उच्च शिक्षाको लागि भनेर घर छोडेर हिडेको पनि आज सम्म आउदा ५ बर्ष बितिसक्यो । सानै थिए घर छोड्दा। परिवारमा म भन्दा अग्रज मेरा दाजुहरु नै हुनुहुन्छ । सबै कुरा बन्दोबस्त मिलाउने । घरपरिवारको जिम्मेवारी उहाँहरूले नै लिइसक्नुभएको थियाे र आजसम्म पनि त्यसमै तल्लीन हुनुहुन्छ ।  हृदय देखि सम्मान छ मेरा दाजुहरूलाई…..

परिवारमा कान्छो सन्तानको रुपमा जन्म भै जिम्मेवारीमा  अल्लि कम बोध भएता पनि परिवारको अवस्था के हो ? मैले सानैदेखि बुझ्न पाएकाे थिएँ। परिवारको दु:ख सुख सबै बुझ्दा बुझ्दै पनि मैले कहिल्यै गह्राै भारी उठाउन परेन। मेरा दाजुहरुले सबै जिम्मेवारीकाे बाेझ बाेक्नुभएकाे थियाे। अनि मैले साेचेकाे काम गर्न मेराे परिवारले मलाई कहिल्यै राेकेन। म निष्फिक्रि थिएँ।

जब देशमा लकडाउन शुरु भयो । म पनि घर फर्कि आए । सहरको हावापानी, त्यो कोलाहलमय वातावरणबाट गाउँ फर्किदा छुट्टै आनन्द थियाे । घरमा आएको अर्को दिनबाटै घरको काममा व्यस्त हुन थाले । पहिले जे जस्तो भए पनि अब ध्यान दिएर जिम्मेवारी पूरा गर्नुपर्छ भन्ने कुरा अब त यो मस्तिष्कमा आइसकेको छ । घरका कामहरु गर्दै गयौं । रमाइलो नै भयो । अझ गाउँघरमा पुगेर काम गर्दै गर्दा बल्ल थाहा भो काम गर्दा चाहिने औजारहरुको बारेमा। कहिलेकाहीँ मनमनै सोच्छु “लकडाउन ” भएर पनि फाइदा नै भयो । कामको महत्त्व पनि बुझियो।

ती बाँझो बारीको आत्मा पनि फर्केर आए झैं लाग्याे। मर्मत नपाएर भत्किएका बाटो र नहरहरुले नयाँ जीवन पाए । साहारा भएर पनि नभएझै एक्लै बाँचिरहेका हजुरबा हजुरमाहरुकाे मनोबल बढ्यो । कामको महत्त्व नबुझेका लाठेहरुलाई कामको महत्त्व बुझायो ।  जस्ताे कि मलाई – हिजोसम्म कुनै काममा हात नहालेका म आज खुसी खुसी काम गर्दैछु, दङ्ग छु । उता गाउँमा प्रयोग हुने स्थानीय औजार डोका, नाम्ला, आसीँ (हसिया) खुर्पेटो, हलो कोदाली जस्ता सामान बारे थाहा पाएकाे छु । मौसमी र बेमौसमी तरकारी नगदे बालीको सम्बन्धमा पनि बुझ्दैछु । हिजाे बजारमा किलोग्राम (K.G )मा किनेर खाने, अनि अहिले चैं आफैं उब्जाएर डोको भरी बल्ल बल्ल बोकेर ल्याइ आफू मात्रै हाेइन, छिमेकीलाई समेत भाग पुर्याएर खाँदा बल्ल थाहा भयो खुसी कहाँ छ भनेर । 

साथीहरूलाई कहिलेकाहीँ फोन पनि गर्छु अनि सोध्छु । ‘के गर्नुभएको छ ??’ भनेर उहाँहरू सजिलोसँग भन्नुहुन्छ आज यो सिद्वान्त पढियो । आज यस्तो फिल्म हेरियो भनेर । फिल्म त म पनि निकै नै हेर्ने मान्छे हो, तर आजभोलि त्यसकाे लतभन्दा मलाई गाउँ कै बढी लत लाग्न थालेकाे छ। अनि मनमनै सोच्छु – मैले गाउँसँग माया सिकेँ। गाउँले मलाई मोहनी लगायो।

हो, मैले धेरै कुराको अनुभव लिएकाे छु अहिले। यहीँका सामाजिक कार्य, चालचलन, खानपान नै मलाई जीवनभरि याद दिलाइरहने अटुट समयका फिल्म बनेका छ्न् । यसैले होला आजभोलि म सबैको मनोभावना बुझ्ने र घरगाउँको मायामा आफूलाई पाउन थालेको छु । आजभोलि त लाग्छ, गाउँमा म छैन भने उसलाई अब कति शून्य लाग्छ होला ? कति एक्लो अनुभव गर्छ होला? त्यसैले आजभोलि म गाउँकै मायामा खुसी छु। यहीँकाे माटोलाई प्यार गर्दैछु। बास्तविक खुसी यहीँ पाइरहेको छु । बर्खाको समय छ। छिनछिनमा पानी पर्छ । छिनछिनमा घाम लाग्छ । त्यसै बखत घरको बार्दलीमा बसेर करेसा बारी नियाल्छु, अनि सम्झन्छु – अब यस्तो समय कहिले पनि आउँदैन होला!

अहिले याे समय आयो । सायद यहीँ समय ठिक छ। म जस्ता कत्तिले गाउँकाे माया पाउने यति मिठाे अवसर पाए। धेरै कुरा बुझ्ने मौका दियो । गाउँसँग अझै नजिक बनायाे। खुसी यसैमा छ कि आफूलाई खुसी दिने ठाँउ आखिर गाउँ नै रहेछ भनेर बल्ल पत्ता लगाए । याे मायाकाे गाउँ हाे, मेराे गाउँ। बिश्वास गर मेरो गाउँ, तिम्रो माया अब कहिल्यै मार्ने छैन ।

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply