समयसँग साँच्चै नै बेखबर हुँदै बितिरहेका छन् मेरा लकडाउनका दिनहरु। गाउँ आए पछि कति गते, कुन बार अनि कुन महिना चलिरहेको छ, केही पत्तो नहुने। आज ममीले “नानी, मसान्त गैसक्यो र?” भन्नुहुँदा पनि उत्तर थिएन मसँग।

छेउमा टपरी बुनिरहनु भएकी हजुरआमाले मेरो उत्तरको प्रतिक्षा नगरी सहजै भनिदिनु भयो, ” साँझमा झ्याउकिरी कराउन सुरु गरिसक्यो,पधेँराको मूल नि बढीसक्यो, पाटाको मकै घारीले पारी जम्दार टोल देखिन मुस्किल हुन लागिसक्यो। बरु १५ असार पो कति टाढा छ, पात्राे हेर त नानी” यति भनेर हजुरआमा फेरि सालको पात र सिन्को ल्याउन भित्र जानु भयो।

असार लागिसकेछ, मलाई भने केही पत्तो छैन। झसङ्ग हुँदै पात्र हेरे । १५ असार आउनै लागेछ। पढ्नलाई सहर छिरेको जति बर्ष भयो, त्यति नै बर्खाको रौनक मनाउन पाएकी छैन मैले।

सानै देखि मेरो असार महिना प्रति अति नै मोह थ्याे। महिनाभरिको लागि स्कुल छुट्टी हुन्थे। गाउँको सरकारी स्कुल पढेकी म, होमवर्कको केही चिन्ता नहुने। असार लाग्न नपाउँदै बनको काफल, ऐंसेलु, तिदु, आल्चा, आरु सबै सकिसकेका हुन्थ्याैं, हामी भुरा टोली ले। कसिनी पाखा र पाखुरी बनको आँप चाख्न असार पर्खने गर्थ्याैं। बिहानमा धानकिरी समात्ने, दिउँसभर खनायो खोजी कुलोमा धोएर बाँडिचुँडि खाने अनि बेलुकी पख झ्याउकिरी समातेर उडाउने हाम्रो दिनचर्या हुन्थे। 

साँच्चै नै ती मेरा जीवनका सुवर्ण युग थिए।

१५ असारको दहि-चिउरा पछि गाउँमा रोपाइको चटारो हुन्थ्यो। सानो हुँदा हजुरआमासँग खाजा बोकेर खेतमा जाने गर्थे। मेलामा आउनु हुने पारी गाउँको दमाई बाजेले ” ठूली मुखिनी र सानी मुखिनी आउनुभो” भन्नुहुन्थ्यो। अनि सबै खेतलाहरु जम्मा हुन्थे खाजाको लागि। सबै जनालाई खाजाको टपरी बाँड्ने जिम्मा मेरो हुन्थ्यो। सिमेभूमीलाई छुट्याएको खाजा घर फर्केने बेला लुकि-लुकि खान्थे। आली माथि बसेर हिलो फ्याँक्न पाउँदा र भकारी राखेको पैसा टिप्न पाउँदा त खुसीले सिमा नाघ्थे। कसैले मलाई हिलो फ्याँके भने चाहिँ चिम्से आँखा झनै बन्द हुने गरि हाँस्थे अनि खेतको आली-आली भाग्थे। असारे भाकाले वारि भेग अनि खहरे खोलाले सुसाउने गर्थे पारि भेग। हुर्किदै गर्दा आफ्नो दौंतरीहरुसँग मेला पात धाउन थाले। मेला सक्काएर जूनको उज्यालोमा घर फर्कन्थ्याैं। हाम्रो हाँसोको आवाजले उर्लेर बग्ने पात्ले खोलालाई चुनौती दिन्थे।

साँच्चै नै ती मेरा स्वार्णिम उमेर थिए। साँच्चै नै क्या गज्ज्बका हुन्थे नि ती असारे महिनाहरु।

यी यादहरु बनिसके। तर पनि स्मरण ताजा छन्। अनायासै अनुहारमा हर्षका रेखाहरु दौडन थाले। धन्न भएँ म लकडाउन प्रति र मनमनै सोचे – यो बर्खा चाहिँ ममिको लुहुङ्गी र चोलीमा सजिएर हिलो खेल्नेछु, हजुरबाले बुन्नु भएको घुम ओडेर रोपाइँ धाउने छु। असारे भाकामा स्वर थप्नेछु, आफ्नै दौंतरीसँग रातको सन्नाटालाई चिर्दै कुलोको पानी कुर्न जानेछु।

कोरोनाको महामारीबाट ग्रसित मेरो मनस्थितिले आज धेरै पछि सुनौलो आभास महशुस गरेकाे छ।लकडाउनमा अन्धाधुन्ध बितिरहेको दिनचर्यामा आज असारे रौनक फेरि भेटें, फेरि ती अमूल्य पलहरु बिताउने आशा छ।

शिला गुरूङ

धादिङ




Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply