चितुवाको रफतारमा चलेको जिन्दगी अचानक पाण्डवको गुप्त वास झैं

कोरोना गुप्तवासमा परिणत भयो जिन्दगी ,

कति थप्छौ जीवन यात्राको

पुस्तकको पानामा सफलताका तिता मिठा पलहरु 

समयमा सचेत बनौ थपौ प्रकृतिमा नयाँ हाँगा बिँगाहरु ।।

लकडाउनकाे सुरुवातसँगै सबैको झैँ मेरो पनि दैनिक कार्यहरुमा तालाबन्दी भयो । यो लकडाउनको बेला, खुला आकासको छत्रछायाँमा, शितल, सन्तुष्टि र शरीरका अङ्ग अङ्गमा प्रकृतिको स्नेहपूर्ण चुम्बन महसुस गरेको छु । आफूलाई  यो कलियुगको २१ औ शताब्दीमा जन्मेकोमा भाग्यशाली ठानेकाे छु । किनभने हामी आफ्ना पूर्खाका त्यस्ता आज्ञाकारी सन्तान हाैं जो आफ्ना पूर्खाहरुले गरेका भुलको सजाय भोग्न बाध्य छौ। मेरो भनाइकाे तात्पर्य यो हो कि आज भन्दा ६०, ७० वर्ष अगावै प्रकृतिको विनास र त्यसको असर प्रति सजग र सतर्क भएकाे भए सायद आजकाे दिन अर्कै हुँदाे हाे। त्यसैले हामी पनि आफ्नो भावि सन्ततिका निम्ति सजग र समयमै सतर्क हुनु जरुरी छ।

लकडाउन शब्दको अर्थ बृहत शब्द कोषमा समेत खुलाइएको भेटिन । त्यसैले लकडाउन शब्दलाई आफैले परिभाषित गर्दैछु । लकडाउन भनेकाे आफू भित्रको ज्ञान भण्डार र सिपको लक (ताल्चा) खोल्नु र आफू भित्रकाे आफूलाई तलास गर्ने उचित समय हो । लकडाउनको महत्वपूर्ण समयमा आफूभित्र रहेको अदृश्य सीप र ज्ञानको उचित पहिचान गरी, लकडाउनलाई आफैले दिएको विशेष अर्थलाई सार्थक बनाउन लागि परेकाे छु ।

अर्को प्रसंगमा भन्नु पर्दा हामीले आफ्नो क्रियाकलाप र आनीबानीमा संशोधन गर्नु जरुरी छ। किनभने प्रकृतिले विभिन्न घटनाहरुका माध्यमबाट हामीलाई बारबार चेतावनी दिइसकेकाे छ। भाेलिकाे सुन्दर भविश्यकाे लागि प्रकृतिकाे याे चेतावनी बुझ्नु आजको आवश्यकता हाे ।

कोरोना माहामारी हेर्दा, याे अझ कति लम्बिन्छ ? त्यसको कुनै आँकलन गर्न सकिने अवस्था । यदि यो लम्बियो भने विश्व कस्ताे हाेला? त्यसको कल्पना मात्रै पनि भयानक लाग्छ। याे भाइरस पृथ्वी जगतका हामी सम्पूर्ण प्राणीकालागि संकटको पहाड बनेर खडा छ ।

हामी कृषि प्रधान देश छौ।  तर हामी अझै कृषिमा आत्मर्निभर हुन सकेका छैनौ । यो लकडाउनको समय हामी सबैकालागि कृषिमा आत्मर्निभर हुने सुनौलो अवसर हाे। याे बेलामा कृषिलाई पेशाको रुपमा विकास गरेर कोरोना कहरको समयलाई विशेष र प्रयोगात्मक हिसाबले टाल्न सक्छौ ।अनि त लकडाउन नेपाल र नेपालीको लागि ठूलो अवसर सावित हुन सक्छ । हामी कृषिमा आत्मर्निभर हुन सक्छाै। यसबाट प्रवासमा गएका दाजुभाइलाई, हामी आफ्नै देशमा बसेर पनि देशको भविष्य उज्यालो पार्न सक्छौं भन्ने सन्देश दिनसक्छौ।

अजय यादव 

 धनुषा

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply