दिनहुँ हुने व्यस्तता, शारीरिक अनि मानसिक पीडालाई भुलाउन हामी सबैलाई सायदै एउटा लामो विश्रामको जरुरत थियो। त्यस्तो मनोटोनस जीवनशैलीबाट ब्रेकडाउन भएर यति लामो समय आफैमा भुल्न पाउनु सायदै जीवनको एक अमूल्य उपहार पनि हो। एकान्तमा आफूलाई पर्याप्त समय दिन पाउनु आफैलाई चिन्ने एउटा अवसर हो। त्यसैले महामारीले निम्त्याएको बन्दाबन्दीको समयलाई चुनौती भन्दा पनि आफैलाई चिन्ने ठूलो अवसरको रुपमा लिइरहेको छु ।

बन्दाबन्दीको २ दिन अघि नै काठमाडौँबाट आफ्नो गाउँ गोर्खा आएपछि मेरो दिनचर्याले रङ फेरेको छ। यति लामो समय आफूलाई मन पर्ने काममा व्यस्त भएर समय बिताउन पाइएको थिइन। साहित्य र राजनीति मेरा रुचिका विषय हुन्। त्यसैले यस समयमा इन्टरनेटमा भेटिएका केही पुस्तकहरु पढ्दैछु। बिहान बेलुका हरियालीमा घुमफिर गर्छु। आफैले लगाएका तरकारीहरुले पनि मज्जाले फल दिन थलिसकेका छन्। राति आमाले पकाएको खाना खाएर सुतेपछि मज्जाले निन्द्रा पर्छ। अहिले त असारे झरिले निन्द्रा झनै मिठो बनाएको छ।

तर यतातिर सबैको अनुभव एउटै छैन । गाउँघर डर र त्रासले ग्रस्त छ। दिनके काम गरेर जिविका चलाउनेहरुको घरमा चुलो बाल्न हम्मेहम्मे परिसकेको छ । सामान्य स्वास्थ सुबिधाबाट टाढिन परेकाले मानिसहरु घरमै थलिन थलेका छन्। धेरै आफ्नो भन्दा परदेशिएका छोराछोरीको पिरले चिन्तित छन्। तर पछिल्लो समयमा मानिसहरुलाई डर र त्रासको घेराबाट बाध्यताले बाहिर निकाल्दैछ। बर्खा लागेसँगै अहिले मान्छेहरु खेतीपाती, भारोपर्ममा व्यस्त छन्। बिना स्वास्थ सुरक्षा यसरी दैनिकी चलाउनाले झन जोखिम बढ्न सक्छ जस्ताे लाग्छ। त्यसैले अहिले आफूले जाने बुझेका स्वास्थ्य सुरक्षाका उपायहरु बताएर सबैलाई सजग गराउने काम पनि गरिरहेको छु।

मेरो हकमा पनि ती सबै बाध्यतामा खोजिएका खुसीहरु हुन्। मेटिएका अधुरा चाहानाहरु हुन्। जे होस्, महामारीका बेला आफू सचेत भएर आफूलाई आफैमा व्यस्त राख्दै चुनौतीलाई अवसरमा बदल्ने कोसिस गर्नु नै उत्तम विकल्प हुने रहेछ। यो धैर्यताको परीक्षण गर्ने एउटा लामो विश्राम पनि हो।

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply