Ekadeshka Dakaharu EP34

एकादेशमा धनुषा जिल्लाको झिँझा भन्ने गाउँमा डाँकाहरु बस्ने गर्थे । माधव पासवान र राजलाल पासवानहरु उ बेलाका कुख्यात डाँकु थिए । उनीहरु टाढा टाढासम्म डकैती गर्न जान्थे र परिवार पाल्थे । झिँझाका अधिकांशको पुर्ख्यौली पेशा नै डकैती थियो । बाबु बाजेले गरेको पेशा माधव र राजलालहरुले सिकेका थिए । 

३५ सालतिर धनुषाका डाँकुहरुलाई सर्लाहीको लालबन्दी नजिकै जंगल फाँडेर पुनर्वास गराइने भयो । सिमावर्ती विहारमा पनि यस्तै डाँकुहरुलाई त्यहाँको सरकारले सामान्य जीवनमा फर्काउन थालेको थियो । अनि पन्चायतकालमा सशस्त्र विद्रोह सुरु गरेका काँग्रेसलाई तह लाउन यी डाँकुहरुलाई प्रयोग गरिएको पनि सुनियो । त्यसैको बदला डाँकुहरुलाई सरकारले नै घरबास जोडेर नयाँ ठाउँमा राखिदिने भयो रे । 

हातहतियार बोकेर लुटपाट गर्दै हिँड्ने जमातलाई अचानक सामान्य जीवनमा फर्काउनु सामान्य कुरो थिएन । सबैभन्दा पहिले डाँकुहरुलाई हातहतियार र गोली गठ्ठा बुझाउन लगाइयो । पुराना डाँकुहरु उबेला सलेन्डर गरेको सम्झन्छन् । पुनर्वास कम्पनीले जंगल फाँड्यो । धनुषाको झिँझादेखि डाँकाहरु सपरिवार लावालस्कर लागेर आए । सरकारले १८ महिनासम्म रासन पानी र भत्ता दिए र क्याम्पमै राख्यो । स्कुल र स्वास्थ्य चौकीहरु खोलिए । 

३५ सालमै डाँकुहरुको उपचार गर्न खोलिएको स्वास्थ्य चौकीमा खटिएका थिए स्वास्थ्यकर्मी मोहन सिँह । 

डाँकाहरुलाई आफ्नो थलोमा ल्याएर राखेकोमा वरपरका गाउँले त्रसित भए । अनि सुरु भयो मित लगाउने चलन । डाँकाहरुसँग दोस्ती गर्न वरपरका गाउँले आएर भकाभक मित लगाउन थाले । 

डाँकुहरु बिस्तारै खेतीपातीमा रमाउन थाले । जिन्दगीमा थुप्रै डाँका डालेका अठ्तीसलाल पासवान आजकल घर वरपरको ताडको रुख चढ्छन् । ताडीका थोपा थोपा संचय गर्छन् र बेच्छन् । उनलाई मिहेनतको फल मिठो लाग्न थालेको बर्षौं भइसक्यो । 

श्रीमाधव पासवानलाई पनि पछाडि फर्केर हेर्न मन लाग्दैन । पछुतोले उनका आँखा भरिन्छन् । आजकल त उनी धर्मकर्म र अध्यात्ममा पनि रमाउन थालेका छन् । 

पुनर्वास गाउँका नयाँ पुस्तालाई त आफ्नै बाबु बाजेले गरेका कामहरु कथा जस्तै लाग्छ । बाबु बाजेले गरेका कामकै कारण विद्यालय र छरछिमेका उनीहरुले थुप्रै वचन र अपमान खाएका छन् । 

गाउँका युवाहरु कोही पढ्छन् कोही जागिर खान्छन् । धेरै चाहिँ विदेश जान्छन् । पहिले पहिले बाउ बाजेहरु समूह बाँधेर डकैती गर्न जान्थे । आजकल उनीहरु समूह बाँधेर विदेश जान्छन् । 

Akashko Katha EP33

सगरमाथाबाट हाम्फालेर बंगालको खाडीमा पुग्ने लाक्पा शेर्पा, लाहुरे बन्न नसकेपछि घर फर्किन पनि नसकेका गोर्खाका जुद्ध गुरुङ र पोखरा पश्चिमको हर्पन डाँडा जस्तै उकाली ओराली खेपेका दीपक पौडेल । यी तिनै जनाको भेट विशाल आकाशमा भएको थियो ।

लाक्पा  कहिले हिमाल चढ्न हिँडिदिन्थे कहिल हावामा कावा खान । आकाश र हिमाललाई मोबाइलको टावरले के भेट्टाउँथ्यो र? बेखबर लाक्पाकी पत्नी गुम्बामा गएर बत्ती बाल्थिन् र श्रीमान्लाई हावाले नउडाओस् र हिमालले नखाओस् भनी कामना गर्थिन् । 

लाक्पा अहिले फेवातालको सिरानतिर एउटा टहरा बनाएर बस्छन् । बस्तु पाल्छन् । दुध खान्छन् । सोलुमै किवी  खेतीमा रमाउने लाक्पा पत्नी श्रीमान्को न्यास्रो मेट्न कहिले काहिँ आउँछिन् । श्रीमान्ले उडाउने इन्जिन विनाको जहाजमा उड्छिन् र रमाउँछिन् । 

दीपक पौडेल । लाक्पाका छिमेकी । सुःख दुःखका साथी । यही दोस्तीकै कारण लाक्पा पनि दीपककै छेउछाउ बसाइ सरेका हुन् । सोलुदेखि । दीपक पनि सराङ्कोटको डाँडाबाट हावामा उडान भर्र्छन् । 

उनी चाहिँ गोर्खाका जुद्ध गुरुङ । लाहुरे बन्न घरबाट हिँडेका जुद्ध पनि प्याराग्लाइडिङमै रमाएका छन् । आफ्ना ससाना बहिनीहरुलाई बिहे गरी पठाइदेलान् भन्ने डरले जुद्धले गाउँबाट पोखरा झिकाए । पढाए । उनका दुई बहिनी पनि प्याराग्लाइडिङ नै गर्छन् । दुर्गा जेठी । कान्छी भर्खर १३ वर्षकी। प्याराग्लाइडिङको लाइसेन्स  जाँच दिन स्याङ्जाका डाँडाकाँडातिर गएकी थिइन् । 

दीपक आजको उडान भर्नुअघि बिरामी आमालाई भेट्न अस्पताल जाँदैछन् । 

साँझ सबैजना जुद्ध गुरुङको डेरामा भेला भए । मनाङमा स्कुल पढाउने उनकी श्रिमती छुट्टीको मौकामा पोखरा झरेकी छिन् । 

भोलिपल्ट दीपक गाउँमा आमा एक्लै बस्ने गरेको पुरानो घर जान्छन् । बिरामी आमालाई पोखरामा आफूसँगै ल्याएर राख्न खोजेका छन् दीपकले । आमाको मन मानिसकेको छैन । दीपकले हार खाएका छैनन् । यसपालि चाहिँ अस्पतालबाट फिर्ता ल्याएर आफुसँगै राख्ने अडान लिएका छन् । 

बुबाको तस्बिर काखी च्यापरे दीपक पोखरातिर ओरालो लाग्छन् । 

Eauti Ketiko Katha – 32

१५ महिना अघि एउटा चिसो विहानीमा हामीले शरियम खातुनलाई भेटेका थियौ ।काठमाडौं बल्खु नजिकै बागमती नदी किनारको टहरामा । केही दिनअघि हामी फेरि उनलाई खोज्न निस्कियौं । 

Mayako Katha EP31

माया हराउँदै गएको शहरमा मायाको कथा भेटियो । ललितपुर कुपन्डोलको गल्लीमा एउटा गाडी वर्कशप भित्र । यही वर्कशपमा राम दाइ र उनको ठूलो परिवार बस्छन् । परिवारमा मान्छे ४ जना । कुकुरहरु चाँही १७ जना।

विहान उनीहरुसँगै कुकुरहरु उठ्छन् । राम दाइ वर्कसपको एउटा थोत्रो जिपको धुलो झार्छन् । मासु किन्न जाने तयारी हुँदैछ ।

आज भनेजति मासु पाइएन । उनीहरुको बाटो हेरिरहेका कुकुरहरुले बिस्कुटमा चित्त बुझाउनु पर्ने भयो ।

लाग्छ उनीहरु यी कुकुरहरुकै लागि बाँचेका छन्  र उनीहरुकै कारण यी कुकुर बाँचेका छन् । जिन्दगीमा अरु ठूला लक्ष र आकांक्षा छैनन् ।

मायामा हिसाबकिताब हुँदैन । त्यसैले होला केटाकेटी जस्ता यी अबोध कुकुरहरु सामान नोक्सान गरिरहन्छन् । उनीहर हर्जाना तिरिरहन्छन् ।

सानैमा परिवारसँग बिछोडिएर अर्काको घरमा काम गर्न बसेका राम दाईले अनेक हण्डर खाए । नियतिले उनलाई वर्षौंसम्म भारतका गल्लीहरुमा डोर्याउँदै यसै थलोमा फिर्ता बोलायो ।

उनीहरुको दैनिकी कुकुरकै सेरोफेरोमा घुम्छ । घर बाहिर रात समेत बिताउन गएका छैनन् उनीहरु, कुकुरकै मायाले ।

मायाको यो शृंखलामा एकदिन अक्सा जोडिन आइपुगेको थियो ।  जतिखेर सानी रायनाले सानै अक्सा पाएकी थिइन् ।

उनीहरुका जिन्दगीका अधिकांश  सम्झनाहरु कुकुरसँगै जोडिएका छन् । हरेक कुकुरका नाम छन् । हरेकका कथा छन् ।

भूइँचालोले भत्केको घर बनाउन सकेका छैनन् । वर्कशपको कमाइजति सबै कुकुरमै खर्च हुन्छ ।

यी कुकुरहरु मात्र कहाँ हुन् र विराला अनि आकाशमा उड्ने परेवा र कागहरुसँग पनि माया गाँसिएको छ । बाबु नामको काग बेला बेला आएर राम दाइलाई बोलाउँछ । राम दाइले आफ्नै हातले खुवाउँछन् । अनि बाबु उडी जान्छ । सन्तोषको मुस्कानले राम दाइको अनुहार उज्यालो हुन्छ ।

अक्साको जिन्दगी अचानक सकिएको थियो । तर उसले सिकाएको मायाको कथा भने कहिल्यै सकिएन ।

हेर्ने कथाको अंक ३० मा हामीले यसअघि झ्याउलीका जुनतारा देखाएका थियौं । हेर्ने कथाका सबै अंकहरु हेर्नको लागि हाम्रो युट्युब च्यानल सब्स्क्राइब गर्नुहोला ।

यस्तै यस्तै कथाहरु बनाउको लागि तपाईं हामीलाई सहयोग गर्न सक्नुहुन्छ

Jhyaulika Juntara EP30

राजनीतिक परिवर्तनको उर्बर भूमिमा उनीहरु जन्मिए । दाङ र रोल्पामा खान लाउन पुगेन । काठमाडौं छेउका उर्बर भूमिमा खुलेका इँटाभट्टाले उनीहरुलाई बोलायो । उनीहरु गाउँलाई छाडेर आए । रहरलाई छाडेर आए । परिवारलाई छाडेर आए । 

किर्तिपुरपारि फाँटको इँटाभट्टा एकाविहानै जाग्छ । सँगै जाग्छन् यहाँका मिनी रोल्पा र दाङहरु । 

रेकका अनेक कथा छन्। अनगिन्ति व्यथा छन्।सपनाहरु त गाउँतिरै छोडेर आइसके। केवल हातमुख जोर्ने बाध्यता छ । कमजोर शरिर अनि कमसल खान्की । तर भारी बोक्ने प्रतिस्पर्धा छ । एक एक इँट्टा बोकेको हिसाब सप्ताहन्तमा पाइन्छ । हजार बोक्दा ३ सय कमाइन्छ । 

जुनताराले झ्याउलीको दैलो उघारिन् । फागुनमा डालेघाँस काट्न घरबाट हिँडेकी जुनतारालाई नाइटबसले नैकापमा झारिदिएको थियो, उस्तै बाध्यताबाट आँट बटुलेका संगीहरुसँगै । 

११ बजेदेखि २ बजेसम्म खाना पकाएर खाने छुट्टी हुन्छ । जुनताराकी फुपु र भाउजु पनि झ्याउली आइपुग्छन् । 

यति नै बेला झ्याउलीमा सबैजना भेटिन्छन् । सबैको अआफ्नै धुन हुन्छ । कोही पकाउन थाल्छन् । कोही हिजोको भाँडा माझ्न । कोही भोक बिर्सेर थकाई मार्छन् । 

मनहरु पनि पाकेको इँटाजस्तै भइसके । अब दुख्न बाँकि ठाउँ नै छैन । १९ वर्षकी विपना परियारले पिठ्युमा बोकेकी छोरीलाई सन्चो थिएन । केही महिनाअघि विपनाको ६ महिनाको छोरो बितेको थियो । 

दुई जिउकी गीता नेपाली विहानैदेखि इँटा बोकिरहेकी थिइन् । उनी झ्याउलीमा आएर सिन्कीको झोल  उमाल्ने तरखरमा छिन् । विहानदेखि मध्यान्नसम्म भारि बोकेकी गर्भवतीको खान्की देख्दा सिन्की जस्तै मन अमिलो भयो । 

कामदारका वालवच्चा हेर्नको लागि भट्टा साहुले एउटा टहरामा हेरालु राखिदिएका छन् । यही टहरालाई यहाँ स्कूल भन्छन् । धेरै केटाकेटीहरु स्कुलमा भन्दा धुलो माटो मै रमाउँछन् । 

कपाल फुलिसके । दाँत झरिसके । रोल्पाको आँगनमा यी आमा पनि अटाउन सकिनन् । बुढा बिते, छोराहरु परदेशिए । कान्छी छोरी साथै लिएर यो उमेरमा काठमाडौ छिरिन् ।

भोको पेटमा पढ्न सकिएन । पाँच कक्षा र सात कक्षा पढ्दै गर्दा धेरै केटीहरुलाई बाध्यताले यता डोर्यायो । दाङकी एलिना जिसीले कसो कसो एसएलसीसम्म पढिन् । त्यसैले उनले भारि बोक्ने काम गर्न पर्दैन । 

गाउँमा घाँसदाउरा गर्दा रेडियो उनीहरुको साथी थियो । यहाँ आएर उनीहरुले प्रिय रेडियोलाई बिर्सन सकेका छैनन् । 

साँझ निद्रा पर्दैन अनि उनीहरुको झ्याउली भित्रको आफ्नै रेडियो चालु हुन्छ । कलाकार बन्ने रहरलाई गाउँतिरै छाडेर आएकी जुनतारा छिनछिनमै थरिथरिको पात्रको रुपमा प्रस्तुत भइदिन्छिन् । 

भट्टाका थुप्रै जुनताराहरुको सपना अब काँचो माटो जस्तो थिएन । अभाव र बाध्यताका रापले रहरहरु ओइलाइसके ।

जेठ लागिसक्यो । अहिले त जुनताराहरु गाउँ फर्किसके होलान् । आगुँ दाङ र रोल्पाका आँगनमा खेलिरहेका अरु थुप्रै जुनताराहरु सपनाहरुलाई गाउँमै छाडेर नाइट बस चढेर आउलान् शायद । 

Gaun Khane Katha EP29

सिराहाको लाहान वरपरका डोम समुदायमा गाउँ खाने चलन छ । गाउँको किनबेच पनि हुन्छ । मधेशको यो रमाइलो चलनबारे आजको हेर्ने कथा – गाउँ खाने कथा ।

Akhada EP28

यो गाउँमा कुस्ती को क्रेज कहिलेदेखि सुरु भयो ठ्याक्कै थाहा छैन । तर गाउँका दाह्री कपाल फुलेकाहरुको पनि सबैभन्दा पुराना सम्झनाहरु कुस्ति कै छन् । 

नवलपरासी सदरमुकाम परासी बजारबाट दक्षिणतिरको पाल्हीनन्दन गाउँपालिका । भारतसँगै सीमाना जोडिएको गाउँको नामा चाहिँ पडहरी । गाउँमा धेरैजसो यादवहरु बस्छन् । 

जिन्दगीमा एकपटक कुस्ती नखेलेको केटा मान्छे गाउँमा कोही पनि नहोला ।

रामसेवक यादव र शिवकुमार यादव एकाविहानै दगुर्न निस्कन्छन् । कुस्तीमा उनीहरु कहलिएका छन् । कलिला सिकारुहरु पनि रामसेवक र शिवकुमारको पछि लाग्छन् । 

नहर छेउमा उनीहरु दगुर्छन् र व्यायाम मार्छन् ।  

घर फर्केपछि समय मिलेसम्म रामसेवक थप कसरत गर्छन् । उनलाई भतिजोले साथ दिन्छन् । 

गोठ र भैंसीको काम पनि भ्याउनु पर्छ । दिउँसो क्यानममा दुध बेच्न परासी बजार जाने जिम्मा पनि रामसेवककै हो । 

यादवहरुो खेल भनेर चिनिए पनि गाउँका खुर्सिद मियाँ उदाउँदा कुस्तीबाज हुन् । ८ कक्षामा पढ्ने खुर्सिदले मेलाबजारका कुस्तिहरुमा आफूभन्दा ठूल्ठूलालाई पछारेका छन् । 

साँझपख गाउँ छेउ आँपगाछीको बगैचामाझ, एकान्त अखडामा कुस्तीका शौखिनहरु भेला हुन्छन् । 

सुरुमा उनीहरुले अभ्यास गर्ने ठाउँ सम्याए । यहीँ भेटिए कुस्तीका राष्ट्रिय खेलाडी बैजनाथ यादव । 

बैजनाथ यहाँ गाउँका भाइहरुलाई सँधै यसरि कुस्ती सिकाउँछन् । 

कुस्ती लड्नको लागि कुनै तिथि मिति चाहिँदैन । बस् बहाना भए पुग्छ । आज विहानै गाउँका एकसे एक कुस्तीवाजहरु लड्ने भए । हामीलाई कला देखाउन । दर्शकहरु भेला भइसके । 

शैलेश चौधरी अर्का शीपालु कुस्तीवाज हुन् । कुस्तीले परिवार पाल्न सकिन्न । उनी परासीको कागज फ्याक्ट्रीमा काम गर्न थालेका छन् । 

शिवकुमार यादवको समय पनि आजकल कुस्तीमा भन्दा फ्याक्ट्रीमा धेरै बित्छ । 

रहरै रहरमा कुस्ती सुरु गरेका गाउँका धेरैले यो खेल छाडेका छन् – अवसर नपाएर । सीमापारी भारतका कुस्तीवाजहरुले पाउने सुविधा र सम्मान देखेर पडहरी गाउँको चित्त दुख्छ ।  

शिवकुमार र शैलेसहरु आजकल भारतका पहलमानहरुसँग नभई बाध्यता र घर व्यवहारसँग कुस्ती खेल्छन् । 

पडहरी गाउँबाट फर्केर आएपछि शिवकुमारले हामीलाई दुई पटक फोन लगाए । एक पटक मलेसिया लैजाने म्यानपावर भेट्न काठमाडौं आएको सुनाउन र अर्को पटक क्षेत्रियस्तरको प्रतियोगितामा छनौट भएको खबर सुनाउन । 

थाहा छैन शिवकुमार मलेसिया जान्छन् कि कुस्ति खेल्न ! 

हेर्नुहोस् अखडा – हेर्ने कथा अंक २८

Duita Katha EP27

आज हेर्ने कथामा दुइटा कथा देखाउदैछौ । फरक फरक जीवन र परिवेश बाँचिरहेका दुई जना नेपाली महिलाको कथा ।

एक – गीत मेरो साथी

पहिलो कथा झुप्री कुमारी भण्डारीको ।


गएको असोजमा हामी अछामतिर थियौं । ठूलासेन नजिकै तारेखा गाउँको एउटा झुप्रोमा हामीले झुप्रीलाई भेट्यौ । झुप्री उदास थिइन् । जिन्दगीसँग विरक्तिएकी ।

झुप्रीलाई आफ्नो जीवन अध्यारो लाग्थ्यो । आफू वरपरको संसार पनि अँध्यारै लाग्थ्यो । तर पनि झुप्री मलाई विशेष र प्रिय लाग्यो ।

दुई – हात्ती मेरो साथी

हिमानी थारुको कथा कम्प्युटरमै बसेको १ वर्ष भइसकेछ । उनलाई हामीले बर्दिया निकुन्जको बबई भ्यालीमा भेटेका थियौं ।

उनी काम गर्ने गोठी चेकपोष्ट एकलास जंगलमाझ थियो । त्यहाँ काम गर्ने ११ जनामध्ये उनी एकजना मात्रै केटी । अनि उनको काम चाहिँ अजंगको हात्ती सम्हाल्नु । मलाई त्यतिबेलै लागेको थियो घना जंगलभित्र मान्छेको चहलपहलबाट निकै टाढा यसरी काम गर्न ठूलै आँट चाहिन्छ ।

बाटोमा जंगली हात्तीले लछारेका रुखहरु थिए । हामी साथै गएका निकुञ्जका गाइडहरु बाघ र गैडासँगका जम्काभेटका किस्साहरु सुनाउँथे । पूर्व पश्चिम राजमार्ग छोडेर गाडीमै तीन घन्टाको बाटो जंगलै जंगल छिचोलेर गोठी चेकपोष्ट पुग्दा हामी आफै आत्तिएका थियौ ।

त्यहाँबाट अझै टाढाको चेकपोष्टमा रासनपानी पुर्याउन हात्ती मात्रै विकल्प रहेछ। हिमानी त्यही यात्राको तयारी गर्दैथिइन् ।

हिमानी माउते भएको अहिले ७ वर्ष भयो । दिपेन्द्र कली उनले सम्हाल्ने हात्तीको नाम । रहँदा बस्दा उनी हात्तीको भाषा बुझ्ने भैसकिन् । यो पोष्टमा पनि उनीहरु सँगै आएका । दुई दिनको बाटो लगाएर हिडेरै ।

हेर्ने कथाको अंक २६ मा यसअघि जोगीको कथा देखाएका थियौं । हेर्ने कथाका सबै अंकहरु हेर्नको लागि हाम्रो युट्युब च्यानल सब्स्क्राइब गर्नुहोला ।

तपाईं हेर्ने कथा कार्यक्रम उत्पादन गर्नको लागि आर्थिक सहयोग पनि गर्न सक्नुहुन्छ ।

Jogiko Katha EP26

राति राति फेरी लगाउँदै हिँड्ने जोगीको कथा । हेर्ने कथा अंक २६ – जोगीको कथा

झापा जिल्लाको बाहुनडाँगी नजिकै जोगीडाँडा भन्ने ठाउँ छ । जोगी डाँडामा ४० घर जोगीहरु बस्छन् । उनीहरु पहाडका विभिन्न ठाउँबाट बसाइ सरेरर त्यहाँ आएका हुन् ।

जोगीहरुको पुर्ख्यौली पेशा भनेको चैत र कार्तिक महिनामा गाउँ गाउँ डुलेर बराँटको सिङ बजाउँदै तन्त्र मन्त्र पढ्नु हो । यसरी फेरी लगाउँदा ‘भूत प्रेत’ भागेर जाने विश्वास छ । यसबापत गाउँलेहरुले जोगीलाई दान दक्षिणा दिन्छन् । अघिल्लो पुस्ताले यस कामलाई अझै निरन्तरता दिइरहेका छन् । तर नयाँ पुस्ताले भने अर्कै पेशा रोजगारी रोज्न थालेका छन् ।

जोगी डाँडाका जोगीहरु फेरि लगाउन सीमावर्ती भारतका सिक्किम दार्जिलिङ र भुटानसम्म पनि पुग्ने गरेका छन् ।

हेर्ने कथाको अंक २५ मा यसअघि हामीले नेताको कथा देखाएका थियौं । हेर्ने कथाका सबै अंकहरु हेर्नको लागि हाम्रो युट्युब च्यानल सब्स्क्राइब गर्नुहोला

Netako Katha EP25

गत वर्षको फागुनमा हामी देउखुरीको यो गाउँ पुगेका थियौं । महादेवा गाउँको नाम फेरिएर गढवा नगरपालिका भएको थियो । अनि गाउँकी गीतगाउनेआइमाइ भनेर चिनिने निर्मला चौधरीको नयाँ चिनारी बनेको थियो । 


जिन्दगीका धेरै फागुन र साउनहरु खेतबारी र चुलो चौकोमै बिताएकी निर्मलालाई खोज्दै अघिल्लो फागुन मान्छेहरु उनको घरमै आइपुगे । 


Belly Blues EP24

स्टोर रुम भित्रको ओछ्यानछेउमा विहानै मोबाइलको अलार्म बज्छ । उनी आँखा मिच्दै उठ्छन् र हतार हतार गृहकार्य सक्छन् । राति सँधै अबेर भइसकेको हुन्छ । थाकेको ज्यानले ओछ्यान रोज्छ । 

मूल ढोकाका साँचो लिएका मानिस मस्त निद्रामा हुन्छन् । उनलाई उठाउन मन लाग्दैन । झ्यालबाट निस्किन्छन् र क्याम्पस जान्छन् । 

१० बजे क्याम्पस छुट्टी हुन्छ । सिधै होटल जान्छन् । भान्छा छेउमा झोला थन्क्याउँछन् र पाहुनाहरुलाई खाना खुवाउँछन् । 

पढाईमा तीक्ष्ण छन् । पैसामा कमजोर । क्याम्पसको खर्च जुटाउन होटलमा काम थालेकाे ३ महिना भयाे।

खानापछि उनको अर्को दैनिक सुरु हुन्छ । होटलका कोठाहरु बढारकुडार गर्ने, ओछ्यान मिलाउने र ट्वाइलेट बाथरुम सफा गर्ने । 

काम बाट एकछिन फुर्सद निकालेर उनले आफ्नी आमासँग हामीलाई भेटाउने भए । बजार छेउको दलितबस्तिको एक कोठे घरमा आमा एक्लै बस्छिन् । 

बिनोदको संघर्षमय वाल्यकाल यही सेरोफेरोमा हुर्कियो । बिनोद सानै हुँदा बाबु मलेसिया हिँडे । 

आमालाई घरधन्दा सघाउँदै हुर्केका विनोदले आफ्नो पहिचानसँग जोडिएका केही नमिठा अनुभव पनि साटे । 

बेलुका होटलमा विनोदको उही भ्याइ नभ्याइको दैनिकी । 

चितवनबाट डाक्टरी पढ्ने विद्यार्थीहरु दुई महिनाको लागि उनी काम गर्ने होटलको पाहुना बनेका छन् । उनको मिलनसार स्वभावले धेरै आफ्ना भइसकेका छन् । आज बेली उनीहरुलाई बेली डान्स देखाउँदै छन् ।

हेर्ने कथाका सबै अंकहरु हेर्नको लागि हामीलाई युट्युबमा सब्स्क्राइब गर्नुहोस्

Head Mistriko Katha EP23

जिन्दगीका असंख्य दुःख र पीडाहरुलाई जितेकी दाङ देउखुरीकी कमला चौधरीको संघर्ष, साहस र सफलताको कथा – हेड मिस्त्रीको कथा – हेर्ने कथा अंक २३

Durga Bajyai ko Katha EP22

डडेलधुराकी ६० वर्षकी दुर्गा पाण्डेको कथा । साथीहरु उनलाई दुर्गा बज्यै भनेर बोलाउँछन् । दुर्गा बज्यै कक्षा २ मा पढ्छिन् ।

Read more

Chudeli Gaunko Katha EP21

अछाम सदरमुकाम मंगलसेनबाट साँफेबगर झर्दै गर्दा हामीले बन्दै गरेको मध्यपहाडी लोकमार्ग रोज्यौं । चुडेली गाउँ पुगेपछि मस्जिदबाट आइरहेको प्रार्थनाको आवाजले हामी रोकियौं ।

यो बस्तिलाई मियाँ टोल भन्दा रहेछन् । पहिले पहिले चुरा बनाउने र बेच्ने पेशा भएकाले गाउँको नाउँ चाहिँ चुडेली ।

घुम्टो ओडेका महिलाहरु थिएनन् । तर पहाडको दुःखको उही दैनिकी ।

Rauteka Katha EP20

राउटेहरु आएर बसेको थाहा पाएपछि हामी सुर्खेतको लेकबेसी नगरपालिकाको एउटा गाउँछेउ पुग्यौं । 

८-१० वटा पाल टाँगिएका थिए । दैलेखछेउको डाँडाबाट उनीहरुको समूह केही दिन पहिले आइपुगेको रहेछ । अर्को ठूलो समूह चाहिँ माथि डाँडामै भएको थाहा पायौं । 

भोलिपल्ट बिहानै फेरि हामी यसै थलोमा पुग्यौं । डाँडामा बसेका राउटेको ठूलो समूह आज बसाइँ सर्ने तयारी गरेको थाहा पायौं । हामी डाँडा उक्लिने भयौं ।

२-३ घन्टाको उकालो काटेर डाँडामाथि पुग्दा राउटेहरु बाटो लागिसकेका थिए । कोहीकोही अझै पोका पन्तुरा कस्दै थिए । 

जंगल र भीर छिचोल्दै राउटेको समूह अगाडि बढ्यो । लगभग ३ घन्टाको ओरालो हिँडेपछि उनीहरु एउटा गाउँछेउको बगरमा पुगे । नयाँ थलो यहिँ बनाउने निर्णय भयो । भारि बिसाए । 

हेर्ने कथाको अंक १९ मा यसअघि किनाराको कथा देखाएका थियौं । हाम्रा सबै कार्यक्रम हेर्नको लागि युट्युब च्यानल सब्स्क्राइब गर्नुहोला । 

Kinarako Katha EP19

लगभग १ घन्टा जंगल छिचोलेपछि डुङ्गाघाट पुग्यौं । नारायणी नदीको एउटा भंगालो । रुख खोपेर बनाएका साँघुरा डुङ्गा हामीले बलियो गरी समात्यौं । माझीहरुले नदीको उल्टो दिशातिर डुङ्गा खियाए ।

नारायणी नदीको किनारमा जंगलको छेउमा शेरगंज गाउँ छ । गाउँमा माझी र मुसहर बस्छन् । नदीमा माछा मार्ने उनीहरुको मूख्य पेशा । 

गाउँलेहरु आज पनि हुल बाँधेर जंगल छिर्दैछन् । हामीले वीरबहादुर मुसहरलाई साथी बनायौं र उनीसँगै गाउँलेको पछि लागेर जंगल छिर्यौं । 

हेर्ने कथाको अंक १८ मा यसअघि भुर्ती गाउँको कथा प्रसारण भएको थियो । हाम्रा सबै कार्यक्रम हेर्नको लागि युट्युब च्यानल सब्स्क्राइब गर्नुहोला । 

Bhurti Gaunko Katha EP18

दशैंअगाडि हामी दैलेखको सदरमुकामसँगै जोडिएको भुर्ती गाउँ पुगेका थियौं । यो त्यही गाउँको कथा हो । ९२ घर रहेको गाउँमा सार्की, कामी र दमाई मात्र बस्छन् । 

यसअघि हेर्ने कथाको अंक १७ मा हामीले गजेन्द्र सरको कथा देखाएका थियौं । हाम्रा सबै कार्यक्रम हेर्नको लागि हाम्रो युट्युब च्यानल सब्स्क्राइब गर्नुहोला । 

Gajendra Sirko Katha EP17

बालखैमा आमा बासँग विछोड हुन्छ । गजेन्द्र राना मगर अनाथाश्रममा हुर्किन्छन् । एक से एक राम्रा स्कुल पढ्ने मौका पाउँछन् । विकास अध्ययनमा डिग्री गर्छन् । सँगैका साथी युरोप अमेरिका लाग्छन् । काेही एनजिओमा जागिर खान्छन् । गजेन्द्र चाहिँ गाउँ फर्किन्छन् र एउटा सानो स्कुलको मुहार फेर्छन् : 

सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित जहरे भन्ने ठाउँबाट भेरी नदीको झोलुङ्गे पुल तरेपछि गुमी पुगिन्छ । 

गुमीको ढोेडेनीमा जनसंयुक्त प्रावि छ । विद्यार्थी नअाएर अर्को  स्कुलसँग गाभिने सँघारमा रहेको जनसंयुक्तमा एक दिन गजेन्द्र सर आइपुगे । 

यही गाउँछेउमा जन्मेका गजेन्द्र सानोमै आमा बुबासँग विछोडिए । गजेन्द्रलाई गाउँलेले एउटी बहिनीसँगै अनाथश्राम पुर्याइदिए । 

आफ्ना आमा बुबाको अनुहार समेत सम्झनामा छैन गजेन्द्र सरलाई । आफू जन्मेको गाउँ पनि सोध्दै खोज्दै आएका थिए कुनै दिन ।

गाउँको स्कुल देखेर गजेन्द्रको मन पग्लियो । जिन्दगीका आगामि यात्रा तय गर्नुअघि उनले ३ महिना स्कुलमा स्वयंसेवा गर्ने विचार गरे । 

३ महिनामा विद्यालयसँग गहिरो माया बस्यो । गजेन्द्रले स्कूल छोड्न सकेनन् । अभिभावक  र विद्यार्थीले गजेन्द्र सर । ४ वर्ष नाघ्यो । गजेन्द्र सर स्कुलमै समर्पित छन् । जागिरे होइनन् । अझै स्वयंसेवा । 

हेर्ने कथाको अंक १६ मा यसअघि रहरको कथा प्रसारण भएको थियो । हेर्ने कथाका सबै अंकहरु हेर्नको लागि हाम्रो युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस् । 

Raharko Katha EP16

रहरको कथा – साँझ विहान उनका दौंतरीहरु आँगन छेउमा आएर उफ्री उफ्री खेलिरहन्छन् । उनी मुसुमुसु हाँस्दै हेरिरहन्छन् । दिनभरि बा आमा काममा जान्छन्, एउटा भाइ स्कूल जान्छ । उनी बार्दलीमै बसिरहन्छन् । वरपरका किताब कापीमा घोत्लिरहन्छन् । हातखुट्टा र जिब्रो कमजोर भए पनि दिमाग बलियो भएका अछामका टेकबहादुर साउदको पढ्ने लेख्ने रहरको कथा

Read more

Bau Chhoriko Katha EP15

Bau Chhoriko Katha – युट्युबमा ६ वर्ष अगाडि कसैले राखेको एउटा भिडियोले हाम्रो आँखा र मन दुबै तानेको थियो । नेपालबाट गएका गन्धर्व बाउ छोरीले भारतको दार्जिलिङ पहाड कर्स्याङ भन्ने ठाउँमा एउटा घरको आँगनमा बसेर गीत गाइरहेका थिए ।६ वर्षपछि हामी तिनै बाउछोरीलाई खोज्दै झापाको एउटा गाउँ पुग्यौं ।

झापाको सबैभन्दा दक्षिणी भेग केचना कवल । यहाँ भोजपुरका पहाडबाट बसाइँ झरेर आएका गन्धर्वहरुको गाउँ छ । गाउँको नाम चाहिँ सङ्गीत चोक । ४० घर गन्धर्व छन् । 

सङ्गीत चोक सङ्गीतमय छ । खेतीपातीको चटारोबिच पनि साथीभाइ भेटेर सारङ्गी रेट्न थालिहाल्छन् । 

सङ्गीत चोकका गन्धर्वहरुको मूख्य पेशा नै गाउने बजाउने हो । उनीहरु धरान, बिर्तामोड गइरहन्छन् । खेतिपाती भ्याएर छिमेकी देश भारतका सिक्कीम दार्जिलिङ जानेहरुको लर्को पनि उत्तिकै हुन्छ । भारतमा कमाइ धेरै हुन्छ । 

गाउँका युवाहरुलाई हामीले खोज्दै आएको बाउछोरीकोबारेमा सुनायौं । असाध्यै सुखद संयोग भयो । त्यस भिडियोमा छोरीसँग गीत गाउने शिव गन्धर्व त्यहिँ थिए । ६ वर्षअघिको उनको अनुहार अलिअलि फेरिएछ । 

शिवले हामीलाई आफ्नो घर लिएर गए । हामी उनकी छोरीलाई भेट्न आतुर थियौं । 

Zindagiko Katha EP14

जिन्दगीको कथा – समयका फरक फरक छालहरुमा तैरिँदै केही जिन्दगीहरु धनकुटाको मुलघाटस्थित तमोर नदी छेउ सुसाइरहेका छन् ।

मन्दिरमा बेला बेला बजिरहने घन्टका आवाज, आँपका डालीमा आएर कराइरहने कागहरु, एक तमासले सुसाइरहने तमोर, साँझ विहानको हरिकिर्तन । यस्तै छ यहाँको चित्र । 

प्राय सबै शान्त छन् । बिस्तारै हिँड्छन् । सुस्तरि बोल्छन् । कोही बोल्दै बोल्दैनन् । कोही दिनभरि एकनाश बत्ति कातिरहन्छन् । 

विश्रान्ति आश्रममा शान्त छ अहिले जिन्दगी । जिन्दगीले भोग्ने जति भोगिसक्यो,  देख्ने जति देखिसक्यो र सहने जति सहिसक्यो ।

कोही गुमाएर आए । कोही हुँदा हुँदैको छाडेरै आए । सब जना थाकेरै आए । अहिले जिन्दगी एक्लो छ । शुन्य छ । अपेक्षाहरुको लेनदेन छैन । हिसाब किताब छैन । पाउनु गुमाउनु छैन ।  जिन्दगी खोला जस्तै बगिरहेछ । तमोर जस्तै । 

Babanpurka Gothalaharu EP13

बबनपुरका गोठालाहरु – बर्दियाको बाँसगढी नगरपालिकाको बबनपुर । यादब गाउँ । पुरै गाउँ शाकाहारी ।माछामासु खाने त परको कुरा गाउँमा हाँस कुखुरा र बाख्रा समेत कसैले पाल्दैनन् । सबैका गोठमा गाई भैंसी मात्र छन् । गाई भैंसी पाल्नु नै यो गाउँको पुर्ख्यौली पेशा हो ।

सानैदेखि बाउबाजेसँगै गाई भैंसीको पछि लागे । गाई भैंसीसँगै हुर्किए । उ बेला गाई भैसीको खान्की पुर्याउन गोठालाहरु जंगल जंगल चाहर्थे । सुन्दरले पनि बाउ बाजेको विँडो थामे ।  गाईवस्तुको गोठालो गर्दै जंगलमा सालका रुखमुन्तिर उनले थुप्रै रात काटेका छन् । 

नुहाई धुवाई र पुजापाठ सकेर खाना खाए पछि सुन्दर यादव गोठमा जान्छन् र दाम्लो फुकाल्छन् । अनि जंगल छिचोल्दै भैंसीहरु चराउन लैजान्छन् । सुन्दर यादबको वाल्यकालदेखि आजसम्मको दैनिकी यहि हो ।

यसअघि हेर्ने कथाको अंक १२ मा हामीले एक्लो कथा प्रसारण गरेका थियौं । एक्लो कथा यहाँ हेर्न सकिन्छ । हेर्ने कथाका सबै अंकहरु हेर्नको लागि हाम्रो युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस् । 

Eklo Katha EP12

बुवा बिते । आमा विदेशमा छिन् । दुइ दाजुहरु पनि विदेशमै छन् । एउटी दिदी सँगै थिइन् । उनी पनि विहे गरी पराई घर गइन् ।अनि १२ वर्षका साजन बिक घरमा एक्लै भए । साजन नजिकैको स्कूलमा ५ कक्षामा पढ्छन् । यो घरमा एक्लै बस्छन् । एक्लोपन नै उनको साथी ।

घर शुन्य छ । बोल्ने मान्छे कोही छैनन् । सुँगुरको पाठो र केही कुखुरा छन् उनीबाहेकका प्राणी । 

साजनलाई सबैभन्दा धेरै बुबाको माया लाग्थ्यो । बुबा कहिले नफर्किने बाटो लागे । बुबाको माया अब तस्बिर बनिसक्यो । 

आमा र दुइ दाजु विदेश गएपछि घरमा दिदीसँगै वस्थे । १४ वर्षकी दिदी पनि एकदिन उनलाई छोडेर हिँडिन् । त्यसपछि उनले आमाले विदेशबाट फर्किदा ल्याएको टिभिलाई साथी बनाएका थिए । त्यो पनि बिग्रिएपछि यो घरमा उनी झनै एक्लिए । 

यसअघि हेर्ने कथाको अंक ११ मा सिमानाको कथा प्रसारण भएको थियो । हेर्ने कथाका सबै अंकहरु हेर्नको लागि हाम्रो युट्युब च्यानल सब्सक्राइब गर्नुहोस् । 

Simanako Katha EP11

Simanako Katha – Herne Katha Episode 11

सिमानाको कथा – झापाको मेचीपारिको नेपालको कथा व्यथा । दुईतिर मेची नदीका भँगाला अनि सिमानामा भारतको ‘थिचोमिचो’ । हेर्ने कथा अंक ११ – सिमानाको कथा 

डुङ्गा चढी आउन सकेन बाटो 
र विरानो भयो आफ्नै देश  
आफ्नै खेत गयो परदेश
कहिले नदीले बाटो फेर्यो
कहिले सिमानालेबाटोफेर्यो। 
तर उनीहरुको माटो फेरिएन। 
सिमानामा वर्षौंदेखि सिमाना बनेर उभिएको 
एउटा गाउँको व्यथा
सिमानाकोकथा

निमलाल राजवंशी चर्को घाममा यात्रु पर्खेर बसेका छन् । मेची पारिको गाउँ आउन जान नगरपालिकाले डुङ्गा राख्दिएको छ । 

मेची नदीका दुई भँगालोबिचको महेशपुर गाउँ भद्रपुर नगरपालिकामै पर्छ । हिउँदमा बगर नै बाटो बन्छ । वर्खामा डुङ्गा समात्नुपर्छ । पानी अझै बढ्दा यही डुङ्गा पनि चल्दैन । अनिमेचीपारिको गाउँ आफ्नै देशभित्र बन्दी जस्तै बन्छ । 

नदी तरेर हामी बलौटे माटोमा उम्रिएका हरिया घाँसहरु टेक्दै मेचीपारिको गाउँ छिर्यौं । बाटोको नामनिशान थिए । कहिले खेतका आलिहरु कहिले गोठाला र वस्तु हिँडेका डोबपछ्याउँदै हामी हिँडिरह्यौ।

हामी श्रीप्रसाद महतोको पछि पछि केहीबेर सीमानामा हिँड्यौं । 

भारत र नेपालको नक्सा छुट्याउने यहाँ कुनै पर्खाल थिएन न त थिए काँडेतारहरु । खेतका आलि र काँशका झ्याङहरुमा केही ताजा सिमेन्टीका किला भने ठोकिएका थिए । एकै बगालका वस्तुहरु कोही भारततिर चर्दैथिए । कोही नेपालतिर । एउटै खेतका आलीहरु केही भारततिर थिए केही नेपालतिर ।

हेर्ने कथाको अंक १० मा यसअघि ‘वडा नम्बर २२ को कथा’ प्रसारण भएको थियो । 

हेर्ने कथाका नयाँ अंकहरु अँग्रेजी महिनाको १ तारिख र १५ तारिख आउँछन् । हेर्ने कथाको आधिकारिक युट्युब च्यानल आजै सब्स्क्राइब गर्नुहोस् ।