कपिलवस्तुका पत्रकार गोपाल भण्डारीले फोनमा सुनाएका थिए “केटीहरु मात्रै पढ्ने यहाँका धेरै मदरसामा पुरुषहरुले पढाउँछन् तर पर्दाभित्रैबाट । शिक्षक र विद्यार्थीले एक अर्कालाई देख्दैनन् ।”
सुन्दै अनौठो लाग्यो । “के हामीलाई त्यहाँ जान अनुमति मिल्छ ?” मैले सोधेकी थिएँ ।
“प्रयास गरौं” – उनले भने ।
यो कुराकानीको झन्डै एक सातापछि हामी पुगेका थियौं कपिलवस्तुको भैंसकुण्डा ।
माघ महिनाको साँझ । बाटो छेउको चिया पसलमा चिया खाँदै हामी मदरसाका सचिव पर्खिरहेका थियौं । तीन कप चिया सकिसकेको थियो । अघिसम्मको सुनौलो साँझ छिप्पिसकेको थियो । एक अर्कालाई नदेखिने गरि अँध्यारो भइसकेको थियो । छायाँसँग आवाजविनै बात मारिरहे जस्तो हामी सुस्तरी बोलिरहेका थियौं ।
‘मदरसा कस्तो हुन्छ मैले त आजसम्म देखेको छैन’
‘कतै अनुमति नदिने हुन् कि’
‘आजसम्म त यस्तो काम कसैले गरेको छैन’
‘दिने कि नदिने भन्ने विषयमा उनीहरु छलफल गर्न थाले होलान् । त्यसैले ढिलो भयो कि ।’
हाम्रा गफका विषय यिनै थिए ।
एउटा छायाँ हाम्रै छेउमा उभियो । हाम्रो खासखुस एकाएक बन्द भयो । सेतो कमिज र पाइजामा लगाएका दार्हीवाल । राम्रो नेपाली नबोल्ने । उनै थिए मदरसाका सचिव हिफिजुर रहमान । हामीले फेरि चिया थप्यौं । अघिसम्मका हाम्रा आशंकालाई उनले क्षणभरमै मेटाइदिए । उनले सजिलै अनुमति दिए । क्यामरासहितका सरजाम बोकेर भोलि विहानै मदरसा पुग्ने तय भयो ।
भोलिपल्ट विहान साँढे सात बजे हामी पुग्यौं । हाम्रा लागि आजको दिन एउटा फरक र नौलो अनुभव हुँदै थियो ।
हामीले तय गरिसकेका थियौं, हामी सही र गलतको विश्लेषण र व्याख्या गर्न मुस्लिम समूदायको त्यो कन्या क्याम्पसभित्र प्रवेश गर्दै थिएनौं । क्याम्पसभित्रको एक दिन जस्ताको त्यस्तै देखाउनु नै हाम्रो कथा थियो । त्यहाँ हामीलाई कुनै रोकतोक थिएन । कुनै निर्देशन थिएन । यो खिच्चनुस त्यो नखिच्नुस् थिएन । हाम्रा कामको चियो बुझ्न कोही खटाइएको पनि थिएन ।
सबेरै नानीहरु मदरसाको छात्रावासको चौरमा भेला भएका थिए । कालो लुगाले माथि तलसम्म ढाकेका । आँखामा मात्रै देखाएका केटीहरु । सुन्दरता र रहस्यको विम्ब बनेर यी आखाँहरु कति कविका कविताहरुमा बाँचेका होलान् !
त्यो कालो लुगाभित्र उनीहरुको लुगा कस्तो होला? मदरसाको भिन्नै ड्रेस होला कि नहोला? उनीहरुको अनुहार कस्तो होला? गोरो कि गहुँगोरो कि कालो ? के सोच्दा हुन् ?
किन आयो मनमा यस्तो जिज्ञासा !!! मेरो मनमा आएजस्तै जिज्ञासा उनीहरुका मनमा पनि आए कि त । म को हुँ ? किन आए ? उनीहरुले जस्तै हिजाब बुर्का मैले किन लगाइन ? सोच्न त उनीहरु पनि स्वतन्त्र छन् नि ।
क्यामरा र माइक्रोफोन बोकेर आफ्नो अघिल्तिर उभिएका हामीलाई देखेर उनीहरु छक्क परेका थिए । मनको भाव बुझ्न आँखा मात्रै काफी हुँदोरहेछ भन्ने थाहा पाएर म पनि छक्क थिए । ८ बजेको तरानाबाट मदरसाको दिन सुरु हुँदोरैछ ।
तराना गाउनका लागि शायजाँ नाजिस अगाडि आइन् । उनले गाउन सुरु गरेपछि एकैछिन त सास रोकिएजस्तै भयो। लाग्यो वर्षौदेखि सुन्न चाहेको एउटा धुन आज उनले सुनाइदिइन् । उनले आवाजमा के त्यस्तो मधुर मिठास घोलेकी थिइन् ? न गीत संगीतको नियम सुरताल म जान्दथेँ, न उनले गाएको तरानाको भाषा नै म बुझिरहेकी थिएँ । तर उनको गायकीले हामी लठ्ठीएका थियौ । त्यसैले त कसैले भन्यो होला ‘गीत संगीतको कुनै भाषा हुन्न’ ।
तराना सक्किएपछि शायजाँलाई सोध्यौ यत्ति मिठ्ठो गाउन कहाँ सिकेको ? उनी राम्रो नेपाली नबुझ्ने हामी उनले बोल्ने उर्दु र अवधी नजान्ने । मदरसाका अरु शिक्षकले क्षणभरमै नेपाली बुझ्ने र बोल्ने साफिया खातुन बोलाइदिए ।
सुरुमा साफियालाई सोध्यौं:
“यहाँका अरु केटीहरु नेपाली नबुझ्ने तपाईले चै बुझ्ने । कसरी ?”
“हाम्रो घरछेउछाउ पहाडे बस्ती छ”
“कति पढ्ने?”
“सबै पढ्ने १३ सम्मै पढ्न मन छ । तर जीवनले कहाँ पुर्याउँछ । हेरौं”
“के बन्ने त?”
“पढाउने यस्तै मदरसामा”
अनि सुरु भयो शायजाँसँगको कुराकानी । म यत्तिखेर आफ्नै मनका कत्ति कत्ति भावहरु बुझ्न सकिरहेको थिइनँ । उनीहरुलाई देखेर म के अनुभव गरिरहेको छु ठ्याक्कै पहिल्याउन सकिरहेकी थिइनँ । तर हामी सबै उनीहरुबारे थाहा पाउन उत्सुक थियौं । किन ? उनीहरुको कुरा देखाउन र सुनाउन हामी किन यति व्यग्र ? के उनीहरु हामीले सधै गर्ने अन्तर्वार्ताका पात्रभन्दा फरक हुन् ? कि हामी उनीहरुको अस्तित्वमाथि प्रश्न गरिरहेका छौ र उनीहरुलाई त्यसै फरक देखिरेहका छौ । उनीहरुलाई पनि त हामी फरक लाग्दो हो ।
शायजाँ असाध्यै छोटो उत्तर दिन्थिन्
“गाउन कसले सिकायो?”
“बाबुआमाले सिकाएको”
“कहिले ?”
“सानैदेखि”
“पढिसकेर के बन्ने?”
“शिक्षक”
“असाध्यै मिठ्ठो गाउनुहुँदोरहेछ!” यत्ति भनिसक्दा उनी मुस्कुराइन् ।
हामीले फेरि थप्यौं – “तपाईं राम्रो गाउनुहुन्छ भनेर कसैले भनेको थिएन पहिला ?”
“सबैले भन्छन्”
“कस्तो लाग्छ सबैले राम्रो गाउँछ्यौ भन्दा?” साथी कमल कुमारले सोधे
यत्ति नै बेला उनको आँखाको भाका बदलिएको थियो । र ओठबाट फुस्केको उनको मुस्कान निकाब (बुर्का)बाट बाहिरिएको थियो । त्यो आँखामा मैले अलिकति लज्जा, अलिकति अप्ठ्यारोपन र खुशी, सब देखे ।
अहिले यो कार्यक्रम प्रसारण गर्ने बेलासम्ममा मैले अनगिन्तिपल्ट उनको आखाँको त्यो भाव हेरेको छु र आफैं अनगिन्तिपल्ट अल्हादित भएकी छु र कुनै उत्सव मनाएजस्तै आफैं आफैं फुरुङ्ग भएकी छु ।
कक्षा कोठामा पर्दाभित्र र बाहिर बसेर शिक्षकले कसरी पढाउँदा हुन् ! त्यो अर्को कौतुहलताको विषय थियो हाम्रा लागि । तर हामीलाई सुनाइएजस्तो पर्दाभित्रको कक्षा हामीले भेटेनौ । बरु धेरैजसो कक्षामा केटीहरु भुइँमै बसेर पढिरहेका थिए । शिक्षकहरुको लागि चै कुर्सी थियो । कुनै कुनै कक्षामा भने शिक्षक र नानीहरु सबै भुँइमै थिए । धार्मिक विषय पढाई हुँदा कोहीपनि कुर्सीमा बस्न नपाइँदोरैछ भनेर थाहा भयो ।
***
रजिया खान । मदरसामा पढाउने शिक्षिका । मदरसाका सबैजस्तो नानीहरुको उनीजस्तै गुरुआमा बन्ने सपना छ । उनी पनि यही मदरसामा पढेकी हुन् रे । रजिया पनि नेपाली नबोल्ने । मैले उनैले पढाउने साफियाको मद्दत मागेँ ।
मेरो घर काठमाण्डु भनेपछि रजियाले पनि सुनाइन् – “मेरो भाइ पनि काठमाण्डौमा पढ्छ । इन्जिनियर हुन्छ अब छिट्टै”
मैले अनायसै सोधेँ – “तपाईंलाई चै भाइजस्तै इन्जिनियर हुन मन लागेन?”
उनले मेरो प्रश्नै बुझिनन् । अथवा बुझेर पनि उत्तर दिन जरुरी ठानिनन् ।
त्यहाँ रजिया र अर्को एक महिला शिक्षक रैछन् ।
“पहिला एकजना दिदि हुनुहुन्थ्यो । विहे भएपछि आउन छोड्नुभयो”
उनले सुनाइन् – विहेपछि धेरैले पढाउन पाउँदैनन् रे । उनको पनि विहे भएको रैनछ । सुनाइन् – पछि पढाउने नपढाउने भन्ने कुरा चै विहे गरेर घर कस्तो पर्छ त्यसमा भर पर्छ । राम्रो नराम्रो उनैले छुट्यादिइन् – राम्रो घर श्रीमान् र सासु ससुरा परे पढाउन आउन पाइन्छ नत्र पाइन्न ।
“हामी मुस्लिमहरुको छोरी बुहारीले कमाएको पैसा चल्दैन । हामीले कमाएर घर परिवार पाल्न पाइँदैन । हामीलाई अरु केटाहरुले देख्न मिल्दैन । आफ्नो श्रीमान्ले मात्रै देख्नु पाउँछ । यो लुगाभित्र हामी स्वतन्त्र र सुरक्षित छौं” मनभित्र अनगिन्ति प्रश्न पानीका फोका झैं फुक्दै र फुट्दै गरे । तर मैले उनलाई सुनेँ मात्र ।
हामीले मदरसाकै चिया खायौं । दिउँसो चिया खाने बेलामा साथी कमलकुमार र जीवनले सुनाएः
“अघि प्रार्थना गरेको आगँनमा सामान लिन जाँदा केटीहरु भागाभाग गरे । एक दुई फेर यस्तो भयो । उनीहरुलाई हामीले अप्ठ्यारो बनायौं जस्तो छ”
म छक्क परेँ । किनकि मेरो अनुभव नितान्त फरक थियो ।
म एक्लै उनीहरुको छेउछाउ पर्दा उनीहरु मेरो वरपर झुम्मिएका थिए । अनुहार ढाकेका पनि थिएनन् । उनीहरुका आँखामात्रै होइन नाक, मुख, ओठ सबै बोलेका थिए मसँग । कसैले मेरो कपाल सुम्सुम्याए । कसैले मेरो हात समाए । मैले बेरेको घाँटीको मफ्लर मैले आफैं बनाएको हो कि सोधे । बताए आफूले मदरसाको नियमित कक्षा सकिएपछि खेल्ने खेलका बारेमा । धेरैलाई ब्याडमिन्टन खेल्न मन पर्दो रैछ । लखेटी-लखेटी खेल्न उनीहरुलाई रमाइलो लाग्छ रे । ठूला नानीहरुसँग बुन्ने सुन्दर कला रहेछ । हातमा कुरुस धागोको डल्लो भएको झोला धेरैसँग थियो । आफूले बुनेका स्वीटरहरु पनि देखाए । चित्र पनि बनाउँदा रहेछन् । केही रमाइला कथा पनि सुनाए । मेरो नाम सोधे । आफ्ना नाम पनि बताए अविदा, फतिमा, जैनव, राब्या……. सबै नाम त मेरो सम्झनामा पनि छैनन् ।
मेरा जस्तै उनीहरुका पनि प्रश्न थिए मसँग । उनीहरु उर्दु र हिन्दी मिसाएर बोल्थे । म कनीकुथी हिन्दीमा उत्तर फर्काउँथे । हाम्रा कुराका विषय जे पनि थिए ।
“घर कहाँ हो?”
“काठमाण्डौं”
“दाजुभाई कति जना?”
“दुई जना”
दिदिबहिनी सोधेनन्
“कति पढेको छ?”
“एम ए”
“कति ?”
मैले औंला भाँचेर भने “१७ कक्षा”
“मलाई त १३ सम्म मात्र थाहा छ” एउटी नानीले भनिन् ।
यस्तै जिज्ञासा र प्रश्नहरुको माझबाट आयो एउटा अनौठो प्रश्न ।
“यीमध्ये तपाईको श्रीमान् कुन हो ?” मेरा सहकर्मीहरुलाई इङ्गित गर्दै उनीहरुले सोधे ।
मैले भनेँ “कुनै पनि होइन”
उनीहरु छक्क परे । खासखासखुसखुस गरे । त्यसपछि कोही बोलेनन् । खालि मसिनो आवाजमा नबुझिने गुनगुन मात्रै ।
***
कपिलवस्तुबाट हामी पूर्व लाग्यौं । बाटोभरि उनै शायजाँको गीत सुन्दै । दोहोर्याइ तेहेराई । उनको आवाज मनभित्रै गढेको थियो ।
मनमा अर्को एउटा कुरा पनि गढेको छ । हाम्रो पहिलो कार्यक्रम हेरेर उनको स्वर सुनेर कसैले उनलाई गीत गाउने प्रस्ताव गरे उनी के भन्दी हुन् !
***
उनीहरु मेरा लागि नौला भए
म उनीहरुको लागि नौली भएँ
मैले उनीहरुलाई सम्झेर लेखेजस्तै
उनीहरु पनि मलाई सम्झेर
यसैगरी लेख्दा हुन् कि डायरी
एउटा स्कूलको कथा हेर्नु भएको छैन भने तल क्लिक गर्नुहोस्:
मनमा केही आयो? लेख्नुहोस्:Cancel reply