Marphako Katha EP47

मध्य हिउँदमा मार्फाका धेरैजसो घरहरुमा ताल्चा लाग्छन् । मान्छेहरु हिउँ र जाडो छल्न पोखरा, काठमाडौं झर्छन् । मुखिया र कटवालहरुले चाहिँ गाउँ छाड्न पाउँदैनन् । गाउँ सुनसान भए पनि सदियौंदेखि चलि आएको स्थानीय नियम कानुन र चलनले थकाई मार्न पाउँदैन । 

छानाभरि परेका हिउँ जथाभावि फालिदिँदा कुलो र बाटोको बाटो छेकिन्छ । मुखियाको उर्दी गाउँभरि हाँक हालेर सुनाउँदैछन् सोमबहादुर बागदास। 

उसो त गाउँका स्थायी बासिन्दा, सबैले मुखिया र कटुवालको काम आलोपालो गर्नुपर्छ । हिउँका चिसो सोरेर आउने ठिहिर्याउने बतासमा बस्न कसलाई पो बस्न मन लाग्छ र । केटाकेटीका स्कुल छुट्टी हुन्छन् । पर्यटक पनि घुम्न आउँदैनन् । होटल र पसलमा समेत ताल्चा लाग्छन् । न्यानोमा घर हुनेहरु तल झर्छन् । अनि आफ्नो जिम्माको कटुवाल काम तल झर्न नसक्नेहरुलाई पैसा दिएर जिम्मा लाउँछन् ।  

केही दिन अघि परेको  हिउँले ढाकेका स्याउबारी छिचोल्दै कटुवालको नियमित गस्ति सुरु हुन्छ । 

गाउँ घुमेको प्रमाणस्वरुप उनले चिचे अमिलको हाँगा भाच्छन् । गाउँको पुछारमा खोला छेउमा मात्र चिचे अमिलोको बोट छ । चिचे अमिलोको हाँगा लगेर मुखियाको ढोकामा सिउरिदिएपछि कटुवालले गाउँ घुम्ने काम फत्ते गरेको थाहा हुन्छ । 

भोलि झन् धेरै हिउँ पर्छ – रेडियोले भनेको छ । गाउँमै अल्मलिएका मान्छेहरु फटाफट बसको टिकट काटेर तल झर्दैछन् । बाटा घाटा र स्याउका बगैंचाहरु झन् एक्लिँदैछन् । हिउँद्का केही महिना हिमालपारिका यी गाउँहरु बेसी झर्छन् । जोड जोडले हिउँ परिरहन्छ, बतास चलिरहन्छ । तर गाउँ आँफैले धेरै वर्ष अघि बनाएको विधिको स्यानो शासन चलिरहन्छ मार्फा गाउँमा ।

Panche Bajako Katha EP44

बालखै छँदा त खासै रोकतोक हुँदैन थियो । बिहे बर्तुन र भोजमा दमाहा बजाउने बुबाको पछि लाग्दै हिँड्न कमला नेपालीलाई कम्ता रमाइलो लाग्दैन थियो । 

कमला ठूली हुँदै गएपछि पन्चे बाजाका तालहरुमा उनी रमाउन पाइनन् । केटी मान्छेले यी बाजा छुन समेत हुन्न भनिन्थ्यो । 

हिरा परियार बजारमा लुगा सिलाउँछिन् । उनका बाबुबाजे पनि लुगा सिलाउँथे ।मर्दा पर्दा विहे बटुल र पूजा अाजामा चै पन्चेबाजा बजाउथे ।

रुकुम सदरमुकाम खलङ्गा छेवैको दलित बस्तिका पुरुषहरुले बाउ बाजेको पालादेखि पन्चे बाजा बजाउने काम गर्दै आएका थिए । जन्तीदेखि मलामीसम्म पन्चे बाजा नभई हुँदैन थियो । बिस्तारै समय फेरियो । पन्चे बाजाको ठाउँमा आधुनिक ब्यान्ड बाजा र लाउड स्पीकर घन्किन थाल्यो । बाउ बाजेको बिँडो थाम्दै आएका नयाँ पुस्ता पनि कतार मलेसिया कै कमाईमा रमाउन थाले । हुँदा हुँदा यो गाउँमा पन्चे बाजा नै बज्न छाड्यो । 

एकदिन यहाँका छोरी चेलीहरुलाई लाग्यो – पुरुषहरुले छाडेर के भो त । हामी पो बजाउन सक्छौं कि । 

पुरुषहरुले सजिलै मान्ने कुरा थिएन । छुन पनि हुँदैन भन्दै आएको बाजा कसरि बजाउन सिकाइदिनु । तर गाउँभरिका महिलाहरु एक जुट भएर ढिपी गरेपछि कमला नेपालीका हजुरबुबाले पहिलो आँट गरे । 

यो आँट वल्लो घर पल्लो घर हुँदै गाउँभरि सल्कियो । छोरी नातिनीहरुले आफ्ना बा बाजेसँग बाजा सिकाइ मागे । 

तर उनीहरले आफ्नो धुन छोडेनन् ।  यसरी सुरु भयो यहाँका महिलाहरुको पन्चे बाजा समूह । अआफ्नो क्षमता र रुचि अनुसार हरेकले एकुन्टा बाजा समाए । 

साँझमा हिराको घर पुग्दा उनकी छोरी ईच्छा बा र काकासँग ट्याम्के सिक्दै थिईन् । घरधन्दा सकेर आमाले पनि बाजा समातिन् । 

पञ्चेबाजाको यो धुन आजकल रुकुमदेखि टाढा टाढासम्म पनि सुनिन थालेको छ । त्यसैले त हिजोआज उनीहरको समूहलाई ठाउँ ठाउँबाट निम्तो आइरहन्छ । भोलि पनि बजारमा एउटा कार्यक्रम छ ।  त्यसकै तयारीका लागि राति अबेरसम्म महिलाहरु अभ्यासमै भिडे । 

विहानै कमलाको आँगनमा सबैजना जम्मा भए ।

दिउँसोको कार्यक्रममा जानु अघि उनीहरूले फेरि गाउँ घन्किने गरी पन्चेबाजा बजाएर तयारी पुरा गरे । 

महिलाहरुको यो पन्चे बाजा टोलीले  दिनभरि खलङ्गा बजार घन्कायो ।

Gaun Khane Katha EP29

सिराहाको लाहान वरपरका डोम समुदायमा गाउँ खाने चलन छ । गाउँको किनबेच पनि हुन्छ । मधेशको यो रमाइलो चलनबारे आजको हेर्ने कथा – गाउँ खाने कथा ।

Jogiko Katha EP26

राति राति फेरी लगाउँदै हिँड्ने जोगीको कथा । हेर्ने कथा अंक २६ – जोगीको कथा

झापा जिल्लाको बाहुनडाँगी नजिकै जोगीडाँडा भन्ने ठाउँ छ । जोगी डाँडामा ४० घर जोगीहरु बस्छन् । उनीहरु पहाडका विभिन्न ठाउँबाट बसाइ सरेरर त्यहाँ आएका हुन् ।

जोगीहरुको पुर्ख्यौली पेशा भनेको चैत र कार्तिक महिनामा गाउँ गाउँ डुलेर बराँटको सिङ बजाउँदै तन्त्र मन्त्र पढ्नु हो । यसरी फेरी लगाउँदा ‘भूत प्रेत’ भागेर जाने विश्वास छ । यसबापत गाउँलेहरुले जोगीलाई दान दक्षिणा दिन्छन् । अघिल्लो पुस्ताले यस कामलाई अझै निरन्तरता दिइरहेका छन् । तर नयाँ पुस्ताले भने अर्कै पेशा रोजगारी रोज्न थालेका छन् ।

जोगी डाँडाका जोगीहरु फेरि लगाउन सीमावर्ती भारतका सिक्किम दार्जिलिङ र भुटानसम्म पनि पुग्ने गरेका छन् ।

हेर्ने कथाको अंक २५ मा यसअघि हामीले नेताको कथा देखाएका थियौं । हेर्ने कथाका सबै अंकहरु हेर्नको लागि हाम्रो युट्युब च्यानल सब्स्क्राइब गर्नुहोला

Chudeli Gaunko Katha EP21

अछाम सदरमुकाम मंगलसेनबाट साँफेबगर झर्दै गर्दा हामीले बन्दै गरेको मध्यपहाडी लोकमार्ग रोज्यौं । चुडेली गाउँ पुगेपछि मस्जिदबाट आइरहेको प्रार्थनाको आवाजले हामी रोकियौं ।

यो बस्तिलाई मियाँ टोल भन्दा रहेछन् । पहिले पहिले चुरा बनाउने र बेच्ने पेशा भएकाले गाउँको नाउँ चाहिँ चुडेली ।

घुम्टो ओडेका महिलाहरु थिएनन् । तर पहाडको दुःखको उही दैनिकी ।

Story of Ward Number 22 EP10

Herne Katha Episode 10 – Story of Ward Number 22 – वडा नम्बर २२ को कथा  – गाउँ भनौं भने शहरको नक्सामा छ । शहर भनौं भने शहरका केही सामान्य विशेषता पनि छैनन् । नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर २२ मा पर्ने ‍‍किंघरियनपुर्वा गाउँको सेरोफेरोको कथा – वडा नम्बर २२ को कथा ।

यो गाउँमा मुसलमानहरु मात्र बस्छन् । मुसलमानमा पनि तल्लो जाति मानिने किँघरियनहरु । किँगरी भनिने बाजा बजाएर नाचगान गर्दै हिँड्ने भएकाले यो जातिलाई किँघरियन भनिएको रहेछ । आजकल तेस्ता परम्परागत बाजा लोप भइसके । तर नैना र केही महिलाहरुले नाचगान गर्ने पुर्ख्यौली पेशा अझै छाडेका छैनन् ।

Read more

Ghodeko Katha EP07

Ghodeko Katha – Herne Katha Episode 07 ।  । घोडेको कथा । अंक ०७

दिनभरि गाउँगाउँ डुलेर अन्न खोज्ने दाङका घोडेहरुको १ दिनको कथा । घोडेको कथा । गाउँको नाउँ हो बनगाउँ । दाङको तुल्सीपुरनजिकै पर्छ । यही बस्छन् घुमलाल चौधरी । उनले एउटा घोडा पालेका छन् । बनगाउँका अरु ४० घरमा पनि घोडा छन् । यी घोडाका मालिकहरु सबेरै घोडा चढेर निस्कन्छन् । एक विहान घुमलाल चौधरी र उनका साथीहरुलाई हामीले पछ्यायौं ।

Read more

Chiya Baganka Shikariharu EP06

चिया बगानका सिकारीहरु – पूर्व झापाको ज्यामिरगढीस्थित वेन्डी वस्ति । मेची नदीको किनारैमा चियावगान माझको सन्थाल गाउँ । गाउँका धेरैजसो मान्छे चियावगानमै काम गर्छन् अनि फूर्सदमा चाहिँ शिकार गर्न हिँड्छन् । मुसाको शिकार । वेन्डी वस्तिका सन्थालहरुसँगै हामी पनि आज मुसाको शिकारमा जाँदैछौं ।

झापाको चियाबगान वरपर मुसा सिकार गरेर खानेहरुको कथा ‘चिया बगानका सिकारीहरु’ हेर्ने कथा अंक ०६ ।

Herne Katha Episode 06– ‘Chiya Baganka Shikariharu’ is about rat hunters near a tea estate in Jhapa, Nepal. Rat Hunting is an old tradition of Sathal (Satar) community in Nepal. They go hunting whenever they have free time. Rat hunting is also part of their festivals and other rituals. Apart from rat, they hunt for other rodents in nearby tea estates.

यसअघि हेर्ने कथाको अंक ०५ मा बाटोको कथा प्रसारण भएको थियो । हेर्ने कथाका सबै कथाहरु हेर्नको लागि हाम्रो युट्युब च्यानल सब्स्क्राइब गर्नुहोला । 

Sunko Katha EP04

सुनको कथा । Sunko Katha । Story of Gold – हेर्ने कथाको चौथो अंकमा सुनको कथा । यो कथा बर्दियाको राजापुरस्थित कर्णाली नदीको किनारामा सुन खोज्ने मान्छेहरुको कथा हो ।

बर्दियाको राजापुर । कर्णाली नदीकै किनारामा एउटा चिटक्कको गाउँ छ । चैतको टन्टलापुर घाममा गाउँका आइमाइ केटाकेटीहरु टाउकामा केही सरसामान बोकेर नदीको बगरतिर लागे । अनि हामी उनीहरुको पछिपछि लाग्यौं । 

यो कथा बर्दियाको राजापुरमा कर्णाली नदीको किनारामा रहेको सोनाहा बस्तिको हो । सोनाहा समुदायका मानिसहरुको परम्परागत पेशा नदी किनाराबाट सुन निकाल्नु हो । तर सुन निकाल्न सजिलो चाहिँ छैन । चर्को घाममा दिनभरि मेहेनत गर्नुपर्छ । बगरबाट ढुङ्गा बालुवा बोक्नुपर्छ । त्यसलाई धोइपखाली गर्नुपर्छ ।

सुन निकाल्ने उनीहरुको आफ्नै परम्परागत सीप र प्रविधि छन् । प्राय सुन खोज्ने काम चाहिँ महिलाहरुले गर्छन् । केटाकेटीहरुले पनि सघाउँछन् । हामीले यो कथामा सोनाहा समुदायका महिलाहरुलाई विहानदेखि साँझसम्म पछ्याएका छौं । कसरी ढुङ्गा बालुवाबाट सुन निकाल्ने रहेछ त । थाहा पाउनको लागि यो रोचक कथा हेर्नुहोस् ।

यो हेर्ने कथाको चौथो अंक हो । यसअघि हेर्ने कथाको तेस्रो अंकमा हामीले घरको कथा प्रस्तुत गरेका थियौं । घरको कथा क्यानडाबाट ९ वर्षपछि आएर आफूले लामो समय बिताएको शिविरमा पुगेका भुटानी शरणार्थीहरुको मार्मिक कथा हो । घरको कथा हेर्नको लागि क्लिक गर्नुहोस्

हेर्ने कथाका सबै अंकहरु हेर्नको लागि हाम्रो युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस् । हेर्ने कथा युट्युबमा मात्र प्रसारण हुन्छ । हामी हरेक १५ दिनमा नयाँ कथा लिएर आउँछौं । युट्युब च्यानलमा जानको लागि क्लिक गर्नुहोस्

तपाईं हेर्ने कथासँग फेसबुक ट्वीटरइन्स्टाग्राममा पनि जोडिन सक्नुहुन्छ ।