२० वर्षको उमेरमै सन्यासी भएका ३३ वर्षे भिक्षुको जिन्दगीले छोटो समयमा लामो यात्रा गरिसक्यो । भन्तेको कथामा ३ वटा कुरा अघिपछि जेलिँदै आउँछन् । उनको बाल्यकाल र प्रकृतिसँगको प्रेम, उनले बनाएका विद्यालयहरु र घर परिवार त्यागेर भिक्षु भएको कथा ।
अवधेश त्रिपाठी लुम्बिनी छेउको हुनेखाने बाहुन परिवारमा जन्मेका थिए । घरपरिवार र समाजसँग नजिकिने बुबालाई गाउँमा इज्जत गर्थे । एक जना फिरन्ते काका जोगी भएर हिँडेका थिए । जोगी काका बर्षमा एक फेर घर आउँथे । बालख अवधेश डुली हिँड्ने काकाका रुमानी कथाहरु सुनेर रमाउँथे । अवधेशलाई गाउँसमाजमा बुवाले पाएको मानसम्मान र मायाभन्दा जताजता पाइलाले डोर्याउँछ उतै जाने काकाका रुमानी कुराले उडाएर टाढा टाढा लैजान्थ्यो ।
त्यो मधेशी केटो पढ्ने स्कुलमा आँपका रुखका पर्खाल थिए, हाँगाबिँगाका छाना र माटोको बिछ्यौना ।
५ कक्षापछि अवधेशकाे जिन्दगीले नयाँ मोड लियो । स्कुलमा साइकल चढेर आएकी एक भिक्षुणी र बालबालिकालाई रुखविरुवा माया गर्न सिकाउने तालिम दिन आएको एउटा संस्था ।
प्रकृति क्लबका सदस्यहरु खोलै खोला डुल्थे । बोटविरुवा हेरेर रमाउँथे । चराचुरुङ्गी गन्थे । गुँड र अन्डा गन्थे । खोलाखोली डुली हिँड्ने अवधेशको खोला जस्तै लामो बाटो त्यति बेलै तय भयो ।
किताब किन्न नसकेर पढाइ छाड्नुपर्ने विद्यार्थीहरुलाई पुराना किताब खोजिदिन थाले । वरपरको समाज बदल्न कापी किताब नै चाहिन्छ भन्ने पाठ अवधेशको जिन्दगीको किताबमा उतिबेलै लेखियो ।
एसएलसीपछि अवधेश साइन्स पढ्न काठमाडौं गए मन चाहिँ गाउँमै छाडेर । मन र तन सँगै हुन नपाएपछि छटपटी भयो । हिउँदे विदामा गाउँ आएका बेला अवधेश र साथीहरुले गाउँका नानीबाबुहरुलाई आँपका बगैंचामा ट्युसन पढाउन थाले । कहिल्यै विद्यालय नदेखेकाहरुको जमघट बगैचामा हुन थाल्यो ।
अवधेश र साथीहरुलाई पढाउने काममा लत बसिसकेको थियो ।
अवधेश पढाई सढाई छाडिदिएर गाउँमै फर्के । र आँपको रूखमुनि जन्मियो एउटा सानो विद्यालय ।
घरपरिवारका विशाल अपेक्षाहरुलाई चटक्कै छाडिदिएर एउटा स्कुलको पछि लाग्नु अवधेशको लागि सजिलो निर्णय थिएन ।
अवधेशले क्याम्पसको पढाइ मात्र होइन परिवार पनि छाडिदिए । उनी आजकल गेरु वस्त्रमा घर परिवारबाट टाढा भेटिन्छन् । साथीभाइहरु अवधेश दाइ भनेर बोलाउँदैनन् । उनी भिक्षु मेत्तेय भइसके ।
भिक्षु, जोगी भन्ने बित्तिकै हाम्रो कल्पनामा मन्दिरभित्र जपध्यान गरेर बस्ने अर्ति उपदेश र प्रवचन दिने वयोवृद्ध बोरिङ मान्छेको कल्पना थियो । तर यी भिक्षु फुर्सद हुने बित्तिकै दुरबीन भिरेर चरा हेर्न वन जंगल हिँड्दा रहेछन् ।
हुन त उनी सांसारिक झमेला र माया मोह त्यागेर भिक्षू भएका । तर सानै उमेरदेखि उनको माया स्कुल जान नपाएका नानीबाबुमा बस्यो । मोह चाहिँ बोटविरुवा र चराचुरुङगीमा । घर परिवार त्यागेपछि भिक्षु मेत्तेयको जिन्दगीको परिधि झन् फराकिलो पो भयो ।
बुद्ध जन्मेको ठाउँ लुम्बिनीका मन्दिर दर्शन गर्न टाढा टाढाबाट तिर्थालू आउँथे । अवधेशका लागि लुम्बिनीका बँगैचा दिनहुँ हिँड्ने डुल्ने ठाउँ थियो । यहाँका रुख विरुवा मन्दिर थिए पशु पंक्षी भगवान ।
लुम्बिनीका हरियोपरियो मासेर ढुङ्गा गिट्टीका महल बनाउने कुराको कट्टर विरोध गर्थे युवा जोशका अवधेश र साथीहरु ।
ध्यान मार्गमा हिँडेका अवधेश आफूले सुरु गरेका स्कुलहरुलाई दीर्घायू दिएर घुमन्ते जीवन बाँच्न क्यानडा पुगिसकेका थिए । तर लुम्बिनी विकास कोषको उपाध्यक्ष बन्न उनैलाई बोलाइयो । भन्ते यसलाई कर्मले बोलाएको भन्छन् ।
हिउँदे विदा सदुपयोग गर्न आँपका रुखमुनि सुरु गरिएका ट्युसन कक्षाहरु अहिले ३ वटा राम्रा विद्यालय भइसकेका छन् । करुणा स्कुलमा केटीहरु मात्र पढ्छन् ।
भिक्षु मित्तेयसँग हामीले लुम्बिनी वरपर २ दिन बितायौं । यो छोटो समयमा लामो बितेको कथा थियो । भिक्षू मेत्तेयको जीवन जस्तै । यो शान्त देखिने मान्छेको हलचलको कथा थियो, नदी जस्तै ।
No responses yet