Ramailo Katha EP59

रातभरि परेको झरीले पाँचथरको फिदिम बजार ओभाएको थिएन । एकाविहानै हामीले बमबहादुर सुब्बालाई भेट्यौं । झोलाभरि लोकबाजाहरु बोकेर डुली हिँड्ने सुब्बा यसपटक आफ्नै जन्म-जिल्ला पुगेका रहेछन् । हामी यी रमाइला पात्रको पछि लाग्यौं ।

Herne Katha – Episode 59

Koila Khaniko Katha EP58 

दाङ र रोल्पाका सिमानातिर पर्ने उजाड पहाडका काखतिर सुख्खा गाउँहरु छन् । पहाडको पेटभित्र ती गाउँका पेट पाल्ने कोइला खानीहरु । 

हामी कोइला खानी पुग्दा खाजा खाने समय भएको थियो । यामबहादुर घर्ती र उनका छाेरा पूर्णबहादुर खाजा खाने तरखर गर्दै थिए ।

१२ बजे कोइला खानी छिर्न हुन्न भन्ने मान्यता रहेछ । २२ वर्ष पहिले कोइलाका भारि गन्ने काम सुरु गरेका …… अहिले यहाँका नाइके भएका छन्  । 

यमबहादुरले वल्लो पहाड र पल्लो पहाडका खानीहरुमा आधा जिन्दगी बिताइसके । कापी किताबका अक्षरहरु मकै भटमास नबनेपछि उनका भर्खरका छोरा पूर्णबहादुर पनि खानीको अँध्यारो सुरुङमा भविष्य खोज्न आइपुगेका छन् ।

कामदारहरु दूलो जस्तै सुरुङभित्र छिर्छन् र केहीबेर हराउँछन् । फर्किँदा कोइलाका भारी बोकेर आउँछन् । 

यी कोइलाहरु यहाँबाट घोराही पुग्छन् र त्यहाँबाट ठूल्ठूला उद्योगहरुमा । यहाँका कामदारहरुलाई कोइला कहाँ जान्छ के गर्छन् चासो छैन । बस् पहाडभित्रको पाताल खोस्‌रेर भारी पुर्याउन पाए भयो । 

सुरुङभित्र छिर्ने आँट हामीलाई सजिलै आएन । अलि भित्र छिर्थ्यौं । अनौठो सन्नाटा छाउँथ्यो । फेरि फर्किन्थ्यौं । 

सुरुङ भित्र महिलाहरु नछिर्ने रहेछन् । उनीहरुको काम सुरुङको मुखदेखि कोइला बोकेर ट्याक्टर आउने बाटोसम्म पुर्याउने । 

केहीबेरपछि आँट बटुलेर हामी शेरबहादुर पुनसंग सुरुङ भित्र छिर्यौं । सिधा उभिन समेत नमिल्ने सुरुङका भित्ताहरु समाउँदै हामी अँध्यारोमा छिर्यौं । 

सुरुङभित्र अघि बढ्दै गएपछि बाहिरको संसार हराउँदै गयो । ठाउँ ठाउँमा पानी रसाइरहेका थिए । पहाड नखसोस् भनेर ठाउँ ठाउँमा खाँबो राखिएका थिए । 

खन्दै कोइला निकाल्दै सुरुङ छिचोलिँदो रहेछ । डेढ सय मिटर जति भित्र गइसकेपछि उनका भतिजा आकाश भित्तो खोस्रेर कोइला निकाल्दैथिए । भतिजाले निकालेकाे कोइला काका शेरबहादुर सुरूङकाे मुखसम्म पुर्याउँदै थिए । 

पहिले पहिले एउटा हातमा टुकी बत्ती बोकेर खानीमा छिर्नुपर्थ्यो । अहिले भित्रसम्मै जेनेरेटेरले उज्यालो पारेको छ । 

कोइला खनिरहँददा ढुङ्गा खसेर २ हप्ता अगाडि गाउँकै मोहोरलाल कामीको मृत्यु भयो । त्यसयता त्यो सुरुङ बन्द छ । 

माेहोरलालले १६ दिनकी सुत्केरी श्रीमती शान्ति कामीलाई भरे मासु लिएर आउँछु भनेर कोइला खन्न आएका थिए  । तर उनी फर्केर नआउने बाटोमा गए ।  शान्तिले कहिल्यै नरित्तिने आँशु पाइन् । 

आँखै अगाडि आफ्ना साथीलाई चट्टानले थिचेपछि धेरै जना डरले अझै काममा फर्केका छैनन् । छोरी गिता काठमाडौंको इँट्टा भट्टामा श्रीमानसँगै भारी बोक्दै थिइन् ।  बुवा बितेको खबर पछि उनी सुत्केरी आमालाई सम्हाल्न आइपुगेकी छिन् । 

Paniko Katha EP57 


पश्चिम सुर्खेतको टाढा पहाडको काखमा रेक्चा भन्ने गाउँमा पानीको असाध्यै दुःख छ भन्ने सुनेपछि हाम्रो बाटो त्यतै मोडिने भयो । 

सुख्खा  गाउँमा ५ जना पाहुना लागेपछि पानीको बोझ थपिएला भनेर हामीले आफ्ना लागि पर्याप्त बोतलका पानी किन्यौं । 

पहिलो पटक सुनेका गाउँको नाम हामी एकैछिनमा बिर्सिन्थ्यौं । बाटामा भेटिएका मान्छेहरुलाई छिनछिनमा सोध्दै खोज्दै हामी अघि बढ्यौं । 

बाबियाचौर पुग्दा दिन ढल्न आँटेको थियो । बाबियाचौरमा शनिबारे हाट लाग्दो रहेछ । गन्तव्य भुलेर हामी केही बेर गाउँले हाटमा अल्मलियौं । 

गुटु पुग्दा साँझ पर्नै आँटेको थियो । आजै गाउँ नपुग्ने ठानेर हामी बासको खोजीमा लाग्यौं । 

मनकारी मान्छेहरु जता पनि भेटिने । डिल्ली निमाइलीले माथी जंगलको फेदमा धारापानी भन्ने ठाउँमा जुँगे माइलाको घरमा बास बस्न सुझाए । 

जुँगे रानाको घर पुग्दा रात परिसकेको थियो । 

हस्त बहादुरका मिठा मिठा गफ र परिवारको मायालु आतिथ्यले न्यानो बनायो । 

भोलिपल्ट बिहानै रेक्चातिर लाग्यौं । अलिक अगाडि बढेपछि गाडी गुड्ने बाटो सकियो । हामी पैदल उकालो लाग्यौं । जंगलको माझमा डोजरले बाटो  खन्दै थियो । हामी सुकेका पतकर बजाउँदै २ घन्टा उकालो लाग्यौं । 

पहाडको कन्दरामा सुन्दर रेक्चा गाउँ छिर्ने बित्तिकै गाईवस्तु धपाउँदै गरेका गाउँलेहरू भेटिए । 

गाउँलेहरुले विहानै पानी लगिसकेछन् ।  दिउँसो चाहिँ गाइबस्तुको पालो । दिन बिराएर पानी खुवाउन ल्याउने । 

अलि पर धमिलो पानी  जमेको पोखरी थियाे । छेउछाउमा काठ र ढुंगाका १०/१२ वटा ससाना इनारहरु । 

गाउँलेका सुखदुख र सुस्केराहरु पानीसँगै जोडिएका थिए । चियापसल र चौतारी जता पनि पानीकै चर्चा ।  

गाउँलेहरूले मिलेर कुवा रुँघ्ने चौकीदार नै राखेका रहेछन् । 

हामीले चाैकीदारकै घरमा खाना खायाैं । 

गाउँमा विजुलीका नयाँ नयाँ पाेल त ठडिएका थिए तर गाउँ अझै अध्यारै थियाे । हामी चाैकीदारकै घर बास बस्यौं । हामी पाहुना थपिएकाले उनलाई गाउँलेले एक गाग्रा पानी थप दिने भएका थिए । 

भोलिपल्ट विहानै पानी लिन आउनेहरुको कल्याङ मल्याङले हामी बिउँझियौं । 

कुवाकाे गफगाफ

चाैकिदारकी बुहारी हस्तना स्कुल पढाउने रहिछन् । हामी उनीसँगै स्कुल पनि गयाैं ।

टाढा टाढा गाउँबाट आउने विद्यार्थीहरू अझै स्कूल आइपुगेका थिएनन् । विहानै पानी लिन आउनुपर्ने भएकाले उनीहरू स्कूलमा सधैंजसाे ढिलाे हुने रहेछन् । 

८७ वर्षका मोतिराम देवकोटा पनि हरेक बिहान लौरो टेक्दै कुवा वरपर भेटिन्छन् । केही वर्ष पहिले उनकी नातिनी आफू जत्रै गाग्रो बोकेर एक्लै पानी भर्न आएकी थिइन् । अँध्यारो कुवामा खसेर नातिनी अलप भइन् । पानीले बेला बेलामा प्राण लिने गरेको छ । 

त्यसदिनदेखि  मोतिरामले नातिनीलाई खाएको  कुवाको पानी खान छाडेका छन् । बरु तिर्खाएरै बस्छन् ।   

बर्षा सुरु नभएसम्म गाउँ झन् तिर्खाउने छ । पानी खोज्दै अझै टाढा टाढा पुग्नुपर्छ । ८७ वर्षका मोतिराम पनि लौरी टेक्दै पानी लिन अझै टाढा जानुपर्छ ।

 

Matoko Katha EP56 

यदि आगो सलाईले नभई आक्रोशले बल्थ्यो भने यो शिविरमा चौबिसै घन्टा डढेलो  मात्र लागिरहेको हुन्थ्यो होला । 

एक जना चट्टान झैं मान्छे छन् । भम्पा राई । शिविरका अवशेषहरुमा डुली हिँड्दा देश फर्किने आशमा बसिरहेका मानिसहरु मकै जस्तै पड्किन्छन् ।  फूल उठेका मकैजस्तै हिउँ परेका बेला जन्मिएका थिए भम्पा । उनी शान्त छन् र अडिग छन् देश फर्किन । 

शरणार्थी शिविर आजकल आँधीबेहरीपछिको सन्नाटा जस्तै देखिन्छ । देश छोडेर आएका हजारौं भुटानीहरु युरोप र अमेरिका गइसके । यहाँ जो बसेका छन् उनीहरु अन्त जान मानेनन् । उनीहरुलाई आफ्नै देश फर्कनुछ । 

सम्झना त भुटानदेखि नेपालसम्म छरिएको छ । देशविहीन भएर बाँचेको ३० वर्ष नाघिसक्यो । शिविरबाट विदेशिनेहरुले सम्झना मात्र बोकेर गए । पुराना ग्याँस र चुलाहरु यतैफेरो छाडे । सुकुमाया राईसँग ग्याँस सकिएको सिलिन्डर छ । 

सँधै सपनामा आफ्नो भुटानी गाउँ देखिरहने सुकुमायालाई अस्ति भर्खर खै के ले डोर्यायो एक्लै एक्लै भुटानतिर । लुकीछिपी आफ्नो गाउँ पुगेर त्यहाँको माटोलाई आँशुले भिजाएर आइन् । 

मनहरु बाँड्दा बाँड्दा रित्तिन थालेका छन् । अलिकति मन भुटानतिर । अलिकति यहि शिविरको माटोमा । धेरै मनहरुलाई हवाइजहाजले सात समुद्र पारि उडाइदियो । शिविरमा बसेका एक्ला मान्छेहरुलाई मर्न मात्र भए पनि आफ्नै देश जानुछ । आफ्नै माटो छुनु छ । 

मनमनै विद्रोह गरिरहेका यी मान्छेहरु कहिले शान्त हुन्छन् । कहिले चिच्याउँछन् । जति कराएपनि आवाजहरु हावामा हराउँछन् ।

Lahureko Gaunko Katha EP55 

गाउँका कथाहरु कथैबाट सुरु हुन्छन् प्राय । आगो, पानी र माटो खोज्दै आएका घोडचढीका कथाबाट । जंगल फाँड्दै, चट्टान फुटाउँदै, पसिनाका पैनी लगाउनेका कथाबाट । बाँच्नका लागि गरेका कठोर संघर्षका कथाबाट ।  

भक्तबहादुर गुरुङका जिजुबाजे पनि लमजुङबाट फेवाताल सिरानको तामागी गाउँमा उसैगरी आएका थिए कुनै समय । पन्चासेको काखमा गाउँ बन्यो । बाजे आफैं कथा भइसके । 

थुप्रै कथाहरु बिते । गाउँ हराभरा थियो । 

शूरीला गुरुङहरुलाई भटाभट समुद्रपारिका युद्धहरुले बोलायो । तामागीका सिपाहीहरु रगत र पसिनासँग साटिने लोभलाग्दा कमाई खोज्दै  जंगमैदानहरुमा जान थाले । थुप्रै लाहुरेहरु कथा बने । 

भक्तबहादुर गुरुङ उसैगरि लाहुरिएका थिए । उनीसँगै लाहुरिएको थियो सारा गाउँ ।  परदेशिएको गाउँ बिजुली, बाटो र अस्पताल नभएको यो एकान्त पहाडमा फर्किन मानेन । सनै सनै गाउँ रित्तिन पो थाल्यो । 

तामागी गाउँ आजकल पोखरा, नारनघाट, हङकङ, बेलायत अमेरिका र अष्ट्रेलियातिर छरिएको छ । बरु यो बनेली गाउँमा छरिएका छन्  भक्तबहादुरका विराना सम्झनाहरु । 

बेलायतबाट बैदाम आएका बेला भक्तबहादुरलाई गाउँको मायाले बोलाइरहन्छ ।  रित्ता गाउँ कुर्न राखिएका मान्छेहरु भेट्छन् । सन्चो विसन्चो सोध्छन् । पोखरामा बस्ने काइँला मामा पनि बेला बेला गाउँ पुगिरहन्छन् । 

गाउँछेउ आजकल वनकुसुमहरु फुल्दैनन् । पैंयुका बोटमा अडेस लागेर बाख्रा चराउने केटाकेटीहरु भेटिँदैनन् । धान फल्ने खेतहरु वनमाराका झाडी भएका छन् । ढुँगाका छपनीहरु लेउले ढाकेका छन् । पँधेरामा पानी रसाउन छाडेको छ । बरु रसाइरहन्छ भक्तबहादुरको आँखा । रोइरहन्छ मन । 

बाध्यता र नियतिले रित्तो बनाएको यो गाउँमा गुल्जार साँझहरु कहिले फर्केर आउलान्? कसैलाई थाहा छैन । 

गीत

कुन दिनको संजोगले बने लाहुरे

हिउँ त हैन फाप्रेको डंगुर

मेरो पौवा पाटिलाई

Simanta Katha EP54 

Herne Katha – Epsiode 54

हातमा नक्सा लिएर पल्टाएजस्तो हुँदैन भूगोल । सजिला हुँदैनन् सिमानाका रेखाहरु  ।  नदीहरु सिधा बग्दैनन्  ।  पहाडहरु फड्के साँघुजस्ता हुँदैनन् । 

नेपाल  र भारतको पूर्वी सिमानामा डाँडाँकाँडा छिचोल्दै बग्छ  मेची नदी । मेची नदीकाे घुमाउराे लहरो पछ्याउँदै सिमानाका मान्छेहरु आउजाउ गर्छन् । इलामको सिमान्त गाउँका मान्छेहरु घोडा खच्चड  लिएर सौदा गर्न भारतको नक्सलबारी हाट झर्दा रहेछन् । हाटबाट  फर्किरहेका घोडचढीहरुलाई  हामीले मेची बगरमा भेट्यौं । र उनीहरुसँगै किनारै किनार उकालो लाग्यौं । 

२ घन्टा उकालो लागेपछि अम्बिटार गाउँ भेटियो ।  मञ्जु तामाङले स्यालको रक्सीले स्वागत गरिन् । भारतकी छोरी नेपालकी बुहारी । लेप्चा परिवारमा बिहे गरेर दार्जिलिङबाट आएकी । 

रसिलो  गाउँ अम्बिटारलाई छाडेर हामी झमक्क साँझमा सुङ्तुङ  पुग्यौं । मेची नदी छेउको अन्तिम गाउँ । मेचीपारि भारत । 

बाटो  र बिजुली भर्खर देखेको सुङतुङकी पम्फा तामाङले आधा जीवन यहिँको  भीर पाखामा बिताइन् । रेडियो र टेप रिकर्डरमा घन्किने गीतका लहरा समाउँदै पम्फाहरु काठमाडौं र दार्जिलिङ शहरका  कल्पनामा हराउँथे । राति अबेर सम्म पम्फाले गीत सुनाइन् । हामीले साथ  दियौं । 

सुर्योदयको जिल्लामा विहानै घामका किरणले पाखा पखेरा चुमे । 

गाउँका कमल  तामाङको साथ लागेर हामी मेची किनारतिर लाग्यौं । 

घाम चर्किँदै जाँदा मेचीमा माछा मार्न, घुम्न, वनभोज खाना आउनेहरुको चहलपहल बढ्यो । आइतबार थियो । भारतको छुट्टी । नेपाली र भारतिय सराबरी साझा पानीमा रमाउँदै थिए । 

मेची नदीमा दुबैतर्फको देशको साँध सकिन्छ । तर भाषा, सँस्कृति अनि सम्बन्धहरुलाई नदी, पहाड  र सिमानाहरुले छेक्न नसक्ने रहेछन् । यो सिमान्त गाउँका रंगीन आयामहरुलाई छाडेर हामी अर्को गन्तव्य लाग्यौं । 

Thakurniko Katha EP53

जहेदा मोरङकी मञ्जुलियादेवीलाई गाउँलेहरु ‘ठाकुर्नी’ भनेर चिन्छन् । गाउँघर डुलेर दाह्री कपाल काट्ने श्रीमान् बितेपछि मञ्जुलियादेबी आफैं कैंची र छुरासँग खेल्न थालिन् ।

Senmikhako Katha EP52

Herne Katha – Episode 52

जिन्दगी शायद सम्झनै सम्झनाका फेहरिस्त होलान् । यस्तै एउटा सम्झनाको गोरेटोले हामीलाई फेरि डोर्याएको थियो भोजपुर र खोटाङको सिमानामा उभिएको चखेवा डाँडातिर । जहाँ हामीले केही वर्षअघिको एउटा साँझमा भेटेका थियौं सेन्मिखालाई । 

घाम अस्ताएपछिको त्यो पहिलो भेट ताराहरु अस्ताउन लाग्दासमेत सकिएको थिएन । रातभरि सल्लाका दाउराहरु बलिरहे । हामीले सेन्मिखालाई सुनिरह्यौं । विहानै शीत टेक्दै अर्को गन्तव्य हिँडेका हामीले सेन्मिखाको कथा धीत मर्ने गरी सुन्नै पाएनौं । 

वर्षौंपछि पनि याद आइरहने सेन्मिखालाई भेट्न हामी फेरि चखेवा गयौं । क्षितिजलाई अँगालो हालेर बसेको लोभलाग्दा डाँडा, सल्लाघारी अनि भेडा चर्ने पाटनहरु सम्झिँदै । अनि सम्झिँदै त्यो एकान्तमा वनपाखा गुन्जाउने सेन्मिखाका भाकाहरुलाई 

सेन्मिखाको कथा

दुम्सी चर्ने बाटो छेउ दुई तीन वटा टिनका घरहरु रहेको चखेवा फेरिँदै रहेछ । फराकिलो मध्यपहाडी लोकमार्ग आँगनमै आइपुगेको थियो । बाटोसँगै बजार आउँदै थियो । बजारसँगै मान्छेहरु आउँदै थिए । 

बर्दियाबाट बाटो बनाउन आएका मान्छेहरुसँग सेन्मिखाको दोस्ती थियो । एकाविहानै उनी पश्चिमका साथीहरुलाई लिएर दाउरा खोज्न हिँडे । 

सिमलका फूल जस्ता मन र सतिसाल जस्ता पाखुरा भए पनि यो एकान्त पहाडमा सेन्मिखालाई केले बाँधेर राखेको होला ? उसका आमाबा कहाँ होलान्? साथीहरु जस्तै उ पासपोर्ट बोकेर हवाइजहाज किन नचढेको होला? हामीले सोध्न बाँकि प्रश्नहरु धेरै थिए । हामी सेन्मिखाको पछि लागिरह्यौं । 

एक एक भारि दाउरा बोकेर घर आइसकेपछि काकाले चलाउने सानो होटलमा पाकेको भात खाएपछि सेन्मिखाको अर्को दैनिकी सुरु भयो । भेडा फुकाउन गोठतिर लागे । 

चितवन पुगेर कृषी पढेका सेन्मिखा  माटो र बोटविरुवासँग थरिथरिका प्रयोग गरेर बस्छन् । २३ वर्षको झर्झराउँदो उमेरका सेन्मिखालाई दिनभरि भेडाको पछि लाग्दै वनपाखा डुल्नै रमाइलो लाग्छ रे । 

हुन त यो सपना देख्ने उमेर हो । सेन्मिखाको उधुम ठूला सपना छैनन् । बस् हाँसी हाँसी जिन्दगी बिताइदिने ।

आफू पनि हाँसिरहने र अरुलाई नि हँसाइरहने सेन्मिखा मनका पीडाहरु लुकाउन सिपालु छन् । 

अवसर खोज्दै मदेश झरेका बाआमाको पछि लाग्न सेन्मिखाको मन मानेन । बाजे बज्यैसँग हुर्केकाे घर आँगन नै प्यारो लाग्यो । बुबा विदेशीएपछि आमाबुबा पनि छुट्टिए । सेन्मिखा न आमाको भए, न बुबाको भए । उनी त यही चखेवाको माटोको पो भए । 

भेडा धपाउँदै कहिलेकाहिँ ट्याम्केको लेकसम्म पुगिदिन्छन् । 

हामी हिँड्न नसकौंला भनेर सेन्मिखाले आज भेडालाई धेरै टाढा लगेनन् । कुहिरोमा कहिले हामी हरायौं । कहिले भेडा हराए । सेन्मिखाका मिठा मिठा कुरा र सुरिला भाकाहरुले दिन बितेको पत्तै भएन । 

The Man Who Died Once EP51

राती देखेको सपनाले सन्तोषीलाइ सन्तोष दिएको थिएन । साउदी अरबमा भएका श्रीमानसंग कुरा नगरी मन मानेन ।

त्यही दिन सन्तोषीका श्रीमान सुवास तामाङले साउदीमा तलब थापेका थिए । घरमा पैसा पठाउन ट्याक्सी चढे । अरू चार साथी पनि संगै थिए । तर घरमा पैसा हैन यस्तो खबर आयो ।

जुन ट्याक्सीमा सन्तोषीका श्रीमान् सुवास तामागसहित अरु चार जना चढेका थिए त्यो ट्याक्सी चलाएका थिए बाग्लुङका तेजेन्द्र भण्डारीले । तेजेन्द्रकी आमाले पनि फोनबाट छोराको खबर लिइन् ।

छोरा दुर्घटनामा परेर अस्पताल पुगेको खबर पाएदेखि आमा सुर्विताको शास अड्किए झैं भयो । एक पल्ट मात्रै छोराको आवाज सुन्न उनी गाडी खोलाको तिरैतिर फोन गर्ने ठाउँ ओख्रेनीसम्म कतिपटक ओहोरदोहोर गरिन् त्यसको लेखाजोखा नै छैन ।

Geetko Katha EP49

Herne Katha – Episode 49

बिहे गरेकै बर्ष हो माइती गाउँमा दोहोरी गाउँदा र नाच्दा रात छर्लङग भएको थियो । राम्रो नाच्यो भनेर फुल लगाइदिएका पैसा गन्दा २५ सय पुगको थियो । ति सम्झना अझै ताजा छन् । गाउँका माझमा बसेर गीत गाउन न लाज थियो न धक । त्यतिबेला कास्की फेदिपाटनकी गोमा पौडेल जम्मा १३ बर्षकी थिइन् ।

श्रीमान बिते । छोराछरी लाखापाखा लागे । गोमा दुखको बेला डाँको छोडेर रुदिनन् बरु जिन्दगीको गीत भाका हालेरै सुनाउँछिन् ।

गोमाका गीत न कतै लेखिएका छन् न कतै कोरिएका । मनका पानाहरु कहिले भरिन्छन् उनलाई नै थाहा छैन । 

कहिलेकाँहि त पोखरा बजारका रडियोमा पनि गीत आउन पुग्छिन् ।

जिन्दगीको सन्तावन्न् (५७) वर्षे यात्रामा गोमाले कति सय वटा गीत गार्इन् गन्न भ्याउँदिनन् । न गनिदिने घरमा कोहि छन् नै ।

त्यसैले त हरेक दिन झिसमिसेमै उठेर बिरौटा बजार झर्छिन् । बजार उनको घरको साग र भैँसीको दुध कुरिरहेको हन्छ । 

यो पालि हाम्री साथि आशा उनको झिसमिसे यात्राकी सहयात्री बनिन् ।

उनि डालो बाकेर बजार झर्दा बजारका मानिसहरु मर्निङ वाकमा गाउँ उक्लिनछन् । गोमा उतिखेरै गीत जोडिहाल्छिन् अनि माहोल बनिहाल्छ ।

रात होस कि बिहान । घमाइलो होस कि धमीलो गीत नै गोमाको साथी । 

Bhedi Gothko Katha EP48

यो म्याग्दीको दोबा गाउँ हो ।  पुरानो मगर बस्ति । हिमाल हाँसिरहन्छ । अनि हिमाल जस्तै हाँसिरहन्छन् नेत्र दाइ । न्यानो माैसममा भेडा धपाउँदै हिमालको जरासम्म पुग्ने नेत्र दाइ जाडो लागेपछि उँधो झर्छन् । यसरी गोठाला भएर उँधौली उँभौली गर्न लागेको ३० वर्ष बितिसकेछ । 

अहिले जाडो बढेको छ  । नेत्र दाइले गाउँ छेउमै गोठ ल्याइपुर्याएका छन् । गाउँ छेउ भएर के गर्नु नेत्र दाइको बास उही भेडी गोठ । 

बा ब्रिटिस लाहुरे थिए रे । उतै बिते । आमा पनि बितिसकिन् । दाजुभाइ लाखापाखा लागे । नेत्रले पनि बिदेस जाने सपना नबुनेका होइनन् । तर जुरेन । बरु बिदेस गएका उनका छोरा भेडा चराउनै भनेर घर फर्किए ।  

आज नेत्र दाइको गोठमा एउटा पाठो जन्म्यो । उता जंगलमा हिजो हराएका भेडा पनि खोज्नुछ । पारिलो घामले डाँडाकाँडा चुमेपछि नेत्र दाइले गोठ खोलिदिए । हामी भेडाका बथानसँगै नेत्र दाइ र परिवारको पछि लाग्यौं । 

एकछिन जंगलमा खोजेपछि हिजो हराएको एउटा पाठो मरेको भेटियो । जन्मिने र मर्ने सिलसिला नेत्र दाइको गोठमा चलिरहन्छ । 

साँझ घर फर्किने बेलामा पानी पर्यो । यस्ता घाम पानी र इन्द्रेणीहरु कति भोगे कति नेत्र दाइले । भेडाहरु घर फर्किन थाले । गोठमै पाठा पाठी छाडेर आएका आमाहरु चाहिँ अलि हतारमा थिए । दिनभरि चरेर भेडाहरु टन्न अघाएका थिए । नेत्र दाइ चाहिँ भोकै । घर फर्किएपछि अँगनो छेउमा बसेर मकै खाँदै उनले भेडासँगकाे सुखदुख सुनाए । भोली फेरि उहि दिन दाेहोर्यउनु त छँदै छ ।

Marphako Katha EP47

मध्य हिउँदमा मार्फाका धेरैजसो घरहरुमा ताल्चा लाग्छन् । मान्छेहरु हिउँ र जाडो छल्न पोखरा, काठमाडौं झर्छन् । मुखिया र कटवालहरुले चाहिँ गाउँ छाड्न पाउँदैनन् । गाउँ सुनसान भए पनि सदियौंदेखि चलि आएको स्थानीय नियम कानुन र चलनले थकाई मार्न पाउँदैन । 

छानाभरि परेका हिउँ जथाभावि फालिदिँदा कुलो र बाटोको बाटो छेकिन्छ । मुखियाको उर्दी गाउँभरि हाँक हालेर सुनाउँदैछन् सोमबहादुर बागदास। 

उसो त गाउँका स्थायी बासिन्दा, सबैले मुखिया र कटुवालको काम आलोपालो गर्नुपर्छ । हिउँका चिसो सोरेर आउने ठिहिर्याउने बतासमा बस्न कसलाई पो बस्न मन लाग्छ र । केटाकेटीका स्कुल छुट्टी हुन्छन् । पर्यटक पनि घुम्न आउँदैनन् । होटल र पसलमा समेत ताल्चा लाग्छन् । न्यानोमा घर हुनेहरु तल झर्छन् । अनि आफ्नो जिम्माको कटुवाल काम तल झर्न नसक्नेहरुलाई पैसा दिएर जिम्मा लाउँछन् ।  

केही दिन अघि परेको  हिउँले ढाकेका स्याउबारी छिचोल्दै कटुवालको नियमित गस्ति सुरु हुन्छ । 

गाउँ घुमेको प्रमाणस्वरुप उनले चिचे अमिलको हाँगा भाच्छन् । गाउँको पुछारमा खोला छेउमा मात्र चिचे अमिलोको बोट छ । चिचे अमिलोको हाँगा लगेर मुखियाको ढोकामा सिउरिदिएपछि कटुवालले गाउँ घुम्ने काम फत्ते गरेको थाहा हुन्छ । 

भोलि झन् धेरै हिउँ पर्छ – रेडियोले भनेको छ । गाउँमै अल्मलिएका मान्छेहरु फटाफट बसको टिकट काटेर तल झर्दैछन् । बाटा घाटा र स्याउका बगैंचाहरु झन् एक्लिँदैछन् । हिउँद्का केही महिना हिमालपारिका यी गाउँहरु बेसी झर्छन् । जोड जोडले हिउँ परिरहन्छ, बतास चलिरहन्छ । तर गाउँ आँफैले धेरै वर्ष अघि बनाएको विधिको स्यानो शासन चलिरहन्छ मार्फा गाउँमा ।

Taroko Katha EP46

म्याग्दी सदरमुकाम बेनीबाट म्याग्दी खोलालाई नै पछ्याउँदै हामीले दरबांग जाने बाटो समातेका थियाैं । हामी कथाको खोजिमा थियाैं । 

कथा खोजीका हाम्रा यात्राहरु यस्तै हुने गर्छन् । कहाँ कतिखेर अडिन्छौं पत्तो हुँदैन । पात्रहरुले लोभ्याएपछि गन्तव्य बिर्सिदिन्छौं र त्यही सेरोफेरोमा कथा बुनिदिन्छौं । 

बजार बन्दै गरेका गाउँहरु छिचोल्दै थियौं । बाबियाचौर नजिकै मेला लागेको छ भन्ने सुनेर उत्साहित भएका थियौं । हामीलाई गाउँको मेला हेर्न मन थियो । आँगनमा उभिएर पारिलो घाम तापिरहेका नारायणदत्त अधिकारीले एउटा भाका लगिदिनोस् न भन्दै हामीलाई बोलाए । 

अधिकारी बासँग बिदा भएर केही बेर मोटर चढेपछि बाटोको तल्लापटि मेला लागेको देखियो । फलामे रोटे पिङ थियो । पाल टाँगेर बनाइएका ससाना खाजा पसल थिए । एकातिर फुटबल हुँदै थियो अर्को तिर हातमा धनुस समातेका मान्छेहरु तारो हान्दै थिए । हामीलाई तारोले तान्यो । 

माघे संक्रान्तिको छेकोमा बर्सेनी हुने मेला हिजो मात्र सुरु भएको थियो । मेलाको रौनक अझै दुई चार दिनमा बढ्ने बताइरहेका थिए मेला भर्नेहरु । 

तारो हान्ने ठाउँमा नेत्र मगर भेटिए । हामीले नेत्रलाई पछ्यायौं । 

सन्त कुमार राना पहिले पहिले खुब तारो हानी हिँड्थे । धनुषका ढाँचा र खेल्ने नियम फेरिँदै गएपछि उनी छेउ लाग्न थाले । तर पनि मन मान्दैन । आफ्नो पुरानो धनु बोकेर यस्तै मेलामा उनी भेटिन्छन् । 

खिम जुग्जालीसँग अरुको जस्तो महँगो धनुष छैन । कलिलै उमेरदेखि यो खेलमा लोभिएका खिमले आफ्नो सामान्य धनुसले नै आज चार खोल गरिसकेका छन् । 

साँझ ढल्न लाग्यो । मेलामा आएकाहरु घरतिर फर्कन लागे । दिनभरि तारो हान्ने केटाहरु चाहिँ एउटा छाप्रोभित्र पसेर आजको समिक्षा गर्न लागे । हामीलाई पनि बेनी बजार फर्कुन थियो ।

Baliyo Katha EP45

१६ वर्षे उमेरको जिन्दगीका भोगाइ कति होलान् ? भर्खर वालवयबाट उँभो लागिरहेको यो उमेरले तय गरेको यात्रा सरल होला् कि बाङ्गाटिङ्गा ? दुःखको कथा होला कि सुखको कथा होला ? 

सबिनासँग दुई वटा विकल्प थिए: आफ्नो जिन्दगीको कथा अरुलाई लेख्न दिने कि आफै लेख्ने । आँटिली सबिनाले दोस्रो बाटो रोजिन् । हेर्ने कथामा  बलियो कथा सुरु भयो है । 

१६ वर्षे उमेरको जिन्दगीका भोगाइ कति होलान् ? भर्खर वालवयबाट उँभो लागिरहेको यो उमेरले तय गरेको यात्रा सरल होला्न कि बाङ्गाटिङ्गा होलान्? दुःखको कथा होला कि सुखको कथा होला ?  आउनोस् १६ वर्षकी सबिना खातनुको कथा ४ वर्षअघिबाट सुरु गरौं जति खेर उनी १२ वर्षकी थिइन् । 

बा गाउँबाट धान किनेर ल्याई बेच्थे । बाको ब्यापारमा आमाले सघाउँथिन् । 

सबिनाको जिन्दगी, उमेर जस्तै हलुका थियो । किताब च्यापेर दाजु भाइसँगै स्कुल जानु । उखुबारी र आँप गाछीका बँगैचामा पुतली जस्तै पुतलीका पछि दगुर्नु । आमाले पकाइदिएको खानु । पढ्नु, लेख्नु रमाउनु ! आहा कस्तो रमाइलो । 

सबिनाका बा अचानक बिते । आमालाई व्यवहारले थिच्यो । छरछिमेक र समाजको धारणासँग कुस्ती खेल्ने बल आमासँग थिएन । जसरी सबिनाका सखीहरुको बिहे सानै उमेरमा हुन्थ्यो, त्यसरि नै सबिनाको पनि बिहे गरिदिने निधो भयो । 

पढाई छुट्यो । आमा छुटिन् । सपना छुटे । आँपगाछीका पुतलीहरु छुटे । बिहे गरेको भोलिपल्टैदेखि सबिनाको संसार अर्कै भयो । नरमाइलो संसार । चन्चल मन र जिज्ञासु वालापन घुम्टोभित्र बन्धक भयो । त्यसरि नै थुनिए सबिनाका पढ्ने चाहना र थुप्रै सपना । 

बिहे गरेर गएको घरमा बिस्तारै सुरु भयो अत्याचारको श्रृंखला । सक्ने जति सहिन् सबिनाले । 

६ कक्षासम्म पढ्न पाएको सबिनाको चेत त्यति कमजोर कहाँ थियो र? उनका मस्तिष्कमा बिस्तारै विद्रोह सल्बलाउन थाले । सबिनासँग दुई वटा विकल्प थिए: आफ्नो जिन्दगीको कथा अरुलाई लेख्न दिने कि आफै लेख्ने । आँटिली सबिनाले दोस्रो बाटो रोजिन् । 

कानुनले सबिनालाई न्याय दियो । सानैमा छोरीको बिहे गरिदिएर गल्ती भयो कि भन्ने आमालाई पहिल्यै लागिसकेको थियो । आमाले छोरीलाई सक्दो बल दिइन् । 

यो बिचमा आमा पनि गाउँकी नेता भइसकेकी थिइन् । मुस्लिम समाजमा बाहिर निस्केर परिवार र व्यवहार धान्ने महिला पाउन गाह्रो थियो । पार्टीहरु उनलाई खोज्दै आँगनमै आइपुगे । 

सबिनाले ७ कक्षामा पढाइ सुरु गरिसकिन् । जोश र जाँगर बोकेर स्कुल जान्छिन् । डाक्टर बन्ने सपना बोकेकी छिन् । पुरै जिन्दगी अगाडि छ । 

पछाडि बितेका जिन्दगी फर्केर हेर्न मन छैन । सबिनाले अरुले लेखिदिएको एउटा दुःखद कथा च्यातेर फालिसकिन् र आफैं लेख्न सुरु गरेकी छिन् आफ्नो कथा । विद्रोहबाट जन्मिएको बलियो कथा ।

Panche Bajako Katha EP44

बालखै छँदा त खासै रोकतोक हुँदैन थियो । बिहे बर्तुन र भोजमा दमाहा बजाउने बुबाको पछि लाग्दै हिँड्न कमला नेपालीलाई कम्ता रमाइलो लाग्दैन थियो । 

कमला ठूली हुँदै गएपछि पन्चे बाजाका तालहरुमा उनी रमाउन पाइनन् । केटी मान्छेले यी बाजा छुन समेत हुन्न भनिन्थ्यो । 

हिरा परियार बजारमा लुगा सिलाउँछिन् । उनका बाबुबाजे पनि लुगा सिलाउँथे ।मर्दा पर्दा विहे बटुल र पूजा अाजामा चै पन्चेबाजा बजाउथे ।

रुकुम सदरमुकाम खलङ्गा छेवैको दलित बस्तिका पुरुषहरुले बाउ बाजेको पालादेखि पन्चे बाजा बजाउने काम गर्दै आएका थिए । जन्तीदेखि मलामीसम्म पन्चे बाजा नभई हुँदैन थियो । बिस्तारै समय फेरियो । पन्चे बाजाको ठाउँमा आधुनिक ब्यान्ड बाजा र लाउड स्पीकर घन्किन थाल्यो । बाउ बाजेको बिँडो थाम्दै आएका नयाँ पुस्ता पनि कतार मलेसिया कै कमाईमा रमाउन थाले । हुँदा हुँदा यो गाउँमा पन्चे बाजा नै बज्न छाड्यो । 

एकदिन यहाँका छोरी चेलीहरुलाई लाग्यो – पुरुषहरुले छाडेर के भो त । हामी पो बजाउन सक्छौं कि । 

पुरुषहरुले सजिलै मान्ने कुरा थिएन । छुन पनि हुँदैन भन्दै आएको बाजा कसरि बजाउन सिकाइदिनु । तर गाउँभरिका महिलाहरु एक जुट भएर ढिपी गरेपछि कमला नेपालीका हजुरबुबाले पहिलो आँट गरे । 

यो आँट वल्लो घर पल्लो घर हुँदै गाउँभरि सल्कियो । छोरी नातिनीहरुले आफ्ना बा बाजेसँग बाजा सिकाइ मागे । 

तर उनीहरले आफ्नो धुन छोडेनन् ।  यसरी सुरु भयो यहाँका महिलाहरुको पन्चे बाजा समूह । अआफ्नो क्षमता र रुचि अनुसार हरेकले एकुन्टा बाजा समाए । 

साँझमा हिराको घर पुग्दा उनकी छोरी ईच्छा बा र काकासँग ट्याम्के सिक्दै थिईन् । घरधन्दा सकेर आमाले पनि बाजा समातिन् । 

पञ्चेबाजाको यो धुन आजकल रुकुमदेखि टाढा टाढासम्म पनि सुनिन थालेको छ । त्यसैले त हिजोआज उनीहरको समूहलाई ठाउँ ठाउँबाट निम्तो आइरहन्छ । भोलि पनि बजारमा एउटा कार्यक्रम छ ।  त्यसकै तयारीका लागि राति अबेरसम्म महिलाहरु अभ्यासमै भिडे । 

विहानै कमलाको आँगनमा सबैजना जम्मा भए ।

दिउँसोको कार्यक्रममा जानु अघि उनीहरूले फेरि गाउँ घन्किने गरी पन्चेबाजा बजाएर तयारी पुरा गरे । 

महिलाहरुको यो पन्चे बाजा टोलीले  दिनभरि खलङ्गा बजार घन्कायो ।

Buwako Katha EP43

असोज लागिसक्दा पनि बेला बेला झरी परिदिन्छ । खै किन हो ठग्गु झरी पर्दा टोलाइरहन्छन् । गाउँ छाडेर बजार नजिकैको एक कोठे डेरामा आएको धेरै भएको छैन । 

सम्पत्तिको नाममा एउटा साइकल, विछ्यौना र केही थोत्रा लुगाहरु । आफन्तको नाममा ३ वर्षे छोरी । यही सानी छोरीको निर्दोष आँखाहरु हेर्छन् र सन्तोषको सास फेर्छन् । 

२ दिन अघि मात्रै सारा गाउँले धुमधाम जितिया पर्व मनाएको थियो । ठग्गु सँधै झैं बजारमा रिक्सा गुडाउँदै थिए । घरमा दिनभरि छोरी एक्लै बालाई पर्खेर बसिरहेकी थिइन् । चाडबाड पनि नआइदियोस् जस्तै लाग्छ । 

डेढ वर्षअघि श्रीमतीले अर्कैसँग बिहे गरेर हिँडेपछि ठग्गु र छोरी एक्लिए । गाउँमा बस्न मन लागेन । छोरी च्यापेर धनगढी छेउको मनहेरा गाउँमा बसाइँ आए । सुरुमा पाइडल रिक्सा चलाए । आजकल ब्याट्रीबाट चल्ने रिक्सा चलाउन थालेका छन् । 

छोरीलाई भुल्याउन ठग्गु हातमा पाँच दश रुपैंया राख्दिरहन्छन् । छोरी खुर्र नजिकैको पसलमा दौडिन्छिन् र चकलेट बिस्कुट खाइरहन्छिन् । 

राति परेको पानीले आँगन हिलिएको छ । सँधै झिसमिसेमै छोरीलाई एक्लै छाडेर काममा जाने ठग्गुलाई आज घरका अरु काम पनि भ्याउनुछ । 

अलिकति खाना ठग्गुले दिउँसोको लागि छोरीलाई छुट्याइदिए । बाँकि चाहिँ बेलुकीको लागि पोको पारेर दलिनमा झुन्ड्याए । 

आज शनिबार । हप्ताभरिका काम भ्याएपछि ठग्गु मन नलागी नलागी साइकल निकाल्छन् । छोरीलाई एक्लै छाडेर ठग्गु धनगढी बजारतिर लागे । 

छोरी नथाकुन्जेल छिमेकका नानीहरुसँग खेलेर बसिन् । कहिले पानी पर्यो कहिले घाम लाग्यो । बुवाले राखिदिएको खाना खान पनि घर फर्केर गइनन् ।  छिमेकी दिदीले नै भात खान दिइन् । छिमेकीकै फलैंचामा राधिका भुसुक्क निदाइन् । 

साँझ परेपछि ठग्गुले रिक्सा थन्क्याए । बाटोमा छोरीको लागि केही फलफूल किने र उही साइकल ठेल्दै डेरातिर लागे । 

अँध्यारो भइसकेको थियो । छोरी वरपर थिइनन् । आत्तिँदै ठग्गुले एकछिन छोरीको खोजि गरे । यो वेचैनी ठग्गुको दैनिकी बनिसकेको छ । 

छोरी टुप्लुक्क घर छेउमै देखा परिन् । बाउ छोरी उही छाप्रोभित्र छिरे । 

दिनभरि बासँग न्यास्रिएकी छोरी निन्द्राले समात्दै लगेपछि रुन थालिन् । ठग्गु पनि छोरी सँगै रुन थाले । 

आज खै किन हो ठग्गुलाई भोक लागेन । विहान दलिनमा झुन्ड्याएको भातको पोको यस्सै रह्यो । 

छोरीलाई ठग्गुले तेल लगाइदिए । छोरी निदाएपछि ठग्गुले डेराको ढोका बन्द गरे ।

Maun Katha EP42

उनीहरु हामीले बोलेका आवाजहरु कानले सुन्न सक्दैनन् । 

धेरैजसोले आमाले माया गरी बोलाएको, चरा कराएको, हावा चलेको, रेडियो बजेको, सडकमा गाडीले हर्न बजाएको, कसैले गाली गरेको यी आवाजहरु सुन्न सकेनन् । आवाजको दुनियाँसँग उनीहरु बेखबर छन् । 

मिठो आवाज कस्तो हुन्छ, कर्कश आवाज कस्तो हुन्छ । मसिनो आवाज, ठूलो आवाज, मायालु आवाज, रुखो आवाज, सुनिरहुँ लाग्ने आवाज, सुन्नै मन नलाग्ने आवाज, वर्षौंपछि पनि सम्झनामा आइरहने आवाज – आवाजका अनगिन्ति विविधताहरु उनीहरुको कानको लागि केवल मौनता हो । 

आवाज कस्तो हुन्छ भन्ने थाहै नभएपछि त्यसलाई व्यक्त गर्न पनि सकिने कुरा भएन । हामीले आमा, मामा, दिदी, आलु, फूल, स्कुल भन्दा कस्तो ध्वनि निस्किन्छ त्यो पनि उनीहरुलाई कहिल्यै थाहा भएन । त्यसैले उनीहरु बोल्न पनि सक्दैनन् । 

सिराहाका यो बहिरा स्कुलमा ८० जनाजति पढ्छन् । धेरैजसो छात्रावासमा बस्छन् । कतिपय वरपरका गाउँबाट दिनहुँ आउने जाने गर्छन् । 

संजय दास यही स्कुलमा पढेका हुन् ।अहिले उनी यहि स्कुलमा पढाउँछन् । विहानदेखि बेलुकासम्म यहाँका नानीहरुसँग समय बिताउनु उनको दैनिकी हो । 

बर्दिबास माइतीमा बसेर स्कुल पढाउने सन्जयकी श्रीमती सुधा गौतम पनि कान सुन्दिनन् ।

महोत्तरी घर भएकी लक्ष्मी विक स्वयंसेवकको रुपमा १ वर्षअघि यहाँ आएकी थिइन् । उनले यो भेगमा बोलिने मैथली मात्र होइन साङ्केतिक भाषा समेत मज्जाले सिकिसकिन् । हामीलाई उनले दोभाषे बनेर सघाइन् । 

अरु स्कुलमा जस्तो केटाकेटी कराएको, होहल्ला गरेको, गफ गरेको, साथीलाई बोलाएको – यहाँ सुनिदैन । उनीहरु सबैजना मनले सुन्छन् र मनको कुरालाई संकेतमा उतारेर संवाद गर्छन् । 

अरु स्कुल जस्तै विहानी सत्र, परेड, व्ययाम र राष्ट्रिय गानबाट दिनको सुरुवात हुन्छ । विद्यार्थीहरु सांकेतिक भाषामै राष्ट्रिय गान गाउँछन् । 

बोल्न र सुन्न नसक्ने भए पनि यहाँका हरेका वालवालिका अरुजस्तै छन् । सबैका अआफ्ना स्वाभाव छन् । कोही धेरै चकचक गर्छन् । कोही शान्त बस्छन् । कोही हसिमजाक गर्छन् । कोही सुन्दर चित्र बनाउँछन् । कोही गणितमा अब्बल छन् । कोही नेपालीका कथा कविता रुचाउँछन् । अनि हरेकका तेजिला मस्तिष्कमा धेरै सपनाहरु छन् । 

बोलेर सिकाउन नसकिने भएकाले वालवालिकालाई मोबाइल र प्रोजेक्टरमा थरिथरिका चित्र र भिडियो देखाएर सिकाउने गरिन्छ । नानीहरु पनि यसमै रमाइलो मान्छन् । 

केही समयअघि विद्यालयका सबै शिछक भेला भएर युट्युबमा गजेन्द्र सरको कथा हेरेका रहेछन् । 

स्कुलमा नौला मान्छे आएको देख्दा सबैजना रमाए । कोही नाच्न थाले । कोही खेल्न थाले । कसैले नाटक देखाए । कसैले चित्र बनाए । 

आफ्ना माया गर्ने परिवारसँग ‍टाढिएर छात्रावासमा बस्ने नानीहरु कहिले काहिँ भिडियो कलबाट आमाको न्यास्रो मेटाउँछन् । 

बर्दिबास माइतीमा बसेर स्कुल पढाउने सन्जयकी श्रीमती सुधा गौतम पनि कान सुन्दिनन् । सन्जय मोबाइलमा भिडियो कल गरेर श्रीमती र छोरीसँग साङ्केतिक भाषामै माया साट्छन् । 

आज संजयकी श्रीमती र छोरी उनलाई भेट्न आउँदैछन् । उनीहरु माडर नजिकै गाउँको घर पुगे । 

झन्डै २५ वर्ष पहिले सिराहाका गङ्गराम यादव मज्जाले कान सुन्थे । तर बिस्तारै उनको सुन्ने क्षमता हराउँदै गयो । एकदिन त उनले ठ्याक्कै सुन्न छाडे । 

जवान हुँदाबखतसम्म कान सुन्ने भएकाले त्यतिबेलासम्म सुनेका ध्वनिहरु गङ्गराम उच्चारण गर्न सक्छन् । तर गङ्गाराम आफ्नो मुखबाट निस्केका आवाज आफैं सुन्न सक्दैनन् । उनको लागि उनी मुख मात्रै चलाइरहेका हुन्छन् ।  

कान सुन्न छाडेपछि आत्तिएका गङ्गाराम छरछिमेकको व्यवहारबाट झन् दुःखी भएका थिए । तर गङ्गरामले दुःखलाई जिते । 

गीत संगीतमा रुचि राख्ने गङ्गारामले गितका छन्दहरु पनि बिर्सिन थाले । अझै पनि गाउँ गाउँ लाग्छ तर लय भर्न सक्दैनन् । 

उनले बहिरा स्कुल खोलेपछि धेरै जनाले यहाँ पढ्न पाएका छन् । बहिराहरुलाई घर परिवार र समाजले गर्ने नमिठो व्यवहार पनि बदलिँदैछ ।

Ruwako Katha EP41

६१ वर्षकी शान्ता सानी हुँदा तेह्रथुमको पहाडमा छोरीहरुले पढ्न पाउँदैन थिए । उनका बुबा रामनाथ दाहाल परिवर्तनका लागि पन्चायतविरुद्ध लड्दै थिए । शान्ताले स्कुल जाने अवसर पाइन् । 

मायादेवी सिटौला पनि यस्तै राजनीतिक चेतनाको लहरबिच हुर्केकी थिइन् । उनले घरभित्रैबाट ससाना विद्रोह सुरु गरिन् । 

मुना उप्रेतीले आमाका न्यानो काख महशुस गर्नै पाइनन् । 

गोमा विमलीले श्रीमानको अत्याचार सहनुसम्म सहिन् । 

बुवा मारिएपछि शान्ताको पढ्ने सपनालाई घर व्यवहार र गरिबीले थिच्यो । छोराछोरी हुर्काएपछि शहिदकी छोरी ऋण तिर्ने उपाय खोज्दै इजरेलतिर लागिन् । 

श्रीमानले धाेका दिएपछि मुनाले पनि इजरेलको बाटो रोजिन् ।  गोमालाई पनि इजरेलले नै बोलायो । मेनुका घिमिरे पनि इजरेल पुगिन् ।

जिन्दगीमा धेरै कठीन बाटाहरु हिँडिसकेका उनीहरु लगभग थाकिसकेका थिए । वर्षाै विदेसिएर फर्किदा पनि व्यवहारको बोझ उस्तै थियो ।

त्यति नै बेला नाती पुस्ताको एउटा केटो काठमाण्डाैको र‌गमञ्च छोडेर गाउँ फर्केको थियो । प्रकाश दाहालसँग एकाध नाटक र केही थान सपना थिए ।  नाटक हेर्न आएकी शान्तासँग उनको चिनजान भयो । 

सानैदेखि नाच्न गाउन रुचाउने शान्तालाई नाटकले तान्यो । प्रकाशसँग मिलेर नाटक बनाउने सल्लाह भयो । 

नाटक जस्तै जिन्दगी बाँचेका सङ्गीहरुलाई पनि शान्ताले मन्जुर गराइन् । 

नाटकको तयारी भयो । महिनौंसम्म प्रकाशले उनीहरुलाई अभिनय सिकाए । 

डुली हिँड्ने लेखक चे शंकरलाई नाटक लेख्न भनि प्रकाशले झापा बोलाए । चे शंकरले उनीहरकै जीवन कथा सुने र त्यसैलाई नाटक बनाईदिए । 

अाधासरो  जिन्दगी अरकै खुशीको लागि बित्यो । अहिले अाफ्नै लागि रमाउन सिकेका छन् । 

र‌गमञ्चले उनीहरको जीवनमा रंग भरेको छ । 

त्यो वेदना त्यो चेतना । त्यो साहस त्यो संघर्ष । त्यो आँट त्यो लगन । त्यो मातृभूमि त्यो परभूमि । त्यो सङ्कल्प त्यो समर्पण । त्यो शक्ति त्यो साथ । त्यो आफ्नो त्यो विरानो । त्यो उतार त्यो चढाव । तीनै जिन्दगीमा प्रकाश दहाल र चे शंकरले नाटक बनाए रुवा । हामीले रुवाको कथा बनायौं ।

Ghumanteko Katha EP40

उनीहरु घुमन्ते जीवन बिताउँछन् । वस्तुभाउको अाहारविहार र खान्की अनुसार जिन्दगीकाे रुटिन पनि फेरिन्छ । जता जता तिनले डोर्याउँछन् यिनको यात्रा त्यतै सोझिन्छ ।

Aaune Janeko Katha EP39

५० को दशकमा गाउँगाउँमा द्वन्द्वको आगो सल्किएको थियो । पश्चिम रुकुमको एउटा विकट गाउँको दलित परिवारमा छाक टार्न धाै धाै थियो । भर्खर १० – १२ वर्षमा पाइला टेक्दै गरेकाे एउटा वालकलाई युद्धका नाराहरुले लोभ्यायो । त्यो बालक युद्धको बाटो हिड्यो । खारामा एकदिन डरलाग्दो लडाईं भयो र त्यो बालक हरायो ।

#HerneKatha #AauneJanekoKatha

Eighteen years ago, a young Maoist boy disappeared from a battlefield.

========================
💁‍♂️💁‍♂️💁‍♂️ Support Us 💁‍♂️💁‍♂️💁‍♂️
Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support production cost of Herne Katha.
🙏 Support us on Patreon: https://bit.ly/2BrQzlQ

==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.

👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on YouTube.

🚀🚀🚀 Production Team for This Episode 🚀🚀🚀
🎥 Cinematographer – Jeevan Rijal (https://www.facebook.com/jeevan.rijal.58)
👩 Presenter – Bidhya Chapagain (https://twitter.com/cbidhya)
🎬 Director – Kamal Kumar (https://twitter.com/qamalqumar)

Some footages of this episode is shot on #Galaxynote10plus

👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: https://www.imdb.com/title/tt8103440/
👉 Facebook: https://facebook.com/hernekatha
👉 Twitter: https://twitter.com/hernekatha
👉 Instagram: https://instagram.com/hernekatha
👉 Website: https://hernekatha.com

🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
Please contribute English (or any other language) subtitles to our video: http://bit.ly/hernekathasubs

💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.

💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email.

📺📺📺 For Broadcasters 📺📺📺
If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com

🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.

🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people’s stories in bold and beautiful style. Share your ideas with us. We love ideas.

😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.

Sapanako Katha EP38

रौतहटको चन्द्रनिगाहपुर महिला फूटवलमा नाम चलेको ठाउँ रहेछ । यहाँका चेलीहरु कसरी फूटवलमा पोख्त भए भनेर बुझ्न हामी त्यही पुगेका थियौं ।  एकाविहानै जंगल छेउको चौरमा धमाधम अभ्यास हुँदै थियौं । 

पहिले शेरबहादुर दर्लामी केटीहरुले पनि फूटबल खेल्नु पर्छ भनेर घर घर पुग्थे । त्यो बेला छोरीहरुलाई हाफ प्यान्ट र टिसर्ट लगाएर खेल्न पठाउन आमा बा ले सजिलै मान्ने कुरा थिएन । शेरबहादुर साइकल ठेल्दै गाउँठाउँ पुग्थे र खेलाडी बटुल्थे । 

बिस्तारै फूटबलमा केटीहरु बलिया बन्दै गए । चुलो चौको र घाँस दाउरा गर्ने दिदीहरु खेलाडी भएर चरा जस्तै देश विदेश  घुमेको देख्दा बहिनीहरु लोभिन्थे । यसरि नै फूटबलले तानेको थियो सपना राईलाई । 

शेरबहादुर दिनरात खटिँदै थिए । चपुरका चेलीहरुको नाम चल्दैथियो । शेरबहादुरले देखेका सपना अझै फराकिला हुँदै थिए । विभागीय टोलीहरु सशस्त्र सेना र प्रहरीलाई चपुरले हराउन पाएको थिएन । उनीहरुलाई एक पटक जित्ने सपना देख्दा देख्दै शेरबहादुरले संसार छाडे । 

फूटबलको धरहारा ढलेपछि चपुरका चेलीहरु शोकमा परे । पढाई बिर्सेर वर्षौं मैदानमा बलको पछाडि दगुरेकाहरु आत्तिए । 

शेरबहादुरका छोरा चित्र कुमारले बाबुको सपना नजिकबाट देखे बुझेका थिए । उनले अठोट गरे चेलीहरुलाई म सिकाउँछु । उनीसँगै नुरराज काफ्लेले पनि सपना देखे । १३ दिनसम्म शोकमा मैदान खालि भयो । त्यसको दुई दिन पछि चपुरमा फेरि सुरु भयो फूटबल सपना । 

चित्र कुमार र नुर राजको पहिलो जिम्मेवारी गुरुले देखेको सपना पुरा गर्नु थियो । गुरु बितेको दुई वर्ष नपुग्दै उनीहरुले तयार पारेको चेलीका टोलीले सेना र प्रहरीको टोलीलाई हराइदियो । गुरुको सपना मुस्कुरायो । सशस्त्रलाई जित्ने मौका अझै आइसकेको छैन । 

भोलि यो टोली काठमाडौं जाँदैछ । उपमेयर कप फूटबल खेल्न । 

यहाँ फुटबल खेलेर गाउँ ठाउँको नाम रोशन गर्ने धेरजसौका परिवार माटो मजदुरी गर्ने रहेछन् । सपना राईका बुबा बजारमा ठेला चलाउने र भारी बोक्ने काम गर्छन् । 

सबिना चौधरी पनि असाध्यै राम्रो खेलाडीमा दरिन्छिन् ।हामी सबिनाको घर पुग्दा उनकी आमा घरमा थिइनन् । 

दाउरा बेच्ने र गिट्टी कुट्ने उनकी आमाले सक्दो बल दिएकी छिन् छोरीलाई ।

सबिना कुनै दिन बुबाको औंला समातेर पहिलो पटक यो मैदानमा छिरेकी थिइन् । फूटबल सिक्न ।

शेरबहादुर गुरु बितेकै ताका बुबा बिते । काठ बोक्ने मजदुरी गर्दा काठकै भारिले थिचिएर । 

सबिनाकी आमालाई व्यवहारले थिच्यो । केही महिना विदेशिइन् । छोराछोरीको मायाले तान्यो । फर्केर आइन् । घर बन्धकीमा छ । तर उनले बितेका श्रीमान् र छोरी सबिनाको सपनालाई बन्धकीमा राखेकी छैनन् । 

आज सबिनाकी आमा दाउरा खोज्न जंगल जाँदैछिन् । सबिना पनि कहिले काहिँ आमालाई सघाउन जान्छिन् । 

राति सबिना र सपनाले झोला कसे । भोलि विहानै घर छाडेर काठमाडौं जानुछ । ७६ वर्षको उमेरमा नदेखेको संसार २० वर्षकी नातिनीले देख्दा सपनाका हजुरबुबा गर्वले धपक्कै हुन्छन् । 

आज काठमाडौं हिँड्ने दिन । विहानीपख सपना बारीमा मकै भाँच्दै थिइन् । 

घरबाट सबै चेलीहरु विदावारी भए । सपनाका हजुरबुबाले बाटो खर्च थमाइदिए । 

रमाना हुनुअघि सबैजना मैदानमा पुगेर स्वर्गिय गुरुको तस्बिरमा फूल चढाए । चपुरका चेलीहरुलाई दुइवटा टाटा सुमो पर्खिरहेको थियो । उनीहरु उपमेयर कप फूटबल खेल्न काठमाडौंतिर लागे । 

सबिनाकी आमा सोच्दैछिन्: घरको ऋण चुक्ता गर्न जोर्डनतिर जानु पर्ला ।

Sangeetko Katha EP37

संगीतजस्तै, जिन्दगी आरोह अवरोहको धुन रहेछ । कहिले उज्यालो कहिले अँध्यारो आकाशको जुन रहेछ । जिन्दगीका कतिपय लयहरु यसै यसै विलय भएपछि संगीतलाई साथी बनाएका जीवन्त जिन्दगीहरु इटहरीमा भेटिए ।
#HerneKatha #SangeetkoKatha

Stories of three different lives from Eastern Nepal who have befriended music. We met them at a music school run by Sunita Katwal in Itahari. Story of Music – Herne Katha Episode 37

========================
💁‍♂️💁‍♂️💁‍♂️ Support Us 💁‍♂️💁‍♂️💁‍♂️
Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support production cost of Herne Katha.
🙏 Support us on Patreon: https://bit.ly/2BrQzlQ

==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.

👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on YouTube.

🚀🚀🚀 Production Team for This Episode 🚀🚀🚀
🎥 Cinematographer – Jeevan Rijal (https://www.facebook.com/jeevan.rijal.58)
👩 Presenter – Bidhya Chapagain (https://twitter.com/cbidhya)
🎬 Director – Kamal Kumar (https://twitter.com/qamalqumar)

👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: https://www.imdb.com/title/tt8103440/
👉 Facebook: https://facebook.com/hernekatha
👉 Twitter: https://twitter.com/hernekatha
👉 Instagram: https://instagram.com/hernekatha
👉 Website: https://hernekatha.com

🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
Please contribute English (or any other language) subtitles to our video: http://bit.ly/hernekathasubs

💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.

💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email.

📺📺📺 For Broadcasters 📺📺📺
If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com

🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.

🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people’s stories in bold and beautiful style. Share your ideas with us. We love ideas.

😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.

Eauta Yatrako Katha EP36

कतिपय यात्राहरु रहर हुन्छन् । कतिपय बाध्यता । हातमुख जोर्न सप्तरी गोबरगाडा टापुका मान्छेहरु दिनरात कोशीमा हेलिँदै बाध्यताको यात्रा गर्दा रहेछन् । हामीले पनि उनीहरुसँगै यो यात्रा गर्ने रहर गर्यौं । 

सप्तरी हनुमाननगरसम्म हामी मोटर चढेरै गयौ । त्यसपछि पैदल । हनुमाननगर बजारमा डेरा लिएर दश कक्षामा पढ्ने शंकर यादब साइकल ठेल्दै अघि लागे  । हाम्रो टोली उनकै पछि लाग्यो । 

बलौटे खेतका ससाना आली र बालुवामा टेक्दै हामी पहिलो भँगालो छेउ पुग्यौं । हामीसँगै हिँडेका शुभसागर र अजयले जुत्ता चप्पल वारी नै छाड्न सल्लाह दिए । हामीले बाँकि यात्रा खाली खुट्टा गर्ने भयौं । 

आँखाले भ्याउन्जेलसम्म बालुवा र माटो मात्रै देखियो । यस्ता थुप्रै जँधार तर्नुपर्छ रे ।माैसम सफा थियो । नीलो आकाश । नदी तरेपछि यस्ता अनगिन्ती काँसघारी र घाँसे मैदान छिचोल्दै हामी अघि बढ्यौ । पर पर बस्तुभाउका बथानहरु देखिन्थे । सुनसान बाटो । आफ्नै पाईलाका आवाजहरु पनि प्रष्ट सुनिने ।

बाटोमा तरेका साना ठूला जँघारहरु त हामीले गन्नै छोडिदियौ । 

हनुमाननगरमा आज हाट लाग्ने दिन । बजारले मान्छेलाई बोलाएको थियो । दुध बेच्नेहरु, नुनतेल गर्न बजार हिँडेकाहरु बाटैभरि भेटिए  । यो यात्रामा पर्ने सबैभन्दा ठूलो नदी हामीलाई पर्खिरहेको थियो । अजय र शुभसागरले माझीदाईलाई डाके । 

धन्न हाम्रो डुङ्गा पल्टिएन । नदी पार गरिसक्दा हामी सबै आत्तिएका थियौ । लामो श्वास तान्यौ र केही बेर नदी किनारमै सुस्तायौ । 

हामी सँगै हनुमान नगरबाट आएका शंकरको घर पुग्यौ । नौला मान्छेहरुलाई गाउँघरमा असाध्यै प्यारो गर्ने । हामीलाई एकराते दही पनि खुवाए ।

गाउँको पुछारमा पर्ने मुसहर टोलमा आज पूजा रहेछ । गाउँभरिका आइमाइ केटाकेटी त्यहीँ भेला भएका थिए । 

घाम अस्ताउने बेलामा हामीले फर्किने सुर गर्यौं । उत्तरतिरको आकाशमा बादल मडारिएको थियो । पहाडमा कतै पानी परेजस्तो छ । अब नदी र जंघारहरु पनि बढ्छन् । उनीहरुले सुनाए ।

गाउँ छिर्ने अलि ठूलो भंगालोमा अघिको भन्दा पानी निकै बढेको थियो । तत्काल डुंगा बोलाउन सम्भव थिएन ।  घाम अझै पश्चिम लाग्दै थियौ । अघि बढ्ने कि गाउँ फर्किने ! हामी दुविधामा पर्यौ । 

संगै फर्केका अजय र शुभसागरले पानीको गहिराई नापे । उनीहरुले पानीमा बनाएको बाटो पछ्याउँदै हामीले भंगालो तर्यौ ।

Biteka Katha EP35

अस्ति भर्खर जस्तो लाग्छ सल्यानकी चेतना बोहोरालाई अन्यायविरुद्ध लड्न बन्दुक उठाउनु पर्छ भन्ने चेतना आएको । आमालाई फकाएर युद्धको मोर्चामा हिँडेकी चेतना अहिले आफैं आमा भएकी छिन् ।  हेटौंडा छेउमा आजकल घरपरिवारको मोर्चा सम्हाल्छिन् । चेतनाकै घरसँगै निर्मला वाइवाको घर जोडिएको छ । उनीसँग शरिरभरि गोलीका डोब छन् र मनभरि सम्झनाका डोबहरु, बितेका कथाका । 

हेटौंडा बजारबाट पूर्व चुरे फेदीमा सिमात, बकैया नदीछेउ छतिवन गाउँ थियो । अहिले पनि छ । हातमा कुटो कोदालो बोक्ने यहाँका मान्छेहरुलाई पनि लाग्यो परिवर्तनको लागि कोदालो होइन बन्दुक पो बोक्नु पर्नेरहेछ । कसैले बन्दुक बोके कसैले विचार । नेपालका अरु धेरै गाउँ जस्तै छतिवन गाउँ पनि युद्धमा होमियो । 

सानैदेखि नाच्न गाउन रुचाउने सङ्गम राई स्कुलमा सँधै फर्स्ट हुन्थे । गाउँका मामा काका र दिदीहरु माओवादीमा लागेको देखेर उनी पनि होमिए । उनले मादल र गितार रोजे । मादलहरु पनि उतिबेला बन्दुक जस्तै पड्किन्थे । थुप्रै गाउँबस्ती डुलेर उनी मान्छेहरुलाई क्रान्तिका गीत सुनाउँथे । 

संगम राई ‘पृथ्वी’

युद्धमा सहयात्री भेटिए । धेरै आँखै अगाडि निर्जिव भए । ती यात्राका कतिपय साक्षीहरु अझै छन् । पहिले परिवर्तनका धुन बजाउँथे ।

श्यामसुन्दर थपलिया ‘सरगम’

आजकल आफ्नै जिन्दगी र घर व्यवहारका धुनहरु । सङ्गम राई, हेमन्त रुम्बा र श्यामसुन्दर थपलिया धेरै हिँडे । सँगै हिँडे । 

संगम राई, हेमन्त रुम्बा र श्यामसुन्दर थपलिया

हेटौंडा बजार । संगम चोक छेउछाउमा राधिका बिक दिनभरि ठेलामा तरकारी बेची बस्छिन् । उनी पनि ठूला परिवर्तनका सपना बोकेर युद्धमा लागेकी थिइन् । 

राधिका बिक

पार्टीको संगठनका मोर्चाहरुको नेतृत्व गर्दै हिँड्ने राधिका बिस्तारै थाकिन् । उबेला उनले देखेका सपनाहरु ओइलाइ गएका छन् । उनका ठेलामा नबिकेर यसै बसेका तरकारीहरु जस्तै । 

तरकारकी ठेला डुलाउँदै राधिका बिक

बजारभित्रको साँघुरो गल्लीमा एक कोठे डेरा छ । एक छोरा र एक छोरी छन् । छोरा कोरिया जाने सपना बुनेर बसेका छन् । 

हेटौंडामा राधिका विक

माओवादी  लडाकूहरु क्याम्पभित्र राखिएपछि चेतनाको जिन्दगीको पहिलो अध्याय लगभग सकिएको थियो । क्यान्टोनमेन्ट भित्र उनले श्रीमान् भेटिन् । शिविरबाट निस्किएपछि हेटौंडा छेउ कमानेमा जिन्दगीको एउटा स्थायी शिविर जस्तै सानो घर बन्यो । 

बितेका कुराले चेतनालाई पिरोल्छ । समाज परिवर्तनका थुप्रै सपनाहरु बुनेर हिँड्ने चेतना आजकल घरमा गलैंचा बुनेर बस्छिन् । 

चेतनाको एउटा पुरानो तस्बिर ।

छतिवनका पुराना भित्ताहरुमा युद्धकालका नाराहरु अझै कतै कतै मेटिएका छैनन् । बितेका कुराका सम्झना त झन् कसरि मेटिएलान् र । साथीभाइ, दिदीबहिनी –  धेरैको रगत सिमात खोलामा बगेको थियो । कोही सालिक भएका छन् कोही सम्झना । 

देशविदेशको हण्डर खाएर आएपछि सङ्गमले घरजम गरे । हेटौंडा बजारछेउ श्रिमतीसँगै चमेनागृह सुरु गरे । कहिले काहिँ आमाबा लाई भेट्न छतिवन आउँछन् । 

कक्षामा सँधै फर्स्ट हुने सङ्गमका धेरै साथीभाइ डाक्टर इन्जिनियर बने । बुर्जुवा शिक्षाको किताब मिल्काएर युद्धमा हिँडेका सङ्गमले बर्षौंपछि कक्षा दशमा नाम लेखाएका छन् ।