Jungle ko Katha EP99

Jungle ko Katha

यो बर्दिया राष्ट्रिय निकुन्ज हो । घना जंगल अनि बाघको घर । निकुन्ज छेउछाउका गाउँहरुलाई बाघसँग जोगिने चिन्ता छ । जीवजन्तुको संरक्षणमा काम गर्नेहरुलाई चाहिँ बाघ जोगाउने चिन्ता ।

Jungle ko Katha – Episode 99

जंगलको कथा

झुल्के घामसँगै एक हुल प्राविधिकहरु बर्दिया राष्ट्रिय निकुन्जको जंगल छिर्ने तयारीमा छन् । उनीहरुको काम बाघ खोज्ने । 

राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका हाकिम रविन कडरिया आज आफैं जंगल हिँड्दैछन् । उनको साथमा छन् सिपालु प्राविधिकहरु फिरुलाल चौधरी, रामराज चौधरी र खुसीराम चौधरी । 

आजको काम चाहिँ बाघ हिँड्ने बाटोमा क्यामेरा राख्ने । लजालु बाघलाई पत्तो नदिई फोटो खिच्ने । अनि त्यही फोटो हेरेर जंगलमा कति वटा बाघ छन् पत्ता लगाउने । 

फिरुलाल पहिले कार्यालयका भान्छे थिए । ८ वर्ष भान्छामा काम गरेपछि उनी प्राविधिक भएर जंगल छिर्न थालेका हुन् । 

आज जंगलमा क्यामेरा राख्ने काम सकियो । निकुन्जको घना जंगलमा घाम डुब्यो । चित्तलका बथानहरु चर्न निस्किए । 

भोलिपल्ट फिरुलाल र उनको टोली निकुन्जको अर्को छेउतिर जाने तयारीमा छ । बबइ नदी छेउका चुरे क्षेत्रमा १५ दिन अगाडि राखिएका क्यामेरा निकाल्नुछ । 

राजमार्ग छाडेर बबई किनारबाट केहीबेर उत्तर लागेपछि हाम्रो टोली परेवाओडार पुग्यो । 

हामी केही बेर बाघको पाइला र गन्धले नै रोमान्चित भयौं । 

अलि अगाडि बढेपछि फिरुलालले रुखमा बाँधिएको क्यामेरा निकाले । 

उनीहरुले जंगलको अर्को ठाउँमा राखिएको क्यामेरा पनि निकाले । यहाँ पनि अर्को बाघ परेछ । 

क्यामेरा खोज्न जंगल डुल्दा डुल्दै फोन आयो । कोठियाघाट भन्ने ठाउँमा बाघले मान्छे मारेछ । 

हामीले जंगलको यात्रा छोट्यायौं । 

बर्दिया निकुन्जका कुना कन्दरा दुई दिनसम्म डुल्दा पनि हामीले बाघ देखेका थिएनौं । बाघका पाइला मात्र फेला परेको थियो ।

तर फर्किँदै गर्दा राजमार्गमै एउटा बाघले हामीलाई पर्खिरहेको थियो ।  

सन् २०१८ मा बर्दियामा बाघको संख्या ८७ थियो । सन् २०२२ मा बढेर १२५ पुग्यो । यसै अवधिमा बाघको आक्रमणबाट बर्दियामा मात्र २५ जनाले ज्यान गुमाए । 

Watch other episodes of Herne Katha

Barekotko Katha EP97

हाम्रो गन्तव्य त मुगु थियो । तर बाटोले नै साथ नदिएपछि यात्रुको केही नलाग्ने रहेछ । वेमौसमी झरिले ठाउँ ठाउँमा कर्णाली राजमार्ग बगाएपछि हामीले बाटो फेर्यौं । 

जाजरकोटको उत्तरी भेग बारेकोट हाम्रो नयाँ गन्तव्य बन्यो । 

Barekotko Katha – Episode 97

बारेकोटको कथा

ठाउँ ठाउँका पहिरो पन्छाउँदै हामी खारा भन्ने ठाउँ पुग्यौं । 

यहाँबाट हाम्रो पैदल यात्रा सुरू हुन्छ । 

नलगाड खोलाको तिरै तिर हामी हिँडिरह्यौं । बाटोभरि छङछङ गर्ने छहराहरूले छिनछिनमा स्वागत गर्थे । हामी थकाइ बिर्सिन्थ्यौं । 

साँझ पर्न लागेको थियो । १० मिनेट जति एउटा जीप चढ्दा बाटो छोट्टियो ।  

झमक्क साँझमा बारेकोटको लिम्सामा बास माग्यौं । गोबिन्द सिंहसँग लिम्सामै भेट भयो । 

भर्खरै वनपाखा डुलेर फर्किएका गोबिन्द भोलि विहानै पाटनतिर हिँड्ने सुरमा रहेछन् । 

भेटनरीका कर्मचारी गोविन्दले कोठाभरि थरिथरिका सामान थुपारेका छन्। पुरानो कम्पास देखि आधुनिक जिपिएस सम्म। फुर्सद भयो कि वनजंगल डुल्ने, चराचुरुङ्गीका फोटो खिच्ने । 

गोबिन्दसँगै उनका भतिजो नाता पर्ने दिलिप सिँह पनि आजको यात्रामा मिसिए ।  

गाउँमा मेलाको माहोल छ । मेला भर्न टाढा टाढाबाट मान्छेहरु आउदै गरेका भेटिन्थे । तर

गोविन्द सिँह मेला भर्न जान छोडेको वर्षौ भयो । उनलाई वनजंगल डुल्ने बानी परेको पनि त वर्षौ भयो नि ।

हिँड्दा हिँड्दै गोविन्द सर ठाँउ-ठाँउमा रोकिन्छन् । हामीलाई बाटोमा देखिने स-साना सर्प, चराको कथाहरु सुनाउँछन् । 

गोबिन्दको माया वनजङ्गल र जीव जन्तुसँग बेस्सरी बसेको छ । उनी घाइते जनावरलाई मलम लगाइदिन्छन् । पासो फुकाल्न अफ्ठ्यारा भीर उक्लन्छन् । बेच्न राखिएका गुलेली आफैं किनिदिन्छन् । उनको यस्तै कर्मले कतिले नयाँ जीवन पाए होलान् !

गोविन्द सरको पाइला पच्छ्याउँदै हामीले बारेकोट, जाजरकोटको भूगोल पढ्यौँ ।

साँझ पर्ने बेला हामी ढोटाचौर पुग्यौं । 

साँझ हामी कर बहादुर सिंह र उनकी पत्नी लक्ष्मी सिंहको होटलमा बास बस्यौं । 

भोलपल्ट झिसमिसेमा हाम्रो यात्रा फेरि सुरू भयो । 

आजको यात्रामा करबहादुर सिंह र कमल सिंह पनि मिसिएका थिए । 

माथि हिउँले ढाकेका पाटन भेट्टाउन हिँडेका हामी । हाम्रो हिँडाईले गोर्खाली डाँडामै बिराम लगायो । करबहादरको घोडाले बोकेका उसिनेकै लेकाली आलु चपाउँदै हामीले हिमालसँग आँखा जुधायौं । बारेकोटसँग पीरती गाँसेर हामीले फर्किने बाटो समात्यौं ।

हेर्ने कथाको अंक ९६ मा हामीले बाहुनडाँगीको कथा देखाएका थियौं ।