विपत्ति र दुःखमा आफ्नो जन्मभूमि सम्झिनु मानवीय स्वभाव हो । कोरोना भाइरसको विश्वव्यापी जोखिम भए पछि मेरो सानीमा चैत्र ५ गते नेपाल आउनु भयो । एयरपोर्टमा मेडिकल चेक तथा परामर्शपछि काठमाण्डौमा ४ दिन बस्नु भयो । सेल्फ क्वारेन्टाइनमा बस्नु पर्ने भएको हुँदा, उहाँ आफ्नै डेरामा सुरक्षित बस्नु भयो । काठमाण्डौमा आफ्नै घर नभएपछि, सिन्धुपाल्चोक माइती घर आउनु भयो । स्वास्थ्यको ख्याल गर्ने मामलामा ज्यादै सावधानी अपनाउने उहाँको पुरानो बानी थियो । मास्क लगाउने, हात धुने, स्यानिटाइजर लगाउने काम सधै गर्नु हुन्थ्यो । पहिलो दिन सिन्धुपाल्चोक आउने बस धेरै भिडभाड भए पछि अर्को दिनको बसमा आउनु भयो । सिन्धुपाल्चोक घरमा सेल्फ क्वारेनटाइन जस्तै सुरक्षित भएर बस्नु भयो । उहाँ आफैले विशेष सावधानी अपनाउनु भयो । हामीले पनि अपनायौ । स्कुल कलेज बन्द भए पछि काठमाण्डौ पढ्न बसेका भाइ बहिनी पनि घर आए । परिवारमा लामो समय भेटघाट नभएका सदस्यहरु भेटिएकोमा खुशी छायो । दशै तिहार झै अनुभूति भयो ।
परीस्थिती बदलियाे । फ्रान्सबाट नेपाल आएकी युवतीमा कोरोना पोजेटिभ देखियो । डर र त्रास परिवार, गाउँटोल सबैतिर फैलियो । घरमा भाइ बहिनीलाई सोही समयमा रुघाखोकीले समायो । झन त्रास भो । ज्वरो र सुख्खा खोकी देखिएन । तर त्रास कम भएन । गाउँलेहरु घर आउन र बोल्न छाडे ।
हेल्थपोस्टबाट स्वास्थ्यकर्मी आए । सबैको ज्वरो नापियो । ज्वरो देखिएन । मौसमी रुघाखोकी भने कम हुँदै गयो । सानिमाले ज्यादै पिर लिन थाल्नु भयो । मेलम्ची बजारमा रहेको अस्पतालामा जँचाएर पनि आउनु भयो । कुनै समस्या देखिएन । स्वास्थ्यकर्मीहरुले उहाँलाई नआत्तिन सुझाव दिए ।
गाउँलेको मानसिकतामा कुनै परिवर्तन आएन । घरमा कोरोना पालेको सम्म भन्न भ्याए । कुरा काट्न छोडेनन् । सकरात्मक कुराकानी भन्दा नि भेदभावको महसुस हाम्रो परिवारले गर्यौ । सावधानीकाे मात्रा झनै बढ्यो । सानिमालाई मानसिक त्रास बढ्यो । परिवारको सबैजनाले उहाँलाई साहस र सहनुभुती दियाैं ।
इन्टरनेट तथा अनलाईनबाट सही सूचना सङ्कलन गरी परामर्श गरियो । सबैको खानपिनमा विशेष ध्यान दियौ । सरसफाइमा विशेष ध्यान दियौ । आ आफ्नो कामधन्दामा लागि रह्यौ । आत्तिने या विचलित भएनौ । आज, सानीमा नेपाल आउनु भएको १७ दिन पुगिसक्यो । स्वास्थ्यमा कुनै समस्या आएको छैन । भाइ बहिनीलाई मौसमी रुघाखोकी निको भइसक्याे । तर हामी सबै सचेत छौ । २१ दिन सम्म उच्च सतर्कता अपनाउने छौ ।
गाउँटोलमा कोरोना भाइरसको त्रासले सामाजिक सद्भाव र भाइचारालाई खत्तम पार्ने संकेतहरु देखिन थालेको मेराे अनुभवले भन्छ । सामाजिक सम्बन्धहरुलाई विभाजन गर्ने काम पनि भयाे । तर हाम्रो परिवार सचेत रही, उच्च संयमता अपनायाैं । कसैसँग विमती राखेनाै । दुष्भाव राखेनाैं । कसैसंग खराब विचार र मनासाय राखेनाै । तर भोलिका दिनहरुमा कोरोना कै कारणले कोही कसै माथी दुर्व्यवहार नहोला भन्न सकिन्न जस्ताे लाग्याे । स्थानीय तहमा बनेका क्वारेन्टाइनहरुको गुणस्तरमा गुनासोहरु आउन थालेका छ्न । क्वारेन्टाइनलाई क्वारेन्टाइन जस्तो बनाउन सक्यौं कि सकेनौं ? यो बेला विदेशबाट आएका व्यक्तिहरुलाई घृणा नगराैं । उनीहरूलाई सहयोग र सद्भावको खाँचो छ ।