Biteka Katha EP35

BIteka Katha Herne Katha Episode 35

अस्ति भर्खर जस्तो लाग्छ सल्यानकी चेतना बोहोरालाई अन्यायविरुद्ध लड्न बन्दुक उठाउनु पर्छ भन्ने चेतना आएको । आमालाई फकाएर युद्धको मोर्चामा हिँडेकी चेतना अहिले आफैं आमा भएकी छिन् ।  हेटौंडा छेउमा आजकल घरपरिवारको मोर्चा सम्हाल्छिन् । चेतनाकै घरसँगै निर्मला वाइवाको घर जोडिएको छ । उनीसँग शरिरभरि गोलीका डोब छन् र मनभरि सम्झनाका डोबहरु, बितेका कथाका । 

हेटौंडा बजारबाट पूर्व चुरे फेदीमा सिमात, बकैया नदीछेउ छतिवन गाउँ थियो । अहिले पनि छ । हातमा कुटो कोदालो बोक्ने यहाँका मान्छेहरुलाई पनि लाग्यो परिवर्तनको लागि कोदालो होइन बन्दुक पो बोक्नु पर्नेरहेछ । कसैले बन्दुक बोके कसैले विचार । नेपालका अरु धेरै गाउँ जस्तै छतिवन गाउँ पनि युद्धमा होमियो । 

सानैदेखि नाच्न गाउन रुचाउने सङ्गम राई स्कुलमा सँधै फर्स्ट हुन्थे । गाउँका मामा काका र दिदीहरु माओवादीमा लागेको देखेर उनी पनि होमिए । उनले मादल र गितार रोजे । मादलहरु पनि उतिबेला बन्दुक जस्तै पड्किन्थे । थुप्रै गाउँबस्ती डुलेर उनी मान्छेहरुलाई क्रान्तिका गीत सुनाउँथे । 

संगम राई ‘पृथ्वी’

युद्धमा सहयात्री भेटिए । धेरै आँखै अगाडि निर्जिव भए । ती यात्राका कतिपय साक्षीहरु अझै छन् । पहिले परिवर्तनका धुन बजाउँथे ।

श्यामसुन्दर थपलिया ‘सरगम’

आजकल आफ्नै जिन्दगी र घर व्यवहारका धुनहरु । सङ्गम राई, हेमन्त रुम्बा र श्यामसुन्दर थपलिया धेरै हिँडे । सँगै हिँडे । 

संगम राई, हेमन्त रुम्बा र श्यामसुन्दर थपलिया

हेटौंडा बजार । संगम चोक छेउछाउमा राधिका बिक दिनभरि ठेलामा तरकारी बेची बस्छिन् । उनी पनि ठूला परिवर्तनका सपना बोकेर युद्धमा लागेकी थिइन् । 

राधिका बिक

पार्टीको संगठनका मोर्चाहरुको नेतृत्व गर्दै हिँड्ने राधिका बिस्तारै थाकिन् । उबेला उनले देखेका सपनाहरु ओइलाइ गएका छन् । उनका ठेलामा नबिकेर यसै बसेका तरकारीहरु जस्तै । 

तरकारकी ठेला डुलाउँदै राधिका बिक

बजारभित्रको साँघुरो गल्लीमा एक कोठे डेरा छ । एक छोरा र एक छोरी छन् । छोरा कोरिया जाने सपना बुनेर बसेका छन् । 

हेटौंडामा राधिका विक

माओवादी  लडाकूहरु क्याम्पभित्र राखिएपछि चेतनाको जिन्दगीको पहिलो अध्याय लगभग सकिएको थियो । क्यान्टोनमेन्ट भित्र उनले श्रीमान् भेटिन् । शिविरबाट निस्किएपछि हेटौंडा छेउ कमानेमा जिन्दगीको एउटा स्थायी शिविर जस्तै सानो घर बन्यो । 

बितेका कुराले चेतनालाई पिरोल्छ । समाज परिवर्तनका थुप्रै सपनाहरु बुनेर हिँड्ने चेतना आजकल घरमा गलैंचा बुनेर बस्छिन् । 

चेतनाको एउटा पुरानो तस्बिर ।

छतिवनका पुराना भित्ताहरुमा युद्धकालका नाराहरु अझै कतै कतै मेटिएका छैनन् । बितेका कुराका सम्झना त झन् कसरि मेटिएलान् र । साथीभाइ, दिदीबहिनी –  धेरैको रगत सिमात खोलामा बगेको थियो । कोही सालिक भएका छन् कोही सम्झना । 

देशविदेशको हण्डर खाएर आएपछि सङ्गमले घरजम गरे । हेटौंडा बजारछेउ श्रिमतीसँगै चमेनागृह सुरु गरे । कहिले काहिँ आमाबा लाई भेट्न छतिवन आउँछन् । 

कक्षामा सँधै फर्स्ट हुने सङ्गमका धेरै साथीभाइ डाक्टर इन्जिनियर बने । बुर्जुवा शिक्षाको किताब मिल्काएर युद्धमा हिँडेका सङ्गमले बर्षौंपछि कक्षा दशमा नाम लेखाएका छन् । 

Mayako Katha EP31

माया हराउँदै गएको शहरमा मायाको कथा भेटियो । ललितपुर कुपन्डोलको गल्लीमा एउटा गाडी वर्कशप भित्र । यही वर्कशपमा राम दाइ र उनको ठूलो परिवार बस्छन् । परिवारमा मान्छे ४ जना । कुकुरहरु चाँही १७ जना।

विहान उनीहरुसँगै कुकुरहरु उठ्छन् । राम दाइ वर्कसपको एउटा थोत्रो जिपको धुलो झार्छन् । मासु किन्न जाने तयारी हुँदैछ ।

आज भनेजति मासु पाइएन । उनीहरुको बाटो हेरिरहेका कुकुरहरुले बिस्कुटमा चित्त बुझाउनु पर्ने भयो ।

लाग्छ उनीहरु यी कुकुरहरुकै लागि बाँचेका छन्  र उनीहरुकै कारण यी कुकुर बाँचेका छन् । जिन्दगीमा अरु ठूला लक्ष र आकांक्षा छैनन् ।

मायामा हिसाबकिताब हुँदैन । त्यसैले होला केटाकेटी जस्ता यी अबोध कुकुरहरु सामान नोक्सान गरिरहन्छन् । उनीहर हर्जाना तिरिरहन्छन् ।

सानैमा परिवारसँग बिछोडिएर अर्काको घरमा काम गर्न बसेका राम दाईले अनेक हण्डर खाए । नियतिले उनलाई वर्षौंसम्म भारतका गल्लीहरुमा डोर्याउँदै यसै थलोमा फिर्ता बोलायो ।

उनीहरुको दैनिकी कुकुरकै सेरोफेरोमा घुम्छ । घर बाहिर रात समेत बिताउन गएका छैनन् उनीहरु, कुकुरकै मायाले ।

मायाको यो शृंखलामा एकदिन अक्सा जोडिन आइपुगेको थियो ।  जतिखेर सानी रायनाले सानै अक्सा पाएकी थिइन् ।

उनीहरुका जिन्दगीका अधिकांश  सम्झनाहरु कुकुरसँगै जोडिएका छन् । हरेक कुकुरका नाम छन् । हरेकका कथा छन् ।

भूइँचालोले भत्केको घर बनाउन सकेका छैनन् । वर्कशपको कमाइजति सबै कुकुरमै खर्च हुन्छ ।

यी कुकुरहरु मात्र कहाँ हुन् र विराला अनि आकाशमा उड्ने परेवा र कागहरुसँग पनि माया गाँसिएको छ । बाबु नामको काग बेला बेला आएर राम दाइलाई बोलाउँछ । राम दाइले आफ्नै हातले खुवाउँछन् । अनि बाबु उडी जान्छ । सन्तोषको मुस्कानले राम दाइको अनुहार उज्यालो हुन्छ ।

अक्साको जिन्दगी अचानक सकिएको थियो । तर उसले सिकाएको मायाको कथा भने कहिल्यै सकिएन ।

हेर्ने कथाको अंक ३० मा हामीले यसअघि झ्याउलीका जुनतारा देखाएका थियौं । हेर्ने कथाका सबै अंकहरु हेर्नको लागि हाम्रो युट्युब च्यानल सब्स्क्राइब गर्नुहोला ।

यस्तै यस्तै कथाहरु बनाउको लागि तपाईं हामीलाई सहयोग गर्न सक्नुहुन्छ

Jhyaulika Juntara EP30

राजनीतिक परिवर्तनको उर्बर भूमिमा उनीहरु जन्मिए । दाङ र रोल्पामा खान लाउन पुगेन । काठमाडौं छेउका उर्बर भूमिमा खुलेका इँटाभट्टाले उनीहरुलाई बोलायो । उनीहरु गाउँलाई छाडेर आए । रहरलाई छाडेर आए । परिवारलाई छाडेर आए । 

किर्तिपुरपारि फाँटको इँटाभट्टा एकाविहानै जाग्छ । सँगै जाग्छन् यहाँका मिनी रोल्पा र दाङहरु । 

रेकका अनेक कथा छन्। अनगिन्ति व्यथा छन्।सपनाहरु त गाउँतिरै छोडेर आइसके। केवल हातमुख जोर्ने बाध्यता छ । कमजोर शरिर अनि कमसल खान्की । तर भारी बोक्ने प्रतिस्पर्धा छ । एक एक इँट्टा बोकेको हिसाब सप्ताहन्तमा पाइन्छ । हजार बोक्दा ३ सय कमाइन्छ । 

जुनताराले झ्याउलीको दैलो उघारिन् । फागुनमा डालेघाँस काट्न घरबाट हिँडेकी जुनतारालाई नाइटबसले नैकापमा झारिदिएको थियो, उस्तै बाध्यताबाट आँट बटुलेका संगीहरुसँगै । 

११ बजेदेखि २ बजेसम्म खाना पकाएर खाने छुट्टी हुन्छ । जुनताराकी फुपु र भाउजु पनि झ्याउली आइपुग्छन् । 

यति नै बेला झ्याउलीमा सबैजना भेटिन्छन् । सबैको अआफ्नै धुन हुन्छ । कोही पकाउन थाल्छन् । कोही हिजोको भाँडा माझ्न । कोही भोक बिर्सेर थकाई मार्छन् । 

मनहरु पनि पाकेको इँटाजस्तै भइसके । अब दुख्न बाँकि ठाउँ नै छैन । १९ वर्षकी विपना परियारले पिठ्युमा बोकेकी छोरीलाई सन्चो थिएन । केही महिनाअघि विपनाको ६ महिनाको छोरो बितेको थियो । 

दुई जिउकी गीता नेपाली विहानैदेखि इँटा बोकिरहेकी थिइन् । उनी झ्याउलीमा आएर सिन्कीको झोल  उमाल्ने तरखरमा छिन् । विहानदेखि मध्यान्नसम्म भारि बोकेकी गर्भवतीको खान्की देख्दा सिन्की जस्तै मन अमिलो भयो । 

कामदारका वालवच्चा हेर्नको लागि भट्टा साहुले एउटा टहरामा हेरालु राखिदिएका छन् । यही टहरालाई यहाँ स्कूल भन्छन् । धेरै केटाकेटीहरु स्कुलमा भन्दा धुलो माटो मै रमाउँछन् । 

कपाल फुलिसके । दाँत झरिसके । रोल्पाको आँगनमा यी आमा पनि अटाउन सकिनन् । बुढा बिते, छोराहरु परदेशिए । कान्छी छोरी साथै लिएर यो उमेरमा काठमाडौ छिरिन् ।

भोको पेटमा पढ्न सकिएन । पाँच कक्षा र सात कक्षा पढ्दै गर्दा धेरै केटीहरुलाई बाध्यताले यता डोर्यायो । दाङकी एलिना जिसीले कसो कसो एसएलसीसम्म पढिन् । त्यसैले उनले भारि बोक्ने काम गर्न पर्दैन । 

गाउँमा घाँसदाउरा गर्दा रेडियो उनीहरुको साथी थियो । यहाँ आएर उनीहरुले प्रिय रेडियोलाई बिर्सन सकेका छैनन् । 

साँझ निद्रा पर्दैन अनि उनीहरुको झ्याउली भित्रको आफ्नै रेडियो चालु हुन्छ । कलाकार बन्ने रहरलाई गाउँतिरै छाडेर आएकी जुनतारा छिनछिनमै थरिथरिको पात्रको रुपमा प्रस्तुत भइदिन्छिन् । 

भट्टाका थुप्रै जुनताराहरुको सपना अब काँचो माटो जस्तो थिएन । अभाव र बाध्यताका रापले रहरहरु ओइलाइसके ।

जेठ लागिसक्यो । अहिले त जुनताराहरु गाउँ फर्किसके होलान् । आगुँ दाङ र रोल्पाका आँगनमा खेलिरहेका अरु थुप्रै जुनताराहरु सपनाहरुलाई गाउँमै छाडेर नाइट बस चढेर आउलान् शायद ।