Baliyo Katha EP45

१६ वर्षे उमेरको जिन्दगीका भोगाइ कति होलान् ? भर्खर वालवयबाट उँभो लागिरहेको यो उमेरले तय गरेको यात्रा सरल होला् कि बाङ्गाटिङ्गा ? दुःखको कथा होला कि सुखको कथा होला ? 

सबिनासँग दुई वटा विकल्प थिए: आफ्नो जिन्दगीको कथा अरुलाई लेख्न दिने कि आफै लेख्ने । आँटिली सबिनाले दोस्रो बाटो रोजिन् । हेर्ने कथामा  बलियो कथा सुरु भयो है । 

१६ वर्षे उमेरको जिन्दगीका भोगाइ कति होलान् ? भर्खर वालवयबाट उँभो लागिरहेको यो उमेरले तय गरेको यात्रा सरल होला्न कि बाङ्गाटिङ्गा होलान्? दुःखको कथा होला कि सुखको कथा होला ?  आउनोस् १६ वर्षकी सबिना खातनुको कथा ४ वर्षअघिबाट सुरु गरौं जति खेर उनी १२ वर्षकी थिइन् । 

बा गाउँबाट धान किनेर ल्याई बेच्थे । बाको ब्यापारमा आमाले सघाउँथिन् । 

सबिनाको जिन्दगी, उमेर जस्तै हलुका थियो । किताब च्यापेर दाजु भाइसँगै स्कुल जानु । उखुबारी र आँप गाछीका बँगैचामा पुतली जस्तै पुतलीका पछि दगुर्नु । आमाले पकाइदिएको खानु । पढ्नु, लेख्नु रमाउनु ! आहा कस्तो रमाइलो । 

सबिनाका बा अचानक बिते । आमालाई व्यवहारले थिच्यो । छरछिमेक र समाजको धारणासँग कुस्ती खेल्ने बल आमासँग थिएन । जसरी सबिनाका सखीहरुको बिहे सानै उमेरमा हुन्थ्यो, त्यसरि नै सबिनाको पनि बिहे गरिदिने निधो भयो । 

पढाई छुट्यो । आमा छुटिन् । सपना छुटे । आँपगाछीका पुतलीहरु छुटे । बिहे गरेको भोलिपल्टैदेखि सबिनाको संसार अर्कै भयो । नरमाइलो संसार । चन्चल मन र जिज्ञासु वालापन घुम्टोभित्र बन्धक भयो । त्यसरि नै थुनिए सबिनाका पढ्ने चाहना र थुप्रै सपना । 

बिहे गरेर गएको घरमा बिस्तारै सुरु भयो अत्याचारको श्रृंखला । सक्ने जति सहिन् सबिनाले । 

६ कक्षासम्म पढ्न पाएको सबिनाको चेत त्यति कमजोर कहाँ थियो र? उनका मस्तिष्कमा बिस्तारै विद्रोह सल्बलाउन थाले । सबिनासँग दुई वटा विकल्प थिए: आफ्नो जिन्दगीको कथा अरुलाई लेख्न दिने कि आफै लेख्ने । आँटिली सबिनाले दोस्रो बाटो रोजिन् । 

कानुनले सबिनालाई न्याय दियो । सानैमा छोरीको बिहे गरिदिएर गल्ती भयो कि भन्ने आमालाई पहिल्यै लागिसकेको थियो । आमाले छोरीलाई सक्दो बल दिइन् । 

यो बिचमा आमा पनि गाउँकी नेता भइसकेकी थिइन् । मुस्लिम समाजमा बाहिर निस्केर परिवार र व्यवहार धान्ने महिला पाउन गाह्रो थियो । पार्टीहरु उनलाई खोज्दै आँगनमै आइपुगे । 

सबिनाले ७ कक्षामा पढाइ सुरु गरिसकिन् । जोश र जाँगर बोकेर स्कुल जान्छिन् । डाक्टर बन्ने सपना बोकेकी छिन् । पुरै जिन्दगी अगाडि छ । 

पछाडि बितेका जिन्दगी फर्केर हेर्न मन छैन । सबिनाले अरुले लेखिदिएको एउटा दुःखद कथा च्यातेर फालिसकिन् र आफैं लेख्न सुरु गरेकी छिन् आफ्नो कथा । विद्रोहबाट जन्मिएको बलियो कथा ।

Jhyaulika Juntara EP30

राजनीतिक परिवर्तनको उर्बर भूमिमा उनीहरु जन्मिए । दाङ र रोल्पामा खान लाउन पुगेन । काठमाडौं छेउका उर्बर भूमिमा खुलेका इँटाभट्टाले उनीहरुलाई बोलायो । उनीहरु गाउँलाई छाडेर आए । रहरलाई छाडेर आए । परिवारलाई छाडेर आए । 

किर्तिपुरपारि फाँटको इँटाभट्टा एकाविहानै जाग्छ । सँगै जाग्छन् यहाँका मिनी रोल्पा र दाङहरु । 

रेकका अनेक कथा छन्। अनगिन्ति व्यथा छन्।सपनाहरु त गाउँतिरै छोडेर आइसके। केवल हातमुख जोर्ने बाध्यता छ । कमजोर शरिर अनि कमसल खान्की । तर भारी बोक्ने प्रतिस्पर्धा छ । एक एक इँट्टा बोकेको हिसाब सप्ताहन्तमा पाइन्छ । हजार बोक्दा ३ सय कमाइन्छ । 

जुनताराले झ्याउलीको दैलो उघारिन् । फागुनमा डालेघाँस काट्न घरबाट हिँडेकी जुनतारालाई नाइटबसले नैकापमा झारिदिएको थियो, उस्तै बाध्यताबाट आँट बटुलेका संगीहरुसँगै । 

११ बजेदेखि २ बजेसम्म खाना पकाएर खाने छुट्टी हुन्छ । जुनताराकी फुपु र भाउजु पनि झ्याउली आइपुग्छन् । 

यति नै बेला झ्याउलीमा सबैजना भेटिन्छन् । सबैको अआफ्नै धुन हुन्छ । कोही पकाउन थाल्छन् । कोही हिजोको भाँडा माझ्न । कोही भोक बिर्सेर थकाई मार्छन् । 

मनहरु पनि पाकेको इँटाजस्तै भइसके । अब दुख्न बाँकि ठाउँ नै छैन । १९ वर्षकी विपना परियारले पिठ्युमा बोकेकी छोरीलाई सन्चो थिएन । केही महिनाअघि विपनाको ६ महिनाको छोरो बितेको थियो । 

दुई जिउकी गीता नेपाली विहानैदेखि इँटा बोकिरहेकी थिइन् । उनी झ्याउलीमा आएर सिन्कीको झोल  उमाल्ने तरखरमा छिन् । विहानदेखि मध्यान्नसम्म भारि बोकेकी गर्भवतीको खान्की देख्दा सिन्की जस्तै मन अमिलो भयो । 

कामदारका वालवच्चा हेर्नको लागि भट्टा साहुले एउटा टहरामा हेरालु राखिदिएका छन् । यही टहरालाई यहाँ स्कूल भन्छन् । धेरै केटाकेटीहरु स्कुलमा भन्दा धुलो माटो मै रमाउँछन् । 

कपाल फुलिसके । दाँत झरिसके । रोल्पाको आँगनमा यी आमा पनि अटाउन सकिनन् । बुढा बिते, छोराहरु परदेशिए । कान्छी छोरी साथै लिएर यो उमेरमा काठमाडौ छिरिन् ।

भोको पेटमा पढ्न सकिएन । पाँच कक्षा र सात कक्षा पढ्दै गर्दा धेरै केटीहरुलाई बाध्यताले यता डोर्यायो । दाङकी एलिना जिसीले कसो कसो एसएलसीसम्म पढिन् । त्यसैले उनले भारि बोक्ने काम गर्न पर्दैन । 

गाउँमा घाँसदाउरा गर्दा रेडियो उनीहरुको साथी थियो । यहाँ आएर उनीहरुले प्रिय रेडियोलाई बिर्सन सकेका छैनन् । 

साँझ निद्रा पर्दैन अनि उनीहरुको झ्याउली भित्रको आफ्नै रेडियो चालु हुन्छ । कलाकार बन्ने रहरलाई गाउँतिरै छाडेर आएकी जुनतारा छिनछिनमै थरिथरिको पात्रको रुपमा प्रस्तुत भइदिन्छिन् । 

भट्टाका थुप्रै जुनताराहरुको सपना अब काँचो माटो जस्तो थिएन । अभाव र बाध्यताका रापले रहरहरु ओइलाइसके ।

जेठ लागिसक्यो । अहिले त जुनताराहरु गाउँ फर्किसके होलान् । आगुँ दाङ र रोल्पाका आँगनमा खेलिरहेका अरु थुप्रै जुनताराहरु सपनाहरुलाई गाउँमै छाडेर नाइट बस चढेर आउलान् शायद । 

Netako Katha EP25

गत वर्षको फागुनमा हामी देउखुरीको यो गाउँ पुगेका थियौं । महादेवा गाउँको नाम फेरिएर गढवा नगरपालिका भएको थियो । अनि गाउँकी गीतगाउनेआइमाइ भनेर चिनिने निर्मला चौधरीको नयाँ चिनारी बनेको थियो । 


जिन्दगीका धेरै फागुन र साउनहरु खेतबारी र चुलो चौकोमै बिताएकी निर्मलालाई खोज्दै अघिल्लो फागुन मान्छेहरु उनको घरमै आइपुगे । 


Head Mistriko Katha EP23

जिन्दगीका असंख्य दुःख र पीडाहरुलाई जितेकी दाङ देउखुरीकी कमला चौधरीको संघर्ष, साहस र सफलताको कथा – हेड मिस्त्रीको कथा – हेर्ने कथा अंक २३

Babanpurka Gothalaharu EP13

बबनपुरका गोठालाहरु – बर्दियाको बाँसगढी नगरपालिकाको बबनपुर । यादब गाउँ । पुरै गाउँ शाकाहारी ।माछामासु खाने त परको कुरा गाउँमा हाँस कुखुरा र बाख्रा समेत कसैले पाल्दैनन् । सबैका गोठमा गाई भैंसी मात्र छन् । गाई भैंसी पाल्नु नै यो गाउँको पुर्ख्यौली पेशा हो ।

सानैदेखि बाउबाजेसँगै गाई भैंसीको पछि लागे । गाई भैंसीसँगै हुर्किए । उ बेला गाई भैसीको खान्की पुर्याउन गोठालाहरु जंगल जंगल चाहर्थे । सुन्दरले पनि बाउ बाजेको विँडो थामे ।  गाईवस्तुको गोठालो गर्दै जंगलमा सालका रुखमुन्तिर उनले थुप्रै रात काटेका छन् । 

नुहाई धुवाई र पुजापाठ सकेर खाना खाए पछि सुन्दर यादव गोठमा जान्छन् र दाम्लो फुकाल्छन् । अनि जंगल छिचोल्दै भैंसीहरु चराउन लैजान्छन् । सुन्दर यादबको वाल्यकालदेखि आजसम्मको दैनिकी यहि हो ।

यसअघि हेर्ने कथाको अंक १२ मा हामीले एक्लो कथा प्रसारण गरेका थियौं । एक्लो कथा यहाँ हेर्न सकिन्छ । हेर्ने कथाका सबै अंकहरु हेर्नको लागि हाम्रो युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस् । 

Story of Ward Number 22 EP10

Herne Katha Episode 10 – Story of Ward Number 22 – वडा नम्बर २२ को कथा  – गाउँ भनौं भने शहरको नक्सामा छ । शहर भनौं भने शहरका केही सामान्य विशेषता पनि छैनन् । नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर २२ मा पर्ने ‍‍किंघरियनपुर्वा गाउँको सेरोफेरोको कथा – वडा नम्बर २२ को कथा ।

यो गाउँमा मुसलमानहरु मात्र बस्छन् । मुसलमानमा पनि तल्लो जाति मानिने किँघरियनहरु । किँगरी भनिने बाजा बजाएर नाचगान गर्दै हिँड्ने भएकाले यो जातिलाई किँघरियन भनिएको रहेछ । आजकल तेस्ता परम्परागत बाजा लोप भइसके । तर नैना र केही महिलाहरुले नाचगान गर्ने पुर्ख्यौली पेशा अझै छाडेका छैनन् ।

Read more

A Dark Story EP09

Herne Katha Episode 09 – A Dark Story । हेर्ने कथा अंक ०९ – एउटा अँध्यारो कथा – कैलाली जिल्लास्थित पूर्वपश्चिम राजमार्ग छेवैको एउटा झुरुप्प बस्ति । बस्तिमा बस्छन् बादी समूदाय । नौला मान्छेसँग हत्तपत्त नखुल्ने यहाँ केही महिलाहरुले आफ्ना जीवनका अँध्यारा कथाहरु हामीलाई अँध्यारो कोठाभित्र सुनाए

Read more

The Story of Zubaida Khatun EP08

The wait is over. Herne Katha Episode 08 – Story of Zubeda Khatun is finally here.

हेर्ने कथाको आठौं अंकमा जुबेदा खातुनको कथा लिएर आएका छौं । यो कथा बर्दियाको बाँसगढीस्थित एउटा मुस्लिम परिवारको कथा हो । र कथाकी मुख्य पात्र हुन् जुबेदा खातुन ।

सात कक्षा पढ्दा पढ्दा उनकै बिहे भयो । चार छोरीको आमा भइसकेपछि उनलाई फेरि पढ्ने रहर जाग्यो । मुस्लिम समुदायमा यो असम्भव जस्तै थियो । तर जुबेदाको दृढताले सबै असम्भवलाई जित्यो । जुबेदा खातुनको संघर्ष र प्रेरणाको कथा । सँगसँगै बन्द समाजभित्र अपवाद जस्तै बनेको उनको परिवारका रमाइला पाटाहरु । हेर्ने कथा अंक ०८ जुबेदा खातूनको कथा ।

Read more

Ghodeko Katha EP07

Ghodeko Katha – Herne Katha Episode 07 ।  । घोडेको कथा । अंक ०७

दिनभरि गाउँगाउँ डुलेर अन्न खोज्ने दाङका घोडेहरुको १ दिनको कथा । घोडेको कथा । गाउँको नाउँ हो बनगाउँ । दाङको तुल्सीपुरनजिकै पर्छ । यही बस्छन् घुमलाल चौधरी । उनले एउटा घोडा पालेका छन् । बनगाउँका अरु ४० घरमा पनि घोडा छन् । यी घोडाका मालिकहरु सबेरै घोडा चढेर निस्कन्छन् । एक विहान घुमलाल चौधरी र उनका साथीहरुलाई हामीले पछ्यायौं ।

Read more

Batoko Katha EP05

Chandrabir Oli  – Story of 72 year old Chandrabir Oli from Dang in Western Nepal. Who for 2 years, alone carved a road through forest and mountain to his home, so that his blind family members could walk. Batoko Katha (Story of a Road) Episode 05 – Herne Katha

आँखा नदेख्ने परिवारलाई हिँडडुल गर्न सजिलो होस् भनेर जंगल र भीर छिचोल्दै २ वर्ष लगाएर एक्लै बाटो खन्ने दाङका चन्द्रबीर ओलीको कथा : बाटोको कथा । हेर्ने कथा अंक ०५ ।

चन्द्रवीर वलीको घर जंगलको माझैमा पर्छ । ११ जनाको परिवारमा ९ जनाले आखाँ देख्दैनन् । गाउँ शहर र उकाली ओराली गर्न भीरका बुट्यानहरुहरु समाउँदै हिँड्नु पर्ने । ७२ वर्षको उमेरमा चन्द्रवीरले एउटा अनौठो सपना देखे ।  सँधै दुःख दिने भीरहरु भत्काउँदै अाँगनसम्म पुग्ने एउटा बाटो खन्ने ।

विहान जुरुक्क उठ्यो । भातभान्छा तयार गर्यो । परिवारलाई खुवायो । सरसफाई गर्यो । अनि बाटो खन्न हिड्यो ।

पुषमाघको मुटु कमाउने जाडो कट्यो उनले बाटो खनिरहे । वैशाख जेठको  मध्य घाममा पसिना पुछिरहे र बाटो खनिरहे । असार साउनको झरिमा रुझिरहे र बाटो खनिरहे । चाडबाड आयो गयो । भोक तीर्खा र थकाइ बिर्सेर उनले बाटो खनि नै रहे । चन्द्रवीरले २ वर्ष लगातार एक्लै बाटो खने ।

उनी र कान्छा छोरा बाहेक परिवारका ९ जनाले आखाँ देख्दैनन् । जहान परिवारलाई परेको अप्ठेरो देखेर उनले बाटो खन्न थाले । ७२ वर्षको उमेरमा उनले जंगलको माझमा पर्ने आफ्नो घरसम्म पुग्ने बाटो बनाउन सुरु गरे ।चन्द्रवीरलाई बाटो खन्न दुई वर्ष लाग्यो । उनले दाङबाट सल्यान जाने बाटोको साततलेदेखि माथि खमारी गाउँसम्मको २ किमि जंगल र भीरपाखाको बाटो एक्लै छिचोले ।अहिले त्यहाँ डोजर लगाइएको छ । गाउँलेहरु यही बाटो आउजाउ गर्छन् । 

हेर्ने कथाका सबै अंकहरु हेर्न हाम्रो आधिकारिक युट्युब च्यानल https://youtube.com/hernekatha सब्सक्राइब गर्नुहोस् ।

तपाईंलाई यो कथा मन पर्यो भने जुबेदा खातुनको कथा पनि मन पर्न सक्छ ।

तपाईं हामीसँग फेसबुकमा पनि जोडिन सक्नुहुन्छ : https://facebook.com/hernekatha

Sunko Katha EP04

सुनको कथा । Sunko Katha । Story of Gold – हेर्ने कथाको चौथो अंकमा सुनको कथा । यो कथा बर्दियाको राजापुरस्थित कर्णाली नदीको किनारामा सुन खोज्ने मान्छेहरुको कथा हो ।

बर्दियाको राजापुर । कर्णाली नदीकै किनारामा एउटा चिटक्कको गाउँ छ । चैतको टन्टलापुर घाममा गाउँका आइमाइ केटाकेटीहरु टाउकामा केही सरसामान बोकेर नदीको बगरतिर लागे । अनि हामी उनीहरुको पछिपछि लाग्यौं । 

यो कथा बर्दियाको राजापुरमा कर्णाली नदीको किनारामा रहेको सोनाहा बस्तिको हो । सोनाहा समुदायका मानिसहरुको परम्परागत पेशा नदी किनाराबाट सुन निकाल्नु हो । तर सुन निकाल्न सजिलो चाहिँ छैन । चर्को घाममा दिनभरि मेहेनत गर्नुपर्छ । बगरबाट ढुङ्गा बालुवा बोक्नुपर्छ । त्यसलाई धोइपखाली गर्नुपर्छ ।

सुन निकाल्ने उनीहरुको आफ्नै परम्परागत सीप र प्रविधि छन् । प्राय सुन खोज्ने काम चाहिँ महिलाहरुले गर्छन् । केटाकेटीहरुले पनि सघाउँछन् । हामीले यो कथामा सोनाहा समुदायका महिलाहरुलाई विहानदेखि साँझसम्म पछ्याएका छौं । कसरी ढुङ्गा बालुवाबाट सुन निकाल्ने रहेछ त । थाहा पाउनको लागि यो रोचक कथा हेर्नुहोस् ।

यो हेर्ने कथाको चौथो अंक हो । यसअघि हेर्ने कथाको तेस्रो अंकमा हामीले घरको कथा प्रस्तुत गरेका थियौं । घरको कथा क्यानडाबाट ९ वर्षपछि आएर आफूले लामो समय बिताएको शिविरमा पुगेका भुटानी शरणार्थीहरुको मार्मिक कथा हो । घरको कथा हेर्नको लागि क्लिक गर्नुहोस्

हेर्ने कथाका सबै अंकहरु हेर्नको लागि हाम्रो युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस् । हेर्ने कथा युट्युबमा मात्र प्रसारण हुन्छ । हामी हरेक १५ दिनमा नयाँ कथा लिएर आउँछौं । युट्युब च्यानलमा जानको लागि क्लिक गर्नुहोस्

तपाईं हेर्ने कथासँग फेसबुक ट्वीटरइन्स्टाग्राममा पनि जोडिन सक्नुहुन्छ ।

Eauta School ko Katha EP01

Eauta School ko Katha – कपिलवस्तुको मायादेवी नगरपालिका-२, भै‌सकुण्डास्थित मुस्लिम केटीहरु मात्र पढ्ने उम्मे उम्मार कन्या क्याम्पसभित्र आजसम्म कोही पनि संचारकर्मीले प्रवेश पाएका थिएनन् । हामीले त्यो दूर्लभ मौका पायौं । हेर्ने कथाको यो अंक त्यही एउटा स्कुलको एक दिनको कथा हो ।

हेर्ने कथा आम मानिसको कथा हो । डकुमेन्ट्री, छोटा डकुमेन्ट्री, अन्तर्वार्तालगायत अन्य नौला र सिर्जनात्मक शैलीमा हामी फरक र रोचक कथाहरु भन्छौं ।

यो हेर्ने कथाको पहिलो अंक हो । हेर्ने कथाको दोस्रो अंकमा चौकिनीको कथा प्रसारण भएको थियो ।  हेर्ने कथाका सबै अंकहरु हेर्नको लागि हाम्रो युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्

एउटा स्कूलको कथा गर्दाका भोगाई र अनुभव समेटेर विद्या चापागाईले लेखेको ब्लग ‘एउटा स्कुलको कथाको कथा’ यहाँ पढ्न सकिन्छ ।