Panche Bajako Katha EP44

बालखै छँदा त खासै रोकतोक हुँदैन थियो । बिहे बर्तुन र भोजमा दमाहा बजाउने बुबाको पछि लाग्दै हिँड्न कमला नेपालीलाई कम्ता रमाइलो लाग्दैन थियो । 

कमला ठूली हुँदै गएपछि पन्चे बाजाका तालहरुमा उनी रमाउन पाइनन् । केटी मान्छेले यी बाजा छुन समेत हुन्न भनिन्थ्यो । 

हिरा परियार बजारमा लुगा सिलाउँछिन् । उनका बाबुबाजे पनि लुगा सिलाउँथे ।मर्दा पर्दा विहे बटुल र पूजा अाजामा चै पन्चेबाजा बजाउथे ।

रुकुम सदरमुकाम खलङ्गा छेवैको दलित बस्तिका पुरुषहरुले बाउ बाजेको पालादेखि पन्चे बाजा बजाउने काम गर्दै आएका थिए । जन्तीदेखि मलामीसम्म पन्चे बाजा नभई हुँदैन थियो । बिस्तारै समय फेरियो । पन्चे बाजाको ठाउँमा आधुनिक ब्यान्ड बाजा र लाउड स्पीकर घन्किन थाल्यो । बाउ बाजेको बिँडो थाम्दै आएका नयाँ पुस्ता पनि कतार मलेसिया कै कमाईमा रमाउन थाले । हुँदा हुँदा यो गाउँमा पन्चे बाजा नै बज्न छाड्यो । 

एकदिन यहाँका छोरी चेलीहरुलाई लाग्यो – पुरुषहरुले छाडेर के भो त । हामी पो बजाउन सक्छौं कि । 

पुरुषहरुले सजिलै मान्ने कुरा थिएन । छुन पनि हुँदैन भन्दै आएको बाजा कसरि बजाउन सिकाइदिनु । तर गाउँभरिका महिलाहरु एक जुट भएर ढिपी गरेपछि कमला नेपालीका हजुरबुबाले पहिलो आँट गरे । 

यो आँट वल्लो घर पल्लो घर हुँदै गाउँभरि सल्कियो । छोरी नातिनीहरुले आफ्ना बा बाजेसँग बाजा सिकाइ मागे । 

तर उनीहरले आफ्नो धुन छोडेनन् ।  यसरी सुरु भयो यहाँका महिलाहरुको पन्चे बाजा समूह । अआफ्नो क्षमता र रुचि अनुसार हरेकले एकुन्टा बाजा समाए । 

साँझमा हिराको घर पुग्दा उनकी छोरी ईच्छा बा र काकासँग ट्याम्के सिक्दै थिईन् । घरधन्दा सकेर आमाले पनि बाजा समातिन् । 

पञ्चेबाजाको यो धुन आजकल रुकुमदेखि टाढा टाढासम्म पनि सुनिन थालेको छ । त्यसैले त हिजोआज उनीहरको समूहलाई ठाउँ ठाउँबाट निम्तो आइरहन्छ । भोलि पनि बजारमा एउटा कार्यक्रम छ ।  त्यसकै तयारीका लागि राति अबेरसम्म महिलाहरु अभ्यासमै भिडे । 

विहानै कमलाको आँगनमा सबैजना जम्मा भए ।

दिउँसोको कार्यक्रममा जानु अघि उनीहरूले फेरि गाउँ घन्किने गरी पन्चेबाजा बजाएर तयारी पुरा गरे । 

महिलाहरुको यो पन्चे बाजा टोलीले  दिनभरि खलङ्गा बजार घन्कायो ।

No responses yet

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply