सेराप दोर्जेको चौंरी गोठ अहिले गाउँ छेवैमा आइपुगेको छ । १३ वर्षको उमेरदेखि गोठालो बनेका सेराप अहिले ४४ वर्षका भए ।
सेराप ६ महिना मात्र घर बस्न पाउँछन् । बाँकि ६ महिना चाहिँ टाढा टाढा हिमालतिर ।
घरमा सेरापका दाजु छिरिङ छन् । अनि यी दाजु-भाइका साझा श्रीमती छेवाङ ।
छोराछोरी कोही लामा पढ्दैछन् कोही विदेश । जेठा छोरा छिरिङ चाहिँ अहिले गाउँमै छन् ।
छेवाङ २१ वर्षकी थिइन् । आफ्नो बिहे पक्का भइसकेको उनलाई पत्तो थिएन । यो भेगको चलन अनुसार केटा पक्षका मान्छेहरुले तान्न आएपछि मात्र उनलाई आफ्नो बिहे हुँदैछ भनेर थाहा भयो ।
अनि केटा पक्षको घर आइपुग्दा मात्र छेवाङले थाहा पाइन् – उनको त एक जनासँग हैन, दुई जनासँग बिहे भएको रहेछ । छेवाङको लागि यो कुनै आश्चर्य लाग्ने कुरा थिएन । किनभने गाउँघरमा दाजुभाइले साझा श्रीमती बिहे गर्ने चलन सामान्य थियो ।
दुई जना व्यक्ति लाई आफ्नो बुबा भनेर हुर्केका छिरिङ ग्युर्मे पढ्नको लागि गोर्खा बजार झरेका थिए । उनलाई त तलतिर एक जना पुरुषले दुई जना श्रीमती बिहे गरेको पो अचम्म लाग्थ्यो ।
चुम उपत्यका जस्ता खेतीयोग्य जमिन कम हुने हिमाली भेगमा, दाजुभाइलाई अंश टुक्र्याउन नपरोस् भनेर साझा श्रीमती भित्र्याउने चलन छ । यतातिर यो सामान्य अभ्यास भए पनि बाहिरि संसारको संसर्गले आजकल यो चलन हराउन थालेको छ ।
कतिपय पुराना जोडीहरु पनि असमझदारी बढ्दै जाँदा छुट्टिन थालेका छन् । कहिँ कतै भने भर्खरै बिहे गरेका नयाँ परिवार पनि भेटिन्छन् ।
निले गाउँमा सोनाम लामाका दाजुभाइले साझा श्रीमती बिहे गरेको एक वर्ष हुँदैछ । सोनामका दाजु गोठतिर बस्छन् । भएको थोरै सम्पत्ति दाजुभाइलाई बाँड्न नपरोस् भनेर आमाले साझा बुहारी भित्र्याउने रहर गरेकी थिइन् ।
फुन्जो डोल्मा अहिले गर्भवती छिन् । उनलाई भेट्न रक्सी र खादा लिएर आफन्त आइपुगेका छन् ।
—-

