Bhedi Gothko Katha EP48

यो म्याग्दीको दोबा गाउँ हो ।  पुरानो मगर बस्ति । हिमाल हाँसिरहन्छ । अनि हिमाल जस्तै हाँसिरहन्छन् नेत्र दाइ । न्यानो माैसममा भेडा धपाउँदै हिमालको जरासम्म पुग्ने नेत्र दाइ जाडो लागेपछि उँधो झर्छन् । यसरी गोठाला भएर उँधौली उँभौली गर्न लागेको ३० वर्ष बितिसकेछ । 

अहिले जाडो बढेको छ  । नेत्र दाइले गाउँ छेउमै गोठ ल्याइपुर्याएका छन् । गाउँ छेउ भएर के गर्नु नेत्र दाइको बास उही भेडी गोठ । 

बा ब्रिटिस लाहुरे थिए रे । उतै बिते । आमा पनि बितिसकिन् । दाजुभाइ लाखापाखा लागे । नेत्रले पनि बिदेस जाने सपना नबुनेका होइनन् । तर जुरेन । बरु बिदेस गएका उनका छोरा भेडा चराउनै भनेर घर फर्किए ।  

आज नेत्र दाइको गोठमा एउटा पाठो जन्म्यो । उता जंगलमा हिजो हराएका भेडा पनि खोज्नुछ । पारिलो घामले डाँडाकाँडा चुमेपछि नेत्र दाइले गोठ खोलिदिए । हामी भेडाका बथानसँगै नेत्र दाइ र परिवारको पछि लाग्यौं । 

एकछिन जंगलमा खोजेपछि हिजो हराएको एउटा पाठो मरेको भेटियो । जन्मिने र मर्ने सिलसिला नेत्र दाइको गोठमा चलिरहन्छ । 

साँझ घर फर्किने बेलामा पानी पर्यो । यस्ता घाम पानी र इन्द्रेणीहरु कति भोगे कति नेत्र दाइले । भेडाहरु घर फर्किन थाले । गोठमै पाठा पाठी छाडेर आएका आमाहरु चाहिँ अलि हतारमा थिए । दिनभरि चरेर भेडाहरु टन्न अघाएका थिए । नेत्र दाइ चाहिँ भोकै । घर फर्किएपछि अँगनो छेउमा बसेर मकै खाँदै उनले भेडासँगकाे सुखदुख सुनाए । भोली फेरि उहि दिन दाेहोर्यउनु त छँदै छ ।

Marphako Katha EP47

मध्य हिउँदमा मार्फाका धेरैजसो घरहरुमा ताल्चा लाग्छन् । मान्छेहरु हिउँ र जाडो छल्न पोखरा, काठमाडौं झर्छन् । मुखिया र कटवालहरुले चाहिँ गाउँ छाड्न पाउँदैनन् । गाउँ सुनसान भए पनि सदियौंदेखि चलि आएको स्थानीय नियम कानुन र चलनले थकाई मार्न पाउँदैन । 

छानाभरि परेका हिउँ जथाभावि फालिदिँदा कुलो र बाटोको बाटो छेकिन्छ । मुखियाको उर्दी गाउँभरि हाँक हालेर सुनाउँदैछन् सोमबहादुर बागदास। 

उसो त गाउँका स्थायी बासिन्दा, सबैले मुखिया र कटुवालको काम आलोपालो गर्नुपर्छ । हिउँका चिसो सोरेर आउने ठिहिर्याउने बतासमा बस्न कसलाई पो बस्न मन लाग्छ र । केटाकेटीका स्कुल छुट्टी हुन्छन् । पर्यटक पनि घुम्न आउँदैनन् । होटल र पसलमा समेत ताल्चा लाग्छन् । न्यानोमा घर हुनेहरु तल झर्छन् । अनि आफ्नो जिम्माको कटुवाल काम तल झर्न नसक्नेहरुलाई पैसा दिएर जिम्मा लाउँछन् ।  

केही दिन अघि परेको  हिउँले ढाकेका स्याउबारी छिचोल्दै कटुवालको नियमित गस्ति सुरु हुन्छ । 

गाउँ घुमेको प्रमाणस्वरुप उनले चिचे अमिलको हाँगा भाच्छन् । गाउँको पुछारमा खोला छेउमा मात्र चिचे अमिलोको बोट छ । चिचे अमिलोको हाँगा लगेर मुखियाको ढोकामा सिउरिदिएपछि कटुवालले गाउँ घुम्ने काम फत्ते गरेको थाहा हुन्छ । 

भोलि झन् धेरै हिउँ पर्छ – रेडियोले भनेको छ । गाउँमै अल्मलिएका मान्छेहरु फटाफट बसको टिकट काटेर तल झर्दैछन् । बाटा घाटा र स्याउका बगैंचाहरु झन् एक्लिँदैछन् । हिउँद्का केही महिना हिमालपारिका यी गाउँहरु बेसी झर्छन् । जोड जोडले हिउँ परिरहन्छ, बतास चलिरहन्छ । तर गाउँ आँफैले धेरै वर्ष अघि बनाएको विधिको स्यानो शासन चलिरहन्छ मार्फा गाउँमा ।

Chaukini ko Katha EP02

Herne Katha Episode 02 – Chaukini ko Katha – हेर्ने कथाको दोस्रो अंक चौकिनीको कथा ।
असोज अन्तिम साता ढोरपाटनका बुकीहरु ओइलाउन थाल्छन् र मानिसहरु बेँसी झर्न थाल्छन् । मध्य हिउँदका केही महिना यहाँका बाटाघाटा, चौर चौतारी, खोला नाला, अनि वन जंगलहरु लगभग एक्ला हुन्छन् । घरहरुमा ताल्चा लाग्छन् । तर पुरै गाउँ रेखदेख गर्ने जिम्मा पाएका चौकिनीहरु भने गाउँमै भेटिन्छन् ।

Read more