यो म्याग्दीको दोबा गाउँ हो । पुरानो मगर बस्ति । हिमाल हाँसिरहन्छ । अनि हिमाल जस्तै हाँसिरहन्छन् नेत्र दाइ । न्यानो माैसममा भेडा धपाउँदै हिमालको जरासम्म पुग्ने नेत्र दाइ जाडो लागेपछि उँधो झर्छन् । यसरी गोठाला भएर उँधौली उँभौली गर्न लागेको ३० वर्ष बितिसकेछ ।
अहिले जाडो बढेको छ । नेत्र दाइले गाउँ छेउमै गोठ ल्याइपुर्याएका छन् । गाउँ छेउ भएर के गर्नु नेत्र दाइको बास उही भेडी गोठ ।
बा ब्रिटिस लाहुरे थिए रे । उतै बिते । आमा पनि बितिसकिन् । दाजुभाइ लाखापाखा लागे । नेत्रले पनि बिदेस जाने सपना नबुनेका होइनन् । तर जुरेन । बरु बिदेस गएका उनका छोरा भेडा चराउनै भनेर घर फर्किए ।
आज नेत्र दाइको गोठमा एउटा पाठो जन्म्यो । उता जंगलमा हिजो हराएका भेडा पनि खोज्नुछ । पारिलो घामले डाँडाकाँडा चुमेपछि नेत्र दाइले गोठ खोलिदिए । हामी भेडाका बथानसँगै नेत्र दाइ र परिवारको पछि लाग्यौं ।
एकछिन जंगलमा खोजेपछि हिजो हराएको एउटा पाठो मरेको भेटियो । जन्मिने र मर्ने सिलसिला नेत्र दाइको गोठमा चलिरहन्छ ।
साँझ घर फर्किने बेलामा पानी पर्यो । यस्ता घाम पानी र इन्द्रेणीहरु कति भोगे कति नेत्र दाइले । भेडाहरु घर फर्किन थाले । गोठमै पाठा पाठी छाडेर आएका आमाहरु चाहिँ अलि हतारमा थिए । दिनभरि चरेर भेडाहरु टन्न अघाएका थिए । नेत्र दाइ चाहिँ भोकै । घर फर्किएपछि अँगनो छेउमा बसेर मकै खाँदै उनले भेडासँगकाे सुखदुख सुनाए । भोली फेरि उहि दिन दाेहोर्यउनु त छँदै छ ।
१६ वर्षे उमेरको जिन्दगीका भोगाइ कति होलान् ? भर्खर वालवयबाट उँभो लागिरहेको यो उमेरले तय गरेको यात्रा सरल होला् कि बाङ्गाटिङ्गा ? दुःखको कथा होला कि सुखको कथा होला ?
सबिनासँग दुई वटा विकल्प थिए: आफ्नो जिन्दगीको कथा अरुलाई लेख्न दिने कि आफै लेख्ने । आँटिली सबिनाले दोस्रो बाटो रोजिन् । हेर्ने कथामा बलियो कथा सुरु भयो है ।
१६ वर्षे उमेरको जिन्दगीका भोगाइ कति होलान् ? भर्खर वालवयबाट उँभो लागिरहेको यो उमेरले तय गरेको यात्रा सरल होला्न कि बाङ्गाटिङ्गा होलान्? दुःखको कथा होला कि सुखको कथा होला ? आउनोस् १६ वर्षकी सबिना खातनुको कथा ४ वर्षअघिबाट सुरु गरौं जति खेर उनी १२ वर्षकी थिइन् ।
सबिनाको जिन्दगी, उमेर जस्तै हलुका थियो । किताब च्यापेर दाजु भाइसँगै स्कुल जानु । उखुबारी र आँप गाछीका बँगैचामा पुतली जस्तै पुतलीका पछि दगुर्नु । आमाले पकाइदिएको खानु । पढ्नु, लेख्नु रमाउनु ! आहा कस्तो रमाइलो ।
सबिनाका बा अचानक बिते । आमालाई व्यवहारले थिच्यो । छरछिमेक र समाजको धारणासँग कुस्ती खेल्ने बल आमासँग थिएन । जसरी सबिनाका सखीहरुको बिहे सानै उमेरमा हुन्थ्यो, त्यसरि नै सबिनाको पनि बिहे गरिदिने निधो भयो ।
पढाई छुट्यो । आमा छुटिन् । सपना छुटे । आँपगाछीका पुतलीहरु छुटे । बिहे गरेको भोलिपल्टैदेखि सबिनाको संसार अर्कै भयो । नरमाइलो संसार । चन्चल मन र जिज्ञासु वालापन घुम्टोभित्र बन्धक भयो । त्यसरि नै थुनिए सबिनाका पढ्ने चाहना र थुप्रै सपना ।
बिहे गरेर गएको घरमा बिस्तारै सुरु भयो अत्याचारको श्रृंखला । सक्ने जति सहिन् सबिनाले ।
६ कक्षासम्म पढ्न पाएको सबिनाको चेत त्यति कमजोर कहाँ थियो र? उनका मस्तिष्कमा बिस्तारै विद्रोह सल्बलाउन थाले । सबिनासँग दुई वटा विकल्प थिए: आफ्नो जिन्दगीको कथा अरुलाई लेख्न दिने कि आफै लेख्ने । आँटिली सबिनाले दोस्रो बाटो रोजिन् ।
कानुनले सबिनालाई न्याय दियो । सानैमा छोरीको बिहे गरिदिएर गल्ती भयो कि भन्ने आमालाई पहिल्यै लागिसकेको थियो । आमाले छोरीलाई सक्दो बल दिइन् ।
यो बिचमा आमा पनि गाउँकी नेता भइसकेकी थिइन् । मुस्लिम समाजमा बाहिर निस्केर परिवार र व्यवहार धान्ने महिला पाउन गाह्रो थियो । पार्टीहरु उनलाई खोज्दै आँगनमै आइपुगे ।
सबिनाले ७ कक्षामा पढाइ सुरु गरिसकिन् । जोश र जाँगर बोकेर स्कुल जान्छिन् । डाक्टर बन्ने सपना बोकेकी छिन् । पुरै जिन्दगी अगाडि छ ।
पछाडि बितेका जिन्दगी फर्केर हेर्न मन छैन । सबिनाले अरुले लेखिदिएको एउटा दुःखद कथा च्यातेर फालिसकिन् र आफैं लेख्न सुरु गरेकी छिन् आफ्नो कथा । विद्रोहबाट जन्मिएको बलियो कथा ।
बालखै छँदा त खासै रोकतोक हुँदैन थियो । बिहे बर्तुन र भोजमा दमाहा बजाउने बुबाको पछि लाग्दै हिँड्न कमला नेपालीलाई कम्ता रमाइलो लाग्दैन थियो ।
कमला ठूली हुँदै गएपछि पन्चे बाजाका तालहरुमा उनी रमाउन पाइनन् । केटी मान्छेले यी बाजा छुन समेत हुन्न भनिन्थ्यो ।
हिरा परियार बजारमा लुगा सिलाउँछिन् । उनका बाबुबाजे पनि लुगा सिलाउँथे ।मर्दा पर्दा विहे बटुल र पूजा अाजामा चै पन्चेबाजा बजाउथे ।
रुकुम सदरमुकाम खलङ्गा छेवैको दलित बस्तिका पुरुषहरुले बाउ बाजेको पालादेखि पन्चे बाजा बजाउने काम गर्दै आएका थिए । जन्तीदेखि मलामीसम्म पन्चे बाजा नभई हुँदैन थियो । बिस्तारै समय फेरियो । पन्चे बाजाको ठाउँमा आधुनिक ब्यान्ड बाजा र लाउड स्पीकर घन्किन थाल्यो । बाउ बाजेको बिँडो थाम्दै आएका नयाँ पुस्ता पनि कतार मलेसिया कै कमाईमा रमाउन थाले । हुँदा हुँदा यो गाउँमा पन्चे बाजा नै बज्न छाड्यो ।
एकदिन यहाँका छोरी चेलीहरुलाई लाग्यो – पुरुषहरुले छाडेर के भो त । हामी पो बजाउन सक्छौं कि ।
पुरुषहरुले सजिलै मान्ने कुरा थिएन । छुन पनि हुँदैन भन्दै आएको बाजा कसरि बजाउन सिकाइदिनु । तर गाउँभरिका महिलाहरु एक जुट भएर ढिपी गरेपछि कमला नेपालीका हजुरबुबाले पहिलो आँट गरे ।
यो आँट वल्लो घर पल्लो घर हुँदै गाउँभरि सल्कियो । छोरी नातिनीहरुले आफ्ना बा बाजेसँग बाजा सिकाइ मागे ।
तर उनीहरले आफ्नो धुन छोडेनन् । यसरी सुरु भयो यहाँका महिलाहरुको पन्चे बाजा समूह । अआफ्नो क्षमता र रुचि अनुसार हरेकले एकुन्टा बाजा समाए ।
साँझमा हिराको घर पुग्दा उनकी छोरी ईच्छा बा र काकासँग ट्याम्के सिक्दै थिईन् । घरधन्दा सकेर आमाले पनि बाजा समातिन् ।
पञ्चेबाजाको यो धुन आजकल रुकुमदेखि टाढा टाढासम्म पनि सुनिन थालेको छ । त्यसैले त हिजोआज उनीहरको समूहलाई ठाउँ ठाउँबाट निम्तो आइरहन्छ । भोलि पनि बजारमा एउटा कार्यक्रम छ । त्यसकै तयारीका लागि राति अबेरसम्म महिलाहरु अभ्यासमै भिडे ।
विहानै कमलाको आँगनमा सबैजना जम्मा भए ।
दिउँसोको कार्यक्रममा जानु अघि उनीहरूले फेरि गाउँ घन्किने गरी पन्चेबाजा बजाएर तयारी पुरा गरे ।
महिलाहरुको यो पन्चे बाजा टोलीले दिनभरि खलङ्गा बजार घन्कायो ।
धेरैजसोले आमाले माया गरी बोलाएको, चरा कराएको, हावा चलेको, रेडियो बजेको, सडकमा गाडीले हर्न बजाएको, कसैले गाली गरेको यी आवाजहरु सुन्न सकेनन् । आवाजको दुनियाँसँग उनीहरु बेखबर छन् ।
मिठो आवाज कस्तो हुन्छ, कर्कश आवाज कस्तो हुन्छ । मसिनो आवाज, ठूलो आवाज, मायालु आवाज, रुखो आवाज, सुनिरहुँ लाग्ने आवाज, सुन्नै मन नलाग्ने आवाज, वर्षौंपछि पनि सम्झनामा आइरहने आवाज – आवाजका अनगिन्ति विविधताहरु उनीहरुको कानको लागि केवल मौनता हो ।
आवाज कस्तो हुन्छ भन्ने थाहै नभएपछि त्यसलाई व्यक्त गर्न पनि सकिने कुरा भएन । हामीले आमा, मामा, दिदी, आलु, फूल, स्कुल भन्दा कस्तो ध्वनि निस्किन्छ त्यो पनि उनीहरुलाई कहिल्यै थाहा भएन । त्यसैले उनीहरु बोल्न पनि सक्दैनन् ।
सिराहाका यो बहिरा स्कुलमा ८० जनाजति पढ्छन् । धेरैजसो छात्रावासमा बस्छन् । कतिपय वरपरका गाउँबाट दिनहुँ आउने जाने गर्छन् ।
संजय दास यही स्कुलमा पढेका हुन् ।अहिले उनी यहि स्कुलमा पढाउँछन् । विहानदेखि बेलुकासम्म यहाँका नानीहरुसँग समय बिताउनु उनको दैनिकी हो ।
बर्दिबास माइतीमा बसेर स्कुल पढाउने सन्जयकी श्रीमती सुधा गौतम पनि कान सुन्दिनन् ।
महोत्तरी घर भएकी लक्ष्मी विक स्वयंसेवकको रुपमा १ वर्षअघि यहाँ आएकी थिइन् । उनले यो भेगमा बोलिने मैथली मात्र होइन साङ्केतिक भाषा समेत मज्जाले सिकिसकिन् । हामीलाई उनले दोभाषे बनेर सघाइन् ।
अरु स्कुलमा जस्तो केटाकेटी कराएको, होहल्ला गरेको, गफ गरेको, साथीलाई बोलाएको – यहाँ सुनिदैन । उनीहरु सबैजना मनले सुन्छन् र मनको कुरालाई संकेतमा उतारेर संवाद गर्छन् ।
अरु स्कुल जस्तै विहानी सत्र, परेड, व्ययाम र राष्ट्रिय गानबाट दिनको सुरुवात हुन्छ । विद्यार्थीहरु सांकेतिक भाषामै राष्ट्रिय गान गाउँछन् ।
बोल्न र सुन्न नसक्ने भए पनि यहाँका हरेका वालवालिका अरुजस्तै छन् । सबैका अआफ्ना स्वाभाव छन् । कोही धेरै चकचक गर्छन् । कोही शान्त बस्छन् । कोही हसिमजाक गर्छन् । कोही सुन्दर चित्र बनाउँछन् । कोही गणितमा अब्बल छन् । कोही नेपालीका कथा कविता रुचाउँछन् । अनि हरेकका तेजिला मस्तिष्कमा धेरै सपनाहरु छन् ।
बोलेर सिकाउन नसकिने भएकाले वालवालिकालाई मोबाइल र प्रोजेक्टरमा थरिथरिका चित्र र भिडियो देखाएर सिकाउने गरिन्छ । नानीहरु पनि यसमै रमाइलो मान्छन् ।
केही समयअघि विद्यालयका सबै शिछक भेला भएर युट्युबमा गजेन्द्र सरको कथा हेरेका रहेछन् ।
स्कुलमा नौला मान्छे आएको देख्दा सबैजना रमाए । कोही नाच्न थाले । कोही खेल्न थाले । कसैले नाटक देखाए । कसैले चित्र बनाए ।
आफ्ना माया गर्ने परिवारसँग टाढिएर छात्रावासमा बस्ने नानीहरु कहिले काहिँ भिडियो कलबाट आमाको न्यास्रो मेटाउँछन् ।
बर्दिबास माइतीमा बसेर स्कुल पढाउने सन्जयकी श्रीमती सुधा गौतम पनि कान सुन्दिनन् । सन्जय मोबाइलमा भिडियो कल गरेर श्रीमती र छोरीसँग साङ्केतिक भाषामै माया साट्छन् ।
आज संजयकी श्रीमती र छोरी उनलाई भेट्न आउँदैछन् । उनीहरु माडर नजिकै गाउँको घर पुगे ।
झन्डै २५ वर्ष पहिले सिराहाका गङ्गराम यादव मज्जाले कान सुन्थे । तर बिस्तारै उनको सुन्ने क्षमता हराउँदै गयो । एकदिन त उनले ठ्याक्कै सुन्न छाडे ।
जवान हुँदाबखतसम्म कान सुन्ने भएकाले त्यतिबेलासम्म सुनेका ध्वनिहरु गङ्गराम उच्चारण गर्न सक्छन् । तर गङ्गाराम आफ्नो मुखबाट निस्केका आवाज आफैं सुन्न सक्दैनन् । उनको लागि उनी मुख मात्रै चलाइरहेका हुन्छन् ।
कान सुन्न छाडेपछि आत्तिएका गङ्गाराम छरछिमेकको व्यवहारबाट झन् दुःखी भएका थिए । तर गङ्गरामले दुःखलाई जिते ।
गीत संगीतमा रुचि राख्ने गङ्गारामले गितका छन्दहरु पनि बिर्सिन थाले । अझै पनि गाउँ गाउँ लाग्छ तर लय भर्न सक्दैनन् ।
उनले बहिरा स्कुल खोलेपछि धेरै जनाले यहाँ पढ्न पाएका छन् । बहिराहरुलाई घर परिवार र समाजले गर्ने नमिठो व्यवहार पनि बदलिँदैछ ।
उनीहरु घुमन्ते जीवन बिताउँछन् । वस्तुभाउको अाहारविहार र खान्की अनुसार जिन्दगीकाे रुटिन पनि फेरिन्छ । जता जता तिनले डोर्याउँछन् यिनको यात्रा त्यतै सोझिन्छ ।
रौतहटको चन्द्रनिगाहपुर महिला फूटवलमा नाम चलेको ठाउँ रहेछ । यहाँका चेलीहरु कसरी फूटवलमा पोख्त भए भनेर बुझ्न हामी त्यही पुगेका थियौं । एकाविहानै जंगल छेउको चौरमा धमाधम अभ्यास हुँदै थियौं ।
पहिले शेरबहादुर दर्लामी केटीहरुले पनि फूटबल खेल्नु पर्छ भनेर घर घर पुग्थे । त्यो बेला छोरीहरुलाई हाफ प्यान्ट र टिसर्ट लगाएर खेल्न पठाउन आमा बा ले सजिलै मान्ने कुरा थिएन । शेरबहादुर साइकल ठेल्दै गाउँठाउँ पुग्थे र खेलाडी बटुल्थे ।
बिस्तारै फूटबलमा केटीहरु बलिया बन्दै गए । चुलो चौको र घाँस दाउरा गर्ने दिदीहरु खेलाडी भएर चरा जस्तै देश विदेश घुमेको देख्दा बहिनीहरु लोभिन्थे । यसरि नै फूटबलले तानेको थियो सपना राईलाई ।
शेरबहादुर दिनरात खटिँदै थिए । चपुरका चेलीहरुको नाम चल्दैथियो । शेरबहादुरले देखेका सपना अझै फराकिला हुँदै थिए । विभागीय टोलीहरु सशस्त्र सेना र प्रहरीलाई चपुरले हराउन पाएको थिएन । उनीहरुलाई एक पटक जित्ने सपना देख्दा देख्दै शेरबहादुरले संसार छाडे ।
शेरबहादुरका छोरा चित्र कुमारले बाबुको सपना नजिकबाट देखे बुझेका थिए । उनले अठोट गरे चेलीहरुलाई म सिकाउँछु । उनीसँगै नुरराज काफ्लेले पनि सपना देखे । १३ दिनसम्म शोकमा मैदान खालि भयो । त्यसको दुई दिन पछि चपुरमा फेरि सुरु भयो फूटबल सपना ।
चित्र कुमार र नुर राजको पहिलो जिम्मेवारी गुरुले देखेको सपना पुरा गर्नु थियो । गुरु बितेको दुई वर्ष नपुग्दै उनीहरुले तयार पारेको चेलीका टोलीले सेना र प्रहरीको टोलीलाई हराइदियो । गुरुको सपना मुस्कुरायो । सशस्त्रलाई जित्ने मौका अझै आइसकेको छैन ।
भोलि यो टोली काठमाडौं जाँदैछ । उपमेयर कप फूटबल खेल्न ।
यहाँ फुटबल खेलेर गाउँ ठाउँको नाम रोशन गर्ने धेरजसौका परिवार माटो मजदुरी गर्ने रहेछन् । सपना राईका बुबा बजारमा ठेला चलाउने र भारी बोक्ने काम गर्छन् ।
सबिना चौधरी पनि असाध्यै राम्रो खेलाडीमा दरिन्छिन् ।हामी सबिनाको घर पुग्दा उनकी आमा घरमा थिइनन् ।
दाउरा बेच्ने र गिट्टी कुट्ने उनकी आमाले सक्दो बल दिएकी छिन् छोरीलाई ।
सबिना कुनै दिन बुबाको औंला समातेर पहिलो पटक यो मैदानमा छिरेकी थिइन् । फूटबल सिक्न ।
शेरबहादुर गुरु बितेकै ताका बुबा बिते । काठ बोक्ने मजदुरी गर्दा काठकै भारिले थिचिएर ।
सबिनाकी आमालाई व्यवहारले थिच्यो । केही महिना विदेशिइन् । छोराछोरीको मायाले तान्यो । फर्केर आइन् । घर बन्धकीमा छ । तर उनले बितेका श्रीमान् र छोरी सबिनाको सपनालाई बन्धकीमा राखेकी छैनन् ।
आज सबिनाकी आमा दाउरा खोज्न जंगल जाँदैछिन् । सबिना पनि कहिले काहिँ आमालाई सघाउन जान्छिन् ।
राति सबिना र सपनाले झोला कसे । भोलि विहानै घर छाडेर काठमाडौं जानुछ । ७६ वर्षको उमेरमा नदेखेको संसार २० वर्षकी नातिनीले देख्दा सपनाका हजुरबुबा गर्वले धपक्कै हुन्छन् ।
आज काठमाडौं हिँड्ने दिन । विहानीपख सपना बारीमा मकै भाँच्दै थिइन् ।
घरबाट सबै चेलीहरु विदावारी भए । सपनाका हजुरबुबाले बाटो खर्च थमाइदिए ।
रमाना हुनुअघि सबैजना मैदानमा पुगेर स्वर्गिय गुरुको तस्बिरमा फूल चढाए । चपुरका चेलीहरुलाई दुइवटा टाटा सुमो पर्खिरहेको थियो । उनीहरु उपमेयर कप फूटबल खेल्न काठमाडौंतिर लागे ।
सबिनाकी आमा सोच्दैछिन्: घरको ऋण चुक्ता गर्न जोर्डनतिर जानु पर्ला ।
संगीतजस्तै, जिन्दगी आरोह अवरोहको धुन रहेछ । कहिले उज्यालो कहिले अँध्यारो आकाशको जुन रहेछ । जिन्दगीका कतिपय लयहरु यसै यसै विलय भएपछि संगीतलाई साथी बनाएका जीवन्त जिन्दगीहरु इटहरीमा भेटिए ।
#HerneKatha #SangeetkoKatha
Stories of three different lives from Eastern Nepal who have befriended music. We met them at a music school run by Sunita Katwal in Itahari. Story of Music – Herne Katha Episode 37
========================
💁♂️💁♂️💁♂️ Support Us 💁♂️💁♂️💁♂️
Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support production cost of Herne Katha.
🙏 Support us on Patreon: https://bit.ly/2BrQzlQ
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on YouTube.
🚀🚀🚀 Production Team for This Episode 🚀🚀🚀
🎥 Cinematographer – Jeevan Rijal (https://www.facebook.com/jeevan.rijal.58)
👩 Presenter – Bidhya Chapagain (https://twitter.com/cbidhya)
🎬 Director – Kamal Kumar (https://twitter.com/qamalqumar)
🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
Please contribute English (or any other language) subtitles to our video: http://bit.ly/hernekathasubs
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email.
📺📺📺 For Broadcasters 📺📺📺
If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people’s stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
एकादेशमा धनुषा जिल्लाको झिँझा भन्ने गाउँमा डाँकाहरु बस्ने गर्थे । माधव पासवान र राजलाल पासवानहरु उ बेलाका कुख्यात डाँकु थिए । उनीहरु टाढा टाढासम्म डकैती गर्न जान्थे र परिवार पाल्थे । झिँझाका अधिकांशको पुर्ख्यौली पेशा नै डकैती थियो । बाबु बाजेले गरेको पेशा माधव र राजलालहरुले सिकेका थिए ।
३५ सालतिर धनुषाका डाँकुहरुलाई सर्लाहीको लालबन्दी नजिकै जंगल फाँडेर पुनर्वास गराइने भयो । सिमावर्ती विहारमा पनि यस्तै डाँकुहरुलाई त्यहाँको सरकारले सामान्य जीवनमा फर्काउन थालेको थियो । अनि पन्चायतकालमा सशस्त्र विद्रोह सुरु गरेका काँग्रेसलाई तह लाउन यी डाँकुहरुलाई प्रयोग गरिएको पनि सुनियो । त्यसैको बदला डाँकुहरुलाई सरकारले नै घरबास जोडेर नयाँ ठाउँमा राखिदिने भयो रे ।
हातहतियार बोकेर लुटपाट गर्दै हिँड्ने जमातलाई अचानक सामान्य जीवनमा फर्काउनु सामान्य कुरो थिएन । सबैभन्दा पहिले डाँकुहरुलाई हातहतियार र गोली गठ्ठा बुझाउन लगाइयो । पुराना डाँकुहरु उबेला सलेन्डर गरेको सम्झन्छन् । पुनर्वास कम्पनीले जंगल फाँड्यो । धनुषाको झिँझादेखि डाँकाहरु सपरिवार लावालस्कर लागेर आए । सरकारले १८ महिनासम्म रासन पानी र भत्ता दिए र क्याम्पमै राख्यो । स्कुल र स्वास्थ्य चौकीहरु खोलिए ।
३५ सालमै डाँकुहरुको उपचार गर्न खोलिएको स्वास्थ्य चौकीमा खटिएका थिए स्वास्थ्यकर्मी मोहन सिँह ।
डाँकाहरुलाई आफ्नो थलोमा ल्याएर राखेकोमा वरपरका गाउँले त्रसित भए । अनि सुरु भयो मित लगाउने चलन । डाँकाहरुसँग दोस्ती गर्न वरपरका गाउँले आएर भकाभक मित लगाउन थाले ।
डाँकुहरु बिस्तारै खेतीपातीमा रमाउन थाले । जिन्दगीमा थुप्रै डाँका डालेका अठ्तीसलाल पासवान आजकल घर वरपरको ताडको रुख चढ्छन् । ताडीका थोपा थोपा संचय गर्छन् र बेच्छन् । उनलाई मिहेनतको फल मिठो लाग्न थालेको बर्षौं भइसक्यो ।
श्रीमाधव पासवानलाई पनि पछाडि फर्केर हेर्न मन लाग्दैन । पछुतोले उनका आँखा भरिन्छन् । आजकल त उनी धर्मकर्म र अध्यात्ममा पनि रमाउन थालेका छन् ।
पुनर्वास गाउँका नयाँ पुस्तालाई त आफ्नै बाबु बाजेले गरेका कामहरु कथा जस्तै लाग्छ । बाबु बाजेले गरेका कामकै कारण विद्यालय र छरछिमेका उनीहरुले थुप्रै वचन र अपमान खाएका छन् ।
गाउँका युवाहरु कोही पढ्छन् कोही जागिर खान्छन् । धेरै चाहिँ विदेश जान्छन् । पहिले पहिले बाउ बाजेहरु समूह बाँधेर डकैती गर्न जान्थे । आजकल उनीहरु समूह बाँधेर विदेश जान्छन् ।
सगरमाथाबाट हाम्फालेर बंगालको खाडीमा पुग्ने लाक्पा शेर्पा, लाहुरे बन्न नसकेपछि घर फर्किन पनि नसकेका गोर्खाका जुद्ध गुरुङ र पोखरा पश्चिमको हर्पन डाँडा जस्तै उकाली ओराली खेपेका दीपक पौडेल । यी तिनै जनाको भेट विशाल आकाशमा भएको थियो ।
लाक्पा कहिले हिमाल चढ्न हिँडिदिन्थे कहिल हावामा कावा खान । आकाश र हिमाललाई मोबाइलको टावरले के भेट्टाउँथ्यो र? बेखबर लाक्पाकी पत्नी गुम्बामा गएर बत्ती बाल्थिन् र श्रीमान्लाई हावाले नउडाओस् र हिमालले नखाओस् भनी कामना गर्थिन् ।
लाक्पा अहिले फेवातालको सिरानतिर एउटा टहरा बनाएर बस्छन् । बस्तु पाल्छन् । दुध खान्छन् । सोलुमै किवी खेतीमा रमाउने लाक्पा पत्नी श्रीमान्को न्यास्रो मेट्न कहिले काहिँ आउँछिन् । श्रीमान्ले उडाउने इन्जिन विनाको जहाजमा उड्छिन् र रमाउँछिन् ।
दीपक पौडेल । लाक्पाका छिमेकी । सुःख दुःखका साथी । यही दोस्तीकै कारण लाक्पा पनि दीपककै छेउछाउ बसाइ सरेका हुन् । सोलुदेखि । दीपक पनि सराङ्कोटको डाँडाबाट हावामा उडान भर्र्छन् ।
उनी चाहिँ गोर्खाका जुद्ध गुरुङ । लाहुरे बन्न घरबाट हिँडेका जुद्ध पनि प्याराग्लाइडिङमै रमाएका छन् । आफ्ना ससाना बहिनीहरुलाई बिहे गरी पठाइदेलान् भन्ने डरले जुद्धले गाउँबाट पोखरा झिकाए । पढाए । उनका दुई बहिनी पनि प्याराग्लाइडिङ नै गर्छन् । दुर्गा जेठी । कान्छी भर्खर १३ वर्षकी। प्याराग्लाइडिङको लाइसेन्स जाँच दिन स्याङ्जाका डाँडाकाँडातिर गएकी थिइन् ।
दीपक आजको उडान भर्नुअघि बिरामी आमालाई भेट्न अस्पताल जाँदैछन् ।
साँझ सबैजना जुद्ध गुरुङको डेरामा भेला भए । मनाङमा स्कुल पढाउने उनकी श्रिमती छुट्टीको मौकामा पोखरा झरेकी छिन् ।
भोलिपल्ट दीपक गाउँमा आमा एक्लै बस्ने गरेको पुरानो घर जान्छन् । बिरामी आमालाई पोखरामा आफूसँगै ल्याएर राख्न खोजेका छन् दीपकले । आमाको मन मानिसकेको छैन । दीपकले हार खाएका छैनन् । यसपालि चाहिँ अस्पतालबाट फिर्ता ल्याएर आफुसँगै राख्ने अडान लिएका छन् ।
माया हराउँदै गएको शहरमा मायाको कथा भेटियो । ललितपुर कुपन्डोलको गल्लीमा एउटा गाडी वर्कशप भित्र । यही वर्कशपमा राम दाइ र उनको ठूलो परिवार बस्छन् । परिवारमा मान्छे ४ जना । कुकुरहरु चाँही १७ जना।
विहान उनीहरुसँगै कुकुरहरु उठ्छन् । राम दाइ वर्कसपको एउटा थोत्रो जिपको धुलो झार्छन् । मासु किन्न जाने तयारी हुँदैछ ।
आज भनेजति मासु पाइएन । उनीहरुको बाटो हेरिरहेका कुकुरहरुले बिस्कुटमा चित्त बुझाउनु पर्ने भयो ।
लाग्छ उनीहरु यी कुकुरहरुकै लागि बाँचेका छन् र उनीहरुकै कारण यी कुकुर बाँचेका छन् । जिन्दगीमा अरु ठूला लक्ष र आकांक्षा छैनन् ।
मायामा हिसाबकिताब हुँदैन । त्यसैले होला केटाकेटी जस्ता यी अबोध कुकुरहरु सामान नोक्सान गरिरहन्छन् । उनीहर हर्जाना तिरिरहन्छन् ।
सानैमा परिवारसँग बिछोडिएर अर्काको घरमा काम गर्न बसेका राम दाईले अनेक हण्डर खाए । नियतिले उनलाई वर्षौंसम्म भारतका गल्लीहरुमा डोर्याउँदै यसै थलोमा फिर्ता बोलायो ।
उनीहरुको दैनिकी कुकुरकै सेरोफेरोमा घुम्छ । घर बाहिर रात समेत बिताउन गएका छैनन् उनीहरु, कुकुरकै मायाले ।
मायाको यो शृंखलामा एकदिन अक्सा जोडिन आइपुगेको थियो । जतिखेर सानी रायनाले सानै अक्सा पाएकी थिइन् ।
उनीहरुका जिन्दगीका अधिकांश सम्झनाहरु कुकुरसँगै जोडिएका छन् । हरेक कुकुरका नाम छन् । हरेकका कथा छन् ।
भूइँचालोले भत्केको घर बनाउन सकेका छैनन् । वर्कशपको कमाइजति सबै कुकुरमै खर्च हुन्छ ।
यी कुकुरहरु मात्र कहाँ हुन् र विराला अनि आकाशमा उड्ने परेवा र कागहरुसँग पनि माया गाँसिएको छ । बाबु नामको काग बेला बेला आएर राम दाइलाई बोलाउँछ । राम दाइले आफ्नै हातले खुवाउँछन् । अनि बाबु उडी जान्छ । सन्तोषको मुस्कानले राम दाइको अनुहार उज्यालो हुन्छ ।
अक्साको जिन्दगी अचानक सकिएको थियो । तर उसले सिकाएको मायाको कथा भने कहिल्यै सकिएन ।
हेर्ने कथाको अंक ३० मा हामीले यसअघि झ्याउलीका जुनतारा देखाएका थियौं । हेर्ने कथाका सबै अंकहरु हेर्नको लागि हाम्रो युट्युब च्यानल सब्स्क्राइब गर्नुहोला ।
राजनीतिक परिवर्तनको उर्बर भूमिमा उनीहरु जन्मिए । दाङ र रोल्पामा खान लाउन पुगेन । काठमाडौं छेउका उर्बर भूमिमा खुलेका इँटाभट्टाले उनीहरुलाई बोलायो । उनीहरु गाउँलाई छाडेर आए । रहरलाई छाडेर आए । परिवारलाई छाडेर आए ।
किर्तिपुरपारि फाँटको इँटाभट्टा एकाविहानै जाग्छ । सँगै जाग्छन् यहाँका मिनी रोल्पा र दाङहरु ।
हरेकका अनेक कथा छन्। अनगिन्ति व्यथा छन्।सपनाहरु त गाउँतिरै छोडेर आइसके। केवल हातमुख जोर्ने बाध्यता छ । कमजोर शरिर अनि कमसल खान्की । तर भारी बोक्ने प्रतिस्पर्धा छ । एक एक इँट्टा बोकेको हिसाब सप्ताहन्तमा पाइन्छ । हजार बोक्दा ३ सय कमाइन्छ ।
११ बजेदेखि २ बजेसम्म खाना पकाएर खाने छुट्टी हुन्छ । जुनताराकी फुपु र भाउजु पनि झ्याउली आइपुग्छन् ।
यति नै बेला झ्याउलीमा सबैजना भेटिन्छन् । सबैको अआफ्नै धुन हुन्छ । कोही पकाउन थाल्छन् । कोही हिजोको भाँडा माझ्न । कोही भोक बिर्सेर थकाई मार्छन् ।
मनहरु पनि पाकेको इँटाजस्तै भइसके । अब दुख्न बाँकि ठाउँ नै छैन । १९ वर्षकी विपना परियारले पिठ्युमा बोकेकी छोरीलाई सन्चो थिएन । केही महिनाअघि विपनाको ६ महिनाको छोरो बितेको थियो ।
दुई जिउकी गीता नेपाली विहानैदेखि इँटा बोकिरहेकी थिइन् । उनी झ्याउलीमा आएर सिन्कीको झोल उमाल्ने तरखरमा छिन् । विहानदेखि मध्यान्नसम्म भारि बोकेकी गर्भवतीको खान्की देख्दा सिन्की जस्तै मन अमिलो भयो ।
कामदारका वालवच्चा हेर्नको लागि भट्टा साहुले एउटा टहरामा हेरालु राखिदिएका छन् । यही टहरालाई यहाँ स्कूल भन्छन् । धेरै केटाकेटीहरु स्कुलमा भन्दा धुलो माटो मै रमाउँछन् ।
कपाल फुलिसके । दाँत झरिसके । रोल्पाको आँगनमा यी आमा पनि अटाउन सकिनन् । बुढा बिते, छोराहरु परदेशिए । कान्छी छोरी साथै लिएर यो उमेरमा काठमाडौ छिरिन् ।
भोको पेटमा पढ्न सकिएन । पाँच कक्षा र सात कक्षा पढ्दै गर्दा धेरै केटीहरुलाई बाध्यताले यता डोर्यायो । दाङकी एलिना जिसीले कसो कसो एसएलसीसम्म पढिन् । त्यसैले उनले भारि बोक्ने काम गर्न पर्दैन ।
गाउँमा घाँसदाउरा गर्दा रेडियो उनीहरुको साथी थियो । यहाँ आएर उनीहरुले प्रिय रेडियोलाई बिर्सन सकेका छैनन् ।
साँझ निद्रा पर्दैन अनि उनीहरुको झ्याउली भित्रको आफ्नै रेडियो चालु हुन्छ । कलाकार बन्ने रहरलाई गाउँतिरै छाडेर आएकी जुनतारा छिनछिनमै थरिथरिको पात्रको रुपमा प्रस्तुत भइदिन्छिन् ।
भट्टाका थुप्रै जुनताराहरुको सपना अब काँचो माटो जस्तो थिएन । अभाव र बाध्यताका रापले रहरहरु ओइलाइसके ।
जेठ लागिसक्यो । अहिले त जुनताराहरु गाउँ फर्किसके होलान् । आगुँ दाङ र रोल्पाका आँगनमा खेलिरहेका अरु थुप्रै जुनताराहरु सपनाहरुलाई गाउँमै छाडेर नाइट बस चढेर आउलान् शायद ।
आज हेर्ने कथामा दुइटा कथा देखाउदैछौ । फरक फरक जीवन र परिवेश बाँचिरहेका दुई जना नेपाली महिलाको कथा ।
एक – गीत मेरो साथी
पहिलो कथा झुप्री कुमारी भण्डारीको ।
गएको असोजमा हामी अछामतिर थियौं । ठूलासेन नजिकै तारेखा गाउँको एउटा झुप्रोमा हामीले झुप्रीलाई भेट्यौ । झुप्री उदास थिइन् । जिन्दगीसँग विरक्तिएकी ।
झुप्रीलाई आफ्नो जीवन अध्यारो लाग्थ्यो । आफू वरपरको संसार पनि अँध्यारै लाग्थ्यो । तर पनि झुप्री मलाई विशेष र प्रिय लाग्यो ।
दुई – हात्ती मेरो साथी
हिमानी थारुको कथा कम्प्युटरमै बसेको १ वर्ष भइसकेछ । उनलाई हामीले बर्दिया निकुन्जको बबई भ्यालीमा भेटेका थियौं ।
उनी काम गर्ने गोठी चेकपोष्ट एकलास जंगलमाझ थियो । त्यहाँ काम गर्ने ११ जनामध्ये उनी एकजना मात्रै केटी । अनि उनको काम चाहिँ अजंगको हात्ती सम्हाल्नु । मलाई त्यतिबेलै लागेको थियो घना जंगलभित्र मान्छेको चहलपहलबाट निकै टाढा यसरी काम गर्न ठूलै आँट चाहिन्छ ।
बाटोमा जंगली हात्तीले लछारेका रुखहरु थिए । हामी साथै गएका निकुञ्जका गाइडहरु बाघ र गैडासँगका जम्काभेटका किस्साहरु सुनाउँथे । पूर्व पश्चिम राजमार्ग छोडेर गाडीमै तीन घन्टाको बाटो जंगलै जंगल छिचोलेर गोठी चेकपोष्ट पुग्दा हामी आफै आत्तिएका थियौ ।
त्यहाँबाट अझै टाढाको चेकपोष्टमा रासनपानी पुर्याउन हात्ती मात्रै विकल्प रहेछ। हिमानी त्यही यात्राको तयारी गर्दैथिइन् ।
हिमानी माउते भएको अहिले ७ वर्ष भयो । दिपेन्द्र कली उनले सम्हाल्ने हात्तीको नाम । रहँदा बस्दा उनी हात्तीको भाषा बुझ्ने भैसकिन् । यो पोष्टमा पनि उनीहरु सँगै आएका । दुई दिनको बाटो लगाएर हिडेरै ।
हेर्ने कथाको अंक २६ मा यसअघि जोगीको कथा देखाएका थियौं । हेर्ने कथाका सबै अंकहरु हेर्नको लागि हाम्रो युट्युब च्यानल सब्स्क्राइब गर्नुहोला ।
तपाईं हेर्ने कथा कार्यक्रम उत्पादन गर्नको लागि आर्थिक सहयोग पनि गर्न सक्नुहुन्छ ।
गत वर्षको फागुनमा हामी देउखुरीको यो गाउँ पुगेका थियौं । महादेवा गाउँको नाम फेरिएर गढवा नगरपालिका भएको थियो । अनि गाउँकी गीतगाउनेआइमाइ भनेर चिनिने निर्मला चौधरीको नयाँ चिनारी बनेको थियो ।
जिन्दगीका धेरै फागुन र साउनहरु खेतबारी र चुलो चौकोमै बिताएकी निर्मलालाई खोज्दै अघिल्लो फागुन मान्छेहरु उनको घरमै आइपुगे ।
स्टोर रुम भित्रको ओछ्यानछेउमा विहानै मोबाइलको अलार्म बज्छ । उनी आँखा मिच्दै उठ्छन् र हतार हतार गृहकार्य सक्छन् । राति सँधै अबेर भइसकेको हुन्छ । थाकेको ज्यानले ओछ्यान रोज्छ ।
मूल ढोकाका साँचो लिएका मानिस मस्त निद्रामा हुन्छन् । उनलाई उठाउन मन लाग्दैन । झ्यालबाट निस्किन्छन् र क्याम्पस जान्छन् ।
१० बजे क्याम्पस छुट्टी हुन्छ । सिधै होटल जान्छन् । भान्छा छेउमा झोला थन्क्याउँछन् र पाहुनाहरुलाई खाना खुवाउँछन् ।
पढाईमा तीक्ष्ण छन् । पैसामा कमजोर । क्याम्पसको खर्च जुटाउन होटलमा काम थालेकाे ३ महिना भयाे।
खानापछि उनको अर्को दैनिक सुरु हुन्छ । होटलका कोठाहरु बढारकुडार गर्ने, ओछ्यान मिलाउने र ट्वाइलेट बाथरुम सफा गर्ने ।
काम बाट एकछिन फुर्सद निकालेर उनले आफ्नी आमासँग हामीलाई भेटाउने भए । बजार छेउको दलितबस्तिको एक कोठे घरमा आमा एक्लै बस्छिन् ।
बिनोदको संघर्षमय वाल्यकाल यही सेरोफेरोमा हुर्कियो । बिनोद सानै हुँदा बाबु मलेसिया हिँडे ।
आमालाई घरधन्दा सघाउँदै हुर्केका विनोदले आफ्नो पहिचानसँग जोडिएका केही नमिठा अनुभव पनि साटे ।
बेलुका होटलमा विनोदको उही भ्याइ नभ्याइको दैनिकी ।
चितवनबाट डाक्टरी पढ्ने विद्यार्थीहरु दुई महिनाको लागि उनी काम गर्ने होटलको पाहुना बनेका छन् । उनको मिलनसार स्वभावले धेरै आफ्ना भइसकेका छन् । आज बेली उनीहरुलाई बेली डान्स देखाउँदै छन् ।
बालखैमा आमा बासँग विछोड हुन्छ । गजेन्द्र राना मगर अनाथाश्रममा हुर्किन्छन् । एक से एक राम्रा स्कुल पढ्ने मौका पाउँछन् । विकास अध्ययनमा डिग्री गर्छन् । सँगैका साथी युरोप अमेरिका लाग्छन् । काेही एनजिओमा जागिर खान्छन् । गजेन्द्र चाहिँ गाउँ फर्किन्छन् र एउटा सानो स्कुलको मुहार फेर्छन् :
सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित जहरे भन्ने ठाउँबाट भेरी नदीको झोलुङ्गे पुल तरेपछि गुमी पुगिन्छ ।
गुमीको ढोेडेनीमा जनसंयुक्त प्रावि छ । विद्यार्थी नअाएर अर्को स्कुलसँग गाभिने सँघारमा रहेको जनसंयुक्तमा एक दिन गजेन्द्र सर आइपुगे ।
यही गाउँछेउमा जन्मेका गजेन्द्र सानोमै आमा बुबासँग विछोडिए । गजेन्द्रलाई गाउँलेले एउटी बहिनीसँगै अनाथश्राम पुर्याइदिए ।
आफ्ना आमा बुबाको अनुहार समेत सम्झनामा छैन गजेन्द्र सरलाई । आफू जन्मेको गाउँ पनि सोध्दै खोज्दै आएका थिए कुनै दिन ।
गाउँको स्कुल देखेर गजेन्द्रको मन पग्लियो । जिन्दगीका आगामि यात्रा तय गर्नुअघि उनले ३ महिना स्कुलमा स्वयंसेवा गर्ने विचार गरे ।
३ महिनामा विद्यालयसँग गहिरो माया बस्यो । गजेन्द्रले स्कूल छोड्न सकेनन् । अभिभावक र विद्यार्थीले गजेन्द्र सर । ४ वर्ष नाघ्यो । गजेन्द्र सर स्कुलमै समर्पित छन् । जागिरे होइनन् । अझै स्वयंसेवा ।
रहरको कथा – साँझ विहान उनका दौंतरीहरु आँगन छेउमा आएर उफ्री उफ्री खेलिरहन्छन् । उनी मुसुमुसु हाँस्दै हेरिरहन्छन् । दिनभरि बा आमा काममा जान्छन्, एउटा भाइ स्कूल जान्छ । उनी बार्दलीमै बसिरहन्छन् । वरपरका किताब कापीमा घोत्लिरहन्छन् । हातखुट्टा र जिब्रो कमजोर भए पनि दिमाग बलियो भएका अछामका टेकबहादुर साउदको पढ्ने लेख्ने रहरको कथा
Bau Chhoriko Katha – युट्युबमा ६ वर्ष अगाडि कसैले राखेको एउटा भिडियोले हाम्रो आँखा र मन दुबै तानेको थियो । नेपालबाट गएका गन्धर्व बाउ छोरीले भारतको दार्जिलिङ पहाड कर्स्याङ भन्ने ठाउँमा एउटा घरको आँगनमा बसेर गीत गाइरहेका थिए ।६ वर्षपछि हामी तिनै बाउछोरीलाई खोज्दै झापाको एउटा गाउँ पुग्यौं ।
झापाको सबैभन्दा दक्षिणी भेग केचना कवल । यहाँ भोजपुरका पहाडबाट बसाइँ झरेर आएका गन्धर्वहरुको गाउँ छ । गाउँको नाम चाहिँ सङ्गीत चोक । ४० घर गन्धर्व छन् ।
सङ्गीत चोक सङ्गीतमय छ । खेतीपातीको चटारोबिच पनि साथीभाइ भेटेर सारङ्गी रेट्न थालिहाल्छन् ।
सङ्गीत चोकका गन्धर्वहरुको मूख्य पेशा नै गाउने बजाउने हो । उनीहरु धरान, बिर्तामोड गइरहन्छन् । खेतिपाती भ्याएर छिमेकी देश भारतका सिक्कीम दार्जिलिङ जानेहरुको लर्को पनि उत्तिकै हुन्छ । भारतमा कमाइ धेरै हुन्छ ।
गाउँका युवाहरुलाई हामीले खोज्दै आएको बाउछोरीकोबारेमा सुनायौं । असाध्यै सुखद संयोग भयो । त्यस भिडियोमा छोरीसँग गीत गाउने शिव गन्धर्व त्यहिँ थिए । ६ वर्षअघिको उनको अनुहार अलिअलि फेरिएछ ।
शिवले हामीलाई आफ्नो घर लिएर गए । हामी उनकी छोरीलाई भेट्न आतुर थियौं ।
जिन्दगीको कथा – समयका फरक फरक छालहरुमा तैरिँदै केही जिन्दगीहरु धनकुटाको मुलघाटस्थित तमोर नदी छेउ सुसाइरहेका छन् ।
मन्दिरमा बेला बेला बजिरहने घन्टका आवाज, आँपका डालीमा आएर कराइरहने कागहरु, एक तमासले सुसाइरहने तमोर, साँझ विहानको हरिकिर्तन । यस्तै छ यहाँको चित्र ।
प्राय सबै शान्त छन् । बिस्तारै हिँड्छन् । सुस्तरि बोल्छन् । कोही बोल्दै बोल्दैनन् । कोही दिनभरि एकनाश बत्ति कातिरहन्छन् ।
विश्रान्ति आश्रममा शान्त छ अहिले जिन्दगी । जिन्दगीले भोग्ने जति भोगिसक्यो, देख्ने जति देखिसक्यो र सहने जति सहिसक्यो ।
कोही गुमाएर आए । कोही हुँदा हुँदैको छाडेरै आए । सब जना थाकेरै आए । अहिले जिन्दगी एक्लो छ । शुन्य छ । अपेक्षाहरुको लेनदेन छैन । हिसाब किताब छैन । पाउनु गुमाउनु छैन । जिन्दगी खोला जस्तै बगिरहेछ । तमोर जस्तै ।
बबनपुरका गोठालाहरु – बर्दियाको बाँसगढी नगरपालिकाको बबनपुर । यादब गाउँ । पुरै गाउँ शाकाहारी ।माछामासु खाने त परको कुरा गाउँमा हाँस कुखुरा र बाख्रा समेत कसैले पाल्दैनन् । सबैका गोठमा गाई भैंसी मात्र छन् । गाई भैंसी पाल्नु नै यो गाउँको पुर्ख्यौली पेशा हो ।
सानैदेखि बाउबाजेसँगै गाई भैंसीको पछि लागे । गाई भैंसीसँगै हुर्किए । उ बेला गाई भैसीको खान्की पुर्याउन गोठालाहरु जंगल जंगल चाहर्थे । सुन्दरले पनि बाउ बाजेको विँडो थामे । गाईवस्तुको गोठालो गर्दै जंगलमा सालका रुखमुन्तिर उनले थुप्रै रात काटेका छन् ।
नुहाई धुवाई र पुजापाठ सकेर खाना खाए पछि सुन्दर यादव गोठमा जान्छन् र दाम्लो फुकाल्छन् । अनि जंगल छिचोल्दै भैंसीहरु चराउन लैजान्छन् । सुन्दर यादबको वाल्यकालदेखि आजसम्मको दैनिकी यहि हो ।
The wait is over. Herne Katha Episode 08 – Story of Zubeda Khatun is finally here.
हेर्ने कथाको आठौं अंकमा जुबेदा खातुनको कथा लिएर आएका छौं । यो कथा बर्दियाको बाँसगढीस्थित एउटा मुस्लिम परिवारको कथा हो । र कथाकी मुख्य पात्र हुन् जुबेदा खातुन ।
सात कक्षा पढ्दा पढ्दा उनकै बिहे भयो । चार छोरीको आमा भइसकेपछि उनलाई फेरि पढ्ने रहर जाग्यो । मुस्लिम समुदायमा यो असम्भव जस्तै थियो । तर जुबेदाको दृढताले सबै असम्भवलाई जित्यो । जुबेदा खातुनको संघर्ष र प्रेरणाको कथा । सँगसँगै बन्द समाजभित्र अपवाद जस्तै बनेको उनको परिवारका रमाइला पाटाहरु । हेर्ने कथा अंक ०८ जुबेदा खातूनको कथा ।
Chandrabir Oli – Story of 72 year old Chandrabir Oli from Dang in Western Nepal. Who for 2 years, alone carved a road through forest and mountain to his home, so that his blind family members could walk. Batoko Katha (Story of a Road) Episode 05 – Herne Katha
आँखा नदेख्ने परिवारलाई हिँडडुल गर्न सजिलो होस् भनेर जंगल र भीर छिचोल्दै २ वर्ष लगाएर एक्लै बाटो खन्ने दाङका चन्द्रबीर ओलीको कथा : बाटोको कथा । हेर्ने कथा अंक ०५ ।
चन्द्रवीर वलीको घर जंगलको माझैमा पर्छ । ११ जनाको परिवारमा ९ जनाले आखाँ देख्दैनन् । गाउँ शहर र उकाली ओराली गर्न भीरका बुट्यानहरुहरु समाउँदै हिँड्नु पर्ने । ७२ वर्षको उमेरमा चन्द्रवीरले एउटा अनौठो सपना देखे ।सँधै दुःख दिने भीरहरु भत्काउँदै अाँगनसम्म पुग्ने एउटा बाटो खन्ने ।
विहान जुरुक्क उठ्यो । भातभान्छा तयार गर्यो । परिवारलाई खुवायो । सरसफाई गर्यो । अनि बाटो खन्न हिड्यो ।
पुषमाघको मुटु कमाउने जाडो कट्यो उनले बाटो खनिरहे । वैशाख जेठकोमध्य घाममा पसिना पुछिरहे र बाटो खनिरहे । असार साउनको झरिमा रुझिरहे र बाटो खनिरहे । चाडबाड आयो गयो । भोक तीर्खा र थकाइ बिर्सेर उनले बाटो खनि नै रहे । चन्द्रवीरले २ वर्ष लगातार एक्लै बाटो खने ।
उनी र कान्छा छोरा बाहेक परिवारका ९ जनाले आखाँ देख्दैनन् । जहान परिवारलाई परेको अप्ठेरो देखेर उनले बाटो खन्न थाले । ७२ वर्षको उमेरमा उनले जंगलको माझमा पर्ने आफ्नो घरसम्म पुग्ने बाटो बनाउन सुरु गरे ।चन्द्रवीरलाई बाटो खन्न दुई वर्ष लाग्यो । उनले दाङबाट सल्यान जाने बाटोको साततलेदेखि माथि खमारी गाउँसम्मको २ किमि जंगल र भीरपाखाको बाटो एक्लै छिचोले ।अहिले त्यहाँ डोजर लगाइएको छ । गाउँलेहरु यही बाटो आउजाउ गर्छन् ।
Herne Katha Episode 02 – Chaukini ko Katha – हेर्ने कथाको दोस्रो अंक चौकिनीको कथा ।
असोज अन्तिम साता ढोरपाटनका बुकीहरु ओइलाउन थाल्छन् र मानिसहरु बेँसी झर्न थाल्छन् । मध्य हिउँदका केही महिना यहाँका बाटाघाटा, चौर चौतारी, खोला नाला, अनि वन जंगलहरु लगभग एक्ला हुन्छन् । घरहरुमा ताल्चा लाग्छन् । तर पुरै गाउँ रेखदेख गर्ने जिम्मा पाएका चौकिनीहरु भने गाउँमै भेटिन्छन् ।