मनेहराकी फगनी

फगनी चाैधरी

धनगढी बजारदेखि अलि परकाे मनेहरा गाउँ । गाउँ छेउकाे ठूलाे रुखकाे छहारीमा सितल ताप्दै गरेकी फगनी चाैधरी रसरी (प्लाष्टिककाे डाेरी) बाट्दै थिइन् । हामी पनि त्यहीँ रुखमुनि टुसुक्क बस्याैँ । डाेरी किन बाटेकाे रहेछ भनेर हामीलाई जान्न मन लाग्याे । उनले हामीतिर हेरिन् ‘खटिया बनाउन रसरी बाटेकाे’ डाेरी बाट्दै गरेकाे हत्केलामा थुक हालिन् । कामकै धुनमा भए पनि हामीसँग बाेल्न छाेडिनन् । अब भने फर्साइली फगनीबारे हामीलाई जान्न मन लाग्याे ।
उनकाे घर नजिकै थियाे । घरमा नाती बजु बस्दा रहेछन् । उमेरले ७३ वर्ष पुगेकी फगनीले नातीलाई आफैंले हुर्काइन् । अहिले नातीबजु एकअर्काका सहारा बनेका छन् ।

मिजासिलाे स्वभावकी फगनीले हामीलाई गीत पनि सुनाइन् ।

नाती र बजु(हजुरआमा)

चर्काे घाम लागिरहेकाे थियाे । एक्कासि पानी बर्सिन थाल्याे । फगनी हतार-हतार घरतिर दगुरिन् । अनि घरभित्र पानी चुहिदै गरेकाे ठाउँमा भाडाकुडा थापिन्। छेवैमा भएकाे उनी सुत्ने खटिया भिज्ला कि भनेर बाेराले छाेपिन् । प्लाष्टिककाे खटिया फाटिसकेकाे थियाे । त्यहीँ खटियाका लागि रसरी बाटेकी रहिछिन् ।

भित्तामा झुन्डिएकाे एक दम्पतीका तस्बिर थिए । फगनीले तस्बिरमा भएकाे माकुराकाे जालाे हातले साेहाेरिन् । ती तस्बिर उनका छाेरा-बुहारीका रहेछन् । ५ वर्ष अगाडि छाेरा-बुहारी बिते अनि तस्बिरमा मात्र जिवित रहे ।
‘एकैदिनकाे फरकमा छाेरा-बुहारी मरे, क्यान्सरले भन्थे । क्यान्सर के हाे, म के जान्नु । फगनी ‘जस्केलाेमा बसेर दर्किरहेकाे पानीतिर हेरिन् ।

फगनीकाे लुगा उपहार

उनका श्रीमान अर्काे बिहे गरेर धनगढी बजार नजिकै बस्छन् । नाती बाजेकाँहा गएका थिए । केही बेरपछि पानी रह्याे । बाजेले नातीबजुलाई किनिदिएकाे दसैंकाे लुगा लिएर नाती पनि आइपुगे । फगनी नयाँ लुगा देखेर दंग परिन् । ‘बुढाले अझै पनि हामीलाई माया गर्छन् ।’ उनी मुसुक्क हासिन् ।
नातीले खाजा खानलाई छाेपि राखेकाे भाडा हेरे । बासीभात रहेछ । बेलुकाकाे पाँच बजि सकेकाे थियाे । एकैचाेटी खाजा र बेलुकाकाे खाना बासीभातसँग चाउ-चाउ खाने सर्तमा नातीले बजुलाई पैसा मागे । फगनीले पाेल्टाबाट ५० रुपैया निकालेर नातीलाई दिइन् । नाती पसलतिर दगुरे । फगनीले चुल्हाेमा आगाे फुक्न थालिन् ।

No responses yet

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply