पूर्वी झापा, मेचिनगर नजिकैको चिया बगान । बगानभित्र कथा बाेकेर आइपुगेका थुप्रै अनुहारहरु भेटिन्छन् ।
उनीहरु कहाँबाट आएका हाेलान् ? पूर्व कि पश्चिम, पहाड कि तराई ? बगानमा उनीहरु कोसँग आए ? किन आए ? एक्लै आए कि परिवारसँग ? यस्ता थुप्रै प्रश्नहरु मनमा बाेकेर हामी चिया बगान पुगेका थियाैँ ।
पारीलो घाम लागेको थियो । बगानका मजदूरहरु बिहानै आईसकेका थिए । कोही चियाका पत्ता टिप्दै थिए । कोही चियाका भारी ओसार्दै थिए ।
जिन्दगीका अनेकौं सपना बोकेर हिंडेकाहरु कुनै दिन बगानमा आइपुगेका थिए ।
कोही एक्लै आए । कोही साथै आए । कोही परिवारसँग आए । कोही परिवार छाडेर आए ।
अहिले सबै एक अर्काका साहारा बनेका छन् । आफन्त बनेका छन् । उनीहरु बगानका भएका छन् । बगान उनीहरुको भएको छ ।
करिब तीन दशक अघि बगान भित्र साना-साना झुपडी मात्र थिए । बगान अहिले गाउँ भैसक्यो । बगानभित्रको बस्तीमा करिब एक सय घर छन् । यही बस्तीमा बालखैमा आएकाहरु जवान भए । जवानहरु बृद्ध भए । माया प्रेम विवाह बगानभित्रै । बालबच्चा बगानभित्रै । अहिले बगान सबैको साझा घर भइसक्यो ।
यही माटोसँग जिन्दगीको घाम छाया र दु:ख-सुख साटियो । जुस्विना परिवारको साथमा आइन् । अमृता भारतबाट छोराछोरी र श्रीमानसँगै आइन् । छलिमाया काखे छोरा च्यापेर आइन् । यसरी काेही आफ्नाहरु लिएर, काेही आफ्नाहरु छाेडेर आएकाहरुका कथा बगानबाटै सुरु हुन्छ र बगानमै सकिन्छ ।
No responses yet