विश्वनाथ चारिआली शहरबाट उत्तरतिर अरुणाचल प्रदेशको छेउमा मोनाबारी भन्ने गाउँ छ । यो लिम्बु गाउँ हो । हामी पुग्दा कोही धान काट्दै थिए । कोही चाहिँ मोटरसाइकलले दाइँ गर्दै थिए ।
असममा चिया खेति फस्टाएपछि धान खेती घटेको रहेछ् । गाउँलेहरुले लुती भनेर बोलाउने धनमाया दिदिको खेतमा चैँ धानका बाला लहराइरहेका छन् ।
ताप्लेजुङ र तेह्रथुमका पहाडका सम्झनाहरु यो बिरानो गाउँमा कथा भएर घरैपिच्छे बाँचेका छन् । कहिलेकाहिँ सम्झनाहरु च्याब्रुङ र मुर्चुङ्गाको तालमा पोखिन्छन् ।
यो भेगमा जता गएपनि नेपाली बस्ती । यहाँबाट दक्षिणतर्फ ब्रह्मपुत्र नदीको छेउमा एउटा तामाङ गाउँ छ । तामाङ गाउँमा तामाङ भाषा बोल्नेहरु चाहिँ मुस्किलले भेटिन्छन् ।
न्याउरी माइलाले हामीलाई आफ्ना छिमेकीहरुसंग पनि भेट गराइदिए ।
अर्को गाउँमा भेटिए विनोद खनाल । खनालले घरभरि नेपाली बाजागाजा जोगाएर राखेका छन् । गोर्खाली गीत सङ्गीत र नाचगान सिकाउन उनी असमका कुनाकाप्चा डुलिरहन्छन् ।
विनोदसँग हामी ब्रह्मपुत्र छेउछाउका छापडीतिर गयौं ।
यहाँ नेपालीले मात्रै होइन, आसामी, बंगाली, विहारी सबैले नेपाली बोल्ने रहेछन् ।चाडबाड मनाउने रहेछन् । स्थानीय शिक्षक निखिल रोय बंगाली हुन् । तर देउसी भैलो मनाउन उनी नै अघि सर्छन् ।
साँझपख अस्ताउँदो घामको लाली ब्रह्मपुत्रको पानीमा पोखियो । हात्ती आउने डरले मान्छेहरु छिटो छिटो घरतिर लागे ।
