेरो सोच र मेरो मौनता भित्रको सत्य , के यो लकडाउन हो या, यो समाजको बाध्यताहरुले बाँधेको हिजोको मेरो दैनिकी चाहिँ लकडाउन हो ? झ्यालबाट बाहिर हेर्छु अनि त्यो प्रदुषणले सधैँ जस्तो छेक्ने गणेश हिमाल, आज मलाई हेरेर मुस्कुराइ रहेको देख्छु । त्यही बखत केही हुल चराहरु वरिपरी निर्धक्क भइ उडिरहेको देख्छु । म घर भित्रै बन्द भए पनि उसलाई आजाद देख्दा खुसी छु । 

हिजो, “हिजो,आज र भोलि“ मा अड्केको म  आज, आजमा बाँचिरहेको छु । समय बगिरहेको जस्तो लागेतापनि  समय आडिग रहेको भान भैरहेको छ । आज लकडाउनको पाँचौ दिन , हिजो र आजमा भिन्नता थाहा पाउन छोडिसकेको छु । हिजो र आज जे भएतापनि भोलि भने म चाहन्छु यो महामारी छिट्टै अन्त्य होस् , विरामी भएकाहरु छिट्टै निको हुन् अनि हातेमालो गर्दै अगाडि बढ्न सकियोस । 

ईश्वर लुईंटेल

आहा! मेराे गाउँ

घरको झ्यालबाट पारी डाँडा हेर्छु । बिहान घाम झुल्किने बेला र साँझ घाम अस्ताउने बेलामा त्यो फालेलुङ डाँडा साँच्चै सुन्दर देखिन्छ । झन् यो हिउँ परेको समय त आहा ! कति राम्रो रमाइलो देखिने । अहिले नै जाउँ जाउँ लाग्ने ।

भारतको सिक्किम सिमाना र वेस्ट बङ्गालसंग नेपालको सिमाना जोडिएकोले ‘तीन सिमाना’ पनि भन्ने गरिन्छ । खास फालेलुङ भनेर चिनिने त्यो ठाउँ कहिले धुम्म कुहिरोमा लुकामारी खेल्छ त कहिले सिरसिर बतासको झोक्कासंगै नाङ्गै डाँडाका सिरुको पातहरु, पाखान्बेत फूलहरु अनि लौठ सल्ला र लालिगुराँस, चाँप, चमेलीका थुङ्गाले सुसेली खेलिरहेको हुन्छ । हिउँ पर्दाको याममा आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य स्थल फालेलुङ, त्यै हिउँको थुप्राहरुमा रमाउँदै खेल्दै आफ्नो बाँकी भाग्य खोज्दै पक्कै संघर्षको पाईलाहरु चाल्दै होला । 

बिध्या चापागाईं दिदिको फालेलुङ यात्रामा हेर्ने कथाको एक असल पात्र….छेटु भाई…..

बिदेशबाट फर्की आएर गाउँ मै केही गर्छु भन्नेहरुको जीवन कथाहरु सुन्दै, म भने बिदेशको सपना बोकेर काठमाडौ छिरेको मान्छे हुँ ।

आज एउटा कोठामा ‘नो आउट’को चाबी लाएर आफ्नो प्यारो गाउँलाई सम्झनु बाहेक अरु केही गर्न सकेको छैन ।

दिनानुदिन कोरोनाको बिरामीको संख्या वृद्धिले मनलाई अमिलो पार्दै बस्नु सिवाय अरू केही गर्न सकेको छैन ।साथमा रहेको एउटा मोबाइलको स्कृनलाई कोट्यायो बस्यो । बस् । सुन्ने कोही छैन । नेपालका फेक समाचारहरु हेर्यो , आफै रिसायो भुनभुनायो बस्यो । बस् । 

यसो सम्झिन्छु, अबको युद्ध हतियारको हैन, जैविक आणविक हतियारको हुनेछ, जस्ले मानव सृष्टि त के कमिला समेतका जन्तुहरु यो सृष्टिमा बाँच्नेछैनन्, र अर्को युगको सुरुवात हुनेछ भनेर कुन्नी कुन कितावमा हो पढेको जस्तो लाग्छ । त्यै शब्दले बारबार मेरो मनसपटलमा ज्वारभाटा चलाईदिन्छ । अलिक टाउको दुखेको जस्तो भान हुन्छ । कालो कफि बनाएर एक गिलास सुरुप्प पार्छु अनि दिमाग पनि हलुको हुन्छ र सोफामा ढल्किन्छु ।

दिउँसो निदाए जस्तो हुन्छ निँद आउँदैन । रिमोटले टिभी कोट्यायो । त्यै कोरोनाको न्युज । दिमाग उसै उसै ह्याङ पार्ने क्या… !! टिभी मारेर बस्यो समय जादैन ।

गाउँको खुब याद आउँछ । केटाहरू गाउँबाट फोन गरेर जिस्काउँछन – ओई केटा ! मोबाइल २ मिटर टाढा राखेर बोल है, कोरोना सर्छ । खिस्स हाँस्नु बाहेकको उत्तर छैन ।

साथसभाइसँगको कुरा सकेर मनमनै सोच्छु, शहरमा मात्रै मान्छेहरु सजग छन कि गाउँमा पनि । यो रोगले एक जनालाई मात्रै छोयो भने गाउँ पुरै सखाप पार्छ । त्यहाँ शहरमा जस्तो हस्पिटल हुँदैन । आवस्यक सुरक्षाको सामानहरु हुँदैन । यसरी केही सोचेर टोलाई रहेको थिए, गाउँकै कालु भाइको फोन आयो । 

‘हाम्रो संस्थाको प्याडँ छाप कहा छ?’ उसले सोध्यो ।

‘किन चाहियो’

‘हाम्रो समुहबाट कोरोना रोकथाम सम्बन्धित सुचना पम्प्लेट आउट गर्नु पर्ने भो ।’ उसले भन्यो ।  

वाह! गाउँबाट युवाहरुको यस्तो सक्रियता ।  ह्वाई नट?? 

मैले भने ‘दराज छेउमा छ ।’ 

लगत्तै गाउँको डम्बर दाईलाई कल गरे । हाम्रो समूहबाट नि सूचना आउट हुँदै छ रे नि ?

दाईको जवाफ थियो । अँ, तर कसरी ब्योहोरा तयार गर्ने !

यही विषय टुंगो लगाउन गाउँका सबै साथीहरू भेला भएका रहेछन् । १०/१५ मिनेट भित्रै हामीले सूचनाको ब्योहोरालाई फिक्स गर्यौ र छपाईमा लग्यौ । 

सरकारको मात्रै आश गरेर, बाटो हेरेर हुँदैन । आफूले गर्नुपर्ने ठाउँमा सरकारलाई पनि सहयोग गर्नुपर्छ । सरकारले लकडाउन त गर्याे, तर सुरक्षा त आफ्नै लागि हो नि हैन र?

गाउँमा साथीहरुको यो सोचलाई सलाम गरे । आज हाम्रो गाउँको पुर्बेली युवा समूहले आफ्नो नामको छाप लाएर कोरोना विरुद्ध सचेतनामुलक पम्प्लेट बनाएर गाउँ गाउँ चोक चोकमा टाँस्दैछन् रे । म भने यहाँ काठमाडौंको बन्द कोठामा बसेर साथीहरुलाई औधी सम्झिरहेको छु । म पनि यतिखेर गाउँमा भएको भए साथीहरूसँग हातमा हात मिलाएर अघि बढ्थे ।कमसेकम गाउँको लागि केही सानो काम त गर्थे ।

बिदेशको चक्करमा लागेको युवाको हुलमा यतिखेर न यता न उताको दोसाँधमा अलमलिरहेको छु ।साँझ यसो माक्स लगाएर सब्जी किन्न चोकमा निस्कन्छु । मान्छेको हुल मात्रै देख्छु । मन मनै सम्झिन्छु, म जस्तै काम भएर निस्केको त होला नि ! दायाँ बायाँबाट भटभटे घुईईई सुईकाएर लान्छ्न, हेरि पठाउँछु हेल्मेट पनि हुदैन ।

यसो सम्झिन्छु हैन हामी मान्छेमा साँच्चै डर त्रास हराएकै होत ?

कोही कोहस झ्याप देख्छु कोही कोही चुम्बकीय शक्तिले तानेको जस्तो टास्सिएर उहुम्म्म्म्म्म्म्म्म…. 

गाउँबाट सेवा खोलामा समातेको असला माछाको फोटो मेरो म्यासेन्जरमा खसाई दिन्छन् केटाहरु । अनि भन्छन, ‘हाउ आईज है माछा खानु !’ यहाँ कोठाबाट बाहिर निस्कन नपाएको बेलामा साथीहरूले मन उसै अमिलो पारिदिन्छन् । 

उसो त यताबाट मेरो पनि गफ सानो जादैन नि फेरि ! मन अमिलो भएपनि गफ जोति हाल्छु । त्यो कालो दहमा त अस्ति ठूलो ठूलो माछा थियो । माक्चु भान्जा र मैले अझै ठूलो होस् भनेर छोडेको त्यही त मारेछौ नि !!

तर दिनानुदिन गोठालो गरेको सेवा खोलाबारे मलाई के थाहा छैन र । यही मङ्सिरमा त्यो खोलामा कम्ता दुख गरेको हैन माछा मार्नलाई । तर पाहा (खोलामा बस्ने भ्यागुतो जातको ) बाहेक अरु केही पाएको भए पो । झटारोमा हानेको गफले मिलेछ क्यारे । त्यै दहमा यसपाली औधी धेरै माछा मारेछन् केटाहरूले ।

गाउँको साथीहरुले गाउँको याद कम दिलाउँछन् र !!

त्यो सेवाखोलाको माछा मात्रै खाएर घरमा बस्ने हैन नि । कोरोना बाट कसरी बच्ने भन्ने जनचेतनामूलक पर्चा गाउँ गाउँमा टाँस्ने नि ल साथीहरू……

बिरेन्द्र थाम्सुहाङ लिम्बु 

फालेलुङ ३ पाँचथर

गाउँको कथा

इन्जिनियरिङको पाचौं सेमेस्टरको परीक्षा अर्को हप्ताबाट हुने भनिएको थियो। नसकिएका कोर्सहरु दिनभर पढाइ हुन्थे, जति कोरोनाका समाचार हेरेपनि पोखराको भिडभाड रोकिने छाँटकाँट थिएन। कोरोनालाई सामान्य रुपमा लिएका हामीहरुलाइ एक्कासी लकडाउनको खबरले शसन्कित बनाइदियो। एकदुई दिन त कोठामै बसेर पढियो पनि । 

तर घरको दबाब अनि घर फर्कनेको लर्को देख्दा बस्न मनै लागेन। नेटको असुबिधा र सहरिया रहनसहनको बानी लागिसकेकाले आजकाल गाउँमा टिक्नै सकिन्न।

आज गाउँ आएको ७ दिन भयो। तर यो ७ दिन यति मज्जाले बितेको छ कि शब्दमा बयान गर्न सकिन्न। युट्युब र फेसबुक हेर्दै बित्ने दिनहरु माछापुच्छ्रेको शीर र पन्चासेको फेदी नियाल्दै बित्छन। 

गाउँका मानिसहरुलाई लकडाउनले खास्सै प्रभाब पारेको छैन। बाबाममी घरमुनीको ठूलो गह्रामा जौ काट्दै हुनुहुन्छ। ३/४ बर्षपछि घरको काम गर्न पाउँदा मलाई पनि रमाइलो लागेको छ। यहाँ खाने कुराको कुनै अभाब छैन । भर्खरै खनेका आलु कोठाभरी छन । धानका भकारी रित्तिन अझै ३/४ महिना लाग्ला । टेकाभरि दाउरा पनि छन।

कोरोनाको त्रासबाट टाढा गाउँमा छुट्टै आनन्द छ। टिभीको रिचार्ज सकिएकाले सबैको घरमा रेडियो बज्छन। सधै आउनेबित्तिकै गाउँ डुल्ने म खास्सै बाहिर निस्केको छैन। घरवरिपरीको बाटोमा हिड्ने मान्छेहरु आउँदाजाँदा बोलाउँछन। हिजो र अस्ति सुन्तला सार्ने खाल्डा खनियो आज तरकारीमा थाँक्रा हाल्नुछ। अबको १ हप्ता घरकै काममा ब्यस्त हुनुपर्छ होला। अस्ति घार सार्न लाग्दा मौरीले टोकेको हात अझै सुन्निएको छ।

अबको केही दिनमा लकडाउन खुल्छ पनि हला। नेपालमा त्यति धेरै कोरोना फैलिएको सुनिएको छैन । सुन्न नपरोस् पनि । 

अब पोखरा फर्कनेबित्तिक्कै परीक्षा सुरु होला जस्तो छ। झोलाभरी किताब ल्याएपनि गाउँमा पढ्ने भन्ने त्यस्तै हो। तर जे भएपनि यो समयले जिन्दगीमा केही नयाँ कुरा सिकाएको छ। सबैले जस्तै मैले पनि गाउँको महत्व बुझ्न पाएको छु। आशा गरौँ चाँडै यो महामारीको अन्त्य भइ आफ्नो दैनिकीमा फर्कन पाइएला।  

धर्मराज सुवेदी “राजन”

कुश्मा, पर्बत