Bhedi Gothko Katha EP48

यो म्याग्दीको दोबा गाउँ हो ।  पुरानो मगर बस्ति । हिमाल हाँसिरहन्छ । अनि हिमाल जस्तै हाँसिरहन्छन् नेत्र दाइ । न्यानो माैसममा भेडा धपाउँदै हिमालको जरासम्म पुग्ने नेत्र दाइ जाडो लागेपछि उँधो झर्छन् । यसरी गोठाला भएर उँधौली उँभौली गर्न लागेको ३० वर्ष बितिसकेछ । 

अहिले जाडो बढेको छ  । नेत्र दाइले गाउँ छेउमै गोठ ल्याइपुर्याएका छन् । गाउँ छेउ भएर के गर्नु नेत्र दाइको बास उही भेडी गोठ । 

बा ब्रिटिस लाहुरे थिए रे । उतै बिते । आमा पनि बितिसकिन् । दाजुभाइ लाखापाखा लागे । नेत्रले पनि बिदेस जाने सपना नबुनेका होइनन् । तर जुरेन । बरु बिदेस गएका उनका छोरा भेडा चराउनै भनेर घर फर्किए ।  

आज नेत्र दाइको गोठमा एउटा पाठो जन्म्यो । उता जंगलमा हिजो हराएका भेडा पनि खोज्नुछ । पारिलो घामले डाँडाकाँडा चुमेपछि नेत्र दाइले गोठ खोलिदिए । हामी भेडाका बथानसँगै नेत्र दाइ र परिवारको पछि लाग्यौं । 

एकछिन जंगलमा खोजेपछि हिजो हराएको एउटा पाठो मरेको भेटियो । जन्मिने र मर्ने सिलसिला नेत्र दाइको गोठमा चलिरहन्छ । 

साँझ घर फर्किने बेलामा पानी पर्यो । यस्ता घाम पानी र इन्द्रेणीहरु कति भोगे कति नेत्र दाइले । भेडाहरु घर फर्किन थाले । गोठमै पाठा पाठी छाडेर आएका आमाहरु चाहिँ अलि हतारमा थिए । दिनभरि चरेर भेडाहरु टन्न अघाएका थिए । नेत्र दाइ चाहिँ भोकै । घर फर्किएपछि अँगनो छेउमा बसेर मकै खाँदै उनले भेडासँगकाे सुखदुख सुनाए । भोली फेरि उहि दिन दाेहोर्यउनु त छँदै छ ।

Marphako Katha EP47

मध्य हिउँदमा मार्फाका धेरैजसो घरहरुमा ताल्चा लाग्छन् । मान्छेहरु हिउँ र जाडो छल्न पोखरा, काठमाडौं झर्छन् । मुखिया र कटवालहरुले चाहिँ गाउँ छाड्न पाउँदैनन् । गाउँ सुनसान भए पनि सदियौंदेखि चलि आएको स्थानीय नियम कानुन र चलनले थकाई मार्न पाउँदैन । 

छानाभरि परेका हिउँ जथाभावि फालिदिँदा कुलो र बाटोको बाटो छेकिन्छ । मुखियाको उर्दी गाउँभरि हाँक हालेर सुनाउँदैछन् सोमबहादुर बागदास। 

उसो त गाउँका स्थायी बासिन्दा, सबैले मुखिया र कटुवालको काम आलोपालो गर्नुपर्छ । हिउँका चिसो सोरेर आउने ठिहिर्याउने बतासमा बस्न कसलाई पो बस्न मन लाग्छ र । केटाकेटीका स्कुल छुट्टी हुन्छन् । पर्यटक पनि घुम्न आउँदैनन् । होटल र पसलमा समेत ताल्चा लाग्छन् । न्यानोमा घर हुनेहरु तल झर्छन् । अनि आफ्नो जिम्माको कटुवाल काम तल झर्न नसक्नेहरुलाई पैसा दिएर जिम्मा लाउँछन् ।  

केही दिन अघि परेको  हिउँले ढाकेका स्याउबारी छिचोल्दै कटुवालको नियमित गस्ति सुरु हुन्छ । 

गाउँ घुमेको प्रमाणस्वरुप उनले चिचे अमिलको हाँगा भाच्छन् । गाउँको पुछारमा खोला छेउमा मात्र चिचे अमिलोको बोट छ । चिचे अमिलोको हाँगा लगेर मुखियाको ढोकामा सिउरिदिएपछि कटुवालले गाउँ घुम्ने काम फत्ते गरेको थाहा हुन्छ । 

भोलि झन् धेरै हिउँ पर्छ – रेडियोले भनेको छ । गाउँमै अल्मलिएका मान्छेहरु फटाफट बसको टिकट काटेर तल झर्दैछन् । बाटा घाटा र स्याउका बगैंचाहरु झन् एक्लिँदैछन् । हिउँद्का केही महिना हिमालपारिका यी गाउँहरु बेसी झर्छन् । जोड जोडले हिउँ परिरहन्छ, बतास चलिरहन्छ । तर गाउँ आँफैले धेरै वर्ष अघि बनाएको विधिको स्यानो शासन चलिरहन्छ मार्फा गाउँमा ।

Taroko Katha EP46

म्याग्दी सदरमुकाम बेनीबाट म्याग्दी खोलालाई नै पछ्याउँदै हामीले दरबांग जाने बाटो समातेका थियाैं । हामी कथाको खोजिमा थियाैं । 

कथा खोजीका हाम्रा यात्राहरु यस्तै हुने गर्छन् । कहाँ कतिखेर अडिन्छौं पत्तो हुँदैन । पात्रहरुले लोभ्याएपछि गन्तव्य बिर्सिदिन्छौं र त्यही सेरोफेरोमा कथा बुनिदिन्छौं । 

बजार बन्दै गरेका गाउँहरु छिचोल्दै थियौं । बाबियाचौर नजिकै मेला लागेको छ भन्ने सुनेर उत्साहित भएका थियौं । हामीलाई गाउँको मेला हेर्न मन थियो । आँगनमा उभिएर पारिलो घाम तापिरहेका नारायणदत्त अधिकारीले एउटा भाका लगिदिनोस् न भन्दै हामीलाई बोलाए । 

अधिकारी बासँग बिदा भएर केही बेर मोटर चढेपछि बाटोको तल्लापटि मेला लागेको देखियो । फलामे रोटे पिङ थियो । पाल टाँगेर बनाइएका ससाना खाजा पसल थिए । एकातिर फुटबल हुँदै थियो अर्को तिर हातमा धनुस समातेका मान्छेहरु तारो हान्दै थिए । हामीलाई तारोले तान्यो । 

माघे संक्रान्तिको छेकोमा बर्सेनी हुने मेला हिजो मात्र सुरु भएको थियो । मेलाको रौनक अझै दुई चार दिनमा बढ्ने बताइरहेका थिए मेला भर्नेहरु । 

तारो हान्ने ठाउँमा नेत्र मगर भेटिए । हामीले नेत्रलाई पछ्यायौं । 

सन्त कुमार राना पहिले पहिले खुब तारो हानी हिँड्थे । धनुषका ढाँचा र खेल्ने नियम फेरिँदै गएपछि उनी छेउ लाग्न थाले । तर पनि मन मान्दैन । आफ्नो पुरानो धनु बोकेर यस्तै मेलामा उनी भेटिन्छन् । 

खिम जुग्जालीसँग अरुको जस्तो महँगो धनुष छैन । कलिलै उमेरदेखि यो खेलमा लोभिएका खिमले आफ्नो सामान्य धनुसले नै आज चार खोल गरिसकेका छन् । 

साँझ ढल्न लाग्यो । मेलामा आएकाहरु घरतिर फर्कन लागे । दिनभरि तारो हान्ने केटाहरु चाहिँ एउटा छाप्रोभित्र पसेर आजको समिक्षा गर्न लागे । हामीलाई पनि बेनी बजार फर्कुन थियो ।

Akashko Katha EP33

सगरमाथाबाट हाम्फालेर बंगालको खाडीमा पुग्ने लाक्पा शेर्पा, लाहुरे बन्न नसकेपछि घर फर्किन पनि नसकेका गोर्खाका जुद्ध गुरुङ र पोखरा पश्चिमको हर्पन डाँडा जस्तै उकाली ओराली खेपेका दीपक पौडेल । यी तिनै जनाको भेट विशाल आकाशमा भएको थियो ।

लाक्पा  कहिले हिमाल चढ्न हिँडिदिन्थे कहिल हावामा कावा खान । आकाश र हिमाललाई मोबाइलको टावरले के भेट्टाउँथ्यो र? बेखबर लाक्पाकी पत्नी गुम्बामा गएर बत्ती बाल्थिन् र श्रीमान्लाई हावाले नउडाओस् र हिमालले नखाओस् भनी कामना गर्थिन् । 

लाक्पा अहिले फेवातालको सिरानतिर एउटा टहरा बनाएर बस्छन् । बस्तु पाल्छन् । दुध खान्छन् । सोलुमै किवी  खेतीमा रमाउने लाक्पा पत्नी श्रीमान्को न्यास्रो मेट्न कहिले काहिँ आउँछिन् । श्रीमान्ले उडाउने इन्जिन विनाको जहाजमा उड्छिन् र रमाउँछिन् । 

दीपक पौडेल । लाक्पाका छिमेकी । सुःख दुःखका साथी । यही दोस्तीकै कारण लाक्पा पनि दीपककै छेउछाउ बसाइ सरेका हुन् । सोलुदेखि । दीपक पनि सराङ्कोटको डाँडाबाट हावामा उडान भर्र्छन् । 

उनी चाहिँ गोर्खाका जुद्ध गुरुङ । लाहुरे बन्न घरबाट हिँडेका जुद्ध पनि प्याराग्लाइडिङमै रमाएका छन् । आफ्ना ससाना बहिनीहरुलाई बिहे गरी पठाइदेलान् भन्ने डरले जुद्धले गाउँबाट पोखरा झिकाए । पढाए । उनका दुई बहिनी पनि प्याराग्लाइडिङ नै गर्छन् । दुर्गा जेठी । कान्छी भर्खर १३ वर्षकी। प्याराग्लाइडिङको लाइसेन्स  जाँच दिन स्याङ्जाका डाँडाकाँडातिर गएकी थिइन् । 

दीपक आजको उडान भर्नुअघि बिरामी आमालाई भेट्न अस्पताल जाँदैछन् । 

साँझ सबैजना जुद्ध गुरुङको डेरामा भेला भए । मनाङमा स्कुल पढाउने उनकी श्रिमती छुट्टीको मौकामा पोखरा झरेकी छिन् । 

भोलिपल्ट दीपक गाउँमा आमा एक्लै बस्ने गरेको पुरानो घर जान्छन् । बिरामी आमालाई पोखरामा आफूसँगै ल्याएर राख्न खोजेका छन् दीपकले । आमाको मन मानिसकेको छैन । दीपकले हार खाएका छैनन् । यसपालि चाहिँ अस्पतालबाट फिर्ता ल्याएर आफुसँगै राख्ने अडान लिएका छन् । 

बुबाको तस्बिर काखी च्यापरे दीपक पोखरातिर ओरालो लाग्छन् । 

Belly Blues EP24

स्टोर रुम भित्रको ओछ्यानछेउमा विहानै मोबाइलको अलार्म बज्छ । उनी आँखा मिच्दै उठ्छन् र हतार हतार गृहकार्य सक्छन् । राति सँधै अबेर भइसकेको हुन्छ । थाकेको ज्यानले ओछ्यान रोज्छ । 

मूल ढोकाका साँचो लिएका मानिस मस्त निद्रामा हुन्छन् । उनलाई उठाउन मन लाग्दैन । झ्यालबाट निस्किन्छन् र क्याम्पस जान्छन् । 

१० बजे क्याम्पस छुट्टी हुन्छ । सिधै होटल जान्छन् । भान्छा छेउमा झोला थन्क्याउँछन् र पाहुनाहरुलाई खाना खुवाउँछन् । 

पढाईमा तीक्ष्ण छन् । पैसामा कमजोर । क्याम्पसको खर्च जुटाउन होटलमा काम थालेकाे ३ महिना भयाे।

खानापछि उनको अर्को दैनिक सुरु हुन्छ । होटलका कोठाहरु बढारकुडार गर्ने, ओछ्यान मिलाउने र ट्वाइलेट बाथरुम सफा गर्ने । 

काम बाट एकछिन फुर्सद निकालेर उनले आफ्नी आमासँग हामीलाई भेटाउने भए । बजार छेउको दलितबस्तिको एक कोठे घरमा आमा एक्लै बस्छिन् । 

बिनोदको संघर्षमय वाल्यकाल यही सेरोफेरोमा हुर्कियो । बिनोद सानै हुँदा बाबु मलेसिया हिँडे । 

आमालाई घरधन्दा सघाउँदै हुर्केका विनोदले आफ्नो पहिचानसँग जोडिएका केही नमिठा अनुभव पनि साटे । 

बेलुका होटलमा विनोदको उही भ्याइ नभ्याइको दैनिकी । 

चितवनबाट डाक्टरी पढ्ने विद्यार्थीहरु दुई महिनाको लागि उनी काम गर्ने होटलको पाहुना बनेका छन् । उनको मिलनसार स्वभावले धेरै आफ्ना भइसकेका छन् । आज बेली उनीहरुलाई बेली डान्स देखाउँदै छन् ।

हेर्ने कथाका सबै अंकहरु हेर्नको लागि हामीलाई युट्युबमा सब्स्क्राइब गर्नुहोस्

Kinarako Katha EP19

लगभग १ घन्टा जंगल छिचोलेपछि डुङ्गाघाट पुग्यौं । नारायणी नदीको एउटा भंगालो । रुख खोपेर बनाएका साँघुरा डुङ्गा हामीले बलियो गरी समात्यौं । माझीहरुले नदीको उल्टो दिशातिर डुङ्गा खियाए ।

नारायणी नदीको किनारमा जंगलको छेउमा शेरगंज गाउँ छ । गाउँमा माझी र मुसहर बस्छन् । नदीमा माछा मार्ने उनीहरुको मूख्य पेशा । 

गाउँलेहरु आज पनि हुल बाँधेर जंगल छिर्दैछन् । हामीले वीरबहादुर मुसहरलाई साथी बनायौं र उनीसँगै गाउँलेको पछि लागेर जंगल छिर्यौं । 

हेर्ने कथाको अंक १८ मा यसअघि भुर्ती गाउँको कथा प्रसारण भएको थियो । हाम्रा सबै कार्यक्रम हेर्नको लागि युट्युब च्यानल सब्स्क्राइब गर्नुहोला । 

Chaukini ko Katha EP02

Herne Katha Episode 02 – Chaukini ko Katha – हेर्ने कथाको दोस्रो अंक चौकिनीको कथा ।
असोज अन्तिम साता ढोरपाटनका बुकीहरु ओइलाउन थाल्छन् र मानिसहरु बेँसी झर्न थाल्छन् । मध्य हिउँदका केही महिना यहाँका बाटाघाटा, चौर चौतारी, खोला नाला, अनि वन जंगलहरु लगभग एक्ला हुन्छन् । घरहरुमा ताल्चा लाग्छन् । तर पुरै गाउँ रेखदेख गर्ने जिम्मा पाएका चौकिनीहरु भने गाउँमै भेटिन्छन् ।

Read more