Sun Falne Deshma EP133

man and a woman laughing at each other

डाक्टर खेमराज नेपालका बाजेहरु संखुवासभाको चैनपुरबाट भारतको असम पुगेका थिए । नामको पछाडि झुन्डिएको नेपालबाहेक नेपाल देशसँग खेमराजको नजिकको साइनो छैन । 

खेमराज जस्तै मूल थलो नेपाल भएका मान्छेहरु असम पुगेको एउटै समय छैन र एउटा मात्र कारण छैन । जो जहिले पुगेपनि दुःखबाट भागेर सुख खोज्दै हिँडका कथाहरु भेटिन्छन् । 

सुन फल्ने देशमा …

आकारमा नेपालभन्दा आधा सानो असमलाई विशाल ब्रम्हपुत्र नदीले झन्डै बिचबाट चिरेको छ । यही ब्रम्हपुत्रले बनाएका उर्बर फाँटहरुमा नेपालीभाषीहरु कुना काप्चासम्म छरिएका छन् । 

निकासी 📍

उत्तरी असमको भुटानसँग सिमाना जोडिएको निकासी भन्ने सानो बजार पुग्दा मान्छेहरु नेपाली नम्बरको गाडी देखेर रमाइलो मान्दै गफिन आइपुगे । 

नेपालीभाषी बाहुल्य रहेको यो भेगमा यहाँका आदिवासीहरु समेत नेपाली भाषा र चालचलनमा मज्जाले भिजेका रहेछन् । 

यो ठाउँको नाम डाँडागाउँ ।  पारि भुटानका डाँडाकाँडा वारि चाहिँ भारत । दिरिङ खोलाको किनारमा वनभोज खानेहरुको भीड थियो । 

विश्वनाथ चारीआली 📍

विश्वनाथ चारीआली बजारभन्दा अलिक पर बालिपोखरी भन्ने गाउँ छ । यही गाउँमा बस्छन् डाक्टर खेमराज नेपाल । ३० वर्ष हाइस्कुल पढाएर अवकाश भएका डाक्टर नेपालले हामीलाई उनको गाउँ डुलाए । 

लोख्रा 📍

तेजपुर शहरबाट उत्तर, अरुणाचल प्रदेशको छेउछाउ लोख्रा भन्ने ठाउँमा   असम राइफल्सको क्याम्प छ ।

यो ठाउँ चाहिँ लाहुरेहरुको गाउँ भनेर चिनिन्छ । लाबरघारीमा भेटिए दिपक मुखिया । गएको वर्षमात्र स्कुले शिक्षकको जागिरबाट अवकाश पाएका दिपक मुखियाको लागि नेपाल भन्ने देश कुनै एउटा विदेश मात्र हो । उनकी पत्नी मिनाको लागि भने माइतीघर । 

मिनाका बुबा सानै छँदा सिन्धुलीबाट अरुणाचल आएछन् । सरकारी जागिर पाएछन् । अधिकांश जिन्दगी यतै बिताएर नेपालै फर्केछन् ।

Sapanaka Suitcaseharu EP132

जुलाई महिनाको घमाइलो दिन, लन्डन शहरको पूर्व तिरको एउटा कुनो सुनसान छ । मान्छे र मोटरका हल्लाखल्ला खासै सुनिँदैन । यो आवासिय क्षेत्रको एउटा घरमा नेपालबाट फरक संयोग र फरक समयले डोर्याएका सपनाहरु बास बस्न आइपुग्छन् । 

सिराहाका जयनारायण यादवका बुबा छोरो पढाउन पनि नसक्ने गरिब थिए । जसोतसो १२ सम्म पढेका  जयनारायणको मनमा डाक्टरी पढ्ने रहर थियो बुबाको मनमा साउदी अथवा कुवेत । 

ऋण बोकेर बेलायत आएको एक महिनामै जयनारायण कानुनले तोकेभन्दा धेरै काम गरेको अभियोगमा नेपाल फर्काइने भए । तर जयनारायणले कानुनी लडाइँ लडे र जिते पनि । 

इटहरी बसेर मास्टरी गरिरहेका उदयपुरका रमेश कटुवालले एक दिन चटक्कै देश छोड्ने निधो गरे । एक वर्ष भयो यता आएको । कहिल्यै विदेश जाँदिन भनेर बसेका उनलाई अन्ततः निराशाले लखेट्यो । 

निला आकाशमा सेता धर्का बनाएर उडिरहेका हवाइजहाज हेरी टोलाइरहँदा मन उडेर पुगिदन्छ उदयपुरको हँडिया गाउँमा । 

दोलखाका रेज्याक खड्का आएको ४ महिना हुँदैछ । भर्खरै दोकानबाट राइस कुकर किनेर आउँदै थिए । 

ललितपुरको वालकुमारीमा डान्स स्कुल चलाएर बसेका रेज्याक उनकै शब्दमा भविष्य बनाउन युके आएका हुन् । 

पासपोर्टमा पढ्ने भिसा लगाएर नेपालबाट आएकाहरु लन्डन शहरमा जताततै भेटिन्छन् – लगभग उस्तै उस्तै कथा बाँचिरहेका । झिलिमिलि शहरमा, अलिअलि थकान, अलिअलि निराशा र अलिअलि सपना बोकेर हिँडिरहेका मनहरु ।

Mugu Inside Mugu EP131

मुगु जिल्लामा मुगु भनिने गाउँ छ । अन्तिम गाउँ । मुगुम कार्मारोङ गाउँपालिकाको केन्द्र पुलुबाट हामी मुगु गाउँतिर उकालो लाग्यौं ।

छोयिङ दोर्जेको घर कार्मारोङको दाउरा भन्ने गाउँ हो । सानैमा काठमाडौं झरेर लामा पढेका छोयिङ फर्पिङको गुम्बामा तिब्बती भाषा पढाउने काम गर्छन् । केही दिनको छुट्टी लिएर छोयिङ आफ्नो गाउँ ठाउँको भाषा-संस्कृति बुझ्न आएका रहेछन् । उनी हाम्रो यात्राका साथी भए । 

छिनिचौरमा केही बेर थकाइ मारेपछि मुगु कर्णालीलाई दाहिने पारे हामी उकालो लाग्यौं । 

बाटोमा भेटिए मुगु गाउँकै पेमा छिरिङ तामाङ । पेमा गमगढीबाट खच्चडमा रासन बोकेर मुगु गाउँ जाँदै थिए । पेमाका खच्चड गोठालोसँग अघि लागिसकेका थिए । हामी पछि पछि हिँडिरह्यौं । 

झमक्क साँझ पर्ने बेलामा हामी चितैकुना पुग्यौं । हाम्रो आजको वास यहि ठाउँमा । 

कोही खच्चडलाई गोठमा हुल्दै थिए । कोही पानी लिन कर्णालीतिर जाँदै थिए । युवाहरु भलिबल खेल्दै थिए । 

राति बास बस्ने होटलमा अचानक आइपुगे भलिबल खेलिरहेका भाइहरु । हामीले उनीहरुको गाउँमा भलिबल सिकाउने मान्छे ल्याइदिन सक्छौं कि सोध्न आएका रहेछन् । 

भोलिपल्ट पेमा छिरिङ हामीलाई छाडेर एकाविहानै बाटो लागिसकेछन् । 

सिरानचौर भन्ने ठाउँ पुग्दा मध्यान्न भइसकेको थियो । 

माथि मुगु गाउँमा यतिखेर गुम्बा पूजा गर्न बसेका दुई पुजारी दम्पत्ती मात्र छन् रे । ती दुई लामा पनि सिरानचौरमै भेटिए । एक जना महिला गर्भवती रैछिन् । भरे-भोलि भएको थियो । ती महिलालाई राम्रो होस् भनेर पुजा गर्न लामाहरु यतै आएका रहेछन् । 

हामी सिरानचौरबाट बाटो लाग्यौं । 

दुई तीन घन्टा हिँडेपछि साँझ पर्ने बेलामा टाढै बाट मुगु गाउँ देखियो । कर्णाली छेउको फराकिलो उपत्यका जस्तो ठाउँमा झुरुप्प बसेको बस्ती । 

गुम्बाका पुजारीको घरमा हामीले बास पायौं । पुरै गाउँमा हिउँदका ६ महिना प्राणीका नाममा केही विराला र खान्दो लामाका दम्पत्ती । आज श्रीमान् तल झरेकाले अलिक पर अर्को गुम्बाबाट उनलाई साथी बसिदिन छुदेन लामा आएकी रहिछन् । 

भोलिपल्ट विहानै देखि चिसो मुगु गाउँमा फुस फुस हिँउ पर्न थाल्यो । सिरानचौर झरेका लामा पुजारीहरु कुन बेला फर्किने हो पत्तो थिए । हामीसँगै गएका छोयिङले गुम्बामा विहानको पुजा गरिदिने भए । 

फर्किँदै गर्दा स्यालधामी भन्ने ठाउँमा सानो दलित बस्ती भेटियो । सारा मुगु गाउँ न्यानो खोज्दै जुम्ला, काठमाडौं झरेका बेला यो दलित गाउँ भने हिमालको काखमा कठ्याङ्ग्रिरहेको थियो । 

साङ्मो कामीले सप्रेम दिएका स्याउका दाना समाउँदै हामी मुगुभित्रको मुगुलाई हिमालको एकलासमै छाडिदिएर उही कर्णालीको तिरैतिर ओरालो झर्यौं ।

Buduko Katha EP 130

कर्णाली राजमार्ग हुँदै हिमा नदीको तिरैतिर मुगुतिर लाग्दा सुन्दर सिँजा उपत्यकाका फराकिला फाँटहरु भेटिन्छन् । कनकासुन्दरी गाउँपालिकाको गोठिज्यूला बजारबाट राजमार्ग छाडेर पश्चिमतिर एउटा बाटो बिस्तारै उकालो लाग्छ । यही बाटो पछ्याउँदै जाँदा पुगिन्छ बुडू गाउँ । 

खोला छेउमा गाउँलेहरु एउटा ठूलो ढुङ्गालाई आकार दिँदै थिए । पुरानो भइसकेको पानी घट्टमा राख्ने नयाँ ढुङ्गाको खोजीमा उनीहरु आइपुगेका थिए । 

एकछिन खोलाछेउ गफिएपछि हामी पूर्णबहादुरको पछि लागेर अलिपर गाउँछेउ पानीघट्टमा पुग्यौं । 

बुडु गाउँ पुग्दा झमक्क अँध्यारो भइसकेको थियो । बास बस्ने ठाउँमा भेटिए राजाराम बुढा । गाउँमा ८ कक्षासम्म पढेका राजाराम मुगुमा मजदूरी गर्छन् । अहिले खेत जोत्न गाउँ आएका । 

हामी राति अबेरसम्म राजारामका काव्यरसमा भुल्यौं । 

झुल्के घामसँगै कर्णालीको यो सुदूर गाउँ बिउँझियो । अझै पनि आदिम समय बाँचिरहेको यो गाउँका कर्मजिवीहरु जुर्मुराउन थालिसके ।

शान्ति बुढा र उम्मा बुढा एकाविहानै ओखलमा धान कुट्दैछन् । कोही भाँगो पेलेर तेल निकाल्ने तयारी गर्दैछन् । कोही राडीपाखी बुन्दैछन् । राजाराम बुढा विहानैदेखि बारी जोत्दैछन्  ।

गाउँलेहरुले हामीलाई पुराना नाच देखाए । 

डोकोलाई महिलाको आकृतिमा सिँगारेर बिहेको बेलामा देखाइने चम्पा नाच अनि बालक जन्मेको छैठौं दिनमा देखाइने बालो ।

Story of Postal Highway EP129

झापाको भद्रपुर र भारत बिहारको गलगलिया जोड्ने मेची नदीको पुलबाट हामीले यात्रा सुरु गर्यौं । 

पछिल्लो दशकमा भद्रपुर हाम्रै आँखाले देखिकन पनि धेरै फेरिइसक्यो । हामीभन्दा पनि लामो सम्झना बाँचेका यहाँका रैथानेहरुको उहिलेका कुरा त कथा जस्ता । 

कुनै बेलाको धान र पाटको व्यापारको केन्द्र भद्रपुरमा आजकल राइस मिलहरु हराए । 

==

रोटीखुवा राजवंशी ८० वर्ष पुग्न लागे । छिमेकी भारतमा दुई चार अक्षर सिकेका रोटीखुवालाई सबै सन्तानहरुलाई पढाउन पाएकोमा गर्व छ । 

आँखै अगाडिका खरघारीहरु बजार भएका छन् । गुजारामा जिन्दगी थियो । सपना देख्ने समय थिएन । बाटो घाटो नदेखिकन धेरै दौंतरीहरुले बितिसके । 

==

राजवंशी चोकबाट पश्चिम लाग्यौं । हुलाकी राजमार्थ  कतिपय ठाउँमा चिल्ला सुकिला थिए । कतिपय ठाउँमा भने बाटोको रुपरेखा पनि थिएन । 

धेरै जसो ठाउँमा सवारी साधनहरु खासै देखिएनन् । आँगन अगाडि बनेको बाटो मान्छेका बिस्कुन सुकाउने थलो भएका थिए । 

==

झापा बजार छाडेर अलि अगाडि लागेपछि कन्काइ नदी भेटियो । खोलामा पुल थिएन । मान्छेहरु डुङ्गा चढेर वारपार गर्दैथिए । 

खोला पारी गएर फेरि हुलाकी सडक समात्न हामीलाई झन्डै ५० किलोमिटरको फेरो पर्ने भयो । पूर्व पश्चिम महेन्द्र राजमार्ग निस्केर घुमेर जानु पर्ने । 

झन्डै दुई घन्टापछि हामी माइखोलाको पारि पुग्यौं । 

साँझ पर्ने बेलामा हामी त्यहाँबाट फेरि हुलाकी सडक समाउँदै पश्चिम लाग्यौं । 

==

गौरिगन्ज पुग्ने बेलामा ठेकिटोला चोक नजिकै भेटिए भक्तिप्रसाद तिम्सिना । २७ सालमा इलामबाट झरेका भक्तिलाई अहिले घरै अगाडि बनेको राजमार्गले केही मुस्कानहरु दिएको छ । 

==

हुलाकी राजमार्गै राजमार्ग विराटनगर पुग्ने हाम्रो रहरमा फेरि तगारो बनिदियो रतुवा खोलाको पुल । झापा र मोरङको सिमाना रहेको रतुवा पुल पनि अलपत्र रहेछ । 

घाम डुबिसकेको साँझमा रतुवाको डिलमा उभिएर हामीले केही बेर खोला र आकाश नियालौं । 

रतुवा तर्न पनि हामीले फेरि पूर्व पश्चिम राजमार्ग निस्केर फन्को लगाउनु पर्ने भयो । दमकबाट उर्लाबारी हुँदै दक्षिण लागेर फेरि हामीले हुलाकी सडक समात्यौं । अब भने हामी मोरङ जिल्लामा थियौं । 

==

कुनै बेला आँपका बगैँचाहरु भएको देहातको निर्जन आमबारी चोक आजकल बजार हुँदैछ । सडकले दूरि छोट्याइदिएको छ । बिहेका ८ वर्षसम्म घुम्टोभित्र बसेकी रेखा सहनी सडक छेउमा अचेल माछा बेच्छिन् । 

मोरङको पुरानो सदरमुकाम रङ्गेली हुँदै हामी विराटनगर पुग्यौं । 

विराटनगरबाट भने हुलाकी राजमार्ग सुनसरीको लौकहीतिर सोझिन्छ । कोशि तर्न कोशि ब्यारेज पुग्नै पर्छ । 

सुनसरीका रसिला फाँटहरु हाम्रा दायाँ-बायाँ थिए । 

शहर बजार नजिकिएका छन् । अस्पताल क्याम्पस टाढा छैनन् । जग्गाको भाउ बढेको छ । लुकेका एक्ला गाउँहरुका सम्बन्ध र सम्पर्क बढेका छन् । 

==

महेन्द्र राजमार्गमा मिसिएर कोशि ब्यारेज तरेपछि अलि अगाडि गएर कन्चनरुप भन्ने ठाउँ पुगिन्छ । यहाँबाट फेरि दक्षिणतिर हुलाकी राजमार्ग भेटिन्छ । 

यहाँ पनि पुलले नै हाम्रो बाटो छेक्यो । घुम्दै फिर्दै बाटाहरु पहिल्याउँदै हामी सप्तरीको सदरमुकाम राजविराज पुग्यौं । 

==

कुनै समय मधेशकै गुल्जार शहर राजविराज आजकल विना हराएको कस्तुरी जस्तो भएको छ । बजारमा ३० वर्षदेखि किराना पसल गर्ने शिवनारायण शाह राजविराज सुक्नुमा मधेस आन्दोलनको प्रभाव, कोरोना महामारी र सीमा छेउका भारतीय बजारलाई दोष दिन्छन् । 

हामीले राजविराजमै त्यहाँका पन्चायतकालिन मेयर गोबिन्द सिँहलाई भेट्यौं । 

राजविराजबाट अघि लाग्दा फेरि अर्को एउटा सूर्यास्त भइसकेको थियो । 

==

भोलिपल्ट विहानै बोदेबर्साइन भन्दा अलिक पश्चिम कुशमाहार भन्ने ठाउँमा धान रोप्ने चटारोमा किसानहरु भेटिए । 

रोपाहार महिलाहरुले श्रीमानहरु विदेश जान थालेपछि सुख भएको सुनाए । 

परशुराम मण्डललाई गाउँ छेउमा आएको ठूलो बाटोले खासै अर्थ राखेको छैन । बरु खेतीको समयमा मल नपाउँदाको चिन्ता छ । 

जिन्दगीभरि जमिन्दारको घरमा हरुवा चरुवा बसेका परशुराम अहिले स्वतन्त्र छन् । आजादीको जस्तो आनन्द अरु के नै हुन्छ होला र ?

हामी भोकै होलाउँ भनेर जाने बेलामा परशुरामले आफ्नो घर गएर भोजन गर्न अनुरोध गरे । हामी प्रेमले अघायौं । 

बालन खोला तरेपछि हामी सप्तरी छाडेर सिराहामा प्रवेश गर्यौं । 

==

हुलाकी राजमार्ग पछ्याइरहेका हामी ठाउँ ठाउँमा पुराना हुलाकी खोज्दै हिँडिरहेका थियौं । सिराहा सदरमुकाम माडरमा हामी पुराना दुई हुलाकीसँग एकछिन गफियौं । 

==

माडरबाट थोरै पश्चिम लागेपछि कमला नदी भेटिन्छ । राजमार्गको अर्को एउटा पुल विनाको नदी । झन्डै झन्डै बनिसकेको पुल भासिएपछि सिराहाबाट धनुषा जान कि त पूर्व पश्चिम राजमार्ग भएर जानु पर्यो कि त भारतको जयनगर हुँदै । 

हामी कमलाको तिरैतिर महेन्द्र राजमार्गमा बन्दिपुर भन्ने ठाउँ निस्कियौं र कमला तरेपछि फेरि दक्षिण लाग्यौं । धनुषाधाम नजिकै हुलाकी सडक फेरि भेटियो । 

हामी साँझपख जनकपुर पुग्यौं । तालतलैयामा डुब्न लागेको घामको लाली पोखियो । 

जनकपुरबाट पश्चिम लागेपछि हुलाकी सडकले केही घना बस्तिहरु छिचोल्छ । कतै साँघुरा कच्ची सडक कतै अलि फराकिला । ठाउँ ठाउँमा बन्दै गरेका पुलहरु । 

सर्लाहीको मलङ्गवाबाट अलिकति पश्चिम मुसौली भन्ने ठाउँमा बाटो छेउ २५ वर्षदेखि ताडी बेचिरहेका विलास पासवान भेटिए । 

महोत्तरी र सर्लाहीका गाउँ वस्ती छिचोलेर वागमतीको पुल तर्ने ठाउँ खोज्दै जाँदा हामी पटक पटक बाटो अल्मलियौं । 

महिनाथपुर भन्ने ठाउँमा वागमतीको पुल भेटियो । पुल तरेपछि हामी रौतहट जिल्ला पुग्यौं । 

वीरगन्ज छेउका बाक्ला बस्तिहरु छिचोल्दै हाामी पश्चिम लाग्यौं । बाटोमा भेटियो हरपुर गाउँ । 

पर्सा जिल्लाकै, ठोरी विजयवस्तिमा पहाडबाट बसाइँ झरेका तामाङ र नेवार समुदायको बाहुल्य रहेछ । 

भद्रपुरबाट सुरु भएको हुलाकी राजमार्गको हाम्रो यात्रा ठोरी पुगेर टुङ्गियो ।

Thade Gaunka Mitko Katha EP128

बेलायतको मध्य भेगतिर पश्चिम योर्कशायरमा टोडमोर्डन भनिने सस्यानो बजार छ । म्यानचेस्टर शहरबाट १७ माइलजति उत्तरपूर्व । 

टोडमोर्डन गाउँको वस्तुभाउको दाना किन्ने एउटा पसलमा डाक्टर बेन क्याम्प्बेल भेटिए । हिजो साँझ मात्र स्पेनमा छुट्टी मनाएर फर्केका बेन बाख्राको दाना किन्न आएका थिए । 

बेन यहाँबाट ३ घन्टा रेलबाटो टाढा डरहम विश्वविद्यालयमा मानवशास्त्र पढाउँछन् । 

डाइनिङ टेबलमा एउटा तस्बिर थियो । यहाँबाट हजारौं किलोमिटर टाढा रसुवाको एउटा विकट गाउँको । तस्बिरमा थिए बेनका मितेरी नाती नातिना । 

सन् १९७६ मा पहिलोपटक नेपाल पुग्दा बेन  १८ वर्षको तन्नेरी थिए । उनलाई पुरातत्वमा रुचि थियो । इराकले भिसा नदिएपछि उनी हिप्पीहरुको पछि लागेर नेपाल पुगेका थिए । त्यसबेलाका सम्झनाहरु जुनकिरीको बत्ती जस्तै टिलपिल टिलपिल छन् । 

त्यसयता बेन पटक पटक नेपाल पुगेका छन् । रसुवाको एउटा तामाङ गाउँको आर्थिक र सामाजिक पाटो केलाएर पिएचडी गरे । रसुवामै मितेरी साइनो गाँसे । २६ वर्ष पहिले नेपाली मितका जोडी यहाँ आइपुगेका थिए । उनीहरुले नै बनाइदिएका थिए बेनको घरमाथिको डाँडोमा पााखाबारी । 

रसुवाकै कुनै गाउँ जस्तो लाग्नो टोडमोर्डनको यो कुनामा बेन अझै पनि नेपालसँगको मितेरी माया सम्झिँदै माटोसँग खेलिरहेका भेटिन्छन् । लजालु बेन कहिलेकाहिँ कसैले नसुन्ने गरी तामाङ सेलो गुनगुनाउँछन् र कसैले नदेख्ने गरी आँशु खसाल्छन् ।

Kalkatiyawaliko Katha EP127

जनकपुरको कुनै पनि कुनामा गएर कुनै पनि रिक्सावालालाई सोध्नुस् – कलकत्तियावालीको ठेगाना । तपाईंलाई सही ठाउँमा पुर्याइदिनेछन् । 

नोचपुर । कलकत्तियावालीको सुटिङ स्थल । यो टोलीले आफ्नै रगत पसिना खर्चेर बनाएको सानोतिनो फिल्म सिटी । 

यही नोचपुरभित्र रचना हुन्छन् मैथिली भाषाका हास्यरसले भरिएका सन्देशमुलक भिडियोहरु ।  

काठमाडौंले नसुन्ने र नबुझ्ने भाषामा यो टोलीले बनाएका कलकत्तियावाली अनि अरु थुप्रै नाम गरेका युट्युब भिडियो नेपाल र भारतका लाखौं मानिसले हेर्छन् । 

भिडियोका हरेक पात्र साना ठूला सबैका ढुकढुकीमा बसेका छन् । नोचपुरको यो सुटिङस्थलमा त कहिलेकाहिँ सुटिङ हेर्नेहरुको सम्हालीनसक्नु भिड लाग्छ रे । 

लाखौं दर्शकको दिलभित्र स्थायी ठेगाना बनाउनुअघि यो टोली बेठेगान थियो । अरुण र इशिका बम्बैको संघर्षसँग गलेका थिए । अविनाश पासपोर्टका पाना पल्टाउँदै थिए । श्याम मलेसियामा कविता लेख्दै थिए । अन्सा र मन्सा हुर्किएको धनुषाधाम छेवैको मुसहर टोला त शायद नक्सामै थिएन । 

मिथिला क्षेत्रका गाउँघरमा सानैदेखि देखेका सङ्गित, नाटक र प्रहसनहरुले यी सबैका नशा नशामा कलाकारिता सल्बलाइदिएको थियो । कथा जिन्दगीका त अआफ्ना । 

Story of Hope EP126

लडेको मान्छे उठ्न सक्छ कि सक्दैन ? जिन्दगीसँग हारेको मान्छेले त्यही जिन्दगीलाई अङ्कमाल गर्न सक्छ कि सक्दैन?  निराशाले फतक्क गलेको मान्छे फेरि सपना देख्दै मुर्झाउन सक्छ कि सक्दैन ? यो आशाको कथा हो । 

रोमनका शरिरभरि खोपिएका किरिमिरिङ ट्याटुहरु, केवल नमेटिने मसी मात्र होइनन्, ती त नमेटिने सम्झना पनि हुन् । 

आजभन्दा ३०-४० वर्षअगाडिको धरान । चारकोसे झाडी छेउ भर्खर बिस्तार हुँदै गरेको बस्तीमा खोटाङतिरबाट एउटा इन्डियन लाहुरेको परिवारले खाँबो गाडेको थियो । त्यही परिवारका प्रिय छोरा थिए रोमन राई । 

कलिलो स्कुले जीवनमै रोमन लागु पदार्थको कुलतमा फसे । लाहुरे बुबा परदेशमा पसिना बगाउँदै थिए । आमा घरमा आँशु बगाउँदै थिइन् ।

आमा जङ्गीशोभालाई अहिले पनि विगत सम्झिन मन लाग्दैन । 

नशाकै सुरमा रोमनले आशालाई बिहे गरे । रोमनको जिन्दगीमा आशा लिएर आउने आशा  । 

आशा गर्भवती थिइन् । रोमन नशामै थिए । आमाको माया र आशाको आशाले रोमनलाई सुधार गृह पुर्यायो । 

रोमन त सुध्रिए तर आशालाई मनको रोग लाग्यो । कलिलो उमेरमा बिहे गरेर आमा बनेकी । लागु पदार्थ प्रयोग गर्ने श्रीमान्ले विगतमा दिएका हैरानी । अदृश्य चोटहरुले आशालाई डिप्रेसनको बिरामी बनायो । 

रोमन र आशाको जिन्दगीको उतारचढाव यत्तिमै सकिएन । रोमनलाई एच आइ भि संक्रमण देखियो । 

बितेका २ दशक यी जोडिले जिन्दगी बाँच्न सिके । हार्न होइन जित्न सिके । 

कुनै समय नशाको तालमा खुकुरी नचाउँदै हिँड्ने सडकमा रोमन मजदूर भएर ठेला ठेल्दै हिँडिरहँदा उनका अहम् हरु शुन्यमा बिलाए । 

अहिले रोमन धरानमा सम्मानित नाम बनेका छन् । उनी एच आइ भि एड्स संक्रमित र लागु पदार्थ दुर्व्यसनीहरुको लागि काम गर्ने संस्था चलाउँछन् । 

कुनै समय कलहले गाँजेको यो परिवार यतिखेर खुसी र सुखी परिवार भएको छ । आशाले डिप्रेसनलाई जितेकी छिन् । बाँच्ने रहरहरु बढ्न थालेका छन् ।

Belayatka Gham-Joon Haru EP125

पार्कहरुमा पुतली जस्तै यता उता गरिरहेका । नेपाली खानपिनका राग भेटिने पसलका जिनिसहरु ओल्टाइ पल्टाइ गरिरहेका । कोही टोलाइरहेका डेरा जाने बसको झ्यालबाहिर हेर्दै । कोही लडिरहेका ओछ्याउनमा सम्झिँदै युद्ध लडेका विगत । 

पल्टने शहर भने चिनिने अल्डरसट आजकल गोर्खाली शहर भनेर चिनिन थालेको छ। 

बिजुली र बाटो नपुगेका पहाडी गाउँका तन्नेरीहरु हावा जस्तै उडेर मलाया ब्रुनइ र हङकङ पुगे । विश्व युद्ध लडेका तक्माहरु भित्तामा कतै थकाइ मार्दै छन् । लाहुरेहरु बुढेसकालमा बेलायततिर बरालिँदै छन् । 

जुलाई महिनाका दिन प्राय घमाइला हुन्छन् । हरिया गलैंचा बिछ्याइए झैं चौरहरुमा मन भुलाउनेहरु भेटिन्छन् । कोही कसरत गरिरहेका, कोही दौंतरीसँग वात मारिरहेका । 

झन्झटिला नियम कानुले गर्दा हुर्किसकेका बालबच्चा ल्याउन सजिलो छैन । धेरै बुढाबुढीहरु एक्ला छन् । 

एक्लोपनलाई भुलाउन कोही आमा समूहको भेलामा नाचिरहेका भेटिन्छन्, कोही मन्दिरमा घन्टी बजाइरहेका । कोही गुम्बामा ध्यान गरिरहेका । यदाकदा गुन्जिन्छन् यानिमायाका भाका बेलायती हावामा । 

दुःखमा पनि हाँस्ने रमाउने नेपालीको बानी । पीडाहरु त कि मन भित्र छन् कि छन् विगतका चित्रहरुमा ।

म्याग्दीकी मङ्गली मगर्नी । युद्धमा नहारेका उनका श्रीमान् आफ्नै देशमा हारे । वर्षौंअघि श्रीमान् गुमाएकी मङ्गली कुनै दिन एक्लै आएकी थिइन् बेलायत । 

रगत पसिना र जवानी खर्चिएबापत पाउने अलिकति पेन्सनले अन्याय गर्यो । पटक पटक आन्दोलन भयो । गोर्खालीहरुले बेलायतमै रहने बस्ने सुविधा पाउने भए । नेपाली पाखा बेसीका चौतारा र गाउँबस्ती रित्तिन थाले । 

न त लाहुरे जिन्दगी सजिलो थियो न त बेलायत आउँदाका सुरुवाति दिनहरु । 

बम र बारुदसँग जवानी साटेकाहरु चाउरिएको उमेर साट्दैछन् बेलायती घामपानीसँग । बीरबहादुर थापा का बाजेले पहिलो विश्व युद्ध लडे । बाउ पनि लाहुरे । आफू पनि लाहुरे । 

लाहुरमै जन्मी-हुर्की देश विदेश डुलेका बीरबहादुर थापासँग अवकाशपछि आफ्नो भन्नलाई कुनै देश थिएन । 

आज मंगलबार । अल्डरसट नजिकैको फार्नबोरोमा मंगलबारे बजार लाग्ने दिन । नेपालका हाटबजारभन्दा कम्ता छैनन् परेदशी बजार । 

बजार सकिएपछि पोका पन्तुरा बोकेर हटारुहरु बाटो लागे ।

Gajendra, Gai ra Sapanaharu – EP124

विराटनगर छेवैमा एउटा आधुनिक गाई फारम छ । फारमभरि रहरलाग्दा उन्नत जातका गाईहरु छन् । 

करोडौं रुपैंया लगानी गरेर यो गोठ सुरु गर्ने गजेन्द्र शर्मा चाहिँ यहाँबाट ३ हजार किलोमिटर टाढा दुबइको हिल्टन होटलमा छन् । गजेन्द्र त्यहाँका तीन वटा हिल्टन होटल सम्हाल्ने महाप्रबन्धक हुन् ।  

गाइ फारम छेवैको गाउँमा गजेन्द्र हुर्केका हुन् । बुबा चिनी मिलमा पिउन काम गर्थे । आमा अरुको जग्गामा अँधिया गर्थिन् । खान लाउन दुःख थियो । 

किसान परिवारका गजेन्द्रलाई सानैदेखि खेतीपाती भन्दा पढाइ लेखाइमा रुचि लाग्थ्यो । 

विराटनगरमा आइकम पढेर उनी बाटो खर्च बोकेर काठमाडौं गए । संयोगहरुले साथ दियो । चिनेजानेकाले काठमाडौंमा काम लगाइदिए । काठमाडौंमा केही वर्ष गलैंचा उद्योगमा काम गर्दा विदेशीसँग सङ्गत भयो ।

गजेन्द्र होटल म्यानेजमेन्ट पढ्न स्वीटजरल्यान्ड गए । पढाइ सके । काम गर्न थाले । हिल्टन होटलमा स्वीजरल्यान्ड अस्ट्रिया UAE मा काम गरेपछि सन् २०१७ मा चाइनाको हिल्टनमा जेनेरल म्यानेजर भए । 

गाइ फारममा गोबर सोर्दै गरेका चाहिँ गजेन्द्रका भाइ धर्मेन्द्र । 

धर्मेन्द्रलाई चाहिँ सानै देखि गाइबस्तु अनि खेतीपातीमा रुचि थियो । 

गजेन्द्रलाई समयले संसार डुलाएजस्तै भारत राजस्थानका अरबीन्द कोठारीलाई विराटनगर आउन जुरेको रहेछ । भेटनरी डाक्टर अरबिन्द यो फारमका म्यानेजर हुन् । दुई वर्षमा अरबिन्दको नेपाल माया यति गाढा भइसकेछ कि उनको परिवार पनि अब यतै बसाइँ सर्दैछ । 

साँझको दुध दुहुने बेला भयो । गाइहरु लस्करै लाइन लागेर नुहाउँदै दुध दुहुने मेसिन अगाडि उभिन्छन् । 

थुनमा मेसिन जोडिदिएपछि दुध सिधै भित्र कोठाको ट्याङ्कीमा पुग्छ । कुन गाइले कति दूध दियो कम्प्युटरले देखाउँछ । अनि यहाँको दूध विराटनगरका घरघरमा पुग्छन्  ।

दुध दुहुने डिपार्टमेन्ट हेर्ने चाहिँ जोगबनीका रमेश यादव । फारमका साथीहरु उनलाई मायाले रमेश चाचा भन्छन् । 

कुनै दिन नयाँ साइकल चढ्न पाए हुन्थ्यो भनेर सपना देख्ने गजेन्द्र शर्माले सपनाहरु पछ्याउँदै पछ्याउँदै संसार देख्यो । नाम र दाम कमायो । यतिखेर फेरि एउटा सपना आफ्नै गाउँको माटोमा टुसाएको छ । आाखिर जिन्दगी सपनै सपनाको  खुड्किलो त रहेछ नि !

The Lost Years EP 123

अन्दाजी ३५ वर्षपछि त्यही फुच्चे केटो चुम भ्यालीको एउटा चौंरी गोठमा भेटियो । यतिखेर उसले भुलिसकेको थियो आफ्नो वास्तविक नाम, ठेगाना, बाउ-आमा उमेर र आफू हराएका वर्षहरु । उसँग सम्झिनको लागि समेत कुनै सम्झना बाँकि थिएन । 

एउटा संयोगले डोर्याएर चौंरी गोठमा पुगेका हामीले उसका केही विस्मृतिहरु कोट्याउन खोज्यौं । 

प्राय मानिसहरु उसलाई उमेर सोध्छन् । उसले उमेरको गिन्ती जानेको छैन  बरु जानेको छ घिउ निकाल्दा मदानी हल्लाउँदै गाइने तिब्बती भाषाको गुणन । 

हामीले प्रकाशलाई सोध्यौं – तपाईंको घर खोज्न जान मन छ ? बितेका ३५ वर्षमा प्रकाशलाई कसैले नसोधेको प्रश्न थियो यो ।

हामीले झापाका पत्रकार साथी पर्वत पोर्तेललाई तिनकठ्ठे भन्ने ठाउँको बारेमा सोध्यौं । 

 त्यसै रात प्रकाशलाई खबर गर्यौं । प्रकाश भोलि विहानै हिँड्न तयार भए। 

तर प्रकाशका मालिक उनलाई पठाउने कुरामा दोधार थिए । मालिक्नीलाई पठाउन मन थिएन । धेरै अनुनय गरेपछि प्रकाशले १० दिनको छुट्टी पाए । मालिकले प्रकाशलाई बाटो खर्च ५ हजार थमाइदिए । 

हिँड्ने बेला प्रकाशका गोठाले साथी उनलाई विदाइ गर्न आइपुगे । 

हामी एउटा अनिश्चित र लामो यात्रामा हिमालबाट ओरालो झर्यौं । 

गाउँ भन्दा अलिक पर चौंरी खर्कमा पसल गर्ने साथीहरुले रसिला आँखाले प्रकाशको बिदाइ गरे । 

हिमालका झ्यालखानाभित्र जन्मकैद बिताएका प्रकाशको कल्पनामा समेत बाहिरी दुनियाँको तस्बिर त्यति प्रष्ट थिएन । 

यात्राले डोर्याइरहँदा प्रकाशका कतिपय हराएका सम्झनाहर फर्किएर आइरहेका थिए । उनले सनै सनै सम्झिए घर छेउको देउनी खोला, हाट बजार र गोरेटोहरु । 

बाटोबाट कतै हामीले फेरि झापाका साथीलाई फोन गरेर उनको सम्झनामा बाँचेका ठाउँहरु छन् छैनन् सोध्यौं । 

बाटोमा भेटिएका गाउँले बाजेले प्रकाशकी आमा बितिसकेको खबर सुनाए । 

दिदीहरुलाई भेटेपछि प्रकाशको मन आधा सन्चो भयो । बाउ आमा र दाजुभाइहरु माथि पहाडमा जिउँदै छन् रे । झापाबाट हामी सोझै भोजपुरतिर लाग्यौं । 

प्रकाशको अनुहार यतिखेर धेरै उज्यालो भइसकेको थियो । उनी वर्षौं हराएको समयलाई बिर्सिएर नयाँ समयको पर्खाईमा थिए । 

वर्षौं हराएको मान्छे गाउँ फर्किएर आएको खबर वरैसम्म फैलिएको रहेछ । 

प्रकाशको घरमा आफन्त र छिमेकीहरुको घुइँचो लागेको थियो । आँखा कम देख्ने प्रकाशका रिठ्ठे भाइ भेटिए । बालखमैमा छुट्टिएका यी दुइ भाइले वर्षौंको मौनता तोड्ने शब्द भेटेनन् । 

मरेको छोरो फर्किएर आएको सपनाजस्तो खबरले दिएको खुसीको ज्वालामुखीलाई निभाउन आमा अलिकति रक्सी खाएर आँगनमा चट्टान झैं उभिएकी थिइन् । खुशिहरू झुक्याउँदै आँखाबाट टिलपिल निस्किन खोजिरहेका थिए । प्रकाशले आमा चिनेनन् । 

हिजोसम्म हिमालमा हराएको एक्लो मान्छे यतिबेला आफ्नै घरको आँगनमा आफन्तै आफन्तहरुले घेरिएको थियो ।

फर्किने बेलामा प्रकाशले साहुले दिएको बाटो खर्च आमाको हातमा राखिदिए । दशैं मान्न घर फर्किने वाचा गरे ।

Story of Mango EP 122

गणतन्त्रमा पनि हामीले मानिदिएको एउटा राजा छ । फलको राजा – आँप । सिजनको बेला तपाईंले खाइरहेको गुलियो रसिलो स्वादिलो खँदिलो एउटा पुर्ण फल आँप – सम्भवत मधेसमा चुरे फेदिका रापिला बलौटे माटामा फलेको हुन सक्छ । 

त्यो आँप सप्तरीकी हिराकुमारीको  हातले टिपेको हुन सक्छ, पहाडसँग रिसाउँदै रिसाउँदै अनगिन्ती बसाइँका बिसौनीहरु बिसाउँदै बिसाउँदै रामेछाप र सिन्धुपाल्चोकबाट सिराहा झरेका तामाङहरुको खेतमा फलेको हुन सक्छ वा हुन सक्छ त्यो आँप धनुषाका रामउद्‌गार महतोको बारीमा हुर्केको । । 

तपाईंले खाइरहेको आँपमा स्वाद र रस मात्र होइन अलिअलि पसिना हुन सक्छ अलिअलि सपना हुन सक्छ अनि अलिअलि मुस्कान । 

आँपको कथा

धनुषा

ढल्केबर बजारमा एकाविहानै आँपको मेला लागेको छ । गाउँ गाउँबाट आएका किसानहरुले थरिथरिका आँप सजाएका छन् । ढल्केबरबाट पश्चिमतिर बटेश्वर गाउँपालिको चित्रपुर गाउँ छ । चित्रपुरमा विचित्रसँग आँप फलेका छन् । 

चैत वैशाखको हावाहुरीले कलिला चिचिला झार्ने बेलादेखि सुरु हुन्छ आँपै आँपको सिजन । राम उद्गार महतोको आँगनभरि आँपका थरिथरिका आइटम घाम ताप्दैछन् । 

सिराहा

देशैभरि नाम कमाएको लाहानको आँप, लाहान बजारमै चाहिँ फल्ने होइन । कमला तरेपछि नै राजमार्ग उत्तर तिरका गाउँ बस्तीहरुबाट सुरु हुन्छ आँपै आँपको जङ्गल । 

धनगढीमाइ नगरपालिकाको जिरो माइल भन्ने ठाउँबाट उत्तरतिर बाक्लो तामाङ बस्ती छ । कुनै बेला खान लाउनको दुःखले झन्डै रित्तिएको यो गाउँलाई खुसी दिएको छ आँपले । 

सप्तरी

आँपको संसारमा सप्तरीको श्रीपुर गाउँले पनि नाउँ कमाउन थालिसकेको छ । हिरा कुमारी चौधरीलाई सानो बँगैचाले पनि ठूलो खुसि दिएको छ ।

Samayako Katha EP 121

लाहुरे बुबा देश विदेश गर्थे । प्रतिभा पनि हङकङमै जन्मेकी थिइन् । बुबाको माया मृगतृष्णा थियो । पैसा थियो, प्यार थिएन । 

प्रतिभा धरानमा आमा र दाइहरुसँग बस्थिन् । पुगीसरी जिन्दगी थियो ।  ६ कक्षा पढ्दै गर्दा साथीहरुमाझ कुनै दिन एक खिल्ली चुरोट सल्कियो । बाल जिज्ञासाले एक पफ धुवाँ उडायो ।  त्यसपछि सनै सनै प्रतिभाको जिन्दगी सल्कियो । घर परिवार र सम्बन्धहरु सल्किए । प्रतिभाले बाँचेर पनि बाँच्न नसकेको एउटा जवान समयले उनलाई यतिखेर फेरि बाँच्ने रहरहरू दिन थालेको छ । 

समयको कथा

प्रतिभा ८ कक्षामा पुग्ने बेलामा लागु पदार्थको लत सुरु भइसकेको थियो । दुई जना दाइ पनि त्यही बाटोमा हिँडेका थिए । त्यही बेला आमाले पनि संसार छाडिन् । 

प्रतिभा घर परिवार र समाजबाट भाग्दै हिँड्थिन् । उनलाई केवल लागु पदार्थको नशा प्यारो थियो । बेहोशीमा भोगेका  चोक, गल्ली, झ्यालखाना, प्रेम र सम्बन्धहरुको हिसाब छैन । 

बेला बेला बिगतका नमिठा सम्झनाहरू आँशुका थोपा भएर झर्छन् । 

आमाका साडी र बुबाका पल्टनका तक्माहरुसँग उनी एक डोज नाशा साट्थिन् । अहिले आएर लाग्न थालेको छ, उनले स्वतन्त्रता भन्ठान्नेको गरेका नशा त केवल एउटा ब्ल्याक होल रहेछ जसले निलेको थियो प्रतिभा र उसँग जोडिएका माया र सम्बन्धहरुलाई । 

प्रतिभा पटक पटक एउटा शब्द प्रयोग गर्छिन् – सरेन्डर अथवा आत्मसमर्पण । लागु पदार्थको दुर्ब्यसनको चरम अवस्थामा पुगेकी प्रतिभासँग केवल दुइवटा बाटा थिए । जेलभित्र सड्ने अथवा ओभरडोज भएर मर्ने । प्रतिभाले हारसँग होइन जितसँग आत्मसमर्पण गरिन् ।  

प्रतिभालाई बाँच्न मन लाग्यो । जिन्दगीमा ग्लानिबाहेक केही थिएन । त्यही ग्लानिले उनलाई अलिकति बल दियो । सुधार गृहमा बसिन् । बाहिर निस्केर नशामुक्त भइ आफैंले सुधार गृह खोलिन् । 

जिन्दगी सरल रेखामा कहाँ हिँड्छ र ? लागु पदार्थ छाडेको ८ वर्षपछि प्रतिभाले फेरि नशा सुरु गरिन् । 

यो एउटा रोग थियो । उपचार अफ्ठ्यारो थियो तर असम्भव थिएन । 

प्रतिभाले धरानमा फेरि महिलाहरुको लागि सुधार गृह खोलिन् । ६ वर्षभयो ड्रग छाडेको । अब चाहिँ त्यही बाटोमा फर्किन्छु जस्तो लागेको छैन । 

प्रतिभाको सुधार गृहमा ‍‍27 जना महिला छन् । धेरै जसो स्कुल पढ्ने उमेरका । प्रतिभाले कुनै समय बाँचेको जिन्दगी बाँचेका ।

उनी चाहिँ स्कुलको शिक्षिका थिइन् । ५ महिना भयो यहाँ आएको । 

प्रतिभा र प्रतिभाले चलाएको सुधार केन्द्रका मान्छेहरु सप्पै जना एउटा साझा कथा बाँचिरहेका छन् । पश्चातापको कथा । यही पश्चाताप नै यतिखेर उनीहरुको परिचय बनेको छ र बाँकि जिन्दगी बाँच्ने आँट पनि ।

Pahadki Rani EP 120

मोरङै माथि जेफाले 

पुर्यायो हाम्लाई कथाले 

बत्तिसै जुरे पहिरोले 

देखिन्न गाउँ कुइरोले 

ए 

सङ्लो पानी मूलको

बास्ना चल्छ फूलको

परदेशी आए आँगन

एक रात बास मागन

ए 

झुल्कियो घाम आकाश

मोहनी लाउँछ बतास

उषाको लाली देखाउँदै

वन चरी आयो बोलाउँदै

आँगनै भरि कुखुरा

खोरै भरि  बाखरा

कर्मको यो आँगनमा

नहुने भन्ने के छ र ?

बिना लिम्बुको संसार

ए 

हाँगैमा नुघ्यो बाँसैको

लिम्बुनी दिदी हाँसेको

पूर्वको उषा लाली झैं

सुनगाभा फूलको डाली झै

पहाडमा दुःख भोगेछन्

सुखको मधेस झरेछन्

दुःखको ढाकर बोकेर

एक माना खोले खाएछन्

पसिना धारा   छरेर

कहिले देश बिदेश गरेर

कमाए तिनले सम्पत्ति 

बनाए तिनले सन्तति

पहाडी पाखो बाँझो भो

गाउँघर उनको जङ्गल भो

नियास्रो लाग्यो फूलको

चिसो पानी मूलको

छाडेर सिमेन्टी शहर

गाउँ फर्किने रहर

आँखामा सपना साँचेर

मुटुमा माया गाँसेर

फर्किए उनी गाउँमा

आफ्नै प्यारो ठाउँमा

बनमारा झाडी फाँडेर

चियाका बुटा गाडेर

लगाई पानी, पसिना

खेपेर बादल असिना

बनेली पाखा रमाए

चियाका मुना पलाए

माटोमा सुन फलाए

त्यो पहाडी पाखामा

आफ्नै गाउँको काखमा

माटोको दरबार बनेछ

मायाको घरबार बनेछ

रमाउन थालिन् लिम्बुनी

जंगलकी रानी झैं

छहराको पानी झैं

नदेख्ने गरी को आयो

परानलाई बोलायो

दुई दिनको चोला यो

डुबाइ सबलाई शोकमा 

लिएर गयो परलोकमा

छाडी गयो तेसरी

सम्झना आउँछ बेस्सरी

बारीको छेउमा कपुरथान

कपुरथानमा शिरीमान

ए 

साथ छुट्यो उनको जोडाको

रोकिनन् गति गोडाको

दुःखकै बल बोकेर

कर्मको पुजा गरेर

एक छोरा छोरी साथमा

सिक्दैछन् कर्म हातमा

ए 

सम्झनाको सिरानी

सम्झना नै बिरानी

हावासँगै डुलेको

गुराँस झैं फुलेको

मलेवाको जोडी त्यो

हाँस्दै खेल्दै हिँडेको

मेरो माया हरायो

मन मेरो डरायो

ए 

बतासले लग्यो कि

चियाबारीमा छुट्यो कि

वनभित्र एक्लै कतै 

सुुसेल्दै पो होला कि

आज मेरो मन भो

आफ्नै पीरको बन्दगी

हाँसी हाँसी बिताइदिन्छु

दुइ दिनको जिन्दगी

Sundar Katha EP 119

कोशी छेउका मलिला फाँटहहरुमा आमा-बाले माटोसँग खेलेको सानैदेखि देखेका थिए रघु चन्द्रवंशीले । धान र मकैको गुजारा खेतीले पेट त भरिन्थ्यो तर आवश्यकताहरु पूरा हुँदैन थिए । 

गाउँमा ब्याचलर पास गरेपछि कुनैदिन आफ्ना बालसखा अमिर निरौलासँग कोरिया हानिएका थिए रघु । कोरियामा यी दुईले पसिना र पैसा दुबै देखे । अनि देखे कोरियाबाट कयौं माइल टाढा  प्रकाशपुरको आफ्नै माटोमा सुन फलाउने  सपना । 

गाउँका छिमेकी छविलाल चौधरी पनि अफगानिस्तानबाट फर्केका थिए । यी तीनको टिम बन्यो अनि सुरु भयो सुन्दर कृषि फार्म । 

सुन्दर कृषि फार्मका सुरुका दिनहरु त्यति सुन्दर थिएनन् । एकातिर परिवारको गनगन अर्कोतिर शीप र अनुभवको कमी । उनीहरुले गल्ती गरे र गल्तीबाट सिके । 

लड्दै, उठ्दै साढेँ पाँच वर्षमा उनीहरुले तरकारी खेतिको साम्राज्य नै खडा गरेका छन्। चार कठ्ठाबाट सुरु भएको फार्मलाई ११ बिघा पनि साँघुरो भइसकेको छ। लाखको लगानी करोड पुगेको छ । 

सुन्दर फार्मको सुगन्ध आजकल टाढा टाढा फैलिन थालेको छ । अनुभवीदेखि सिकारु किसानहरु फार्ममा आइरहन्छन् । 

सुन्दर फार्मका कर्मजिवीहरुलाई घाम पानी र जाडो गर्मीले फरक पार्दैन । विहानदेखि साँझसम्म उनीहरु माटोसँगै खेलिरहन्छन् ।

Joge Loharka Chhora EP 118

तपाईं जोगे लोहारलाई चिन्नु हुन्न । हो जोगेलाई कसैले पनि चिन्दैन । यो देशले पनि । 

दुई छाक खानको लागि मात्रै पुरै जवानी भारतका चौकीदारीमा बिताउन बाध्य सुदूर पश्चिमका लाखौं मान्छेमध्ये एक हुन् जोगे लोहार । धनगढी र नेपालगंजका नाइटबसबाट झरेर मैलो सुरुवालको भित्री गोजीमा केही सय भारु जतन साथ लुकाएर – सीमामा आउने जाने मान्छेहरुमध्ये एक हुन् जोगे लोहार । 

जोगे लोहारले पनि उमेरका थुप्रै वर्ष भारतमा बिताए । 

तपाईं जोगे लोहारका जेठा छोरालाई पनि चिन्नुहुन्न । उनी अझै पनि भारतमै मजदूरी गर्दैछन् । 

जोगे लोहार डोटीको के आइ सिँह गाउँपालिकाको फलानो गाउँमा एक्लै बस्छन् । बार्दलीमा रेडियो बजिरहन्छ । जोगे आरनमा घन ठोकिरहन्छन् । 

छिमेकका तपबहादुर कार्की जोगेका साथी । पारिलो घाममा यी दुई बात मार्छन् । 

७० वर्ष पुग्न लागेका जोगेको बल पहिले जस्तो छैन । तपबहादुरका नातिनीहरु जोगेलाई माया गर्छन् । कहिले पानी ल्याइदिन्छन् कहिले दाउरा । 

जोगेका कान्छा छोरा शिबी लोहार यतिबेला काठमाडौंमा छन् । बालखमा पढ्न उति साह्रो मन नगर्ने शिबीलाई एक ताका जोगेले आफूसँगै भारत लगेका थिए । 

६ वर्षअघि शिबीकी आमा बिरामी परिन् । डरलाग्दो रोग लागेको थियो – गरिबी ! १४ वर्षका शिबीले आमालाई लिएर नेपालगन्जदेखि काठमाडौंसम्म ओहोर दोहोर गरे ।

आँखै अगाडि आमाको ज्यान गयो । शिबी लोहारले डाक्टर बन्ने सपना त्यही बेलादेखि देख्न थाले । 

शिबीले काठमाडौं बसाइको खर्च ट्युसन पढाएर जुटाउन थाले । भारतमा मजदुरी गर्ने दाइले डाक्टर बन्ने भाइको सपनामा मलजल गरिराखे । गाउँका स्कुलका र काठमाडौंका प्लस टुका मनकारी गुरुहरुले शिबीलाई आँट दिइराखे । 

केही महिनाअघि मात्र शिबीले डाक्टर पढ्न छात्रवृत्तिमा नाम निकाले । जोगे लोहारको छोरा अब डाक्टर बन्ने भए । जोगेका चाउरिएका गालामा मुस्कानहरु छरिए । 

आज मेडिकल कलेजमा शिबीको पहिलो दिन । शिबीको डेरा भैरहवा सरेको छ । डोटीबाट छोरा भेट्न जोगे पनि आइपुगेका छन् । बुबाको आशिर्बाद लिएर शिबी मेडिकल कलेजको गेटबाट भित्र छिर्छन् । 

अबको ५ वर्षपछि उनी डाक्टर शिबी लोहार हुनेछन् ।

Kharideko Katha EP 117

माथि भोजपुरका सिरानदेखि बटुल्दै अनि खेदाउँदै ल्याइएका वस्तुहरुको बथान आज हतुवागढीको हसनपुर आइपुगेको छ । 

जंगबहादुर मगरको कथुरी नाम गरेकी कोरली बाच्छी सँधै झैं आँगनको पारिलो घाम ताप्दैछे । घर खर्चको जोहो गर्न जंगबहादुरले आज कथुरीलाई खरिदेको जिम्मा लाउँदैछन् । 

१२ हजारबाट सुरु भएको मोलमोलाई ९ हजारमा पुगेर कुरो मिल्यो । खरिदेले दाम्लो फुकाए । 

नौलो मान्छेलाई कथुरीले  के टेर्थिन् र । खरिदेको हातबाट फुस्किएर कथुरी बाटो मुन्तिरको बारीको पाटामा बुर्कुसी मारेर उफ्रिन थालिन् । खरिदे उनको पछि पछि असिन पसिन भएर दौडिरहे । 

निकै बेरपछि कथुरी थाकिन् । खरिदे पनि थाके । 

गाउँकै भिमबहादुर मगरले परसम्म कथुरीलाई धपाउँदै पछि लागे ।  केही बेरपछि कोरली गाई पनि आफूजस्तै अरु गाई गोरुका बथानमा मिसिइन् । 

पूर्वका पहाडहरुबाट यसरी गाइवस्तु अनि बाख्रा सुँगुर भेला पारेर मधेशका हाट बजारमा बेच्न लगेको जंगबहादूरले सानैदेखि देखेका थिए । उनले पनि उमेरमा खरिदेको काम गरेका रहेछन् ।  

भिमबहादुर मगरको चाहिँ खरिदेहरुसँग चिनजान छ । हिँड्न नसकेका खरिदेका बस्तु उनी आफ्नै गोठमा बाँधिदिन्छन् । अनि गाउँमा कसैको पशु बेच्नु परेमा खरिदेलाई खबर गरिदिन्छन् । 

छिमेकी खोटाङदेखिका गाइगोरु यो बगालमा मिसिएका छन् । आज विहान उनीहरुको यात्रा घोडेटारबाट सुरु भएको हो । 

पहाडका कुना कन्दरामा हुर्केका गाइवस्तुलाई बाटो देखाइ देखाइ झन्डै १ हप्ता यात्रा गराउन थोरै सकसको काम होइन । वस्तु खेद्न खरिदेले पिटुवा  राखेका हुन्छन् । यो बगालमा मात्रै ९ जना पिटुवा छन् । उनीहरुको काम गाइगोरुलाई सकुशल ठगानमा पुर्याउने । 

कोही वर्षौं यही काम गरेका पिटुवा छन् भने कसैले चाहिँ भर्खरै सुरु गरेका । 

आधा जीवन भारतका खानीमा कोइला बोकेका रामबहादुर बस्नेतले यसै पालि पिटुवाको काम थालेका रहेछन् । 

धुलाम्मे बाटोमा वस्तुहरु दिनभरि हिँडे । पिटुवा पनि भोकै छन् । वस्तु पनि भोकै छन् । बास बस्ने ठाउँमा पुगेर मात्र माम र आराम पाइन्छ । 

अरुण नदीमाथिको झोलुङ्गे पुल तरेपछि पारि धनकुटा जिल्लाको सिम्ले पुगिन्छ । आजको बास बस्ने थलो । 

झोलुङ्गे पुल वारि अफ्ठ्यारो भीर । अनि पुलको मुखमा साँघुरो ठाउँ । 

अघि नै आइपुगेका बगालहरु पालै पालो पुल तर्दैछन् । यो बगाल पुल वारि नै आफ्नो पालो कुरेर बसेको छ । कोही सुस्ताएका छन् । कोही वस्तु हराएकी भनेर गन्दैछन् । 

पिटुवाहरुले भीरको बाटो जतनसाथ पालै पालो वस्तु तार्न थाले । अनि झोलुङ्गे पुल तार्ने सकस चाहिँ बयान गरेरै नसकिने । 

साँझ अबेरसम्म वस्तुहरु पुल तर्दै थिए । बास बस्ने ठाउँमा खरिदे र पिटुवाहरु भेला भए । सबैका थकान र कथा बिसाउने चौतारी थियो सिम्लेको यो सानो होटेल । 

दिनभरि बोल्ने फुर्सद समेत नभएका खरिदे र पिटुवाहरु यतिबेला फुर्सदमा थिए । 

उद्धब भट्टराई पनि खरिदे हुन् । लोकल खरिदे । उनी चाहिँ गाउँघरमा वस्तु भेला पार्छन् अनि अर्कै खरिदेलाई जिम्मा लगाएर पठाइदिन्छन् । 

रुद्र कार्की चाहिँ विदेशमा हण्डर खाएर फर्केपछि बाउ बाजेको काम पछ्याइरहेका । 

झमक्क रात परिसक्दा पनि सिम्लेमा चहलपहल कम भएको थिएन । कसैले खाइसकेका थिए । कोही खाने सुरसार गर्दै थिए । मान्छे पनि भोकाएका थिए । वस्तु पनि भोकाएका थिए । 

भोलिपल्ट सबेरै हामीसँग हिजो आएको टोली अर्को दिनको यात्रामा निस्कियो । वस्तु धपाउने टोली भीरको अफ्ठ्यारो बाटो छलेर लामो बाटो हुँदै धनकुटाको ताम्राङतिर लाग्यो । हामी चाहिँ वस्तुका बगाल छाडेर अक्करको भीर हुँदै कोशी तिरै तिर बराह क्षेत्रतिर लाग्यौं । 

आज शुक्रबार । भोलि बाङ्गे बजार । टाढा टाढाबाट ल्याइएका वस्तुहरु गन्तव्य नजिक आइपुगेकका छन् । कोही चतरा बास बस्छन् । कोही आजै बाङ्गे पुग्छन् । 

चतरामा खरिदेहरुको अर्कै टोली भेटियो । 

हामीसँग भोजपुरबाट आएको टोली चाहिँ आजै बाङ्गे पुगिसकेको छ । निकै दिन हिँडेका गाइ-गोरुहरु थाकेर मलिन भएका थिए । जंगबहादुर मगरले बेची पठाएको कुथुरी पनि त्यही अँध्यारोमा कतै बाँधिएकी थिइन् । 

भोलिपल्ट विहानै चतरामा बास बसेका बगालहरु बाङ्गेतिर लागे । 

बाङगे बजारमा विहानैदेखि चहलपहल छ । टाढा टाढाबाट किन्ने र बेच्नेहरु आएका छन् । 

खसी बाख्रा, राँगा भैंसी र गाइ गोरुका छुट्टा छुट्टै थलो छन् । 

पहाडबाट हप्तादिन हिँडाएर ल्याइएका पशुहरुको यात्रा यहिँ सकिँदैन । उनीहरुलाई अझै कैयौं पटक किनिनु र बेचिनु छ । गर्नुछ अझै लामो यात्रा ।

Dhunga ra Mayako Katha EP116

यो ढुङ्गा हो । अनि उनी चाहिँ माया । माया कुशबन्दिया । माया ढुङ्गालाई माया गर्छिन् । ढुङ्गाले उनको परिवार पाल्छ । 

मायाले बुबाको माया पाउन छाडेको ४ वर्ष भयो । आफ्नी आमा अनि भाइलाई माया गर्ने माया । 

मायाको गाउँ । नेपालगंजको धम्बोजी चोकबाट लगभग ४ किलोमिटर मात्र टाढा छ । जानकी गाउँपालिकाको इन्द्रपुर । मायाको गाउँमा घरका नाममा कतै पाल मात्र छन् । कतै चाहिँ इँट्टाका दिवाल छन् । यो ऐलानी बस्तीका गाउँलेहरुसँग एक थान जिन्दगीबाहेक केही पनि आफ्नो नाममा छैन ।   

मायाहरु कुशबन्दिया जाति हुन् । पत्थरकट्टा पनि भनिन्छ । पुर्ख्यौली पेशा चाहिँ ढुङ्गा खोपेर जाँतो सिलौटो बनाउने, सनपाट बाटेर डोरी बनाउने अनि गाउँ-गाउँ बेच्न हिँड्ने । आजकल जाँता सिलौटा मिक्सरको मारमा पिसिन थालेपछि उनीहरुले प्लास्टिकका बाटा बाल्टिनको ब्यापार पनि थालेका छन् । 

गोब्रेका छोरा माइकल । माइकललाई माइकल ज्याक्सन मन पर्छ । जन्मेदेखि हथौडा र पत्थरको सङ्गित सुनेका माइकललाई संगितले हैन नृत्यले तान्यो । 

माइकल गाउँ छेउमा डान्स सिक्न जान्छन् । उनलाई ठूलो डान्सर बन्नुछ । गोब्रे काकाले अहिलेसम्म छोराले नाचेको देखेका छैनन् रे । 

साँझ हामी माइकलको पछि लागेर उनले डान्स सिक्ने थलोमा गयौं ।

 गोब्रे काकालाई मनमा के लागेछ कुन्नि उनी पनि छोराले थाहा नपाउने गरी खुसुक्क डान्स क्लासमा आए र ढोकमा ओझेल परेर छोरा नाचेको हेरिरहे । 

माया कुशबन्दिया रुपैडिया जान्छिन् । कहिले प्लास्टिकका बाटा कहिले राजस्थानी पत्थर किनेर ल्याउँछिन् । पथ्थर कुँदेर सिलौटा बनाउँछिन् । अनि बाटा बोकेर गाउँ गाउँ डुल्छिन् । धानसँग साट्न । मायाको संसार लगभग यति हो । 

पथ्थरमा खोपेका बुट्टा बिलाइ जालान् । बुबाको याद बिलाउँदैन । कल धारो छेउ रुखको छायाँमा जिन्दगीभरि सिलौटा खोप्ने बुबाको छाया अझै पनि त्यहिँ छ कि जस्तो । छाप्रोको दैलोबाहिर चप्पल झैं हलचल नगरी हावामा बिलाएका बुबा । हावा चल्दा अहिले पनि बुबाले सास फेरे जस्तो ।   

माया पहिले पाठशाला जान्थिन् । पाठशालाका गुरुहरुप्रति भरोसा नलागेपछि ३ कक्षामा पढाई छाडिदिइन् । आजकल रुपडियाबाट प्लास्टिकका बाटा ल्याउँदा पुलिसले दुःख दिन्छ रे । लाग्छ स्कुल जस्तै यो काम पनि छाडिदिउँ । तर पेटले मान्दैन । 

माया प्लास्टिकका बाटा बेच्न आमासँग टाढा टाढा पुगेकी छिन् । काठमाडौंसम्म । 

नजिकैका खेत खोल्सा र झाडीहरुमा साँँझ परेपछि पासो थाप्ने अनि पासोमा परेका स्याल, विराला र खरायोहरुलाई विहान पकाएर खाने । कुशबन्दियाहरुले पुस्तौंदेखि जानेको जिविका हो यो । 

पुषको ठिहिर्याउने विहानीमा यो बस्ति घाम नलागुन्जेल सुतिरहन्छ । माया आज छिटो उठिन् र परालको न्यानो ताप्न थालिन् । केटाकेटीहरु घेर्न आए । 

केही बेरपछि परालको आगो चिसो भयो । घामको न्यानो तातो भयो । इन्द्रपुर गाउँका कुशबन्दिया टोलमा एकनासको सङ्गित बज्न थाल्छ । ढुङ्गा, छिना र हथौडाको सङ्गिता । ट्वाक, ट्वाक ट्वाक ट्वाक ट्वाक । 

पुरुषहरु जाँता र सिलौटा बनाउन थाल्छन् । साना केटाकेटीहरु यत्रतत्र खेल्न उफ्रिन थाल्छन् । कोही कोही मात्र स्कुल गएका देखिए । 

आफ्नो टोलबाट अविराम आइरहने हथौडाको सङ्गितलाई यतै छाडिदिएर माया आजको यात्रामा निस्किन्छिन् । उनलाई बाटासँग धान साट्नु छ । अनि पिसिँदा पिसिँदा दाँत झरिसकेका पुराना सिलौटालाई खोपेर नयाँ जीवन दिनुछ । 

बिलासपुर गाउँ पुग्ने बेला माया कराउँछिन् । बाटा साट्ने हो ? सिलौटा खोप्ने हो ?

आउँदा जाँदा बिलासपुर गाउँमा मायाले साथी बनाएकी छिन् । माया साथीको घर पस्छिन् । साथीलाई बिहेको लागि माग्न भारतबाट मान्छेहरु आएका रहेछन् । 

फर्किने बेलामा १७ वर्षकी मायाले मनको कुरा पोखिन् : उनको पनि फागुनमा बिहे हुने पक्का भइसक्यो रे । बहराईचको केटासँग । 

मायाको गाउँमा हामीले ३ दिन बितायौं । मायासँग मात्र होइन सारा गाउँलेसँग माया बसिसकेको थियो । अर्को पटक फर्केर यही गाउँ गयौं भने गाउँ उस्तै रहन्छ होला । सुनिन्छ होला हरेक घरको आँगनमा आइरहेको ट्वाक् ट्ववाक् पत्थरको सङ्गीत । तर त्यतिबेला शायद गाउँमा माया हुँदिनन् होला ।

Chhangru to Tinkar Pass EP 115

अघिल्लो अंकमा हामीले दार्चुला सदरमुकामदेखि छाङ्ग्रुसम्म यात्रा गरेका थियौं । कालापानी छेउको छाङ्ग्रुका मान्छेहरुले देश चलाउनेहरुसँग गोरेटो बाटो मागेका थिए । आज हामी ३ हजार २ सय मिटरको छाङ्ग्रुबाट अझै टाढाको गाउँ टिङ्करतिर उक्लिँदैछौं ।अनि ३ हजार ८ सय मिटरको उचाइमा रहेको टिङ्कर गाउँदेखि झन्डै ५ हजार ३ सय मिटरको उचाइमा रहेको नेपाल चीनको सिमाना टिङ्कर भन्ज्याङसम्म पुग्नेछौं । 

छाङ्ग्रुदेखि टिङ्कर भन्ज्याङसम्म

छाङ्ग्रुमा एका विहानै पानी परेको थियो । ओसिलो विहानीमा गागाका जितबहादुर दाइले हामी परदेशीका हातहातमा लौरो थमाइदिए । अनि झोलाभरि आफ्नै बारीमा फलेका स्याउका दाना राखिदिए । 

टिङ्करतिरको हाम्रो यात्रा सुरु भयो । 

आज पनि बाटोमा भेडा गोठालाहरु भेटिए । लेकतिर जाडो बढ्न थालेपछि उनीहरु दार्चुला झर्दै गरेका । इश्वरसिँह नगालको टोली  अघिल्लो रात यहिँ पाल हालेर सुतेका रहेछन् ।

भेडावालहरुसँग विदा भएर हामी टिङ्कर खोलाको किनारै किनार उकालो लाग्यौं । 

आधादिन भन्दा धेरै हिँडेपछि परैबाट टिङ्कर गाउँ देखियो । 

यतिबेला सारा टिङ्करबासीहरु घाँस थन्क्याउन व्यस्त रहेछन् । हिउँदका ६ महिना दार्चुला बजारमा बिताएर चैत-बैशाखमा गाउँ फर्किँदा डाँडा पाखा सुख्खा हुन्छन् । अहिले नै घाँसको जोहो गरिएन भने त्यतिबेला गाइ वस्तु भोकै हुन्छन् । 

टिङ्करीहरुको पुरानो पेशा चीनसँगको ब्यापार । ताक्लाकोट भनिने  तिब्बतको बुराङ शहरमा टिङ्करीहरुका पसल छन् । भारतबाट गुँड सखर अनि कपडा किनेर तिब्बत लगेर बेच्ने । गाउँमै फलेका फापर र मुला समेत तिब्बती बजार पुग्थे । 

 यहाँबाट ताक्लाकोट एकै दिनमा पुगिन्छ । 

हिमालपारिका उराठ तिब्बती पठारहरुमा उब्जनी हुन्थेन । नेपालका टिङ्कर र छाङ्ग्रुमा फलेका नप्पल, फापर, मुला ताक्लाकोटमा बिक्री हुन्थे । बिस्तारै चीनले मुहार फेर्न थाल्यो । हुँदा हुँदा नेपालका खेतबारी बाँझो हुन थाले । अनि यी गाउँहरुले उल्टै तिब्बतबाट रासन खान थाले । 

कोरोनायता चीनसँगको नाका बन्द छ । ताक्लाकोटमा नेपालीहरुका पसलमा ताल्चा लागेका छन् । ताक्लाकोट ब्यापार बन्द हुँदा आजभोलि टिङ्कर गाउँको रौनक हराएको छ । 

गाउँभरि एउटा मात्र भिस्याट फोन छ । साँझ परेपछि मेहमान सिँह टिङ्करीको सानो पसलमा फोन गर्नेहरुको घुइँचो लाग्छ । फोन गरेको मिनेटको ५ रुपैंया, फोन उठाएको ३ रुपैंया । 

हामीले नेपाल र चीनको सिमाना टिङ्कर भन्ज्याङसम्म जाने रहर गर्यौं । यहाँभन्दा माथि गाउँ, होटल वस्ति केही पनि छैनन् । हिँडेर एकैदिनमा पुगेर फर्किन नसकिने । गाउँलेहरुले हामीलाई घोडा चढेर जान सल्लाह दिए । 

भोलिपल्ट घोडावालहरु घोडा खोज्न पाटनतिर लागे । जंगलमा यसै छाडिदएका घोडा समातेर ल्याउनु पनि दिनभरिको काम रहेछ । 

पर्सिपल्ट विहानै हाम्रा घोडा तयार भइसकेका थिए । चीनको नाका बन्द भएयता गाउँलेहरु पनि उतिसारो टिङ्कर भन्ज्याङ पुगेका थिएनन् । 

भन्ज्याङका देउतालाई चढाउन एक जनाले नातीको काटेको कपाल थमाए । 

हामी बिस्तारै घोडावालहरुसँग उकालो लाग्यौं । 

ठाउँठाउँमा चौंरी र घोडाका बथानहरु भेटिए । प्रकृतिको यो अनुपम दृश्य निहार्दै हामी बिस्तारै उकालियौं । 

झन्डै ४८ सय मिटरको उचाईमा पुगेपछि घोडावालहरुले खाजाको पोका फुकाए । फापरका रोटी खाइसकेपछि एउटा हिउँविनाको हिमनदीलाई दाहिने पारेर हाम्रा घोडाहरुले ठाडो उकालो चढे  । त्यसपछि हामी पुग्यौं टिङ्कर भन्ज्याङ । 

भन्ज्याङमा कुहिरोले डम्म ढाकेर नजिकैका मान्छे समेत देखिन मुस्किल थियो । जोड जोडले चिसो बतास चलेको थियो । घोडावालहरुले देउतालाई धुप सल्काए अनि पाती चढाए । 

सिमानाको १ नम्बर पिल्लरबाट हामी छिटो छिटो फर्कियौं । 

फर्किँदा ओरालोमा घोडाहरुलाई गाह्रो हुन्छ भनेर हामी पैदल नै झर्यौं । 

गलेका शरिर लिएर टिङ्कर गाउँ पुग्दा रात छिप्पिसकेको थियो । गाउँलेहरु हाम्रो बाटो हेरेर बसेका थिए ।

Tadhako Gaun ko Katha EP114

काठमाडौंबाट मोटर गाडीमा हिँडेको तेस्रो दिनमा हामी दार्चुला सदरमुकाम खलङ्गा पुगेका थियौं । 

हामीलाई यहाँबाट अझै टाढा उत्तरतिरका छाङ्ग्रु र टिङ्कर पुग्नु थियो । चीन र भारतका सिमा छेउका यी टाढाका गाउँ पुग्न भने सजिलो थिएन । 

दार्चुलामा भेटिएकाहरुले शंकालु प्रश्न गर्थे, तपाईंहरुलाई जान देलान् त ? 

व्यास गाउँपालिकाको एक नम्बर वडाका यी गाउँहरु जान नेपालपटि हिँड्ने बाटो समेत छैन । भारतको बाटो हुँदै जिप चढेर एकै दिनमा पुग्न सकिन्छ । अनि भारतको बाटो जान भारत सरकारको अनुमति चाहिन्छ । 

हामीले आफ्नै देशको एउटा गाउँ जान निवेदन लेख्यौं । दार्चुलाकी प्रमूख जिल्ला अधिकारी किरण जोशीले आँट मात्र दिइनन् सकेको सहयोग पनि गरिन् । जोशीले भारत धार्चुलाका अधिकारीहरुलाई अर्को पत्र लेखिन्, हामीलाई जान दिनु भनेर । 

हामी हातमा पत्र बोकेर खलङ्गा बजारबाट महाकालीको पुल तरेर भारत लाग्यौं । अनौठो महशुस भइरहेको थियो । त्यो अनौठोपनमा डर, विरानोपन र  निराशा मिसिएको थियो । 

भारतका जिल्ला अधिकारीको कार्यालयमा हामी संस्कृतिको अध्ययन गर्न आएका विद्यार्थी भनेपछि हामीले अनुमति पायौं । 

दिउँसो २ बजेतिर हामीसँगै अरु यात्री बोकेको जिप उत्तरतिर हुइँकिन थाल्यो । चीनको सीमा सम्म पुग्ने बाटो भारतले धमाधम बनाउँदै थियो । ठाउँ ठाउँमा चिल्ला बाटाहरु भेटिए । 

हामी महाकालीको किनारै किनार भारतको बाटो गुडिरह्यौं । खोला पारिका नेपालका पहाडहरु हात तन्काउँदा भेटिन्छन् कि जस्ता । 

वारिपारिका भुगोल उस्तै । पहाड र झरना उस्तै । मान्छेहरु उस्तै । भाषा उस्तै । महाकालीको धारले यी पहाड र यी मान्छेहरुलाई अलग अलग देश बनाइदिएको थियो । 

गाडीमा बाटोभरि नेपाली गीत बजिरह्यो । 

सहयात्रीहरु ठाउँ ठाउँमा झरे । 

छाया लेक भन्ने ठाउँमा भारतीय सुरक्षाकर्मीहरुले हाम्रो पास जाँचे । झोला जाँचेर क्यामेर लान दिँदैनन् कि भन्ने डर थियो । सोचेभन्दा सजिलै उम्कियौं । 

राति ९ बजेतिर हामी सितापुल भन्ने ठाउँमा पुग्यौं । हामीलाई लिन छाङ्ग्रुबाट पुष्कर सिँह बोहोरा आइपुगेका थिए । त्यहाँ पनि भारतीय सिमा सुरक्षाकर्मीलाई पास देखाएर काली नदीको काठे पुल तरेर हामीले आफ्नै देशमा पाइला राख्यौं । अघिसम्म बोझिला भएका हाम्रा शरिर एकाएका हलुका र फुर्तिला भए ।

केहीबेर हिँडेपछि छाङ्ग्रु भन्दा अलि तल गागा भन्ने ठाउँमा पुग्यौं । जित बहादुर बोहोरा र सुधा बोहोराको होम स्टेमा हामीले रात बितायौं । 

भोलिपल्ट विहानै नाम्पा हिमाल छेउका खर्कहरुबाट झरिरहेका भेडाका बथानहरु भेटिए । गोठालाहरुले यो देशसँग एउटा मात्र कुरा मागे । गोरेटो बाटो!

हामीलाई हिजो राति सितापुलसम्म लिन आएका पुष्कर बोहरासँग हामी छाङ्ग्रु गाउँतिर उक्लियौं ।

लगभग ३ हजार २ सय मिटरको उचाइमा रहेको छाङ्ग्रु गाउँ हिउँदका ६ महिना रित्तो हुन्छ । हिउँदमा यहाँका मान्छे, वस्तुभाउ, कर्मचारी सप्पै दार्चुला बजार झर्छन् । 

छाङ्ग्रु गाउँबाट  काली नदी देखियो, हिजो हामी तरेर आएको सिता पुल देखियो । 

सिँहदरबारतिरबाट छापिने चुच्चे नक्साको छेउछाउमा थियौं हामी । चुच्चे नक्साका गाउँहरु ओझेलमा अलि अलि देखिन्थे । 

काठमाडौंबाट टाढाको छाङ्ग्रु गाउँ कालापानी छेउमा सीमाना कुरेर बसेको छ । काठमाडौंमा कालापानी र चुच्चे नक्साका विषयमा रोमान्चक भाषणहरु हुन्छन् । सडकमा झन्डाहरु हल्लिन्छन् । 

देश चलाउनेहरुसँग एक धर्को  गोरेटो बाटो मागिरहेका सीमानाका मान्छेहरुलाई काठमाडौंको दिने गरेका भाषण र नक्साहरुले गिज्याए जस्तो लाग्छ । 

छाङ्ग्रुका मान्छेहरुलाई पनि दार्चुला आउन जान भारत सरकारसँग ६-६ महिनामा पास लिनुपर्छ । 

छाङ्ग्रुलाई नुन र तेल किन्न भारत जानुपर्छ । सदरमुकाम जान भारत जानुपर्छ ।  छोरी बुहारीहरु भारत जान्छन्, भारतबाटै आउँछन् । 

छाङ्ग्रुलाई सबैभन्दा पहिले आफ्नै देशबाट हिँड्ने गोरेटो बाटो चाहिएको छ । अनि मात्र राष्ट्रियताका भाषणहरु । 

भोलि, यो टाढाको गाउँ आफ्नै देशसँग झन् टाढिएला कि नजिक होला ?

Phunjoko Katha EP113

गणेश हिमालले छेकिदिएको फुन्जोको छेकोङ गाउँ । सम्झनाहरुलाई त के ले नै पो छेक्न सक्छन् र । 

आजकल गाउँ आएको बेला फुन्जोका वाल्यकालका सम्झनाहरु यसरी बर्सिन्छन्, जसरी बर्सिन्छ हिउँ यो हिमाली गाउँमा । 

फुन्जोको सानो संसारमा माया गर्ने बाजे थिए । फुन्जो थिइन् । अनि थिए चौंरीहरु । बाजे र चौंरीले हिउँमा टेकेका पैतालाका छापहरुबाहेक फुन्जोको लागि यो संसारको अर्को नक्सा थिएन । क्षितिजभन्दा परको संसार फुन्जोको कल्पनामा पनि मुस्किलले देखिन्थ्यो । 

बाहिरी संसारले देख्दै नदेखेको चुम भ्यालीमा अनन्तदेखि ध्यानमग्न हिमाल र पहराहरु छन् । एउटी सानी केटी फुन्जो दिनभरि चौंरी चराउँथिन् । पहराका काप कापमा पुग्थिन् । ढुङ्गामाथि बस्थिन् र हिमालका ध्यान बिथोल्ने गरी गीत गाउँथिन् । 

फुन्जोका सम्झनाका सागरबाट जति लोटा पानी उभाए पनि त्यहाँ केवल बाजे हुन्छन् अनि हुन्छन् चौंरीहरु । 

फुन्जोलाई घर भन्दा गोठ प्यारो । त्यसैले त गाउँ आएका बेला उनी चौरी पुग्ने गर्छिन् ।

चौंरी गोठमा एकपछि अर्को ऋितुहरु बिते । एकदिन बाजेलाई लाग्यो फुन्जोले पनि संसार देख्नु पर्छ । बाटो खर्च दिएर बाजेले फुन्जोलाई शहरको बाटो लगाइदिए । 

हिमालमा हावा जस्तै उडी हिँड्ने फुन्जोलाई शहर सानो लाग्यो । गुम्बामा आनीहरुको जिन्दगी झन् साँघुरो लाग्यो । फुन्जो दाइसँग बस्न थालिन् । 

नौला मान्छेहरु, नौलो भाषा । शहरसँग दोस्ती गर्न फुन्जोलाई केही समय लाग्यो । त्यो समयले सनै सनै गाउँ बिर्साउन थालेको थियो । गाउँ मात्र हैन बाजे पनि बिर्साउन थालेको थियो । 

१३ वर्षको उमेरमा फुन्जो १ कक्षामा भर्ना भइन् । 

फुन्जो २ वर्षकै हुँदा आमा बितेकी । बुबाभन्दा बाजेसँग नजिक भइन् । काठमाडौंमै हुँदा बुबा बिते । बुबा बित्दा फुन्जोलाई वास्ता लागेन । बुबा बितेकै १५ दिनमा बाजे बितेको खबर आयो । फुन्जोलाई मुटु चुँडिएको जस्तै भयो । 

फुन्जोको दाइ गाउँभरिकै पढेलेखेका । गाउँमा कोही बिरामी पर्यो भने हेलिकप्टरबाट ओसार्नुको विकल्प थिएन । गाउँलेहरु आपत् पर्दा फुन्जोका दाइलाई गुहार्थे । 

दाइले यो काम बहिनीलाई जिम्मा लाउँथे । फुन्जोको काम एयरपोर्ट आउने जाने अनि बिरामी गाउँलेका लागि हेलिकप्टर खोजिदिने । 

केही महिनामै फुन्जोको पाइलटहरु र हेलिकप्टर कम्पनीका मान्छेहरुसँग राम्रो चिनजान भयो । हेलिकप्टरमा डोरीमा झुन्डिएर उद्धार गर्ने तालिम खुलेको सुनिन् । फुन्जोले आँट गरिन् । 

स्वीट्जरल्यान्ड पुगेर पनि तालिम लिइन् । 

हेलिकप्टरमा झुन्डिएर हिमालतिर ओहोरदोहोर गरिरहँदा कसैले उनलाई ट्रेकिङ गाइड बन्न सल्लाह दियो । हेलिकप्टर छाडेर अब फुन्जो विदेशीका भारी बोकेर हिमाल चढ्न थालिन् । 

नेपालका लोबुचे छोयु आमादाब्लम मेरा पिक मनास्लु जस्ता अग्ला हिमालहरू मात्रै हैन युरोप र अमेरिकाका कयन हिमाल चढिसकेपछि फुन्जोलाई अब सगरमाथा चढ्न मन लाग्यो । 

यतिबेलासम्म फुन्जो हिमालको गाइड भइसकेकी थिइन् । साथमा थिइन् अष्ट्रेलियन साथी स्यामी ।

सन् २०१८ को कुनै एक दिन उनै साथीसँग फुन्जो सगरमाथाको बेसक्याम्प पुगिन् । अष्ट्रेलियन साथीले हौस्याइन् – हेर फुन्जो तिमीले सगरमाथा चढेर मात्र हुन्न, किर्तिमान बनाउनु पर्छ । 

फुन्जोले आँट गरिन् । कति छिटो सगरमाथा चढ्न सकिन्छ हेरौं न त । 

बाटोमा अनेक हन्डर खाइयो । सोचेभन्दा बढी समय लाग्यो । फुन्जो निराश भइन् । ३९ घन्टा लागेछ । फर्केर आएपछि फुन्जोले थाहा पाइन् त्यो ३९ घन्टा त  विश्व किर्तिमान् पो भएछ । सबैभन्दा छिटो सगरमाथा चढ्ने महिलाको किर्तिमान आफ्नो नाममा लेखाइसकेपछि फुन्जोले बाजेलाई असाध्यै मिस गरिन् । 

फुन्जोलाई अब एक पटक आफ्नै किर्तिमान तोड्न मन छ ।

अहिले पनि फुन्जो पर्यटकका टोली लिएर कहिले मनास्लु, कहिले सगरमाथाका पदमार्गतिर भेटिन्छिन् ।

The Last Village of Tsum Valley EP112

चुम भ्यालीको अन्तिम गाउँ निलेमा रातभरि हिउँ पर्यो । पारिलो  विहानीमा सेताम्य डाँडाकाँडा चम्केका छन् । गहुँका मन्जरीले  ढाकेका हरिया खेतबाट हिम वाष्फहरु बिस्तारै हावासँगै उकालो लाग्दैछन् । 

निले चुम भ्यालीको अन्तिम मानववस्ती हो । यो भन्दा अलि माथि एउटा गुम्बा मात्र छ । त्यसपछि चौंरी चर्ने खर्कहरु । यार्सा गुम्बा टिप्ने पाखाहरु । अनि हिउँले ढाकेका लेकहरुले ओझेल पारिदिएका तिब्बती गाउँहरु । 

गाउँ चकमन्न छ । स्यार खोला सुसाएको र चरा कराएको मात्र सुनिन्छ । यो हिमाली गाउँ अघिपछि पनि लगभग यस्तै शान्त-शान्त हुन्छ । 

घर कुर्न बसेका छोरा मान्छे गाउँ छाडेर जान पाउँदैनन् । एक भाइ छोराले घर सम्हाल्ने जिम्मा लिनु पर्छ । 

घर कुरेर गाउँमै बसिरहेका पेम्बा छेवाङ लामा गुम्बामा भेटिए । 

वाङ्मो छिरिङले हामीलाई पाहुना खान बोलाएकी छिन् । 

उनका श्रीमान् पनि एक्लो छोरा । सम्पत्ति खाने नियमले बाँधिएका ।  हिउँद बर्खा, वाङ्मो दम्पत्ती यो एकान्त गाउँमा घर  कुरेरै बस्छन् । 

लामागाउँकी वाङ्मो सानो हुँदा गुम्बामा आनी बसिन् । त्यसपछिका केही वर्ष काठमाडौं बौद्धतिरै बिताएपछि बिहे गरेर निले आइपुगिन् । 

७६ वर्षकी टासी आमाको घोडा स्यार खोला पारि छिमेकीको खेतमा छिरेको छ । डिलमा बसेर टासी आमा घोडालाई बोलाउँदैछिन् । 

कर्मा लुन्डुप लामा पेशाले गोठालो हुन् । उनी आफ्नो मात्र होइन गाउँका मान्छेका चौंरी पनि लिएर बर्खाभरि लेकमा बस्छन् । चौंरी हेरिदिएबापत गाउँलेले उनलाई अन्न दिन्छन् । 

हिउँदभरि घरमै बाँधिएका चौंरीलाई अब लेकतिर सार्ने बेला भइसकेको छ । तर कुन दिन लाने भनेर साइत हेर्नुपर्छ । 

कर्माका एक जना दाजु बालखैमा  लामा पढ्न इन्डिया गएका । अहिले ठूलो लामा भएका छन् । रेचेन गुम्बाको पूजामा आएका बखत उनी घर पनि छिरेका छन् । कर्माले मौका छोपे । लामा दाजुलाई चौंरी गोठ सार्ने जोखाना हेरिदिन भने । लामाले भोलिकै साइत निकालिदिए । 

विहानै देखि कर्मालाई भ्याइ नभ्याइ छ । चौंरीसहित बसाइँ सर्नुछ । मान्छे र चौंरीका खान्कीका पोका पन्तुरा तयार हुँदैछ । 

कर्मालाई सघाउन अर्का कर्मा आएका छन् – कर्मा छेम्पे । उनी पनि गोठाला हुन् । लेकको गोठसम्म चौंरी पुर्याइदिएर उनी फर्किनेछन् । 

कर्माकी भाउजुले चौंरीको नाइकेलाई खाता लगाइदिइन् । सिँगमा घिउको टिका लगाइदिइन् । उसैगरी गोठालालाई पनि विदा गरिन् । 

चौंरीका दाम्ला फुके । गाउँका हिलाम्मे गल्लीहरुबाट चौंरीका लस्कर बिस्तारै अघि बढ्यो । 

पर दोबाटोसम्म घरका मान्छेहरु विदा गर्न आइपुगे । एक घुट्को रक्सीसँगै शुभ विदाई भयो । घरका मान्छे फर्किए । गोठका मान्छे चौंरी धपाउँदै उकालो लागे । 

धेरै दिन घरमा बसेका चौंरी अलमलिएका छन् । कुनै कुनै झोपो अलि चकचके छन् । दुःख दिइरहन्छन् । 

स्यार खोलाको किनारै किनार फुस्रा डाँडाका मुनिमुनि चौंरी गोठ अघि लागिरह्यो । 

फेरि हिउँ पर्न लाग्यो ।

दिनभरि हिँडेपछि कर्माको बर्खे गोठ पुगियो । 

चौंरीबाट सामान झारेपछि कर्माले आगो फुके । दले लामाको तस्बिरमा धुप बत्ती गरे । हिमाली खोँचको यो गोठमा कर्मा एक महिना जति बसेपछि, अझै माथि मिठा मिठा घाँस पाउने खर्कतिर बसाइँ सर्नेछन् । 

हामी कर्मासँग विदा भयौं । हिउँ थामिएको थिएन । यार्सागुम्बा टिप्न जाने एक हूल मान्छेहरु भेटिए । उनीहरुसँग गफिँदै हामी अझै उकालियौैं । 

पर मु गुम्बाको छेउमा उनीहरुले ल्याएको खाजा हामीले पनि खायौं । 

हिउँमा नाच्दै र गाउँदै उनीहरुसँग विदा भएर हामीले फर्कने बाटोतिर छिटो छिटो पाइला चाल्यौं ।

Tsum Valleyka Kathaharu EP111

नेपालको नक्सा हेर्दाखेरि मनास्लु र गणेश हिमाललाई दायाँबाया पारेर एउटा भुगोल तिब्बततिर चुच्चो परेर धकेलिएको देखिन्छ । यही हो लुकेर बसेको चुम उपत्यका । 

१५ वर्षअघि मात्र विदेशी पर्यटकको लागि खुल्ला गरिएको चुम भ्याली पुग्न भने सजिलो छैन । 

धादिङबेसी छेउबाट सल्यानटार हुँदै आरुघाट पुगेपछि बुढी गण्डकीको तिरैतिर उत्तर लाग्नुपर्छ । पहिले पहिले आरुघाटबाटै १०-१२ दिन हिँड्नुपर्थ्यो । 

पहरा फोडेरै सनै सनै बनाएको बाटोमा अहिले जगत भन्ने ठाउँसम्म जसोतसो गाडी पुग्न थालेका छन् । 

कहिँ भीर कहिँ खोला पछ्याउँदै हवाइ डाँडासम्म हामीले मोटरमै यात्रा गर्यौं । त्यहाँबाट केही घन्टा हिँडेपछि पुगिने चिसोपानी हाम्रो पहिलो बास थियो । 

चैतको महिना, धादिङतिरका सुख्खा डाँडामा लागेको डढेलोको धुवाँ माथिसम्म आइपुगेको थियो । तुवाँलोले ढाकेका डाँडा पाखा र वनजंगल छिचोल्दै दोस्रो रात रेजम भन्ने ठाउँमा बिताएपछि तेस्रो दिन हामीले चुम भ्यालीको छेकोङ गाउँमा पाइला राखेका थियौं । 

तिब्बती र नेपाली जनजीवनको मिश्रण भनेर चिनिने चुम भ्यालीको कथा यहिँ छेकोङबाट सुरु हुन्छ ।

हामीसँग दिनभरि हिँड्ने वाङ्चुकको छोटो परिचय : यही गाउँ जन्मेका वाङचुक सानोमा चौंरी चराउँदै गोठालो भएर हिँडे । गाउँका अरु धेरै मान्छे जस्तै उनी पनि लामा पढ्न काठमाडौंको गुम्बामा गए । 

वाङचुकको मन गुम्बामा मात्र अडिएन । समयमै उपचार नपाएर गाउँमा आमा बितेको खबर काठमाडौंमा ६ महिनापछि मात्र पाएका वाङचुकको मन रोयो । उनी लामा पढाईसँगै विद्यालय गए अनि एच ए पढे । लामो समय काभ्रे नमोबुद्व गुम्बामा ५ रुपैंयामा उपचार हुने अस्पताल चलाएर बसेका वाङचुक आजकल औषधीका पोका र राहतका झोला बोकेर आफ्नै गाउँ डुलिरहन्छन् । 

बाटामा टासी डुन्डुप भेटिए । उनीसँग सुनका अक्षरले लेखिएको पुरानो बौद्ध ग्रन्थ छ रे । वाङचुकले टासी बाजेलाई ती ग्रन्थ देखाइदिन अनुरोध गरे । हामी बाजेको पछि लाग्यौं । 

गाउँमा नयाँ गुम्बा बन्दै रहेछ । गुम्बामा थान्का चित्र बनाउन आएका कलाकारहरुको खानपीनको जिम्मा गाउँलेको । गाउँलेहरु घरघरै आलु पिठो, नुन बटुल्दै हिँडेका थिए । 

आज पर राचेन गुम्बामा ठूलो पूजा रहेछ । गुम्बामा वाङ अर्थात् पर्साद थाप्न जाने मान्छेहरु बाटोभरि भेटिए । 

आकाश धुम्मिएको छ । अब केही दिनपछि मान्छेहरु घरमा ताल्चा लगाएर माथि लेकमा यार्सागुम्बा खोज्न जान्छन् । हिउँ पर्यो भने किरा भेटिँदैन । हिमाली गाउँमा मौसमी हिउँले सुख दिन्छ, बेमौसमी हिउँले दुःख । 

उचाई बढ्दै जाँदा हावा र पानी दुबै चिसिँदै थिए । यहाँनिर बुढी गन्डकीको एउटा हाँगो स्यार खोला अर्थात् पूर्वको खोला भनेर चिनिने रहेछ ।  स्यार खोलाको काठे साँघु तरेर हामी राचेन गुम्बा पुग्यौं । आनीहरु बस्ने राचेन गुम्बामा आज ठूलो पूजा थियो । 

हिउँ पर्ला पर्ला जस्तो भयो । छिरिङको होटलमा तातो स्यादू पारिल पाक्दै थियो 

छिरिङसँग फेरि भेट्नकै लागि भए पनि हामीले चिया थपी थपी खायौं । 

हाम्रो यात्रा निलेतर्फ अगाडि बढ्यो । साँझ पनि पर्न लाग्यो । हिउँ पनि पर्न लाग्यो । 

फुर्पे पुग्दा त अघि बढ्नै नसक्ने गरी बाक्लै हिउँ पर्यो । वाङ्चुकलाई फर्कनै पर्ने थियो । हामीसँग विदा भएर वाङ्चुक फर्किए । 

केही बेर पछि हिउँ थामियो । हिँड्ने बाटाहरु हिउँले मेटिदिएका थिए । निलेसम्म जाने गाउँलेका पाइताला पछ्याउँदै हामी अघि बढिरहयौं । 

चुम भ्यालीको अन्तिम गाउँ निले पुग्दा झमक्क साँझ परेको थियो ।

Aago Aaran ra Aatmako Katha EP110

बैतडीको सिगास गाउँपालिका गोलेधारका काशिराम लोहार धार लगाइरहेका हुन्छन् । आँसी, बन्चरा र खुकुरीहरुमा । 

भाइ दीपक र उनको घर गाउँभन्दा माथि जंगलको छेउमा अलग्गै छ । जिन्दगीका भोगाइहरु पनि अलग्गै छन् । मानौं उनीहरु अलग्गै मान्छै हुन् । 

काशिराम आज कोइला बनाउँदैछन् । घर छेउको सल्लाको रुख दनदन बल्दैछ कोइलाको खातिर । काशिरामका दाजुभाइको मन पनि कति बल्यो कति पेटका खातिर । 

काशिरामका बाबु बैतडीकै अर्को गाउँबाट अँगार खोज्दै यहाँ बसाईं आएका थिए कुनै दिन । बाउ बाजेहरु गाउँभरिका कोदाला बन्चरा र खुकुरीहरुमा अमर छन् । काशिरामहरु उसैगरी हत्केलाका रेखाहरु छाप्दैछन् फलामहरुमा । 

ठूला जात भनिने दैलियाहरुको वर्षभरिका हतियारहरु काशिराम बनाउँछन् । वर्षमा २ फेरा खलोमा पुग्छन् र अन्न थाप्छन् । 

साँझमा झर्रो बल्छ । काशिराम पत्नी चुलो बाल्छिन् । आँगनमा दाउरा बल्छ । पूर्वबाट पुगेका हामी परदेशीहरु काशिराम र दीपकका कथा सुन्छौं । 

काशिरामका भाइ गोकर्ण । दुई चार अक्षर पढ्न पाए । गाउँमा दाइ आरन चलाउँछन्, बजारमा गोकर्ण कलम चलाउँछन् । 

विगतमा भोगेका अश्लिल विभेदका अनगिनत घाउहरु बेला बेला दुखिरहन्छन् । 

एक फेर पुराण लगाउन आएका महात्माले काशिरामको मन पगालेछन् । महात्मा गएपछि गाउँ फेरि उस्तै । 

हतियार बनाउने सीप भएका दीपक माओवादीमा हिँडे । गन्तव्य चाहिँ खै कता हरायो । मनमा लागेको आगो निभेको छैन । 

काशिराम र दीपकका आरनको आगो त पानीले निभ्दो हो । आत्माको आगो खै के ले निभाउने हो ?