कलकल नदी, तलतल गाउँ

जुम्ला सदरमुकाम छेवैको गाउँ बाइराँका । हेर्दा सुन्दर देखिए पनि गाउँलेहरु वर्षौंदेखि तिर्खाएका छन् ।

नदीको पानी तानेर गाउँसम्म ल्याउने खानेपानी योजनामा थुप्रो पैसा खर्च भइसक्यो । ट्याङ्की र पाइप अलपत्र छन् । जेनेरेटरमा खिया लागेको छ ।

तल तिला नदी कलकल बगेको छ । गाउँलेहरुलाई पानी खान नपाएर तलतल भएको छ । त्यही नदीको धमिलो पानी खानु पर्ने बाध्यता छ । अनि त्यही फोहोर पानी खेप्न पनि साँझ विहान उकाली ओराली गर्नुको पीडा भोग्नेलाई मात्र थाहा छ । 

धारा र खानेपानीको सपना धेरै बाँडियो बाइराँकामा । अब त गाउँलेलाई आश पनि लाग्न छाडिसक्यो ।

भिडियो – कलकल नदी, तलतल गाउँ

शान्त जुम्लाका मनहरु

यो हो जुम्ला सदरमुकाम खलंगा बजार । हिमाली उपत्यकामा रहेको यो बजार भित्रका साँघुरा गल्लीहरु पनि यतिखेर सुनसान छन् ।

बजारको एउटा सानो गल्ली भित्र मरिच हालेको चिया पाइने चर्चित पसल छ । विगतमा भरिभराउ हुने यो चिया पसलमा खड्गध्वज खाँण र उनकी पत्नी उमिडोर खाँणको आजभोलिको दैनिकी चिया पकाउने, ग्राहक प्रर्खने र कोही नआएपछि सेलाएको चिया आफैंले खाने र फाल्ने गर्दै बित्छ ।

बेरोजगार छोरा बुहारीलाई पनि यी वृद्ध दम्पत्तीले यही चुल्होमा पकाएको चिया बेचेरै खर्च जोहो गर्ने गरेका थिए । अव त झन् बोझ थपिएको छ

कर्म खोज्दै ८ वर्षअघि जुम्ला आएका मिराज अलीको मन पनि अशान्त छ यतिखेर । उनको चाट पसलमा ग्राहक आउन छाडेपछि ५ जनाको परिवार पाल्ने पीरले गाँजेको छ ।

एक हप्ता अघि खुलेको यही बजारमा अवस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका केही स्वास्थ्यकर्मी तथा सर्वसाधारणहरुमा कोरोना पोजेटिभ देखिएपछि फेरी बजार अनिश्चितकालका लागि पूर्णरुपमा बन्द भएको हो ।

भिडियो – शान्त जुम्ला, अशान्त मन