कथानक चलचित्रका काल्पनिक नायकहरुको पो सँधै सफलताको कथा हुँदो हो । दन्त्यकथाका मायावीहरुले जादूका छडी घुमाएरै अमृत वर्षा गराउँदा हुन् ।
कथानक चलचित्रका काल्पनिक नायकहरुको पो सँधै सफलताको कथा हुँदो हो । भूइँमा उभिएको मान्छेको जीवन त; कहिले फूल, कहिले काँडा ।
आँखा चिम्लिँदा पो शितल सपना, आँखा खोल्दा त पोल्ने यथार्थ । सफल मान्छेका कथा त जति पनि लेखिन्छन्, भनिन्छन् । तर असफलताको कथा कसले भन्ने ?
द्वन्द्वको राप र ऋणको ताप, दुबैले पोलेपछि, नेपाली सेनाको भर्खर सुरु गरेको जागिर छाडेर ६० सालतिर अरब उडेका थिए स्याङ्जा, वालिङका भिम लुइँटेल ।
भोको पेटले सपना देख्दैन । ऋण लागेर शेष भएका बेला देशको माया दोस्रो नम्बरमा ।
उमेरका केही भर्भराउँदा वयहरुसँग ऋणका तमसुकहरु साटिसकेपछि बल्ल भिमलाई देशको माया लाग्यो । हातमा ४ लाख र आँखामा लाखौं लाख सपना बोकेर उनी नेपाल फर्किए ।
४ लाखले किराना पसल खुल्यो । ३ लाख बैंकको ऋणले बंगुर फारम खुल्यो । भीम र परिवारको सफलताको कथा सुरु भयो ।
३ लाखको लगानी ९ करोड पुग्यो । भीम लुइँटेलको बङ्गुर फारमले दाम मात्र हैन नाम पनि कमायो ।
अचानक बङ्गुरमा देखिएको रोगले बजारमा लान ठिक्क पारेका १२-१५ सय बङ्गुर मरे । एउटा फार्म नै रित्तियो । बाँकि भएका बङ्गुरलाई दाना खुवाउनै सकस हुन थालेको छ अहिले । भिम यतिखेर असफलताको कथा भोग्दैछन् ।
त्यो सफलतादेखि यो असफलतासम्म धेरै कुरा फेरिएको छ । तर भिमको भिमकाय आत्मविश्वास र अनुहारको मुस्कान फेरिएको छैन ।
आजकल पहाडका गाउँहरु रित्तिन थालेका छन् । बसाईं सर्नेहरुको ताँती छ । कसैलाई सपनाले बोलाएको छ । कसैलाई बाध्यताले लखेटेको छ । बैतडी सदरमुकाम छेवैका गाउँहरुलाई चाहिँ बाँदरले लखेटेको छ ।
उनी हुन् लिला गुरु – दशरथचन्द नगरपालिकाको ८ नम्बर वडाकी वडा सदस्य । आज हामी उनीसँग गोठालापानी बजार छेउछाउका गाउँहरु डुल्दैछौं । रित्तिँदै गरेका गाउँहरु ।
रारा ताल भन्दा अली तल चुँगा भन्ने गाउँ छ । त्यहाँ बस्छन् लक्ष्मी विक र कृष्णदेवी विक । उनीहरु साथी साथी हुन् । दुबै जनाकाे एक एकवटा घाेडा छ । लक्ष्मीकाे घाेडाकाे नाम हिमाल कृष्णमायाकाे लक्की । आज हामी यी साथीका कथा देखाउँछौं ।
लक्ष्मीकाे घाेडाले विहानकाे पारिलो घाम ताप्दैछ । लक्ष्मीलाई आज पनि रारा ताल जानुछ । उनी रारा ताल घुमाइदिने गाइड हुन् ।
लक्ष्मीकाे आमालाई घाेडा चलाउन आउदैन रे तर छाेरीले घाेडा चढेर हिडेकाे देख्दा भने उनलाई खुसी लाग्छ ।
कृष्णदेवीकाे घाेडा लक्कीले काेदाेकाे नल खादैछ । लक्की र कृष्णदेवी पनि आज रारा जानेछन् ।
लक्ष्मी र कृष्णदेवीले घाेडालाई लगाम लगाइदीए । उनीहरु सँगै गाेपाल विक पनी मिसिन आए । उनकाे घाेडाकाे नाम चाहीँ बादल ।
उनीहरुको विद्यालय पनि टाढा छ । रारा ताल पनि टाढा छ । घोडा लिएर रारा गयो भने २-४ पैसा कमाई हुन्छ ।
हिमाल, लक्की र बादल भिरै भिर दाैडिए, उकालै उकालाे दाैडिए, ओरालै ओरालाे दाैडिए, साँघुरा बाटाेमा पनी दाैडिए अनी पानीमा पनी दाैडिए ।
सल्लेरीमा कती घेरै घाेडा ! उनीहरुले पनी घाेडा विसाए ।
उनीहरु, अब ! रारा घुम्न जाने मान्छे खाेज्दैछन् ।
सेताे जिप चढेर मान्छेहरु आए । लक्ष्मी, कृष्णदेवी र गाेपाल ती मान्छेहरुलाइ फकाउन गए ।
घुम्न आएका मान्छे घोडा चढ्न राजी भए । लक्ष्मी र कृष्णदेवीले पाहुना चढेको घोडा डोर्याउन थाले ।
केही वर्षअघि दैलेखको तल्लो डुङ्गेश्वर हुँदै यात्रा गर्दा नजिकैको वादी बस्तिबाट आएका फूल जस्ता नानीहरुले घेर्थे र आफ्ना जादुयी आवाजका बास्ना छर्थे । यसपालि बाटोमा गीत गाउने नानीहरु नदेखेपछि हामी उनीहरुको बस्तितिर लाग्यौं । नाम नयाँ बस्ती – तर अझै पुराना पीडाहरु |
केही वर्षअघि दैलेखको तल्लो डुङ्गेश्वर हुँदै यात्रा गर्दा नजिकैको वादी बस्तिबाट आएका फूल जस्ता नानीहरुले घेर्थे र आफ्ना जादुयी आवाजका बास्ना छर्थे ।
यसपालि बाटोमा गीत गाउने नानीहरु नदेखेपछि हामी उनीहरुको बस्तितिर लाग्यौं । नाम नयाँ बस्ती – तर अझै पुराना पीडाहरु बाँचिरहेका केही झुपडीहरु ।
नयाँ कथा
भोको पेटमा कतिन्जेल गाउनु कतिन्जेल नाच्नु । सरकारले बनाइदिएका ३० वर्गमिटरका दिवालभित्र न खोला भेटिन्छ, न माछा भेटिन्छ । न त भेटिन्छन् न्यानो लुगा र किताबहरु ।
मान्छेहरु कालापहाडतिर कमाउन जान्छन् ।
नयाँ बस्तिबाट टाढा कतै सुर्खेतमा एउटा नयाँ घर छ । यो घर यही बस्तिका वालवालिकाले भरिएको छ ।
यहाँ बस्ने १ सय १० जना वादी वालवालिकाको अभिभावक बनेका छन् हिक्मत वादी । छोरा र छोरीहरु छुट्टा छुट्टै घरमा बस्छन् ।
उही माटोमा हुर्केका हिक्मतले एसएलसीसम्म पढ्न पाए । आमा र दिदीबहिनीका दुःख देखे । आफ्नो समुदायमाथि भएका हेला र विभेद भोगे ।
थोरबहुत पढाईले हिक्मतलाई अलिकति सुधारिएको जिन्दगी दियो । उनले भारी बोक्ने देखि पसल थाप्नेसम्मका काम गरे ।
व्यापार व्यवसायले आफ्नो मात्र जिन्दगी फेरियो । वादी बस्ति अझै मागेरै गुजारा गर्दैथियो ।
हिक्मतलाई लाग्यो वादी वस्तीका नानीबाबुलाई नपढाएसम्म विभेद र गरिबीको कथा सकिने छैन ।
हिक्मतले चलाएका होस्टलका कथा कुनै फ्लप चलचित्र भन्दा कम छैन । कहिले साहुले लखेट्छन् । कहिले बाटोमै कुटाई खान्छन् । कतिपटक डेरा सरियो भनी साध्ये छैन ।
लाज नै लजाउने गरी शहर भरी बदनाम बनिदिन्छन् हिक्मत यी अवोध नानीहरुको मुस्कानको खातिर ।
हिक्मत थाकेका छैनन् । न त थाकेकी छिन् उनकी सँगिनी सङ्गीता । जसको घडी यिनै नानीबाबु वरिपरि मात्र घुमिरहन्छ ।
आँखाभरि बस्ने निला आकाश, कावा खाइरहेका चराहरु, सङ्ला नदीहरु, हिउँले छपक्कै ढाकेका बुकीहरु । आहा दुर्गम त कस्तो सुन्दर । यी मुस्कुराइरहेका हिमालमन्तिर जब तुल्सीले जिङ्ग्रिङ्ग परेका रोगी गाउँहरु देखिन्, उनले मनमा खोपिएका अक्षर पढिन् – उनको काम सन्चो पार्ने हो ।
Durgamki Doctor ko Katha
Episode 104 – Durgamki Doctor ko Katha
बितिसकेको उमेरले दिएका केही सम्झनाहरु र खोसिसकेका केही सपनाहरुलाई पर कतै छाडिदिएर तुलसी शाही हातमा नयाँ नियुक्ती पत्र बोकेर सिपाही झैं हिमालतिर उक्लेकी थिइन् कुनै दिन – एक्लै एक्लै ।
खै किन हो उनी पटक पटक एक्लिइन् । भारतमा मजदुरी गर्ने आमा बा ले देश सँग एक्लाइदिए । बालखमै बिहे गरिदए, स्कुलसँग एक्लिइन् । २० दिने छोरो उपहार दिएर श्रीमान्ले एक्लाइदिए ।
यी एक्ला पहाडमा बतासले जोड जोड उडाउँछन् कसिङ्गर, छोपिदिन्छ धुलोले आँखा । सपना देख्नेहरु यहाँ आउँदैनन् । सपना देख्नेहरु मात्र यहाँ आउँछन् । भुगोलको नक्सामा पनि धमिलो धमिलो देखिने यी उराठ हिमाली गाउँलाई माया गर्ने उनी एक्ली भइन् ।
दुर्गमकी डाक्टरको कथा
दुर्गमको परिभाषा त उनको कल्पनाको सिमाभित्र सिमित थियो । मुगु सदरमुकाम गमगढी आइपुग्दा पनि उनी पुग्ने टाढाको गाउँ पर कतै छायानाँथको लेकमुनि छेकिएको थियो ।
हावा चल्दा ढुङ्गा खस्ने बाटोमा २ दिन हिँडेपछि कार्मारोङको पुलु गाउँ पुगियो ।
आँखाभरि बस्ने निला आकाश, कावा खाइरहेका चराहरु, सङ्ला नदीहरु, हिउँले छपक्कै ढाकेका बुकीहरु । आहा दुर्गम त कस्तो सुन्दर ।
यी मुस्कुराइरहेका हिमालमन्तिर जब तुल्सीले जिङ्ग्रिङ्ग परेका रोगी गाउँहरु देखिन्, उनले मन खोपिएका अक्षर पढिन् – उनको काम सन्चो पार्ने हो ।
८ कक्षा पढ्दै गर्दा परिवारले अचानक बिहे गरिदिए । छोरो जन्मियो । श्रीमानसँग सम्बन्ध टुट्यो । एक्लै छोरो हुर्काउँदै पढाइ पनि पुरा गरिन् । जिन्दगीले जान अन्जानमा दिएका चोटहरु त कति कति ।
चोटहरुले सजिलै कहाँ पिरोल्छ र तुलसीलाई? उनी अग्राख झैं बलियो बनिदिइन् ।
गुजरात, अछाम, दैलेख, टिकापुर, काठमाडौं – २८ वर्षमै जिन्दगीले त लामो कथा पो लेखिसकेछ ।
अहिले यी गाउँकी डाक्टर्नी हिमालका गाउँहरुमा नयाँ कथा बाँच्दैछिन् । आमाहरुलाई बचाउँदैछिन् ।
उनलाई हिमालसँगै हिमाल मुन्तिरका गाउँहरु पनि हाँसेको हेर्ने रहर छ ।
काठमाडौंमा बसेका छोरालाई सुन्दर भविष्य दिनुछ । अनि पुरा गर्नुछ केही थान बाँकी सपनाहरु एक्लै एक्लै ।
मुगु सदरमुकाम गमगढीबाट छायला भन्ने ठाउँसम्म मुगु-कर्नालीको तिरैतिर बल्लतल्ल गाडी जान्छ । बर्खामा त यो पनि सम्भव छैन । मुगुम कार्मारोङ गाउँपालिकाका १२ गाउँका रासन छायलादेखि कि मान्छेले कि खच्चडले बोक्नुपर्छ । औषधी पनि खच्चड चढेरै गाउँ पुग्छन् ।
Ausadhiko Aspatal Yatra – EP106
छायलामा मान्छेभन्दा धेरै खच्चड देखिन्छन् । कोही सुस्ताइरहेका । कोही चरिरहेका । कोही मन नलागी नलागी एउटा लामो यात्राको भारी उठाउन तम्तयार ।
फुर्सदिला खच्चड गोठालाहरु क्यारेमको गोट्टी ताक्दैछन् । एकातिर छङछङ कर्णाली हल्ला गर्छ । अर्कातिर सामान बोकेर आएका ट्याक्टरहरु हल्ला गर्छन् । पहाडहरु शान्त छन् ।
यहाँसम्म मोटरले ल्याएका औषधी र भ्याक्सीनका बाकसहरु पुलु गाउँको अस्पतालसम्म पुर्याउनु छ । छिटछिटो हिँडे मात्र एकै दिनमा पुगिन्छ । नत्र बास बस्नुपर्छ ।
जुम्लाका लालबहादुर भण्डारी आजको यात्राका पाइलट हुन्न । लालबहादुर जतनले भारी कस्छन् । अनि सुरु हुन्छ भीरै भीरको यात्रा ।
अलिक पर हिँड्ने बाटो ठाडो उकालोतिर मोडिन्छ । तल डोजरले भिर कोट्याउँदैछ । यहाँबाट कता हो कता टाढा हिमालका गाउँसम्म बाटो पुर्याउने सपना, बिपना कहिले हुने हो कसैलाई थाहा छैन ।
लालबहादुरलाई खच्चड र भारीको चिन्ता छ । यस्ता भिरबाट कहिले ढुङ्गा खस्छन् कहिले खच्चड खस्छन् । उनी बेला बेला भारि जाँच्छन् । चुरोट सल्काउँछन् । मोबाइलमा गीत बजाउँदै भीरको बाटो हिँडिरहन्छन् ।
खच्चडले बोकेका औषधी र कोरोनाको खोपको जतन गर्न गाउँपालिकाका कर्मचारी पनि पछि लागेका छन् ।
ढुङ्गेधारा पुग्दा सिमसिम पानी पर्न लाग्यो । साँझ पनि परिसक्यो । आज यहिँ बास बस्ने निधो भयो । लालबहादुरले खच्चडका भारि फुकाइदिए । खच्चडहरु रमाए ।
भोलिपल्ट अस्पतालको एउटा ठूलो सामान छायलाबाट आउँदैरहेछ । चिसोमा राख्नुपर्ने सुई र औषधीहरुको लागि फ्रिज । दराजभन्दा ठूलो यो सामान खच्चडलाई बोकाउन नमिल्ने । हेलिकप्टरबाट ल्याउँदा सामानभन्दा कति गुणा महँगो ढुवानी खर्च नै लाग्ने ।
वैतडी देहीमाण्डुका कृष्ण लावडको सानो संसारमा चट्याङले हानेको घर छ । बाटोले लगिदिएको आँगन छ । लाखापाखा लागेका सन्तान छन् । एउटा मन छ । टाढा ग्वाल्लेकको वन छ । अनि त्यही वनका बुट्याउने खान दिन्छ ।
उनीहरु आज जुम्लाको सिमानातिरबाट फर्केका थिए । साँझ पर्न लागेको थियो । लाग्नामा उनीहरुले थकाइ मारे ।
बारेकोट, जाजरकोट
लाग्ना, △ २८७७ मिटर
उनीहरु आज जुम्लाको सिमानातिरबाट फर्केका थिए । साँझ पर्न लागेको थियो । लाग्नामा उनीहरुले थकाइ मारे ।
ढोटा चौर, △ २७०० मिटर
उनीहरु आफ्नै टोलीका साथी गोविन्द सिँहको घरमा बास बसे ।
गोबिन्द यसरि वनजंगल हिँड्ने दिन पत्नी होइजाली सिँहको मन चिसो हुन्छ । उनी तातो रोटीले श्रीमान् र साथीहरुलाई विदा गर्छिन् ।
टोलीमा केही गाउँलेहरु पनि मिसिए ।
सिउताराको लेक ( देउराली) , △ ३०२८ मिटर
उकालै उकालो हिँडेर उनीहरुका कथा सुन्दै हामी सिउताराको लेक पुग्यौं ।
यहाँबाट अफ्ठ्यारो बाटो सुरु भयो । भीरपाखा हिँड्ने बानी नभएका हामीलाई असाध्यै अफ्ठ्यारो ।
ठाडा भीरका घाँस पन्छाउँदै टेक्ने ठाउँ बनाउँदै दलबहादुर अघि अघि लागे । यहाँ कसैको पाइतालको छाप थिएन । बाटो आफैंले बनाउनु पर्ने ।
अनुभव नभएका हामीलाई पौडी खेल्न नजान्नेलाई पोखरीमा फाल्दिए जस्तै भयो । घाँस र बुट्याउनको सहारा लिँदै ठाउँ ठाउँमा चार हात खुट्टाले घस्रिएर हामी अघि बढिरह्यौं ।
हात खुट्टाले जमिन छाडे भने हामी सयौं मिटर तल बजारिन सक्थ्यौं ।
बाजुराको डोगडी गाउँदेखि भारतको कुमाउँ-गढवालसम्मको दूरी कति टाढा होला ?
यो पहाडदेखि त्यो पहाडसम्मको दूरी किलोमिटर र माइलमा मात्र होइन, बाध्यता र भोकमा पनि नापिँदो रहेछ । बाजुरादेखि पिथौरागढ दुई छाक खाना र केही रोटी मात्र टाढा छ ।
नेपालका दुःखका पहाडहरु छाडी, काली तरेर भारतका पहाडहरुमा सुख खोज्न पुग्ने मान्छेहरुले परदेशी कथा बाँचेको पुस्तौं भयो ।
माघ महिना । दिन ढल्न लाग्दा पनि कुमाउँको पिथौरागढ शहरमा घाम प्यारो छ । छोरा मान्छेहरु थाकेको शरिर लिएर पिठ्युँमा जुटको बोरा टाँसेर यता उती हल्लिरहेछन् ।
धुलाम्मे मैदान छेउ पर्खालमा अडेस लागेर चैती र आफन्तहरु दुःख सुखका वात मार्दैछन् ।
ज्ञानबहादुर उर्फ काले उर्फ छोटु १२ वर्षमै यहाँ आइपुगेका थिए । अहिले त सपरिवार यतैको भइसके ।
नेपालको सम्झनाले बेला बेला भक्कानो छुटाउँछ ।
नेपालका चुनावमा खसालेका मतले किमत नपाएपछि किस्मत खोज्दै आएकाहरु पिथौरागढमा जताततै भेटिन्छन् । उता देश दुखेको छ, यता दिल दुखेको छ ।
“नयाँ कथा: कुमाउँको कथा
साँझ पर्ने बेला हतार हतार बोजु बोक्न दौडिरहेका भक्त बहादुर रावतसँग जम्काभेट भयो । पुरानो सुरुवालको भित्री गोजीबाट पाँच सय भारुको नोट निकाल्दै उनले परदेशमा नेपाली माया पोखे । हाम्रो मुटु बेस्सरी गाँठो पर्यो ।
भक्तले चिया खुवाउने भए । उनका साथी मंगल रावत चाहिँ कफी खाउँ भन्दै थिए ।
हामी उनीहरुसँगै एउटा साँघुरो डेरामा पुग्यौं । अमृत रावतले जुनिभर यही शहरमा भारी बोके । अहिले उनका छोरा मङ्गल भारी भोक्दैछन् । अमृत छोरालाई भेट्न आज मात्र आइपुगेका हुन् ।
पार्वती कठायतका छोरा सोसिन्द्र गाउँमा सँधै पहिलो दोस्रो हुन्थे । पाठशालामा पढाइने अमरसिँह थापा र बलभद्र कुँवरले कुमाउँ गढवाल जितेका वीरताका इतिहासहरुले परिवारको पेट भरेन । सोसिन्द्रले देश छाडे, स्कुल छाडे, र वालखैमा आइपुगे उही कुमाउँ। भोकसँग युद्ध गर्न।
सपरिवार भारतमा मजदुरी गरेको कमाइले गाउँमा ऋण तिर्नुछ । उनी हरेक साँझ यसरि नै हिसाब राख्छन् लिनु पर्ने र दिनु पर्ने ।
आज आइतबार । अलिक फुर्सदिलो दिन । कोही सुस्ताएका छन् । कोही काममा भिडिसके ।
काम सिकाउन पार्वतीले गाउँबाट दिदीकी छोरी लिएर आएकी छिन् ।
पिथौरागढको माझमा गोर्खालीले दुईसय वर्ष पहिले बनाएको किल्ला घामको किरणमा मुस्कुराइरहेछ। सडकमा बलभद्र कुँवर र अमरसिँह थापाहरु भारी बोकिरहेछन्।
Our journey, which began with “Eauta Schoolko Katha” has now reached its 100th milestone with “Ghanaghasyako Ukalo Feri Katda”. We are extremely grateful towards all of you for walking this beautiful journey of life.
एउटा स्कुलको कथाबाट ५ वर्षअघि सुरु भएको हेर्ने कथाको एक सयौं अंकमा हामीले घनघस्याको उकालो फेरि काटेका छौं। मान्छेका जीवनका सुन्दर उकाली ओरालीहरुमा हामी सँधै सँधै भेटिनेछौं । हेर्ने कथाको यात्रा एक सयौं अंकसम्म आइपुगेको छ । मान्छेका जीवनका सुन्दर कथायात्रामा हामीसँगै हिँड्नुभएकोमा तपाईंलाई माया र धन्यवादको ब्ल्याङ्क चेक है ! अनि कथाशताब्दीको उपहार चाहिँ ‘घनघस्याको उकालो फेरि काट्ता’
Ghanaghasyako Ukalo Feri Katda – Episode 100
Ghanaghasyako Ukalo Feri Katda
Half a century ago, Taranath Sharma walked from Jhulaghat, Baitadi to Dadeldhura. His account of this difficult journey, “Ghanaghasya ko Ukalo Katda” was also included in the older Nepali textbook.
ताना शर्माले जस्तै हामीले सतबाँझमा हिउँ खेल्न पाएनौं । हिउँ परेको थिएन । आजकल डडेलधुरा हुँदै बैतडी र दार्चुलासम्म सलल मोटरबाटो पुगेको छ ।
डडेल्धुरासम्मको हाम्रो यात्रा बैतडीको पाटनबाट सुरु भयो । ताना शर्माले पहिलो दिन यसै ठाउँमा बास बसेर दोस्रो दिन घनघस्याको यात्रा यहि ठाउँबाट सुरु गरेका थिए ।
हामीसँग रामसिँह भरिया थिएनन् । प्रेमबहादुर प्रधान थिएनन् । थिए त नियात्रामा पढेका उनीहरुका सम्झनाहरु । हामीलाई उही पुरानो बाटो देखाउन अघि लागेका थिए बैतडीकै गणेश भट्टराई । उनको पुर्ख्यौली पेशा कविता लेख्ने । (1:37- 2:04)
पाटन फेरिएछ । हामीले पढेजस्तो फाट्टफुट्ट घर थिएनन् । बजार थियो । एयरपोर्ट थियो । हामी कल्पियौं २४ सालको पाटन कस्तो थियो होला ।
तेर्सै तेर्सो हिँडियो । बाटामा गाउँलेहरु भेटिए ।
मलोडा बजारमा एकछिन थकाइ मार्यौं ।
खेमराज सिँह ऐयर हामीलाई पुर्याउन परसम्म आए । उनीसँग विदा भएर हामी अघोरी गाडको डिलै डिल हिँडिरह्यौं । अघोरी गाड तरेपछि घनघस्याको उकालो सुरु भयो । ताना शर्माले भनेको टोपी खस्ने उकालो ।
५५ वर्षअघि यात्रा गर्ने मानिस अलप भइसके । उनले छाडिगएका सम्झनाहरु पछ्याउँदै थियौं हामी । ती बेलाका गाउँ बस्ति र मान्छे हरु मात्र होइन खोला नाला र जंगलहरु पनि समयको कुहिरोमा हराए होलान् सायद् । समय भन्दा सम्झना पो बलवान हुँदो रहेछ ।
अघोरी गाडलाई छाडेर हामी यतिखेर आकाशतर्फ उचाल्लिरहेका थियौं । तारानाथ शर्मालाई जस्तो हामीलाई अभागी महशुस भइरहेको थिएन । एउटा धुमिल विगतको पदचाप पछ्याइरहँदा हामीले आफूलाई भाग्यमानी ठानेका थियौं ।
एक लट ठाडो उकालो काटेपछि साझ गाउँ भेटियो ।
तिर्खाएको बेला भागिरथी आमाले हामीलाई चिसो पानी खुवाइन् ।
भागिरथी आमाले सप्रेम दिएका दुई लाँक्रा उखु टेक्दै हामी फेरि उकालियौं ।
बाटामा गणेश भट्टराईले आएना हाले । अर्थात् गाउँखाने कथा । गाउँ खाने कथा खेल्दै हामी बिनौडा गाउँ छेउ पुग्यौं । गाउँलेहरु हामीलाई लिन तलसम्म आएका थिए ।
ताना शर्माको नियात्रामा घनघस्याको उकाला चढ्दा यी गाउँहरु उल्लेख छैनन् । शायद त्यति बेला गाउँ नै पो थिएनन् कि । अथवा शर्माले लेखेनन् । माथि हिउँ सुरु हुने बेला मान्छे नभएका एक दुई घरहरु भएको प्रसङ्ग छ ।
कुनै समय बैतडीको झुलाघाटदेखि डोटीसम्म हिँड्ने यी बाटोहरुमा आजकल गुल्जार हराएका छन् । परदेशीहरु यो बाटो नहिँडेको वर्षौं भइसक्यो ।
एउटा अन्जान पूर्वेलीले सदियौंअघि लेखिदिएको यी बाटाका कथाहरु सम्झेर यहाँका मान्छेहरु अझै पनि पुलकित हुन्छन् ।
बिर्सिएको बाटो खोज्दै आएका हामी नौला मान्छेलाई स्वागत गर्न देवकी म्याडमको घरमा सारा गाउँ भेला भएको थियो ।
हामी गाउँलेका हार्दिकताले थिचियौं ।
देवकी ऐयर र जगदिश ऐयर एक्लो पहाडको घर कुरी बसेका छन् । दुबै जना स्कुल पढाउँछन् ।
देवकी म्याडम ताना शर्मा उ बेला आफ्नो घर पनि छिरेर गएको सुनाउँछिन् ।
घनघस्याको धुरा अझै टाढा थियो । हामीलाई अँध्यारोले लखेट्ने डर थियो । हामी फेरि उकालियौं ।
हामीलाई अर्को गाउँ खत्याडासम्म पुर्याउन जगदिश सर र गाउँलेहरु साथ लागे । जगदिश ऐयरले जीवनका ३८ वर्ष घनघस्याको उकाली ओराली हिँड्दै स्कुल पढाएरै बिताइसके ।
बाटोमा भेटियो घनघस्याको प्रख्यात ढुङ्गो । त्यही ढुङ्गो जहाँ घन घसेर बन्चरो बनाएका कथाहरु छन् ।
हामी बैतडी छाडेर डडेलधुरा छिरीसकेका थियौं ।
घनघस्याको उकालो काटिरहँदा बाटोमा भेटिएका मान्छेहरुले हामीलाई बेला बेला महाकवि देवकोटा सम्झाउँथे । सम्झाउँथे के नेपाल सानो छ? वनफूल जस्तो एउटा कवि हामीसँगै हिँड्दैथियो । घाँस दाउरा गर्नेहरु न्याउलीसँग सम्वाद गर्दथे । हामीलाई दोहोर्याउन मन लाग्यो देवकोटाका हरफहरु:
सानो, मीठो, शान्त, सुगन्धी, अनुपम- बस ! मेरा निमित्त त्यही हो नेपाल ! यहाँ वाग्नर कोदाली खनिरहेछन्; शेक्सपियर हलो जोत्ता हुन्; टिसियन र टर्नर भेडा चराउँदा हुन्, सोक्रेटिज गुफामा घोत्लिरहेका होलान्, कालिदास आषाढको पन्ध्रमा धाराप्रवाह गीत गाइरहेका होलान्, मकहाँ साण्डोले दाउराका भारी बोकेर ल्याउँछन्, मेरो वनमा हेलेन केलरहरु गीत गाउँदछन्, यहाँ कति सावित्रीहरु छन्, जसका कथा संसारले सुनेकै छैन, यहाँ कति साहित्य छ, जो लेखिएकै छैन, न लेखिनेछ ।
खत्याडा गाउँमा चिया खाएर गाउँलेसँग विदावारी भई हामी फेरि उकालो लाग्यौं ।
यो अन्तिम शिविरबाट टाकुरामा पुग्ने ठाडो उकालो थियो । पर कतै महाकालीपारि घाम डुब्दै थियो । घामका किरणले हिमालका लहर सुनौला भएका थिए ।
स्याँ स्याँ गर्दै हामी उकालो चढ्यौं । धुरा पुग्दा घाम कतै क्षितीजमा बिलाइसकेको थियो । गणेश भट्टराईले आगो बाले । घनघस्याको उकालो काटेकोमा हामीले भित्रैदेखि न्यानो महशुस गर्यौं ।
टाढा डडेलधुरा झिलिमिली तारा जस्तै टिलपिल टिलपिल देखियो । हामीलाई ताना शर्माको यात्रा पछ्याउन अब ओरालै ओरालो झरेर पोखरा बजार पुग्नु थियो ।
अँध्यारोमा टर्च र मोबाइल बाल्दै हामी जंगलको बाटो हिँडेको हिँड्यै हिँडेको हिँड्यै गर्यौं । ठाउँ ठाउँमा पुराना बाटोहरु डोजरले खनेका बाटोमा मिसिएका थिए । बाटो अल्मलिएर गणेश बेला बेला साथीलाई फोन गर्थे ।
ताना शर्मालाई पोखरा पुग्ने बेलातिर एक महिलाले मकै भुटेर पोल्टाभरि हालिदिएकी थिइन् । ५५ वर्षअघिको त्यो छाप्रो र ती महिला हामीले भेट्टाउन सकेनौं ।
बाटामी गाड पडन्छ । हामीले पोखरा पुग्ने बेला त्यही गाड तर्यौं । विहान ८ बजेतिर हिँडेका हामी राति ११ बजेतिर डडेल्धुराको पोखरा बजार पुग्यौं । बजार सुतिसकेको थियो । चकमन्न बजारमा एकछिन यताउति डुलेर हामीले ५५ वर्षअघि बास बसेका छाप्रो कल्पना मात्र गर्न सक्यौं ।
एउटा स्कुलको कथाबाट ५ वर्षअघि सुरु भएको हेर्ने कथाको एक सयौं अंकमा हामीले घनघस्याको उकालो काट्यौं । मान्छेका जीवनका सुन्दर उकाली ओरालीहरुमा हामी सँधै सँधै भेटिनेछौं ।
यो बर्दिया राष्ट्रिय निकुन्ज हो । घना जंगल अनि बाघको घर । निकुन्ज छेउछाउका गाउँहरुलाई बाघसँग जोगिने चिन्ता छ । जीवजन्तुको संरक्षणमा काम गर्नेहरुलाई चाहिँ बाघ जोगाउने चिन्ता ।
झुल्के घामसँगै एक हुल प्राविधिकहरु बर्दिया राष्ट्रिय निकुन्जको जंगल छिर्ने तयारीमा छन् । उनीहरुको काम बाघ खोज्ने ।
राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका हाकिम रविन कडरिया आज आफैं जंगल हिँड्दैछन् । उनको साथमा छन् सिपालु प्राविधिकहरु फिरुलाल चौधरी, रामराज चौधरी र खुसीराम चौधरी ।
आजको काम चाहिँ बाघ हिँड्ने बाटोमा क्यामेरा राख्ने । लजालु बाघलाई पत्तो नदिई फोटो खिच्ने । अनि त्यही फोटो हेरेर जंगलमा कति वटा बाघ छन् पत्ता लगाउने ।
फिरुलाल पहिले कार्यालयका भान्छे थिए । ८ वर्ष भान्छामा काम गरेपछि उनी प्राविधिक भएर जंगल छिर्न थालेका हुन् ।
आज जंगलमा क्यामेरा राख्ने काम सकियो । निकुन्जको घना जंगलमा घाम डुब्यो । चित्तलका बथानहरु चर्न निस्किए ।
भोलिपल्ट फिरुलाल र उनको टोली निकुन्जको अर्को छेउतिर जाने तयारीमा छ । बबइ नदी छेउका चुरे क्षेत्रमा १५ दिन अगाडि राखिएका क्यामेरा निकाल्नुछ ।
राजमार्ग छाडेर बबई किनारबाट केहीबेर उत्तर लागेपछि हाम्रो टोली परेवाओडार पुग्यो ।
हामी केही बेर बाघको पाइला र गन्धले नै रोमान्चित भयौं ।
अलि अगाडि बढेपछि फिरुलालले रुखमा बाँधिएको क्यामेरा निकाले ।
उनीहरुले जंगलको अर्को ठाउँमा राखिएको क्यामेरा पनि निकाले । यहाँ पनि अर्को बाघ परेछ ।
क्यामेरा खोज्न जंगल डुल्दा डुल्दै फोन आयो । कोठियाघाट भन्ने ठाउँमा बाघले मान्छे मारेछ ।
हामीले जंगलको यात्रा छोट्यायौं ।
बर्दिया निकुन्जका कुना कन्दरा दुई दिनसम्म डुल्दा पनि हामीले बाघ देखेका थिएनौं । बाघका पाइला मात्र फेला परेको थियो ।
तर फर्किँदै गर्दा राजमार्गमै एउटा बाघले हामीलाई पर्खिरहेको थियो ।
सन् २०१८ मा बर्दियामा बाघको संख्या ८७ थियो । सन् २०२२ मा बढेर १२५ पुग्यो । यसै अवधिमा बाघको आक्रमणबाट बर्दियामा मात्र २५ जनाले ज्यान गुमाए ।
विश्वनाथका दम्पत्तीसँग सम्पत्तीको नाममा सग्लो जिन्दगीबाहेक केही छैन ।
मेची बगरमा घाम पानी छेक्ने छानो आफ्नो हो । टेक्ने जमिनको मालिक अर्कै हो । दुबै जना अस्पतालमा काम गर्छन् । श्रीमती सरसफाइको काम । श्रीमान् पोस्टमार्टमको काम ।
विश्वनाथलाई कसैले उनका विगत र उमेरमा देखेका सपनाका बारे सोध्यो भने जिस्क्याए झैं लाग्छ ।भन्छन्, सपना देख्ने औकात कहाँ थियो र । बस् कमाउनु र खानु ।
अस्पतालमा भेटिए दिपेश यादव । उनले पनि पोस्टमार्टमको काम गर्न थालेको ५ महिना भयो ।
बाँचुन्जेल गाँसिएका ममताका त्यान्द्रोहरु मरेपछि एकाएक चुँडिदा होलान् । छाडी जानेको वियोगमा प्रिय मान्छेहरुको मुटु बेस्सरी गाँठो पर्दो हो । यी त सब मर्नु र बाँच्नुका संवेग न हुन् ।
विश्वनाथको लागि कसैको मृत्यु केवल अर्को एक दिनको काम हो, कमाई हो ।
मरेपछि पनि सजिलो त कहाँ छ र । अस्पतालका चिकित्सकहरु मृत्युको कारण खोज्न थाल्छन् । शंका निवारण गर्न खोज्छन् । विश्वनाथ मान्छेका शरिरका अंग अंग चिरेर डाक्टरलाई मृत्युका सबुत देखाइदिन्छन् ।
आफन्तहरुले शव लिएर गए । विश्वनाथ, रुपेश र राजेशको अहिलेको काम सकियो ।
मुर्दाघरमा जब कोही मान्छे, मरेको मान्छे भएर आउँछ, उनीहरुको काम फेरि सुरु हुन्छ ।
हाम्रो गन्तव्य त मुगु थियो । तर बाटोले नै साथ नदिएपछि यात्रुको केही नलाग्ने रहेछ । वेमौसमी झरिले ठाउँ ठाउँमा कर्णाली राजमार्ग बगाएपछि हामीले बाटो फेर्यौं ।
भेटनरीका कर्मचारी गोविन्दले कोठाभरि थरिथरिका सामान थुपारेका छन्। पुरानो कम्पास देखि आधुनिक जिपिएस सम्म। फुर्सद भयो कि वनजंगल डुल्ने, चराचुरुङ्गीका फोटो खिच्ने ।
गोबिन्दसँगै उनका भतिजो नाता पर्ने दिलिप सिँह पनि आजको यात्रामा मिसिए ।
गाउँमा मेलाको माहोल छ । मेला भर्न टाढा टाढाबाट मान्छेहरु आउदै गरेका भेटिन्थे । तर
गोविन्द सिँह मेला भर्न जान छोडेको वर्षौ भयो । उनलाई वनजंगल डुल्ने बानी परेको पनि त वर्षौ भयो नि ।
हिँड्दा हिँड्दै गोविन्द सर ठाँउ-ठाँउमा रोकिन्छन् । हामीलाई बाटोमा देखिने स-साना सर्प, चराको कथाहरु सुनाउँछन् ।
गोबिन्दको माया वनजङ्गल र जीव जन्तुसँग बेस्सरी बसेको छ । उनी घाइते जनावरलाई मलम लगाइदिन्छन् । पासो फुकाल्न अफ्ठ्यारा भीर उक्लन्छन् । बेच्न राखिएका गुलेली आफैं किनिदिन्छन् । उनको यस्तै कर्मले कतिले नयाँ जीवन पाए होलान् !
गोविन्द सरको पाइला पच्छ्याउँदै हामीले बारेकोट, जाजरकोटको भूगोल पढ्यौँ ।
साँझ पर्ने बेला हामी ढोटाचौर पुग्यौं ।
साँझ हामी कर बहादुर सिंह र उनकी पत्नी लक्ष्मी सिंहको होटलमा बास बस्यौं ।
भोलपल्ट झिसमिसेमा हाम्रो यात्रा फेरि सुरू भयो ।
आजको यात्रामा करबहादुर सिंह र कमल सिंह पनि मिसिएका थिए ।
माथि हिउँले ढाकेका पाटन भेट्टाउन हिँडेका हामी । हाम्रो हिँडाईले गोर्खाली डाँडामै बिराम लगायो । करबहादरको घोडाले बोकेका उसिनेकै लेकाली आलु चपाउँदै हामीले हिमालसँग आँखा जुधायौं । बारेकोटसँग पीरती गाँसेर हामीले फर्किने बाटो समात्यौं ।
बाटै बाटो हिँड्दा बाटोमै बस्तिसँग ठोकिन थालेपछि आत्तिएका हात्तीको कथा हो यो । पसिनाले वर्षभरि माटो भिजाएर फलाएको अन्न एक रातमै हराएपछि आहत बनेका मान्छेका कथा हो यो । यो, मान्छेले लखेटेका हात्ती र हात्तीले लखेटेका मान्छेका कथा हो । यो बाहुनडाँगीको कथा हो ।
मेची किनारको बाहुनडाँगीमा खबर नगरी जंगली हात्तीका बथान आउन थालेको अहिलेदेखि होइन । पछिल्ला वर्षहरुमा मान्छे र हात्तीको लडाईं अलि चर्किएको मात्र हो ।
साँझ पर्ने बेलामा हस्त प्रधान मेची किनारतिर निस्केका छन् । हात्ती छेक्न राखिएका विजुलीका तारबार जाँच्नु उनको दैनिकी हो ।
बाटो र बारीमा भेटिएका हरेकले सुनाउने कथाका मूख्य पात्र हात्ती नै हुन्छन् ।
आजकल बाहुनडाँगीमा हात्ती हेरेर रमाइलो गर्न पनि मान्छेको घुइँचो लाग्न थालेको छ ।
झमक्क साँझमा मेची बगरमा एउटा हात्ती देखियो । हात्ती खेद्न गाउँलेहरुको भिड लागिसकेको थियो । अनि हात्ती हेर्न मात्रै काँकडभिट्टादेखि मान्छेहरु आएका थिए ।
बाइक र ट्याक्टरको खेदाइसँगै त्यो हात्ती मेची किनारको अँध्यारोमा बिलायो ।
भोलिपल्ट झिसमिसमै हामी शंकर लुइँटलसँग मेची किनारतिर लाग्यौं । सारा गाउँ हात्तीसँग जुधिरहँदा शंकर चाहिँ हात्तीलाई माया गर्ने मान्छे हुन् ।
राति गाउँ छिरेको हात्ती मेची तरेर भारततिर फर्किँदै थियो ।
छरछिमेक, चौतारा जताततै हात्तीकै चर्चा । हरेक मान्छेसँग हात्तीका कथा छन् । हात्तीहरुले आफ्नै कथा चाहिँ कसलाई सुनाउँदा हुन् ।
अस्ति भर्खर अर्जुन किसानका बुबा टेना किसानलाई जंगल गएको बेला दिउँसै हात्तीले प्राण लियो । अर्जुन आज ७ औं दिनको काममा छन् ।
हिजो अस्ति मात्रै बथानबाट छुट्टिएको बालख छावालाई गाउँलेहरुले लछार पछार पारे । छावाकी आमाको मन दुख्यो कि दुखेन होला ?
आज पनि गाउँ छेउको जंगलमा ३ वटा हात्ती छिरेछन् । खेतबारीमा काम गरिरहेकाहरु डरले भागे । सारा गाउँ उल्टेर हात्तीलाई घेर्न थाल्यो । जंगलका छहारीमा सुस्ताइरहेका हात्तीहरुले मान्छेहरुलाई सुनेको नसुन्यै गरिदिए ।
गाउँमा हात्तीलाई माया गर्नु पर्छ भन्नेहरु पनि छन् । साँझ मेची किनारमा हात्ती हेर्दै टहल्न निस्किनु बाहुनडाँगीका युवाहरुको एउटा रमाइलो दैनिकी बनिसकेको छ । अबेरसम्म मेची नदीले मान्छे र हात्तीका कथा सुनिबस्छ।
वीरगन्ज महानगरबाट २७ किलोमिटर टाढा जंगलको छेउमा बागवाना गाउँ छ । गाउँबाट शहर आउन हरेक विहान दुई वटा बस छुट्छन् । एउटा बस असिया देवीको र अर्को बस साधना देवीको । असिया र साधना बसका साउनी पनि हुन्, खलाँसी पनि । बागबानाको बसमा चढेर हामीले असिया र साधनाका विगत सफर गर्यौं ।
बिहान ८ बजे असिया देवी भात बोकेर बाटोमा निस्किन्छन् । बस लिएर डाइभर आइपुगे । बागबानाबाट सफर सुरु भयो ।
चर्को हर्न बजाउँदै असियादेवीको बस देहातका साँघुरा बाटाहरुमा छिर्छ । हाँस कुखुराहरु बाटो छेक्छन् । मान्छेहरु हतार हतार बस चढ्छन् ।
आज असियादेवीलाई सघाउन उनका दिदीका छोरा पनि आएका छन् ।
बसले बिस्तारै गाउँ बोक्छ । शहरमा अस्पताल छ, बजार छ, क्याम्पस छ, मजदूरी छ । गाउँ दिनदिनै असियादेवीको बस चढेर शहर जान्छ । सिटमा नअटाएका गाउँहरु पोका पन्तुरा बनि डिक्की भित्र बस्छन् ।
पहिले पहिले बयल गाडा चढेर शहर पुग्न समय लाग्थ्यो । साइकल चढ्दा थकाइ लाग्थ्यो । आजकल असिया देवीको बस विहान बेलुका हर्न बजाउँदै खेतका आलिहरुमा दौडिन्छ । नहरका डिलहरुमा धुलो उडाउँदै कुद्छ । बसको झ्यालबाट यात्रुहरु गाउँ नजिक आउँदै गरेको शहरकाे आकाश हेरी टोलाउँछन् ।
असियादेवी पनि टोलाउँछिन् बेला बेलामा । बिगत सम्झिएर ।
२ घण्टाको यात्रापछि वीरगन्जको मैदिया पोखरी पुगेर बस राेकिन्छ ।
बिहान घरबाट बोकी ल्याएको खानाको पोको खुल्छ । र बस असियादेवीको भान्छाघर बन्छ ।
असियाका जीवनका भाेगाइ पनि बागबानादेखि सफर गरि आएको बाटो जस्तै छ । कतै कच्ची कतै पिच !
खाली खुट्टा तरकारी बेच्न गाउँसहर गरिरहँदा वर्षाै अघि असियादेवीको मनमा एउटा अनाैठो रहर गढेको थियो । आफ्नै गाडीको खलासी बन्ने ।
काठमाडाै देखि बर्दियासम्म चल्ने कुनै नाइट बस कामै नलाग्ने गरि बिग्रियो र आइपुग्यो बागवाना । ठोकठाक र जोडजाड पारेपछि बस गुड्न सक्ने भयो ।
देहाती बाटोहरुको भागमा यस्तै सेकेन्ड ह्यान्ड बसहरु नै पर्छन् शायद । तर असियादेवीको लागि यो बस ब्र्यान्ड न्यु हो ।
तरकारी बेच्ने असियादेवी बस साउनी भइन् । तर पाइतालामा अझै पनि चप्पल छैनन् । पाइतालाले भुइँ छोएकै उनलाई मन पर्छ रे ।
उता गाउँबाट साधना देवीको बस पनि छुटिसक्यो ।
साधना देवी र बिगानाथले पनि बीरगंज बागवानाको सफर गर्न थालेको २० वर्ष भयो ।
साधना देवी बसको खलासी अनि बिगानाथ बसचालक |
विगनाथ र साधना एक अर्काकालागि बसका चार पांग्रा भइदिन्छन् । र त उनीहरुको जिन्दगीको गाडी गुडिरहेको छ ।
मध्य जेठको गर्मीमा अनिशा लिम्बुले लाबर बगानमा आजको हाजिरा पुरा गरिन् । डेढ घन्टा टाढाको घर उनलाई पर्खिरहेको छ ।
उकालो बाटो काटिरहँदा रातोमाटोका पाखाहरु पसिनाले भिजाउँदैछन् अनिशाका भाइ अनिस । अलि बढि कमाइन्छ कि भनेर अनिस आज दोब्बर काम गर्दैछन् ।
हामी पनि अनिसासँग उनको घरसम्म जाने भएपछि अनिसालाई एउटै कुराको चिन्ता थियो । उनको घरमा हामीलाई बस्न दिने पिर्का मुडा छैनन् ।
चकमन्न मध्यान्हमा दिदी आउने बाटो हेरिरहेका कान्छा भाइ अनुपलाई साथीले गोठालो जान बोलाए । आज शनिबार, गोठालो जाने काम अनुपको ।
घर पुग्ने बित्तिकै एकछिन थकाइ पनि नमारी अनिशाका काम सुरु भए ।
बुबा बितेको दशै वर्ष हुन लाग्यो । दुई भाइ आमासँग थिए । झापामा आफन्तसँग बसेर आनन्दले पढिरहेकी अनिशालाई के थाहा इलामको दानाबारी गाउँमा रहेको घरले अचानक बोलाउला भनेर ।
एक वर्षअघि आमाले पनि छाडेर हिँडेपछि अनिशा दुई भाइको आमा बन्ने निर्णय गर्दै घर फिरिन् ।
अनिसाले शिक्षक बन्ने सपना देखेकी थिइन् कुनै बेला । उनका सपना फेरिए । भर्खर जिन्दगी सुरु हुने उमेरकी अनिशासँग अहिले व्यवहारले थिचिएका सुस्केरा मात्र छन् । कमाइ गर्न जाने लाबर बगान र घर छेउका घाँस दाउराभन्दा टाढाको संसार अब अनिशाको कल्पनामा मात्र हुनेछन् शायद ।
तल खोला बगरमा अनुप, साथीहरुसँग खेल्दै गोठालोमा भुलेका छन् ।
अनिश कामबाट फर्किए । १० कक्षामा पढ्ने अनिशलाई अब पढ्न छाडिदिउँ कि जस्तो लाग्न थालेको छ ।
भोलि एकाविहानै अनिस काममा निस्किसके । अनिसा हतार गर्दैछिन् । पानी परेकाले आज अलिक ढिला भयो ।
स्कुल जानुअघि अनुप १ घन्टा हिँडेर दाइलाई खाजा पुर्याउन गए । दाइको औषधी बोक्न चाहिँ बिर्सिएछन् ।
हुलाकी राजमार्ग हुँदै पर्सा जिल्लाको ठोरी नपुग्दै विजयवस्ती भन्ने ठाउँबाट एउटा साँघुरो कच्चीबाटो जंगलतिर लाग्छ । घना जंगल छिचोलेपछि एउटा गाउँ पुगिन्छ । एकातिर चितवन र अर्कातिर पर्सा राष्ट्रिय निकुन्ज । जंगल माझको यो गाउँ हो शिकारीबास ।
शिकारीबासको कथा
जंगल सकिने बित्तिकै गोठालाहरु भेटिए । जंगलको छेउमा बाख्रा चराइरहेका । हामीलाई भेट्ने बित्तिकै उनीहरुले बाघले बाख्रा लगेका कथा सुनाउन थाले ।
अलिक पर पुगेपछि शनिश्चर चौधरी र उनकी छोरी फेकनी चौधरी भेटिए । शनिश्चर माछा र गँगटा प्रसस्तै पाइन्छ भनेर वर्षौंअघि चितवनको कुनै गाउँ छोडेर यहाँ आइपुगेका थिए ।
गाउँका कथाहरु बाटोमै भेटिन थाले । सानो नानीलाई उपचार गर्न मान्छेहरु जंगलको बाटो जाँदै थिए ।
खोलाको छेवै छेवै हिँडेपछि गाउँ पुगियो । ५ कक्षासम्म पढाई हुने स्कुलमा गाउँकै शिक्षक सुशिला अर्याल भेटिइन् ।
हामी जमिन्दारको घर जान काँसघारी छिचोल्दै जंगलको छेउतिर लाग्यौं ।
गाउँको पुछारमा जंगलसँगै टाँसिएका दुई चार घर थिए । सुजित बस्नेत बाहिर निस्किने तरखरमा थिए ।
तुलसी कुसवाह कुनै बेला जमिन्दारको घरमा हली बस्थे ।
साँझ पर्ने बेलामा गाउँलेहरु खोलामा भेटिए । पिउने पानी पनि यही खोला नुहाउने पानी पनि यहि खोला ।
छेउछाउका पश्चिम बंगालको सिको गर्दै २ हजार १६ सालमा झापामा पहिलो निजि चियाबगान खुल्यो । यो त्यही बगान हो ।
उ बेलाका जमिन्दार बुधकरण राजवंशीले सुरु गरेको बगानका मालिक अहिले उनका नाती राजेन्द्र राजबंशी हुन् ।
चियाका बोट रोप्नेहरु उसैगरी झारखन्डबाट ओसारिए ।
विहान साँढे ६ बजे साइरन बज्छ । मानिसहरु हतारहतार बगान छिर्छन् ।
बगानका घामपानी र झारखन्डबाट ओसारिएका जिन्दगीहरुलाई तारापद सिँह राजवंशीले नियालेको ४१ वर्ष भयो । तारापद बगानका बैदार हुन् ।
सम्झना उरावका बाजे पनि झारखन्डबाट आएका थिए रे । सम्झनाको सम्झनामा ती ठाउँ छैनन् । यहीँको घाम पानी उनको जिन्दगानी । पानीवाली सम्झना तिर्खाएकाहरुलाई पानी खुवाउँछिन् । फुर्सदमा पत्ती टिप्छिन् अनि छोराछोरीलाई भात खुवाउँछिन् ।
आज बैदार फुर्तिला देखिन्छन् । शुक्रबार कामदारलाई पैसा बाँड्ने दिन हो । पत्ति टिपिरहेका मान्छेहरु मनमनै हिसाब गर्दैछन् र बुन्दैछन् साँझका एक छाके सपनाहरु ।
अचानक फ्याक्ट्रीबाट फोन आयो । आज पैसा नपाइएने भयो रे । सबैका अनुहार एकाएक फिक्का चिया झैं भयो ।
जेठको घामले जत्तिकै मनले पोलेको छ । तर पनि हाँस्न बिर्सेकी छैनन् हेदली राजवंशीले ।
–
कतिले आफूले छाडि आएको संसार भुले । कति यतै भुले । पनाती पुस्ता अहिले पनि चियाका पत्ती टिप्दैछ । किरा मार्ने औषधी छर्दैछ ।
यसैगरी जिविकामै बित्छ दुई दिनको जिन्दगी ।
बेला बेला नयाँ पुस्तालाई नागरिकताले घोच्छ । मनले सोध्छ, मेरो देश खै ? भातसँग पसिनाको सौदा गर्न टाढा कतैबाट ल्याइएका बाजेहरुलाई सोध्नु कि । भोट माग्न आउनेहरुलाई सोध्नु । या सोध्नु आफ्नो उमेरभन्दा पुराना चियाका बोटहरुलाई ।
हुन त यहाँका मान्छे, गाउँ र चियाका बोटहरु उस्तै उस्तै लाग्छन् । कसैलाई पर्खिबसेको जस्तो । कसैले बिर्सिगएको जस्तो । आफ्नै संसारभित्र बन्दी भए जस्तो । देश यही, परिवेश यही ।
हो बगानभित्र छुट्टै संसार छ । डेरा हो कि घर – बगानभित्र क्वाटर छ । चियाका बोटसँगै उमेर पर पर सर्छ । बेला बेला म्यानेजरले गाली गर्छ । तर पनि चिया पत्तीकै भर छ ।
टाढाबाट हेर्नेलाई चिया बगान सुन्दर लाग्छ । बगानमा लहरै नाचेका गीतहरु झन् सुन्दर लाग्छ । यहिँ जन्मे हुर्केकाहरुलाई भने यहाँको संसार कहिले पोल्ने घाम जस्तो, कहिले सिमली छाया जस्तो । बगानमा कहिले पुतली भेटिन्छन् कहिले बारुला ।
फ्याक्ट्रीबाट फेरि फोन आयो । आज ज्याला पाइने भयो रे । छिनछिनमै हाँस्न मन लाग्छ । छिनछिनमै रुन मन लाग्छ भने झैं भयो । अघि सबैको अनुहारमा हराएका चमक फर्केर आए । पत्ती टिप्ने हात छिटो छिटो चल्न थाल्यो । बैदार साइकल टिपेर छिटो छिटो फ्याक्ट्रीतिर लागे ।
दिनभरि मान्छेहरुले पत्ती टिपिरहे । बेला बेला ट्याक्टर आउँथ्यो र जोखेर लैजान्थ्यो श्रम र पसिनाहरु ।
पर्सा जिल्लाको गोडपसरा गाउँमा यसपालिको बर्खामा पनि पुग्दो पानी परेन । खेतका धान सुक्न थाले । माटो तिर्खाउन थाले । ६ वर्षअघि यस्तै खडेरी परेको थियो । यसपालि पनि पानी नपरेपछि गाउँलेहरुले पानी माग्ने निधो गरे ।
पानी माग्ने चाहिँ देउतासित । एक छिन, एक दिन माग्ने हैन । एक हप्तासम्म मागेको माग्यै गर्ने । पानी माग्ने तरिका पनि केके हो केके ।
तेस्रो दिन
आज चाहिँ तेस्रो दिनको रात । गाउँ माझ भेला हुनु छ ।
खुदिया देवीलाई गाउँलेहरुले आफ्नो भाषामा दाइ भनेर बोलाउँछन् । दाइको अर्थ हजुरआमा ।
खुदिया खाना खाएपछि छोराका लुगाफाटा खोज्दैछिन् ।
संवाद
खुदिया देवी चौकिदारको भेषमा गाउँ डुल्न तयार भइन् ।
गाउँका अरु पाका महिलाहरु पनि धमाधम पुरुषको भेष धारण गर्दैछन् ।
खुदिया देवी खबरदारी गर्दै गाउँ छिरिन् । हातमा कोदालो बोकेका अरु महिलाहरु मिसिए । घर-घर डुल्दै उनीहरुले आँगन खन्न थाले ।
यसरी आँगन आँगन पुगेर खनेको चाहिँ आफ्नो खेतमा कुलो लगाएको रे ।
एउटीले कुलोको पानी आफ्नाे खेतमा मात्र लगेपछि झगडा सुरु भयो ।
झगडा यत्तिमै सकिएन । अलि पर पुगेपछि घम्साघम्सी नै पर्यो ।
पानीको निहुँमा पटक पटक झगडा पर्यो । खास झगडा गरे जस्तो गरी पानी माग्ने काइदा । पानी नपाएर मान्छेहरु लड्न थाले भनेर देउताले पानी देलान् भन्ने आश !
कुलो लगाउनेहरु गाउँ डुलिरहँदा गाउँको माझमा सप्पै महिलाहरु भेला भइसकेका थिए । उनीहरुले देउता पुकार्दै पानी माग्न थाले ।
अर्का एक हुल महिला चाहिँ हलो जुवा बोकेर घर घरबाट निस्किए ।
कोही गोरु बन्न थाले कोही हली ।
दुई चरा जनाले गाउँका मुखियालाई पाता कसे । अनि बाल्टीका बाल्टी पानी खन्याइदिए ।
हलोको पुजा गरिसकेपछि गाउँ घुमेर हलो जोत्दै हिँड्ने बेला भयो । श्रीमान् नहुनेहरु हली बने । अनि गोरु बन्नेहरुको चाहिँ छोरा हुनै पर्ने ।
पानी माग्दै उनीहरु गाउँको फन्को लगाउन थाले ।
हलो जोत्दै गाउँ घुमिरहँदा बाटोमा भेटिएका लोग्ने मान्छेहरुलाई समात्दै पानी खन्याउँदै गरे ।
यो रात उनीहरुले गाउँको पाँच फन्को लगाए ।।
भोलिपल्ट चौथो दिन । घाम चर्किँदै जाँदा महिलाहरुले पानी माग्दै गाउँको फन्को लगाए । गीत गाउँदै गाउँदै उनीहरु गाउँ पुछारको खेतमाझ रहेको पिपलको रुखमा पुगे । यो उनीहरुले मान्ने देउताको बर्हम्बौवाको वासस्थान ।
उनीहरुले केही दिनअघि पानी माग्दै बर्हम्बौवालाई बाँधिदिएका थिए । पानी देलान् कि भन्ने आशमा उनीहरुले आज त्यो डोरी फुकाइदिएर देउतालाई बन्धनबाट मुक्त गरिदिए ।
निकैबेर चौतारीमा बसेर उनीहरुले विलौना गरे । तिर्खाएका गाउँलेहरुको बिलौना आँशु बन्दै आँखाको बाटो झर्न थाल्यो ।
यहाँबाट उनीहरु उस्तै गरी नारा लगाउँदै, गीत गाउँदै जुलुस जस्तै गरी अर्को बाटो लागे ।
अब टाढा खोला छेउको चौरीमा पुग्नुछ ।
दुई चार जनाले गाउँबाट गाई खोजेर ल्याए । अघि अघि गाई लागे । पछि पानी माग्नेको जुलुस ।
टन्टलापुर भदौरे घाममा सारा गाउँ रनक्क तातेको बलौटे चौरमा भेला भयो ।
दुई चार गाईलाई माझमा घेरेर उनीहरु फेरि पानी माग्दै विलौना गर्न लागे । गाई वस्तुका तिर्खाएको चित्कार सुनेर देउताले पानी देलान् भन्ने आश ।
यहाँ पनि रमाइलो सुरु भयो । पण्डित जी हाजिरी गर्न थाले । शिक्षकले परेड खेलाउन थाले । अनि कसैले चाहिँ रमाइलो हेर्न पुगेका एक दुइ जना लोग्ने मान्छेलाई बाँधिदिए ।
निकै बेर घुम्दा पनि गाईहरु बाँ बाँ गर्दै नकराएपछि पानी पर्दैन कि भनेर उनीहरु निराश भए ।
आजकल गाउँमा स्थानीय जातका गाई नभेटिँदा जर्सी गाई खोजेर ल्याएको रे । जर्सी गाई भएर नकराएका पो हुन् कि भन्दै थिए कोही कोही ।
निकैबेर पछि गाई कराए । पानी पर्ला भन्ने आश बढ्यो ।
आजको दिन पनि सकियो ।
एक हप्ता लामो पानी माग्ने रितिको पूजा आजा गरेर बिट मार्नुपर्छ ।
झापा रङ्गे डाँडामा अकस्मात भेटिएका थिए अर्जुन मुखिया । रबर बगानमा राखिएका घार वरपर बढेका घाँस उखेल्दा पसिनाले निथ्रुक्क भिजेका अर्जुनसँग हामी हतारमै छुटियौं । उनको कथा सुन्ने धित मरेकै थिएन । अर्जुनलाई खोज्दै हामी दुधेमा रहेको उनको घर पुग्यौं । एकाविहानै आमा छोरा घरधन्दामा व्यस्त थिए ।
शन्तकुमारीले सानैमा आमा गुमाईन् । टुहुरी छोरीलाई लाहुरे बुबाले पढाउने मन गरेनन । उनी कहिले ठूलाबा त कहिले मामाघर गरेर हु्र्किइन् ।
एक दिन शन्त कुमारी कान्छी छ्यामाकोमा पाहुना बस्न गएकी थिइन । पाहुना गएकी शन्त थाहै नपाई बेहुली भईन रे । १५ वर्षकी शन्त कुमारीका श्रीमान भने उनका बुबाको उमेरका थिए रे।
शन्त कुमारीका श्रीमानलाई केही वर्षमै रोगले परलोक पुर्यायो ।
नयाँ ठाउँ , नयाँ जिवनसङ्गी अनि जिवनसङ्गीका ३ टुहुरा छोराछोरी । अब उनी एक बाट चार सन्तानकी आमा भईन ।
सानै देखिको पढ्ने रहर पूरा गर्न शन्त कुमारीले जिल्ला धाएर आफ्नै घरमा प्रौढ कक्षा सन्चालन गरिन् । र उनी जस्ता धेरैले अक्षर चिन्ने अवसर पाए ।
गाउँमा कोहि अन्यायमा परे, चौकी, अड्डा अदालत धाउने पनि शन्त कुमारी नै हुन् ।
जिवनमा तितो अनुभव बटुलेकी शन्त कुमारी मिठो रसको व्यवसायमा लागिन । मौरिपालनको व्यवसाय । सघाउने चाहिँ छोरा अर्जुन ।
अहिले मौरी जस्तै उनीहरु पनि समुहमा मिलेर काम गर्छ्न । कोही मौरी चराउँछ्न, कोही मह काड्छ्न ।
अहिले घरघरै मौरिका घार छन् । मौरी पाल्न थालेपछि सकिन लागेको वन जोगिएको छ । र गाउँ पनि सुगन्धित बसाउँछ ।
महले शन्त कुमारीको जीवन बदलिदियो । र उनले धेरैको जीवन बद्लिन । मह जस्तै मीठो बनेको छ जीवन पनि ।
अर्जुन ४ वर्ष मलेसिया बसेर फर्किए । ईपिएस गरेर फेरी कोरिया जान ठिक्क परेका अर्जुनलाई आमाको कामले लोभ्यायो ।
अहिले आमा-छोरा साथी बनेका छन् । आमा समुहको बैठकमा जान्छिन । अर्जुन घरधन्दा समाल्छ्न ।
अर्जुनको पनि मौरीसँग मोहनी बसेको छ । अहिले १५० घार मौरी छ्न ।
अब विदेश घुम्न जाने तर काम गर्न नजाने भन्छ्न अर्जुन ।।
जहाँ गए पनि बाँचुन्जेल साथ नछोड्ने त सम्झनाले पो रहेछ । मोरङ को सुन्दरहरैचा भन्ने ठाउँको जुलबी चोकले पनि आफूले छाडी आएका पहाडी गाउँहरुलाई बेलाबखत सम्झी बस्छ ।
जुलबी चोकको कथा
गाउँको माझलाई पहिले जुलबी चोक भनिन्थ्यो । बाख्राले खाने जुलबी भनिने डाले घाँसको बुटो थियो रे । आजकल दुर्गामन्दिर चोक भएको छ । गाउँलेले भजन किर्तन गरेर जोडेको मन्दिर ।
बेला बेला जुलबी चोकले यादहरुको सन्दुक खोल्छ र मधेशको यो गाउँ एकाएक तेह्रथुम, ताप्लेजुङ वा पाँचथरको पाखो भइदिन्छ ।
गोठाला जाँदा लाएका प्रित हुन् अथवा वनपाखासित लाएका मित – ती सबै गीत बन्थे । बतासले मन उडाई टाढा लैजान्थ्यो । गीत बन्थ्यो । खोला गाउँथ्यो । हावा नाच्थ्यो । कहिले मन कस्सिएर गुम्सिन्थ्यो – गीत बन्थ्यो । पीरका ढाकर बिसाउँदा गीत बन्थ्यो ।
पहाडमा दुःख थियो । न भोक मेटिन्थ्यो । न तिर्खा । क्षितिजपारि मधेसमा धान फल्ने खेतहरु थिए । चन्द्रप्रसाद फुँयाल डोकाभरि सपना बोकेर तमोर किनारै किनार उँधो झरे ।
६५ वर्षकी कृष्णमायाले न उमेरको चिन्ता गरिन् न त कुरा काट्नेहरुको नै ।
गाउँले बिहेमा पहिलो पटक यो टोलीले बाजा रन्कायो । मन अलिअलि डरायो । देख्ने सुन्नेहरुले उदेक मानेर जिब्रो टोके ।
टाढा टाढाबाट निम्तो आउन थाल्यो । एक टोलीले मात्र नभ्याउने भएपछि दुई टोली बनाएर हिँड्न थाले ।
भोलि पनि दमकमा विहे छ । विहानै जानुपर्छ । साँझ खानपिनपछि सरसल्लाह गर्न कृष्णमायाको घरमा भेला भएका छन् । सरसल्लाहले मात्र कहाँ मान्थ्यो र । दराजका वाजा बाहिर निस्के ।
बुहारी ट्याम्के ठटाउने छोरा गाउने बाउ कम्मर भाँच्ने ।
अनुहारमा छाइरहने मुस्कानले उनको उमेर छोपिदिन्छ । वरपर आइरहने नानीबाबुहरु पुतली जस्ता लाग्छन् । उनी चाहिँ पुतलीको पछाडि दौडिने नानी जस्तो । उनी आमा हुन् ।
गीता को उमेर ७२ वर्ष कट्यो । पुराना सम्झनाहरु उमेरसँगै ओइलाइसके । तर दैलो छेउ टेबुलमा राखिएको गीताको सादा तस्वीरले विस्मृत कथाहरु अलि अलि सम्झाइदिन्छ । अरु कसैले सुनाइदिएका ‘रे’ का कथाहरु मात्र थाहा छ उनलाई ।
धनुकुटामा जन्मेकी हुन् रे । भारतीय सेनामा जागिरे बुबासँगै भारत नै बस्थिन् रे । सानै हुँदा आमाबुबा बिते रे । अनि उनलाई भारतकै अनाथालयमा राखियो रे । उनी उतैका अनाथ आश्रमहरुमा हुर्किइन् । आमाबुबासँगको सम्झना धमिलो छ ।
उमेरले अक्षर चिनायो । खुट्टो टेकायो । जवानीका केही साल भारतमै बिताएपछि गीताले पुर्ख्यौली माटो सम्झिन् । आमाबाबु भारत आएको बाटो स म्झिन् ।
त्यतिखेर गीताको जिन्दगी गीता जस्तै थियो । परिवार र सम्बन्धका लहरो थिएनन् । समस्याका पहरो थिएनन् । किन किन गीतालाई माया मोह र घर परिवारका सांसारिक बाटो रोज्न मन लागेन ।
अरुसँगै हाँस्नुपर्ने, अरुसँगै रुनु पर्ने परदेशी अनाथालयका उदास दिनहरुमा उनलाई आमाको खुब याद आउँदो हो । आमाको पसिना र दूध मिसिएको सुगन्ध गीतालाई कत्ति खड्किँदो हो! भोक लाग्दा, तीर्खा लाग्दा, आँखामा कति झरी पर्दो हो । मध्यान्नमा मार्बलका चिसा भूइँमा निदाउँदा आमा सपनीमा कति आउँदी हुन् । किस्ता किस्तामा आमाका सम्झना ओझेल परिरहँदा गीतालाई आफैं आमा भएर बाँच्न पो मन लाग्यो कि!
२५-३० वर्षको उमेरमा गीता आफ्नै माटो खोज्दै नेपाल फर्किन् । आफ्ना मान्छे कोही थिएनन्, जाने ठाउँ कहिँ थिएन ।
कसैको नभएकी गीताले सबैको हुने बाटो रोजिन् । इटहरीको यही थलोमा गीताले ४० वर्षअगाडि आमा बन्ने निर्णय गरिन् । आफूले नजन्माएका छोराछोरीको आमा ।
अहिले त गीताका छोराछोरीहरु नै आमा भइसके । शनिबारहरु भेटभाट लिएर आउँछन् । नजिकै हुने छुने गरी भेटिन्छन् । टाढा हुने फोनमा भेटिन्छन् । ३ सय जना छोराछोरी हुर्केर कोही कता कोही कता पुगेका छन् ।
बाहिरबाट हेर्नेको लागि यो आश्रयस्थल हो । तर यही घरमा आमाले हुर्काएका ३ सय जना छोराछोरीको लागि यो केवल घर हो । तपाईंको घर जस्तै घर । ज हाँ माया हुन्छ र माया गर्ने मान्छे, आमा हुन्छिन् ।
यहाँ चाडबाडहरु अझै रमाइला हुन्छन् । ठूलो परिवारको ठूलै रमाइलो । जतन गरेर राखिएका मीठा सम्झनाहरु झनै रमाइलो । यो ६२ सालको दशैं हो ।
पखेटा लाग्ने भएपछि छोराछोरी आफैं गरि खान्छन् । यही आँगनबाट ३५ जनाको बिहे भइसक्यो । अस्ति भर्खर लक्ष्मी गौतम र पेम्बा लामाको लगन गाँठो बाँधिएको थियो । छोरीहरु अन्मेर जाँदा सारा घर रुन्चे हुन्छ ।
न्वारन, पास्नी, वर्तमन र जन्मदिनहरु यहाँ आइरहन्छन् ।
आमाका धेरै छोराछोरीहरु जन्माउनेले छाडिदिएका हुन् । ती जन्माउने आमाहरुका अलग्गै कथा होलान् ।
बाटोमा भेटिएका सालनालसहितका नानीहरु गीता आमाको काखमा आउँछन् र नयाँ कथा सुरु हुन्छ । जिन्दगीको कथा । मायाको कथा । आमाको कथा ।
आमाले तीनका न्वारन गरिदिन्छिन् । तीनले जन्मँदा कुनै थर र जात लिएर आएका हुँदैनन् । आमाले आफ्नै थर दिन्छिन् ।
यो घरका प्राय सबैको कथाको सार यही हो । प्यारो संसार यही हो ।
साँघुरो काठेघरबाट सुरु भएको मायाको यो आश्रममा पक्की कोठाहरु थपिँदैछन् । मनकारीले दिएका दान र सहयोगले यहाँ तातो भात पाक्छ ।
लिचिङले बिबिएको पढाई पूरा गरेकी छिन् । आमाको दुःख देखेकी लिचिङलाई अब आमाको काममा सघाउन मन छ ।
हिउँको बाटो र भीरको बाटो कति हिँड्नु ! उत्तरी मुगुका १२ गाउँका मान्छेहरु खेती हुने जग्गा खोज्दै जुम्लातिर झर्न थाले । बसाइँ सर्दा केही पाइन्छ, केही गुमाइन्छ । चिसा दुःख बिर्सिन हिमनदीसँगै उँधो झरेका हिमालका मान्छेका सम्झना हिमालतिरै हराए । भाषा हराए । परिचय हराए ।
पानी र जोगी एकै ठाउँ बस्दैनन् रे । हिमालका मान्छेहरु पनि एकै ठाउँ बस्दैनन् ।
मुगु जिल्लामा मुगु भन्ने गाउँ छ । हिमालको फेदीमा तिब्बतको सिमानातिर ।
हिउँको बाटो र भीरको बाटो कति हिँड्नु । उत्तरी मुगुका १२ गाउँका मान्छेहरु खेती हुने जग्गा खोज्दै जुम्लातिर झर्न थाले ।
जुम्लाको पातारासी गाउँपालिकाको बैसेनी भन्ने ठाउँमा सानो भोटे गाउँ छ । हिमालबाट झरेका मान्छेहरुको गाउँ ।
क्याल्पो कामी बिरामी ससुरालाई भेट्न मुगुबाट आएका रहेछन्। हामीले उनलाई हिमालतिरको हालखबर सोध्यौं ।
बसाइँ सर्दा केही पाइन्छ, केही गुमाइन्छ । भोटेहरुको थर नै हरायो ।
टासी कामीका बाउ-बाजेले आरनको काम गरे । जुम्ला आउँदा आरन पनि सँगै आयो । टासी अहिले आरनमा फलाम पिटेर परिवार पाल्छन् ।
कर्मा छेसाङ कामी चाहिँ सुन चाँदीको काम गर्छन् ।
कर्माको कर्मले मुगुदेखि जुम्ला बोलायो ।
चिसा दुःख बिर्सिन हिमनदीसँगै उँधो झरेका हिमालका मान्छेका सम्झना हिमालतिरै हराए । भाषा हराए । परिचय हराए । शेराप कामीले कसो कसो एउटा प्याङ बाजा चाहिँ जोगाएर राखेका छन् ।
मान्छेलाई कथाले डोर्याउँदो रहेछ । भेटाउने छुटाउने पनि कथा नै रहेछ ।
अआफ्नै कथाले पोखरा महानगर आइपुगेका एक हुल मान्छेहरु छन् । पेट पाल्नु र बाँच्नु फरक कुरा रहेछ । पेट मात्रै पाल्न त यी मान्छेहरु कोही औषधी पसल चलाउँछन्, कोही दोहोरी साँझमा काम गर्छन् । कोही घरका भित्तामा रंग लगाउँछन् कोही चाहिँ चित्रकारिता गर्छन् । तर बाँच्नको लागि भने उनीहरु सबै जना गीत गाउँछन् । जनताका गीत ।
कालखण्डमा गीतहरुले समाज बदल्ने थुप्रै कथा भने । नारी पुरुष हाराहारीका गीत, मान्छे मान्छे बराबरीका गीत अनि सत्तालाई खबरदारीका गीत ।
पार्टीमा हिँड्दा बाँडिएका सपनाका दुःखाईहरु बल्झिन थालेपछि विकास लुङ्गेली आफ्नै घर गृहस्थीको सानो संसारमा अल्झिन थालेका छन् ।
युद्धमा हिँड्दा भित्तामा नारा लेख्न सिकेको कलाले च्याङ चुङलाई अहिले जिविका दिएको छ । नाराहरु स्वयं त अमूर्त पेन्टिङ जस्ता भइदिए । बरु मोटरसाइकलका नम्बर प्लेटहरुले अर्थ राख्छन् आजकल ।
सर्लाहीका रोशन तामाङले सानैमा आमाबुबा गुमाए । काठमाडौंका गँलैचा फ्याक्टरीमा कलिला उमेरहरु बिताए । कसैले उनलाई पोखरा पुर्यायो – गायक बनाइदिने सपना देखाएर ।
डकर्मी काम गर्ने रोशन फुर्सदमा गिटार समाउँछन् । परिवारसँग पनि एक्लिएका रोशनले माया पिरेमका गीतहरु भुलिसके ।
काजी गाउँले र खेम लामाका पनि अआफ्नै कथाहरु छन् ।
विगतमा कथाले मागे अनुसार उनीहरुले कहिले झन्डा बोके कहिले बन्दुक । अपेक्षाका पहाडहरुले निराश बनाए । आजकल उनीहरु मादल, सारङ्गी र गिटार मात्र बोक्छन् । फुर्सद निकालेर गाउँघरमा पुग्छन् अनि दोहोर्याइरहन्छन् उही खबरदारीका गीतहरु ।