यात्रा पहिलो दिन – काठमाडौं र चितवन

हेर्ने कथा खोज्न हामी पश्चिम नेपालको यात्रा मा निस्किएका छौं । यात्राका अनुभव भ्याएसम्म लेखेर तपाईंलाई सुनाउनेछौं । हामीले खोजेका कथाहरु हेर्ने कथामा बिस्तारै देखाउँदै जानेछौं

काठमाडौं भित्रिन मात्र होइन बाहिरिन पनि सकस छ ।


तुँवालो र मोटरका धुँवाले सर्लक्कै छोपेको काठमाडौंको घना बस्तीलाई हामीलाई वल्ततल्ल छिचोल्यौैं । कलंकीबाट नागढुङ्गा उम्किन सम्भवत दिनभरिको धैर्य चाहिने भयो । हामीले खड्का गाउँ र स्युचाटारका लोभलाग्दा धान खेतहरु मासेर प्लटिङले बनाइदिएका साँघुरा १० फुटे बाटो छिचोल्दै नागढुङ्गा समात्ने तय गर्यौं ।

स्वभाविक रुपमा हामी सहयात्रीहरु काठमाडौंबारे गफिँदै थियौं यतिखेर । म जन्मी हुर्केको काठमाडौं । अनि मेरा सहयात्रीहरु जन्मी हुर्केको ठाउँ छोडी आएको काठमाडौं ।

उपत्यकाका अब्बल फाँटहरुमा धानका बालाहरुसँग आफ्नो उचाइ नाप्दै, इस्कुसका लहराहरुसँग पिङ खेल्दै, तुषारोहरुमा चिप्लेटी खेल्दै, बारीभरिका फलेका बकुल्लाका गट्टी खेल्दै, अनि घर नजिकैको लप्सीको बोटमा दिनभरिमा सपना देखिरहने लाटोकोसेरोसँग आँखा जुधाउँदै म हुर्केको काठमाडौं । त्यो छैन अहिले । हुँदैन होला कहिले । बगिसक्यो त्यो काठमाडौं बागमतीमा ।

अस्ति भर्खर १८ वर्षअघिदेखि काठमाडौैं छिरेका एक जना सहयात्री सुनाउँदै थिए : उनी भर्खर काठमाडौंमा आउँदा टल्किएका हिमालहरु अचेल देखिँदैनन् उसैगरी । अझै त्यो बेलाको सफा काठमाडौंमा स्वयम्भुका दुइटा आँखाका चित्र टाँसिएका हट एयर बेलुनमा बसेर पर्यटकहरु आकाशबाट काठमाडौं हेर्थे ।

हामी पुरानो नैकापको डाँडामा पुगेर पछाडि फर्केर हेर्दा तुँवालो मात्र थियो ।

भद्दा कँक्रिटको जंगल थियो । धुँवा ओकल्ने इँटा भट्टाका चिम्नीहरु थिए । मोटर र मोटरसाइकलहरु थिए । रेमिट्यान्सले जोडिदिएका बाटो छेउमै टाँसिएका चम्किला रङ लगाइएका घरहरु थिए । घरका सटरहरुमा चाउमिन पसल थिए ।

काठमाडौं भित्रिन मात्र होइन बाहिरिन पनि सकस छ ।

काठमाडौं छोडेर भागी जाने सोच मेरो मनमा उति साह्रो उर्लँदैन । किनभने यो मेरो घर हो । तर मलाई थाहा छ यो यात्राका मेरा सहयात्रीहरु जस्तै काठमाडौं जनसंख्याको ठूलो हिस्सा बाध्यताले काठमाडौं आइपुगेको हो । कोही पढ्न आए । कोही जागिर खान आए । कोही अस्पताल खोज्दै आए । कोही अवसर खोज्दै आए ।

जो जसरी आइपुगे पनि अन्तत: ती काठमाडौंका मोटर र मोटरसाइकल बने । चाउमिनका ग्राहक र पसले बने । प्लास्टिक बने । लालपुर्जा बने । तुँवालो बने । अनि भाषणका स्रोता र समाचारका पाठक बने । उता गाउँमा सयपत्री ओइलायो । यहाँ चाइनाबाट आएका प्लास्टिकका फूल बिके ।

मेरा साथीहरु कहिलेकाहिँ भावुक हुन्छन् : काठमाडौं बस्नु भनेको आयु घटाउनु मात्र हो । अझै उत्तेजित हुन्छन् : काठमाडौं छोडेर फर्किनु पर्ला गाउँ । गाउँ अब गाउँ रहेन नगरपालिका भइसक्यो । तर काठमाडौंको दलदलबाट निस्किन त्यति सजिलो छैन । जसरी हामीलाई कलंकीबाट नौबिसे पुग्न ४ घन्टा लाग्यो ।

अस्पताल खोज्दै काठमाडौं आएका एम्बुलेन्सहरु जाममा छटपटाइरहेका थिए । 

हामीले निकट भविष्यमै पहाडै पहाड चाइनादेखि आउ लागेको रेल, शहरका प्लटिङका १० फुटे बाटोमा कुद्ने मोनो रेल र बंगालको खाडीदेखि आउने पानी जहाजलाई सम्झियौं ।

मैले मेरो कामका सिलसिलामा धेरै नेता र जिम्मेवार अधिकारीहरुलाइ धेरै पटक जवाफदेहिताका धेरै फुस्रा सवाल जवाफ गरेकी छु ।

आजकल त मलाई नेताका कुरा सुन्नु उनीहरुका समाचार पढ्नु दिनभरि लुडो र क्यारेमबोर्ड खेल्नु जस्तै लाग्छ । (त्यसैले हेर्ने कथामा हामी मान्छेका कर्मका कुरा सुन्छौं, समाचार र भाषणमा नअटाउने जिन्दगीका कुरा सुन्छौं)

यही प्रसङ्गमा साथी कमलकुमारले केही वर्षअगाडि लेखेको एउटा कविता सुनाए

गाउँदेखि शहरसम्म एउटा बाटो छ
कहिँ हिलो कहिँ धुलो माटो छ

एका विहानै गाउँ
ट्याङ्करका ट्याङ्कर
‘शुद्ध खाने पानी’ दिन्छ शहरलाई

खर्पनभरि साग दिन्छ
शहरलाई उसको भाग दिन्छ
दिन्छ मोटा सुँगुरहरु
बाँधेर बिक्रम टेम्पोमा

धुलो उडाउँदै गाउँ
शहरले नै दिएको ट्रिपरमा
गिट्टी दिन्छ
दिन्छ बालुवा

शहर बदलामा गाउँलाई
केही अपार्टमेन्ट दिन्छ
दिन्छ केही नौला सुकिला मान्छेहरु

काला सिसाहरु
र अग्ला पर्खालहरु
देखिन्छ गाउँको दृश्यमा
गाउँलाई शहरले दिएको गाउँभित्रको शहरमा

गाउँ सपना दिन्छ
शहर पासपोर्ट दिन्छ
गाउँ कर्म खोज्छ
शहर लुडो र क्यारेमबोर्ड दिन्छ

मुग्लिङ काटेपछि बाटो कटाउने मेलोमा हामीले गरेका नैराश्यता र दिक्दारीका गफहरु फेरिए । भर्खरै बनाएर सकिएको मुग्लिङ नारनघाटको चिल्लो र फराकिलो बाटोमा हामी रमायौं । तल बगिरहेको हरियो त्रिशुली बाटोलाई असाध्यै सुहाएको थियो ।

यो यात्रामा हामी सुदुरपश्चिमको सिमाना बैतडीसम्म पुग्नेछौं । हामीले यात्राका अगाडिका बाटोहरु सम्झियौं र फेरि पनि भन्यौं “बैतडीसम्मै यस्तै बाटो भइदिए!”

मान्छेका सामान्य आकांक्षा र नेताले दिने आश्वासनको खाडल किन यति फराकिलो भएको होला ? झमक्क अँध्यारोमा नारनघाट पुग्दासम्म मेरो मनमा यही प्रश्न खेलिरह्यो ।

काठमाडौैंबाट ११ बजे हिँडेका हामी बेलुका ७ बजे नारानघाट पुग्यौं । १३६ किलोमिटरको ‘सुगम’ राजमार्गमा हामीले जिन्दगीका ९ घन्टा खर्च गर्यौै ।

आजको वास नारनघाट । भोलि विहानै हामी नवलपरासी नारायणी तीरका कर्मजिवीहरुको कथा सुन्न जानेछौं ।

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply