सबै नेपालीको सपना हो काठमाडौँ । अनायासै म पनि काठमाडौँ पुगे र क्रमशः अन्जानमै पाइलाहरुले फड्को मार्नु थाले । अनुभवहिन यात्री, यात्रा अनुभवमा निस्के । म बाङ्गो रुखलाई पनि सोझो देख्ने मान्छे । जानेको कुरा पनि प्रस्तुति र प्रदर्शन गर्न नसक्ने म, नभएको कुरा गर्नु त आकाश खसाउनु जत्तिकै गाह्रो । पढाइको पनि छुरा नभइ ठिक्कको, भुत्ते नै चाहिँ होइन । पढेको थिए मानिसले प्रगति गर्नलाई लक्ष्य उद्देश्य हुनु पर्छ । अचम्म लाग्छ, प्लस टु अध्ययन सकाएकै थिएँ । तथापि मसँग न कुनै उद्देश्य थियो न त लक्ष्य नै । म फुक्काफाल । न त्यति चर्को काठमाडौं घुम्ने रहर न त पढ्ने रहर ।

सुने जस्तो कहाँ हुँदो रहेछ र काठमाडौँ ? पहिलोपटक आउने र बस्ने ठाउँको टुङ्गो नहुनेहरुको लागि त मरुभूमी जस्तै हुने रहेछ । संभावना पनि कतै देखिन्न । जता हेर्यो, समस्या मात्रै । कहाँ बस्ने ? कहाँ के खाने ? कसरी घुम्ने ? तै बिसेक आउँदै जाने गर्नेहरुको लागि आ… ! यस्तै त हो नि भन्ने हुँदो हो । आफन्त कोही नभएपछि साइनो केलाउँदै शरण लिएर बस्नु पर्ने बाध्यता । सायद, सुरुमा काठमाडौँमा आएर बस्नेहरु सबैको बाध्यता हो । यसरी शरण लिएर बस्दा पनि कति समय बस्ने भन्नेले फरक पार्दाे रहेछ । पहिलो पटक परदेश निस्केको अवोध मानिस म, के थाहा ? भोग्दै गएपछि थाहा हुने न रहेछ । पछिल्लो कालमा आएको म । मैले त यस्तो भोग्नु पर्यो भने मभन्दा अगाडि आउने अग्रजहरूको अवस्था झन कस्तो थियो होला ? म अनुमान लाउन सक्दिन । र कता कता कसैले काठमाडौँको संघर्ष अनुभव सुनाए भने कहानी सुने जस्तै लाग्छ ।

म पढाइ र आफ्नो लक्ष्यमा अब्बल व्यक्ति हैन । नभए पनि पढ्न पाए हुन्थ्यो र पढनचाहिँ पर्छ भन्ने मनमा भएको मान्छे । जसो तसो कलेज भर्ना भए । क्रमशः विभिन्न व्यक्ति, साथीभाइहरू भेटिन थाले । होला, उनीहरू आफ्नो लक्ष्य पूरा गर्नलाई कलेज आएका हुन् । लाग्थ्यो कुनै साथीहरू खान्दानी छन्, कुनै आफू जस्तै, कोही हाँस्ने गफ गर्ने । कसैकाे स्वभाव नै हँसिलो हुन्छ भने कोही आफ्ना भित्री पीडा लुकाएर हाँस्ने अनि अरुलाई हँसाउने । भित्री पीडा कत्ति छ कत्ति ? कस्तो छ ? भन्ने कुरा त्यति सजिलो थाहा पाउन गाह्रै हुन्छ । र मलाई लाग्छ आफ्नो पीडा लुकाएर हाँस्नु भनेको अरुलाई पनि हँसाउनु हो, अरुलाई हाँस भन्नु हो र रुनु भनेको अरुलाई बेचैन गर्नु हो, भावनात्मक रुपमा दुखी बनाउनु हो । तर यो “रुनु” त्यति सजिलो चीज होइन । नहाँस हाँस, रिसा नरिसा भने जस्तो सजिलो शब्द होइन । त्यसका साथै रिसाउनु, नराम्रो बोल्नु, झगडा गर्नु, कुच्रुक्क पर्नु भनेको अरुलाई पनि रिसा, नराम्रो बोल भन्नु जस्तै हो ।

मैले चिनेको काठमाडौँ एकदमै व्यस्त शहर । वास्तवमा एक अर्कासँग भेट्ने, बोल्ने समय पनि मिलाउन गाह्रै हुने । कसैलाई आर्थिक कुराले भेटघाट गर्न गाह्रो हुने त कसैलाई समयले । यस्तै यस्तै विभिन्न साथीहरू आफ्नो बिहान बेलुकाको जोहो होला कुनै आफ्नो लक्ष्यको लागि भौतारिरहेका होलान, सबैको आ आफ्नै बाध्यता होलान् । सबै विद्यार्थीहरू प्लस टुमा जस्तो सुरुदेखि अन्तिम घण्टीसम्म बस्दा रहेनछन् । दुई तीन घण्टीमै कक्षा छोडी अफिस जानुपर्ने बाध्यता हुँदो रहेछ धेरैकाे । एकदमै व्यस्त समय चलिरहेको हुँदो रहेछ । विद्यार्थी न हो, कलेज पनि भ्याउनु पर्ने काम पनि भ्याउनु पर्ने । बाध्यताले गर्दा उठ् भन्दा उठ्, बस भन्दा बस गर्नु पर्ने, अनि साथीहरूसँग भेटघाट… । मेरो पनि बिहान र बेलुकाको लागि भौतारिने क्रम चलिरहेकै हुन्थ्यो र चलिरहेकै छ ।

काठमाडौँको बसाइले थाहै नपाइ ९/१० बसन्त पार गरिसकिएछ । यही अवधिमा हाल चलिरहेको विश्व महामारी कोरोना अर्थात् कोभिड–१९ ले विश्वलाई अस्तव्यस्त बनाइरहँदा नेपाल पनि अछुताे रहन सकेन । आज आफ्नो देश पनि लकडाउनमा परेको ३ महिना पुगिसक्यो । यो भाइरसको एक मात्र उपचार मुलुकलाई लकडाउनमा राखेर भाइरस फैलनबाट कम गर्नु बाहेक अरु कुनै उपचार सहज छैन । यो बाध्यता पनि हो ।

अति नै व्यस्त सहर काठमाडौँ अहिले कोरोनाको कारण सुनसान भएको छ । मानौ यो सहर एउटा भूत बंगला हो । के कसैले सोचेको थिए होलान् कि काठमाडौँ यस्तो हुन्छ भनेर ? कसैले यस्तो दिन आउँछ भनेर सोचेको थियो ? सोचेकै थिए त केवल एक दुई दिन ढुक्कले आराम गर्न पाए हुन्थ्यो । एक विचारले सोच्दा राम्रै पनि लाग्छ । वास्तवमा कोरोनाको कारणले भएको लकडाउनले पृथ्वीले पनि आराम पाएको छ । सडक, जंगल, हावापानी, पूरै वातावरणले धुँवा र धुलोबाट आराम पाइरहेको छ।

यसलाई नराम्रो मात्रै नसोचौं । हामीले पनि त ढुक्कसँग बस्न पाएका छौं । आफ्नो परिवारलाई दिने समय पाइरहेका छौं। त्यसका साथै हामीले वैकल्पिक उपायहरू पनि त खोज्न सिक्दैछौं। पछिल्लो समयमा आधुनिक प्रविधिको पनि खोजी गर्दै प्रयोग गर्न सिकिरहेका छौं। यसले आज हामीलाई आत्मानिर्भर हुनकालागि बैकल्पिक उपाय सोच्न बाध्य बनाइरहेको छ । यसलाई पनि एक राम्रै मान्नु पर्छ होला ।

तर आफूले पुग अपुग खाएको महिनावारी जागीरले कति नै पुग्ला र ? त्यो तलबले कता तिर मात्रै धान्नु ? जबकी आफ्नो तलब हातमा लिँदा मात्रै हुन्छ । कोठा पुगि सक्दा सबै सकिसकेको हुन्छ । हुन त, सरकारले कोठाभाडा छुट गर्ने भनेर आग्रह गरेको छ। सबै मनकारी हुँदैनन र सरकार घरघरमा पुग्ने कुरा पनि भएन । घर भएर मात्र नहुने कतिपयकाे त दुखै पनि छ । त्यस्तालाई हामीले पनि सरकारको घर बहाल छुटको कुरा उठाउन पनि मिलेन । कुनै घरबेटी त्यही घरको भाडा उठाएर खाने पनि छन् ।

लामो समयको लकडाउनले विद्यार्थी र निम्न आम्दानी भएकाहरूको व्यथा पनि त्यही छ । अब घरबेटीले भाडा माग्न थाल्यो । अब के भन्ने ? के दिने ? के खाने ? कहिले जनजीवन सामान्य हुने ? पैसा पठाउनेले पनि कहिले कताबाट पठाउने ? अनि पैसा निकाल्नेले पनि कहाँबाट निकाल्ने ? साथीलाई भनौ भने साथी पनि उस्तै । कम आयश्रोत भएकाको अफिस बन्द। कोठाभाडा आफ्नो आयश्रोतको डब्बल त्रिबल पुगिसकेको अवस्थामा कताबाट समाधान गर्ने, कसरी ? घरबेटीको कचकच उस्तै …। कसले बुझ्ने ? कसरी बुझ्ने ? कसरी बुझाउने ? ओह ! कसरी जुनी खाने होला नि, यो अवस्थामा ।

लकडाउन र भाइरसले गर्दा मान्छेहरू सहरदेखि गाउँमा पुगे रे । यदाकदा सुन्दा अब गाउँको पाखो बारी बाझो नरहने भयो भन्ने कानमा ठोक्किदा अलिकति मनमा फुरुङ्ग हुन्छ । जे हुन्छ, राम्रैका लागि हुन्छ भन्छन् । राम्रै होस, मेरो कामना ।

सुरज बान्तावा राई

भोजपुर



Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply